व्यस्त समयसित अलिकति फुर्सद सापटी माग्नुपर्छ र खुसी हुनुपर्छ । आम ह्वाइट कलर्ड श्रमजीवीहरूको जिन्दगी यस्तै हुन्छ । बल्ल हप्तामा एकपटक आउने छुट्टी अनेक तिरका धोती टालेर गुजार्नुपर्छ । निरन्तर निसास्सिइरहन्छ जीवन व्यस्त समयको कालकोठरीभित्र । त्यही व्यस्त समयको कालकोठरीबाट जब मिल्छ कहिलेकाहीँ यस्सो बाहिरको उज्यालो पस्ने छिद्र, त्यही उज्यालोलाई हेर्नुपर्छ र आशावादी बन्नुपर्छ हामी । त्यही उज्यालो पछ्याउँदै छिद्र पत्ता लगाउनुपर्छ र त्यहाँबाट नियाल्नुपर्छ बाहिरको दुनियाँ, जसबाट एउटा विशाल दुनियाँ देखिन्छ, उज्यालो देखिन्छ र खुसी देखिन्छ । जहाँ फक्रिएका हुन्छन् फूलहरू, उडिरहेका हुन्छन् चराहरू र रमाइरहेको हुन्छ मौसम आफ्नै तालसित । जहाँ देख्न सकिन्छ विचित्रको बदलाव । उज्यालो पस्ने छिद्र पछ्याउन नसक्नेहरूको जीवन बितिजाने रहेछ, अँध्यारोलाई सरापेर, अथवा उज्यालोलाई सम्झेर ।

‘सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ’ भन्ने महावाक्य बारम्बार सम्झिरहन्छु म अचेल । आफूलाई चाहिएको बेलामा नपाइने फुर्सदको पनि खास अर्थ हुँदैन । यही व्यस्त समयको अँध्यारो कालकोठरीभित्र एउटा छिद्रबाट अचानक सानो उज्यालो पस्यो र भन्यो, ‘यहाँबाट हेरिस् भने नुवाकोट देख्न सक्छस् ।’

नुवाकोटको साथीसँग १४ वर्ष एउटै कोठामा बसेर पनि नुवाकोट टेक्न नसकेको बबुरो थिएँ म । काठमाडौँसितै जोडिएको जिल्ला भएर पनि टेक्ने मौका पटक्क जुरेको थिएन । यसपटक भने स्रष्टा पदयात्राका पदयात्रीहरूको समूहसँग बसमा यात्रा गर्ने मौका मिल्यो । हरेक महिना प्रथम शनिबारको अवसर पारेर पदयात्रामा निस्किने स्रष्टाहरूको समूहले आज चाहिँ पदयात्रा नभएर गाडीको यात्रा गर्ने निधो गरेको रहेछ । विश्वस्त सूत्रबाट यो जानकारी प्राप्त भएपछि मैले साहित्यकार ‘खोलाघरे साहिँलो’ज्यूसित सम्पर्क गरेँ । अस्रष्टा भए पनि स्रष्टाहरूको समूहमा हिँड्न पाइन्छ कि ? भन्ने प्रस्तावलाई उहाँले आत्मीयतापूर्वक स्विकार्नुभयो । २५ गतेभित्र नाम टिपाइसक्नुपर्ने प्रचलन भए पनि मेरा लागि भिटो लाग्ने भयो र जानेहरूको सूचीको अन्तिममा जोडियो एउटा नाम ‘नगाधिराज ।’

२०७९ चैत्र ४ गते अथवा आज बिहान हामी दुई छिमेकी (खोलाघरे साहिँलो र म) काँडाघारीबाट मूलपानी पिपलबोटसम्म पुग्यौँ । हाम्रो पदयात्रा घरबाट सुरु भयो । २० मिनेटको हिँडाइपछि हामी पीपलबोटमा पुग्यौँ र हामीलाई नुवाकोटसम्म लिएर जाने साधन पर्खिएर बस्यौँ । साधन लिएर आउँदै हुनुहुन्थ्यो, स्रष्टा पदयात्राको समूहका अग्रज व्यक्तित्व शीतल गिरि, हामीसितै गाडी चढ्ने तरखरमा हुनुहुन्थ्यो डिल्लीराम अर्याल पनि । अग्रज स्रष्टाहरूसित घुलमिल भइजान नसक्ने मेरो अल्लि सङ्कोची स्वभाव छ । चूपचाप गाडीमा चढेँ । गाडी जोरपाटी हुँदै निस्किने तरखरमा लाग्यो । अलिअलि मान्छे उतैबाट बोकेर आएको थियो, जोरपाटीमा आयो र परशुराम पराशरलगायत मैले नचिनेका अरू केही चार–पाँच मान्छेहरूलाई निलेर अघि बढ्यो । चिनजानका मान्छेहरू कम थिए । म भने अपरिचित हुनुको आनन्द पनि लिन मन पराउँछु । ‘हजुर ! परिचय गरौँ न’ भन्ने बानी पारिसकेको छैन । भन्नेहरूले मलाई कस्तो भाउ खोजको ? भन्न पनि सक्लान् । भन्नेले जे भनून्, आखिर म मेरै प्रकृतिसित रमाउने हो, आफ्नै तालमा खुसी हुने हो ।

