
विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय स्थानीय सामाजिक संस्था उमामहेश्वर महिला समूहले, खाेटाङस्थित हलेसी महादेवकाे मन्दिरमा २०७९ बैशाख २६ गतेका दिन आफ्ना सदस्य परिवारहरूबाट सामुहिक रूपमा पूजाआजा, हवन र सवालाख दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको थियो ।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूकाे नाम सङ्कलन हुँदै रहेछ । समूहकाे सचिवकाे नाताले घरबाट श्रीमतीजीकाे त जाने तय भइसकेकाे थियो । यसअघि एकपटक पुगिसकेको स्थान भए तापनि मेराे मनमा पुनः जाने लाेभ पलाएकाेले नाम लेखाएँ ।
यातायात, खाना र बसाइकाे व्यवस्थापन गर्ने जिम्मा हरिशरण तीर्थयात्रा समितिका प्राेपाइटर माेहनप्रसाद अधिकारीदाइले लिनुभएकाे रहेछ । सबै मिलेर पूजा, हवन र सवालाख दीप बाल्न आवश्यक सामग्री जुटाएर, चालक र व्यवस्थापन टिमका ६ जना, पुराेहित दुईजना सहित ५२ जना यात्रु गरी जम्मा ५८ जनालाई लिएर २०७९ बैशाख २५ गते आइतबार बिहान २ वटा बस कुमारीगालबाट हलेसीतर्फ प्रस्थान गर्याे ।
बिहानीकाे समय वातावरण हल्का चिसाे थियो । बाटोमा दुई दिने यात्राको लागि आवश्यक पर्ने खानेपानी किन्ने र चियापान गर्ने काम भयाे । बसमा सुमधुर भजन बजिरहेको थियोे । प्रकृतिको सुन्दरता नियाल्दै हामी अघि बढ्यौं । बाटो कटेकाे पत्तै भएन । करिब १० बजे, काठमाडौँबाट १८ कोश पूर्वमा पर्ने सिन्धुलीको दुम्जामा अवस्थित धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आदिलिङ्ग कुशेश्वर महादेवस्थानमा पुगेर हामी राेकियाैँ । माेहनदाइले आफ्ना सहयाेगीहरूलाई खाना पकाउन लगाएर हामीलाई दर्शन गरेर आउँदा खाना तयार हुने जानकारी गराउनुभयाे । हामी मन्दिरतर्फ लाग्यौँ ।
कुशेश्वर महादेव हिन्दुहरूकाे प्रसिद्ध प्राचीन धार्मिक तीर्थस्थल हाे । महादेवकाे उत्पत्तिबारे विभिन्न किंवदन्तीहरू पाइन्छन् । परापूर्वकालमा काठमाडौँ जाने-आउने पूर्वका अधिकांश बटुवाहरु दुम्जा हुँदै हिँड्ने गर्थे । बास बस्ने क्रममा एउटा गाडिएको ढुङ्गो भएको ठाउँमा दुईवटा अरू ढुङ्गा राखेर चम्का बनाई भात पकाउँदा, गाडिएको ढुङ्गो हल्लिएर भात पोखिएछ । बटुवाले रिसाएर पन्युले ढुङ्गामा हिर्काउँदा ढुङ्गा चोइटिएर रगत बगेछ । त्यसपछि खनेर हेर्दा शिवलिङ्ग देखेर महादेव रहेछन् भनी पूजा थालेको एउटा किंवदन्ती पनि छ । पहिले घना कुशकाे घारी रहेकाे यस क्षेत्रमा फेला परेको शिवलिङ्ग भएकाले कुशेश्वर नाम रहेको पनि स्थानीयकाे भनाइ छ ।
हिमवत्खण्डका अनुसार संसारभर ६४ वटा प्रसिद्ध शिवलिङ्गहरू छन् । त्यसमध्ये कुशेश्वर महादेव, ब्रम्हाले श्रृष्टि हेतु तपस्या गर्दा उत्पन्न भएको आदिलिङ्ग भएकाले ६४ लिङ्गहरूमध्ये सबैभन्दा पहिला यहाँकाे दर्शन गर्नुपर्ने मान्यता छ । कुशेश्वरनाथको पूजा, दर्शन र हवन तथा पितृहरूको श्राद्ध गरेमा २१ पुस्तादेखिको सबै पापबाट मुक्त भइन्छ भन्ने पनि हिमवत्खण्डमा उल्लेख छ । यस क्षेत्रकाे सुनकोसी किनारमा ब्रम्हर्षि विश्वामित्रले तपस्या गरेको गुफा पनि रहेको छ । यहाँ शिवरात्री, वालाचतुर्दशी, तीज, ठूलो एकादशी, रामनवमी, कृष्ण जन्माष्टमी, पाैषे ओँसी लगायतका पर्वहरूमा मेला लाग्छ ।
