रक्तदान शिविर ।

आयोजक संस्थाका भोलियन्टरहरू देब्रे छातीमा क्वार्टर प्लेटजस्तै ब्याज सिउरेर दुगुरा-दुगुर गरिरहनेछन् । एउटा महोत्सव ।

लस्करै पलङहरू सेता च्यादर र सैते सिरानीमा मस्त भएर रक्तदाताहरूलाई कुरिरहेका छन् । एकजना विराट् साइजका मान्छे लमतन्न परेको देखिँदैछ । तिनको शारीरिक भाषा हेर्दा काटाकुटी युरियाले भेटेको लौकाजस्तै देखिन्छ । लिभर मदिराको रसमा चोबलिएकाले अनुहार छिप्पेको इस्कुसजस्तो देखिए पनि पार्लरको फेसियलले झर्झराउँदो नै देखिन्छ । चिरिच्याँट्टै पहिरन । पेटमा महङ्गो दामको ब्रान्डेड पेटी देखिए पनि पेटसेट नभएकाले पेटी पर्लक्कै पल्टेर झुक्रेको पाथीझैँ नै देखिन्छ । जिउमा फरेनसरेनको आधा बोतल बोडी स्प्रे खन्याएको होला सायद उल्टी आउने मगमग बास्ना घरिघरि नाकको दुलामा थुरिन्छ । छेउमा दुईजना भोलियन्टर्स अनि साथमा चाचारजना नर्सहरू पलङका वरिपरि देखिन्छन् । टाढाबाट हेर्दा गुलिभर लखतरान भएर ढल्किरहेको अनि तिनका लिलिपुटहरू उभिएका देखिन्छ ।

चार जना नर्सहरूमध्ये एउटी नर्सलाई अलिक होची भएकीले रक्तदाता महोदयको भाले ढुङ्गाजस्तो पेटको डिलले छेलेकाले  आक्कल झुक्कल ती नर्सको क्यापमात्र चल्मलाएको देखिन्छ । पेटको डिलबाट कथङ्कल चिप्लेर झिङ्गा वा कमिला तल खस्यो भने ऐया पनि भन्न नपाई ठहरै हुने खाल्को पेट ।

कृष्ण प्रधान (सिलिगुढी)

तिनको पालो आयो । हाफ भेस्ट भएकाले लुगा सुर्काउनु परेन । एकजना नर्सले पाखुरामा स्पिरिट दलेर टुनिकेट बाँध्न थालिन् । पाखुरा पनि लरतरो ता कहाँ हो र मेरी बास्सै ! युरियाले भेटेको भन्टाजस्तो । टुर्निकेट बाँध्न नर्सलाई हम्मे पऱ्यो । साह्रै परेकाले एकजना तरूणी भोलिन्टियर बहिनी मुस्कुराउँदै आएर आफ्नो पछ्यौरा दिई अनि सोही पछ्यौराले तिनको पाखुरा बाँधेर रगत निकालियो । आधा बोतल पनि पूरा नभई रगत तान्न रोक्ने निर्देश भयो । रक्तदाता मात्र होइन तिनका वरिपरि उभिएका नर्स भोलियन्टर्स बिलखबन्द परे । सबैले रगत तान्न बन्द गराउनेको मुखमा ट्वाल-ट्वाल्ती हेरे । तर तिनले जे गरे ठिकै गरे । किनभने तिनको रगत होइन ह्विस्की थियो । नसा-नसामा ह्विस्की प्रवाहित हुँदो रहेछ तिनको । म्याकडोनाल, डाक्टर, टिचर, आरबी, भाँती अनि कोदाको जाँड मिसिएको चिरिपरगत । तिनी ठूला सरकारी अनुमोदित कन्ट्र्याक्टर । महिनामा चालिस-पचास हजार ता चिरिपमै स्वाहा । पच्चिस लाखको एयर कन्डिसनर गाडी ।

वर्षमा एकपल्ट सपरिवार विदेश यात्रा । रक्तदान शिविरमा ओछ्याइएको सेतो च्यादर नाथे तिनका निम्ति केही होइन….क्याटका क्याट नोटका बिटाको डसनामा सुत्न सक्ने क्षमता ।