मनमा सोचहरू दौडिरहेछन्, गाडीसँगै छेउछाउका दृश्य पनि पछिल्तिर कुदिरहेछन् । गोपीकृष्ण हलको अघिल्तिर पुगेर गाडीले घ्याच्च ब्रेक लगायो र केही मान्छेलाई कुर्याे । दश मिनेटको पर्खाइपछि केही मान्छे चढे । हँसीमजाकका शृङ्खलाहरू पनि चलिरहेका थिए । पर्खिनुपरेपछि एकैछिनको रिस पनि चलिरहेकै थियो । आखिर जिन्दगीको परिकारका नुनखुर्सानी नै यस्तै रहेछन् । साथीहरू नभए पनि नहुने, भए पनि अलिअलि रिसाउनैपर्ने, खुसाउनैपर्ने । ड्राइभरलाई के सनक चढ्यो कुन्नि बजाउँदै थिए, ‘निरा जैले रिसाउने निरा…’ । जहिल्यै पो रिसाउनु भएन, कहिलेकाहीँ त रिसाउन मिलिगयो नि !

यहीँ आएर थाहा पाएँ हामीसित मूलपानीदेखि चढेर आउनुभएका महानुभावहरूमध्ये एकजना प्रज्ञाप्रतिष्ठानका नवनियुक्त सदस्यसचिव डा. धनप्रसाद सुवेदी हुनुहुँदो रहेछ, छेउमा डा. यादेवी हुनुहुँदो रहेछ । उहाँको थर सुवेदी नै थियो कि के ? मलाई थाहा भएन । खैर जेसुकै होस्, अनुहार याद छ । बाँकी अरू पनि यतिबेला आइपुग्नुभयो । यो यात्रामा जाऊँ भनेर मलाई प्रस्ताव गर्नुहुने गीता माता (गीता निरौला भण्डारी) पनि आइपुग्नुभयो । अहिलेसम्म मेरो सिटछेउमा बस्ने कोही थिएन । अब गीता माता बस्नुभयो, अब म एक्लो नहुने भएँ । उहाँसितै आउनुभएकी मन्दिरा मधुश्री पछिल्तिर बस्नुभयो । अब मलाई लामै समयदेखि चिन्ने व्यक्ति मेरो छेउमा हुनुहुन्थ्यो । हुन त उहाँ पनि मजस्तै लगभग अपरिचित हुनुहुन्थ्यो सायद ।

गाडी हुँइकियो र सामाखुसी गएर टोखा जाने बाटामा एकैछिन पर्खियो । केही व्यक्तिलाई त्यहाँ पनि निल्यो र आफ्नो बाटो लाग्यो । पर्खिएको कुरो पनि कति लेखिरहनु र ? सामूहिक यात्रामा यति अलिअलि त पर्खिनु स्वाभाविक नै थियो । अपरिचित साथीहरूको सङ्ख्या धेरै थियो । नयाँ चढेका साथीहरूमध्ये म असीम सागरको अनुहार मात्र राम्ररी चिन्न सक्थेँ । बाँकी सबैलाई बिस्तारै चिनिँदै जाला के फरक पर्छ र ? भन्ने ध्येयले म चूप थिएँ आफ्नै सुरमा ।

