“वाह सलकपुर” अरे नि त ! किन पायो वाह सलकपुरले ? झसङ्ग भएँ म । हात हल्लाउँदै होमस्टे सञ्चालक रेश्मा मुस्काइन् – फेरि पनि आउनुहोला है ! यसपछि मेरा दुवै छोरीहरूले एकै स्वरमा भनेका हुन् – वाह सलकपुर ! अनि झस्केको पो रहेछु ।
“किन वाह सलकपुर ?” प्रश्न गरेँ मैले। यहाँका डाँडा-पाखाले मात्र वाह पाएका होइनन् । चिसो हावाले पनि वाह पाएको होइन। पानी र रमणीय दृश्यले मात्रै पनि वाह पाएको होइन रहेछ लकपुरले । त्यसो त पूरै इलामै वाह हो नि ! गर्मी भए इलामतिर लाग्नलाई कुनै बहाना चाहिन्न – लाग्यो मन, चढ्यो उकालो ।
अनि के हो त बिस केजीको वाह पाउने सलकपुरको राज ? जिज्ञासा मैले राखेँ । भन्छन् नि – के शब्द जोखेर बोलेको ? लाग्थ्यो- शब्द पनि जोखिन्छ र ! बल्ल बुझ्दै छु शब्दको तौल । कुनै शब्द यति गहकिला हुन्छन्, कतिपय मानिसले एउटा शब्द पनि थेग्न सक्दैनन् । तौल हुन्छ शब्दको । तौल हुँदो रहेछ दृश्यको पनि । तौल मनको त हुन्छ – अनुभूत गरेको छु मैले । विज्ञान पृष्ठभूमिबाट अङ्ग्रेजी समालोचनाको विषय रोजेकी मेरी जेठी छोरी अचेल एक झोला गह्रुँगा शब्द बोकेर हिँड्छे । उसका ओठमा सलबलाउने शब्दहरू परिष्कृत हुन्छन् । बान्की परेका हुन्छन्। शृङ्गारित हुन्छन् । कहिले त कसैलाई शब्दले हिर्काएर थुचुक्कै बसाएकी पो छे त ! कहिले तिनै शब्दले कतिको छाक टारेकी छे । कतै शब्द नै मलम बनेका छन् । औषधि पनि तिनै शब्द ! शब्द-भात, शब्द-पानी, शब्द-खाजा, शब्द-मलम, शब्द-औषधि। उसको झोलाभरि, थर्मसभरि र पर्सभरि शब्द हुन्छन् । अनि सिकेँ मैले शब्दको तौल ! बाबुले छोरीबाट सिक्न नहुने हो र ! आज उसको मुखबाट निस्केको वाह शब्द बिस केजीको थियो ।
मेरो जिज्ञासा मेटिएन – “किन वाह हो सलकपुरलाई ?”
आँखाको बाटो हुँदै जिउभित्र पसेको कन्याम जीवनभर रहन्छ मानिसको । चियाबारीमा अड्केर झरेको मनको टुक्रा कसले पो बिर्सन सक्छ र ! मिठो दुखाइको अनुभूतिमा एक मन कन्याम सँगालेर बाँच्छ मान्छे । अब त तस्बिरभरि कन्याम । टिकटकभरि कन्याम । सामाजिक सञ्जालभरि र स्ट्याटसभरि कन्याम भरिएको छ । कन्यामै वाह हो त ! होइन र ? हो, कन्यामले धेरै वाह पाएको छ ।
सित्तैमा पाइने हावा बिक्न थाल्यो । ओठ, मुस्कान र सेता दाँत बिक्न थाले । अनि कन्यामेले वाह बेच्न थाले । चियाबारी बिक्यो । डाँडाका हरियाली, सौन्दर्य बिके । आयातित हाँसोमा इलामे फ्लेभर राखेर बेच्न थालियो । नाम फेरियो-पहिचान फेरियो । इमान फेरियो – जमान फेरियो । इलामको शान – मुस्कान फेरियो । अब अदुवा, अलैँची, ओलन, अम्रिसो, ललिपप, छुर्पी आदि-आदि मौलिक रहेनन्। यसैले वाह को टिप्स पनि घट्यो ।
वाह त सन्दकपुरले पाउनुपर्ने हो ! पहिलो भेटमा त मैले पनि पचास केजीको वाह दिएको थिएँ सन्दकपुरलाई ।
सन्दकपुरको स्पर्श पनि उत्तिकै न्यानो छ नि ! ‘नमरी स्वर्ग पुगिन्न’ यो उखान सन्दकपुर नपुग्नेले बनाए होलान् । पुग्न त जानु पो पर्छ त ! सन्दकपुर जानुभयो ? जानु भएन भने मरेपछि पनि पुगिन्न स्वर्ग ! सन्दकपुर पुगेर धर्ती तल हेर्दा थाहा हुन्छ स्वर्ग हो कि होइन । तपाईंसित वाह छन् भने एक डोको बोकेर जानुहोला सन्दकपुर । नत्र पछुताउनु पर्ने हुन्छ।
यता श्रीअन्तुले पनि पाइरहेकै छ वाह । उसले त देश-विदेशका वाह बटुलेको छ । होमस्टेमा पाएको स्वागत, इलामे पाराको बोली वचन र व्यवहार । यिनको सट्टा तपाईं वाह दिन सक्नुहुन्छ। दस-बिस-पचास र सय केजीका वाह । माईपोखरी, देउराली, पशुपतिनगर सबै एकसे एक छन् नि वाह पाउनलाई ! त्यसैले त म भन्छु नि – इलामै वाह, वाह नै इलाम !
