प्रसङ्ग :

ओन्टारियो तालको उत्तरतिर रहेको महानगर टोरन्टो रहेछ । नायगरा छाँगाबाट खसेको पानीले बनेको नायगरा नदी बग्दै बग्दै आएर ओन्टारियो ताल बनेको रहेछ । ओन्टारियो ताललाई क्यानडालीहरू लेक ओन्ट्यारियो भन्दा रहेछन् । यो ताल क्यानडाको प्राचीन इतिहाससँग जोडिएको पाइन्छ ।  यो विशाल सहर त्यही तालका आधारले बनेको रहेछ भने क्यानडाको मानव विकासको प्रसिद्ध इतिहास पनि त्यही तालले जन्माएको पाइन्छ । ठिक त्यसरी नै पोखरा महानगर फेवा तालको किनारमा बनेको छ । फेवा तालको पानी पातले छाँगाबाट खसेर भूमिगत हुँदै ,जमिनमा बग्दैबग्दै सेती नदीमा मिसिन्छ । ओन्टारियो तालको पानी पूर्व निकास भएर सेन्ट लरेन्स नदी बनेको रहेछ । यो नदी पूर्वतिर बग्दै बग्दै गएर उत्तर एटलान्टिक महासागरमा विलीन हुन पुग्दो रहेछ । हाम्रो सेती नदी प्राचीनदेखि अर्वाचीनसम्मकै गौरव गाथा बोकेर बगेको छ भने सेन्ट लरेन्स जल यातायातको आफ्नै सभ्यता बनाएर बगिरहेको क्यानडाको गौरव गाथा नै रहेछ ।

टोरन्टोको तल किनारमा गर्मीमा पर्यटकहरू  आउने र बस्ने राम्रा घरहरू  बनाइएका रहेछन् ,खुला चौरमा पनि क्याम्प बनाएर बस्ने सुविधा रहेछ । हामी हेर्न गएको बेला त्यहाँ ठुला ठुला जानकारीमूलक सूचना पार्टी देख्यौँ । त्यहाँ पनि निकै जानकारी दिइएको रहेछ । जेरी डेनिस  ः २०१४ अनुसार ओन्टारियो  १८,९६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र सरदर ८५ किलोमिटर चौडाइ भएको विशाल ताल रहेछ । यसको सरदर गहिराइ ८६ मिटर रहेछ । यता पोखराको फेवा तालको अर्को नाम बैधम ताल पनि हो तर यो नाम त्यति प्रचलित छैन । यसको यो निजी नाम गुमनाम नै छ । सबैले फेवाकै नामले चिन्दछन् ।

फेवा जम्मा ४.४३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र सरदर गहिराइ ८.६ मिटर रहेको छ । यो नेपालका ठुला मध्येको ताल भए पनि क्यानडाका तालहरू का तुलनामा सानो नै छ । यसका आधार भने हर्पन खोला, अधेरी खोला र फिर्के खोला हुन् । पहाडबाट उम्रिएर छङछङ  बग्दै झरेका ती खोलाबाट बगेर आएको सफा पानीले यो  ताल बनेको छ । यी दुईको तुलना गर्दा ओन्टारियोको तुलनामा फेवा धेरै सानो ताल रहेछ । ठुलाका हिसाबले यी दुईको तुलना हुन नसक्ने कुरा माथिका तथ्याङ्कले देखाएकै छन् । जनसङ्ख्याका हिसाबले पनि यी दुई महानगर बिच ठुलो अन्तर पाइन्छ । उत्तर अमेरिकाकै चौथो ठुलो सहर टोरन्टोमा  सन् २०२२ मा  ६,३१३,००० जनसङ्ख्या रहेको पाइन्छ २। यो क्यानडाको आर्थिक राजधानी ,औद्योगिक नगरी र अधिकाधिक आप्रवासीहरू  आएर बस्ने भएकाले पनि यहाँ विकास र जनसङ्ख्या दुवै अकासिएको रहेछ । यहीताका  पोखरामा भने ४५८,००० जनसङ्ख्या पाइन्छ ३  ।

