भ्रमण गर्ने उद्देश्यले २०७९ सालको फागुन १३ गते दुबई ओर्लिएको हाम्रो आठ जनाको भ्रमण टोलीको आज तेस्रो दिन थियो । बिहानीपखको तन्द्रामै चराहरुको मधुर चिरबिर र सपनामा हो कि विपनाझैं लाग्ने कुकुरहरुको भुकाइ नसुनेको पनि आज तीन दिन भइसकेछ । सधैँ झैँ साढे पाँच बजे ब्युँझदा सूर्यका कलिला किरणहरुले दुबई शहरलाई अन्धकारबाट मुक्त बनाउँदै थियो । दुबईमा अवस्थित हामी बसेको होटलको शयन कक्षबाट बरण्डामा निस्किएर बाहिरी वातावरण निरीक्षण गरेँ । हिजो समयमै सुतेकोले होला आज भने आँखा अनिदा थिएनन् । सहयात्री रश्मिको हल्का घुराइले भने उनी अझै घनघोर निद्रामै रहेको थाहा हुन्थ्यो । उनलाई मात्र के भन्नु भ्रमण टोलीका अन्य ६ जना सदस्यहरु पनि निद्रामै थिए ।
म भने एक कप कालो कफीको चुस्की लगाएर झण्डै सवा छ बजे बिहानी भ्रमणमा निस्केँ । घाम अलि छिप्पिइसकेको थियो । मानिसहरु हिँडेको नदेखिए पनि सडकमा गाडीहरु बाक्लै गुडिरहेका देखिन्थे । बजार भने खुलेको थिएन । दुबई शहरका ती फराकिला फुटपाथमा गन्तव्यविहीन हिँडाइ थियो मेरो । शहरको चोकहरुबाट चारैतिर हेर्दा जता सुन्दर दृष्य देखियो त्यतै मोडिन्थेँ । त्यो मरुभूमिमा पनि हरियालीयुक्त थिए सडक किनारहरु । एक दुई वटा रुखका पात चुँडेर जाँच पनि गरेँ मैले, तर ती प्लास्टिकका होइन रहेछन्, प्राकृतिक नै रहेछन् ।
यस्ता ठूला रुखहरु र फूलहरुको झाडी कसरी हुर्काएका होलान् यी अरबीहरुले यो मरुभूमिमा ? यस्तै प्रश्नहरुको उत्तर खोज्दै गर्दा मेरा आँखा रुखहरुका फेदमा पुगे । त्यहाँ रहेका प्रत्येक रुखलाई पानीको कालो पाइपले बेरिएको देखियो । अलि नियालेर हेर्दा ती पाइपहरुबाट थोपा थोपा गरी पानी चुहिरहेको थियो । आश्चर्य, आयातित माटोमा ठडिएका प्रत्येक रुख र बुट्यानहरुका लागि यस्तो व्यवस्थापन कति खर्चिलो र झन्झटिलो होला त ? यस्तो सिँचाइ प्रविधिबाट व्यवस्थित गरिएको भए पनि सम्पूर्ण शहरमा हरियालीको वातावरण व्याप्त रहेको देख्न पाइयो ।
यस्तो प्रणालीबाट रुख जोगाउनु पर्ने अवस्था देख्दा त नेपाल स्वर्णभूमि झैँ लाग्यो । जे रोपे पनि हुर्कने, फुल्ने अनि फल्ने हाम्रो जस्तो देशका शहरहरुमा फितलो व्यवस्थापनका कारण एउटा रुख हुर्काउन निकै सकस पर्छ । हाम्रो देशमा न त पानीको कमी छ न माटोको अभाव । नेपालीहरुमा अनुभव र ज्ञानको अभाव त पटक्कै छैन, कमी छ त केवल सकारात्मक सोच र इच्छा शक्ति । यस्तै कुरा सोच्दा सोच्दै निकै हिँडिएछ । घडीले सात बजाइसकेछ । पुगेकै ठाउँबाट फनक्क फर्किएँ, होटल पुग्नलाई त अब कम्तीमा चालिस मिनेट त हिँड्नैपर्ने भयो ।