अबचाहिँ कुरो सलकपुरको । कता पर्छ सलकपुर ? आउनुहोस् १२५ सिसीको सुपर स्प्लेन्डरमा पछाडि बस्नुहोस् ! सार्वजनिक सवारीमा जाने ? सिधै काँकडभिट्टा गएर एक घण्टाको अन्तरालमा छुट्ने ‘सलकपुर बस’ समात्नुहोस् । र बिस किलोमिटर यात्रा तय गर्नुहोस् ।
मेरो पछाडि बस्नुभयो ? राम्रो गर्नुभयो । एउटा फाइदा छ मसित जाँदा । दस मिनेटदेखि नै इलामको संसर्ग पाउनुहुनेछ ।
हामी अहिले झापाको शिखर बुद्धशान्तिमा छौँ । “यहाँबाट इलाम सुरु भएको हो ?” एक थान उकालो कटेर चियाबारी देखिएपछि, तपाईँले इलाम-कन्याम पुगिएछ भन्ने अड्कल गर्नुभयो । “होइन नि, अझै झापामै छौँ हामी । यो बर्ने चिया कमान पो हो त !” डाँडाकाँडा देखिए नजिकै । हावा चिसो चल्यो । अनि तपाईँले इलाम ठान्नुभएको मात्र हो । लोभलाग्दो छ नि होइन ?
हामी आइपुग्यौँ हापिन चोक । हाफ पाइन्ट चोक हो । यसको कथा भनुँला पछि । धमाधम निर्माण भइरहेको मदन भण्डारी लोकमार्ग हो यो । अब यही खाल्डा बाटोबाटै हामी पूर्व लाग्छौँ । पूर्व-पूर्व-पूर्व र फेरि पनि पूर्व ! हो, अबचाहिँ तपाईँले प्रश्न गरे पनि हुन्छ है ‘इलाम छिरियो ?’ भनेर । तर म यसको जबाफ दिन सक्दिनँ । झापा-इलाम, इलाम-झापा । खोला-जङ्गल, जङ्गल-खोला, गाउँ-पहाड, पहाड-गाउँ, उकालो-ओरालो, ओरालो-उकालो, यस्तै हो । हजुर-हजुर, यी विकासका मुना हुन् । दुई वर्ष भो रोपेको । नक्साङ्कन, मुआब्जा, डीपीआर गरेपछि रोपेको नि ! राम्रै फल लाग्ला जस्तो छ होइन त !
अबचाहिँ मूक भाषामा कुरा गर्दै जाऔँ है ! ४० मिनेटको यो यात्रामा देखिने दृश्यावली मनको क्यामेरामा कैद गरेर राख्नुहोस् । पछि काम लाग्छ । बोल्न थाले दृश्य हराउँछ।
“हा हा हा !”