नेपालको पर्यटकीय नगरी पोखरामा त्यति बिघ्न जनसङ्ख्या बढ्ने आधार र प्रचुर विकासको अकास पनि कमै छ । यस हिसाबमा  पोखराभन्दा टोरन्टो करिब चौध गुना ठुलो रहेछ । जनघनत्वका हिसाबले सन् २०२२ मा टोरन्टोमा ३,०८८ जना मान्छे प्रति वर्ग किलोमिटरमा रहेछन् भने पोखरामा ३,३९३ जना मान्छे प्रति वर्ग किलोमिटरमा बसोबास गर्छन् । मान्छेको बसोबासका हिसाबले भने डाँडाकाँडाले च्यापेको पोखरा टोरन्टोभन्दा भिड र खचाखच छ । कति समानता र कति भिन्नता लिएर अघि बढिरहेका यी दुवै इतिहासदेखि ताल किनारका सहरको पहिचान बनाएका रहेछन् आ–आफ्ना देशका पर्यटकीय सहर  । दुवै  आर्थिक महत्त्वका सहर पनि रहेछन् । टोरन्टो हरेक हिसाबले देशको प्रथम सहर रहेछ भने पोखरा चैँ सुन्दरता बाहेक अरूमा देशको पहिलो होइन ।

* * *

प्रवेश :

राजधानीका हिसाबले न त पोखरा हो न त  टोरन्टो नै । आ–आफ्ना प्रदेश वा प्रान्तका भने दुवै समान राजधानी रहेछन् । टोरन्टो जस्तो पोखरा भने नेपालको सबभन्दा ठुलो सहर र आर्थिक राजधानी पनि होइन । ओन्टारियो ताल र फेवा ताल दुवै सफा पानीका ताल भएका पाइन्छन् । ओन्टारियो तालले टोरन्टोका सबै जनसङ्ख्यालाई पानी खुवाएको रहेछ । त्यति मात्र होइन पूर्व पश्चिम लमतन्न परेर तेर्सिएको त्यस तालले अरू सहरका समेत गरी एक करोडको हाराहारी जनसङ्ख्यालाई खाने र अन्य आवश्यकता अनुसारको पानी पुर्‍याएको रहेछ । यस तालको क्षेत्र आसपास खाने पानीका अन्य उपाय रहेन छन्  भने पनि हुने रहेछ । केही खोला,खोल्सा भए पनि यत्रो जनसङ्ख्यालाई तिनबाट सम्भवै हुने देखिँदैन । पोखरामा भने फेवा तालको पानीले मान्छेलाई खुवाउने काम गर्दैन । खाने पानीका अन्य स्रोतहरू  प्रशस्त छन् । फेवा ताल पोखराको मात्र नभएर नेपालकै पर्यटन आकर्षण गर्ने एक मुख्य केन्द्र हो । ओन्टारियो ताल पनि क्यानडाको एक मुख्य पर्यटकीय केन्द्रमध्येकै  रहेछ । यी दुवै ताल आ–आफ्ना देशका आकर्षण केन्द्र भने अवश्य रहेछन् ।

मुख्य कुरा :

दुवै देशका यी र यस्ता तालहरू धेरै र प्राकृतिक वरदानका रूपमा पाइन्छन् । यति भइकन पनि तिनको प्रयोग के कति र कसरी भएका छन् भन्ने चाहिँ महत्त्वको कुरा हो । फेवा, रारा, से फोक्सुन्डो, तिलिचो, रुपा, बेगनास, इन्द्रसरोवर, गोसाइ कुण्ड लगायतका अनेकौँ तालहरू  नेपालका निजी सम्पदा हुन् भने ओन्टारियो, एरी, हुरन, सुपेरियर जस्ता अति ठुला तालहरू  क्यानडा र संयुक्त राज्य अमेरिकाका साझा सम्पदा रहेका पाइन्छन् । यिनैका लहरमा पर्ने मिचिगन ताल भने अमेरिकाको मात्रै निजी रहेछ । यी सिमानाका तालहरूका बिचमा काल्पनिक सीमा रेखा लगाइएको रहेछ । ती सीमा रेखाहरूमा दुवै देश इमानदार भएर उपभोग गरेका पाइन्छन् । कसैले मिच्ने वा चिमोट्ने गरेका रहेनछन् । यहाँ सीमा समस्या रहेनछ । बिचार गर्नुहोस् त समुद्र जस्ता  विशाल तालका बिचमा विश्वासका सीमा रेखा न रहेछन् । मिच्ने नै हो भने त सक्नेले जति पर धकेल्न पनि सक्ने रहेछ । तर त्यस्तो बेइमानी यी छिमेकीका बिचमा भएको पाइँदैन । खुला हृदयले मिलेर आ–आफ्ना भाग  भरपूर उपयोग गरेका रहेछन् । यो भयो छिमेकीले उपयोग गरेको तालका पानीको कुरा ।

