सुरुमा जमिन छोडेर समुद्रमाथि पुग्दा अलि झसङ्ग भएँ,  उँचाइमा पुगेपछि पाइलटले जानी जानी तलमाथि झट्कार्दा अलि डरलाग्दो भयाे । उसले मेरो भाव बुझेपछि आनन्दसँग उडायो।

आज यो टापु आइपुगेको सातौँ दिन, भ्रमणको अन्तिम रात। यो ६ दिनको बिचमा धरै कुरा गर्न सफल भएको महसुस भइरहेको छ। आज भने केही नगरी, कतै नगएर आनन्दले कौसीमा घाम तापेर बस्छु भन्ने सोचाइ थियो। फिन्ल्याण्डबाट मित्र भवानी जी ले सुझाव दिनुभयो- दाइ एक पटक लाभा उम्लेर बनेको टापु चैँ पुग्नु होला है। म बसेको घरको छतबाट निकै पर समुद्रको किनारमा एउटा कोइलाले नै बनेको जस्तो थुम्को देखिन्थ्यो। मैँले साथीले भनेको टापु खासै भेउ पाइन तर घर बस्न नि मन लागेन । आखिर भोलि फर्किनु छ त्यसैले सम्भव हुने जति गतिविधि अझै गर्छु भन्ने लाग्यो। आज चैँ सम्झेर मास्क बोकेँ, झोलाको खल्तीमा पानीको बोतल हालेँ, जति सक्छु अन्वेषण गर्छु भनेर हिँड्न थालेँ।

कीर्तिपुरको डाँडोजस्तै उँचाइमा रहेको म बसेको ठाउँबाट त्यो देखेको कालो थुम्को निकै टाढा थियो तर हिँड्ने बाटो चैँ आनन्दको । सहरबाट नजिक डाँडाका बस्तीहरू अलि बाक्लो थियो , झन्डै हाम्रो असन , महाबौद्ध बिर्साउने खाले। तर मानिसहरूको भिडभाड त्यति थिएन। बाटो छलिए पनि ओरालो झरेर तलसम्म पुगेपछि भइहाल्छ भन्ने हिसाबले बेलाबेला सडकको नाम चिन्न सजिलोको लागि भवनको फोटो खिच्दै मजाले हिँडे। साँगुरा गल्ली अनि घरका ढोकाहरू, हिँड्ने ठाउँमै जोडिएका नागबेली बाटाहरू हिँड्दा कहिलेकाहीँ डर पनि लाग्थ्यो। तर झन्डै एक हप्ताको बसाइमा ती ठाउँमा चोरी, डकैती,  झगडा हुने जस्तो लागेन एकदमै सुरक्षित महसुस गरेको थिएँ ।

त्यसैले बस वा ट्याक्सी नचढी पुग्नेमा विश्वस्त भएँ। एकदमै पुरानो साँघुरो बस्ती भए पनि फोहोर भने कहीँ कतै देखिएन, कति अनुशासित रहेछन् मानिसहरू । हिँड्ने बटुवाले नि निस्केका फोहोर फाल्न सहज होस् भनेर सबैले घरको बाहिर फोहोरको टोकरी राखेका थिए । उता काठमान्डु महानगर तिर भने यती नै खेर लामो समयदेखि जनचेतना जगाउँदा पनि राती राती आफ्नो घर, होटेलको फोहोर सुटुक्क फालेको दृश्य देख्न परिरहेको छ । आखिर नियम कानुन भन्दा पनि नागरिकको सचेतना महत्त्वपूर्ण हुने कुरा छर्लङ्ङ हुन्थ्यो।

झन्डै एक घण्टा हिँडेपछि सहरको मध्य भागतिर पुगेँ, अघिको त्यो कालो थुम्को त अझै कता हो कता । त्यहीँ जानुपर्छ भन्ने पनि छैन। पर्यटकका लागि सूचना दिने कार्यालय छिरेर ५-६ घण्टाको लागि के गतिविधि होला भनेर जानकारी लिएँ। त्यहाँकी कर्मचारीले अक्वारीम जाने सल्लाह दिइन् । उनले भनेको त्यो अक्वारीम “पोएमा डेल मार” त्यहाँबाट हिँडेर एक घण्टा लाग्ने भएकोले बसमा जान सल्लाह दिएकी थिइन्।

