आउनुस् भित्रका विचित्र मित्रहरू हामी अब हामीलाई चुस्ने जुका दिवस मनाऔँ । हामीले दिनहुँ मनाउने कृत्रिम दिवसभन्दा बिल्कुलै फरक खालको प्राकृतिक र सहरदेखि गाउँसम्म पाइने भुस्याहादेखि घुस्याहासम्मकाले मनाउने जुका दिवसको सम्पूर्ण नेपालीहरूमा शुभकामना पनि दिन चाहन्छु । यो जुका दिवसमा जुकाका समकक्षीहरू उडुस, मच्छर, उपियाँ, लामखुट्टे लगायतका सबै चुसाहाहरूलाई हाम्रो श्रम पसिनाले स्नान गराएर पार्थिव स्वागत गर्न चाहन्छु ।

हामीलाई चुस्ने जुकाको दिवस किन मनाउनु पर्यो भन्नुहोला ? यसको जवाफमा म के भन्न चाहन्छु भने हामीलाई जुकाले नचुस्ने हो भने हामी लाटोमा परिणत हुन्छौँ । हामीलाई जुकाले चुसेको छ र त हामी नेपाली भएर रहन सकेका छौँ । सत्ताधारीले वा प्रतिपक्षी जुकाले हामीलाई नचुस्ने हो भने हामी कुरा नै बुझ्दैनौँ । ती जुकाले हामीलाई चुसेका छन् र त हामी त्यसका विरुद्ध जुका दिवस मनाएर जुकालाई कुहिएको फर्सिझैँ बनाएर राख्न सफल भएका छौँ ।

हामीलाई चुस्ने जुकाहरू सिंहदरबारदेखि मुसादरबारसम्म फैलिएर बसेका छन् । यी जुकाहरूले हामीलाई हरेक शीर्षकमा गोपनियताका साथ चुसेका छन् । चुस्न पनि एक पटकमात्र होइन पटक पटक ठाउँ कुठाउँ चुसेर हाडछाला मात्र बाँकी राखेका छन् । जुकाहरूले जानेर पनि चुसेका छन्, नजानेर पनि चुसेका छन् । यो वर्षाको समयमा जुकाहरू चारैतिर सल्बलाइरहेका छन् । ठूला साना सबैखाले जुकाहरू अचेल सहर बजारतिर बग्रेल्ती देखापर्न थालेका छन् । ठूला जुकाले सानालाई चुस्ने र सानाले ठूलालाई चुस्ने संस्कारको विकास भएको छ । हामी ती साना ठूला जुकाहरूको चुसाइले वर्षौदेखि हाडछालाका भरमा जीवन धानिरहेका छौँ । हाम्रो घरभित्र पसेर होस् वा हाम्रो खेतबारीमा पसेर होस् वा गोठतिर पसेर होस् बालीनाली, चौपाया सबैतिर जुकाले चुसिरहेको छ ।

कुर्सीमा बसेपछि सधैँ त्यही टाँसिइरहने स्वभावका जुकाहरू कुर्सी छाड्नु पर्यो भने कुर्सी नै बोकेर हिडौँलाझैँ गर्छन् । नेपाली राजनीतिमा जुकाहरू मैमत्ता भएर कुर्सीमा टाँसिने प्रवृति जी हजुरी प्रथादेखि सुरु भएको र त्यो आजको गनगनतन्त्रे प्रथासम्म पनि हाम्रा सामु यथावत् छ ।

भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’झैँ देशका छाडा समाजभाडा यी जुकाहरूले कुर्सीमा बसेपछि त्यो कुर्सी नभाँचिएसम्म छाड्दैनन् । कुर्सी देखेपछि बुर्कुसी मारेर भए पनि त्यहाँ पुगेरै छाड्ने र कुर्सीको मृत्यु नभएसम्म थेचारिरहने संस्कार जुकाहरूले विकसित गरेकोमा मलाई औधि खुसी लागेको छ । किनकि भोलि म पनि त्यो कुर्सीमा जुका बनेर टाँसिन मन छ र कुर्सीको स्वाद चाख्न रहर छ । भनौँ मलाई पनि जीवनमा एक पटक राजनीतिमा लागेर समाजको मात्र होइन यो मुलुककै अन्धो जुका भएर दाम र बदनाम कमाएर ठूलो जुका हुन मन लागेको छ । त्यसका लागि मैले कसलाई भेटेर नमस्ते गर्नु पर्ने हो म खोज्दै छु ।

