“घुम्दै-फिर्दै रुम्जाटार”, एउटा प्रचलित उखान हो यो । भाषालाई जीवन्त राख्ने भाषिक तत्त्व हो उखान । भाषाको सशक्त अभिव्यक्तिका क्रममा उखानको प्रयोग भएको हुन्छ । जीवन अनुभवका विविध पक्षलाई गहकिलो, महकिलो अऩि टेसिलो रुपमा उखानहरू नीति-निर्देश गर्ने, शिक्षा दिने आदि रुपमा दृष्टान्त र उपमाका रुपमा उखानहरू प्रचलनमा आएका हुन्छन् । उखानले लोकजीवनको मान्यता, विश्वास, आनीबानी, चालचलन आदि बोकेका हुन्छन् । उखानले भाषामा कहिले व्यङ्ग्यात्मक रुपमा ता कहिले अभिधा अर्थमा प्रयोग भएर भाषिक चमत्कार बढ़ाएका हुन्छन् । त्यसैले लोकजीवनमा अनुभव, सोचाइ र मान्यतालाई बोक्दै भाषिक वृद्धि र चमत्कारीपन वृद्धि गर्ने  तत्त्वका रुपमा उखानलाई लिन सकिन्छ ।

प्रस्तुत “घुम्दै-फिर्दै रुम्जाटार” उखानलाई पनि अभिधात्मक र लक्षणात्मक अर्थमा व्याख्या-विश्लेषण गर्न सकिन्छ ।  प्रयोगका क्रममा यो उखान खारिँदै र माझिँदै एक समुदायबाट अर्को समुदाय, एक जातिबाट अर्को जाति एवम्  एक पुस्ताबाट अर्को पुस्तामा बामे सर्दै आज हामीसम्म आइपुगेको छ । भाषिक व्यवहारमा यो उखानले छोटोमै परिपक्व व्यवहारको अभिव्यक्ति दिने, गहकिला अनुभव व्यक्त गर्ने, सामाजिक, सांस्कृतिक प्रतिविम्ब व्यक्त गर्ने काम गरेको छ ।

रुम्जाटार यस्तो टार हो जहाँ कुनै पनि अवस्थामा पुग्नै पर्ने हुन्छ । ‘रुम्जाटार’ र ‘घुमाउने झार’माझ मैले कुनै  फरक पाएको छैन । तपाईँलाई घुमाउने झारले भेटेको छ कि छैन को नि ? एकपल्ट घुमाउने झारले भेटेपछि मरिगए तपाईँ त्यस ठाउँबाट उम्किन वा फुत्किन पाउनु सक्नुहुन्न । यसैले घुमाउने झारले भेट्नेहरूले भनिएको पनि सुनिएको छ – “मेरी बास्सै ! हामीलाई राजनीतिले भेटेर सोत्तर, खलिकपूर, बाल्ने कपूर वा गुहे कपूर बनाए पनि बनावोस्…वास्ता छैन तर यो घुमाउने झारले चाहिँ पटक्कै नभेटोस् ।”

कृष्ण प्रधान (सिलिगुडी)

तर हिजोआज वन-जङ्गल वा फारसहुँदी घुमाउने झार विरलाकोटि मात्रै पाइएला । किनभने तपाई-हामीले नै फारस सोत्तर पारेपछि घुमाउने झारको दुबो पनि पाउनु गाह्रो पर्छ । अब यो घुमाउने झारको प्रसङ्गलाई यहीँ टुङ्ग्याएर “घुम्दै फिर्दै रुम्जाटार”-भन्ने उखानले हाम्रो जीवनलाई रुम्जाटारकै स्ट्याण्डमा ल्याइ पुर्याएर थन्काएको छ । यसैले हामी वर्तमान उत्तर आधुनिक रुम्जाटारमा रुमलेर अललिरहेका छौँ । “घुम्दै फिर्दै रुम्जाटार”-लाई तपाईँले जुनै अर्थमा अर्थ्याउँदा पनि हुन्छ । यस उखानमा दर्शन, राजनीति, धर्म, संस्कृति सबै पाइन्छ । उखानलाई अभिधात्मक वा सोझो अर्थ दुवैमा प्रयोग गर्न सकिन्छ । यो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड झैं नै हुन्छ ।

