मन्त्रीपरिषदको बैठकमा छलफलका लागि विभिन्न कार्यसूचिहरु पेश भए । विगतका प्रचलनअनुसार यसपटक पनि औपचारिकता निर्वाहका लागि पर्याप्त छलफलबिना नै कार्यसूचीमा रहेका विषयहरु स्वीकृत भएको जानकारी गराइयो । प्रधानमन्त्री अर्को महत्त्वपूर्ण कार्यक्रममा ब्यस्त हुनु पर्ने भएकोले बैठक धेरै नलम्बिने सुइँको बैठकमा उपस्थित मन्त्रीहरुले पाइसकेका थिए ।

विजयराज पोखरेल

“माननीयज्यूहरुको कुनै कुरो छ भने अर्को पटक राख्नु होला । अहिले मलाई अलि हतार भएकोले एकदुई कुरा राखेर म आजलाई बिदा हुन्छु,”– बैठक समापनको क्रममा प्रधानमन्त्रीबाट आज पनि पक्कै आफ्नो मन्तब्यमा केही न केही नौले कुरो आउने भयो भनेर सबै मन्त्रीहरुले कान ठाडो पारे ।

“लोकतान्त्रिक पद्धति अनुरुप निर्वाचन गर्न खोज्दा हामीलाई घेराबन्दीमा पारिएको विषयमा यहाँहरुलाई मैले धेरै भन्नै पर्दैन । यहाँहरुलाई अवगत नै भएको विषय हो । त्यसैले कुनै बिलम्ब नगरी जतिसक्दो चाँडो संविधानसम्मत तवरले निर्वाचन गर्नु पर्ने चुनौती हाम्रोसामु खडा भएको छ । विद्यमान संसदले हामीले सोचेअनुरुप हामीलाई काम गर्ने वातावरण नै दिएन । अब हाम्रो चाहना अनुरुपको बहुमत भएको संसद् निर्माण गर्नुपर्ने भएको छ । त्यसैले यो सरकारको कार्यकालअगावै निर्वाचन हुनेमा शंका नगर्न र निर्वाचनमा आफ्नै दलले भारी मतले जित्ने विषयमा पनि कुनै दुविधा नराख्न म तपाईंहरु सबैलाई आग्रह गर्दछु ।”– मन्त्रीहरुको नाडी छाम्न शिर ठाडो पार्दै प्रधानमन्त्री रोकिए । बैठकमा एकछिन मौनता छायो ।

एक ढिक्का भएको पार्टी छिन्नभिन्न भएको अवस्थामा आगामी निर्वाचनमा बहुमत प्राप्त हुने कुरामा भने कतिपयलाई धुकचुक नै थियो । वस्तुगत आधारविना नै बोल्ने बानी भए तापनि गफले कसैलाई जित्न नदिने, त्यसमाथि कसैको तर्कसंगत कुरो नसुन्दिने भएपछि प्रधानमन्त्रीको आशयविरुद्ध जाँदा उल्टै अरिँगालको गोलामा हात हालेको जस्तै हुने भएकोले मन्त्रीमंडलका सदस्यहरु एकहोरो श्रवण गर्न अभ्यस्त भइसकेका थिए । त्यसैले प्रधानमन्त्रीज्यूले बोलेको हरेक शब्दको मुक्तकण्ठले प्रशंसा गर्नु नै सबैले श्रेयस्कर ठाने । अरुबेला पनि प्रधानमन्त्रीको बोली सुनेर नतमस्तक भएको भान दिलाउने मन्त्रीहरुले यस पटक पनि मुन्टो हल्लाएर अगाडि बढ्न सहमति दिए ।

