हामी मार्फा पुग्दा दिन ढल्किने तर्खरमा थियो । गाडीमा थचारिँदै, थिल्थिलिँदै हामी पनि थकित थियौँ । तथापि मार्फाको सफा, उज्यालो र नौलो वातारण । यसले बेग्लै स्फूर्ति जगाइदियो । थकाइ सबै बिर्साइदियो ।

मार्फामा पहिलो पाइला टेक्दा नै उमङ्गले हिँड्न आतुर भए पैतालाहरू । मार्फालाई देख्न हत्तारिए आँखाहरू । सुस्त, शिथिल मन-प्राण मार्फा प्रवेशसँगै चञ्चल बने । हामी पनि आफू आफैँसँग चकित भयौँ- भर्खरको भारी ज्यानमा एक्कासि हलुङ्गोपन कसरी आयो ?

नौलो ठाउँमा हामी बिरानो बनेर बित्यासमा परेनौँ । पहिल्यैदेखिका परिचित जस्तै स्थानीयले हामीलाई आतिथ्य दिए । आत्मीयता देखाए । आफ्नो गाउँघर घुमाए, बोले, बोलाए ।

कहिल्यै नगएको ठाउँ । कहिल्यै नभेटेको अपरिचित मानिस । तर बोली र व्यवहारमा मिजासको मिठास पायौँ । मित्रता र आफन्तपनको आभास भेट्यौँ । अन्ततः मार्फाको मायाले हामी मोहित भयौँ ।

नीलो आकाश, सफा धरती । सिनित्त बढारिएका बाटा । घुमन्तेका लागि हिँडिरहूँ लाग्ने । फेरि बसिरहूँ लाग्ने बिसौनी । चौरीका छालामा बसेर गफिरहेका बूढापाकाहरू । थोतेदाँत, चाउरीचेहरा तथापि मस्तले हाँसिरहेका । निस्फिक्री बाँसचरहेको जिन्दगी । तिनका कुरा सुनौँ, बुझौँ जस्तो लाग्ने । चुपचाप बस्न कहाँ सक्नु । आँखा र मन यता हेर्न, उता देख्न बेफुर्सद !

दौडिँदै मार्फाको फन्को मार्न हत्तार हुने । घुम्दै सर्वत्र गल्ली र बजार चहार्न चौचौ हुने । कता, कहाँ के छन् ती सबै देख्न, भेट्न, हेर्न कति उत्सुक, कति जिज्ञासु मन ।

सेताम्मे ढुङ्गा र माटोका घर, गल्ली, गल्छेँडा घुम्दै हामीले मन माफिक बेग्लै बस्ती बसोबासको स्वागत पायौँ । ढुङ्गाकै पर्खालले घेरिएका बाटा । ढुङ्गा विछ्याइएका गल्लीहरू । मार्फा पुगेर यहाँको प्रसिद्ध ‘जेरीगल्ली’ नघुम्ने सायदै होलान् । र, यी बस्ती स्थानीय मौलिक पहिचानका प्रतीक थिए । बारीमा राताम्मे स्याउ फलेका । तिनलाई हेर्दै हामीले स्वादिलो स्वादको महसुस पनि गर्यौं ।

आन्तरिक र बाह्य पाहुनाहरूको घुइँचो थियो । तिनमा हामीले ग्रामीण सुन्दरता र सामाजिक सद्भावको मिलन भेट्यौँ । सफासुग्घर घरआँगन र फुलिरहेका फूलहरू, सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट, पाहुनाघरमा अतिथिहरूको चहलपहल बाक्लै देखियो । कोही आराम गरिरहेका, कोही गफमा मस्त, कोही फोटो खिच्न व्यस्त, कोही घुम्दै, कोही पढ्दै । जे होस् मार्फामा सबै आगन्तुकहरूको मन रमाइरहेको थियो । मार्फा आउनुको सन्तुष्टि मिलिरहेको थियो ।

फरक किसिमको भूगोल मार्फामा घुमेर हामी आनन्दित भयौँ । अलग जीवनशैली, मिठो बोली र व्यवहारको मार्फालीका हार्दिकतामा हामी सबै रमायौँ । मार्फामा हामी हरायौँ ।

