
यो नोकरीले मलाई जत्तिको थोत्रो बनायो, ठ्याक्कै त्यति नै थोत्रा मेरा अर्का मित्र छन् । लाऽमो सेवा अवधिको घुनले अलिअलि दाग लगाइदिएर थोत्रा कहलिएका हौँ हामी । पश्चिमी देशमा भए त यत्तिका थोत्रा मान्छेलाई अनुभवी, परिपक्व, ज्ञाता, प्रतिबद्घ भनेर शिरमा गजुर, कुममा दुईचारओटा सितारा लगाइदिन्थे होलान् । यता त जड्यौरीको भाउमा बिक्री हुन बाँकी छ । उता खै कता हो ? सत्तरी वर्षको उमेरमा पनि ‘डेटिङ’ गरिरहेका हुन्छन् रे । हामी तीन कोरी पुग्दा नपुग्दै रद्दीराम भैसक्छौँ ।
जे होस्, मेरा ती थोत्रा मित्र असाध्यै खास्सा छन् । मिलनसार पनि उत्तिकै । नाम उल्लेख किन गर्नु पर्यो र ? चिन्नेले चिनेकै छन्, नचिनेकालाई छुमतलब ? आकार, उकार, एकार, ऐकार सबै मात्रा हटाइदिने हो भने उनको पहिलो नाउँ तीनओटा सग्ला अक्षरले बन्छ । मेरो नाममा पनि त्यही एउटा आधा ‘न’ माझमा घुस्रेको त हो, नत्र बराबरी ।
हुन त मैले नामलाई अलि हेलचेक्र्याइँ गरेँ भन्ने लाग्यो । नामबिनाको म को ? तँ को ? तिमी को ? तपाईँ को ? होचो, अग्लो, कालो, गोरो, चुच्चो, थेप्चो भनेर मात्रै पुग्छ ? हरेक व्यक्तिको पहिलो परिचय उसको नाम हो । न्वारानदेखि मृत्युपर्यन्त सँगसँगै हिँड्ने भनेको यही नाम हो । अरूको त के भरोसा ? आफू जस्तोसुकै भए पनि नाम त सबैलाई गतिलै चाहिन्छ । गतिलो मात्रै भएर कहाँ हुन्छ ? आफ्नो नाम दुई मिल, तीन मिल, चार मिल परसम्म सबैले जानून्, सुनून् भन्ने रहर कसलाई लाग्दैन र ? यो दुनियाँमा कि नाम कमाउनका खातिर दुःख छ, कि दाम कमाउनका खातिर ।
थुप्रै वर्षअघिको एउटा किस्सा भन्छु जतिबेला मेरा नाकमुनि बाक्लो धर्सा पलाउँदै थियो । उमेर पनि सबैभन्दा रूपवान् थियो । भ्रमको उत्कर्षमय क्षणमा हुँदाको कुरा हो । हिँड्दै हिँड्दै प्युठान जाँदै थिएँ । साँझ पर्यो । गोडाले उचालिन मानेनन् । अब त बटुवाको रीतमुताबिक कसैका घरमा बास माग्न पर्यो । भोलि अझै एक दिन हिँड्नु छ । घरभेटी बाले आँगनमै ठड्याएर नालिबेली सोध्न थाले – घर कहाँ हो ? कसका छोरा हौ ? कसका नाति हौ ? मावली को हुन् ? जात के हो ? थर के हो ? कुन गोत्री हौ ? के कामले हिँडेका हौ ? कतिमा पढ्छौ ?
ओहो ! मुटु कलेजा जोख्ने गरी अन्तर्वार्ता लिए । उमेर सुहाउँदी छोरी भएको भए त दिन्थे पनि कि क्या हो ?
