स्कुल माने कुनै पनि नयाँ चिज सिक्ने ठाउँ। स्कुलिङ्ग अर्थात् ती चिजहरु सिक्ने तौरतरिका । अनि राजनिति भनेको देशको मूल नीति । त्यही मूल नीति सिकाउने स्कुलहरुले नै देखाउँछन् देशको खास नीतिगत सिकाइ कस्तो छ भनेर।

हाम्रो देशमा त्यस्ता राजनिति सिकाउने स्कुलहरु थुप्रै छन् । फलस्वरूप हामी पनि मनग्ये साक्षर छौँ राजनितिमा। राम्ररी ध्यान दिनुहोस्, हामी साक्षर मात्रै हौँ, शिक्षित होइनौँ। किनभने हाम्रा ती स्कुलहरु आफैँमा भरपर्दो छैनन् । कामचलाऊ मात्रै छन् । तर एउटा कुरा चाहिँ पक्का हो, तपशिलका यी स्कुलहरुमध्ये कुनै न कुनै स्कुलमा हामी सबै छिरेका छौँ।

नेपालका राजनैतिक स्कुलहरु :

दिलिप बान्तावा

ओली स्कुल : यो ठ्याक्कै सरकारी स्कुलजस्तो छ । सरले घोकाउने, विद्यार्थीले सुन्ने । जस्तो घोक्यो त्यस्तै गर्ने । सृजनशीलता नहुने।

देउवा स्कुल : यो पुरानो, बूढो हेडसरले चलाएको सरकारी स्कुलजस्तै छ। हेडसर देखेर अरु सरहरु नि अल्छी गर्छन्। सहायक हेडसरलाई जिम्मेवारी दिएर बस्न नि हेडसरलाई मन लाग्दैन। यो स्कूलका विद्यार्थीहरु घाम तापे नि, रुख चढे नि, मुक्का हानाहान गरे नि वास्ता गरिँदैन।

दाहाल-नेपाल स्कुल : यो अर्धसरकारी स्कुलजस्तै छ । बकुल्लाले माछा ढुके झैँ मौका ढुक्ने, समय र सम्भावना अनुसार आफूलाई बदल्न सक्नुपर्छ भन्ने यो स्कुलको मुख्य शिक्षा हो ।

गौतम स्कुल : यो स्कुल झण्डैझण्डै सीटीईभीटी शैलीको हुन्छ । स्कुलका हेडसर निकै महत्वाकांक्षी स्वभावका छन् । यस स्कुलले अरुबेला पढाएको नदेखिने तर परीक्षाको बेला भने डण्डा लगाएर भए पनि परिणाम अनुकूल निकाल्न प्रयास गर्ने देखिन्छ।

बाबुराम स्कुल : योचाहिँ आफ्नै स्वामित्वको जग्गा नभएर लिजमा चलाइएको स्कुलजस्तै छ। बेलाबेलामा राम्रै सरहरुको व्यवस्था गरेर निक्कै उत्साहजनक पढाइ हुने हल्ला गरिन्छ। तर केही समयमै लिजको जग्गा छोडेर फेरि अर्कै ठाउँमा स्कुल खोलिन्छ।

भुसाल स्कुल : यो स्कुलमा दुई भुसाल छन् । यहाँ व्यवहारिकभन्दा सैद्धान्तिक पक्ष पढाउने गरिन्छ । पढाउने दुवै सर विद्वान् छन् । तर एक भुसाल काजमा खटिएकोले हाल यो स्कुल पनि खासै चलेको देखिन्न।

पोख्रेल, श्रेष्ठ, खनाललगायत स्कुल : यी स्कुल त्यति चलेका छैनन्, अरुले कमाएको देखेर खोल्न खोजिएका स्कुल हुन् । न स्कुल सञ्चालकसँग सिकाउने अनुभव छ, न विद्यार्थी तह लगाउने अभ्यास। एकोहोरो लेक्चर मात्र दिइने यो स्कुल खिचडीजस्तै छ।

वैद्य-विप्लव स्कुल : पुराना सबै खराब भन्दै नयाँ स्कुल बनाउन तम्सिएका यस स्कुलका सरहरु अरु स्कुलका सरहरुलाई सरापिरहन्छन्।

कमल-पशुपति स्कुल : यो गुठीले चलाउने स्कुलजस्तो छ । पुरानो भत्किएपछि नयाँ स्कुल बनाएर चलाइरहेको भए पनि, नयाँ कोर्स राखे पनि, बीचबीचमा पुरानै कुरालाई दोहोर्‍याएर पढाइन्छ।

मिश्र स्कुलः यो विदेशमा पढेका हेडसरले विदेशी पाराले चलाउन खोजेको स्कुल हो। अहिले आएर न देशी न विदेशी शैली भएर शिक्षकहरु जति घाम ताप्दै बदाम-सुन्तला खाएर बसेका छन्।