करिब एकघण्टाकाे पूजाआजा, दर्शन र अवलाेकनपछि हामी फर्कियाैँ । खाना तयार थियाे । सबैले खाना खायौँ । खानापछि एकछिन आराम गरेर हामी आफ्नो गन्तव्य हलेसीतर्फ जान अघि बढ्यौँ ।
काठमाडौंबाट हलेसी पुग्न धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, घुर्मी हुँदै करीब २ सय ३० किलोमिटरको यात्रा तय गर्नुपर्छ । हलेसीतर्फ जाने प्रायःजसो यात्रुहरू सुनकोसी किनारमा अवस्थित (सिन्धुली, उदयपुर, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र खोटाङको साझा व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएकाे) घुर्मी बजारमा नास्ता, खाना, चियाखाजा गरेर हलेसीतर्फ लाग्छन् । हाम्राे टाेलीबाट पनि धुर्मीमा चियाखाजा गर्ने काम भयाे ।
हलेसी पुग्न केही समय बाँकी हुँदा अकस्मात् मुसलधारे पानी दर्कन थाल्याे । ठाउँठाउँमा बाटाे साँघुरो र केही खराब थियो । पानीका कारण चिप्लने डर पैदा भयाे । अन्ततः साँझ पर्नुअघि नै हलेसी पुग्यौँ । यहाँ आइपुग्दा पानी निकै कम भयाे । हामीले बसाइकाे लागि ताेकिएकाे हाेटेलमा सामान बिसायाैँ । हलेसीमा पुगेर दर्शन र आरतीमा सहभागी भयाैँ । भाेलि बिहानकाे हवन र दीप प्रज्वलनकाे लागि मन्दिर परिसरमा स्थान निश्चित गरी फर्केर खाना खायौँ । भाेलि सबेरै मन्दिर पुग्नुपर्ने भएकाले साे काे लागि तैयारी गरी खाएर राति १० बजेतिर सुत्याैँ ।
बिहान ३ बजे उठेर स्नानादि सकेर शिराेमणी रिसाल दाइ, बिष्णु बस्नेत, बालकृष्ण पाैडेल गुरु र याे पङ्क्तिकार लगायतका व्यक्तिहरू हलेसी मन्दिर पुगेर त्यहाँको सत्तलमा हवनकाे तैयारीमा जुट्याैँ । राति यहाँ प्रायः बिजुली बत्ती नहुने रहेछ । अँध्यारोमा हवन व्यवस्थापनमा अलिक कठिनाइ भयाे । उज्यालो भएपछि सबैजना आउनुभयो । सवालाख बत्ती प्रज्वलन र हवन सम्पन्न गरी मन्दिर दर्शन र अवलाेकन गरियाे । फर्केर खानपिन भयाे । आजै फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेकाेले ढिला नगरि हामी काठमाडौंतर्फ प्रस्थान गर्यौं ।
पूर्वको पशुपतिनाथ, दोस्रो लुम्बिनी, आदिम भूमि लगायतका नामबाट चिनिने हलेसी महादेव धाम खाेटाङ जिल्लामा अवस्थित नेपालको एक प्रसिद्ध हिन्दु एवं बौद्ध तीर्थस्थल हो । समुद्री सतहदेखि झण्डै ४ हजार ८ सय फिट उचाइमा बाक्लो जङ्गलले ढाकिएको एउटा थुम्कोमा रहेको याे स्थान, विभिन्न आकृतिका चट्टानहरुमा प्राकृतिकरूपमा निर्मित अनाैठा पत्थर संरचना र अचम्मलाग्दा ठूलाठूला गुफाहरुका कारण देशकै चर्चित र दर्शनीय धार्मिक स्थलहरूमध्ये पर्दछ ।
