२०७९ सालको भदौमा झापाको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । त्यस कार्यक्रममा नेपाली साहित्य परिषद् मणिपुरका अध्यक्ष साहित्यकार भवानी अधिकारीको समेत उपस्थिति थियो । कार्यक्रम सकेर डा. गोविन्दराज भट्टराईका साथमा भवानी अधिकारी पनि हाम्रो घर दमकमा आउनुभएको थियो । उहाँ एक रात हाम्रो घरमा बस्नुभयो ।
भवानीज्यूसँग यसअघि मेरो चिनजान थिएन । बेलुका खाना खाएर सामान्य गफगाफ भयो । उहाँ मणिपुरको सामान्य साहित्यकर्मी हुनुहुन्छ जस्तो लागेको थियो मलाई । तर, उहाँ त साहित्यमा मणिपुरको मणि नै हुनुहुँदो रहेछ । भवानी अधिकारी खतिवडाको भान्जा र म खतिवडाकी छोरी भएको हुनाले खतिवडा वंश नम्बर अनुसार साइनोले हामी दाजु बहिनी भयौँ । यसले हामीलाई अझ नजिक र आत्मीय बनायो ।
झापाको केर खामा उहाँको मावली घर रहेछ । भोलिपल्ट मावलीघर जानको लागि उहाँँले हामीसँग बिदा माग्नुभयो । जाँदाजाँदै गोविन्द बाबुलाई यो पनि भन्नुभयो – हामी मणिपुरमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्छाैं र त्यसमा तपाईँहरू आउनुपर्छ ।
भवानी दाइले त्यसो भन्दै गर्दा मेरो मनमा मणिपुर यात्राको उत्साह भरियो । गोविन्द बाबुले मलाई पनि यात्रामा सहभागी गराउनुहोला भन्ने सम्झेर मनमनै रमाएँ । भवानी दाइ गएपछि गोविन्द बाबु पनि काठमाडौँ जानुभयो । त्यस बिचमा मणिपुरको जाने कुरा कहाँ पुग्यो, मलाई केही थाहा भएन । तर भवानी दाइ र गोविन्द बाबुबिच मणिपुर भ्रमणबारे सरसल्लाह भई नै रहेको रहेछ । घर आएका बेला गोविन्द बाबुले भन्नुभयो– दसैँ र तिहारको बिचमा मणिपुर जाने । दाजु भाउजू पनि तयार हुनु । खगेन्द्र व्यञ्जना पनि यात्रामा हुनेछन् ।
त्यो समय स्कुल कलेज बिदा हुने हुँदा हामी सबै मणिपुर जाने लिस्टमा पर्यौं । तर, त्यही समयमा म चाहिँ मेरा दाजुबहिनीहरूको साथमा वृन्दावन जाने योजनामा थिएँ । मणिपुरको टिकट काट्नुभन्दा पहिले नै मेरो वृन्दावनसम्म जाने टिकट काटिएको थियो । भारी मनले मणिपुर टोलीबाट आफ्नो नाम झिक्नु पर्यो ।
तर मेरो भाग्य बलियो, मणिपुरको कार्यक्रम दसैँ तिहार पछाडि हुने गरी सरेछ । त्यसैले मेरो काटिएको नाम मणिपुर टोलीमा पुनः दर्ता भयो । तर, खगेन्द्र बाबु र व्यञ्जनाले मणिपुर जाने लिस्टबाट आफ्नो नाम कटाउनु भएछ । कारण, त्यो समय लामो बिदापछि स्कुल कलेज खुलेका थिए । मैले चाहिँ केही सञ्चित बिदा प्रयोग गर्ने गरी जाने निर्णय गरेँ ।
