सिंहमहाराजको अजय होस् ! नगरपतिको मति भ्रष्ट होस् ! गाउँपतिको अति होस् ! सिंहमहाराजको कुर्सीमा मुसा बसोस् ! सिंहमहाराजको सिङ पलाओस् ! सिंहिनी महारानीलाई कमिलाले टोकोस् ! उमेरदारी नेता सिंहदरबार जाऊ, बृद्ध नेता मन्दिर छिरेर सोमरस खाऊ ! मौका परे मङ्गलरस खाऊ , अध्याँरोमा घर जाऊ । आफ्नो घर नचिने छिमेकीकोमा धाऊ । सिंहमहाराजको आहारा बन । के के चाहन्छौ आफैँ भन । खनखन पैसा आफैँ गन । निर्वाचनमा खर्चियौ धन, जितेपछि सबै आफ्नो भन । हार्यौँ भने कालो अनुहार लाउँदै पस वन ।

हाम्रो नगर वा गाउँका सिंहमहाराजहरूको ध्याउन्न अहिले यस्तै खाले प्रवृतिले चुलिएको छ । केन्द्रमा अटाउन समस्या भएकोले गाउँ वा नगरका सिंहहरूलाई गाउँ नगरतिरै थान्को लाउन ‘अड्को पड्को तेलको धुप’ भन्दै टपरटुइँयाँ संस्कारको निरन्तरता दिन अनेक जालझेलहरू मध्येको एउटा टिकडम यो पनि हो । सिंहमहाराजको आदेशले जनादेश भत्किन्छ । पञ्चमहाराजहरूको जन्म हुन्छ । प्रदुषित कुशासनभित्र पञ्चमहाराजहरू रमाउँछन् ।

माधव पोखरेल गोज्याङ्ग्रे

गाउँ नगरतिर सिंहमहाराजहरूको स्वेच्छाचारिताले सिमा नाघेको छ । आफू कुन साँधसिमाभित्र अट्नु पर्ने हो त्यसको हेक्का नहुने सिंहमहाराज भएका छन् । सिंहासनमा बसेर मुसासनको जतिको पनि काम गर्न नसक्ने सिंहमहाराजहरू अर्कालाई मौरी कमिला बन्नु पर्छ भन्छन् तर आफूहरू भने कछुवाको भन्दा पनि धिमेचालमा मालामाल भएर माकुरे किर्नो बनेका छन् । माकुरे किर्नो बन्नकै लागि नगर वा गाउँका सिंहमहाराज बनेका धमिराहरू भनौ वा घुन भनौँ अर्काले लगाएको गुन नै बिर्सन्छन् ।

नगर गाउँमा सिंहमहाराजहरू न्वारानदेखिको बल निकालेर आची आउञ्जेलसम्म बम्किन्छन्, उफ्रिन्छन् र आफैँ बिग्रन्छन् । अर्कालाई सुधार्ने काममा भन्दा तिथि मिति र थिति बिगार्ने काममा सिपालु सिंहमहाराजहरू गरिब भएकै कारणले निरीह जनजनावरले भुइँबाट टोपी खस्ने गरी ठाडो भएर मास्तिर हेर्नु पर्ने महलमा थेचारिन्छन् भने अरु जनजनावरहरू आकाशे छानोको झुपडीमा राज गर्छन । सत्ताको आशीर्वाद पाएर श्रापलाई समेत परास्त गर्न सक्ने हैसियतका बोके, साढे, राँगो स्वरूपका सिंहमहाराजहरू स्याल देख्ने बित्तिकै पुच्छर लुकाएर कुना पस्छन् । गाउँ नगरको राजाको स्वरूपमा बाजा बजाउँदै खाजा खान पल्केका, सिउर ढल्केका, हलक्क हल्केका, छिमेकीसँग सल्केका । अरुले हजुर नभने पनि आफैँ गजुर भएका ताँइ न तुइँका बकमफुसे फुँइँका नागरिकझैँ देखिए पनि कुँइ कुँइ गर्न नछाड्ने भुइँको समेत टिपेर खाने अजिव स्वभावका सिंहमहाराजको जयगान गाउन अचेल सिंहिनीले समेत छाडेका छन् ।

सिंहासनमा बस्न नजान्ने सिंहमहाराजहरूको सिंहासनभित्र धमिरा लागेर खोक्रो भएको बेलामा सिंहमहाराजहरूलाई ठेलामा आसन ग्रहण गराएर मेलामा घुमाउँदै खेला तमासा देखाउँदै गर्ने समय पनि नजिक आउँदै जाँदै गरेको छ । यसरी आउँदै जाँदै गर्ने समयले सिंहमहाराजहरूको तिथि मिति तय गर्ने कुरामा भुरा जनजनावरहरू समेत पुरापुर विश्वासको भुमरीमा सुमरिएका छन् । गाउँ नगरमा काजी भनाउन चाहने तर सबैले पाजीको दर्ज्यानी पदवी धारण गराएर तलतिर लखेटिए पनि राजनीतिमा मास्तिर घचेटिएका धुर्मुसेहरू गाउँ नगरका सिंहमहाराज भएका छन् । यिनीहरूको अघिपछि लागेर जयगान गाउँदै जोगीले घरघरै फेरि लाउँदै हिँडिदिनु पर्ने संस्कारको विकास पनि यिनीहरूले नै गरेका हुन् । ‘मुखमा राम राम बगलीमा छुरा’ बोकेर हिँड्ने सिंहमहाराजहरूको हैसियतकै कुरा गर्ने हो भने मुसे महाराज बन्ने पनि छैन ।

