
६ घण्टा जत्तिको आरामदायी निद्रापछि बिउँझिएछु । बिहान चकमन्न हुने शान्त खाले वातावरण थियो हाम्रो बस्ने ठाउँमा। म उठेर बाहिर बजारतिर निस्केँ राती समय बिताएको रेस्टुराँकै बाटो हुँदै । घना बस्ती छिचोल्दै उकालो लागेँ, घाम झुल्किएर माथिको पहाडमा ठोक्किन थाल्यो। आहा ! कति रमाइलो क्षण – घामको पहिलो किरण डाँडामा ठोक्किँदा अनि निदाइरहेको शान्त बस्तीमा चराको चिरबिर कानमा गुञ्जिदा। प्रकृति र मानव बीचको तादाम्यता झल्काउने बस्ती रहेछ । चराहरुको यस्तो आपसी गन्थनले आँखा उघ्रिनासाथ छेउको पाँच इन्चवाला स्क्रिनमा भुल्ने बानी परिसकेको मानव दिनचर्यालाई चुनौतीका साथै सन्देश दिएको भान हुन्थ्यो। पुरै समथर, ६ महिना कठयाङ्ग्रिँदो जाडो अनि यान्त्रिक जीवन बिताउनु पर्ने फिन्ल्याण्डमा बसेकोलाई यो बिहानी अव्यक्त थियो।
सुनमा सुगन्ध थपिदिएका थिए, बिस्तारै जम्मा हुन थालेका टोलका मानिसहरुले । बिशेष गरी प्रौढ उमेरका पुरुषहरु बिहानैदेखि जम्मा भएर हल्ला गर्ने, चिया बिस्कुट खाने, दिनभरिका योजना बुन्ने रहेछन्। निजासँग हिँड्दा यो ठाँउका युवा युवतीहरु कहाँ होलान् है भनेर जिज्ञासा राख्थ्यौँ । अन्य देशमा जस्तै यहाँ पनि पढ्ने, नोकरी गर्ने उमेरका व्यक्तिहरु ठूला शहरतिरै केन्द्रित हुने रहेछन् । तर बस्तीमा जति बस्थे एक अर्कामा आत्मियताका साथ बसेका रहेछन्। हाम्रो गाउँघर जस्तै सबैले सबैलाई चिन्ने। फिन्ल्याण्डमा आठ बर्षसम्म एउटै फ्ल्याटमा बसेका छिमेकीसँग चिनजान समेत नभएको अनुभवी यो पक्तिकारलाई युरोपमै यसरी मानिसहरु बस्छन भन्ने कल्पनामा नि थिएन।
त्यहाँ चिया पसलमा जम्मा भएका व्यक्तिहरुको चालचलन देख्दा नेपालमै पुगेको जस्तो महसुस भयो- “चोकतिर केटा हो” बिर्साउने खाले थियो। बिहानी हिँडाइमा एक घण्टा जति अलमल गरेपछि होटल फर्किएँ। फर्किँदा निजाको रुचीअनुसार पाकेको मेवा, अम्बा किनेर ल्याएँ । उनले आफूलाई उश्ण प्रदेश (ट्रोपिकल) मा पाइने फलफूल मन पर्ने कुरा बताएकी थिइन् र मलाई पनि त्यस्ता फलफूल औधी मन पर्छ। नोर्डिक मुलुकतिर असाध्यै महँगो पर्छ तर त्यहाँ भने निर्धक्क किन्न सकिने। उनले म्यासेज लेखेकी रहेछिन्- उठ्न त उठिसकेँ तर अझै केहीबेर आराम गरेर फ्रेश भएर निस्कन्छु।
हिजो बिहान उनले मलाई मज्जाको ब्रेकफास्ट खुवाएकी थिइन्, आज मैले पैँचो तिर्न पाउने भएँ। एकछिनको व्यायाम, ध्यान सकेर मैले मेवा, अम्बा, अन्य फलफूलसहित टेबलमा खाजाको बन्दोबस्त गरेर उनको प्रतिक्षामा थिएँ। सर्लक्क उदाएको घामको किरणसँग उनी हिजो किनेको पिन्क रङ्को ड्रेस लगाएर निस्किइन्। मैले कति राम्रो सुहाएको, झलल्ल बलेकी भनेर उनको रोजाइको तारिफ गरिदिएँ, स्वभावैले होला मक्ख परिन्। वास्तवमा त्यो पहिरन आज भेट्ने साथीको लागि छनौट गरेकी थिइन्। त्यहाँ कफी बनाउने मेसिन चैँ मेरा लागि नौलो थियो त्यसैले त्यो काम उनैलाई छोडिदिएँ।