होटलको शयन कक्षमा आएर आजको रुटिनमा सरसरती आँखा डुलाएँ । आज आधा दिनसम्म कुनै कार्यक्रम राखिएको रहेनछ । दिउँसो २:३० मा चाहिँ मरुभूमिको भ्रमण र त्यतै रात्री भोजनको व्यवस्था गरिएको रहेछ । आजको आधा दिनसम्म भने हामी आफ्नै किसिमले घुम्न सकिने देखियो । भ्रमण टोलीका सबैलाई आजको रुटिनबारे जानकारी गराए पछि हामी ब्रेकफास्टतर्फ लाग्यौँ । फलफूल, जुस, ब्रेड, परोठा, तरकारी, अण्डाको भुजुरी लगायतका परिकार इच्छाअनुसार खाए पछि हामी साढे नौ बजेतिर बजारतर्फ हिड्यौँ । सडक किनारका ती ठुला फुटपाथहरुमा मानिसहरुको उपस्थिति बाक्लिएको थियो ।
विभिन्न सपिङ मलहरुमा सामानहरु नियाल्दै, इच्छाअनुसार खरिद गर्दै भ्रमण टोलीका हामी आठै जना सदस्यहरुलाई साढे ३ घण्टा बितेको पत्तै भएन । लगभग एक बजेतिर हामी होटल नजिकको सानो चमेनागृहमा चिया र हल्का खाजा खाने योजना बनायौँ । यस क्रममा एक रमाइलो प्रसङ्ग यहाँ उल्लेख गर्न मन लाग्यो, हामी दुबईको समोसा खाने कि भनेर सल्लाह गर्दै थियौँ मेरी पत्नी रश्मिले चमेनागृहको कर्मचारीलाई “वन ठो सिंगडा देना भाइ” भन्दै अंग्रेजी, हिन्दी र नेपाली भाषाहरु मिसाएर समोसा माग्दा चमेनागृहका ती कर्मचारी अलमल्ल परी हामीलाई हेर्नथाले, हामीले भने हाँसो रोक्न सकेनौँ । त्यसपछि त्यही प्रसङ्गलाई लिएर सम्पूर्ण भ्रमणभरि नै हाँसोको माहौल बनिरह्यो ।
केहीबेर थकाइ मारेपछि योजनाअनुसार नै हामी साढे दुई बजे तयार भएर होटलको प्रतीक्षा कक्षमा आएर बस्यौँ । रायना टुर्स लेखिएका दुई वटा ल्याण्डक्रुजर होटल अगाडि आएर मेरो नाम लिँदै बोलाउन थाले । हामी चार जनाका दरले ती गाडीहरुमा बसेर मरुभूमितर्फ लागियो । मुख्य चोकहरुमा रहेका ट्राफिक लाइटमा रोकिनु परे पनि चिल्लो सडक, सफा गाडीहरु र अनुशासित चालकहरुका कारण कतै पनि गाडीहरुको जाम देखिएन । आ–आफ्ना लेनमा निर्बाध दौडिरहेका गाडीहरुका बिच हामी पनि कहिले अण्डरपास त कहिले ओभरहेड सडक र इरानको सीमानासम्म तन्किएको दश लेनको त्यो चिल्लो हाइवेको थोरै भाग छिचोल्दै हामी गन्तव्यतिर मोडियौँ ।
मरुभूमि छिर्नुअघि गाडीको टायरबाट हावा झिक्नुपर्ने रहेछ । चालकले चारैवटा टायरबाट केही मात्रामा हावा झिकेपछि हामी मरुभूमिमा प्रवेश गर्यौं । अनन्तसम्म फैलिएको हल्का खैरो रङको बालुवामा ठाउँ ठाउँमा झुप्प देखिने क्याक्टसका बोटहरुले मरुभूमिको शोभा बढाइरहेको देखिन्थ्यो । बालुवाका ढिस्काहरुमा चढ्दै ओर्लंदै र फोटो लिँदै हामीले दुई घण्टा मरुभूमि भ्रमणको आनन्द लियौँ । त्यसपश्चात मरुभूमिको जहाज मानिने ऊँट सवारीको पनि अनुभव बटुलियो ।
