
गोरखा सदरमुकामबाट छ सात घन्टाको उकालो ओरालो बाटो पार गर्दै पुगिने तान्द्राङ गाउँमा अचेल डेढ घण्टामा पुग्न सकिने भएछ । त्यसदिन कल्पतरु साहित्य द्वैमासिकका सम्पादक रेहित सैंजु र म गोरखा जिल्लाको तान्द्राङ जानका लागि नारायणगढबाट गोरखाको बस चढ्यौँ । फागु पूर्णिमाको दिन परेको कारण गोरखा सदरमुकामबाट तान्द्राङ जाने बस सहजै उपलब्ध हुन सकेन । हरमटारीको एउटा भोजनालयमा खानपिनपछि हामी काठमाडौंबाट माछीखोलाका लागि छुटेको बसमा कोच्चिएर भए पनि तान्द्राङ जाने निधो गर्यौं । तान्द्राङ यात्रा क्रममा हामी निकै उत्साहित थियौँ । म मेरो आफ्नै जन्मभूमि तीस वर्षपछि जाँदै थिएँ भने रेहितको पहिलो गोरखा यात्रा थियो ।
गोरखा सदरमुकामबाट जब हामी तान्द्राङ पुग्यौँ , गाउँमा मोटरबाटो पुगेसँगै साउने पानीको नाम पनि परिवर्तन गरिएछ । जब बस कन्डक्टरले कहाँ झर्नु हुन्छ भनेर सोध्यो, मैले साउने पानी भन्दा ऊ जिल्ल पर्यो । साउने पानी इतिहास बनेको निकै समय भइसकेको रहेछ । त्यसलाई अचेल “मुरली चोक ” नामकरण गरिएको तथ्य त्यतिबेला थाहा भयो, जतिबेला एकजना यात्रुले म पनि साउने पानी झर्ने हो । तर अचेल यसलाई साउने पानी होइन “मुरली चोक ” भन्ने गरिन्छ, भन्दा म झसङ्ग भएको थिएँ ।
जब हामी साउने पानीबाट उकालो लाग्यौँ । ढुकुरेको बारी निस्कने साँघुरो गल्ली, गल्ली जस्तो थिएन । त्यो पनि मोटर बाटोमा परिणत गरिएको थियो । हामीले बाल्यावस्थामा कपर्दी खेल्ने माझ गल्ली पनि अतिक्रमणमा परेको देशको सिमानाजस्तै देखिन्थ्यो । एकदम निरीह र अभिभावकको अभावमा विचलित किशोरजस्तै । त्यो खेल गल्लीमा मोटरबाटो बनिसकेको थियो । कताकता गाउँ, बिना गन्तव्यको यात्रुजस्तै देखिन्थ्यो । केही घरहरू पुरानो घडेरी रुँगेर बसिरहेका थिए भने केही घर आफ्नो थातवास बिर्सिएर तल्लो गह्रा र माथिल्लो गह्रामा स्थानान्तरण भएका देखिन्थे । अधिकांश घर रित्तै थिए, सायद यिनका मालिक चितवन, काठमाडौँ , अमेरिका , अष्ट्रेलिया र युरोपका गल्लीहरूमा आफ्नो भाग्य खोज्दै थिए ।
विकास निर्माणले निकै तीव्रता पाएको देखिन्थ्यो भने सीमित उपभोक्ता तर विकास प्रशस्त । लाग्थ्यो, बच्चाले बाबुको कोट लगाएर जन्ती गएको छ । त्यस गल्लीमा छाप लागेका हाम्रा पैतालाका डोबहरू पनि सबै मेटिइसकेका रहेछन् भन्ने अनुभूति भइरहेको थियो । न त्यहाँ म र मेरा दौंतरीले डोरी नाघेर उफ्रँदै गर्दा बगेका पसिनाका सुगन्ध नै बाँकी थिए । त्यहाँ हजुरबाले चन्दन लगाउने गरेको गाउँको कुमारी माटो