नक्कली भुटानी शरणार्थी काण्डको अपार सफलतापछि यतिखेर भैँसी प्रकरण चर्चामा छ । भुटानी र भैँसी प्रकरणमा समानता, असमानता दुवै प्रकरण दर किनार लागेपछि यथार्थ थाहा हुने हो । भुटानी र भैँसी योजना तथा कार्यक्रमपछि हुने अर्थ-राजनैतिक महत्वले नेपालको कुल गार्हस्थ्य जीवनमा पार्ने प्रभावका बारेमा दीर्घकालीन अध्ययन, अनुसन्धानको विषय हुने त निश्चितै छ ।

भुटानीहरू मानव कुल वंशका सन्तान भएकोले भैँसीसँग तुलना हुने त कुरै भएन । यद्यपि ‘कालकुट’ पुँजीवादी युगको रणनैतिक कार्यक्रम ‘वैश्य युगीन दास प्रथा’मा परेर भुटानीहरू तीन त्रिलोक, चौध भुवनमा छरिन बाध्य भए । भुटानीको यो बाध्यता बुझिसक्नु छ । तर गैर भुटानी नेपालीहरू पनि भुटानी बन्न बाध्य हुनु पर्ने यो नियति कसरी आयो ? यो भने बुझी नसक्नु, झनझन बुझ्यो झन् कठिन पहेली हो ।

परिचयमा भुटानी र भैँसी 

भुटानीहरू ‘होमोसेफियन’ आदि कुल वंशकै सन्तान हुन । नश्लका हिसाबले, भाषा परिवारका हिसाबले, सामाजिक-सांस्कृतिक मान्यताका हिसाबले भुटानीहरूमा अनेक विविधता छ । तर, क्षेत्रगत, मातृभूमि, कर्मभूमिका हिसाबले उनीहरू भुटानका लक्का नागरिक हुन । ‘जोङ्खा अन्धराष्ट्रवाद’को दुष्चक्रमा परेर थातथलो छोड्न बाध्य भएका मात्र हुन । कुनै प्रजातिको पशुपन्छीसँग भुटानीको तुलना गर्नु त वाञ्छनीय हुँदैन । तर, विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा नेपालको अर्थ राजनीतिमा यी दुई प्रकरण संयोगले समसामयिक भएका हुन् ।

भैँसी परिचयात्मक हिसाबले ‘बोविडो’ परिवारको सदस्य हो । प्रजातिका हिसाबले भैँसी अफ्रिकी ‘केप’ र एसियाली ‘पानी भैँसी’ दुई प्रकारका छन् । जङ्गली अर्ना वा घरपालुवा दुवै भैँसी यसै प्रजातिका वंशगत सदस्य हुन् । आदि उत्पत्तिका हिसाबले चैँ मानिस र भैँसीको थलो अफ्रिका नै हो ।

यिनै दुई मुख्य वंशका हाँगाबिँगाबाट भैँसीका अनेक प्रजाति विकसित भए । नेपाल मै पनि लिमे, पार्कटे, गड्डीलगायतका रैथाने भैँसीका प्रजाति छन् । भारतमा चर्चित मुर्रा, सुरती, गुजराती, जाफरावादी, भदावरी, नागपुरी, तराइलगायत एक दर्जन भैँसीका प्रकार छन् । एसियाली अन्य मुलुकका प्रजातिका भैँसी अनेकन् छन् । तर, भारतीय ‘मुर्रा’ प्रजाति विश्व मै चर्चित छ । केही समयअगाडि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेको बेला ‘मुर्रा भैँसीको राँगो’ बिउका लागि नेपाल ल्याउने सहमति बाहिर आयो । फेरि तत्कालै प्रधानमन्त्रीको चीन भ्रमणमा भैँसीको मासु चीन निर्यात गर्ने सहमति भएको ब्यहोरा सार्वजनिक भयो । त्यहीँदेखि भैँसीको चर्चा पुन चुलियो । यसअघि मुर्रा राँगोको कथनले संसद् भवन त तताएकै थियो । मुर्रा भैँसी बारे नखोक्ने कुनै संसद् सदस्य नै थिएनन् ।

जे होस् भैँसी सोझो शाकाहारी जनावर हो । कृषि कर्ममा मात्रै होइन मानव जीवन कै मर्ममा यसको योगदान अतुलनीय छ । मान्छे मांसाहारी जनावर हो । शाकाहारी मान्छे बिरालाकोटीमा पर्छन् । जति शाकाहारी मान्छे भेटिन्छन् मानव दुनियाँका ती कैफियत मात्रै हो ।

नक्कली र सक्कली ?