ऐतिहासिक नगरी टोखा हुँदै गाडी नुवाकोटतर्फ हुइँकियो । कति बेला पुगिएला र नुवाकोट हेर्न पाइएला ? भन्ने उत्सुकता थियो मनमा । आँखाहरू कङ्क्रिटको जङ्गल छोडेर खुला वनपाखा हेर्न चाहन्थे । कान गाडीका हर्नको वाक्कलाग्दो आवाज छोडेर नदीको सुसाइ र चराको चिरबिर सुन्न चाहन्थ्यो । मन अनावश्यक दैनिक किचलो छोडेर केही छिन शान्तिमा रम्न चाहन्थ्यो । समूहको यात्रामा यस किसिमको शान्ति त कहाँ हुन्थ्यो र ? तैपनि हल्लै सही, अलि फरक स्वादको हुन जाँदा रमाइलो हुन्थ्यो, अलि फरक आवाजमा सुनिँदा सुनिरहेकै कुरा पनि नयाँ लाग्थ्यो । कसौँडीमा पकाएको र कुकरमा पकाएको भातको स्वाद फरक भएझैँ । आगामा सेकाएको र ग्याँसमा सेकाएको रोटीको स्वाद फरक भएझैँ । आखिर फरक स्वाद न हो, अनुभूति गरिरहेकै थियो हृदयले । हल्लै भए पनि रमाइरहेकै थियो ।

गाडी उकालो लाग्दै गएपछि सबैका हृदयहरू खुले । सायद प्रायःको दैनिकी मेरैजस्तो थियो । मेरैजस्तो जागिरे दैनिकी नभए पनि आफैँले बुनेका तानाबानामा जेलिएकै थिए मान्छेहरू । कहाँ फुर्सद थियो र रमाउन पनि ? अब हृदय खुल्न थालेपछि बसको अघिपछि गफहरू गुन्जिन थाले । म गाडीको बिच्चतिर बसेको थिएँ । अघिल्तिर अलि वयोवृद्ध बुज्रुगहरूको समूह थियो । अनुभव र अनुभूतिका कुरा भइरहेका थिए । देशको समसामयिक स्थितिका कुरा भइरहेका थिए । स्रष्टा पदयात्रामा छुटेका मानिसहरूका र पहिले सामेल हुने गरेका मानिसहरूका आलोचना समालोचना भइरहेका थिए । पछिल्तिर अल्लि ठिटाहरूको समूह थियो । ठिटाहरूको आफ्नै जोस थियो ।

यद्यपि एफ् एम् रेडियोको फ्रिक्वेन्सी जुधेकाजस्ता सबैतिरका कुराकानी अस्पष्ट सुनिन्थ्यो गाडीमा । यौटा ह्यान्डमाइक भए क्या गजब हुन्थ्यो भन्दै हुनुहुन्थ्यो माता पनि । मेरो कानले भने पछिल्तिरकै फ्रिक्वेन्सी ट्युनिङ गर्न खोजिरहेको थियो । साथीहरू कहिलेकाहीँ जोक भन्थे र गलल्ल हाँस्थे । प्रायः जोकहरू सुनेकै थिए । म अघिल्तिर फर्केको थिएँ, हाँस्न त हाँसिरहेँ म पनि तर मेरो हाँसो जोक भन्ने दाजुले सायद देख्नुभएन । जोक भन्नु पनि बडो गजबको कला हो । हँसाउने मान्छे आफू पनि खुलेर हाँस्न सकेन भने जोकको मजा हुँदैन । मैले पछि थाहा पाएँ, उहाँको नाम ‘गङ्गा’ रहेछ । थर जेसुकै होस् । कुराकानीका प्रसङ्ग र लवजबाट उहाँ झापाली हो भन्ने थाहा पाउन मलाई समय लागेन । जोक मात्र होइन बिच्च बिच्चमा देशको साहित्य, समसामयिक राजनीति, समाज, धर्म, दर्शन, महाभारत, रामायणदेखि साथीहरूप्रतिको छेडखानीका प्रसङ्ग पनि आइरहेका थिए । म चाहिँ अपरिचित भएर छेडखानीको विषयवस्तु बन्नु परेको थिएन, विशुद्ध श्रोता (अडियन्स) हुनुको आनन्दमा मग्न थिएँ ।

अब गाडीबाट छेउछाउमा घर देखिन छोडे र जङ्गलको हरियाली देखिन थाल्यो । शिवपुरी राष्ट्रिय निकुञ्जको मनोरम छटा हेर्न पाइएको थियो झ्यालबाट । पहाडको उकालो बाटो, मलाई मेरै दोलखाको सम्झना भयो । छेउछाउका चिलाउनेका बुट्टाहरूले नयाँ पालुवा फेरेका थिए । कतै कतै राता पातहरू देखिन्थे । टाढा जङ्गलतिर हेर्दा पनि रातो र हरियो मिश्रित देखिन्थ्यो जङ्गल । मैले सम्झेँ, ‘चिलाउनेको रातो पात मिर्मिरे मसला… कम्पनी दिउँला थाप हात नभन कसैलाई’ । यो गीतको अर्थ राम्ररी बुझेको छैन । तर म सानो हुँदा दाजुहरूले गाउने गरेको भने सम्झना छ । यतिबेला रमितेको डाँडाबाट हेरेको जम्दारको खोरियाको चित्र कोरियो मनको क्यानभासमा । हृदय फेरि एकपटक बाल्यकालमा पुग्यो र जम्दारको खोरियाको चौरमा जम्मा भएर ‘राजा हुतुतु’ खेल्न लाग्यो । चिलाउनेका सुरिला रूखमा चढ्यो र सोइसोइली खेल्न थाल्यो । पुवाँलेको रूखमा चढ्यो र सुसेली हाल्न थाल्यो । पिपल डाँडामा पुग्यो र गहुँ लहराइरहेको हिलेपानी बेँसी हेर्न थाल्यो । अन्तिममा फेरि वर्तमान सम्झियो र सुस्केरा हाल्यो, ‘खुइय्य…’ ।