मणिपुर जानेमा दमकबाट डा.गोविन्दराज भट्टराई, डा.अञ्जना भट्टराई, पदम वली, माया वली, नारायण शर्मा फुयाँल, हामी दुई कमलराज भट्टराई र म, काठमाडाैँबाट डा. कुमार कोइराला, सुवना कोइराला, डा. विष्णुसिंह राई, लक्ष्मण वियोगी– यात्रु एघार जना भयौँ । काठमाडाैँबाट जाने सबैले सल्लाहअनुसार कमलराज भट्टराईको बैक खातामा टिकटको रकम पठाइदिनुभयो ।
तीन शिक्षकहरू नारायण फुयाल, पदम वली र कमलराज भट्टराई मिलेर सबैको टिकट दमकबाटै काट्नुभयो । त्यसमा, गोविन्द, अञ्जना र लक्ष्मण वियोगी बाहेकको । उहाँँहरू तीन जना बाहेक भारतको सिलिगुडीबाट मुक्तिप्रसाद उपाध्याय, दिप्ती उपाध्याय र आसाम तेजपुरका ज्ञानबहादुर क्षेत्रीचाहिँ प्लेनबाट कार्तिक १७ गते नै गुवाहाटी तर्फ प्रस्थान गर्नुभएको थियो । गुवाहाटी विश्वविद्यालयमा सम्पन्न हुने ‘भारतीय नेपाली भाषामा बृहत् नेपाली शब्दकोश र पहिलो नेपाली भाषाको विश्वकाेश’ विषयक तीन दिने गोष्ठीमा सहभागी हुन उहाँँहरू अलि छिटो त्यसतर्फ लाग्नुभएको थियो । बाँकी हामी चाहिँ २१ गते भारत पश्चित बङ्गालको न्यू जलपाइगुडी (एन.जे.पी.) बाट रेल चढेर पूर्वोत्तर आसामाको डिमापुर जाने निर्णय भएको थियो । हामी पहिले पनि आसामको विश्वनाथ चार आलीको कार्यक्रममा जाँदा दुई रात गुवाहाटी बसेर त्यहाँका मुख्य ठाउँहरू घुमिसकेका थियौँ । त्यही भएर यस पटक सरासर डिमापुर जाने भनी टिकट काटिएको थियो । मणिपुर पुग्नका लागि डिमापुरसम्म रेलबाट जान सकिने रहेछ । र, त्यहाँबाट मणिपुरसम्म चाहिँ चार पाङ्ग्रे गाडी चढ्नुपर्ने रहेछ ।
यो पटक कुमार कोइराला सर र सुवना मेडम २० गते बेलुकै दमक हाम्रो घरमा आउनुभयो भने विष्णु राई सर झिलझिले आफ्नी बहिनीको घरमा पुगेर बस्नुभएछ । २१ गते उहाँनै दमकका जङ्ग श्रेष्ठ भाइले बन्दोबस्त गर्नुभएका दुई वटा कार रिजर्भ गरेर बाटो लाग्यौँ । पदम सर, माया गुरुआमा, नारायण सरलाई दमकबाट लाग्यौँ भने विष्णु राई चाहिँ झिलझिले चोकदेखि हामीसँग मिसिनु भयो ।
समयमा नै हामी एन.जे.पी. पुग्यौँ र रेलवे स्टेसनतिर लाग्यौँ । त्यहाँ हल्का चिया नास्ता गरी आफ्नो नम्बरको डब्बा, बग्गी रोकिने ठाउँ पत्ता लगाई त्यहीँ हाम्रा झोला बिसाएर रेलको प्रतीक्षामा बस्यौँ । १५५८ कि.मी. टाढा नयाँ दिल्लीदेखि हिँडेको राजधानी एक्सप्रेस नेपाली समय अनुसार दिउँसो पौने एकमा आइपुग्यो । हामी सबै आफ्नो नम्बरको डब्बा हेरेर चढ्यौँ र आआफ्नो नम्बरको सिटमा झोला बिसायौँ ।
