हिजो यात्रा संस्मरण लेख्ने हुटहुटीले निद्रा अनियमित भएको थियो । बिहान उठेर अन्य दिनको जस्तो व्यायाम, ध्यान गर्न मन लागेन। कोठा छोड्दा निर्वाह गर्नुपर्ने अलिअलि काम पनि थियो । तल घरको होस्टले कफी बनाएर कुरिरहेका रहेछन्। त्यो चार कोठा रहेको होम स्टे बुकिङ डट कम साइटमा उच्च रेटिङमा रहेकोले कहिल्यै खाली हुँदैनथ्यो । होस्ट आन्तोनिओको लागि त्यहाँ म जस्ता आगन्तुक दैनिकी नै हुन्थ्यो तैपनि उनले मसँग केही कुरा गर्न चाहेका थिए, नत्र उनका ग्राहकहरू आउँथे-जान्थे, चेक इन-चेक आउट अटोमेटिक हुन्थ्यो कसैले कसैलाई मतलब गर्दैनन्।

हाम्रो संवाद गुगलको भोइस रेकोगनिसन मार्फत उल्था गर्दै मात्र सम्भव हुन्थ्यो। औषधी विज्ञानका निवृत्त प्राध्यापक हुनु भएछ, सोख अनि समय बिताउनको लागि आफ्नो घरलाई पाहुना घर बनाउनु भएको रहेछ। घरको कम्पाउन्डमा कछुवा, विभिन्न प्रजातिका माछा पाल्नु भएको थियो । मेरो तीन दिनको दिनचर्या देखेर मेरा बारे बुझ्ने कौतुहलता जागेछ । सकी नसकी केही बेर एकर्का बिच जानकारी आदान प्रदान गर्याैं, टाँसिएर फोटो खिचियो।

कफीको कप बोकेर छतमै फर्किएँ । मेरो कोठा सबैभन्दा माथि थियो। राती पानी परेको थियो, झुल्के घामका किरणहरूले वरिपरिका डाँडा अनि तलको समुद्र हिजो अस्ति भन्दा धेरै सुन्दर देखियो – ठ्याक्कै कुमार सानुको “पानी परे पछिको आकाश खुलेझैँ” गीत झल्काउने । म यो सुन्दर दृश्य क्यामरामा कैद नगरी त्यो ठाउँ छोड्नै नसक्ने भएँ। आज खिचेका तस्बिरले हिजो अस्तिका सबै मेटिदिए हुने भयो त्यति कन्चन दृश्य थियो आज। झोला बोकेँ आन्तोनीलाई अँगालाे मारेर फेरि तिम्रो घरमा कुनै दिन आउँछु भनेर हिँडे।

३ दिनको बसाइमा त्यो ठाउँ राम्रै सँग बुझिसकेको थिएँ । त्यसैले आज बस चढेर विमानस्थल पुग्नु मात्रै उद्देश्य थियो। घर नजिकैको स्टपबाट चढेको बस तल सहरमा पुगेर फेर्नु पर्ने थियो, सार्वजनिक यातायात अति सुलभ र सस्तो भएकोले ट्याक्सी चढ्नु जरुरी थिएन।

विमानस्थल जाने बसमा अरूका लगेज देखेपछि आफ्नो यो अद्भुत यात्रा सकिँदै गरेको झन् महसुस हुन थाल्यो। बस समुद्रको किनारै किनार  तीव्र गतिमा कुदिरहेको थियो। अब फेरि  अस्तिको डाँडाहरू देखिन थाल्यो।

म त्यो पहाडलाई जुम गर्दै तस्बिर खिचेँ । छेउमा बसेको “स्थानीय”ले अचम्म मान्दै हेर्न थाल्यो। सायद उसले सोच्यो होला पहाडै पहाड भएको टापुमा एउटा सानो चुचुरो मात्रै कति खिच्या होला भनेर। अझै दैनिक रूपमा आउजाउ गर्नेलाई त त्यहाँका दृश्य केही लाग्दैन झन् विरक्त लागि रहेको हुन्छ। म पहिला ठमेलमा काम गर्दा त्यस्तै लाग्थ्यो। पर्यटकहरू घाँटीमा क्यामेरा झुन्ड्याएर हिँड्थे जे देखे नि खिचिक्क पार्थे – अझ त्यतिखेर त रिल सिस्टमको क्यामेरा हुन्थ्यो अहिले जस्तो अन लिमिटेड कहाँ पाउनु। जे होस् मलाई त्यो चुचुरो अझै स्पष्टसँग कैद गर्नै पर्ने थियो।