‘नोस्टाल्जिक’ मनले फेरि ‘प्रेजेन्ट’ मोड अन गर्दा हामी थाना भन्ज्याङमा थियौँ । गाडीले एकैछिन आफूलाई विश्राम दिएपछि सबै ओर्लियौँ । बिहानीको न्यानो घाम । हिजोमात्र पानी परेर धुलो मरेको र माटोका बास्ना आइरहेको सडक, अलिअलि होटलहरू र सफा प्रकृति । मन एकैछिन रमायो । सामूहिक तस्वीर खिचियो । बिहान के क्के न बाठो भएर भित्र एउटा टिसर्ट र पातलो ज्याकेटमात्र लगाएकोमा आफूलाई गाली गरेँ, तर सिरेटो नै भए पनि अर्गानिक थियो र मिठो थियो । एकैछिन खुट्टा तन्काइयो, फोटो खिचियो र फेरि गन्तव्यतर्फ ओरालो लागियो ।

झ्यालबाट देखिने डाँडाकाँडाका दृश्य रमाइला लाग्थे । तर मन न हो फेरि पुरानो जमाना सम्झिजान्थ्यो । दलिनचौरको पाखाबाट पारि हेर्दा देखिने घरहरूको सुन्दर दृश्य अहिले थिएन । कमेरो पोतेका र झ्यालढोका काला भएका, ढुङ्गाले छाएका पुरानै घरहरू खोज्थ्यो आँखाले । तर आधुनिक कर्कटपाताको चिऱ्याइँदो टल्काइले चिसो हुन्थ्यो दिमाग । कङ्क्रिट ठडिएका घरहरूको कृत्रिम समृद्धिले मन पनि कठोर बन्थ्यो । समृद्धिको नाममा प्रकृतिमाथि भइरहेको अत्याचारले चिमोटिरहन्थ्यो मन कहिलेकाहीँ । सरकारले दिएको बजेटलाई कागज मिलाएर आफ्नो गोजीमा पार्ने निहुँमा डोजर लगाएर कोपरिएको पहाडको शरीर बलात्कृत निरीह बालिकाको शरीरझैँ टीठलाग्दो लाग्थ्यो । प्रकृतिको अनुपम सौन्दर्यमाथि मानवीय कुरूपताको कति नराम्रो छाप परेको थियो, म त्यो कल्पना गरे दुःखित हुन्थेँ बेलाबेला । दुःखित हुँदाहुँदै हामी यतिबेला थानापति आइपुगेका थियौँ । बाटामा निर्माणकार्य चलिरहेको थियो । गाडीभरिका मान्छेहरूको आफ्नो ताल चलिरहेकै थियो । मेरो मन विगत र वर्तमानमा वारिपारि गर्न पटक्कै छोडेको थिएन ।

बिच्चमा गङ्गा आचार्यले ल्याउनुभएको उसिनेको तातो आलु खायौँ र एकादशीलाई सार्थक पाऱ्यौँ । उसो त यसअघि पनि सदस्यसचिवको लड्डुदेखि अष्ट्रेलियाको कोसेलीसम्म खाइसकेका थियौँ । तिरूपतिको प्रसादले आँत शीतल बनाइरहेका थियौँ । यसो गर्दागर्दै नुवाकोटको फाँट आइपुग्यो । लिखु खोला देखिन थाल्यो । खोलावरपर चैते रोपाइँ हुन लागेको दृश्यले प्रफुल्ल हुन्थ्यो मन । किसानहरू माटोमा भिजेको देख्दा प्रसन्न हुन्थेँ म । ‘सानो छ खेत…’ भन्ने गीत सम्झिरह्यो मनले पनि ।