फेरि ओन्टारियो तालका उत्तरतिर क्यानडाको सबभन्दा ठुलो सहर महानगर टोरन्टो रहेछ भने दक्षिणतिर संयुक्त राज्य अमेरिकाको सबभन्दा ठुलो सहर महानगर न्युयोर्क पर्दो रहेछ । टोरन्टो तालको किनारमै बसेको सहर रहेछ  भने न्युयोर्क भने अलिक तलतिर रहेछ । क्यानडाको मुख्य ओन्टारियो प्रान्तको नाम नै त्यही तालका नामबाट राखिएको पाइन्छ । यसबाट पनि यस तालको महत्त्व र इतिहास दर्सिन्छ ।
यहाँ दुई वटा ताल आश्रित दुई वटा महानगरको कुरा छ । तर काशी जानु कुतीको बाटो पो हुन आँटेछ । त्यस्तै त भइहालेको छैन । पूर्वबाट वा पश्चिमबाट काठमाडौँ जाँदा नारायणी पारी नवलपरासीको सम्म वा नारायणगढ सम्मको कुरा भएको मात्र हो ।

टोरन्टो र न्युयोर्क सहरको प्राचीन बसोबासको इतिहास नै फरक रहेछ । ओन्टारियो तालका वरिपरि प्राचीन कालमा आदिवासीहरू  बस्थे रे । त्यहाँ उनीहरू कै पालामा बस्ती बसेका पाइन्छ  । कालान्तरमा उनीहरू  युरोपेलीबाट विस्थापित भएर उत्तरतर्फ लागेछन् । त्यस ठाउँमा युरोपबाट आएका फ्रान्सेलीहरू  बसेछन् । त्यही मेलोमेसोमा यो देश नै फ्रान्स साम्राज्यको उपनिवेश भएको रहेछ ।

पछि बेलायतीहरू ले फ्रान्सेली उपनिवेशबाट खोसेर आफ्नो उपनिवेश बनाएका रहेछन् । पूर्वमा भारतमा ,दक्षिणमा दक्षिण अफ्रिकामा जमाउँदा जस्तै  बेलायतीहरूले पश्चिमोत्तरमा यहाँ शासन अड्डा जमाएका रहेछन् । फ्रान्सेलीहरू  क्युबिकतिर केन्द्रित भएर आफ्नो पहुँच त्यहाँ बलियो बनाएछन् । फ्रान्सेली र बेलायती दुवै साम्राज्यको अधीन भएकाले क्यानडामा अङ्ग्रेजी र फ्रान्सेली दुवै भाषाहरू  अद्यापि सरकारी कामकाजका भाषा रहेछन् ।

अमेरिकाको ठुलो सहर न्युयोर्क तालदेखि दक्षिणतिर तल बसेर व्यस्त जीवन बिताइरहेको देखिन्छ । ऊ उत्तर अमेरिका सबैलाई देख्ने गरी बडेर एमानको भएको पाइन्छ । त्यसका आफ्नै इतिहासका सुखदुख होलान् । ती सबै छिचोलेर आज संसारको आकर्षण बनेको होला । कति मानिसहरूले त्यसलाई सपनाको सहर बनाएका होलान् । ऊ भने उत्तरतिरको क्यानडाको विशाल सहर टोरन्टोसँग नारिएर आफ्नै मेलोमा दौडिँदै रहेछ । यता टोरन्टो पनि न्युयोर्कसँगको दौडमा निमग्न पाइन्छ । चौबिसै घण्टा व्यस्त रहँदै आफूलाई उचाल्न कम्मर कसेर लागिरहेको पाइन्छ । प्राचीनदेखि अर्वाचीनसम्मै टोरन्टोको सान, मान, इज्जत, प्राकृतिक वरदान सबै ओन्टारियो ताल रहेछ ।