बस रोकियो, झर्ने बेला भो। गाडीबाट झर्नासाथ ५ दिनअघि देखिएकी कर्मचारी फेरी देखेँ । उसले पनि एकछिन हेरेर बोल्न खोजिन् । खासमा ५ दिनअघि निजालाई बिदा गरेपछि अर्को सहर जाने बसबारे उनीसँगै सोधखोज गरेको थिएँ। सबै मोबाइलमा अनि सूचना बोर्डमा देखिने भए नि मलाई मान्छेसँगै सूचना लिन मन लाग्छ। आफ्नो बस भर्खर छुटेकोले केही समय कुर्नु पर्ने भयो र उनीसँग कुरा गर्दै बसेको थिएँ । त्यति धेरै यात्रु आवत जावत हुने ठाउँमा म जस्ता कति आए गए उनले नै कतिलाई गाइड गरिसकेकी थिइन् होली । त्यो ठाउँमा उनी जस्ता सहयोगी कर्मचारी नि धरै थिए। संयोग नै भन्नुपर्छ मेरो फिर्तीमा उनी नै रहिछन्, सुरुमा अकमका पनि हामी गफ गर्न थाल्यौँ ।

उनले मलाई सम्झिनुको कारण – मैले  उनलाई माइनस २० छल्न आको भनेको थिएँ त्यो याद गरिछन्। मेरो निधारमा पोलेको खत छ । त्यसले पनि धरै मानिसको मानसपटलमा मलाई स्मरण गराउन सजिलो पार्छ होला यद्यपि मलाई भने मेरो कुरूपता सम्झेर कहिलेकाहीँ हीनताबोध हुन्छ। तर फेरि बाहिरी आवरण भुलेर आफ्नो भित्री सुन्दरताप्रति गर्व गर्न सिकेको छु। आज मैले लगाएको पहिरन, बोकेको झोला देखेर उनले अडकल काटिन् र सोधिन् “फर्कन लाग्या हो ?”

टि सर्ट र हाफ प्यान्टमा आउँदा नि हुन्थ्यो तर विमान चढ्दा झोलाको तौल जम्मा ६ किलो हुनुपर्थ्यो त्यसैलाई मिलाउन भारी लुगा लगाएको थिएँ। बजेट एयरलाइन्समा यात्रा गर्दा तौल मिलाउन यस्ता उपाय अपनाउन अनुभवी भैसकेको छु।

बसबाट झर्नेहरू सबै खुरुखुरु विमानस्थलभित्र छिरे । मलाई भने उनीसँग एकछिन गफ गर्न मन लाग्यो। मेरा लागि तातो घाम, उज्यालोको सदुपयोग गर्ने पनि अन्तिम क्षणहरू बाँकी थिए । त्यसैले सक्दो फाइदा लिनु थियो। मेरो जहाज उड्न अझै २ घण्टा बाँकी थियो। वास्तवमा सन् २००७ मा कोपनहेगन विमानस्थलमा जहाज छुटेर अर्को टिकेट काट्नु परेको नमिठो घटनापछि विमानस्थल तोकिएको समय भन्दा निकै अघि पुग्ने बानी पारेको छु।

पहिलो भेटमा उनले आफ्नो कर्तव्य मात्रै पुरा गरेकी थिइन् तर आज विविध विषयमा कुरा हुन थाले । २६-२७ वर्षकी उनी “एरिका” रहिछन् – पेसाले आइ टि प्रोग्रामर। एक वर्षअघि कोडिङदेखि विरक्तिएर मान्छेहरूसँग जीवन्त महसुस गर्न मिल्ने यो पेसा स्वैच्छिक रूपमा अँगाल्न थालेकी रहिछन्।