किसानहरूको पीडा आफ्नै होला, तर धर्तीको सुख्खा माटोले ओस पाएको र अन्नको बालीले हरियो हुन पाएको देखेर मन भने बडो रमाइलो मानिरहन्थ्यो । थानसिङको छेउछाउ आइपुगेका थियौँ हामी । मैले यतिबेला विपिन पाठक भाइ र दिनेश पाण्डे गुरुलाई सम्झिरहेँ । उहाँहरूको गाउँ हो क्यारे यो । फोन गर्ने भने मेरो त्यतिबेला होस पनि भएन, सायद म भर्खरै हरिया हुन थालेका धानका गराहरूमा आँखा डुलाइरहेको थिएँ । अलि पर छेउमा बगिरहेको थियो लिखु खोला । तर यो लिखु खोला सप्तकोशीको फिडर नदी थिएन, सायद सप्त गण्डकीको फिडर खोला थियो । त्रिशूलीलाई सप्तगण्डकी पनि भनिन्छ भन्ने सम्झना भयो झट्ट । सायद यो पनि एउटा गण्डकी होला भनेँ र ‘नमामि गङ्गे…’ भनेँ मनमनै ।

मैमात्र यो सब सोचिरहेको थिइनँ, गीता माता पनि भन्दै हुनुहुन्थ्यो, ‘तिम्रो गाउँ पनि त यति राम्रो होला नि !’ मेरो गाउँ पनि सुन्दर थियो । तर खेती हुन छोडेको बाँझो खेत, मान्छेको भन्दा बढी बाँदरको बस्ती हुनेको जङ्गलप्रायः बनिसकेको गाउँ सम्झेर फेरि भावुक भएँ र अमिलो मन बनाएर भनेँ, ‘अँ, सुन्दर छ । तर अहिले मान्छे नै नभएको निर्जनप्रायः बनेको छ ।’ यसो भनिरहँदा पटक्क खुसी थिएन मनमा । तर पनि यथार्थ यही थियो । थानसिङबाट ढिकुरे हुँदै विदुरतिर लम्किरहेको थियो गाडी ।

बिच्चबिच्चका ठाउँहरू मलाई याद भएनन् । रामशरण महतको गाउँ भनेर चिनाउँदै हुनुहुन्थ्यो गङ्गा आचार्यले अरूलाई । दुप्चेश्वर जाने बाटोका पनि कुराहरू भइरहका थिए । कागती गाउँको पनि चर्चा आउँथ्यो बेला बेलामा नुवाकोटसित परिचित साथीहरूबाट । म भने सहज रूपमा प्राप्त जानकारी मात्र लिइरहेको थिएँ । थप जानकारीका लागि कुनै प्रयत्न गरिरहेको थिइनँ ।

गाडी बिस्तारै अघि बढ्यो र बट्टार बजार पुग्यो । त्यहाँबाट विदुर हुँदै उत्तरगयातिर पुग्यो । नुवाकोटकी जुझारु साहित्यिक व्यक्ति सुमित्रा सुमी हामीलाई नै पर्खेर बसिरहनुभएको थियो । भोजन एवं आतिथ्य उहाँको संयोजकत्वमा हुने कुरा थियो आज । उहाँसितको सहजीकरण गरिरहनुभएको थियो शम्भुप्रसाद गजुरेलले । तल आएर कतै त्रिशूली नदीमा मिसिइसकेको रहेछ लिखु । अब त्रिशूली देखिन्थ्यो छेउमा । मैले त्रिशूलीलाई नमस्कार गरेँ । देवघाटमा सयौँ पटक स्नान गरेको खोलाको मुहानतिर थिएँ म । यतिबेला म मेरा साथी कोमललाई सम्झिरहेको थिएँ । उनको घर पनि यतै कतै पर्दो हो भन्ने सोचिरहेको थिएँ ।

उत्तरगयामा पुगेपछि गाडीले हामी सबैलाई ओकल्यो फेरि । उत्तरगया गाउँपालिका रसुवामा पर्दो रहेछ । नुवाकोट घुम्नका लागि आएको मैले रसुवालाई पनि टेक्न पाएको रहेछु । केही समयको फोटो सेसनपछि हामी उत्तरगया तीर्थतिर लाग्यौँ । गया जान भनेर नेपालबाट लाखौँ मान्छे भारत जान्छन् । तीर्थ भनेर भारत मात्र धाउने परम्परा विचित्रको छ हाम्रो । तर नेपालकै पवित्र तीर्थहरूको भने प्रचार समुचित हुन सकेको देखिँदैन । न त तीर्थक्षेत्रमा यात्रुहरूलाई विशेष किसिमको प्रबन्ध नै भएको देखिन्छ । मन अमिलो पार्नबाहेक के पो गर्न सकिन्थ्यो र हामीले ? बस्, केहीछिन देशलाई सम्झेर चित्त दुखाउनु थियो र आफ्नै तालमा रमाउनु थियो । उत्तरगया लेखिएको मन्दिरमा फोटो खिच्यौँ र त्रिशूलीमा पुग्यौँ, जहाँ त्रिशूली उत्तरवाहिनी बनेर बगेकी थिइन् ।