साँच्चै, पर्यटक भएर गएपछि त मरुभूमिले पनि आनन्दित गराउँदो रहेछ । तर त्यहीँ बसेर ऊँट चराउने हाम्रा कतिपय नेपाली दाजुभाइलाई त्यही मरुभूमिले निलेको सम्झँदा भने यो मन विह्वल हुँदो रहेछ । यस्तो मरुभूमिमा विश्वका पर्यटकहरु घुमाएर व्यवसाय गर्दै आम्दानीको श्रोत बनाएको देख्दा हाम्रा सुन्दर हरिया डाँडा र सेता हिमालमा पर्यटकहरुका निम्ति आकर्षण बढाउन नसकेकोमा आफैँलाई हीनताबोध भइरह्यो ।
सुर्यास्तको लालिमाले वातावरण सुनौलो भइसकेको थियो । हाम्रा लागि मरुभूमिकाे त्याे पहिलाे सुर्यास्तको दृश्यलाई क्यामरामा पनि समेट्न भ्यायौँ । मरुभूमिका बीचमा बनाइएको रिसोर्टमा रात्री भोज सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु अवलोकन गर्नका लागि हाम्रो टेबल बुकिङ गरिएको रहेछ । झण्डै पाँच सय पर्यटकहरुको त्यहाँ उपस्थिति देखिन्थे । बार्बिक्यूलगायत विभिन्न परिकारहरुको स्वाद लिँदै विभिन्न सांस्कृतिक नृत्यहरुको प्रदर्शनमा सहभागी भयौँ हामी पनि । आगोसँग खेल्दै देखाइएको नृत्य अर्थात फायर डान्स, कम्मर मर्काउँदै नाचेका सुन्दरीहरुको अरबी नृत्य – बेली डान्स लगायतका कार्यक्रमहरु अवलोकन गर्दै यो रात्रीभोज हामी सबैका लागि अविस्मरणीय रह्यो ।
रिसोर्टमा भोजन गर्दैगर्दा मरुभूमि शब्दबारे जिज्ञासा उत्पन्न भयो । त्यसको समाधान भने नेपाल फर्केपछि बुवा – डा. तुलसी भट्टराईले संस्कृत शब्दको उच्चारण गर्दै गरिदिनुभयो । “म्रियन्ते अस्मिन भूतानि” अर्थात् जुन भूमिमा प्राणीहरु जीवित रहन सक्तैनन् त्यस्तो भूमिलाई मरुभूमि भनिँदो रहेछ । तर यस्तै मरुभूमिमा देखिएको भौतिक संरचना र कृतिमताले विश्वलाई नै चकित बनाएको पाइन्छ । प्रकृतिलाई नै चुनौति दिँदै आश्चर्यजनक संरचनाहरु मात्र हैन कृत्रिम टापुसमेत निर्माण गरेर सबैलाई चकित बनाएकाे छ ।
बेलुका नौ बजिसकेछ । हाम्रा सवारी चालकहरुले अब फर्कनुपर्ने सूचना दिएपछि हामी पुनः गाडीमा सवार भयौँ । दुबई शहरको झिलिमिली नियाल्दै हामी बेलुका दस बजेतिर होटल आइपुग्यौँ । होटल वरपर बजारको चहलपहल जवानीमा थियो । हामी पनि केही बेर त्यो चहलपहलमा अलमलियौँ । शयन कक्षमा प्रवेश गर्दा एघार बजिसकेको रहेछ । आजको घुमाइको समीक्षा गर्दै हामी सुत्ने उपक्रममा लाग्यौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।