मदन भण्डारी लोकमार्ग त तपाईँले कम्प्युटर गेममा भएको बाटो जस्तै पो देख्नुभएछ । हो साँच्चिकै यस्तै हुनेछ निर्माण सकिएपछि ।
हामी मेचीनगर नगरपालिकाको बौद्ध मोड आइपुग्यौँ । अझै तिन किलोमिटर गुड्छ सुपर उत्तरतिर । गाडा गल्ली मास्तिर ‘शमीचोक’ मा बहिनी छन् । त्यहीँ साधन थन्क्याएर ‘सलकपुर बस’ समात्नुपर्छ । आज बुधवार । भिड हुन सक्छ ।
गर्मीको अन्तिम बिन्दु । खचाखच बस । पुरानो साधन र कच्ची हलका उकालो सडक ! अहिले तपाईं र म आमनेसामने दुई तर्फी रड समातेर उभिएका छौँ बसमा । ‘डफलीवा..ले…’ गीत बज्यो । गीत बज्ने ढ्वाङग्रो तपाईंको कानैमा परेको छ । यहाँभन्दा बढी के चाहियो ! म पढ्छु तपाईंको अनुहार – “हैट ! कस्तो गारो भएको !” मौन अभिव्यक्ति।
…
“अरे ! मेरो त कान चटक्क पो गर्यो त !” ३-४ मिनेटको मौन भङ्ग गर्दै भन्नुभयो तपाईँले ।
“सीमा समाप्त !” भनेँ मैले । पसियो इलाम । होइन बाटोभन्दा ठुलो छ त बस ! बसको ढ्वाङग्रोमा अहिले नेपाली लोकदोहोरी बजिरहेको छ तर तपाईँको मनमा बाटोमा नअटाएको बस भिरबाट खस्ला कि भन्ने ढ्याङ्ग्रो बजेको छ । ड्राइभर कस्तो आँटिलो ! पानीले खोलेर तिन चार फिट उचालिएका छन् ढुङ्गा । अनि ऊ मोबाइलमा व्यस्त ! हत्तेरिका ! जाक्छ होला खोल्सातिर ! उसले एक हातले स्टेरिङ घुमाएको पारा देखेर तपाईँको मन कुँडिएको हो ।
यति भोगेपछि तपाईँलाई म रिक्याप मात्र देखाउँछु :
“नमस्ते..!” स्वागत रेश्माले गरिन् । उत्रेका थियौँ हामी बसबाट । यो पहाड उक्ले पछिको सम्म ठाउँ थियो – सलकपुर ।
पूर्वमा अलि अग्लो भर्याङ चढेर थुम्कीमा उक्लेपछि ‘दृश्यावलोकन स्थल’ रहेछ । सिधा तल भुईँमा मेची नदी। पारि इन्डिया-भारत । दक्षिणमा बाहुनडाँगी-काँकडभिट्टा सम्मको परिदृश्य ! अब यसलाई चाहिँ अलि बयान गर्नै पर्छ। तर बयान गर्न नसकिने शब्दमा । तलसम्म ठाउँमा कतै झुरुप्प, कतै पातला, राता नीला घरहरू । अलिकति छड्के, हलका सिधा र बढी घुमाउरो बाटो । अनि यहाँबाट हेर्दा मानौँ जङ्गलभित्र बस्ती बसेको हो । नमस्कार गर्दा जोडिएका हातलाई सिधा अगाडि ल्याउँदा कस्तो हुन्छ ? हो… त्यस्तै देखिन्छ पहाडहरूको शृङ्खला । बिचमा चुलिएको – दुवैतिर भिरालो । प्रकृतिको यो अनुपम चित्रकला मानव मस्तिष्कको पहुँचभन्दा धेरै पर छ । यी दृश्य हेर्न जोकोही आफैँ आउनुपर्छ ।
यसपछि सलकपुरको भौतिक वर्णन नगर्नु नै उचित होला । पश्चिममा झन्डी डाँडा र उत्तरमा खोइ केके । यति मात्र। यिनले पनि वाह त पाएकै हुन् । तर…
अघिल्लो दिन बसबाट झरेदेखि भोलिपल्ट बसमा चढुन्जेल सम्मको आतिथ्य नै वाह को कारण रहेछ । यो ठाउँको सौन्दर्य मनभित्र पनि रहेछ । मानव मनभित्र । अर्ग्यानिक सौन्दर्य ! वास्तविक सौन्दर्य ! फ्लेभर मिसाउनै नपर्ने ! मानव मनभित्र एउटा मन्दिर बनाएर बसेको मानवीयता ! हो यही मन मन्दिरको सहजता, जुन व्यवसायले दिन सक्दैन। जुन कृत्रिम हाँसोमा पाइन्न । मानौँ यहाँको मानवता पहाडको पत्र फुटाएर निस्केको मूल पानी हो । जसमा औषधीय गुण पाइन्छ। पटक्कै बनावटी नभएको र एकै पटकमा नअघाइने राजमा दालजस्तो मन, लोकल चामलको भात जस्तो स्वादिलो व्यवहार, सुन्तलाको जस्तो जिब्रो बाउँडिने आत्मीयता । बास यिनले वाह पाएका रहेछन् ।
बस हर्न होइन हार्मोनियम बजाउँदै थियो। मैले ढोकामा उभिएर भनेँ – वाह सलकपुर ..!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।