पोहोर सालको उखान टुक्का दिवसको दिन ससुराली जाँदा ‘हिस्स बुढी खिस्स दाँत’ भएर फर्कनु परेको पीडाले गर्दा यसपाली त पिकनिक नैजानु पर्छ भन्ने मेरो अठोटसामु बुढीको कुनै घुर्कीले काम नगर्ने भइसकेको थियो ।

‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो मैले उनको हरेक कुरा मान्नै पर्ने के छ र ! पोहोर साल माइतीमा जुठो परेकोले यसपालीको उखान टुक्का दिवसमा त्यहीँ नै जानु पर्छ भन्ने उनको लिँढे ढिपीलाई मैले ‘एक कानले सुनेर अर्कोले उडाउने’ गर्दै थिएँ । मेरो यो व्यवहार उनलाई असैह्य भइसकेको थियो। ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भन्दै एक शुरमा फतफताउँदै थिइन् उनी । त्यही बेला ‘आलो घाउमा नुन छर्किन’ आइपुगे उही पुरानै छिमेकी। “भाउजु यसपालीको उखान टुक्का दिवस त भव्यले मनाउन पर्छ है। पोहोर साल त त्यसै गयो तर यसपाली त ‘एक पन्थ दुइ काज’ जस्तो त्यो हुन लागेको पार्टी एकीकरण पिकनिकमा जानु पर्छ है। कलाकार, नेतालगायत ठुला ठालुसँग भेट हुने अनि पिकनिक पनि मनाउन पाइने । यस्तो अवसर गुमाउन हुँदैन ।” छिमेकीले आफ्नो राय दियो, अरूले सुनोस् नसुनोस् उसलाई वास्ता थिएन । श्रीमतीको आँखामा रिसको ज्वाला देखिरहेको थिएँ मैले त्यसैले म प्रतिक्रिया विहीन रहेँ छिमेकीको कुरा सुनेर। हाम्रो मौनता उसलाई जचेन शायद त्यसैले जान्छु पनि नभनी निस्किए। सधैँजस्तो त्यो बेला पनि ‘कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो’ झैँ भयो।

सन्तुष्टपार्टी र असन्तुष्ट पार्टी एकीकरण हेतु आयोजना गर्न लागिएको पिकनिक कार्यक्रम मलाई सुन्ने बित्तिकै जाऊँ जाऊँ भएर आयो । “कहीँ नभएको जात्रा हाँडी गाउँमा’, जान्न म त्यस्तो पिकनिक सिकनिकमा ।” मेरो पिकनिक जाने मनसाय थाहा पाएपछि उनको प्रतिक्रिया आयो । म सम्झाउन थालेँ, “पिकनिक त जानु पर्छ बुझ्यौ। त्यहाँ सन्तुष्ट पार्टीको नेता हानबहादुर र असन्तुष्ट पार्टीको नेता थापबहादुर मिलेर नयाँ अण्टसण्ट पार्टी खोल्ने भएका छन् अरे। त्यो अण्टसण्ट पार्टी खोलेपछि हाम्रो मुलुकमा पनि अण्टसण्ट काम गर्न पाइन्छ अरे । हामी जनतालाई त ‘के खोज्छस् कानो आँखो’ सरह भइहाल्यो नि । यस्तो अवसर पनि कहीँ गुमाउन हुन्छ ?”

उमेश रेग्मी

निकैबेर पछि बोलिन उनी, “कसैले तपार्इँ भनोस कि नभनोस आफैँ मपार्इँ’ जस्तो त्यहाँ पिकनिकमा गयो भने सबै आफैँ ठुला पल्टिनछन् । हाम्रो वास्ता कसले गर्छ ? किन जानु त्यस्तो पार्टी एकीकरण हो कि के हो मा ? हाम्रो लागि ‘अर्थ न बर्थ गोविन्द गाइ’। त्यसै पनि मलाई ‘गाइ मारेर गधा पोस्ने’ ति नेताका झोलेहरू देख्यो भने नउठेको रिस पनि उठन थाल्छ । रमाइलो गर्न खोजेको बल्ल बल्ल आएको उखान टुक्का दिवसको बिदामा, हजुरको यो पिकनिक जाने ढिपीले सब बर्बाद गर्ने भयो।” उनी लामो सुस्केरा हालेर सुस्ताइन् । म सोच्न थालेँ । मनमा उर्लेका विचारहरूले एक अर्कासँग झगडा गर्न खोजेझैँ महसुस भइरहेको थियो । पिकनिक गएर नेताद्वय हानबहादुर र थापबहादुरसँग भेट्ने मेरो अभिलाषा श्रीमतीको कचकचले गर्दा ‘आकाशको फल आँखा तरी मर’ जस्तै हुने हो कि भन्ने चिन्ताले सताउन थाल्यो मलाई।

