मेरो बढुवा भएदेखि नै श्रीमती हाकिमनी भएकी छे । जहाँ जाँदा पनि अनि जे गर्दा पनि उसको फऱ्याकफुरुक हेर्न लायक भएको छ । “हाकिमनी पो हो मत, पहिलेजस्तै झार्लाङ्गे तालले कहाँ हिँड्नुभयो त !”, उसको आफ्नै बयान हुन्छ हरेक क्रियाकलापमा । आइबक्स्योस् र खाइबक्स्योस् भन्दै आफ्नो बोलाइलाई पनि सुधार गरेकी छिन् उनले । त्यो मात्रै कहाँ हो र छोराछोरीको लगाइ, खुवाइ र बोलाइमा पनि उनको नियन्त्रण चल्न थालेको छ । छरछिमेकमा आफूभन्दा तल्लो ओहदाकाहरूसँगको व्यवहारमा परिवर्तन आएजस्तै उनिहरूसँग उनको बोल्ने शैली पहिलेजस्तो छैन । मेरो बढुवाले उनमा लेराएको यस्तो विकास देख्दा म पनि दङ्ग परेको छु । उसका साथीहरू भन्छन्, “अब त तिमी हाकिमनी भयौ, अलि ठाँट देखाएर हिँड्नुपर्छ ।” माइती खलक पनि थप्छन्, “छोरा छोरीलाई निकाल अब त्यो सरकारी स्कुलबाट । तिमी हाकिमनी भइसक्यौ, अब त बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्छ ।” श्रीमती सबैको कुरामा ‘हो’ मा ‘हो’ मिलाउँछे । मेरो बढुवाले लेराएको उसको खुसीको मूल्याङ्कन गर्ने कुनै तरिका नै छैन । उनि खुसी छिन् । अनि उनको खुसीमा आफ्नो खल्ती रित्तिने, टाउको दुख्ने लगायतका बिमारीहरूको लर्को लाग्न थालेको देख्दा अत्तालिन पुग्छु म । एकातिर सम्भावित समस्याहरू छन् त अर्को तिर खुसीको बहार छ । धन्य होस् मेरो बढुवा ! साथीभाइहरू ‘पार्टी कहिले’ भनी ताना मार्छन्, छोराछोरी घुम्न जाऔँ भन्छन्, श्रीमतीलाई सुनको हार चाहिएको छ, सालोलाई आफैँमुन्तिर भए पनि एउटा जागिर चाहिएको छ, जेठानलाई ठेक्का मिलाइदिने सिफारिस चाहिएको छ । अब के-के मात्र गरूँ अनि के-के मात्र नगरूँ?
बढुवाले खुसीभन्दा बढी विपत्ति पो ल्याउन लाग्यो भन्दै खुसी मनाउन लेराएको लालमोहन खाँदा पनि तितोझैँ भान हुन थालिसकेको छ मलाई । आफ्नो तितोपनालाई अझ तितो बनाउन बाउआमा दुवै थप्छन्, “हामी त अब हाकिमको बाउआमा, हाम्रो पनि त केही बढोत्तरी हुनुपऱ्यो नि बाबु । कति यो चिसो छिडीमा बस्नु ? माथिको घाम लाग्ने कोठामा सारिदेऊ न । यो कोठामा बस्दा-बस्दा चिसो लागेर बाथले समात्लाजस्तो भइसक्यो । “बाउआमालाई छिँडीको कोठामा सार्ने फैसला हाकिमनीकै हो, कसरी बिथोल्न सक्थे र । यतिखेर उहाँहरूले मागेको बढोत्तरीको चाहना पनि हाकिमनीको हुकुमविना सम्भव हुँदैन भन्ने यकिन भएकाले आफ्ना बाउआमालाई सान्त्वनाबाहेक अरू केही दिन सकिरहेको छैन मैले । हाकिमको बाउआमा छिडीमा बस्दा आफ्नै इज्जत जाला भन्ने डर देखाउँछन् दुवै, म चाहिँ नसुनेझैँ बहाना बनाउँछु प्रायः ।