लेश मात्र पनि बाँकी थिएन । थियो त केवल, अपरिचित मान्छेहरूबाट पटकपटक बलात्कृत भइसकेको माटो । जसमा कयौं डोजर र स्काभेटरले बलजफ्ती चुम्बन गरेका घाउका डोबहरू मात्र देखिन्थे भने बारीका कान्लाहरू सिनित्त तासेर विरुप बनाइएको थियो । कान्लाहरू झलक्क हेर्दा कपाल खौरिएकी नारीको शीरजस्तै देखिन्थ्यो । मानौँ एउटी युवतीलाई कसैले उसको सतित्व लुटेर घरको न घाटको बनाइदिएको छ ।
मैले जन्मनासाथ टेकेको धर्ती र त्यहाँको माटो चुम्ने पुरानो रहर मेटाउनु आफ्नो कर्तव्य मात्र थिएन, दायित्व पनि थियो । वरपरका गह्राहरू भन्दा केही फराकिलो मेरो जन्म घडेरीमा पाइला राख्नासाथ त्यहाँ चलेको माटोको सुगन्ध मैले प्रत्यक्ष अनुभव गरेको थिएँ । जुन सुगन्ध बोटमा पाकेको भुइँकटहरको जस्तै थियो। तक्षण त्यो पाकेको हलुवावेद, काली ज्यामीर र नासपातीको बास्ना जस्तै लाग्थ्यो भने उत्तिखेरै त्यस माटोको वास्ना घ्यू कुमारी केराको जस्तो लागिरहेको थियो ।
त्यस माटोबाट कहिले अम्बा त कहिले बम्बई आँपको स्वादको बास्ना आइरहेको थियो । थपक्क झोला बिसाएर म तिनै फलका बास्ना लिइरहेको कल्पनामा मस्त थिएँ । निकै ध्यानमग्न भई म एकोहोरिएको हेरिरहने रेहितले मलाई बोलाएपछि मेरो ध्यानभङ्ग भयो । जीवनका २९/३० हिउँद सोही गाउँमा बिताएको मलाई, आज निकै अनौठो अनुभूति भइरहेको थियो । त्यसबेला मेरो घरबाट निकै टाढा देखिने डाँडाको खरबारी आज नजिकै लागिरहेको थियो । बुढीगण्डकी पारीको सल्यानटार मेरो आँखा अगाडि नै थियो । लाग्थ्यो तिनीहरू हाम्रो स्वागतका लागि हामी नजिकै आएर उभिएका छन् । तर यो मेरो भ्रम मात्र थियो ।
जसरी मोटरबाटोले साउने पानीको अस्तित्वमाथि धावा बोलेको थियो, त्यसरी नै गणतन्त्रको आगमनले मेरो जन्मभूमिको पुरानो र स्थापित पहिचानमाथि पनि प्रश्नचिन्ह खडा गरिदिएको थियो । ऊ बेला निकै प्रशिद्ध तान्द्राङको नाम कसैले पनि लिँदैन थिए । बुढा पुराना व्यक्तिहरू बाहेक तान्द्राङ शब्दसँग सबै परिचित थिएनन् ।
मेरो जन्मभूमिको त्यो घडेरी, घर भएको ठाउँजस्तो त लाग्थ्यो तर अधिकांश गह्राका डिल खसेको अवस्थामा देखिन्थ्यो भने कान्लोको प्रायः भाग थुचुक्क भुइँमा खसेर पलेँटी कसेको जस्तै देखिँदा भने मन एकतमासले अमिलो भएजस्तै लागिरहेको थियो । जुन बेला मैले गाउँ छोडेर हिँडेको थिएँ । त्यस समय जहाँ बारीको गह्रा थियो, हाल त्यहाँ त्यस्तै गह्राहरू थिएनन् । तीन चार भारी घाँस काट्न सकिने कान्लाको उपस्थिति पनि त्यहाँ थिएन । यसको कारण सोध्दा म सँगै रहेका रामजी प्रसाद दाहाल, चन्द्रप्रसाद र गणेश खनालको एउटै उत्तर थियो ।