बसमा चढेर उनले दिएको ब्रेसियर पढ्न थालेँ साँची नै अद्भुत ठाउँ रहेछ। पानी भित्र पाइने लगभग सबै प्रजातिका माछाहरू देख्न पाइने त्यो ठाउँ घुम्न पुरै दिन लाग्ने रहेछ। मलाई कता कता त्यो सिसाभित्र कैद गरिएका जीवजन्तु भन्दा मैले घरबाट देखेको कालो चुचुरो नै बढी चासो लाग्यो। त्यो अक्क्वारीम जाने बसको स्टप छोडिदिएँ र सोचेँ यो बसले जहाँ लैजान्छ त्यहीँ झर्छु।

बसले घरी व्यस्त बजार छिराउँथ्यो त घरी समुद्रको किनार किनार दौडाउँथ्यो। अन्तिम स्टपमा ओर्लेर हिँड्न थालेँ, त्यही डाँडोलाई लक्ष्य राखेर अघि बढेँ। एक छिनपछि मिलिटारी क्षेत्रमा पो पुगियो र त्यो भन्दा अघि बढ्न पाइएन। त्यत्रो मेहनत गरेर घरको कौसीबाट देखेको कोइलाको थुप्रो नजिक पुगेर त्याग्नु पर्दा खिन्न भएँ । तैपनि कहीँ न कहीँबाट त जान सक्छु होला भनेर सानो सानो गोरेटो बाटो हुँदै अर्को दिशातर्फ लागेँ। त्यहाँ हिँड्ने अरू कोही थिएन, घरी घरी यस्तो हठी हुँदा डर नि लाग्थ्यो । अर्काको देश, भाषा बुझिँदैन, एक्लो छु । अस्ति यस्तै नचाहिने काम गरेर अर्काको बारीको अम्बा खाको थिएँ । यी बन्दुक तेर्स्याएका आर्मीले त के छोड्लान् जस्तो लाग्यो। अफ्रिकी महादेशबाट अवैध रूपमा जहाज छिर्न खोज्ने आप्रवासीहरू धेरै हुन्छन् । त्यसैले त्यहाँ हवाई गस्ती नियमित भइरहेको थियो। अर्को दिशातर्फ त झन् ठुलो आर्मी गेट रहेछ, त्यसैले अब थुम्कोतिर हिँडेर जाने चाहना सकियो।

दाहिने साइड पट्टिको उकालो जाने बाटो बन्द थियो तर देब्रेपट्टि भने महासागरको भँगालो अति नै मनमोहक देखिने रहेछ। समुद्रको किनारमा पदयात्रीका लागि झन्डै २-४ मिटर लामो काठका  फल्याक ओछ्याएर बाटो बनाएको रहेछ। कोही समुद्री छालसँग रमाउँदै थिए त कोही टुइँटुइँ हिँडिरहेका थिए। त्यहाँ सूचना टाँसिएको थियो त्यो दाहिने पट्टिको क्षेत्र निषेधित क्षेत्र रहेछ । अलि संवेदनशील भएकोले आर्मीले सुरक्षा दिएको रहेछ। अलि पर अर्को डाँडोको टुप्पोमा सेतो क्रस गाडिएको थियो । अब मलाई उकालो हिँडेर त्यो क्रससम्म पुग्न मन लाग्यो।

निजासँगको पहिलो भेटमा डाँडो चढेपछि अर्को साइड मनमोहक देखिएको लोभले अवश्य त्यहाँ नि नयाँ केही देखिएला भन्ने आस बोकेर उकालो लागेँ । धेरै दिनपछि निजाको याद आयो । झल्याँस्स भएँ ऊ त्यो परबाट त्यही डाँडोतिर लम्किरहेका दुई जना निजा र उनको नयाँ साथी होला सोचेँ। चार दिन अघि विमानस्थलमा बिदा गरेपछि घरीघरी सम्झना त आउँथ्यो तर कुनै म्यासेज आदानप्रदान वा कुरा भएको थिएन। उनले केही अप्ठ्यारो पर्‍यो भने म भन्छु है भनेर बिदा भएकी थिइन्। उनको तर्फबाट कुनै खबर नआएकोले हामीहरू छुट्टिए पछिका पलहरू खुसीसाथ बिताइन भन्ने लाग्यो । उनीहरू नि यसै गरी विभिन्न ठाउँ घुम्दै होलान्।

निजाले भनेकी थिइन्, “त्यो साथीसँग भेट्ने टुङ्गो नभएको भए हामी पाँचै दिन सँगै घुम्न हुन्थ्यो है ।” उनको र मेरो विगतका अनुभव, रुचिहरू धरै मिल्थे त्यसैले उनी मसँग ढुक्क थिइन्। चिन्ता व्यक्त गर्थिन्– “न नयाँ साथी एकै ठाउँमा बस्ने, बार नाइट क्लब रुचाउने खाले पर्ने हो कि” जुन निजालाई पटक्कै मन पर्दैनथ्यो। आफ्नो साथीसँग समय बिताउँदा कुनै द्विविधा वा अवरोध मनमा नआओस् भनेर मैले नि म्यासेज गरेको थिइन। हैट ! क्या हुस्सु भएछु- निजाको त आज फर्कने दिन हो अबको एक घण्टामा त उनको जहान उड्छ। मैले “तिम्रो घुमघाम रमाइलै भो होला है, शुभ यात्रा ल” लेखेँ । तुरुन्तै फर्काइन् “धन्यवाद” ।