यता  हाम्रो पोखरा महानगर प्राचीन नै हो । कहिल्यै कसैको कब्जामा नगएको नेपालको सुन्दर ठाउँ हो । त्यहाँ प्राचीन जमानामा बसोबास भए पनि फेवातालका कारण कविला समाजदेखि नै निरन्तर बस्ती विकास भएर आएको भए तापनि टोरन्टो जस्तो  तालकै आधारमा मात्र आएको भने होइन । यद्यपि यी दुवै महानगरका आश्रय ताल नै हुन् । पोखराको फेवा भएझैँ टोरन्टोको पनि ओन्टारियो ताल नै रहेछ ।  विकासका क्रममा पछि तालको राम्रो उपयोग हुन थालेको पाइन्छ । फेवा र पोखराको आफ्नै विशिष्ट र सुन्दर अतीत छ भने ओन्टारियो र टोरन्टोको पनि आफ्नै गौरवशाली इतिहास रहेछ । तर यी दुई विशिष्ट स्थानका विकास चरण र वर्तमान अवस्थामा प्रशस्त भिन्नताहरू  पाइन्छन् ।

उपयोग र विकासको कुरा गर्ने हो भने चाहिँ कसरी तुलना गर्ने गर्ने । कहाँबाट थालेर कहाँ बिसाउने भन्ने अन्योल हुन्छ । विकासको आकाससम्म टोरन्टोले ओन्टारियो तालको उपयोग गरेको रहेछ भने हाम्रो फेवा ताल कहिले डरले थुरथुर हुन्छ ,कहिले धुरुधुरु रुन्छ । प्राकृतिक कुरातर्फ भने फेरि कहाँको राम राजा कहाएको गनगने भण्डारी नै हुन्छ । फेवाको र पोखराको सुन्दरतासँग ओन्टारियो ताल र टोरन्टोको कुनै मानेमा पनि तुलना हुन सक्तैन ।

प्रकृतिले आफ्नो भँडारमा भएका सौन्दर्य प्रसाधन जम्मै खन्याएको पोखरा सायद यस धर्तीकै सजिसजाउ राजकुमारी मध्ये एक हो भन्दा अन्यथा हुँदैन । मानौँ ऊ विश्वसुन्दरी प्रतियोगिता जित्न तम्तयार भएर बसेकी छ । सदाबहार जङ्गलले घेरिएका मणि नै हुन् पोखरा र फेवा । वर्षैभरि कति राम्रो हावापानी छ । न चिसो न तातो सधैँ ठिक्कको । चैत वैशाखमा उत्तरतर्फ उडेका कर्याङकुरुङका  बथानझैँ वरिपरि हरिया डाँडाकाँडाका लहरको के वर्णन गर्नु र । अनेक थरी चराचुरुङ्गीका कलरवको सङ्गीत संसारको कुनै सङ्गीतसँग तुलना हुन्छ र ! रङ्गीबिरङ्गी चराहरू  उडेर अकासमा बुट्टा भरेका दृश्य शब्दमा कहाँ कैद गर्न सकिन्छ र ! यस्तो प्राकृतिक सौन्दर्य ओन्टारियो तालका वरिपरि र टोरन्टो महानगरलाई सुशोभित गर्ने कहाँ पाउनु र !

