“हिजोको हिँडाइ र घुमाइले त निकै थकाई पो लागेछ त, शरीर उठाउनै मन छैन ।” बिहान साढे छ बजे ब्युँझेर पनि ओछ्यानमै पल्टिरहने इच्छा व्यक्त गरेँ मैले रश्मिसँग । सहयात्री रश्मिको अनुभूति पनि फरक थिएन । २०७९ फागुन १३ गते दुबई ओर्लिएका हामीले होटेलको व्यवस्थित शयन कक्षमा चौथो रात बिताइसकेका थियौँ । एसियाकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको दुबई सहरमा ओर्लिएपछि आज पाँचौँ दिनको बिहानीलाई स्वागत गरिरहेको थिएँ म । केही बेर दुबई भ्रमणको समीक्षापश्चात् नित्य कर्मतर्फ लागेँ । आज हाम्रो दुबईमा अन्तिम दिन थियो । भोलि बिहानको पौने दुई बजेको काठमाडौँ फर्किने टिकट बुकिङ थियो । आज भ्रमण व्यवस्थापकको तर्फबाट कुनै कार्यक्रम थिएन । हाम्रो अनुरोधमा आजको दिनलाई आफ्नो इच्छाअनुसार घुम्न सकिने व्यवस्था मिलाइएको थियो । म आजको दिनको योजना बनाउन ठुलदाइ रुपेशको शयन कक्षतर्फ लागेँ ।

रुपेश दाइले दुबई ओर्लनासाथ आफ्नो एक जना साथीलाई आजको दिन अर्थात् अन्तिम दिन घुमाउने प्रस्ताव राख्नुभएको थियो र ती साथीले पनि सहर्ष स्वीकार गरेको जानकारी हामी सबैलाई भएपछि हाम्रो अन्तिम दिन पनि रमाइलो हुने कुरामा ढुक्क भएका थियौँ । तर आज भने आफू आउन नभ्याउने जानकारी दिएछन् बिहानै ती साथीले । अब हामी के गर्ने भन्ने अलमल्लमा पर्‍यौं । तर अचानक मलाई महेन्द्र दाइको सम्झना आयो । काठमाडौँमा हाम्रो छिमेकमा बस्ने महेन्द्र भण्डारीको आफ्नै म्यानपावर एजेन्सी थियो र हाल दुबई मै रहेको जानकारी पाएको थिएँ मैले । महेन्द्र दाइलाई सामाजिक सञ्जालबाट सम्पर्क गरेपछि खुसी हुँदै आजको दिन घुमाउने जिम्मा लिएपछि हामी आनन्दित भयौँ ।

आज हतार नभएकोले ब्रेकफास्टका निम्ति ओर्लँदा झन्डै नौ बजिसकेको थियो । केही मौसमी फलफूल, जुस, ब्रेड, अम्लेट, जाम, बटर लगायतका खाद्य पदार्थ सहित आज नयाँ परिकार उपमा खाइयो । दक्षिण भारत र श्रीलङ्कामा प्रचलित यो परिकार स्वास्थ्यवर्धक पनि मानिन्छ । सूजीलाई घिउ वा तेलमा हल्का भुटेर त्यसमा मटर, गाजर, प्याज लगायत विभिन्न तरकारी र नरिवल, काजू, बदाम जस्ता मसलाहरू हालेर केही बेर पानीमा पकाएपछि तयार हुँदो रहेछ उपमा । आफ्नो रुचि अनुसारको भोजन ग्रहण गरेर हामी आजको भ्रमणको योजनाका लागि महेन्द्र दाइसँग सल्लाह गर्नेतर्फ लाग्यौँ ।