परिस्थिति विगतभन्दा प्रतिकूल रहेको अवस्थामा बहुमत कसरी ल्याउन सकिएला भन्ने विषयमा असमञ्जसमा परेर घोत्लिएका मन्त्रीहरुको अनुहार पढेपछि प्रधानमन्त्रीले उपस्थित मन्त्रीहरुको मनोबल उच्च बनाउन मजैले ढाडस दिनुपर्ने आवश्यकता देखिएको ठहर गर्दै निर्धक्क आफ्नो धारणा राखेँ – “इतिहासमै नभएको विकास हाम्रो सरकारले गरेको छ । आगामी दिनमा पनि यो देश हामी बाहेक अरु कसैले बनाउन सक्दैन भन्ने कुरो जनताले बुझिसकेका छन् । बेलाबखतमा तपाईं–हाम्रै कमजोरीका कारण भ्रष्टचारका केही घटनाहरु बाहिरिँदा दुईचार जनाले हल्लाखल्ला गरे पनि विगतका सरकारहरुको तुलनामा हाम्रो सरकार कम भ्रष्ट रहेको कुरा जनताले पत्याइसकेका छन् । सरकारमा आएपछि हामीले संचालन गरेको विभिन्न गतिविधिहरुबाट जनता हामीप्रति नतमस्तक भएका छन् । जनता हामीसँग खुसी छन् । जनता खुसी भएपछि निर्वाचनमा मत पनि हामीले नै पाउने हो । मत पाएपछि हाम्रो बहुमत नहुने कुरै भएन । खुसी जनतालाई कुप्रचार गरेर अन्य दलहरुले दिग्भ्रमित पार्न सक्छन् । यसतर्फ हामी सचेत रहनुपर्छ । हाम्रा विरोधीहरुलाई कुन बेला ? कहाँ ? कसरी ? ठेगान लाउने र आवश्यक पर्दा तीनलाई जुनसुकै बेला परास्त गर्नसक्ने अचुक औषधी मसँग भएपछि तपाईंहरुले चिन्ता गर्नै पदैन । तपाईंहरुको आडभरोस भए काफी हुन्छ मलाई । जनतालाई दिग्भ्रमित हुन नदिन र खुसी तुल्याइरहन हामीले निरन्तर रुपमा कुनै न कुनै अस्त्रहरु प्रहार गरिरहनु पर्दछ । यसको अर्थ हामीले सरकार विकास निर्माणका काममा अहोरात्र लागिरेहको आभास जनतालाई दिइरहनु पर्छ । कुनै न कुनै नौला कार्यक्रमहरु ल्याइरहनु पर्छ । तत्कालै उद्घाटन गर्ने खालका कार्यक्रमहरु छन् भने ल्याउनुस् । निर्माणाधीन परियोजनाहरु सतप्रतिशत पुरा हुनैपर्छ भन्ने पनि छैन । ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएका छन् भने उद्घाटन गर्दिइहालौं । यदि तपाईंहरुको नजरमा तुरुन्तै उद्घाटन गर्ने परियोजना तथा कार्यक्रमहरु छैनन् भने शिलान्यासका कार्यक्रमहरु त गर्न सकिन्छ ।”

प्रधानमन्त्री एकछिन अडिए । बैठक कक्षवरिपरि आफ्नो आँखा घुमाए । फेरि एकपटक सबै मन्त्रीहरुको अनुहार पढे । मन्त्रीहरुको मुहारमा अलि चमक आएको ठम्याए । मन्त्रीहरु भने एकछिन एकआपसमा मुखामुख गरे । अनि प्रधानमन्त्रीकै मुहारमा नजर मिलाएर अगाडि बढ्न अनुमति दिए ।

प्रधामनमन्त्रीले आफ्नो मन्तब्य अगाडि बढाए– “फेरि पनि म तपाईंहरुलाई भन्छु, तपाईंहरु ढुक्क हुनुस् । आगामी निर्वाचनमा हामी प्रचण्ड मतले जित्छौँ तर यसका लागि बाँकी अवधिमा जनताको ध्यान निरन्तर हाम्रो सरकार र दलमा केन्द्रित गराइराख्न जरुरी छ । तसर्थ, म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु । आआफ्ना मन्त्रालयबाट उद्घाटन/शिलान्यासका कार्यक्रमहरु चाँडोभन्दा चाँडो पेश गर्नुहोस् । हामीले जसरी पनि विकास गर्ने हो, त्यसैले शिलान्यास गर्नलाई योजना तथा बजेटमा परेकै कार्यक्रम हुनुपर्छ भन्ने पनि छैन । योजनामा, बजेटमा पार्नुपर्ने काम पछि गर्दै गरौंला । त्यसमाथि शिलान्यासका लागि तत्कालै बजेट चाहिँदैन । जति शिलान्यास गरे पनि हुन्छ । अहिले धमाधम शिलान्यास गरियो भने पछि उद्घान गर्न पाइन्छ । त्यसैले उद्घाटन गर्न पनि शिलान्यासलाई प्राथमिकता दिन जरुरी हुन्छ । हाम्रो पहिलो कार्यकाललाई हामीले शिलान्यासको युगको रुपमा लिँदा पनि हुन्छ । बजेटले भ्याएसम्म कार्यान्वयन गरौंला, नभए अर्को कार्यकाल छँदैछ । आगामी निर्वाचनको आचारसंहिता घोषणापूर्व नै धेरैभन्दा धेरै शिलान्यासका कार्यक्रमहरु सञ्चालन गर्न सक्यौं भने हामीप्रति जनताको विश्वास बढेर जानेछ । प्रतिकूलताका बाबजूद पनि यो सरकार विकासप्रेमी रहेको सन्देश गाँउगाँउमा पुग्नेछ । यो सरकार काम गर्न खोज्दोरहेछ, विकास विरोधीहरुले पो काम गर्न नदिएका रहेछन् भन्ने सन्देश व्यापक रुपमा फैलिने छ । यति भएपछि निर्वाचनमा हाम्रो दलले बहुमत नल्याउने प्रश्नै भएन ।”