म पनि जुँगा पलाउन थालेको ठिटो, बुद्धि पनि फुर्तिलो थियो । फ्याट्ट कान्छाबाको नाम उच्चारण गरेँ, “म त ‘होतराज’को भतिजा हुँ“ । तीरले बूढालाई निसानामै लागेछ । भुतुक्कै भैहाले । बास पनि फ्री, गाँस पनि फ्री । काम्लो पनि पाइयो, काँसको बटुकामा घ्यू पनि खाइयो । बूढाले दश दिक्पालका मान्छेको विवरण फरर सुनाउँछन्, देवीभागवत्का पुरोहितले कथा वाचन गरेझैँ । यिनका आँखामा ग्यालिलियोको टेलिस्कोप जडान गरेको छ कि महाभारतका सञ्जय भन्ने यिनै हुन् ? म त छक्क परेँ ।
जे होस् ! कान्छा बाले हिँड्दाखेरि बाटोभरि आफ्नो नामको सुवास छर्दै हिँड्नुहुँदोरहेछ, जसको महकमा त्यसदिन म लुटुपुटिएँ । मलाई सही चेतना भयो, भानुभक्तले सिरान हालेको ढुङ्गामा हत्तपत्त कविता किन कोरेका रैछन् ?
अब नामका धेरै कुरा नगरौँ । जीवन भनेकै कुराको भारी रहेछ ।
मलाई जस्तै नोकरीले थोत्राएको मेरो साथी प्रशस्त दौलतमन्द छ । टेबलमाथिबाट पनि, टेबल मुनिबाट पनि दौलत निर्माण गर्न सिपालु छ ऊ । त्यसैले त ऊ टिलिक्क टल्कँदो छ, भर्खरै माझेको वर्तनझैँ । फाँट राम्रो हो कि आँट राम्रो ? म कुरै बुझ्दिनँ । आफूलाई भने अफिसमा कसैले बिहेको निम्तो दिएको सुपारी टोक्न पनि डर लाग्छ । थरर्र मुटु हल्लिन्छ ।
आँट राम्रो हुनेको छाँट नै बेग्लै हुँदोरहेछ । मेरो अनन्य थोत्रो मित्रले जे लगाउँछ ब्रान्डकै लगाउँछ । उसको जीवन नै ब्रान्डेड छ, बहुराष्ट्रिय छ । शिरपोसदेखि पाउपोससम्म, दन्तमञ्जनदेखि कनकर्नोसम्म ब्रान्डेड नभई हुन्न । स्वदेशी भन्नु त पञ्चतत्त्व मात्रै ! बाँकी सबैथोक विदेशी ब्रान्डका । हाम्रा ठाउँभरि ब्रान्डवादका ‘फलोअर्स’को बढ्ने वेग तीव्र छ । झाडापखाला र रुघाखोकीभन्दा पनि चाँडो सर्दोरहेछ यो एकजनदेखि अर्कोजनमा । लगनखेल, जाउलाखेल, झम्सीखेल, भुरुङ्खेलदेखि टुँडीखेलका मैदानभरि ब्रान्डवादको खेल छ । ब्रान्डेड खुश्बुको हरकले नाक हुरुक्कै हुन्छ । आफू त परियो राष्ट्रवादी । कुटीर उद्योगको प्रवर्धक । घरेलुवादी । उसको एउटै ब्रान्डेड सर्टले आफूलाई तीन थान राष्ट्रवादी कमीज बनाउन पुग्छ । मन शान्त भए रहरहरू पनि तपश्वी हुँदारहेछन् ।
अचेलभरि मेरा मित्रको ब्रान्डेड ठाँटबाँटले खै किन हो मलाई अटसमटस लाग्न थालेको छ । उसको चुरीफुरी झन्झन् बढ्दो छ । मलाई कार्यालय पुगेर उसलाई देख्नेबित्तिकै ‘सफोकेसन’ हुन थाल्छ । अफिसमा सबैले उसलाई इज्जतपूर्वक ‘ब्रान्डेड सर’ भनेर पुकार्छन् । महाकविको भलादमी पात्रले भन्दा पनि अग्लो कद बनाएछ यसले । आफू भने यति सुन्दर नाम भएर पनि नभए जस्तो भइयो । कुनै बेला देशका लागि शहीद हुने मौका थियो । बरू शहीद भएको भए पूर्ण कदको, अर्ध कदको, अटो कदको सालिक बन्थ्यो । चराचुरुङ्गीको आशन भइन्थ्यो । बेलाबखत गुणगान हुन्थ्यो । माला पहिराइन्थ्यो । शालिकका मुन्तिर नाम खोपिन्थ्यो । पाठशालामा पढाइन्थ्यो । विद्यार्थीका लागि एउटा प्रश्नसम्म त भइन्थ्यो ! त्यत्ति पनि हुन सकिएन । युनिभर्सिटीका डिग्री लिन सक्नेले कान्छा बाको जति पनि नाम कमाउन नसक्नु व्यर्थैको जूनी भयो ।