उनको बारे सोच्दै सोच्दै क्रस गाढेको ठाउँमा पुगेँ । त्यहाँ अरू पनि जम्मा भएका थिए। कोही म जस्तै एक्ला त कोही जोडी, कोही समूहमा। एक्ला एक्लै हुनेहरू पनि त्यहाँ एक अर्कामा चिनजान गर्दै कुरा गर्न थाले। जोडी, समूहमा आएकाहरू त आफैँमा व्यस्त अरूको मतलबै भएन। मलाई पनि सोधखोज गरे। मैले सामान्य जानकारी दिएर खासै चासो राखिन किनकि अब मसँग केही घण्टा मात्र बाँकी थियो। त्यहीँ क्रस छेउ पुगेर चिनजान गरेको एक जोडीले यात्रा सँगै अघि बढाए- मैले ठ्याक्कै आफू पुगेको दिन सम्झिएँ यसै गरी साथी भेट्टाएको । हामी पुगेको त्यो क्रसको नाम “मिराडोर डे ला क्रुज” थियो र वरिपरि ६ किलोमिटर पदयात्राको अग्लो बिन्दु रहेछ । अघि सोचे झैँ यो क्रस गाडिएको टुप्पोबाट अर्कोतर्फ अति नै रमणीय दृश्यहरू देखिने रहेछ। त्यहाँबाट अर्को तर्फ हेर्दा त चराहरू उडे झैँ आकाशमा अनगिन्ती मानिसहरू उडिरहेका देखियो। मलाई झन् कौतुहलता भयो, यी मान्छेहरू कहाँबाट उड्छन् होला।

म उड्ने र झर्ने ठाउँ पहिल्याउँदै त्यतैतिर बढेँ । त्यहाँ प्याराग्लाइडिङ गर्नको लागि अग्रिम बुकिङ गरेर मानिसहरू ओइरो लाग्दा रहेछन् । मलाई पनि कौतुहलता जाग्यो । महासागरको माथि चरा जसरी उड्दा कस्तो अनुभव होला। मैँले मिल्यो भने उड्ने बिचार गरेँ, त्यहाँ उडाउनेहरूसँग सोधखोज गरेँ, कुनै रद्द गरिएको यात्रुको ठाउँमा मलाई राखिदिने भए। सबैले शुल्क अग्रिम तिर्ने अनि त्यहाँका कर्मचारीको काम  उडाउने मात्र भएकोले कार्डबाट पैसा तिर्न मिलेन। ६० युरो लिँदा रहेछन् खल्तीमा ५० युरो मात्रै नगद थियो । देखाएर भनेँ यत्ति छ के गरूँ। ल केही छैन हुन्छ भने अरू भन्दा १० युरो सस्तोमा बिना योजना उड्न पाएँ ।

आफ्नो पालो आउनुअघि मलाई विशेष खाले लुगा लगाइदिए । शरीरको तौल अनुसार थप २० किलो वजन थपिदिए। अघि त्यस्तो उत्साहित भएको मान्छे अहिले लुगा लाएर तयार भएपछि एक्कासि डर लाग्यो र म जान्ने भनेँ। वास्तवमा मैलेँ पोखराको सारनकोटबाट यस्तै प्याराग्लाइडिङ गरिसकेको थिएँ तर मलाई त्यहाँ त्यो गहिरो समुद्रदेखि अत्यास लाग्यो। पानीसँग अलि डर लाग्छ । त्यहाँ त्यहीँ भाव झल्कियो। उनीहरूले म जस्ता धरै बेहोरिसकेको भएर सहर्ष स्विकारे र भने, “एक छिन अरू ४-५ जना उडेको हेर, पुनर्विचार गर ।”