भौगोलिक विविधिताले भरिएको मुस्ताङ्गी प्रकृति पर्यटक लोभ्याउने सुन्दर गन्तव्य । हिमालपारिको मनमोहक मार्फा गाउँ । स्याउ उत्पादनका लागि प्रख्यात । २,६८० मिटर उचाइमा अवस्थित मार्फा थकाली समुदायको मूल थलो । यहाँ थाकखोलाको मौलिक जीवनशैली र वास्तुकला देख्न पाइन्छ । त्यसैले शीतल, शान्त र सुन्दर मार्फा पर्यटकीय गन्तव्यको गतिलो थलो हो।

अन्नपूर्ण, धौलागिरि, थोराङ्ला र अप्पर मुस्ताङ जाने पदमार्गको मुख्य मार्ग । त्यस्तै मुक्तिनाथ जानेहरू त यही मार्फा गाउँ घुमेर जान्छन् । थकाली समुदायको विछट्टको यो गाउँमा रमाउँछन् । हामी जस्तै अघाउँजी घुम्छन् । कोसेली किनमेल गर्छन् । जस्तै- मार्फा ब्रान्डका रक्सीहरू, स्याउ, सिमी र आलुहरू आदि । लिनेहरूले ताजा दाना स्याउ कार्टुनै उठाइरहेथे । सुकुटी स्याउका प्याकेट पनि उत्तिकै उठाइरहेथे ।

वरिपरि पहाडले घेरेको सुन्दर बस्ती मार्फा ! हिउँको ओइरो सहँदै पहाडी तरेलीको घुम्टो ओडेर पारिलो परिवेशमा बेखबर । हिउँदका कठिनतम् दिनहरू बिताएको छ । गुजमुज्ज घरहरू, नागबेली गल्लीहरू । गगनचुम्बी घर हैन । तर आधुनिक सेवा र सुविधायुक्त घरहरू । अनि चौडा छतभरि दाउराका चाङ् । मरुभूमि जस्तै सुख्खा पाखाको काखमा रहेर पनि रसिलो, पोसिलो स्याउको घना बगैँचाले सजिएको । मार्फाबासीको आस्थाको धरोहर ‘सम्तेन छोलिङ गुम्बा’ । गाउँको सबैभन्दा अग्लो स्थानमा अवस्थित यही गुम्बामा थकालीहरूको बेग्लै श्रद्धा समर्पित छ ।

यहाँको ‘पेय पदार्थ’ मार्फाको नामसँग जोडिने अर्को विशेषता । यहाँ उत्पादित स्याउको स्वादमा ‘मार्फाली ब्रान्डका रक्सीहरू’ । आहा, ती रक्सीको स्वादै बेग्लै । पिउनु जति पिए पनि धित नमर्ने । मात्नुको अर्कै आनन्द । तर मात्नका लागि मात्रै पिइँदैन मादक पदार्थ । सही सेवन गर्नु त स्वास्थ्यको संरक्षण गर्नु पनि हो । अनि मातेपछिको अनुभूति लेखनको पृथक पृष्ठभूमि । पृथक अध्याय र अभिव्यक्तिहरू सशक्त र अशक्त आफ्नै सिर्जन क्षमतामा भर पर्छ ।

अन्ततः अनुभूतिको गहिराइ कालीगण्डकीतिर झर्छ । अभिव्यक्तिको उचाइ नीलगिरीतर्फ उकालिन्छ । र, मुक्तिधाममा पुगेर आध्यात्मिक अनुरागमा विश्राम लिन्छ । अनि योगध्यान, चिन्तन-मनन सबै त्यहाँ हुन्छ । यही भएर ‘मार्फा’ र ‘मार्फाली ब्रान्डी’ को विशेष माग छ । देशभित्र मात्र सीमित छैनन् यी ‘ब्रान्डहरू’ । विदेशीका जिब्रोमा समेत बेग्लै स्वाद र बेग्लै माग । बेग्लै सन्तुष्टिको पेय पदार्थ भएर परिचित । त्यसैले यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ‘ब्राण्डी’ र ‘वाइन’ नेपाल र विदेशमा निकै प्रख्यात छ । पछिल्लो पटक केन्द्रले स्याउका साथै एलमण्ड तथा आरूमा पनि अनुसन्धान गर्दै आएको छ । ४१ प्रकारका स्याउको अनुसन्धान पूरा भए पनि मार्फाको माटो सुहाउँदो चार प्रकारका स्याउको मात्र व्यावसायिक खेती गरिएको रहेछ ।