आजको भ्रमण केही खल्लो हुने भयो किनकि बुवा बुद्धदेवलाई हल्का ज्वरो आएकोले वहाँले आराम गर्ने इच्छा व्यक्त गर्नुभयो । हामीले होटेलका शयन कक्षहरू आज नै खाली गर्नुपर्ने कार्यक्रम रहेकोले सबै सामानहरू होटेलले व्यवस्था गरेको स्थानमा राखेर घुम्न निस्कने योजना बनायौँ । हामी बसेको होटेलमा नयाँ पाहुनाहरूको बुकिङ भइसकेको हुँदा महेन्द्र दाइ र अर्को एक जना साथी पुस्कर पाण्डेको सहयोग लिई नजिकैको अर्को होटेलमा बुवालाई आराम गराउने व्यवस्था मिलाएर होटेलको विश्राम कक्षमा सबै जना जम्मा भयौँ ।

आजको हाम्रो पहिलो गन्तव्य दुबई गोल्ड सोक अर्थात् दुबई सुन बजार रहेको थियो । त्यस बजारमा पुग्न दुबईको भूमिगत मेट्रो रेलको पनि अनुभव लिने हामी सबैको इच्छा रहेको थियो । त्यसका निम्ति प्रिपेड कार्ड आवश्यक पर्ने रहेछ । महेन्द्र दाइले आफ्नो कार्यालयमा काम गर्ने सबै कर्मचारीहरूको प्रिपेड कार्ड मगाएर हामी सबैलाई एक एक वटा कार्ड थमाएपछि दाइ प्रति कृतज्ञता जाहेर गर्दै मेट्रो स्टेसनतर्फ लाग्यौँ ।

सहर भित्रको ७५ किलोमिटर क्षेत्रमा दौडने दुबईको भूमिगत मेट्रो विश्वकै लामो उच्च गतिको स्वचालित रेलमध्ये एक रहेछ । सन् २००५मा निर्माण सुरु भई सन् २००९मा पहिलो चरणको निर्माण सम्पन्न भएर यो भूमिगत मेट्रो सञ्चालनमा आएको रहेछ । त्यसै गरी सन् २०११मा दोस्रो चरणको निर्माण सम्पन्न भई मेट्रो सेवा पूर्ण क्षमतामा सञ्चालन भएको रहेछ । प्रत्येक पाँच मिनेटमा स्टेसनमा आइपुग्ने यस मेट्रो सेवाका साठी वटा रेलहरू मार्फत प्रत्येक दिन छ लाख भन्दा बढी यात्रीहरूले यात्रा गर्ने गरेको पाइयो । नेपालमा पनि केही समयअघि मेट्रो रेलको चर्चा चलेकै हो । तर राज्यको नेतृत्व गर्नेहरूको गन्तव्यविहीन योजना, इच्छा शक्तिको अभाव र विकासका प्रत्येक खुड्किलामा राजनीतिक रङलाई अगाडि सार्ने परिपाटीले यस्ता योजनाहरू गफमै सीमित हुने गरेका छन् यहाँ । खै परिवर्तन कहिले आउने हो ?

कार्ड देखाएपछि रेलसम्म जाने गेट आफैँ खुल्ने भूमिगत मेट्रो सेवाको रोमाञ्चक यात्रा गरी हामी गोल्ड सोकको नजिकै ओर्लियौँ । दुबई सुन चाँदी लगायत बहुमूल्य धातु र पत्थरहरू जडित गहनाहरू निर्माण तथा बिक्री हुने यो बजारमा झन्डै चार सयको सङ्ख्यामा पसलहरू रहेछन् । सुन बजारका रूपमा एसियामै ख्यातिप्राप्त यो बजार दुबईको डेइरा भन्ने स्थानमा अवस्थित रहेछ । भूमिगत रेलबाट ओर्लिएर दुई मिनेट जति हिँडेपछि सुन बजारको प्रवेश द्वार देखियो ।