प्रारम्भमा अलमलमा परेका मन्त्रीहरु पनि प्रधानमन्त्रीको मन्तव्य सुनेपछि उत्तरार्धमा अलि हौसिए । शुरुमा मनगढन्ते लाग्ने जस्तासुकै विषयवस्तुहरुलाई पत्यारिलो बनाउनका लागि माहिर प्रधानमन्त्रीको वाककला र वाक्केलीको कौशलताबाट यसपटक पनि सबै मन्त्रमुग्ध भए । प्रधानमन्त्रीले प्रस्तुत गरेको रोचक खुराकबाट सबैले आआफ्नो मनोबल बढेको अनुभूति गरे । उद्घाटनका लागि लायकका कार्यक्रमहरु तत्काल नरहेको हुँदा शिलान्यासका कार्यक्रमहरुको खोजी गरी छिटोभन्दा छिटो पेश गर्ने प्रतिबद्धता मन्त्रीहरुले बैठकको अन्त्यमा जाहेर गरे ।

भोलिपल्ट मन्त्रालयमा उपस्थित हुनासाथै मन्त्रीहरुले पनि आआफ्ना मातहतका सचिवहरुलाई तत्कालै शिलान्यासका लागि कार्यक्रमहरु पेश गर्न निर्देशन दिए । पेश गरिने आयोजनाहरु जतिसक्दो आकर्षक र महत्त्वाकांक्षी हुनुपर्ने पनि जानकारी गराए । सचिवहरु बीच खैलाबैला भयो । बिना पर्याप्त गृहकार्य, अध्ययन एवं छलफल र आवश्यक बजेटको पूर्वानुमान नगरी कुनै पनि परियोजना शिलान्यासका कार्यक्रमहरु गर्न उचित नहुने राय सचिवहरुले आआफ्ना मन्त्रीहरुलाई सुझाए । मन्त्रीहरुको चट्टानजस्तो अडानको अगाडि सचिवहरुको कुनै जोड चलेन । कुनै पनि योजना तथा कार्यक्रम तर्जुमा गर्दा व्यक्तिगत लहडभन्दा यथार्थपरक, मौजुदा नीतिनियम र विधिसम्मत हुनुपर्ने विषयमा जानकार हुँदाहुँदै पदीय जिमेवारी थाँती राखेर मन्त्रीका अगाडि लाचार हुनुपर्ने बाध्यता यसपटक पनि आइलाग्यो । नचाहँदा नचाहँदै पनि शिलान्यासका कार्यक्रमहरु निर्देशन बमोजिम नै पेश भए ।

शिलान्यासका कार्यक्रमहरु पेश भएकै दिन, बेलुका समाचार आयोः

“सरकारद्वारा विकास निर्माणलाई तिव्रता दिन एक दर्जनभन्दा बढी परियोजनाहरु सार्वजनिक । सम्बन्धित मन्त्रालयहरुसँगको समन्वयमा अनुकूल समय तय गरी सम्बन्धित आयोजनाको प्रधानमन्त्रीद्वारा क्रमिक रुपले शिलान्यास हुने । सार्वजनिक गरिएका आयोजनाहरु निम्न अनुसार रहेका छन्ः

१.अन्तरप्रादेशिक विद्युतीय रेलमार्ग
२. केरुङ्ग–काठमाण्डौ विद्युतीय रेलमार्ग
३. काठमाण्डौ–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग
४. काठमाण्डौ–वीरगंज विद्युतीय रेलमार्ग
४. पूर्व–पश्चिम पहाडी केवलकार
५. हिमाल–तराई केबलकार (ताप्लेजुङ्ग–झापा, सोलुखुम्बु–सप्तरी, दोलखा–धनुषा, रसुवा–पर्सा, मुस्ताङ्ग–कपिलवस्तु, हुम्ला–बाँके, दार्चुला–कैलाली)
६.कोशी, गण्डकी, कर्णाली पानी जहाज परियोजना
७. पूर्व–पश्चिम तराई नदी अन्तरबन्धन परियोजना
८.रसायनिक मल कारखाना
९.एक महानगर एक मेट्रो रेल
१०. एक पालिका एक भ्यू टावर
११. एक पालिका एक प्राविधिक शिक्षालय
१२. एक पालिका एक खेलकुद रङ्गशाला
१३. एक पालिका एक शीतघर
१४. एक वडा एक स्मार्ट कृषि बजार स्थल

यसका साथै कोभिडको महामारीलााई मध्यनजर गर्दै स्थिति सहज नहुन्जेल आयोजना शिलान्यासका कार्यक्रमहरु भर्चुअल माध्यमबाटै संचालन हुने सरकारका प्रवक्ताले जनाएका छन् ।”