भनिन्छ, मार्फा आफैँमा स्याउको राजधानी नै हो । यहाँ स्याउको अनुसन्धानार्थ बागवानी विकास केन्द्र रहेको छ । यसको स्थापना २०२३ सालमै भएको रहेछ ।

थकाली संस्कृतिलाई विश्वव्यापी बनाउन पनि मार्फा अग्रसर छ । अन्कन्टारमा रहेर पनि मार्फा धेरैको खोजीको र रोजाइको पहिलो गन्तव्य । भ्रमणका लागि पुग्नुपर्ने सूचीमा सूचीकृत थलो । अतः मार्फाप्रति आकर्षण र आगमन छँदै छ । ओहोर-दोहोर यात्रीको क्रमागत सिलसिला निरन्तर भइरहेकै छ ।

होटल एसोसियन मार्फाका अध्यक्ष मोहनसिंह लालचनसँग जम्काभेट हुनुले जानकारी पाउन सजिलो भयो । ‘ओहो ! मार्फामा हजुरहरूलाई हार्दिक स्वागत छ ।’ भन्दै पहिलो चिनारीमै उनले सप्रेम हार्दिकता दर्शाए । उनी भन्छन्, ‘हामी मार्फामा पर्यटक बसाउने अभियान चलाउँदैछौं । मार्फाको कालो बोडी, आलु र एप्पल ब्रान्डी प्रख्यात छ । गाउँमा १७ वटा त कोसेली घरै छन् । भर्खरै खुलेको होटल एसोसियसन आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्दै छ ।’

मार्फा शब्द ‘मार’ र ‘फा’ मिलेर बनेको छ । ‘मा’को अर्थ मिहेनती र ‘फा’को अर्थ जनता हो । भनाइअनुसार आजभन्दा ३०० वर्ष अगाडि हालको पुरानो मार्फामा मात्र मानिसहरू बस्ने गर्थे । माथिल्लो भेगमा पानीघट्ट नभएकोले मानिसहरूलाई अन्न पिस्न हालको नयाँ मार्फामा झर्नुपर्ने हुँदा बाटोको असुविधाले गर्दा निकै गाह्रो थियो ।

लालचनले हाम्रो जिज्ञासाको राम्रै समाधान गरिदिए । उनले भनेअनुसार सुविधाका लागि त्यसपछि मानिसहरू बिस्तारै तल झर्न थाले र हालको मार्फा गाउँमा बस्ती बसेको हो । करिब दुई घण्टा हिँडेर पुगिने पुरानो मार्फामा मुस्किलले दुई चार घर मात्र रहेका छन् र बाँकी सबै पुरानो मार्फा स्याउ खेतीले भरिएको छ ।

यहाँ यौटा कुरा स्मरणीय छ, मार्फाभरि मुखियाको नियम चल्दोरहेछ । गाउँलेहरूलाई नियमन गर्न स्थानीय मुखियाले कानून तथा नियम बनाउँछन् । मार्फाको यही भिन्न प्रचलनबारे जानकारी दिँदै उनी मोहनसिंह लालचन भन्छन्- ‘मार्फालीहरूले एक वर्षको लागि चार जना नाइके रोज्ने गर्छन् । ती चार जना मुखियामध्ये एक जनाले एक महिनासम्म गाउँ चलाउँछन् । प्रत्यके अर्को महिना मुखिया परिवर्तन हुन्छ ।’

मार्फाको थोरै मात्र जानकारी हामीले लियौँ । तर धेरै मायालु सम्झनाहरू मनभरि बोकेर हामी पुनः आफ्नो गन्तव्य तर्फ लाग्यौँ ।