जमिनको सतहबाट ८०/८५ फिट तल गुफाभित्रको समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । दक्षिणतर्फको भित्तामा पार्वतीस्थान र उत्तरी कुनामा धर्मद्वार, पापद्वार रहेकाे छ । त्यस द्वारबाट धर्मात्माहरू मात्रै छिर्न सक्ने किंवदन्ती छ । यहाँ जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्त्वका ढुङ्गाका प्राकृतिक मूर्तिसमेत रहेका छन् । गुफाको सतहसम्म जानको लागि मानव निर्मित खुड्किलाहरू बनाइएका छन् । गुफाका छत र भित्तामा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीँ मूर्तिहरू जस्ता बनेका छन् । कहीँ माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् । ती प्राकृतिक आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पुज्ने गरिन्छ ।
महादेव गुफादेखि करिब सय मिटर पश्चिमतिर अर्को एउटा ठूलो गुफा छ । एकैपटकमा सयौँ जना मानिस सजिलै भित्र-बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय फिटजति भित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । त्यहाँबाट माथितिर हेर्दा चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ । धार्मिक मान्यता अनुसार यी गुफाहरू महादेवले भस्मासुर राक्षसबाट बच्नको लागि बनाएका हुन् भनिन्छ ।
किंवदन्तीअनुसार, एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो खरानी होस्’ भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्तु भनी वरदान दिएछन् । तर भस्मासुरलाई यो वरदान पूरा हुनेमा शङ्का लागेछ र जाँच्नका लागि महादेवकै थाप्लोमा हात राख्न खोजेछन् । त्याे देखेर महादेव डरले भागेर हलेसीको चट्टानै फोडी जमिनभित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई अल्मल्याउञ्जेल महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजिकै जमिन छेडी पातालमा घुसेर लुकेछन् । यसरी यहाँ दुईवटा गुफा बनेको जनविश्वास छ ।
भष्मासुरबाट जाेगिन यस गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्केका हुनाले याे गुफालाई बसाहा गुफा पनि भन्ने गरिन्छ । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्ता चुच्चा आकृतिका पत्थरहरू छन् । त्यसबाट चुनमिश्रित चौलानी रङको पानी चुहिने गर्दछ । भक्तजनहरू त्यस पानीलाई दूध मानेर ‘दुध देउमाई’ भन्दै हातमा थाप्ने गर्छन् । यस गुफाको भित्तामा एउटा अचम्मको प्वाल रहेको छ, जसमा मुख जाेडेर फुक्दा शङ्ख बजेकाे आवाज आउँछ ।
नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ । श्रीस्वस्थानी व्रत कथामा सतिदेवीकाे दाहिने कुहुनो पतन भई त्यहाँ हलेश्वर महादेव उत्पति भएकाे उल्लेख छ । बताइन्छ । राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूलाे मेला लाग्ने गरेको छ । साे मेलामा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ।
अन्त्यमा,
हलेसी क्षेत्रमा पानीको अभाव छ । हाेटेल/लजहरुकाे सीमित सङ्ख्यामा छन् । त्यसैले हाेला, व्यवसायमा केही सिन्डिकेट चलेझैँ लाग्छ ! यसै कारणले यहाँको हाेटेल बसाइ अन्यत्रकाे तुलनामा अलिक महँगो देखिन्छ । सामान्यतया प्रायः बर्षभरी नै पुग्न सकिने हलेसी क्षेत्रमा, पर्यटक मैत्री वातावरण बनाएर आवश्यक सरसुविधा थपिने हाे भने त्यसबाट पर्यटन प्रवर्द्धन हुन गई यसक्षेत्रकाे विकासका निकै ठूलो टेवा पुग्न जाने देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