“यसको एक मात्र कारण वर्षेनी जाने पैह्रो र २०७२ सालको विनासकारी महाभूकम्प हो ।” गाउँमा ७२ सालमा भूकम्पले घरहरू भत्काएपछि जस्ताले बारेका र जस्तैले छाएका घरहरू मात्र बनेका थिए । लगभग सबै एकै नासका ।
उबेला भालेको डाकसँग ब्यूँझने गाउँ अचेल सोही समयमा ब्यूँझन छोडेको निकै वर्ष भइसकेछ । पँधेरामा गाग्री बोक्नेहरूको लर्को देख्ने मेरो सपना त्यतिबेला भताभुङ्ग भयो जतिबेला हरेक आँगनमा ठडिएका पानीका धारा देखेको थिएँ । कुवापानीको धाराले अचेल पानी होइन , अविरल रूपमा आँसुको धारा बगाइरहेको छ । कता कता मलाई यस्तै अनुभूति भएको थियो । मानौँ ती धाराहरू कुवा पानी पँधेराका सौता हुन् । यसै कारण होला, अचेल बडेमानका तामे गाग्री बोकेर पानी खेप्नका लागि पँधेरामा पुग्नु पर्दैन ।
वर्षभरिलाई दाउरा खोज्न फलामे र सजुवाका जङ्गल चहार्नु पनि पर्दैन । विकासका कारण गाउँमा भएको यो अभूतपूर्व परिवर्तन थियो । अधिकांश बारी र खेत बाँझै थिए । तर पनि भण्डारमा चामलका बोरा र दालका थैलाको अभाव देखिएन । घरको धारा छेउमा लसुन प्याज र काउली मुला फुल्दै र फल्दै थिए । जहान बच्चाको अभावमा दुईजना बूढा बूढीले सबै तरकारी खाएर पनि सक्दैन थिए ।
न सखारै ढिकीमा घान हालिन्थ्यो न त जाँतोमा ओइरो । ढिकीको मुड्को करेसामा लडिरहेको देखिन्थ्यो भने जाँतो आँगनमा पसारिरहेका थिए ।
घरको पहिचान पनि फेरिएको थियो । सिरान घरे , माझा घरे , डाँडा घरे र पुछार घरे होइन आजभोलि खाडी घरे र युरोप घरेका नामले घरहरूको वर्गीकरण गरिएको पाइयो।
गोठको नजिकै बनाइने गरेका बडेमानका परालका टौवाहरू कतैतिर पनि देख्न सकिएन । बरु हरेक छानामा डिसहोमका छाता र वाइफाइ का राउटरहरू ठड्याएर राखिएको थियो । गाई भैंसीका गोठहरूमा चौपाया हरूको ठाउँ बिस्तारै मोटरसाइकलले लिँदै थिए ।
गाई बाख्रा निकाल्ने अधिकांश डहरहरू पुरिएका थिए । डहरहरूमा ट्रयाक्टर घिस्याउन थालेको निकै भइसकेको थियो । गाई गोरू र भैँसीका थोरेहरू धपाउँदै पानी खुवाउन लैजाने तिनै गल्लीमा अचेल बिग्रिएका ट्रयाक्टर थन्क्याउने ग्यारेजको झल्को दिँदै थिए । लाग्थ्यो, पानी खुवाउन लगिएका बुढा गोरूहरू गन्तव्य पुग्न नसकि यतै थला परेर लडिरहेका छन् ।