गाउँका जनजनावरहरू मुसा, बिरालो, खरायो, दुम्सी, लोखर्के, न्याउरी मुसा, स्याल, खिरखिरे लगायतकाको रोजी रोटी खोसेर आफू मुसा लुक्ने दुलोमा पसेर भूमिगत हुने मुसे रैतीलाई सिंहमहाराज बनाएपछि कसरी भलो हुनु त ! स्वार्थको लिप्सामा टाँसिएर, गलत हल्लाहकारको लहैलहेमा लहसिएर, चुनावी खर्च उठाउने दाउँमा माउ भएर गाउँ मार्ने जनाधिकारको खोस्यौटीमा हात लम्काउने, न्यायिक आवाजलाई कुल्चिएर भुसमा आफैँ आगो सल्काउने सिंहमहाराजको नैतिक दायित्व र कर्तव्य नै हो ।

हिजोका महाराजको भन्दा बढी तामझाम र रौस रौनककासाथ सत्तामा मैमत्ता भएर प्राप्त अधिकारभन्दा बढी खनजोतमा लागेका सिंहमहाराजहरू गाउँ नगरमा जङ्गली शासनको आसनमा राशन पचाएर भाषण गर्दै कुशासनको विजारोपण गरिरहेका छन् । हिजोको तामझाम बिर्साउने गरी नयाँ तौर तरिकाले गद्दीमा विराजमान भएका सिंहमहाराजहरू विकासे जालो बिछ्याएर कालो धनमा पौडी खेल्न पल्केका छन् । कुखुरा चोर्न पल्केको स्यालझैँ स्वभावका सिंहमहाराज अझैँ पनि पुरानो सामन्ती सोंचबाट आधुनिक परिवेशमा हिँड्न सकेका छैनन् । ‘जो गाउँको मुखिया उही बाटो हगुवा’ उखानलाई चरितार्थ पार्न काममा सधैँ मस्त र व्यस्त रहने गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो जालो प्रचार प्रसारमा सक्रिय सिंहमहाराजहरू आफ्नो विज्ञापनप्रति आफैँ फुलन्देव बनेर एकलकाँटे स्वभाव र प्रवृतिलाई उचाइमा पुर्याएका छन् । हिजोझैँ आज पनि सपना बाँडेर समाज भाँडेर आसन माडेर झण्डा गाँडेरसत्ता फाँडेर आएका सिंहमहाराजहरू वनको राजा सिंहझैँ बनेका छन् । वनको राजा कुशुण्डाबाट धनको बलमा सिंहमहाराज बनेका हिजोका भकुण्डेहरू समाजमा विकृति विसंगति जन्माएर बेथिति अन्माउन लागि परेका छन् ।

सिंहमहाराजहरू कुकुर बिरालाजस्ता छन् । सबै सिंहहरू आफू जस्तो भए पनि एउटाले अर्कोलाई मान्छे नगन्ने प्रवृति छ । आफूमात्र मैमत्ता साँढे बन्न पाउनुपर्छ भन्ने मान्यता राखेर गर्जने यी सिंहमहाराजहरूको बुद्धिको भाँडोमा बिर्को लागेर समाजवादको बाटोमा व्यक्तिवादको हाँडी राखेर भिख मागिरहेको देख्न सकिन्छ । भनौँ उनीहरू यतिबेला सडकका हाँडी राखेर बाटो हिँड्ने जो कोहीलाई पनि ‘भिक्षाम् देही’ भन्दै तर्साउने काम गरिरहेका छन् ।

आफ्नो पेशा व्यवसायमा जमेका वा आफ्नो काममा लागेकालाई कुराले अल्मल्याएर सपना देखाउँदै भोलिको भविष्य नै कुँवामा मिल्काइदिने अनि त्यही कुहाउने षड्यन्त्रमा सिंहमहाराजहरू तल्लिन भएर लागेका छन् । अर्कालाई कुहाउने निहुँमा कतिपय सिंहमहाराजहरू भोलि आफैँ कुहिएर समाजमा दुर्गन्धित बन्छु भन्ने हेक्का नराखी भ्यागुते ठेकेदारको काम गरिरहेका छन् । समाजकालागि निकै रोचक र घोचक तरिकाले शोषक बनेका सिंहमहाराजहरू जन पोषक वा जन जोशक बन्ने कुरामा पुराका पुरा कम्मर कसेर छुरा धसेर अघि बढ्ने कुरामा जन विश्वास बढेको छ ।

नेपाली राजनीतिमा नयाँ दृष्टिकोणसहित उदाएका सिंहमहाराजहरू नवसामन्तवादका नायकका रूपमा तातो धुपझैँ भएर समाजमा चिनिएका छन् भने भोलिका दिनमा आफैँ अन्य सिंहमहाराजहरूबाट बहिर्गमित हुने कुरामा आफैँ विश्वस्त भएको पाइन्छ । सिंहमहाराजहरू स्वघोषित राजखानदान हुने चाहनामा हरेक बहाना खोजिरहेका छन् । हामी जन जनावरले अब जनसिंहासनको स्थापना गरी गाउँ नगरका सिंहमहाराजहरूलाई परास्त पारी हाम्रो दैलोमा भैलो खेल्न नपाउने र यमराजको दैलोमा मनपरी गर्न पाउने कानूनी व्यवस्था गर्नु पर्दछ ।