उफ्, नवनिर्मित हिमालको चुचुरोमा घ्याच्च बसेर ब्रह्माजीले सुस्केरा हाले– “कतै आकाश छोलाजस्तो अग्लो, कतै पाताल छोलाजस्तो गहिरो, कति मिहिनेतसाथ बनाएको पृथ्वी यस्तो औडे र खौडे ?”

जतिसुकै तानतुन गर्दा पनि पृथ्वीको तह मिल्न नसकेकाले ब्रह्माजी बाजेलाई साह्रै दिक्क लाग्यो । उनले सम्झे– आकाशको सतह मिलेको छ, पातालको मिलेको छ, तर उनैले बनाएको पृथ्वी मात्र यस्तो अवतारको भयो ।

“यो तह नमिलेको माटाको सतहमा अब म के सृष्टि गरूँ, तह मिलाउन नसक्नेले नयाँ सृष्टि गर्न किन खोज्नु भनी मलाई के मेरै रचनाले गिज्याओइनन् ?” ब्रह्माजी आत्मग्लानिले द्रवित भए । एक फेरा फेरि सुइय्य सुस्केरा हालेर मनमनै भने– भैगो, तह त मिलेन, दह्रो त हुनुपर्थ्यो, बलियो त हुनुपथ्र्यो, एक झोक्का चल्यो भने जगदेखि धुरीसम्म थर्र काम्छ, अलि ठूलो कम्प भयो भने चल्र्यामचुर्लुम भएर फुट्न के बेर ! चरक्क चिरिएर फाट्न के बेर ! यो पृथ्वी नै यस्तो अग्लो–होचो छ भने यहाँ बस्नेहरूको गति कस्तो होला, पृथ्वी नै यस्तो लुलो छ भने यहाँ बाँच्नेहरूको गति कस्तो होला ?

आफूले बनाएको घर बांगोटिंगो र कमजोर देखेर खिन्न भएको डकर्मीले झैँ, आफ्नो चित्र बिग्रेर हतास भएको चित्रकारले झैँ अथवा आफ्नो अविष्कार खोजेजस्तो नहुँदा उदास भएको वैज्ञानिकले झैँ आफ्नो सिर्जनास्वरूप पृथ्वीलाई लक्ष्य गर्दै ब्रह्माजीले भने– “धिक्कार होस् ।”

तर निकै बेरपछि चुलीमा चलेको हिमाली हावाले बूढा ब्रह्माको विरक्तिएको मन शान्त भएर आयो । आत्मशमन भयो । अनि उनलाई लाग्यो– “ठीक छ, यो पृथ्वी यस्तै होस्, तह नमिलेकै होस्, चुरो धर्मराएकै होस्, तर म यस्तो प्राणी बनाउँछु जोसँग विवेक हुन्छ, बुद्धि हुनेछ र बर्कत हुनेछ । उसको नाम राख्नेछु ‘मान्छे’ । अनि यो तह नमिलेको पृथ्वीलाई त्यही मान्छेले सम्म पार्नेछ । जग बलियो पार्नेछ, अनि यसैमा स्वर्गका सम्पन्नताले सिँगारेर मेरो सिर्जनात्मक धोको साकार गर्नेछ । हो, साँच्ची म मान्छे बनाउँछु, प्रबल र प्रबुद्ध शक्ति र सीपको समन्वय गरी म आफूभन्दा उम्दा उत्तराधिकारी मान्छे बनाउँछु ।” ब्रह्माजी आफ्ना सेता दाह्री मुसार्दै एकपटक मुस्कुराए, अनि जुरुक्क उठेर ओर्लिए बेँसीतिर ।

हिमालय पर्वतका वरपर घुमेर ब्रह्माजीले एक भारी सुन, एक भारी वज्र, एक भारी सिमलको भुवा इत्यादि धेरैथोक सरसामान जोडे । अब उनले बनाउनु थियो मान्छे– उसले उनको तह नमिलेको पृथ्वीलाई सम्म पारी मिलाउन सकोस्, अनन्त अनन्तसम्म त्यही सतहमा सृष्टिको शृङ्खला शाश्वत राख्दै नेतृत्व दिन सकोस् ।