पाकेको मेवा उनको मुखमा नपरेको धेरै भएको रहेछ, मैले भने फिन्ल्याण्डमा आक्कल झुक्कल खाइरहेको हुन्थेँ। मिठो मानेर खाइन्, रातो अम्बा नि काटेर ठीक पारेको थिएँ । अम्बा चैँ उनले सुनेकी मात्र रहेछिन् चाखेको रहिनछ, भित्रको दाना छुट्ट्याउँदै खान थालिन् । मैले सबै गर्याम्गुरुम खान सिकाउँदै अम्बाको पात, डाँठको समेत औषधीजन्य उपयोगीता रहेको जानकारी गराएँ । त्यो बनस्पतिमा पाइने “औषधीजन्य रसायन” बारे उनको जिज्ञासाको जवाफ चैँ दिन सकिनँ।
खाजा खाएको केही घण्टामा मैले होटल छोड्नु पर्ने थियो र उनको पनि नयाँ साथी लिन विमानस्थल जानु थियो। म आजदेखि सर्न लागेको ठाउँ जान पनि त्यही विमानस्थलबाट अर्को बस लिनु पर्ने थियो त्यसैले हामी सँगै जाने र विमानस्थलको रेस्टुराँमा लन्च खाएर छुट्टिने सल्लाह भयो। अस्ती आउने बेला उनी ट्याक्सिमा आएकी थिइन् तर हिजो गफको तालमा त्यही बाटो पुरै हिँडेर पार गरेका थियौँ। सार्वजनिक यातायातमा यात्रा गर्दा पैसा मात्र जोगिने होइन, स्थानीय मानिसहरुको चालचलन, हाउभाउसँग साक्षात्कार गर्ने मौका पनि मिल्छ। यूरोपतिर गाडीको गती नियन्त्रित हुन्छ र बस अझै प्राथमिकतामा पर्ने बाटोमा गुडाउने हुँदा समयको हिसाबले नि खासै फरक पर्दैन त्यसैले हामीले डेढ युरो वाला बस मै जाने निधो गर्यौं।
निजा एक दिन अघि पुगेकी हुँदा त्यहाँ राखिएको लुगा धुने मेसिनको मेसो पाइसकेकि थिइन्। पहिला दुबैको कपडा सँगै धुन्छु भनेर मागेर लगिन् तर पछि मेरो मात्रै हालेर धोइदिइछन । आफ्नो कपडा हाल्दा समय धरै लाग्ने र सुक्न नभ्याउला भन्ने सोचेर मेरो मात्र लुगा हालिन् र सुकाएर नि भ्याइन। उनको त्यहाँ अझै ५ दिन बस्ने योजना भएकोले हतार थिएन। अब बिस्तारै हिँड्ने समय आयो। म त्यो ठाउँ छोड्नु पर्दा खुशी र दुखी दुबै थिएँ। खुशी यो अर्थमा कि आफू टापुको अर्को शहर नि पुग्दै थिएँ अनि निजाको नयाँ साथी भेट्ने योजना पुरा हुँदैछ। दु:ख चैँ अब उनीजस्तो साथी पुरै यात्रा अवधीभर नपाउने कुरामा थिएँ। निजामा नि त्यस्तै मिश्रित भाव झल्किन्थ्यो । मेरो लागि अरु ठाँउमा नि मन मिल्ने साथी पाउनु भनेर कामना गरिन्। मेरो फरक ठाउँमा बस्ने योजनाको प्रशंसा गर्दै आफू चैँ भने ७ दिन नै एकै ठाउँमा बस्नु परेकोमा दुखित थिइन्।
बस तोकेकै समयमा आइपुग्यो । बसमा हिजो बेलुकाको बसाइबारे कुरा भयो।
उनले आफूले त्यस्तरी सबै कुरा खुलस्त भनेकोमा सरी है भनिन्, “खै किन किन हिजो म त्यसरी खुलस्त भएँ जुन आवश्यक थिएन अरु नै कुरा गरेर नि समय बिताउन सकिन्थ्यो।”
मैले कुनै अप्ठ्यारो महसुस गरेको थिइनँ बरु यसरी कहाँ कहाँ को अपरिचितसँग आफ्नो दु:ख सुख पोख्न पाउनु दुबैको लागि संजोगले नै जुराइदिएको भन्ने ठानेँ । मान्छेहरुले जतिसुकै सफलता वा असफलता हासिल गरे पनि ती कुराहरु व्यक्त गर्ने उचित पात्र भेट्टाउन मुश्किल हुन्छ । अनि मनभित्र गुम्स्याउँदा मानसिक रुपमा बिछिप्त हुँदै डिप्रेसनको शिकार हुने गर्छन्। हामी दुबैले त्यो क्षण पाएका थियौँ र सदुपयोग गर्यौं भन्ने लाग्यो। बस आफ्नै तालमा हुँइकिरहेको थियो, नागबेली परेको सडकमा। बाटो बालाजुबाट रानीपौवा जाने जस्तै थियो, पल्लो शिर छोइएला जस्तो लाग्ने तर पुरै घुम्ती काटिसकेपछि मात्र पुगिने। हरेक घुम्ती कट्नासाथ मन सिरिङ्ग हुन्थ्यो यात्रा सकिने डरले, फेरि अर्को शिर पारी देखिन्थ्यो, लामो श्वास फुर्थ्यो मनका उकुसमुकुस अझै पोख्न पाइने भैयो भनेर। आज अरु यात्रीतिर खासै ध्यान गएन। हामी बेसुरमा एक नवयुवक जोडी झैँ मग्न थियौँ। हरिवंशको “साझा बसमा जो पनि चढ्दछ” गीत यस्तै जोडीको लागि बनाएको जस्तो महसुस भयो। ड्राइभरले घुमाउने स्टेरिङ्ग सँगै हाम्रो मन पनि घरी यता घरी उता मडारिरहन्थ्यो।