अनेकौँ बत्तीहरूको झिलिमिलीले झकिझकाउ रहेको बजारको बनावट भने पुरानो झैँ रहेछ । जताततै आधुनिक प्रविधिले युक्त सिसी क्यामेरा लगायतका उपकरणहरू जडित यस बजारका पसलहरू रहेको घरहरू भने धेरै वर्षअघि निर्माण भएका जस्ता देखिन्थे । यो क्षेत्र पुरानो दुबईका रूपमा चिनिँदो रहेछ । सुन तथा अन्य बहुमूल्य पत्थर र धातुहरूबाट निर्मित विभिन्न प्रकारका गहनाहरू तथा सुनकै जामा झैँ देखिने बनावटहरू सोकेसमा सजाएर राखिएको देख्दा मन लोभ्याउने रहेछ । भ्रमण टोलीका केही सदस्यहरूले मन परेका केही गहनाहरू पनि खरिद गरेपछि हामी पुरै बजार घुमी नसक्दै बाहिर निस्कियौँ । उक्त बजार पुरै घुम्न त दिनभरि नै लाग्ने रहेछ । हामी आजको दिनलाई जतिसक्दो धेरै सदुपयोग गर्न चाहेका थियौँ घुम्न बाँकी धेरै स्थानहरू घुमेर । त्यसैले हामी अलि हतार गर्दै सुन बजारबाट बिदा लियौँ ।

सुन बजारबाट निस्किएर करिब पाँच मिनेट हिँडेपछि हामी दुबई क्रिक पुग्यौँ । Creek को अर्थ चाहिँ समुद्रको पानीबाट निर्माण भएको ताल वा नहर जस्तो बनावट भन्ने बुझिँदो रहेछ । दुबईको यो क्षेत्र पनि त्यस्तै नै रहेछ । Dubai Creekले डेइरा अर्थात् सुन बजार रहेको क्षेत्र जसलाई पुरानो दुबई पनि भनिन्छ र बर दुबई अर्थात् आधुनिक दुबईलाई छुट्टाउँदो रहेछ ।

अझ भनौँ पूर्वी र पश्चिमी दुबईको बिचमा Dubai Creek अवस्थित रहेछ । बिसौँ शताब्दीको सुरुवाततिर Dubai Creekलाई बन्दरगाहका रूपमा विकास गरिएपछि यहाँबाट विभिन्न मुलुकहरूमा व्यापार सम्बन्ध स्थापित भएको रहेछ । तर हाल उक्त बन्दरगाहलाई अन्यत्र स्थानान्तरण गरी यसका किनारमा गगनचुम्बी व्यावसायिक भवनहरूले स्थान लिएका रहेछन् । चौध किलोमिटर लम्बाइ, दुई सयदेखि बाह्र सय मिटर चौडाइ र छदेखि सात मिटर गहिराई रहेको यस Dubai Creek लाई पर्यटक आगमनको केन्द्रका रूपमा विकसित गरिएको रहेछ । चौध किलोमिटरको क्षेत्रमा पूर्वी र पश्चिमी दुबईलाई जोडने चार वटा ठुला पुल र एउटा सुरुङ मार्ग समेत निर्माण गरिएको पाइयो ।

यस स्थानबाट वारपार गर्नका निम्ति परम्परागत साधन भने आब्रा अर्थात् काठको नौका रहेछ । हामी पनि पारि जानका निम्ति नौकामा सवार भयौँ । एक पटकमा पन्ध्र सोह्र जनालाई तार्ने नौकाले एक जनाको एक दिराम शुल्क लिँदो रहेछ । मोटर जडान गरिएको उक्त नौकाले करिब पन्ध्र मिनेटमा हामीलाई पारी तार्‍यो । पारि तरेर हामीले किनारै किनारमा अवस्थित विभिन्न रमणीय स्थानहरूलाई आँखामा सजायौँ र क्यामेरामा लुकायौँ ।