मैले अनुमान के गरेँ भने; अनुमान होइन, निश्चय नै के गरेँ भने यो ब्रान्डेड सामानमा एउटा अद्भुतको शक्ति, जादुमयी शक्ति हुँदोरहेछ । यो धारण गर्नेबित्तिकै दिनभरि घामले सेकेर लल्याक्लुलुक् परेको पालुवा रातिको शीतका प्रभावले कान्तिमय भएर ठडिएझैँ मानिसको आत्मविश्वास पनि ठडिँदो रहेछ । अनुहार पनि सारा चाया, पोतो, डण्डीफोर पखालिएर ज्योतिर्मय बन्दोरहेछ । चाउरिएका चर्महरू पनि ड्राइक्लिन गरेको वस्त्रझैँ तिनिक्क तन्किँदा पो रहेछन् । मेरो राष्ट्रवाद र घरेलुवाद मेरै निर्धनवादका परिणतिहरू पो हुन् कि क्या हो ? यो धन भनेको पारिलो घाम रहेछ । यो फक्रिनेबित्तिकै तुवाँलो गायब । ब्रान्डेड सर्ट पनि तुवाँलो गायब पार्ने घाम रहेछ ।
चार्वाकले ‘यावत् जीवेत् सुखम् जीवेत्, ऋणं कृत्वा घृतं पिवेत्’ भनेझैँ एउटा ब्रान्डेड सर्ट त नकिनी भएन । अलिकति पैसा मुठो पारेर हिँडेँ लखरलखर ।
“कुन ब्रान्डको दिऊँ ? यो दिऊँ ? कि त्यो दिऊँ ? ऊ त्यो पो दिऊँ कि ? हामीसँग धेरै ब्रान्डहरू छन् । मूल्य पनि … !”, पसले बोलिरह्यो, मलाई भनन्न भैरह्यो ।
ज्या …!! मैले त ‘ब्रान्डेड’ भनेको सूती, नायलन, टेरिलिन, पोलिस्टर, टेरिकटन भनेजस्तै एक प्रकारको फेब्रिक पो होला भनेको; यो त अरूथोकै पो रहेछ । गुणले, रङले, बनोटले, सजावटले, मूल्यले, हल्लैहल्लाले उच्च दर्जा पाएको कम्पनी माल रहेछ । मोल चर्को भन्नेबित्तिकै त्यसका धर्साधर्सामा सक्कली पस्मिनाको धागो टल्किन थाल्छ । ओहो ! यो त अर्को साम्राज्यवादी व्यापार शैली रहेछ जसले सानातिना, भुराभारा व्यापारलाई क्वाप्पै पारिदिन्छ । म ब्रान्डवादी जमानामा जन्मिएर पनि बल्ल कुरा बुझ्दैछु ।
म सानो छँदा आमाले घ्यूमा च्वाइँय पारेर पकाएको अनरसा खान पाउँदा कम्ता मीठो लाग्थेन ! लाग्थ्यो, संसारमा अब योभन्दा मीठो परिकार अरू हुनेछैन । ‘न भूतो न भविष्यति’, के गर्नु ? आमाको अनरसा ब्रान्डेड भएन । अहिले ब्रान्डेड ब्रेडमा ब्रान्डेड जाम लपक्क दलेर ब्रान्डेड काँटा–चम्चाले ब्रान्डेड टेबल–कुर्सीमा बसेर एस्प्रेसो र अमेरिकानोले घाँटीबाट बगाउँदा ती सेलरोटी, फिनी रोटी, अनरसा, अर्सा, झिनिया कसले चाल पाउने ? चाहे छिनमै भाँचियोस्, चाहे छिनमै कुच्चियोस् ! चाहे छिनमै फाटोस्, चाहे छिनमै उक्कियोस् ! ब्रान्ड भनेको ब्रान्ड नै हुँदोरहेछ ।
सिमाना ठ्याक्कै जोडिएका मित्रले अनुरोध गरे, “सर, आज बेलुका बसौँ न मेरैतिर ।” मैले पनि “हुन्छ नि” भनिदिएँ । खानपानको भव्य तयारी रहेछ । टिट्सबिट्समा नेवारी सेट, डिनरमा थकाली स्वाद । “सर, एक पेग लिऊँ है ? ब्रान्डेड हो, विदेशी ।”
“अरे यार ! खोयाबिर्के भए भइहाल्थ्यो । रिङाउनलाई पनि ब्रान्डेड नै चाहिन्थ्यो र ?”