हिजो हामीले पुरै हिँडेर पार गरेको सडक जुन थियो बस हुँकिरहेको छ, झ्यालबाट हिजोको चुचुरो नजिकै देखिन्थ्यो। हामीले ज्यान जोगाएको डाँडो दुबैको यादगार दिलाउने चिन्हो थियो। यात्रा दौरानमा देखिएका सफा शहर, बिचमा परेड खेले जस्तो देखिने धुपिको बुट्यान्हरु हाम्रो लागि खासै महत्वका थिएनन्। दुई दिनको सङ्गतमा उनको तौर तरिका देखेर मैले तिमी दैनिकी लेख्छौ भनेर सोधेँ, त्यहाँ पनि मेरो अड्कल ठ्याक्कै मिलेछ । धेरै बर्षदेखि डायरीका पानामै हातले दैनिकी लेख्ने गरेकी रहिछन् र अहिलेसम्म आफूले लेखेको कहिल्यै फर्केर नपढेको बताइन्। सँगसँगै यो मैले लेखेको मेरा पानाहरु कसको लागि होला, किन लेख्दैछु भन्नेमा कहिलेकाहीँ घोत्लिने रहिछन्। मनमनै म पनि उनको डायरीमा पर्छु होला भनेर गम्न थालेँ। २ दिनको उठबसको क्रममा उनले सहज बनाइदिएको क्षणप्रति धन्यवाद दिँदै जान अन्जानमा भएको भुलप्रति माफी पाऊँ है भनेँ । उनी आँखा तर्थिन र त्यो भावमा मबाट कुनै गल्ती नभएको बरु उल्टा उनी नै म प्रति नतमस्तक भएको प्रष्ट झल्किन्थ्यो। बस घच्याक्क रोकियो विमानस्थल पुगिएछ।
विमानस्थलमा लन्च खाने प्रस्ताव मैले नै गरेको थिएँ। यहाँ मलाई अचम्मको अनुभव भएको थियो। जहाजमा राम्रो खाना खान नपाएको हुँदा विमानस्थल पुग्नासाथ खाना खान त्यहीको रेस्टुराँ छिरेको थिएँ। साधारणतया विमानस्थलको रेस्टौराँ महँगो हुने गर्छ। अझ नेपाल तिरको सम्झँदा त कहाली लाग्छ। २०० मिटर तल हिँडेर २० रुपैँयामा पाइने स्तरकै चिया बिना कुनै कारण दुई सय रुपैँयामा पिउनु पर्ने हुन्थ्यो, बाहिरको २० रुपैँयाको कुरकुरे १९० रुपैँया तिर्दा न बिल, न कुनै कारण पाइन्थ्यो। तर त्यहाँ पकाउँदै गरेको थरिथरिका ताजा व्यञ्जन १० यूरोमा खान पाइने रहेछ।
खाना खाँदै थिएँ परबाट हस्याङफस्याङ गर्दै एकजना स्टाफ मेरो छेउ आइन्। म डराएको थिएँ नबुझेको ठाउँमा कुनै परिकार पैसा नतिरी पो खाएँ कि ? उनले सोधिन्, चिसो के पिउने ? म अकमक्क परेँ यस्तो बफेट खाले रेस्टुराँमा कसैले केही सोध्दैन थिए। वास्तवमा मैले तिरेको १० यूरो भित्र खानाको साथै एउटा पेय पदार्थ नि पर्ने रहेछ मैले नलिएको देखेर सोध्न आएकी रहिछन्। भनिन्, “तिमीले पानी, बियर, वाइन, सफ्ट ड्रिन्क लिन सक्छौ अघि तिरेको पैसामा ।” टेबलमा राखेको पानीको बोटल देखेर उनले थपिन्, “यहाँ नपिउने भए, पानी र सफ्ट ड्रिन्कको बोतल लैजान सक्छौ।”
वा ! सेवा भनेको यस्तो पो, व्यापार भनेको यस्तो पो। त्यो देशको विमानस्थलबाट बाहिर पाहिला नटेक्दै मैले पुरै देशको प्रतिबिम्ब पाएँ। मनमनै गमेँ, नेपाल त्यति सुन्दर, करुणाले भरिएका नेपाली हुँदा पनि हामीले पाहुनालाई विमानस्थलदेखि नै त्यस्तो आतिथ्यता झल्काउन सकेका छैनौँ, पर्यटक बढाऊँ मात्र भनेर कहाँ हुन्छ र ?