इष्टमित्रहरू मेरो बढुवामा खुसीभन्दा बढी ईर्ष्या व्यक्त गर्छन् आफ्नो हरेक शब्द अनि व्यवहारमा । बिहे गरेर गइसकेका दिदीबहिनीहरू माइती आउँदा कोसेली बढ्नुपर्ने माग गर्छन् भने ज्वाइँ, भिनाजुहरू सिफारिसको आशामा आफ्नो पनि बढोत्तरीको सपना देख्न थालेका छन् । मेरो एक बढुवाले सबैतिर गजबको जादु चलाएको छ । अचम्म ! उता ससुरालीतिरको कुरा त्यति नै रसिलो छ । सासूससुराको नाक घिरौँलाभन्दा पनि ठुलो भएको छ मेरो बढुवाले । उनीहरूको धाक छिमेकीहरूलाई पचाउनै गाह्रो भइसक्यो । सासुको मुखबाट तारन्तार निस्कने ‘मेरो हाकिमनी छोरी’ सुन्दा यस्तो लाग्छ मानौँ उनको बाहेक अरूको छोरी हाकिमनी नै भएका छैनन् ।
ससुरा फोन गर्छन् मलाई, “हाकिम साब, हाम्रो घरको पछाडि बग्ने नाली अलि गन्हाउन थाल्यो । यसो हजुरले भनिदिएदेखि नगरपालिकाले सर सफाइ गरिदिन्थ्यो कि ” फोहोर बग्ने नालीको जग्गा मिचेर घर बनाउनु छ, अनि अहिले आएर गन्हायो भन्दै मेरो ओहदाको फाइदा लिन खोज्ने बुढा भन्दै म भित्रभित्रै आफैँसँग कुरा गर्न थाल्छु । फोहोर बग्ने नाली सफा गर्न मेरो बढुवा भएको जस्तो, जान्नु तान्नु केही छैन जे मुखमा आयो त्यही बोलिदिने मेरा ससुराजस्ताहरूको के कुरा गर्नु !
आफ्नै अफिसको माहोल बेग्लै छ । पियन, खरदार, सुब्बा देखि कम्प्युटर चलाउने ठिटीहरू सबैलाई पार्टी चाहिएको छ । कसलाई रिझाउनु अनि कसलाई रिसाउन छोडिदिनु ? आफूभन्दा माथिका हाकिमहरूको त अझ कुरै अलग छ । उनीहरू राजधानीको पाँचतारे होटलमा कक्टेलको आयोजना गर्नुपर्ने कुरा गर्छन् । आफ्नो श्रीमतीको फर्माइसदेखि लिएर सम्पूर्णको इच्छा पुरा गर्नलाई त घरै बेचे पनि नपुग्ने हो कि भनेको जस्तो भइसक्यो ।
श्रीमतीले हाकिमनी पद सम्हालेदेखि नै एकपछि अर्को गर्दै आइरहेका आवश्यकता, चाहना, अनि मागरूपी क्षेप्यास्त्रहरूले घाइते बनिसकेको म बढुवासढुवा रोकेर पुरानै पदमा फर्किऊँ कि भनिसोच्न थालेको छु । मेरो यो सोचले टाउकोदेखि खुट्टासम्म नजानिँदो पाराले ज्वरो निकालिसकेको पत्तो पाउन सकिरहेको थिइन मैले तर उता हाकिमनीले थाहा पाइछन्, परयो बित्यास ! “किन ज्वरो आयो, कसरी आयो ?” आदि प्रश्नहरूलाई के भनि जवाफ दिऊँ अब । कति वेलासम्म जवाफ नदिई बस्न सक्थेँ र फेरि । बाघको अगाडि परेको निरीह बाख्रोजस्तो, हाकिमनीको सामु सत्य सबै ओकलिहाल्न पुगेछु, चाहेर भनूँ वा नचाहेर भनूँ । त्यसपछिको माहोल को के कुरा गर्नु । झन्डै भूलोक छोड्नुपरेको थियो मैले । उनको हाकिमनी पद खोस्न लागेको कसुरमा अब कति रात जाग्रामै बस्नुपर्ने हो अनि कति दिन भान्छा छिर्न नपाइने हो आफूलाई नै थाहा छैन ।
पछि मनमनै निर्णय गरेँ, आफूलाई बेच्न परे पनि बेच्दा हुन्छ तर उनको पद खोस्न पाइन्न । सबै माग पूरा गर्नैपर्छ । बढुवा स्विकार्नैपर्छ । उनीलाई हाकिमनी बनाइनै राख्नुपर्छ ।
जय हाकिमनी साहेब ! जय होस् हजुरको !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।