जुका साम्राज्यमा साँच्चै भन्ने हो भने जुकाहरू नै जुकाबाट पीडित भएर कुर्सीमा जडित भएका छन् । सिंहदरबारतिर बस्ने ठूला जुका, प्रदेशतिर बस्ने मझौला जुका र गाउँतिर बस्ने साना जुकासँग आफूले मितेरी लाउन सकिएन । आफूलाई चुसाएरभन्दा बरु आफैँले अरुलाई चुसेर अरु जुकाभन्दा महान एकलकाँटे जुका बन्न रहर लागेकोले मैले यो जुका दिवस एक्लैले मनाउन लागेको हुँ । नबन्नु जुका बनिसकेपछि बद्नामै कमाए पनि स्वतन्त्र जुका सङ्गठन खोलेर अघि बढौँ भन्ने महान मानसिकता र सोंचका साथ यो जुका दिवसका दिन जुकाहरूकै सत्यानास भएको हेर्ने मनोकाङ्क्षा छ ।

हामीलाई चुसेर आफू मोटाउने यी जुकाहरूको रणनीतिका बारेमा मैले धेरै भाषण फलाकी सकेँ । लेखतिर पाइने खरी जुकाले बेंसीतिरका जुकालाई खोज्छ भने बेसींतिरका जुकाले तराईतिरकालाई खोज्छ । भनौँ जुकाले आफ्नै जातभातका तर अंश नपाउने वंशको आफ्नै हंस उडाउने सङ्गठनलाई बढावा दिएर आफू मासिने मेलो गरेको छ । फेरि जुका दिवसकै दिन जुकाको हंस उडाएर जुकाहरूले आफूलाई असामाजिक प्राणीका रूपमा उभ्याएका छन् । यी जुकाहरूलाई केही साना खाले जुकाहरूले देवता मानेर पूजा गर्दै नुनचुक दलेर स्वागत गरेका छन् ।

गएको स्थानीय निर्वाचनमा पनि धेरै जुकाहरूले नुनचुकमा घोलिने सुवर्ण अवसर पाए । भाग्यमानी जुकाहरू जसले पाँच वर्षसम्म अरु जुकालाई चुसेर आफू अरुबाट चुसिन तयार भए । यी महान् जुकाहरूलाई हार्दिक लगाम लगाउने अंकुशेहरू जन्माउन अब जन्मने हनुमन्ते जुकाहरूले गर्भधारण गर्नु पर्दछ । सामाजिक न्यायका नाममा जुकाहरूको कार्यशैली जुकाहरूलाई नै मात लगाउने खालको देखिन्छ ।

यस्ता महान् जुकाज्यूहरूको उत्सवका रूपमा दिवस मनाउन पाउँदा मलाई हर्षले घुँडाबाट गोहीको आँसु चुहाउन बाध्य पारिएको छ । यो सुनौलो मौकामा मसबै खाले जुकाहरूमा धन्यवाद दिन चाहन्छु । जति चुस्नु छ यही मौकामा चुस्नु । हर प्रकारले चुस्नु घरभित्र पसेर, बाहिर बसेर, कार्यालयमा गएर , कार्यकर्ताका बिचमा गएर होस् वा मन्त्रालयमा बसेर होस् जुकाको काम नै जतासुकै पनि चुस्नु भएकोले आफ्नो काम कर्तव्य र अधिकारको हनन नहुने गरी चुस अर्काको अधिकारसँग के सरोकार भो र ? आफ्नो चुस्ने अधिकार सुरक्षित गरेर राख, भोलि कतै आजकोभन्दा अझ बढी चुस्न पाइन्छ कि ? जय जुका ! जय दिवस !