राजधानी एक्सप्रेसमा चिया नास्ता, खानपिनको सम्पूर्ण प्रबन्ध रहेछ । रेलको खान्की र बाहिरका दृश्यको मजा लिँदै हाम्रो यात्रा अघि बढ्यो । खाजाले छाड्न नभ्याउँदै खाना आइपुग्यो । ताजा र मीठो खानाले सबै जना तृप्त भयौँ । रेलले डिमापुर स्टेसनमा हामीलाई ओराल्दा रातिको दुई बजेको थियो । रातिको समय भएकोले हामीले स्टेसनभित्रकै रमिता हेरेर उहाँको चार बजायौँ । झिसमिसेमै मणिपुर जाने गाडी पक्रिन स्टेसनतिर लाग्यौँ र एउटा विङ्गर गाडी समात्यौँ । त्यो विङ्गर मणिपुरको बाटो लाग्यो । डिमापुरबाट हामी छुट्दा अँध्यारै थियो । झन्डै एक घन्टाको बाटो काटेपछि मात्र राम्ररी उज्यालो भयो । दुईपट्टि होचा होचा थुम्के पहाड, बिचमा बाटो, सुन्दर दृश्यका बिचैबिच हाम्रो यात्रा अघि बढिरह्यो । करिब चार घन्टा जति गाडीमा हिँडेपछि हामी नागाल्यान्डको राजधानी सहर काेहीमा पुग्यौँ ।
कोहिमा सहर पहाडी भित्ताहरूमा फैलिएको रहेछ । भित्ताहरूमा सेता बाक्लै घरहरू टम्म थिए तर खेतीयोग्य जमिनहरू खासै देखिएन ।
कोहिमाबाट एक घण्टाको यात्रा अघि बढेपछि नागाल्यान्ड र मणिपुरको सिमाना माऊ भन्ने ठाउँमा पुग्यौँ । माऊमा झन्डै एक घण्टा अलमल भयो । त्यहाँबाट मणिपुर प्रवेश गर्नका लागि अनुमतिपत्र लिनु अनिवार्य रहेछ । हामी सबैले आआफ्ना परिचय खुल्ने कागज देखायौँ र अनुमतिपत्र बनाएर मणिपुर छिर्यौं । माऊदेखि उताको बाटो मर्मत सम्भार र विस्तार हुने क्रममा रहेछ । त्यसैले हाम्रो सवारीले छिटो गति चाहिँ लिन सकेन । कतै पहाडको फेद त कतै बिचबाट हुँदै रमाइलो दृश्य हेर्दै लगभग नौ घण्टाको विङ्गरको यात्रा गरेर मणिपुरको चार हजारे पुग्यौँ । उताका आतिथेयसँग हाम्रो मोबाइल सम्पर्क भइरहेको थियो । हामी ओर्लिएको एकैछिनमा एक जना भाइ हामीलाई लिन आइपुग्नुभयो । उहाँ कीर्तिमणि खतिवडा हुनुहुँदो रहेछ । उहाँँले हामीलाई आफ्नो घरमा पुर्याउनुभयो । उहाँकी श्रीमती टिका कतै बाहिर जानुभएको रहेछ । हामी पुगेको एकैछिनमा आइपुग्नुभयो । हामीले त्यहाँ हातमुख धोएर दही, चिउरा, चिया खायौँ र थकाइ मार्यौं ।
चारहजारेमा अधिकांश नेपालीहरूको बसोबास रहेछ । नेपालकै कुनै स्थान जस्तो लाग्ने । चौध जनालाई दुई दुई जनाका दरले सात वटा घरमा बाँडिएर बस्ने व्यवस्था मिलाइएको रहेछ । सबै जना दुई दुई जनाको जोडीमा आ–आफ्नो निर्धारित घरमा जानुभयो । मलाई चाहिँ यही घरमा बस्न पाए हुन्थ्यो भएको थियो । जे चिताएको थिएँ, आखिरमा त्यही भयो । भाइ कीर्तिमणिको घरमा हामी दुई जना बस्यौँ । म त आफ्नै माइतीघरमा पुगेँ । खुसीको सीमा भएन ।
कीर्तिमणिका चार जना भाइहरू त्यहीँ वरिपरि साझा आँगन हुने गरी घर बनाएर बसेका रहेछन् । आमा कान्छो भाइसँग बस्नुभएको रहेछ । बुबा चाहिँ धेरै अगाडिदेखि नै संन्यास धर्म लिएर बनारसतिर बस्नुहुँदो रहेछ । सबै दाजुभाइमा राम्रो मेलमिलाप रहेछ । भाइ कीर्तिमणि र बहिनी टिका त्यस्तै मिलेका आदर्श जोडी ।