सुनका लाप्सा पिट्तापिट्तै उनलाई शङ्का लाग्यो– “मान्छे त बनाउन लागेँ, कथङ्कदाचित् प्राण भर्न सकिएन भने ! बरु एउटा सानो परीक्षा गरी हेरूँ !” अनि त्यहीँ छरिएको धुलोधालो एक मुठी उठाएर उनले पानीमा मुछे । त्यही हिलोमा एउटा छहरा काटकुट पारी जोर खुट्टा, जोर पखेटा र चुच्चासहितको एउटा प्राणी बनाए । जीउभरि भुवा टाँसटुँस पारी सुन–तामा पगालेको झोलमा एकपटक रङ्गाइदिए । उनको रचना साँच्चै विचित्रको भयो । ब्रह्माजी आफैँलाई पनि हाँसो उठ्यो । तर अचम्म मान्नुपर्ने केही थिएन, किनभने गमला बनाउनुभन्दा पहिलो चक्र ठीक छ कि छैन भनेर जाँच्नलाई कुमालेले एउटा छन्द–न–बन्दको घैँटो बनाई हेरेजस्तै प्रयास थियो यो ब्रह्माजीको । त्यसैले त्यस जीवनको चुच्चा र पिँध दुवैतिरबाट उनले प्राण फुकिदिए । फुक्दाफुक्दै पखेटा फट्फटाउँदै जन्तु एक फेरा बेसरी चिच्यायो– “कुखुरी काँ !”

ब्रह्माजी मुुसुक्क हाँसे, प्राणदान दिन सक्छु भन्ने कुरामा उनलाई पक्का विश्वास भयो ।

०००

हिमालयको एउटा गुफामा रहेको ब्रह्माजीको प्रयोगशाला आज खचाखच थियो । एकातिर वज्र छाँटेर बनाइएका हात, खुट्टा, टाउको, ढाड, करङ इत्यादि सामानहरू एक–अर्कोमा जोड्न हुने गरी बडा कलापूर्ण ढङ्गले काटेर थुप्र्याइएका थिए, अर्कातिर सुन पगाल्ने काम हुँदै थियो । एक्ला ब्रह्माजी कता हेरून्, कता नहेरून् । सबभन्दा चम्किलो मणि छानेर आँखाको बान्की मिलाउँदै थिए उनी ।

सब सामान ठीक भयो । एकछिनपछि उनले जोड्ने काम पनि थाले । आफ्नै जस्तो चारैतिर चार मुख जडेपछि उनलाई लाग्यो– यत्रो तह नमिलेको पृथ्वीलाई तह मिलाउनुपर्ने हुनाले हात–गोडा पनि चा–चारवटै किन नराखिदिऊँ ?

कहिल्यै नखिइने गरी बनेका वज्र पिँजरमा सुनको मसल, मणिका आँखा, पाराको गिदी र सिमलको भुवाको मुलायम दिल जडिसकेपछि उनले सोचे– मेरो मान्छेलाई स्वर्गतिर उड्ने पखेटा पनि चाहिन्छ । नभन्दै मान्छे उनले चिताएजस्तै रूपमा बन्यो । खुसीले गद्गद हुँदै प्रत्येक अङ्ग–प्रत्यङ्ग छामेर ब्रह्माले जाँचे, सबै तन्दुरुस्त । अहिले नै पखेटा फट्फटाएर उड्लाजस्तो, अहिले नै गोडा सरसराएर हिँड्लाजस्तो, अनि अहिले नै जिभ्रो फटकारेर बोल्लाजस्तो । कस्तो कालिगडी उनको ब्रह्माजीले आफैं लाई एकचोटि धन्यवाद दिए ।

एकछिनपछि नवनिर्मित मान्छेको प्रतिमालाई गुफाको दैलोमा ठड्याएर अङ्ग–अङ्गबाट उनले प्राण भरे । अब मान्छे पूरा भयो, ब्रह्माको धोको पूरा भयो । उनलाई खुसीको सीमा रहेन । अब एक फेरा बोलाइ पनि हालूँ न भनी खुबै वात्सल्यपूर्ण स्वरमा उसतिर फर्केर ब्रह्माले बोलाए– “मान्छे बाबु ! ए मान्छे बाबु !!” तर मान्छे बोलेन । स्वर अझ ठूलो पार्दै उनी फेरि चिच्याए– “ओ मान्छे !!! तैपनि ऊ बोलेन । ब्रह्माको निधारमा चिटचिट पसिना आयो । हात–खुट्टा पग्लिए । उनले बनाएको त्यति राम्रो मान्छे, त्यति बलियो मान्छे चुइँक्कसम्म बोलेन, हरे !

ब्रह्माको साहस एकैपटकमा किन सेलाउँथ्यो । भोलिपल्ट उनको प्रयोगशालामा अर्को मूर्ति ठडियो । तर अघिल्लाको सुनको मसल थियो भने यो थियो– त्रिमुखी । उस्तै भव्य, तब अलि हलुका मूर्तिलाई गुफाको आँगनमा उभ्याएर ब्रह्माले बोलाए– “मान्छे बाबु ! ओ मान्छे बाबु !!” फेरि उसका तीनै मुखबाट कुनै आवाज निस्केन । दोस्रो प्रयोग पनि विफल हुँदा ब्रह्मा साह्रै हतासिए । आफ्नो प्रयोगशालामै आगो लगाएर जाऊँ तपस्या गर्न भन्ने झोक पनि उनलाई उठ्यो ।