त्रिशूली गङ्गालाई नमस्कार गरेर गङ्गाको कञ्चन पानी शिरमा सेचन गऱ्यौँ र मुख धोयौँ । त्रिशूलीमा डुबुल्की मार्ने धोकोलाई यथावत् मनमा मात्र राखियो र केही छिन फोटोको तरखरमा लागियो । फोटोकै तरखरमा मन्दिरा मधुश्रीले आफ्नो फोनलाई त्रिशूलीमा स्नान गराउनुभएछ । सबैभन्दा बढी फोटो खिच्न मन पराउने मान्छेले आफ्नै मोबाइल डुबाएपछि चिन्ता हुने नै भयो । आफूसित भने फोटो खिच्न नसक्ने एउटा क्यामेरा थियो, अरूकोमा जति अनुहार देखाउन सकियो त्यतिमै चित्त बुझाइयो । उत्तरगयाको यही तीर्थमा भोजनको पनि व्यवस्था रहेछ । नुवाकोटको आतिथ्यको न्यानो पाएर खुसी भयौँ हामी । भोकाएको पेटले चारो पायो । तीर्थस्थलको आतिथ्य अमृततुल्य मिठो थियो । उस्तै मिठो थियो साथीहरूको साथ पनि ।

योगी नरहरिनाथले ४६ /४७ सालतिर कोटिहोम गरेपछि यो ठाउँ पुण्य तीर्थ रहेछ भन्ने थाहा भएछ स्थानीयहरूलाई । १०८ कन्या, १०८ पण्डित र १०८ लामा राखेर यहाँ कोटिहोम लगाइएको रहेछ । यस्तो पवित्र भूमिमा टेक्न पाएकोमा आफूलाई धन्य सम्झिएँ मैले । गीता माताले पनि कति दिव्य तीर्थमा आइयो भनेर शीतलको अनुभूति गर्नुभयो ।

त्यहाँबाट हिँडेको केही समयमा हामी प्रहरी चौकीनजिक आयौँ । वेत्रावती बजारको प्रहरी चौकीको सभाकक्षमा जम्मा भयो हाम्रो टोली । छेउछाउमा प्रहरी जम्मा भएपछि अलि डराइहाल्ने स्वभाव छ हाम्रो । कतै हामीलाई केरकार पो गर्न लागेका होइनन् ? भन्ने सोचिरहेँ मैले । तर भित्र गएर ब्यानर हेरेपछि थाहा भयो, यो कार्यक्रम त समुदाय प्रहरी साझेदारीमा गर्न लागिएको ‘प्रहरीसँग रचनावाचन’ कार्यक्रम पो रहेछ । देशको सुरक्षार्थ अहोरात्र खटिने प्रहरी साथीहरूले साहित्यलाई यतिविघ्न माया गरेको देखेपछि मेरो हृदय गद्गद् भयो । वेत्रावती प्रहरी चौकीका सइ कवीन्द्र घिमिरेको मुक्तकसहितको उद्घोषणले भावुक भएँ म । स्थानीय सरकारको समेत उपस्थिति रहेको साहित्यिक जमघटको पो मेलोमेसो रहेछ । भित्र गइरहँदा नेत्र एटम सरसित अचानक आँखा जुधे मेरा । मैले नमस्कार गरेँ । उहाँले भन्नुभयो, तपाईंले पनि कसरी फुर्सद निकाल्नुभयो आज ? मलाई म व्यस्त मान्छे रहेछु भन्ने थाहा भएर खुसी पनि लाग्यो, अथवा मलाई सरले चिन्नुहुँदो रहेनछ जस्तो पनि ।