हामीप्रतिको आत्मीयता, त्यो हार्दिकता कहिल्यै भुल्न सकिन्न । त्यहाँ हामीलाई सहोदर दिदीभिनाजू झैँ गर्नुभयो । नौला स्थानीय खानेकुराहरू खुवाउनुभयो । गोविन्दबाबु र अञ्जना कीर्तिमणिकै काका प्राध्यापक टंकनाथ खतिवडाको घरमा बस्नुभएको थियो । हामी बाटो वारिपारि थियौँ । पदम सर र माया गुरुआमा उहाँकै माइती दाजु देवीप्रसाद शिवाकोटीको घरमा बस्नुभयो । मुक्ति बराल र दिप्ती बरालका सम्धीको घर नजिकै पर्दो रहेछ । उहाँँहरू त्यतै जानुभयो । नारायण फुयाँल सर बसन्तीदेवी पौडेलकोमा बस्नुभयो भने विष्णुसिंह राई, लक्ष्मण वियोगी र ज्ञानबहादुर क्षेत्री राहुल राई ‘बोगिको’ घर जानुभयो । कुमार सर र सुवना मेडम चाहिँ गंगाप्रसाद पौडेलको घरमा बस्नुभयो । यसरी हामीहरू चारहजारेमा विभिन्न घरहरूमा बाँडिएर बस्यौँ । हामीलाई उहाँहरूले इम्फाल सहरमा पनि राख्न सक्नुहुन्थ्यो । तर त्यहाँ होटल-लजका मानिसहरु मणिपुरी भाषा मात्र बोल्ने हुँदा त्यहाँ हामीलाई भाषाको समस्या हुने रहेछ । त्यसैले हामीलाई गाउँमा नै बस्ने बन्दोबस्त गरिएको रहेछ । हामीभन्दा पहिले त्यहाँ पुग्ने नेपालीहरूलाई पनि त्यसरी नै राख्ने गरिएको रहेछ । हामीले मणिपुरमा पाँच दिन व्यतीत गर्यौँ ।
पहिलो दिन कार्तिक २३ गते काङ्लातोङबीमा रहेको एक मन्दिरको सभाहलमा नेपाली साहित्य परिषद् मणिपुरद्वारा आयोजित एक दिवसीय अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोह कार्यक्रममा सहभागी हुन त्यतातिर लाग्यौँ । निर्धारित समयमा नै श्री भवानी अधिकारीको अध्यक्षतामा कार्यक्रम सुरु भयो ।
लगभग तीन सय सङ्ख्याका श्रोता दर्शकले सभाहल भरिएको थियो । त्यस कार्यक्रमका प्रमुख अतिथि डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो । स्थानीय उच्च मा.वि.का विद्यार्थीहरू र शिक्षकहरू समेतको उपस्थिति थियो । मन्तव्य, कृति वाचक, समीक्षाका बिचबिचमा नृत्यहरू प्रस्तुत भएका थिए ।
मणिपुरका स्रष्टा भवानी अधिकारीको उन्मुक्त उडान, बसन्तीदेवी पौडेलको स्मृतिका पाइलाहरू त्यसै गरी दमकबाट जानुहुने नवोदित साहित्यकारहरू कमलराज भट्टराई, नारायण प्रसाद फुयाँल, पदम वलीका कृतिहरू क्रमशः जीवनका गोरेटामा छब्बीस पाइला, केही नवीनतम कृति समीक्षा र स्मृतिका छ थुँगा फूल गरी जम्मा पाँच वटा कृतिहरूको विमोचन भयो ।
त्यसै कार्यक्रममा मणिपुरे नृत्य हेर्न पाइयो । लक्ष्मण वियोगीद्वारा रचित चर्चित गीत ‘हिमाललाई ढाक्यो कान्छा, हिउँको पछ्यौरीले’ मा मणिपुरका बहिनीहरूले नृत्य प्रस्तुत गरेका थिए । त्यो नृत्य प्रस्तुत हुँदै गर्दा गीतका सर्जक लक्ष्मण वियोगीको त्यहाँ उपस्थिति रहेकाले अझ रमाइलो भयो । उहाँ झन् बढी रमाएको देखेँ । बिचबिचमा कविता वाचन, गीत, नृत्यले