माटो, सिमेन्ट, रडसित लुकीचोरी खेल्ने मान्छे परे । यस्ता माटो, सिमेन्ट कति बुकाइसके बुकाइसके भने कति रड मरकमरक पारिसके, त्यसको हिसाब छैन वा अडिट गर्ने अडिटर अहिलेसम्म जन्मेकै छैनन् । यो कन्ट्र्याक्टर जिपनमा हात हालेदेखि यिनले कति माटो, सिमेन्ट बुकाइसके अनि रड कति चपाइसके सो ता तिनको शारीरिक भाषाले नै छर्लङै पार्छ ।

कुकुर भनेपछि जिउ-ज्यान दिन्छन् यी कन्ट्र्याक्टरसाहेब । घरमा गतिलो कुकर पालेका छन् । तपाईँ-हामीले पाल्ने लुतो कुकुरजस्तो होइन तिनी ‘टिबेटियन मेस्टिफ’ ब्रिड पाल्छन् । यसलाई नेपालतिर ‘भोटे कुकुर’ पनि भनिन्छ । हेर्दै डँडाक…नब्बे किलोसम्म वजन । त्यसका निम्ति एयर कन्डिसनर खोर तयारी छ । त्यसलाई हेर्न उस्तै दुईजना स्वाँठ परेका युवकहरू खटाइएको छ । बिहान मर्निङ वकमा डोऱ्याउन यी दुवै स्वाँठलाई त्यसले हत्तु हैरान पार्छ । तपाईँ-हामीजस्ताले यसलाई डोऱ्याउनु पऱ्यो भने दुई-दुईवटा ठुल्ठुला ढुङ्गा काँधमा भिरेनौँ भने हुत्याएर कहाँ पुऱ्याउँछ-पुऱ्याउँछ (यस टिबेटियन मेस्टिफबारे पाद टिप्पणी हेर्नू) ।

समाजप्रति यिनलाई लुतो कनाइ केही थिएन । आफूले कमाएको रकमबाट सामान्य अंश समाजमा खर्च गर्दा कुनै पनि कार्यक्रममा तिनीसँगै श्रीमतीलाई पनि निम्त्याइन्छ र माथि मञ्चमा बसी खादा-माला लाउन पाइन्छ भन्ने लोभमा तिनलाई श्रीमतीले समाजसेवा गर्नेतर्फ हुट्हुट्याएकी हुन् ।

जातिको अस्तित्वका निम्ति किसिम आन्दोलनहरू भए । कतिले ज्यान दिए, कतिले रगत बगाए । उसले त्यस्तो आफ्ना जातिका निम्ति रगत बगाउने आँटै गरेन जिन्दगीमा । अहिले बाँच्नका निम्ति वर्षमा एकपल्ट थोत्रे, काम नलाग्ने रगत दान गर्न थालेको छ । तर तिनको रगत मदिरा हुनेछ भन्ने कसलाई थाहा ?

वर्षमा करोडौँ रूपैयाँ कमाउने कुरो मनमा हुनुबाहेक तिनका मनमा अरू केही छैन । रगत छैन । हृदय छैन । लिभर छैन; मुटु ता झन् छँदैछैन । बस् मलाई वर्षमा एक करोडको व्यापार चाहिन्छ । टिबेटियन मेस्टिफ ब्रिडजस्तै यो मान्छे पनि ब्रिज जनावर हो ।

रक्तदान शिविर । लम्बेतान वक्तव्य । माझ माझमा कानको जाली फुटाउने गरी नेपाली रक सङ्गीत । फेरि वक्तव्य । भोलियन्टर्सहरूको रगरगी । ग्वारग्वार्ती समाजसेवकहरूको ताँती । रगत व्यापारीहरूको उस्तै भीड । गाउँमा महोत्सव चलिरहेछ । रक्तदान शिविर ।