त्यति मात्र कहाँ हो र अन्नपूर्ण र माछापुच्छ्रे हिमालले शिरको ताज बनेर छरेको सौन्दर्य छटाले पोखरा पुग्ने जोसुकैलाई  पनि मन्त्रमुग्ध बनाउँछ । यो प्रकृतिको अनुपम वरदानको पूर्ण व्याख्या शब्दमा न भएको छ ,न हुँदै छ ,भविष्यमा के हुने हो त्यो भविष्यकै जिम्मा छाड्नु बाहेक उपाय नै छैन  । यसका लागि  नेपाल र नेपालीले प्रकृतिलाई त जतिसुकै  धन्यवाद दिँदा पनि पुग्छ जस्तो लाग्दैन । त्यहाँको सौन्दर्यको मूल्य खालि अनुभूत गर्न सकिन्छ न कि आकलन गर्न । सानो छ तर रानी चरी नै छ । ओन्टारियो ताल  र टोरन्टो महानगरमा हिउँदमा यति हिउँ पर्छ रे कि यी दुवै जमेर ठप्प हुने कुरा यहाँका बासिन्दा बताउँछन् । ताल सेतो मजेत्रो ओडेकी विधवा हुने, सेतो सिवाय तिनका शरीरमा कतै केही नदेखिने , मानौँ उनीहरू को जीवनको सौन्दर्य पूरै गुमेको हुने रहेछ । टोरन्टोको जनजीवन घरभित्र कैद हुँदो रहेछ ।

बाहिरी दुनियाँ इन्टरनेटबाहेक प्रत्यक्ष सम्पर्कमा नआउँदो रहेछ । हिउँदको हिउँले हरियो परियोको नामनिसान देखिँदैन रे । चराचुरुङ्गीहरू सबै बसाइँ जान्छन् रे । जनावरहरू सबै जमिनमुनि छिरेर लुकेर ज्यान बचाउने, प्राकृतिक कुरा  हिउँबाहेक केही नदेखिने । बाटा सेतै, चौरहरू  सेतै ,घरका छानाहरू सेतै , रुखका हाँगाबिँगा सबै सेतै,  फाँटहरु सबै सेतै , डाँडाकाँडा त झन् भन्नै नपर्ने । ओन्टारियो तालमा दारको ठेकीमा हिउँदमा ठिटा भैँसीको दही मज्जाले जमेका बेला लागेको तर जस्तै हिउँको सेतो तर जमेको हुने रहेछ । मानौँ हिउँको रामराज्य । सौन्दर्यका हिसाबले प्रकृतिको सातो पुत्लो जाने रहेछ । चराचुरुङ्गीजस्तो बसाइँ जान मिल्ने भए प्रकृति पनि सायद बसाइँ जान्थिन् होला ।

फेवा र पोखरा बाह्रै महिना सक्रिय हुन्छन् । ओन्टारियो र टोरन्टो भने बल्ल वसन्त निकै बितेपछि बाहिरी दुनियाँमा सक्रिय हुन सक्ता रहेछन् । फेवा तालको बिचमा एउटा मात्र टापु छ । त्यसलाई फेवाले तालवाराही मन्दिर स्थापना गरेर धार्मिक स्थल बनाएको छ । त्यहाँ धार्मिक उद्देश्यले मात्र मान्छेहरू जान्छन् । नेपालीहरूको प्राथमिक उद्देश्य नै धार्मिक हुन्छ । हरेक विशेष ठाउँलाई हामी धर्ममा लगेर टाँसिहाल्छौँ । तर यिनीहरूले ओन्टारियो ताललाई पूरै व्यावसायिक प्रयोग गरेका रहेछन् । करिब पाँच महिना निर्बाध गतिविधि गर्न सकिने तालबाट करोडौँ आम्दानी गर्दा रहेछन् । तालका बिचमा धेरै टापुहरू  रहेछन् । ती सबै पर्यटकीय क्षेत्र बनाइएको पाइन्छ । त्यहाँ प्राकृतिक सौन्दर्य साथै कृत्रिमताले पनि मानिसहरूलाई आकर्षण गरेको पाइन्छ । समुद्रजस्तै निलो तालको पानीमा रमाउनु एउटा मात्र अनुपम सौन्दर्य पक्ष रहेछ । निलो पानीमा छालका ससाना तरङ्गहरू  स्वर्गका परीझैँ नाचेको मनै लोभ्याउने दृश्य भने फेवामा पाइँदै पाइँदैन । ओन्टारियो तालमा भएका दुई हजार हाराहारीका टापुहरू मा सेन्ट्रल आइल्यान्ड , थाउजेन्ड आइल्यान्ड मुख्य ठुला टापुहरू  रहेछन् ।