नाम अनुशारको शैलीले देशको ढुकुटी हत्याउन सफल हानबहादुर आफ्नो सफलतामा बडो गर्वित हुँदै पार्टीको नाम समेत सन्तुष्ट पार्टी राखेको जिकिर गर्दै बस्छन् आफ्ना झोलेहरूसँग। उता थापबहादुरलार्इ हानबहादुरको सफलताले सधैँ जलन बनाउँछ फलस्वरूप पार्टी पनि असन्तुष्ट पार्टी नामकरण गरेका छन् । अथक प्रयासपछि यी दुर्इ पार्टी एकीकरण हुन लागेको यो ऐतिहासिक क्षण कसैका लागि उखान टुक्का दिवसभन्दा पनि महत्त्वपूर्ण बनेको थियो त कसैलाई फगत मासु भात खाने एउटा मेसो थियो।

जङ्गल बस्न पल्किएका र सडकतिर बराल्लिएका हानबहादुर अनि थापबहादुरका समूहहरू अण्टसण्ट पार्टीको जोडघटाउमा व्यस्त हुँदा मैले मेरो पनि नम्बर आउँछ कि भनेर आश नगरेको भने होइन। शायद त्यही आशाले होला मेरो पिकनिक जाने इच्छा अन्य इच्छाहरूको तुलनामा अलि गह्रुङ्गो महसुस भइरहेको थियो । मेरो आफ्नो अण्टसण्ट सोचजस्तै एकीकरण पश्चात बन्ने अण्टसण्ट पार्टीको कार्यशैली र उनीहरूको भावी योजनाहरू सुन्दा मैले आफूजस्तै पार्टी बन्न लागेको कल्पना गर्न थाली सकेको थिएँ । उनीहरूको चुनावी रणनीति एकीकरणकै दिनमा तय हुने निश्चित थियो अनि त्यसका लागि चुनावी घोषणा पत्र पनि तयार बनी सकेको थियो । पार्टीको चुनावी घोषणा पत्र नामजस्तै अण्टसण्ट नै बनेको देख्दा मलाई कुनै आश्चर्य लागेन।

पार्टी बन्ने कहिले कहिले, उता नेताका झोलेजीहरूलाई चाहिँ बाहाना मिलेको थियो पार्टी प्रचारको लागि। उनीहरू घोषणापत्रलाई स्कूलमा गुरुले पढाएका पाठहरूभन्दा बढी घोकेर कण्ठ बनाउनमा तल्लीन थिए । तर ‘बाह्र वर्ष रामायण घोके पनि सीता कसको जोई ?’ भनेर सोध्ने पटमूर्ख झोलेहरूको दिमागमा घोषणापत्रको केही अंश पनि नाचिरहेको देख्दा ताज्जुब लाग्नु स्वाभाविकै हो ।

दश बुदे पार्टी घोषणापत्र यस प्रकारको रहेको विवरण पार्टीकै एक झोलेजीबाट प्राप्त भएको थियो मलाई।

१, ‘आफ्नो हात जगन्नाथ’ – सरकार बनेपछि पार्टीले गर्ने क्रियाकलाप

२, ‘काम छउन्जेल भाँडो, काम सकिएपछि ठाँडो’ – चुनाव जितेपछि जनताप्रति नेताको व्यवहार

३, ‘काग कराउँदै छ, पिना सुक्दैछ’ – जनता जति कराए पनि, जति विरोध गरे पनि पार्टीलार्इ के मतलब

४, किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ – जनताले नै हो पार्टीलाई चुनावमा जिताएको, अब कराएर के फाइदा

५, ‘खान्न खान्न लोकाचार, खाएपछि मानाचार’ – मिलाएर घुस खान पार्टीका सबैलाई विशेष छुट

६, ‘दूधको साक्षी बिरालो’ – नेताहरूले जति विध्वंश गरे पनि ठिक गरेको भन्दै झोलेहरूले हल्ला गर्ने नीति

७, ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ – नेता, पार्टी र जनताको झगडा परालको आगोजस्तै । त्यही पार्टी अनि त्यही नेता जिताउने जनता