घ्याच्च बसेर सुइय्य सुस्केरा हालेपछि उनलाई लाग्यो– अब एकपटक इस्पातको पिँजरामा तामाको मसल राखेर प्रयोग गरी हेरूँ त ! अबको पालिमा पखेटासखेटा पनि नजड्ने, मुख पनि अघिल्तिर र पछिल्तिर दुइटा मात्रै राखिदिने उनको ठहर भयो । सोहीबमोजिम भोलिपल्ट तेस्रो प्रयोगस्वरूप तामाको मान्छे ब्रह्माको अगाडि उभियो । उसै गरी ब्रह्माजीले प्राण भर्दै बोलाए– “मान्छे बाबु ! ए मान्छे बाबु !!” मान्छे अहिले पनि बोलन !

‘तैरिन तैरिन बूढी बाख्री किन्’ यही कुखुराको सुलीको बनाई हेर्छु भनी ब्रह्माले रन्कँदै कुकुराको सुली थुपारे । सुन–चाँदी गालेको अँगेनाबाट अलिकति खरानी झिकेर त्यसैमा मुछे अनि मामुली काठको एउटा औडे–खौडे अस्थिपञ्जर ठीकठाक पारेर त्यही मिस्कट हिलो थोपर–थापर पारी अर्को मूर्ति ठड्याए । एकाएक लल्याकलुलुक हुने हात–खुट्टा, एकापट्टिमात्रै मुख, आङभरि झुस, टाउकोमा जगल्टा, मुख र आँखाको माझमा बडो चुच्चिएको नाक, साँच्चै मूर्ति अकबरी खालको भयो । छ्या ! कस्तो विरूप मूर्ति, यस्तो पनि मान्छे होला ? एकातिरबाट सास भर्दै गयो अर्कातिरबाट फुसुफुसु फुस्केलाजस्तो । कस्ता–कस्ता बोलेनन्, अब यो झ्याउ बोल्ला त ! ब्रह्माजीलाई आफ्नो चौथो प्रयोगदेखि साह्रै घृणा लाग्यो ।

जस्तो औडे–खौडे पृथ्वी उस्तै औडे–खौडे मान्छे ? मिल्न त मिल्छ नै, धन्य ब्रह्मा बूढा । तेरो दाह्री पनि अब सिनित्त खौरेर यही मान्छेलाई बकस दिए भयो । उनी आफैँ आफैंलाई खिज्याउन थाले । कथंकदाचित् यो विकृत मूर्ति बोलिहाल्यो भने अर्कोे एउटा जोडा पनि बनाइदिन्छु र प्रजनन्को शक्ति दुवैलाई आधाआधा पारेर बाँडिदिन्छु । अनि झन् रमाइलो हुन्छ । मान्छे छुसी सिङ्गो हुँदाहुँदै पनि आधा हुन्छ । त्यसो भए आफूलाई फेरि मान्छे बनाइरहने झमेला पनि पर्ने भएन, इत्यादि सोच्दै ब्रह्माले त्यो कार्टुन मूर्तिमा प्राण भरे ।

बोल्ला भन्ने आशा त रौंजति पनि थिएन । तैपनि विधि पुर्याइदिँदैमा के होला त ! भनि कान्लामाथि टुसुक्क बसेर अचेलका धनी मानिसले नोकरलाई बोलाएझैँ बेवास्ताको स्वरमा बोलाइदिए– “ओ मान्छे भाते !”

ब्रह्माको आवाज खस्न नपाउँदै मुन्टो निहुराएर मूर्ति बोल्यो– “ज्यू !!”

बाजेको दिमाग झोकले तिलमिलायो । उसले बोलेको आफ्नो उपहास गरेकोजस्तो उनलाई लाग्यो । त्यसैले मान्छेले “ज्यू” भन्नासाथ ब्रहमाजीले झोकले भने– “मरेस् मोरा !!!”

अब भएन के ! उसै त कुखुराको सुली र खरानीले बनेको कार्टुन मूर्ति–मान्छे; त्यसमाथि मर्ने सराप पायो भने कता पृथ्वीको सतह मिलाइदेला भन्ने ब्रह्माजीको सपना; कता यस्ता गाईजात्रे रचना ।

मगज सड्केको बूढाझैँ ब्रह्माजी खितितिति हाँस्दै बेपत्ता भए । उनको उपहासात्मक प्रयोग मान्छे एकपछि अर्को गर्दै यही औडे–खौडे पृथ्वीमा जन्मन्छ मर्छ, जन्मन्छ मर्छ ।

नपत्याए कन्याई हेर्नोस् प्रत्येक व्यक्तिको आङबाट एक प्रकारको छारो उड्दछ, जसमा कुखुराको सुली र खरानीको मिस्कट हुन्छ ।

(साभारः अर्यालको व्यङ्ग्यसङ्ग्रह ‘जय भुँडी’बाट ।)