यी दुवै टापुहरू  अमेरिकाको न्युयोर्कभन्दा क्यानडाको ओन्टारियो प्रान्त तर्फ बढिहेछन् । सेन्ट्रल आइल्यान्डमा त एउटा आन्तरिक विमानस्थल पनि बनाइएको रहेछ । जल यातायातको प्रशस्त व्यवस्थाले मानिसहरू को कुँडुलो पैसा खन्याएर जाँदो रहेछ । तालमा साना ठुलो क्रुज मान्छे ओसारपसार गर्न र डुङ्गाहरू  सिलिङ खेल्न व्यस्त देखिन्छन् । पानी ट्याक्सीहरू हुइँकिरहेका पाइन्छन् । एक्लै कुदाउने मोटरसाइकलजस्ता पानीमा कुद्ने भुटुटुहरू मा मानिसहरू  के के न भेट्न कुदे जस्तो दौडिरहेका देखिन्छन् । कसैले कसैको केही पर्बाह नगरी सबै आफैँ व्यस्त आफैँ मस्त हुँदा रहेछन् । बाह्र महिनाको काम चार पाँच महिनामा भ्याउनु परेकाले ओन्टारियो ताललाई गर्मीमा अति धमाधम हुँदो रहेछ  । अमेरिकको न्यु योर्कको ताज र क्यानडाको ओन्टारियोको हार बनेर सुशोभित यो तालको अत्यधिक मात्रामा व्यापार गरिएको पाइन्छ ।

तालभित्रका ती सबै टापुहरू  सरकारी रहेछन् । क्यानडामा सरकारी सम्पत्ति कसैले छुसुक्क पनि छुने कुरा हुँदो रहेनछ । केही धनाढ्यहरूले थुप्रै लगानी गरेर टापुमा गर्मीमा रमाइलो गर्न केही दिनका लागि जान जगा किनेर कटेज (गोठ) बनाएका रहेछन् । उनीहरू  केही दिन रमाइलो गर्न जाँदा रहेछन् । ती पनि सरकारसँग उपभोग गर्न मात्र जग्गा किनेर बनाएका हुँदा रहेछन् । टापुहरू का सबै संरचना सरकारका रहेछन् । कम्पनीहरूले ठेक्कामा लिएर पनि चलाएका रहेछन् । सरकारले आफैँ पनि यातायातका साधन चलाएको रहेछ । यस ठाउँमा सरकारी यातायात विश्वसनीय र सस्तो पनि रहेछ । त्यसैले हामी टापुहरू मा आउजाउ गर्दा सरकारी क्रुजमै गर्यौं । छोरो विपिन र भतिज लक्ष्मी रेग्मीले त्यस्तै व्यवस्था मिलाएर लगेका थिए । क्यानडा पुँजीवादी अर्थ व्यवस्थाबाट विकासको शिखर चढेको मुलुक भएकाले यहाँ हरेक सेवा निजी रहेछन् तर निजीभन्दा सरकारी विश्वसनीय रहेछन् ।