अभिधात्मक वा सोझो अर्थमा “घुम्दै-फिर्दै रुम्जाटार”-को अर्थ मानिसले संसारै हाँके पनि आखिर ऊ पुनः आफ्नै ठाउँमा आउनैपर्छ । यसकारण, मानिसले कुनै अवस्थामा पनि फुटानी लाउनु हुँदैन । लक्षणात्मक वा टेढो अर्थमा “घुम्दै-फिर्दै रुम्जाटार”-को अर्थ जत्तिसुकै फाइँफुट्टी लाए पनि भैया तिमी आखिरमा जहीँको तहीँ हुन्छौ । यस अर्थमा हेर्दा प्रस्तु गहन उखानले हाम्रो जीवनमा लक्षणात्मक रुपमा हामीलाई लाखेस् गरिरहेको हुन्छ भन्ने मेरो मूर्ख अनुमान छ ।

साँच्चै हामी मान्छे साह्रै फुर्के जाति । हामी हिमाल चढ्ने प्रयास गर्छौं अर्काको काँध टेकेर । जसो तसो गरेर हिमाल चढी पठाउँछौं तर चुचुरामा चढ्ने बित्तिक्कै छलकपटविहीन तीँ काँधहरूलाई भुसुक्कै बिर्सिन्छौं । काँध थामेर हिमाल चढाइ पठाउनेहरूको काँदमा हिमाल चढ्ने बुटको दागले पिल्सेका काँध बिसेक भएको हुँदैन हिमाल चढनेहरू पछि टाकुरामा बहेको चिसो हावाको झोंका सहन नसकी माथि हिमालबाट फिलिलि झरिपठाउँछौं । अर्कालाई लण्ड्याएर, छक्याएर आवेशमा हिमाल  ता चढी पठाउँछौं तर हिमालबाट ओर्लिनु सिकेका हुँदैनौं । हिमाल किन के को लागि, कसको लागि चढेका थियौं हामीलार्इ सो पनि थाहै हुँदैन । ‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने लक्षणात्मक अर्थ हामीलाई नै उपयोग हुन्छ ।

हामीले हाम्रो जिन्दगीमा बाह्र-बत्तीसका कुरा धेरै सुनिसक्यौं…सुनेरहेछौं…अझ अरु कति सुन्नुपर्छ होला को’नि ? ती कुराहरू सुनेर हामी मक्ख र पक्क पऱ्यौं । बारुले कम्मर मर्काइ मर्काइ तपाई-हामी कति उफ्रीपाफ्री गऱ्यौं । फेरि हामी नाच्नुमा कति फास्ट…कति एक्सपर्ट ! छोरो पास हुँदा पनि खुशीले नाँच्छौं अऩि छोरो फेल हुँदा पनि छोरो फेल भएको दुःखमा नाच्छौं । नाच्नमा हामीलाई कसले भेट्ने ? मलाई ता लाग्छ अब जन्मिने नानीहरू पनि नाच्दै जन्मिनेछन् । किनभने हाम्रा पिता-पूर्खाहरू पनि नाच्नलाई नै जन्मेका रहेछन् । नवजात शिशु नाच्दै जन्मिँदा को भयो र ! बाजे-बराज्यूका बिँड़ो ता थाम्नै परेन र ?

अहिलेसम्म हामी कति नाँचिसक्यौं… नाँचिसक्यौं । अरुको होहोरीमा नाचेको फल खै के पायौं र ? हाते लागे शुन्य । साँच्चै नाच्नु र थपडी बजाउनमा हामीलाई यो संसारमा भेट्न ता के उछिन्ने अद्यावधि कोही जन्मेकै छैनन् भन्ने लाग्छ । कोही होला कि भनेर हामी भक्कु नाँचिदन्छौं, हामी आफूलाई स्याक्रिफाइस गरेर, कोही होला कि भनेर ठूला बडाको कुरा सुनी आकाश थर्किने गरी दिलोज्यान लाएर थपडी बजाइदिन्छौं । न ता हाम्रो नाचै काम लाग्यो न ता हाम्रो गगनभेदी थपड़ीले नै भाउ पायो । हामी उड्यौं आकाश बाईपङ्खी घोड़ामा चढ़ेर । तर बाईपङ्खी घोडाले पनि हामीलाई सिङ्गै आकाश विचरण गराउन सकेन । हामी फेरि त्यहीँ आइपुग्य़ौं…जहाँ हामी थियौं । जहाँ हाम्रा पिता-पुर्खाहरू थिए । यस सन्दर्भमा यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा ‘गरीब’ कविताको एउटा अंश दोहोऱ्याउन मन लाग्यो –

“विमान खासा मनको लिइकन,
म चन्द्र, तारा, पृथ्वी घुमिकन,
विहारको मोज लुटि लुटिकन
फर्कन्छु फेरि उही रम्य आङन ।”