मेरो यो अनुभव निजालाई सुनाएको थिएँ त्यसैले उनी पनि त्यहीँ लन्चको लागि उत्साहित थिइन्। बिहान हाम्रो त्यस्तो सल्लाह भएको भए तापनि त्यो उनलाई उपयुक्त हुँदैन भन्ने बुझिसकेको थिएँ। किनकि उनको साथी बिहानै जहाज चढेको हुन्छ र त्यही सँगै लन्च खाएर होटल जानु उनीहरुको लागि उचित हुने थियो। उनलाई अप्ठ्यारो नहोस् भनेर मैले हलुका जुस, क्रोस्यान्ट खाएर छुट्टि लिऊँ भनेँ । कुरा बुझिन् र सहर्सै स्विकार गरिन्।
अब हामी हाम्रो सामिप्यताको लगभग अन्तिम क्षणमा थियौँ, उनले हिजो देखि खोल्न खोजेको महत्वपूर्ण कुरा बाँकी नै थियो। जुसको चुस्कीसँगै कुरो निकालिन् । हिजो मात्र उनको मासिकस्राव सुरु भएको रहेछ, नयाँ भेट्ने साथीसँग यस्तो अवस्थामा कसरी सम्बन्ध सुमधुर बनाउने होला भन्नेमा उनी चिन्तित रहिछ । एउटा बयस्क पुरुष नयाँ साथी बनाउन यति टाढाको यात्रा उत्साहित भएर आउँदैछ। दुइटैले सोचेको जस्तो मन मिल्ने परियो भने उसले शारीरिक सम्बन्ध समेतको अपेक्षा राख्नु स्वाभाविक हुन्छ । मेरो अवस्था यस्तो छ- पुरुष भएको नाताले केही सुझाव देऊ न भनिन्।
उनी मसँग कति अन्तरङ्ग कुरा बाँड्ने भैसकेकी थिइन्। मलाई भने कता कता रातिको बसाइमा छचल्किएका भावनाप्रति आत्मग्लानी भयो । हिजो छचल्किएका छालप्रति क्रुद्ध भएँ । फेरि चित्त बुझाएँ, छाल न हो त्यो बालुवामा नि ठोकिन्छ, किनारको चट्टानमा पनि । उनको मनभित्र पसेर म प्रति बनाएको धारणा पुरुषहरुको फगत मनगढन्ते कल्पना लाग्यो। शायद हिजोको घटनाक्रमको सेरोफेरोमा मेरो ठाँउमा अरु पुरुष भए पनि त्यस्तै कल्पनामा दौडन्थे होलान् ।
म टोलाएको देखेर “प्लिज” भनिन् । उनलाई हतार भैसकेको थियो। मैले निजालाई चित्त बुझ्ने तरिकाले सम्झाएँ – तिमीहरु २०-२२ बर्षे बैंशालु जोडी होइनौ, तिम्रो यस्तो अवस्थामा नि कम्प्रमाइज गर्न सक्दैन र अनुचित आशा राख्छ भने ऊ तिम्रो कल्पनाको पुरुष हुन सक्दैन त्यसैले निर्धक्क हुन सुझाएँ । उकुसमुकुस भएको तरङ्गित भावनामा त्यत्ति शब्दले पनि राहत पाए जस्तो भाव व्यक्त गरिन् ।
मेरो साथी निस्कने गेटसम्म सँगै जाऔँ न भनिन् र हामी त्यहीँ पुगेर अँगालो मारेर छुट्टिन खोज्यौँ । दुबैजना भावुक भएका थियौँ, अँगालो मार्दै “श्रवण ! तिमीहरुको जोडी मेरोमा जसरी नि आऊ है घरमै बसाउँछु, आफैँले उमारेको गाँजा चखाउँछु अनि स्टकहोल्म घुमाउँछु।” एक अर्कालाई फर्केर हेर्न सकिएन । हामी छुट्टियौँ । मुनालाई छोडेर भोट जान लागेको मदन सम्झिँदै म बस स्ट्याण्डतिर लागेँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