“ ब्रान्डेड सामान प्रयोग गर्नुस् सर । सोसाइटीमा स्टाटस नै फेरिन्छ ।”
यो के जाति स्टाटस भन्ने जिनिस पनि गजबकै रहेछ । भन्नेले भनिदियो, सुन्नेले सुनिदियो, मान्नेले मानिदियो, पत्याउनेले पत्याइदियो, भैहाल्यो ।
मान्नै पर्छ ! हाम्रा पुर्खाले पनि ब्रान्ड त बनाएकै थिए । नालापानीको युद्घमा अङ्ग्रेजसँग लडेर । दोस्रो विश्वयुद्घमा खुकुरी टल्काएर लडेकै हुन् । वीरताको ब्रान्ड त बनाएकै हुन् । ‘वीर भनेकै गोर्खाली’ । कहिल्यै पुरानो नहुने, रङ नउड्ने, चमक नजाने, विश्व कम्पायमान पार्ने ब्रान्ड । प्रस्तरमा खोपिएको छ हाम्रो पनि ब्रान्ड । बिचरा त्यो गुन्द्रुक ! ब्रान्ड बन्न नसकेर गुजुल्टो परेको छ ।
यो संसारमा गरीबी पनि एउटा विचित्रको चटक रहेछ । मलाई ब्रान्डेड सर्टको रहरले गिजोल्नुसम्म गिजोलिरहेको थियो । गरीबी काँधेकुरी चढेर बेपर्वाह हिँडिरहेको थियो । जीवन रहुञ्जेलसम्म त हो रहर पनि जीवितै रहने । जीवन सकिएपछि मृत्युको कुन ब्रान्ड हुन्छ ? अनि भष्मको कुन ब्रान्ड हुन्छ ? जो शाश्वत सत्य छन्, तिनको कुनै ब्रान्ड हुँदैन ।
यसो भन्दै गर्दा ‘अङ्गुर अमिलो छ’ भनेर बाटो नाप्न मनले मान्दै मान्दैन । यो सत्गुण जीवनमा निर्गुण ब्रह्मको उपासना गरेर मात्रै चित्त शान्त पार्न सकिन्न । यो जीवनभरिमा एउटा ब्रान्डेड सर्ट नलगाई यो कलेजो शीतल नहुने भयो ।
लकवा मारेको बिरामीको समयजस्तै गरी छटपटाउँदै गुज्रेका वर्ष अब गनेर फाइदा छैन । बरू केही महिनाअगाडि मेरी पुत्रबधुले विदेशबाट मेरा लागि ‘ब्रान्डेड सर्ट’ उपहार पठाइछन् । म त खुशीले बुरुक्क उफ्रेछु । हत्तपत्त फुकालेर लगाई हेरेँ । कठै ! त्यो गजराजको जत्रो जीउमा ठिक्क हुने लुगो, मेरा लागि त … के बयान गर्नु ? ती लामालामा बाहुला गर्दनतिर दुई फन्को मारेर झार्दा ठिक्क हुनेरहेछन् । जिउभित्र अरू दुईटा जिउ छिराउन पुग्ने । उँधोको कुरै नगरौँ । पतलुन लगाए पनि ठीक, नलगाए पनि ठीक । जन्ती अटाउने त्रिपालजत्रो रहेछ ।
म पनि हरेस खाने मान्छे कहाँ हुँ र ? जति बाधा आए पनि पछि हट्नु छैन । नीतिशास्त्रको एउटा सिलोकले भन्छ –
विघ्नैः पुनः पुनरपि प्रतिहन्यमानाः ।
प्रारभ्य चोत्तमजनाः न परित्यजन्ति ।।
हिँडिहालेँ बाहिर काटकुट पारेर मिलाउन । केशवराज पिँडालीको ‘दौरासुरूवाल’ सिलाउने राष्ट्रवादी टेलर मास्टर छँदै थिए । दुखेसोको सवाई कहँदै उनकै भरोसाका पखेटा लगाएर म उड्दै उड्दै घर आएँ ।