८, ‘खाने मुखलाई जुंगाले छेक्दैन’ – पार्टीको भ्रष्टाचार नीतिलाई कसले पो रोक्न सक्छ र । जति भ्रष्टाचार गरे पनि पाइने

९, ‘लातको भुत बातले मान्दैन’ – बिरोधिहरूप्रति पार्टीको एक मात्र नीति, ठोक्ने

१०, ‘मरेपछि डुमै राजा’ – सत्ता छउन्जेल सकेसम्म लुटतन्त्र मच्चाउने । सत्ता गुमेपछि त कसले टेर्छ र

घोषणापत्रको वयान अनि मेरो पिकनिक जाने हठ देखेर मलाई पनि मासु भात खान पल्केका ती नेताका झोलेहरूजस्तै भन्न थालिन श्रीमतीले । अझ थपिन् उनले, “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै’, यी नेताहरू कहिले सुध्रिनछन् र यिनलाई पटकपटक भोट दिएर जिताउने जनता सुध्रिनछन् । पार्टी फुट्छ, जोडिन्छ । एउटा नेता अर्कोको खोइरो खन्छ। जनता सडकमा उफ्रिन्छन् आफ्नै शहर ध्वस्त बनाउँछन् । चुनाव आउँछ, तिनै नेता निर्वाचित हुन्छन् । अनि फेरि अर्को पिकनिक आयोजना गरिन्छ । देशको सम्पति स्वाहा । यस्ता ‘मुखमा राम राम बगलीमा छुरा’ बोकेर हिड्नेहरूको पिकनिक एक्लै जानु हजुर, म त माइत नै जान्छु।” पार्टी एकीकरण हुन लागे पनि उनको माइती जाने हठ र मेरो पिकनिक जाने हठ चाहिँ एकीकरण हुन सकिरहेको थिएन । हाम्रो कुरा नमिल्दा यसपालीको उखान टुक्का दिवस पनि त्यसै खेर जाने हो कि भन्ने चिन्ताले दुवैलाई उत्तिकै सताउन थालेको प्रष्ट हुन्थ्यो।

त्यसैबेला पुरानो मित्र सुरेशले फोन गर्यो, “मित्र, पोहोर सालको उखान टुक्का दिवसको बिदामा बडो रमाइलो भएको थियो। त्यो बोतल हामी चार जनाले सिध्यायौ। तपाई कस्तो मिस भएको थियो। यसपाली पनि लेराको छु। आउने हैन त ?” उसको बोतल सिध्याउने निम्तोले आकर्षित गरे पनि मैले पिकनिकको वृत्तान्त सुनाए । उसले भन्यो, “चिन्नु न जान्नु घचेडी माग्नु’, के जानु त्यस्तो पिकनिकमा, कोही चिनेको पनि छैन अनि फेरि आफूलाई त यो राजनीतिक पार्टी भन्यो कि त एलर्जी हुन्छ। ती नेताहरू ‘न आमापट्टिका न बाउपट्टिका’, ‘जुटून कि फ़ुटून’ हामीलाई के मतलब ! बल्ल बल्ल आएको बिदामा त रमाइलो पो गर्नु पर्छ। आउनुहोस यतै भाउजूसँगै । त्यो विदेशी बोतल सकाउनु पर्छ ।” उसले फोन राख्यो। म सोचमा डुबेँ पुन: । ससुराली जानु कि, पिकनिक जानु वा सुरेशको घरमा बोतल सकाउन जानु । मेरो अगाडि आइपुगेका विकल्पहरूमा अल्झिन पुगेँ म ।

ससुराली नजाऊँ श्रीमती रिसाउने, साथीकहाँ नजाऊँ विदेशी बोतल गुमाइने, अनि पिकनिक नजाऊँ नेताद्वयसँग भेटने अवसरबाट वञ्चित भइने । के गरु मैले ! यो उखान टुक्का दिवसको बिदा पनि ‘नबोलाएको पाहुना’झैँ किन आइरहन्छ ? आफ्नो वैचारिक द्वन्द्वमा बिदाले नै अपजस पाउन थालेको भान हुन पुग्यो। अघिदेखि शान्त रहेकी श्रीमती बोलिन्, “बिदा घरमै मनाउने, कतै पनि नजाने । म खानेकुराको तयारी गर्छु । हजुरलाई चुस्की लगाउन पर्ने भए आफैँ व्यवस्था गर्नू।” र, भान्छातिर लागिन् ।