गर्दा कार्यक्रम भव्य र रुचिपूर्ण भयो । विमोचित कृतिहरूको समीक्षा समेत भयो । कमलराज भट्टराईको कृति ‘सम्झनाका गोरेटामा छब्बीस पाइला’ माथि सृष्टि पन्थले समीक्षा गर्नुभयो । नारायण फूयाँलको कृति ‘केही नवीन कृति समीक्षा’ माथि राहुल राई ‘बोगिको’ र पदम ओलीको कृति ‘स्मृतिका छ थुँगा फूल’ माथि सुरज चापागाईंले मीठो समीक्षा गर्नुभएको थियो ।
हाम्रो निम्ति आयोजित भ्रमण अवलोकनमा अन्य कार्यक्रमहरू बाँकी रहेछन् । दोस्रो दिन २४ गते हामीलाई जानकारी भएअनुसार त्यहाँ सबै जना तयार भयौँ र बाटामा निस्कियौँ । नेपाली साहित्य परिषद्ले हामीलाई दुई दिन मणिपुर घुमाउने कार्यक्रम तयार गरेको रहेछ । सोही अनुसार उहाँँहरू हामीलाई लिन गाडी लिएर आउनुभयो । त्यहाँको मुख्य मुख्य स्थानहरूको जानकारी गराउँदै हामीलाई एक विशाल जलाशय भएको सुन्दर स्थानमा पुर्याउनु भयो । त्यो जलाशयलाई ‘लोक्ताक झिल’ भनिँदो रहेछ । यस दिनको हाम्रो भ्रमण टोलीमा अठार जना थियौँ । डुङ्गा शयर गर्यौं । त्यो तालको पूरा क्षेत्रफल दुई सय सतासी वर्ग किलोमिटर रहेछ । वरिपरि हरिया डाँडाले घेरिएको त्यो ठाउँ मनमोहक थियो ।
ताल घुमिसकेर हामी मणिपुरको राजधानी इम्फाल शहर आयौँ । इम्फालमा एउटा प्रख्यात बजार रहेछ । यसलाई ‘आमा बजार’ भन्दा रहेछन् । यो बजारका पसलहरू महिलाहरूले मात्र सञ्चालन गर्ने रहेछन् । पुरुषले पसल थाप्न नपाइने नियम रहेछ । त्यहाँ ग्राहकहरू पनि अधिकांश महिलाहरू नै हुँदा रहेछन् । हामी पनि त्यो बजार घुम्न गयौँ । त्यस बजारलाई दिइएको उपमा ‘आमा बजार’ सार्थक लाग्यो । मणिपुरे भाषामा चाहिँ ‘इमा कैथेल’ भनिँदो रहेछ । आमा बजारमा उपलब्ध हातले बुनेका स्थानीय उत्पादन सल र ओढ्ने किन्यौँ । त्यस बजारमा घुमेर वासस्थान फर्किँदा साँझ झमक्क परिसकेको थियो ।
भोलिपल्ट पनि त्यही गाडीमा त्यही टोलीले हामीलाई बर्मा बोर्डर ‘मोरे’ सम्मको यात्रा गराउने तय भएको थियो । पच्चीस गते त्यहाँ पाँच बजे गाडी आइपुग्यो । हामी निर्धारित समयमा गाडी चढ्यौँ । मणिपुरदेखि मोरेसम्मको दूरी लगभग सय कि.मी रहेछ । हाम्रो गाडीमा बाटाभरि नै साहित्यिक कार्यक्रम भयो । त्यस कार्यक्रमलाई आसामेली साहित्यकार ज्ञानबहादुर क्षेत्रीले मोबाइल साहित्य नाम दिनु भएको थियो । त्यस कार्यक्रमको सञ्चालन डा. गोविन्दराज भट्टराईले गर्नुभएको थियो । त्यो लामो बाटो थाहै नपाई रमाइलोसँग मिलिक्कै कटेझैँ लाग्यो । नौ बजेतिर हामी पलेल भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ चिया नास्ता गर्न रोकियौँ र पलेल बजार पनि हेर्यौं ।