सुमित्रा सुमी र स.इ. कवीन्द्र घिमिरेलगायतको आयोजनामा दिव्य कार्यक्रममा सहभागी भयौँ हामी । स इ सापको ऊर्जाभरित उद्बोधन, बिच्च बिच्चमा मुक्तकको चुस्की र अन्य गतिविधिले रमाइलो गरायो हामीलाई । नुवाकोट र रसुवाक्षेत्रका स्रष्टाहरूलाई सुन्ने मौका मिल्यो । यही मौकामा मैले पनि एउटा कविता सुनाइहालेँ– ‘ए काल ! लैजा अहिल्यै मलाई ।’ साथमा साथीहरूका अरू कविता पनि सुन्यौँ । बिच्चैमा गीता माता र म बाहिर निस्किएर सुटुक्क फलाहार गऱ्यौँ । सुटुक्क त के हुन्थ्यो र ? बाहिर आएर फलाहार गर्दै थियौँ, दुई जना हामीसितैका सहयात्रीहरू त्यहीँ आइपुग्नुभयो । खैर, उहाँहरूले देखेर पनि के फरक पर्थ्यो र ? माताको ममता मिसिएको ओट्स, दूध र तातोपानी अनि अनेक ड्राइफ्रूट्सको स्वाद ऊर्जाप्रद थियो । साथमा चियापसलकी बैनीले खुवाएको चियाको स्वाद पनि आनन्ददायक । स्वाद लिएर हामी फेरि कार्यक्रमस्थलमा पुग्यौँ ।

नेत्र एटम सरले भन्नुभयो, बडो दिव्य कविता सुनाउनुभयो । खुसी न हो, लाग्न पाइहाल्यो । आफ्नो प्रशंसा कसलाई पो मन पर्दैन र ? कार्यक्रम लगभग सकिने तरखरमा थियो हामी पुग्दा । सकेर अब हामी नुवाकोट दरबार जाने योजना बुन्न लाग्यौँ । आएर गाडी चढ्दा एटम सर र म सँगै पऱ्यौँ । उहाँले पनि मलाई चिन्नुहुँदो रहेछ, खुसी लाग्यो । अब हामी दरबारको उकालोमा थियौँ । साथीहरूले कहिले छोहरा निकालेर खुवाइरहेका थिए, कहिले बदाम निकालेर खुवाइरहेका थिए । घरबाट एकसरो कपडा लगाएर रित्तो निस्केको ममात्र थिएँ । तर पनि साथीहरूको सद्भावको रसानुभूति गरिरहेकै थिएँ । स्रष्टा पदयात्रा यसै रमाइलो भएको कहाँ रहेछ र ? अनि आफू आलोकाँचो हुनु पनि बडो गजबको मजा हुँदो रहेछ ।

जङ्गलको बाटो हुँदै गाडी विदुर बजारसम्म आइपुग्यो र दरबार ताकेर उकालो लाग्यो । भर्खर पालुवा फेरेको जङ्गल हुँदै हामी उकालो चढ्यौँ र नुवाकोट दरबार पुग्यौँ । पुरानो नुवाकोट बजार निरीह बनेर उभिएको थियो । समृद्ध इतिहास बोकेका ठाउँहरू किन यति निरीहजस्ता देख्छु म ? हुन त उपत्यकाभित्रैका ऐतिहासिक धरोहरहरू भुस्याहा कुकुरका आश्रयमात्र बन्न सकेका छन् । अर्बौंको सांस्कृतिक धरोहर सडकमा दुई कौडीमा मिल्किएको फोहोरजस्तो उभिएको छ ठाउँठाउँमा । दरबारछेउको बजारका केही घरहरू सुन्दर थिए तर त्यहाँ जति हुनुपर्थ्यो, त्यति समृद्धि नदेखिएको आभास भयो ।

जीर्णोद्धार हुन आँटेको साततले दरबारको पुनर्निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको रहेछ । ठुला चिनियाँ अक्षरमा अनेकथोक नबुझिने लेखिएको ब्यानर टाँसिएको थियो गेटैमा । त्यसको तलपट्टि अङ्ग्रेजी अक्षरमा के के लेखेको थियो । नेपाली अक्षरहरू भने नदेखिनेगरी लजाएझैँ मुनि बसेका थिए । यसबाट थाहा हुन्थ्यो, हाम्रो भाषाप्रति हामीले राख्ने सोच, हाम्रो सरकारी संयन्त्रले राख्ने सोच र हामीले गरेको सम्मान । स्वदेशी भाषा बोल्न नसक्नुमा गौरव गर्ने र विदेशी भाषा सिक्नुलाई समृद्धि ठान्ने बबुरा गरिबहरू हौँ हामी । यो सम्झेर मन अमिलो भयो एकैछिन । यी सबै मेरा मनैमनका तर्कना थिए । दरबारभित्र प्रवेश गऱ्यौँ । सृजना र मन्दिराजी टिकटक बनाउनेतिर लाग्नुभयो । पुरानो दरबारको पुनर्निर्माण कार्य चलिरहेको हुनाले केवल पाइपहरू ठड्याइएको थियो । त्यतिबेलाको समृद्ध दरबार अहिले खण्डहरझैँ देखिन्थ्यो । अलि पर रहेछ भैरवी मन्दिर । मन्दिरमा फोटो खिचिरहेका साथीहरूको बिचमा पुगेर केही क्यामेराहरूलाई आफ्नो पनि अनुहार देखाएँ मैले ।