यसरी तैयार भैसकेको अवस्थामा छोडेर हिँड्दा सधैँभरि थक्क थक्क लाग्न नि सक्छ कि मैले त्यस्तो महासागरको निलो कन्चन पानीमाथि चरा जसरी उड्ने अवसर गुमाए भनेर। जीवनमा फेरि यस्तो अवसर आउला, नआउला । एक छिन हेरेपछि मलाई फेरी हौसला जाग्यो। यसो सोचेँ, मौकामा केही नि छोड्नु हुँदैन । चढ्नुअघि म जस्तै डराएका महिला, केटाकेटीहरू झरेपछि सोधेँ, उनीहरूले नि हौस्याइदिए । फेरी उड्ने निधो गरेँ। सुरुको झट्का डिलमा हालेको लिङ्गे पिङ जस्तो लाग्ने तर त्यहाँ भने भिर, बारीको सट्टा अगाडि भयानक सामुद्रिक छाल। खासमा डरको कारण यही थियो नत्र त्यति अग्लो सारन्कोटबाट झरेको अनुभवीलाई डर मान्नुपर्ने अरू कारण थिएन। पौडी खेल्न आउने भएको भए झन् बढी आत्मविश्वास बढ्थ्यो होला । जे होस मेरो पालो आयो उडेरै छोडेँ।

एक पटक सुरुमा जमिन छोडेर समुद्रमाथि पुग्दा अलि झसङ्ग भएँ,  उँचाइमा पुगेपछि पाइलटले जानी जानी तलमाथि झट्कार्दा अलि डरलाग्दो भयाे । उसले मेरो भाव बुझेपछि आनन्दसँग उडायो। उड्दाउड्दै नेपालमा रहेकी श्रीमतीसँग लाइभ भिडियो कुराकानी गरेँ, अनौठो अनुभव गर्ने मौका मिल्यो । खुसी त तब भएँ जब बिहान कौसीदेखि देखेको र म पुगेरै छोड्छु भनेको कोइलाको थुप्रोमा खुट्टाले छुँला झैँ गरी उडायो। यसरी त्यो मेरो इच्छा पुरा हुनु रहेछ र पो एक चोटि इन्कार गरेर नि उडेरै छोडेको। लाभा विस्फोट भएर बनेको त्यो थुप्रो यसै गरी मात्रै अवलोकन गर्न सकिने रहेछ । अरू बुझेर गा का थिए, म संयोगले पुगेको थिएँ।

कहिले प्रफुल्लित हुन्थेँ त कहिले गम्न थाल्थेँ, अनगिन्ती धागोले बेरिएको त्यो यन्त्रको एउटा मात्रै धागो छिन्यो भने नि हामी दुईको जीवन सकिन्छ भनेर। ठ्याक्कै दुई महिनाअघि ( अक्टोबर १६) पाइलट निशिम थापाको सारंकोटमा यस्तै दुर्घटनामा ज्यान गएको सम्झिएँ। त्यसै गरी करिब ३ वर्षअघि उस्तै प्रकारको दुर्घटना भएर रसियाका ४२ वर्षीय दिमित्रीले पनि ज्यान गुमाएका थिए। दुर्घटना भन्ने कुरा जहाँ जहिले नि हुन सक्छ फेरि यस्तो खाले गतिविधि त झन् साहसिक पर्यटकीय गतिविधिअन्तर्गत पर्दछ यदाकदा घटना घट्नु स्वाभाविक हो।

म अलि सोचाइमा डुबेको जस्तो लागेर होला उडानलाई जीवन्त बनाउन पाइलटले मेरो बारे सोध्न थाले।

मैले अहिले फिन्ल्याण्डबाट आएको हुँ तर नेपाली हुँ र नेपालको सारंकोटमा पनि प्याराग्लाइडिङ गरेको बताउँदै थिएँ । उनी त छक्क परे। जीवनमा सन्जोग पनि कस्तो कस्तो पर्ने, मलाई उडाइरहेका पाइलट पाब्लो ३ पटक नेपाल पुगिसकेका रहेछन्। मैले त्यो टापुमा नेपाल पुगेको मान्छे भेटेको नि पाब्लो नै हो । उनले तिनै पटक जाँदा सारंकोटमा आफैँ प्याराग्लाइडिङ गरेको अनि कालापत्थर, कञ्चनजङ्घा लगायत मैले नामै नसुनेको ठाउँहरू समेत पुगिसकेका रहेछन्। अरू बेला नेपालप्रति जस्तोसुकै नकारात्मक भावना आए पनि त्यस्तो अनकन्टार समुद्रमाथि एउटा स्थानीय नागरिकले पटापट नेपाल अनि त्यताका विशेष ठाउँको उच्चारण गर्दा गर्व लाग्दो रहेछ । कि हाम्रो देशमा पनि पाब्लो जस्ताको मन लोभ्याउने अनगिन्ती ठाउँ छन् भनेर।