सन्तोक के मा लाग्छ भने, हाम्रा देवकोटा ता परै मनको विमानमा चढी चन्द्र, तारा, पृथ्वी घुमी यात्राको मोज लुटी रमाइलो आँगनमा फर्केछन् पो । तर हाम्रा ठूला-बडाहरूले रोजिदिएका बाईपङ्खी घोडामा चढी आकाशमार्ग राँटो लाउँछु भन्ने हामीहरूले मोज-मस्ती लुट्नु ता परै जावोस् बाईपङ्खी घोड़ाको लापरवाहीले हो’कि वा के ले हो कोनि ? हामी फेरि आफ्नै आँगनमा फर्केर बसिरहेका छौं । ‘घुम्दै फिर्दै रुम्जाटार’ । जुन आँगन घाम लागेर रमाइलो हुन सकेको छैन कहिल्यै । यो हाम्रो आँगन रुम्जाटारकै ज्वलन्त तथा साक्षात् प्रमाण हो । देवकोटा उनको रम्य आँगनमा उनको कवि हृदय कति रमाएका छन्…तर हामी घुम्दै फिर्दै रुम्जाटारमा आएर पनि ढुक्क भएर रमाइरहेका छौं । किनभने हामीलाई यो रुम्जाटार नै प्रिय लागिरहेको छ जस्तो लाग्छ मलाई । हामी ‘घुम्दै फिर्दै रुम्जाटार’-मा आइपुगेका छौं । यो रुम्जाटारबाट हामी फुत्कन सकेका छैनौं । रुम्जाटारबाट हामीलाई उकास्छु भन्ने भन्नेहरूले हामीलाई रुम्जाटारको दलदलमै लट्याइरहेका छन् । हामी पनि न लुतो न कनाइ भएर रुम्जाटारमै अल्मलिई रहेका छौ, अललिरहेका छौं । ‘घुम्दै-फिर्दै रम्जाटार’ ।

यो रुम्जाटारमा को’नि किन हामी युगौंदेखि फँसिरहेका छौं । जाकिरहेका छौं । यो कस्तो विडम्बना ! हाम्रा ठूला-बडाहरू यो रुम्जाटारमै किन रल्लिरहेका छन् ? के छ त्यस्तो रुम्जाटारमा ? के त्यस्तो टेसिला र मिठाइला कुराहरू छन्  यो रुम्जाटारमा मैले केही बुझ्न सकेको छैन । रुम्जाटारको कुन जादूले, कुन मोहिनीले हाम्रा ठूला-बडाहरू लट्टिरहेका छन् ? यो एउटा अनुसन्धानको विषय हो । भन्नु उसो होइन, हाम्रा ठूला-बडाहरूले रुम्जाटारमा राँटो नलाएका होइनन्, हाम्रा ठूला-बडाहरूले रुम्जाटारमा रँडाको नमच्याएका पनि होइनन्, हाम्रा ठूला-बडाहरूले रुम्जाटार नथर्काएका पनि होइनन् । यो रुम्जाटारका भित्ता-पाखा, पहाड़-कन्दरा, कुना-काप्चातिर हाम्रा ठूला-बड़ाको बाघ गर्जाइ, हुङ्कारले रम्जाटारको वारि  भित्तादेखि पारि भित्तासम्म मात्रै प्रतिध्वनित भइरह्यो । रुम्जारको पारि भित्तादेखि वारि भित्तासम्म उनीहरूको गर्जन, उनीहरूको हुङ्कार प्रतिध्वनित हुँदा हामी भक्कुमारी खुशी भई बुरुक्-बुरुक् उफ्री र थपडी बजाउँदै नाच्नमै व्यस्त भइरह्यौं ।  ‘घुम्दै फिर्दै रुम्जाटार’ । यो रुम्जाटारले हामीलाई के त्यस्तो मोहनी, जादू-टोना लाएको छ र सोबारे  कसैले केही सोचेका छैनन् । किनभने हाम्रा समस्याबारे हामीलाई त्यति सोच्ने, मनन गर्ने, घोत्लिने त्यत्रो समय नै कहाँ छ र ? किनभने हामी सबै रुम्जाटारको रमझम, रुम्जाटारको रमरम रोमान्स, रुम्जाटारको चहक-महक, रुम्जाटारको रमझम, रुम्जाटारको रङ्गी-चङ्गी दुनियाँमा मक्ख र पक्क परिरहेका छौं ।