दुबईको पुरानो सहरका अवशेषहरूलाई अति व्यवस्थित तरिकाले जोगाइएको रहेछ । त्यही किनारमा मस्जिद सँगसँगै एउटा शिव मन्दिर पनि अवस्थित रहेको देख्दा दुबईमा धार्मिक सहिष्णुता पनि कायम रहेछ झैँ लाग्यो । विभिन्न बनावट तथा आकारमा साना साना पानीजहाजहरू किनारमा उभिएका थिए यात्रुहरूको पर्खाइमा । केही जहाजहरूमा रेस्टुरेन्ट पनि सञ्चालन भएको पाइयो । यस्ता रेस्टुरेन्टहरूमा बसेर पानीमा विचरण गर्दै विभिन्न परिकारहरूको आनन्द लिन खास गरी बेलुकाको समयमा पर्यटकहरूको राम्रो उपस्थिति हुने रहेछ । घुम्दा घुम्दै घडीले साढे पाँच बजाइसकेछ । उच्चतम विकास र आकर्षक निर्माणहरूले सुसज्जित त्यो क्षेत्रमा पुनः अर्को भ्रमणमा धित मार्ने बाचा गर्दै वर दुबई स्थित हामी बसेको होटेलतर्फ लाग्यौँ ।

पाकिस्तान, अफगानिस्तान, यमन जस्ता मुस्लिम धर्मावलम्बीहरूको अधिकयता रहेको मुलुकहरूमा दिनहुँ जसो धार्मिक र जातीय द्वन्द्वहरू चलिरहेको पाइन्छ तर दुबईमा आजसम्म पनि कुनै प्रकारको धार्मिक विवादबारे चर्चा भएको पाइँदैन । वास्तवमा गरिबीले नै यस्ता द्वन्द्वहरूको उत्पत्ति गर्दो रहेछ । आर्थिक सम्पन्नताले समाजको मानसिक सम्पन्नता पनि उच्च बनाउँदो रहेछ कि ?

झन्डै बिस मिनेटको हिँडाइपछि हामी होटेल नजिक आइपुग्यौँ । अर्को होटेलमा आराम गरिरहनुभएको बुवालाई पनि लिँदै आयौँ । महेन्द्र दाइ र साथी पुस्करप्रति कृतज्ञता जाहेर गर्दै हामी सँगै खाना खाने प्रस्ताव राख्यौँ । वहाँहरूले कार्यालयमा पुग्नुपर्ने भन्दै हाम्रो आग्रहलाई स्वीकार गर्नुभएन । भोकले चूर भएका हामी वहाँहरूलाई सधन्यवाद बिदा गरेर नजिकैको रेस्टुरेन्टमा खाना खान पस्यौँ । खाना खाएर केही बेर छेउमै रहेको डे टु डे सपिङ मलमा केही किनमेल गरेर सामानहरू मिलाइसक्दा घडीले बेलुकाको दस बजाइसकेछ । हामीलाई लिनका निम्ति होटेल अघिल्तिर आइसकेको माइक्रो बसमा सामान सहित सबै जना सवार भई एयरपोर्टतर्फ प्रस्थान गर्‍यौं । दुबई सहरको झिलिमिली हेर्दै आधा घण्टाको यात्रापछि एयरपोर्ट पुगेर सामानहरू जिम्मा लगाउँदा रातको बाह्र बजेको थियो । अझै झन्डै दुई घण्टा पर्खनुपर्ने देखियो । बिहान दुई बजे फ्लाइट दुबईको जहाजमा सवार भई हामी दुबईको भूमि छोडेर उड्यौँ ।

रातको समय भएकोले होला जहाजमा निदाइएछ । जहाजका कर्मचारीले खानका निम्ति बोलाउँदा म ब्युँझिएँ । सँगै बसेकी सहयात्री रश्मिलाई पनि खाना खान ब्युँझाएँ । बिहानीपखको भुकभुके उज्यालोसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको सूचना सुनेर निन्द्राबाट ब्युँझियौँ हामी । आज छैटौँ दिन हामी तिलस्मी सहरबाट नेपाली भूमिमा अवतरित हुँदै थियौँ – भ्रमणका ती अविस्मरणीय क्षणहरूलाई जीवनभरिका लागि मनमा सजाउँदै ।