चारैतिर दिव्य प्राकृतिक सौन्दर्य देख्न सकिन्थ्यो । तर दिन अलि रिसाएझैँ प्रतीत हुन्थ्यो । हुरीबतास चलिरहेको थियो, पारिपट्टि पानी दर्किन लागेको छाँटकाँट थियो । कतै नुवाकोट दरबारलाई देखेर मेरो मनमा उठेको भाव नै प्रकृतिमा पोतिएको त होइन ? भन्ने आभास भयो मलाई । भैरवी मन्दिरमा पुगेर दर्शन गऱ्यौँ गीता माता र मैले सुटुक्क । अरू साथीहरू पनि हामीलाई पछ्याएर आए । साथीहरू फोटोका तालमा मस्त थिए । हामी त्यहीँबाट तल ओर्लियौँ र गाडी चढ्यौँ ।

गाडीको अन्तिम सिटमा असिम सागरको छेउमा बस्ने अवसर जुऱ्यो मलाई । असिम सागरले आज सुनाएको कविता ‘पृथ्वी रहुन्जेल त हामी रहौँला, त्यसपछि ?’ सम्झिएँ र आफ्नो भावसित साम्य राखेको कुरा सुनाएँ । मैले आफ्नै बिहानको अनुभूति सम्झाएँ र पर्यावरणीय चेतनाका कुरा गरेँ । उहाँले पनि मेरो कविताको प्रशंसा गर्नुभयो । कुरै कुरामा अचानक साहित्यका चिन्तनका कुरा निस्किए । के क्के न जान्ने भएझैँ मैले पनि आफ्ना कुरा राखेँ । एकैछिन कवि असीम सागरलाई अँगालेर उहाँका कुरा सुन्न पाउँदा आत्मीयताको गहिरो अनुभूति भइरह्यो मनमा । छेउछाउका साथीहरू निदाइसकेका थिए, सायद मेरा कुरा सुनेर पो हो कि ? भनेर झस्किन्थ्यो मन । फेरि छेउमा बसेकी अप्सरा ढकालले बेला बेलामा दिनुभएको स्वीकृतिसूचक हौसलाले हौसिइरहेको थिएँ म । कुरा गर्दागर्दै गाडी विदुरबाट पनि अघि बढिसकेको थियो । विदुरमा ओर्लिएकी सुमित्रा सुमीलाई सबैले बिदाइका हात हल्लायौँ । सृजना बहिनीले झ्याल खोलेरै बाइ भनिन् । मैले भने चूपचाप धन्यवाद दिएँ मनमनै ।

समय र मौसमका कारण आज देवीघाट जाने कार्यक्रम भने पूरा हुन सकेन । गाडी फेरि उपत्यका ताकेर आफ्नै बाटोमा लाग्यो । मेरो र असीम सागरको गफले बाहिर अँध्यारो डाकिसकेको थियो । अब बाहिरको दृश्य छोडेर मनको पर्दा उघार्ने क्रममा थियौँ हामी । बिहान जोकमय भएको गाडीको अन्तिम सिट अब साहित्यका गहिरा चर्चामा रमाइरहेको थियो । साहित्य, साहित्यकार र तिनको जिम्मेवारी, हामी र हाम्रो कमजोरी, अबको पुस्ताजस्ता कुरामा विचार राख्दै थिएँ म । मानौँ, मेरै कुराले देश बन्छझैँ ।

कुरा गर्दागर्दै थानाको भन्ज्याङमा आइसकेका थियौँ हामी । गाडी फेरि रोकियो । ओर्लिएर चिसो सिरेटोसितै अल्लि पर पुगेर दुई कप चिया पियौँ गीता माता र मैले । अनि फेरि गाडी चढेर उपत्यका आइपुग्यौँ । उपत्यकामा आइपुग्दा साँझ ढल्केर रात परिसकेको थियो । सामाखुसी आइपुगेर गीता माता र आधाजसो अरू साथीहरू ओर्लिए । अनि म पनि आफ्नै मनको गतिसित खेल्न थालेँ बिहानझैँ ।