पलेल बजारमा कालो देखिने केही चीज बिक्री गर्न राखिएको थियो । त्यो के चीज रहेछ भन्ने जान्न मलाई उत्सुकता भयो र म हेर्न सोध्न गएँ । त्यो ता भ्यागुताको सुकुटी रहेछ । भ्यागुता खान्छन् भन्ने सुनेकी चाहिँ थिएँ । त्यहाँ देख्न पाएँ । मैले भ्यागुते सुकुटीको फोटो खिचेँ । पलेलबाट हाम्रो यात्रा अघि बढ्यो । होचा, हरिया थुम्का परेका पहाड, रमाइलो बाटो, गाडी भित्र मोबाइल साहित्यको रनघनले बाटो कटेको पत्तो भइरहेको थिएन । यात्रीहरू सबैले आ–आफ्ना यात्रा अनुभव र रचना वाचन गर्नुभएको थियो ।
करिब एघार बजेतिर हामी बर्मा बोर्डर मोरे पुग्यौँ । त्यहाँ हामी जाने पूर्व सूचना भइसकेको रहेछ । हाम्रो टोली त्यहाँका समाजसेवी, व्यवसायी विष्णु भट्टराईको घरमा पुग्यो । हामी पुग्नु अगावै बर्माबाट कुसुम गौतम, बन्दना गौतम, दशरथ घिमिरे र अर्का एक जना भाइ बर्मा बोर्डर नाघेर मोरे आइसक्नुभएको रहेछ । त्यहाँ पनि एकैछिन रमाइलो साहित्यिक कार्यक्रम भयो । बर्माबाट आउनु हुनेहरूले कविता, गजलहरू सुनाउनु भयो । यताबाट जानेहरूले पनि आ–आफ्नो रचना वाचन गर्नुभयो । अन्त्यमा विष्णुसिंह राईको ‘ग्यारेज’ कविताले सबैलाई भावुक बनायो । धेरैका आँसु रसाए । विष्णु राईका सबै नै कविता मर्मस्पर्शी हुन्छन् । ‘ग्यारेज‘ कविताले वृद्धावस्थाको पीडा बोकेको छ । त्यो पीडालाई कविले जीवन्त रूपमा कवितामा उतारेका हुनाले सुन्नेहरू भावुक भएका थियौँ ।
हाम्रो टोलीका निम्ति विष्णु भट्टराईको घरमा खानाको प्रबन्ध रहेछ । तृप्तीकर भोजन गरेर त्यहाँको बजार डुल्यौँ । प्रायः पारी बर्माबाट आउनेले नै बजार राख्दा रहेछन् । म्यानमारमा चलिरहेको आन्दोलन र अस्थिरताले गर्दा आवतजावतमा कडाइ गरिएको रहेछ । उताबाट आउने बहिनीहरूले हामीलाई बोर्डरसम्म देखाउन लैजानुभयो । हामी महिलाहरू पाँच छ जना चाहिँ बर्मा भूमि टेकेर आयौँ । तर पुरुषहरू चाहिँ जानुभएन । त्यसरी बर्माको भूमि टेक्न पाएकोमा त्यसलाई पनि यो यात्राको ठुलो उपलब्धि नै मानेकी छु ।
करिब दुई बजेसम्म मोरेमै रहेर हामी मणिपुरतर्फ लाग्यौँ । बोर्डरतिरबाट आउनेहरूलाई भारतीय प्रहरीले पनि कडा चेकजाँच पनि गर्दा रहेछन् । फर्किंदाको यात्रा पनि रमाइलो भयो । इम्फाल आइपुगेपछि भवानी दाइको आग्रहमा नेपालीहरूको बहुलता रहेको स्थान मन्त्रीपुखीस्थिति उहाँको निवासमा गयौँ र चिया खाएर मात्र आआफ्नो वासस्थानतर्फ लाग्यौँ । वासस्थान आइपुग्दा साँझ निकै छिप्पिसकेको थियो ।
छब्बीस गते पाँच सदस्यको एक टोली हवाई जहाजबाट गुवाहाटी फर्कियो । यसरी फर्किने टोलीमा डा. गोविन्द, डा. अञ्जना, लक्ष्मण वियोगी, मुक्ति उपाध्याय र दिप्ती उपाध्याय हुनुहुन्थ्यो । मणिपुरमा हामीसँग जोडिनुभएका आसामका साहित्यकार ज्ञानबहादुर क्षेत्री सहित हामी नौ जना चाहिँ सत्ताइस गते मात्र रेलबाट फर्किने टिकट थियो ।