अर्को पलङमा युरियाले गजबले भेटेको भन्टाजस्ता मान्छे चित परेर सुतेको देखिँदैछ । कसैले गतिलो चड्कन लगाएकोजस्तो मुहार, पहिरन पनि गजबकै । मान्छे हेर्दा जीवनमा अरू कुनै कुरामा ध्यान नदिए पनि पेट बढाउनमा गतिलै समय फुर्मास गरेजस्तो देखिन्छ ।  यस्ता खाले मान्छेहरू धेरै रक्तदान गर्न पलङमा सुतेका देखिन्छन् । यिनीहरू संसारका टिठलाग्दा मानिसहरू हुन् । यिनीहरू न परिवारकै हुन् न ता समाजकै । खासै यिनीहरू कम्पनीका मानिसहरू हुन् । मनिब्याग भन्दा हुन्छ । झोपडीमा वास गर्नमै मनग्गे आनन्द उपभोग गर्छन् । मालिकहरू बर्सेनी घुम्न गएजस्तै परिवार लिएर कतै घुम्न जाने इच्छा हुँदा-हुँदै पनि आर्थिक मेरुदण्ड उहिल्यै खँजाहा भएकाले महाकवि देवकोटाको निम्न कविता परिवारलाई सुनाएरै भ्रमण-तिर्सना मेट्छ –

“आनन्दको एक कुटी छ झोपडी
म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर ।”

“विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी  घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन । । (देवकोटा – गरीब)”

रक्तदान गरेपछि शिविरबाट दिइएको केरा र आइफल मुखमा हाल्दै जिउभरि रक्सी रगत बोकेको मान्छेको गफ (दार्जिलिङे भाषामा बिग टक [बीटी]) सुरू हुन्छ । जीवनमा अनेकन सङ्घर्ष गरेर बल्ल आफूलाई सफल सक्सेस् मान्छे भएजस्तो लाग्छ । जीवनमा केही थिएन मेरो । अचेल के छैन मसित ? टिबेटियन मिस्टिफ ब्रिड कुकुर छ । सधैँ त्यसले पाँच किलो मासु खान्छ । यहाँका कुन नेताले पाँच-पाँच किलो मासु खान सक्छन् ?

ऐरे-गैरे-नत्थुखेरैले उनको बिटी स्वाद मानेर सुन्छन् । फेरि उही कुरो, छोराहरूलाई विदेश पढ्न पठाएको छु । अनुहार कति झर्झराउँदा छन् । पन्ध्रवर्षमात्र टेक्दैछ, तर मसित हिँड्दा मलाई तिनीहरूको छोराजस्तो देखिन्छ, उनीहरूलाई मेरा बाबु ।

तिनकी श्रीमती फेरि अचम्मकै जनावर हो । काटाकुटी सूँड चुँडिएकी ढोई हात्तीजस्तै । एकै खेपमा दसवटा आइसक्रिम खान्छे ।

तिनको रात अचम्म पाराले बित्छ । रम-ह्विस्कीका बोतलहरू रित्तिन्छन् एकै रातमा । अघि गरेको रक्तदान रातभरिमा फेरि रम-ह्विस्कीसित अङ्कमाल गरेर नसाभरि सल्बलाउन थाल्छ ।

भोलिपल्ट खातेहरूले ती बोतल बटुली बिक्री गरेर आफ्ना पेट भर्छन् ।

रित्ता बोतलहरू एकार्कामा कानेखुसी गर्छन् – “फेरि भोलि-पर्सी ता भरिएर रक्तदाता महोदयकहाँ आउनैपर्ने हो ।”

पाद टिप्पणी – टिबेटियन मेस्टिफ डग ठुलो तिब्बती कुकुर हो । तिब्बतको वातावरणलाई सुहाउने यसको दोब्बर भुत्ला हुन्छ । तिब्बतीहरूले यसलाई घर तथा सम्पत्ति रुङ्न पाल्छन् । यस कुकुरमध्ये डाङोको उचाइँ कम्तिको पनि २६ इन्चीको हुन्छ भने छाउरीको उचाइँ २४ इन्चसम्मको हुन्छ । यो १०-१२ वर्षसम्म बाँच्छ । यसले बाघ पनि मार्न सक्छ । यो संसारको सबैभन्दा महङ्गो कुकुर हो – एक करोड रूपियाँसम्ममा यो बिक्री भएको तथ्य पाइएको छ ।