हाम्रो पालामा जिउ फतक्क गलेपछि रसादि पान गर्न पाइने वैद्य बाको पसल घर, यथावत थियो तर त्यहाँ अचेल रसादि होइन दर्जनौं ब्राण्डका मदिराहरू सजाइएको थियो । जेठा बाले घोडताप्रे घोट्ने चनौटो आँगनको धारा छेउमा उँघिरहेझैं देखिन्थ्यो । लाग्छ त्यही चनौटो आजभोलि खुट्टा घोट्ने पाउ खाक्सी बनेको छ । हुक्काको ट्वार्र ट्वार्रसँगै आधा रातसम्म गफिँदै रमाउन भेला हुने सिरान घर भुँईचालोले खण्डहर बनेको देख्दा मन कटक्क भएको थियो । जहाँ अचेल रातभरि स्याल भेला हुने गरेका थिए ।
हजारौंको संख्यामा विद्यार्थीहरू उपस्थित हुने संस्कृत विद्यालयमा अहिले मुस्किलले दुइसय विद्यार्थी पनि थिएनन् । दिउँसो एक बजे हुने छुट्टीमा खाने गरेको धुलेतिँदुको रूख पनि त्यहाँ थिएन । न त्यसको ठूटो नै देख्न पाइन्थ्यो । सिमल फेदको आफ्नै दु:ख र व्यथा थियो । त्यहाँ न पुरानो चहलपहल थियो न जन्ती र मलामीहरूका लश्कर नै देख्न पाइन्थ्यो ! सबैभन्दा ठूलो सिमलको रूखले गाउँ छोडेको निकै वर्ष भएको रहेछ ।
सबेरै रुमालमा चामल बोकेर माझघरमा भाग्य र भविष्य खोज्न आउनेहरू ज्योतिषी हजुरबाको अन्त्यसँगै आफ्नो सुन्दर भविष्यको खोजी गर्न खाडी र मलेसियाका गल्लीहरूमा जानेक्रम सुरु भएको रहेछ । यता घर छेउको गह्राहरूमा सुकेर बोटबाट खसेका कुटमेरो, टाँकी र कोइरालाका हाँगाले गिज्याइरहेका देखिँदै थियो भने भान्सामा नेपाल ग्याँस र बाबा ग्याँसका सिलिण्डरबाट ग्याँसको गन्ध आइरहेको थियो । केही घरहरूमा भुस्याहा र भोटे कुकुरको सट्टा एल सि सि एन र जर्मन सेफर्ड जातका कुकुरहरू बाँधिएको थियो । पेट भर्न गल्ली र बारीका कुना चहार्दै हिँड्ने कुकुरहरू गाउँमा थिएनन् । तिनीहरू सानदार प्लेटमा मासु भात र दुध बिस्कुट खाँदै गरेका दृश्य देखिन्थे ।
एक घर एक धारा, एक घर एक चर्पी , बिजुली बत्तीको झिलिमिली र माकुराको जालोजस्तै गाउँ र टोल जोड्ने मोटरबाटोका कारण गाउँको शान र सौकतमा निकै परिवर्तन देखिन्थ्यो । यथार्थमा मेरो गाउँ अचेल कुनै कोणबाट पनि गाउँ जस्तो थिएन । त्यो न त पूर्ण शहर थियोन त गाउँ नै थियो । तर पनि गाउँ, शहर बन्ने उपक्रममा प्रसव व्यथाले छटपटिएकी नारीजस्तै लाग्थ्यो ।
सायद यो कथा मेरो गाउँको मात्र एकलौटी कथा थिएन । यो हाम्रो देशभरिका गाउँ र सिङ्गो देशको कथा थियो । हाम्रा पूर्वजहरूले कतैबाट आएर त्यस गाउँलाई मनमोहक र गुल्जार बनाएका थिए । विभिन्न भौतिक विकासका कारण सारा संसार नजिकिँदै गयो, अहिले हामीले गाउँमा पसिना बगाउन छोडेर संसारका विकशित मुलुकका लागि पसिना बगाउन थाल्यौँ । सायद अर्को तीस वर्ष पछि गाउँ कस्तो हुन्छ ? अहिले नै अनुमान गर्न अलि हतार हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