छब्बीस गते त्यहाँ म र श्रीमानलाई हामी बसेको घरकी बहिनी टिकाले मणिपुरकै विद्वान् पण्डित बद्रीनाथ खतिवडाको घरमा लैजानुभयो । उहाँ मणिपुरको ठुला विद्वान हुनुहुँदो रहेछ । उहाँको बारेमा सुनेपछि उहाँसँग भेट गर्ने इच्छा बहिनी टिकालाई सुनाएका थियौँ । हाम्रो इच्छालाई पूरा गरिदिने टिका बहिनीलाई धन्यवाद ।
त्यस दिन खान्कीका लागि कीर्तिमणि खतिवडाका कान्छा भाइ लक्ष्मण खतिवडाको घरबाट निमन्त्रणा आएको थियो । त्यहाँ हामीले स्वादिष्ट भोजन गर्यौं । खानापछि हामी सुन्तलाबारी र कालापहाड भन्ने ठाउँहरू घुम्न निस्कियौँ । सुन्तलाबारीमा छ महिनादेखि पुराण र अखण्ड यज्ञ चलिरहेको रहेछ । सुन्तलाबारी पुग्नासाथ माया गुरुआमाको स्वास्थ्य प्रतिकूल भयो । त्यसैले हामीले यज्ञशाला मात्र हेरेर फर्किने निधो गर्यौं । कालापहाड चाहिँ टाढैबाट हेरेर फर्कियौँ । कालापहाड पदम वली सरको पुरानो गाउँ रहेछ । उहाँँहरू त्यहीँबाट नेपाल बसाइँ आउनुभएको रहेछ ।
छब्बीस गते बेलुकाको खाना खान सरस्वतीको घर गयौँ । सरस्वती मेरी बुहारी टिकाकी बहिनी हुन् । उनको माइती चाहिँ झापाको शनिश्चरे हो । उनी विवाह गरेर काङ्लातुम्बी गएकी हुन् । उनी मेरी विद्यार्थी पनि हुन् । उनको आग्रह टार्न सकेनौँ र बेलुका त्यहाँ गयौँ । काङ्लातुम्बी बजारसम्म हामी बसेको घरकी बहिनी टिका खतिवडा पनि जानुभयो । उहाँँले हामीलाई काङ्लातुम्बी बजार घुमाउनुभयो । मैले त्यहाँ पाइने अतिपिरो उमरक नामको खुर्सानी किनेँ । त्यहीँ बजारमा नै भाइ रन्जित विष्ट (सरस्वतीका देवर) हामीलाई लिन आउनुभयो र घर लैजानुभयो । फूलैफूलको बिचमा चिटिक्क परेको एक तले घर बडो सुन्दर थियो । त्यहाँ हामीलाई भव्य स्वागत गर्नुभयो । सरस्वतीकी सासूमा राधा विष्टले हामीप्रति देखाउनु भएको आत्मीयता र आतिथ्य अवर्णनीय छ । हामीलाई भेटेर धेरै खुसी हुनुभयो । उहाँलाई भेटेर हामी पनि हर्षित भयौँ ।
सरस्वतीले बनाएका मिठा परिकार सेवन गरेर हामी त्यहाँबाट बिदा भयौँ । भाइ रन्जितले हामीलाई कीर्तिमणिको घरसम्म पुर्याई दिनुभयो । सत्ताइस गते हाम्रो टोलीका सबै जना अग्रिम सल्लाह अनुसार चार हजारे मन्दिरमा भेला भयौँ । निर्धारित समयमा गाडी पनि आइपुग्यो । यसपालि फिर्ने टोलीमा ज्ञानबहादुर क्षेत्री सर पनि हामीसँगै हुनुहुन्थ्यो । हामीलाई बिदा गर्न कीर्तिमणि खतिवडा, भवानी अधिकारी, बसन्तीदेवी पौडेल, दिपक पन्थ, टिका खतिवडा, टंकमणि खतिवडा आदि आउनुभएको थियो । हाम्रो शुभ यात्राको कामना गर्दै हामीलाई बिदाइ गर्नुभयो ।