ओन्टारियो तालको कुनै छेउमा पनि झार पलाउन दिएको रहेनछ ।  झारपात र फोहोर मैलाको नामनिसान देख्न पाइएन । जताततै कञ्चन देखियो । पोखराको आधार हाम्रो फेवा तालको जमिन मिचेर व्यक्ति धनी हुने र सरकार पनि  मूकदर्शक बनेको देखे भोगेका जाने बुझेका हामी त छक्क पर्छौँ । हाम्रामा त तालको जमिन मिच्नेको होडबाजी नै चल्छ । जति शक्तिशाली भयो उति धेरै मिच्न सक्छ । सरकारहरू  ताल च्याप्पिएर रोइरहेको मजा मानेर निरोले रोम हेरेझैँ हेरिरहन्छन् । फेवा तालमा झार उम्रिएर बिरूप भएको कुरा राष्ट्रिय समाचार बनिरहन्छ । त्यो लाजको पसारो कसैको कमाई खाने भाँडो बन्छ । टोरन्टोको आधार ओन्टारियो ताललाई कसैले छिसिक्क पनि हस्तक्षेप गर्दै नगर्दो रहेछ । यिनीहरूले गरेको उच्चतम उपयोग हेर्दा हामीले राम्रा ऐनामा आफ्ना अनुहार हेर्नुपर्ने हुन्छ । क्यानडाका दक्षिण र अमेरिकाका उत्तरतिर लहरै ती संसारका ठुला तालहरू लाइन लागेर बसेका रहेछन् । हाम्रो पोखरामा पनि फेवा, रुपा,बेगनास जस्ता सुन्दर तालहरूको सजावट नै छ । यी दुई भूगोल बिच कता कता के के को मेल छ । सौन्दर्य छ र मानिसहरू   झुम्मिँदा छन् ।

= = =

अन्तमा :

हामीलाई फेवा र पोखरामा मात्रै होइन देशैभरि प्रकृतिले वरदान सधैँ खन्याइरहन्छ । यिनीहरूलाई भने ओन्टारियो र टोरन्टोमा मात्रै होइन देशैभरि अनेक राजधानी बनाएझैँ यिनीहरूले प्रकृतिको प्रहारलाई जितेर ओन्टारियो ताललाई विकासको राजधानी नै बनाएको देख्दा अचम्म लाग्छ । हामीले समय मात्र गन्यौँ । यिनीहरूले पलपलको कामलाई गनेछन् । कहिले के गर्ने कहिले के गर्ने तालिका बनाएर नै काम गरेछन् । हामीले श्रीखण्डलाई खुर्पाको बिँड ता के त्यसै ओइलाइरहने न बौरिने, न चम्किने बनाइरहे छौँ । यिनीहरूले खुर्पाको बिँडलाई श्रीखण्ड बनाएछन् ।

हामी पोखरालाई पर्यटनको केन्द्र भन्छौँ र हो पनि । तर प्रकृतिले दिएको उत्तम चिजलाई मानवको आकर्षण केन्द्र बनाएर अझ बडी स्वदेशी र विदेशी आकर्षण गर्न कुशलतापूर्वक काम गर्न धेरै बाँकी नै छ । प्रकृतिको मनमोहकता हेर्न मान्छे झुम्मिन्छन् ।  उनीहरूले जति चाहेका हुन्छन् त्यति सुविधा दिन सक्नु हाम्रो कर्तव्य हो । यो पूरा गर्न तम्तयार भएर लाग्नै पर्छ । बेचेर कहिल्यै नसकिने प्राकृतिक दृश्यले हामीलाई पर्याप्त पैसा दिन्छ तर सिकेर पनि गर्न धेरै बाँकी छ । यहाँ यिनीहरूले तालका टापुको शोभायमान मालाका रूपमा पर्यटकीय क्षेत्र बनाएका रहेछन् ।

हामीले रारा, तिलिचो हुँदै फेवा र अरू कैयौँलाई  जोडेर तालको माला बनाउन सक्छौँ । इच्छाशक्तिको मात्र खाँचो छ । हाम्रा ती सुन्दर प्राकृतिक वरदानले  भने हाम्रो कुशल कर्मलाई पर्खिरहेका छन् । यता यिनीहरूले भने आफ्नो कौशल देखाइसकेका रहेछन् । यिनीहरू र हामीमा फरक यति मात्र हो । प्रकृतिले हामीलाई  निःशुल्क आहारा कति हो कति पस्किदिएको छ । त्यसलाई मिलाएर खानु हाम्रो कुरा हो । यिनीहरूकहाँ विशाल ठुला तालहरूका माला  रहेछन् । हामीहरू कहाँ भने ससाना तर सयपत्रीका थुँगा जस्तै प्राकृतिक सौन्दर्य मणिहरू  छन् । बनाउने हो भने हामीकहाँ यिनीहरूकहाँ भन्दा कति हो कति बढी पर्यटक झुम्मिने सम्भावना प्रचुर मात्रामा छ ।