उनको यहाँ उडाउने र हाम्रो सारनकोट उडाउने एजेन्सी बिच सहकार्य हुन सके धेरैको मन तान्न सक्छ “प्याराग्लाइडिङ इन हिल्ल्स एन्ड ओसिएन “। उनले दुई हात छोडेर मेरो फोटो भिडियो बनाउँदै गर्दा झस्किन्थेँ  तर कन्ट्रोल गरिहाल्थे । उडान समय सकियो, उनी पनि मलाई उडाउन पाएकोमा औधी खुसी हुँदै सबै सहपाठीलाई सुनाए र एउटा समूह फोटो खिच्न खोजे। सायद उनीहरूको लागि पनि म उल्लेख गर्न लायक ग्राहक भएँ होला – एक चोटि लुगा फुकालेर जान्न भनेको, पछि त त्यस्तो उच्चो डाँडाबाट गरिसकेको परेछ – वा यस्तै यस्तै ।

यो टापुमा आएदेखि भए, गरेका सम्झन लायक गतिविधिमा यो पनि थपियो। अब समुद्रको किनारै घरतिरको बाटो समातेँ। एक छिन हिँडेपछि बालुवाको किनार आइपुग्यो, जुत्ता फुकालेर हातमा लिएर मज्जाले बालुवामा हिँडे। मेरो खुट्टामा जुत्ता परेको १२ वर्षको उमेरमा २०४५ सालमा थियो त्यसअघि यसै गरी खोलाका बगर, बालुवामा निकै टेकेको थिएँ । आज बाल्यकालको त्यो उमङ्ग फेरि ब्युँतियो । बालुवामा कोही मज्जाले योगा गर्दै थिए, कोही ढाड सेकाएर सुतिरहेका। मेरो भने अब होटेल पुग्नु र कौसीको अन्तिम आनन्द लिनु थियो। सहर पुगेर बस चढेँ २० मिनेट जतिमा घर पुगियो।

तीन दिनअघि किनेका फलफूल, अन्य खानेकुरा सबै सक्नु थियो, प्लेटमा राखेर फ्रिजमा बाँकी भएको बियर लिएर कौसीमा पुगेँ। आज फुटबल पनि छैन, यो मेरो रमणीय यात्राको अन्तिम दिन । मलाई किन किन यो ठाउँ छोड्नै मन छैन। छतबाट केही मिटर तल तेल दलेको जस्तो चिल्लो सडकमा अनगिन्ती गाडी निस्कन्थे, अनि फुत्त छिर्थे चट्टान भित्रको दुलोमा । पहाडको त्यो सुरुङ छेडेपछि अर्को सहर झलमल्ल हुन्थ्यो। उता भोलि पुग्ने बरफ जमेको ठाउँ । दिमागमा फ्ल्यास भयो म केही लेख्छु।

निजासँगको रात सम्झिएँ- उनले भनेकी थिइन् कि मसँग नि केही प्रतिभा छन् जुन मैले खोजेर प्रस्फुटन गर्नु छ। के थाहा यही लेख्ने क्षमता नै मेरो गुम्सिएको प्रतिभा हो कि। धरै पहिला लेख्ने गर्थेँ तर पत्रिकामा सामान्य लेख-रचना वा संवाददाताका रूपमा हलुका फुल्का मात्रै । झन्डै २० वर्षअगाडि स्पेस टाइम, हिमालय टाइम्समा नियमित लेखिन्थ्यो पछि ती दुवै पत्रिका बन्द भए। त्यतिखेर काठमाडौँ उपत्यकालाई लक्षित गरेर लेखेको “साइकल चढौँ वातावरण जोगाऊँ” भन्ने मेरो लेख पाठकहरूले अति मन पराउनु भएको थियो ।

२००७ मा जाम्बिया छँदा कान्तिपुर कोसेलीमा इन्टरनेट प्रयोगलाई संयमित बनाउने सुझाव सहित प्रकाशित गरिएको “समस्या डट कम” छापेपछि खासै केही प्रकाशित गरेको थिइन । त्यसो त ब्लगको रूपमा २००९ तिर माइसंसारमा प्रकाशित “फोहोरबाट मोहोर” लेख आजको दिनमा चरितार्थ भइरहेको छ। त्यसपछि परदेशमा जीविकोपार्जन र परिवारको पालन पोषणमै दिन बिते, लेख्ने चाहना गुम्सेरै बसे। आज यो कौसीमा बसेर मेरो यो ७ दिनको यात्रा अनुभव लिपिबद्ध गर्ने हुटहुटी जाग्यो। मिलाउन जाने पनि नजाने पनि भावहरू भने बग्दै गए- खाएको, पिएको र सुत्ने समयको पत्तै भएन कतिखेर निदाइएछ ।