हामी मणिपुरबाट बिदा भयौँ । बाटाका रमाइला दृश्य हेर्दै हामी अघि बढ्यौँ । पाखाभरि पहेँला तारामण्डल फूल फुलेका, कतै बैजनी रङका पैयौँ फुलेका । डाँडाभरि सेतै छपक्क ढाकिएका घरहरू हेर्दै हामी मणिपुर र नागाल्यान्डको सिमाना माऊ आइपुग्यौँ । त्यहाँ निकै बेर रोकियौँ । खाना खायौँ । मणिपुर छिर्नका लागि बनाएको पास मणिपुरबाट निस्कँदा त्यहाँ बुझाउनुपर्ने रहेछ । हामीले बुझायौँ ।
अपराह्न तीन बजे हामी डिमापुर आइपुग्यौँ । ज्ञानबहादुर सर त्यहाँबाटै छुट्टिएर आसाम तेजपुरको गाडी पक्रिन बसस्टपतिर लाग्नुभयो । बाँकी टोली सिधै रेलवे स्टेसन पुग्यौँ । हामीलाई लैजाने रेलको समय रातिको दुई बजे मात्र थियो । रेल आइपुग्ने समय धेरै बाँकी रहेकाले अब कसरी समय बिताउने भन्ने सल्लाह अनुसार स्टेसनमा समय काट्न गह्राे हुने बुझी कुमार सर र पदम ओली सर स्टेसन नजिकै आधारात आराम गर्नका लागि पुरै रातको दाम तिरी एउटा लजको बन्दोबस्त गरेर आउनुभयो । हामीले लज नजिकैको सेरे पञ्जाब होटेलमा खाना खाएर आरामका लागि लजतर्फ लाग्यौँ । राति नै रेल चढ्नुपर्ने भएकाले ढुक्कले त सुत्न सकिएन । तर आराम र सहज चाहिँ भयो ।
ठिक समयमा राजधानी एक्स्प्रेस आइपुग्यो । आफ्नो नम्बरको सिटमा बसेर, झोला थन्क्याएपछि चाहिँ ढुक्कले सुत्न सकियो । गुवाहाटी आइपुग्दा मिर्मिरे उज्यालो भएको थियो । मध्यान्ह बाह्र बजे एनजेपी जलपाइगुडी आइपुग्यौँ । अगाडि नै फोनमार्फत् जानकारी गराएअनुसार हामीलाई लिन सवारी धनी भाइ जङ्ग श्रेष्ठ पुगिसक्नुभएको रहेछ । सबै सामान गाडीमा राखेर हामीले त्यहाँको होटेलमा खाना खाएर घरतर्फ लाग्यौँ । विष्णुसिंह राई सर काँकरभिट्टामै हामीसँग छुट्टिएर विराटनगरको गाडी चढ्नुभयो । कुमार सर र सुवना मेडम चाहिँ हाम्रो दमकघरमा बास बसरे भोलिपल्ट बिराटनगरतिर लाग्नुभयो ।
आफ्नो सम्पूर्ण समय दिएर अतिथिहरूको सुख, सुविधा र मनोरञ्जनका लागि समर्पित हुने मणिपुरका साहित्य स्रष्टाहरूको आतिथ्य कहिल्यै बिर्सिनसक्नु छ । एकै झल्को भए पनि नेपाली जनजीवन देख्यौँ, हाम्रा आत्मीय स्वजनहरूलाई भेट्यौँ । कल्पनामा रहेको पवित्र भूमि मणिपुरको दर्शन गर्याैं । यो पाँच दिनको मणिपुर यात्रा मेरो जीवनको एउटा अमर अध्याय बनेर रहेको छ । यसका प्रथम व्यक्ति, योजक विद्वान श्री भवनी अधिकारी प्रति प्रकट गर्न शब्दको अभाव छ । उहाँँले गत वर्ष गत वर्ष नै ‘साहित्य एकेडेमी पुरस्कार’ प्राप्त गरेर मणिपुरमा शीर्ष स्थानमा रहनुभएको छ । मणिपुरलाई धन्यवाद दिँदै आज यहीँ रोकिन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।