गर्नु गरेछ नि बज्ज्याले ! मट्याङ्ग्राले लागेको चरोझैँ फत्त्याक्क भुइँमा झर्दो भएँ । अरू त सबै ठिकै थियो, भुँडीको टाँक लाग्दै लागेन । न दाहिने पाटोले नाइटोसम्म छोपिन्छ, न देब्रे पाटोले । अब रुनु कि हाँस्नु ? कति साँघुरो पारेछ ? अनुहारभरि चिन्ताको मुद्रा उठ्यो । कहिल्यै जुसिलो, पोसिलो केही खान नपाएको, कुपोषणले उछिट्टिएको यो भाते भुँडी कसरी भित्र हाल्नु ? ‘भुँडी पुराण’ उवाचक भैरव अर्याल जीवितै हुँदा हुन् त अलिकति भुँडी कोशेली थापेर मलाई उपकार गर्दा हुन् । अच्छा राई ‘रसिक’ पनि हुँदा हुन् त थोरै भुँडी झिकेर प्रयोगशालामा जाँच गराई कुन जातको, कुन धर्मको, कुन राजनैतिक वादको हो भनेर ठम्याउँदा हुन् । मेरो दुर्भाग्य ! दुवै गैहाले । तैपनि मैले हरेस खाएको छैन । बिहान बिहानै अन्तर्राष्ट्रिय ब्रान्डका व्यायामहरू गर्न थालेको छु । तन्याक् तुनुक् गर्छु । उठ्बस् गर्छु । योग, प्राणायाम आदि इत्यादि पनि । साँझपख लमक्लमक् लम्किन जान्छु । एक गाँस भोजन पनि घटाएको छु । मुनि, महात्मा, सिद्घपुरूषहरूका दोब्रिएका भुँडीको कल्पना गर्छु र मेरो पनि घट्नेमा आश्वस्त हुन्छु ।
“यदि भुँडी घटेन भने के गर्नुहुन्छ नि ?” कलेजाका दश टुक्रा हुने गरी प्रश्न सोधिन् वामाङ्गीले ।
गान्धीजीले धोती लगाउँथे । खै ? त्यसको सायद कुनै ब्रान्ड थिएन । लौरो टेक्थे । त्यसको पनि सायद कुनै ब्रान्ड थिएन । उनी चश्मा लगाउँथे । खै ? त्यसको पनि सायद कुनै ब्रान्ड थिएन । उनको आत्मा ब्रान्डेड थियो, इच्छाशक्ति ब्रान्डेड थियो, मिसन र भिजन ब्रान्डेड थियो – राष्ट्रवादी ब्रान्ड । र त पराधीन मुलुक स्वाधीन भयो ।
ब्रान्डवाद मनको लुतो हो । हरबखत चिलाइरहन्छ ।
ब्रान्ड भनेको एउटा विशिष्ट चिनारी दिने नाम त हो जुन धेरै मानेमा अद्वितीय जस्तो लाग्छ । जस्तो कि अद्वितीय लाग्छ बिहानको घामको पहिलो सिन्दूर हिमालको शिरमा पोखिनु ! अद्वितीय लाग्छ हिमालको छातीबाट रसाएर बग्ने नदीहरूको फ्युजन सङ्गीत ! कसले रच्न सक्छ त्यस्तै अनि दुरुस्तै ? अद्वितीय लाग्छ पाहाडी फूलहरूको वासना अनि मन्द बग्ने हावाको महक । कति अद्वितीय लाग्छ एकएक मुठी यो भूमिको माटोको सुवास ! कति अद्वितीय लाग्छ पुतलीको हूलले पनि चुसेर नरित्तिएको तोरीको पहेँलो छटा ! मेरा वरिपरि सबैथोक विशिष्ट छन्, अद्वितीय छन्, हृदयको स्पन्दन जस्तै । यो देश नै जतासुकै विशिष्ट ब्रान्डले झलमल्ल छ ।
मैले अहिलेसम्म नाम हेरेको छैन, मेरो सर्ट कुन ब्रान्डको थियो ? म मेरी आमाको कोखको ब्रान्डले हो वा मेरै शिरमाथिको जूनको प्रकाशले हो, अगस्ति ताराझैँ हरपल चम्किरहेको छु ।
इति !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

