हेर्नूस्, भ्यु-टावरको विरोध गर्नेहरू जम्मै विकास विरोधी मान्छे हुन् । समृद्धिका बाधक हुन् । विरोधको स्वर चर्को हुँदै जानुमा विदेशी शक्तिको हात छ । विकास र समृद्धिका आधारशीला भनेकै भ्यु-टावर, प्रवेशद्वार र स्मृतिगृह हुन् । अलिक स्मार्ट दिमागले सोच्न जान्नु पर्यो नि । बुद्धि छैन ? रिस उठ्नी ।
सडक, विद्यालय, अस्पताल, पुल, धारा निर्माण गर्ने वा दमकल, एम्वुलेन्स, शववाहन किन्ने कुरा त पुरानो पञ्चायती दिमागको उपज हो । हामी धेरै अगाडि आइसक्यौँ । अब पछाडि फर्कनु भनेको प्रतिगमन हुन्छ । हामी अग्रगामी हौँ । अग्रगमन जिन्दाबाद ।
भ्यु-टावर निर्माणका अनेक फाइदा छन् । बस्, हेर्न जान्नु पर्यो भ्यु-टावरमा चढेर । अब वल्लो गाउँको मान्छे पल्लो गाउँको भ्यु-टावर चढ्न जान्छ अनि पल्लो गाउँको मान्छे वल्लो गाउँको भ्यु-टावर चढ्न आउँछ । त्यसो गर्दा आन्तरिक पर्यटन प्रवर्धन हुन्छ ।
नेताहरू आफ्नो रस्ती-बस्तीको वस्तुस्थितिबारे पनि जानकार भइरहनु पर्ने हुन्छ । जस्तो कि तल शहरमा पेट्रोलको लाइन कति लामो भयो ? उता डाँडागाउँको धारोमा रित्ता गाग्रीको लाइन कति लामो भयो ? लाहुरे हुन गोरखपुर हिँडेका केटाहरू कहाँ पुगे ? पासपोर्ट बनाउन जानेहरूको भीड कहाँ पुग्यो ? तल चोकमा बनाएको सुँगुर, जरायो र गाईको सालिकको अवस्था के छ ? तिनीहरू बाँधेकै ठाउँमा छन् कि दाम्लो चुडालेर भागे ? त्यो तुइनमा झुन्डिएर स्कूल गइरहेकी बच्ची खोलामा खस्छे कि पारी तर्न सक्छे ? लोडसेडिङ भएको बेलामा राति बजारको अनुहार कस्तो देखिन्छ ? आदि , इत्यादि कुराहरू हेर्न पनि भ्यु टावरमा चढेर दूरविन त लगाउनु पर्यो नि हैन ?
अब जनताहरूले पनि भ्यु टावरहरूबाट टन्नै लाभ लिन सक्छन् । दिउँसोको चर्को घाममा गोठालाहरू जम्मा भएर भ्यु-टावरको माथ्लो तलामा बसेर निबुवा साँधेर खान कति मजा हुन्छ ? त्यो पनि अझ सिरसिर बनेली बतासमा । तास खेल्न कति मजा हुन्छ ? तल भीरमा घाँस काटिरहेकी तरुनीलाई सिटी मारेर जिस्क्याउन कति मजा हुन्छ ? फोनले राम्रोसँग टावर टिप्यो भने बोइफ्रेन्ड, गर्लफ्रेन्डलाई भिडियो कल गर्दै छिल्लिन कति मजा हुन्छ ? चरनबाट हराएको गोरु कसैको बारीमा मकै खान पुगेछ भनेर पनि त्यहीँबाट देख्न सकिन्छ नि । कति फाइदा छ कति ।
विरोधका निम्ति विरोध गर्नेले त करोडौँ खर्च गरेर भ्यु-टावर र गेट बनाउनुभन्दा सडक खन्नु पर्थ्यो पनि भन्छन् नि । तर हिउँदमा खनेको बाटो बर्खामा पहिराले लगिहाल्छ बाटो खनेर के काम ? त्यै भैँसी हिँड्नलाई मात्र हैन ? भएको बाटो पिच गर्नु पर्थ्यो भन्छन् । अब बलियो पिच गरे नेताहरूलाई कमिसन निकाल्न सकिन्न । कमिसन खान नपाए कार्यकर्ता पाल्न सकिन्न । कार्यकर्ता पाल्न नसके अर्कोपटक चुनाउ जित्न सकिन्न । चुनाउ नजिते भ्रष्टाचार गर्न पाइन्न । अब कमजोर पिच गर्दा महिना दिनमा जस्ताको तस्तै हुन्छ । भो सडकका कुरा नगरौँ ।
अस्पताल, स्वास्थ्य चौकी किन बनाउने ? गाउँघरमाको डाक्टर, नर्स आएर जनताको सेवा गरिदिन्छन् र ? उनीहरू पनि त ठूला शहरमा बस्न पर्यो नि । कमाउन पर्यो नि । गाउँका गरीब जनतालाई धामी, झाँक्री नै ठीक छ । गरीबले धेरै बाँचेर दुख पाउनु पनि राम्रो हैन । अलि लामो बाँच्ने भनेको सुकिला मुकिलाले हो । उनीहरू बिमारी परे राजधानीमा सुविधा सम्पन्न अस्पताल छँदैछन् । ठूला नेता बिमारी परे भारत, चीन, हङकङ, बेलाइत, अम्रिका गइहाल्छन् । खर्च राज्यले बेहोर्छ । किन अस्पतालको टेन्सन लिइराख्ने ।
स्कुल, क्याम्पस त झन् खोल्नै हुन्न । जनताका छोराछोरी शिक्षित बने भने, रोजगारी गरे भने नेता – कार्यकर्ता माथि नै औँला उठाउँछन् । त्यसपछि रौसी, मासुमाको बिक्छ ? कसलाई दास बनाउने नेताहरूले ? कसलाई भेडा बनाउने ? उनीहरूको एक इशारामा सडक भत्काउने, टायर बाल्ने, गाडी तोडफोड कसले गरिदिन्छ ? जिन्दावाद वा मुर्दावाद भनेर सडकमाको उफ्रिदिन्छ ? जोगी हुन राजनीति गर्या त होइन कसैले पनि । फलिफाप हुन्छ भनेर नै गर्ने हो ।
अब नेता – कार्यकर्ता, धनीमानीका छोराछोरीलाई पढ्न विदेश पठाइदिए भइहाल्यो । नत्र शहर, बजारमा महँगा विद्यालय छँदैछन् । कतिपय स्कुल कलेजमा त अझै नेताहरूकै प्रत्यक्ष, अप्रत्यक्ष लगानी छ । त्यताबाट पनि प्रतिफल निकाल्नै पर्यो । कहाँ सार्वजनिक विद्यालय खोल्ने ? वाहियात ।
यसर्थ अलिक ठन्डा दिमागले सोच्नूस्, भ्यु-टावरको विरोध नगर्नूस् । भ्यु-टावरमा चढेर सेल्फी खिच्नूस् । टिकटक बनाउनूस् । स्टार बन्नूस् । भ्यु-टावर विकासको उच्चतम नमूना हो । आगामी दिनमा भ्यु-टावर र प्रवेशद्वारहरूको व्यापक विस्तार गर्नुपर्छ । बरु दिमाग छ भने नेता र ठेकदारको पछि लाग्नूस् । दुई चार प्रतिशत कमिसन माग्नूस् । तेल हाल्ने र यसो रौसी, चुरोट खाने पैसा निकाल्नूस् । सोझो औँलाले घिउ निक्लिँदैन ।
कुरो बुझ्नुभो ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।