हामीलाई कुरा ठूल्ठूलो आउँछ । ठूलाबडाहरूका कुरा ता आकाशै बाँधुँला, पातालै बाँधुँलाजस्तै हुन्छ । उनीहरूका कुरामा टेसिलो जादू हुन्छ । उनीहरूका कुरा सुनेर बग्दै गरेको टिष्टा पनि फर्कुँला-फुर्कुँलाजस्तो गर्छे । डुब्दै गरेको घाम पनि एकपल्ठ थुक्कु र अम्बीर भनेर फरि उदाउलाजस्तो गर्छ । तर कुरा ता उही ‘रम्जाटार’-कै दोहोरी हाल्छ ।  जति गरे पनि बराज्यू को’नि के ता बाहिरै भनेजस्तै हाम्रा ठूला-बडाहरूको बोलीको गोली रुम्जाटारको पल्लो भित्तामा मात्र ठोकिएर हो क्यारे… क्यारेम बोर्ड गोटीजस्तै रिबन भएर रुम्जाटारको सेन्टरमा उफ्रिरहन्छ । ‘घुम्दै फिर्दै रुम्जाटार’ ।

जस्तो जेत गरे पनि, संसार नै विजय गरे पनि आखिर उही ठाउँमा वा स्थानमै आएर थन्किनु नै पर्छ भन्ने अभिधात्मक ‘घुम्दै फिर्दै रुम्जाटार’ उखानले अर्थ्याए झैं हाम्रो भविष्यमा पनि ‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने उखानले शत प्रतिशत खाप खाएको देखिन्छ ।

हेनतेन नभनी एउटा कथा यहाँहरू समक्ष राखेर यो ‘घुम्दै फिर्दै रुम्जाटार’ उखानलाई सम्मान गर्न चाहन्छु ।
एकजना मानिसलाई विशाल जमिन चाहिएको हल्ला राजाले सुनेर तिनलाई उनले चाहेको जत्ति पनि दिने कबुल गर्छन् । तर राजाको एउटा शर्त थियो । त्यो शर्त के थियो भने, जमिनका लोभी मानिसले बिहान घाम उदाएदेखि साँझ घाम अस्ताउञ्जेल आफूले परिक्रमा गरेका खण्डमा उनलाई उनले परिक्रम गरिसकेका जम्मै जमिन प्रदान गरिनेछ भन्ने राजाको शर्त रहेको थियो ।  तर उनी जहाँबाट आफ्नो यात्रा आरम्भ गर्छन् घाम डुबेको बेला सोही ठाउँमा आएर आफ्नो यात्रा समाप्त गर्नुपर्ने शर्त पनि उनलाई सुनाइन्छ । उनले त्यसै गरे । बिहान घाम उदाएदेखि साँझ घाम अस्ताउञ्जेल ती मानिस गतिलै जमिन हत्याउने लोभमा दुगुरे…दुगुरिरहे । म यति विशाल जमिनको मालिक हुनेछ भन्ने विचार लिएर उनी दुगुरिरहे । ठिक साँझपख घाम डुब्ने बेलामा ती मानिस आफूले यात्रा आरम्भ गरेको ठाउँमा स्या…स्या…हुँदै आइपुगे । तर आफ्नो यात्रा सिद्ध्याउने बित्तिक्कै ती मानिस जमिनमा लोट्छन् । त्यही उनको प्राण गयो । अन्त्यमा राजाले त्यही ठाउँमा तिनका दाह संस्कार सम्पन्न गरे । ‘घुम्दै फिर्दै रुम्जाटार’  ।
हामी पनि ती जमिनका लोभी मानिसजस्तै सायद दुगुरिरहेका छौं…कुदिरहेका छौं दिन रात एक गरेर । सायद हामीले चाहेको कुनै न कुनै दिन हाम्रो थाप्लोमा जुरला कि भनेर हामी सबै अहिल्यैसम्म पनि श्वासै नबिसाई दुगुरिरहेका छौं…अहर्निश । ता’कि भोलिको दिन हाम्रो आँगनमा उज्यालो घाम अस्ताउँनेछ  अनि त्यो उज्यालो घामले हाम्रो आङ न्यानो हुनेछ । हामीभित्रका पीरहरू घामको रापले भेटर खङरङ्ङै हुनेछ । हामी यही आशा र भरोसामा छौं । हाम्रो भोलिको दिन सुखिलो, टेसिलो र रमाइलो हुनेछ भन्ने आशा र भरोसामा हामी अहर्निश काकाकुली छट्पटिरहेका छौं । तर कतै डर लाग्छ…..

हाम्रो यो अहर्निश काकाकुली छट्पटाइ ‘घुम्दै रुम्जाटार’ ।

हाम्रो यो मृगतृष्णा ‘घुम्दै फिर्दै रुम्जाटार’ भुँवरीमा नफँसोस् ।

यो ‘घुम्दै फिर्दै रुम्जाटार’-ले तपाईं-हामीलाई नाङ्गो झार नबनाओस् ।

हे भगवान् ! यो ‘रुम्जटार?-बाट हामीलाई उद्धार गर्नोस्…उद्धार गर्नोस् ।