अर्को सम्झनायोग्य भेट – कहाँको प्रोग्रामर कहाँको बस स्ट्यान्डको परिचारिका। उनको त्यहाँको काम  भनेकाे यात्रुहरूका झोला झिकिदिने, राख्दिने, बस रुट बताइदिने थियो।

जीवनमा आखिर चाहिने खुसी न हो । मैले नि आफ्नो विगत सम्झिएँ – सन् २००१ मा नेपाल इन्जिनियरिङ कलेजबाट कम्प्युटर प्रोग्रामिङ पढाइ सकेर त्यही विषयमा अध्यापन गर्थें । दिन रात कम्प्युटरको स्क्रिन – सी, सी प्लस प्लस, भिजुअल व्यासिक, ओर्याकलमै बित्न थालेपछि विरक्तिएर गफ गर्ने विषय “जनसङ्ख्या” मा स्नातकोत्तर गर्न कीर्तिपुर गएको थिएँ ।

दुई जना बिच रहेको यही रासायनिक कनेक्सनले होला आज एरिकासँग भेट जुरेको । म आएको बस फर्केपछि उनीसँग नि खाली समय थियो अर्को बस नआउन्जेलसम्म, मौसमकै बारे धेरै गफ भयो। परिस्थितिअनुसार कोसँग के कुरा गर्दा जम्छ भन्नेमा म सिपालु छु। उनले नि बाक्लै लुगा लगाकी थिइन् । भनिन्, “आज जाडो महसुस भैराछ ।” मोबाइलमा मौसम हेरेँ रातिको पानीले होला अहिले चैँ १८ डिग्री रेछ।

क्यानरी टापुमै हुर्केकी एरिका खासै विदेश घुमेकी रहिनछ। मैले यो १८ डिग्रीमा नै तातो महसुस गर्न सक्ने बन्ने भए उता माइनस १८ मा आऊ अनि फर्केपछि प्लस १८ को महत्त्व बुझ्छ्यौ भनेर जिस्क्याएँ । उसलाई पनि हिउँ, बरफ महसुस गर्ने अनि कसरी त्यस्तो प्रतिकुल मौसममा नि मान्छेले दैनिकी गुजार्छन् होला बुझ्ने इच्छा त रहेछ तर आँट गर्न सकेकी रहिनछ।

मैले हिउँमा गरेको स्किइङ, आइस स्केटिङका भिडियो देखाउँदै अझै लोभ्याइदिएँ (खासै खेल्न नजाने पनि मान्छेलाई देखाउन पुग्ने गरी चैँ सबै चिज जानेको जसरी फोटो भिडियो बनाएको छु – यस्तैमा काम लाग्छ भनेर) र त्यस्तो मौसमका प्रतिकुल पनि प्रणालीले गर्दा हरेक चिज समयमै हुबहु हुने गरेको कुरा स्मरण गराइदिए।

यात्रा सम्झना हुन्छ भनेर सँगै फोटो खिच्यौँ । उनले कुनै धक मानिनन् उल्टो विभिन्न पोज दिँदै क्यामेरातिर फर्किन् । उनी पनि मसँग निर्धक्क समय गुजार्दै अझै खुल्दै थिइन्, मैले भने अब छुट्टिने बिचार गरेँ।

समय त अझै टन्नै थियो तर मसँग ७ दिने बसाइमा धेरै सम्झनायोग्य, लेख्नयोग्य पात्र बनिसकेका थिए अब अलि धेरै नै होला जस्तो नि महसुस भयो। कतिपय कुराहरूलाई सीमित गर्न सकेको पनि राम्रो सम्झेर उनको फोन नम्बर पनि मागिनँ – फेरि कुनै दिन त्यहीँ बसपार्कमा वा हेल्सिन्किको कुनै गल्लीमा भेट भो भने छुट्टै स्वाद आउनेछ त्यही कामना गर्दै बिदा भएँ ।

उसले सुखद यात्रा अनि चिसो छल्न फेरि आऊ भनेर बिदा गरिन्। म गेटबाट छिर्दा सम्म हात हल्लाइरहेकी थिइन्।