सन् १९९० मा ‘जोङ्खा’ खेदाऊ अभियानमा परेर नेपाल छिरेका भुटानी सन् २०१७ सम्ममा विश्वका विभिन्न मुलुकमा पुनस्थापित भैसकेका छन् । त्यसयता बाँकी रहेका भुटानीका नाममा गैर भुटानी नेपालीलाई भुटानी शरणार्थी बनाउने गोरखधन्दा सुरु भयो । यो नयाँ नौतुन प्रकारको कागजी नश्ल सुधारको सुतिखेती हो ।

यो योजना तथा कार्यक्रमका मुख्य सिद्धान्तकार केपी ओली मन्त्रीमण्डलका गृहमन्त्री रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी थिए । देउपा मन्त्री मण्डलका बालकृष्ण खाँड, सल्लाहकार इन्द्रजित राई लगायत यो योजनालाई निरन्तरता दिने मुख्य प्राविधिक हुन । तर यतिखेर मुख्य सिद्धान्तकार टोपबहादुर र उल्लेखित प्राविधिक बाहेकका सिद्धान्तकारहरू न्यायिक अनुसन्धानको प्रयोगशालाभन्दा बाहिरै छन् । न्यायिक प्रयोगशालाको कसौँडीमा खारिएर को पुरस्कृत हुने हो वा दण्डको भागिदार हुने हो हेर्न बाँकी नै छ ।

यहाँ भैँसी र भुटानीको प्रसङ्ग उठ्नु पर्ने मुख्य कुरा चैँ अर्थ-राजनीति आकर्षित भएर हो । भैँसी आयात गरेर नश्ल सुधार गर्ने मामिला र नेपालीलाई भुटानी बनाउने मामिला एकै प्रकारको सिद्धान्तमा आधारित छ । वंशजका आधारका नेपालीलाई जसरी विश्व बजारलाई झुक्यानमा पार्ने गरी भुटानी बनाउने सिद्धान्तले अपार सफलता पायो । मुर्रा राँगोमार्फत हाम्रा थातथलाका लिमे, पार्कटे लगायत प्रजातिका भैँसीलाई नश्ल सुधार गरेर दुधालु, मासुवाला बनाउन नसकिने होइन । एक अर्का देशका नागरिककै बही खातामा घुसाएर अर्थात् नेपालीलाई भुटानी बनाएर विश्व बजारमा निर्यात गर्ने तरकिब भएको मुलुकमा मुर्रालाई स्थानीयकरण गर्नु बायाँ हातको खेल हो ।

अर्थ-राजनीतिमा भुटानी र भैँसी 

नेपालको अर्थ-राजनीतिमा भुटानी र भैँसीको तुलना गर्नु मनासिब लाग्छ । भुटानी बनाएर विश्व श्रम बजारमा नेपाली जनशक्ति निर्यात गर्नुले नेपालमा आउने रेमिन्ट्यान्सलाई नै प्रभावित गर्ने हो । भुटानीलाई भुटानी कै हदमा निर्यात गर्दा त्यसले नेपालमा रेमिन्ट्यान्स ल्याउने सम्भावना छैन । तर नेपालीहरू भुटानी भएर विश्व बजारमा जाँदा आउने रेमिन्ट्यान्स यहीँ हो । भुटानी बनाउने सिद्धान्तकार र त्यसमा हेलिने प्राविधिक जनशक्तिले अतिरिक्त सेवा शुल्कमार्फत कमाएको सम्पत्ति पनि यहीँको कुल गार्हस्थ्य कमाइमा जोडिएर राष्ट्रिय पुँजीमा गणित हुने हो ।

अवैधानिक बाटोबाट पनि रेमिन्ट्यान्स भित्र्याउने तौर तरिकाले राष्ट्रिय पुँजी विकासमा माइल खुट्टी कै काम गरेको छ । भलै यस मामिलाले विश्व बेइज्जत नै किन नहोस् ।

रह्यो भैँसीको कुरा, यो झनै रोचक सन्दर्भ हुनेछ । मुर्रा राँगोमार्फत यहाँका रैथाने भैँसीका योग्यता, क्षमता र शारीरिक बनोटसहित नश्ल, वंशमा सुधार हुनेछ । यता चीनमा भैँसीको मासु निर्यात हुने कुराले भैँसी पालनमा कृषकको आकर्षण बढ्नेछ ।

केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा २९ लाख २३ हजार भैँसी रहेको तथ्याङ्क बाहिर ल्याएको छ । करिब १४ लाख १७ हजार परिवारले भैँसी पालन गरेको सुझाएको छ । १४ लाख परिवारले २९ लाख भैँसी पालेको जोक पनि सुन्न मजै आउँछ । यतिका परिवारले प्रति परिवार अढाई वटा भैँसी पनि नपाल्दा रहेछन् । यता पशुपन्छी मन्त्रालय नै छ । पशुपन्छी विकासअन्तर्गत एक दर्जन बढी स्रोत केन्द्रहरू छन् । भैँसी स्रोत केन्द्र, भैँसी प्रवर्द्धन नामका अनेक विभाग छन् ।

तर भैँसीमा आत्मनिर्भर हुने कुरा चैँ छिमेकी कै भर पर्नु पर्ने । चीनले मासु किन्ने र भारतले मुर्रा दिने वचन झारेकोले भने आउने दिन भैँसी पालनमा ठूलै छलाङ हान्नेछ । कृषि अर्थतन्त्र मध्येको पशुपन्छी पालन त्यसको एउटा मात्र विधा भैँसी पालनले नै व्यापार घाटालाई केही हदसम्म मत्थर पार्न सक्छ । बाराको गढीमाई मेलामा असङ्ख्य पाडा काटेर सिनो पुर्ने अव्यवस्थाको अन्त्य हुनेछ । भैँसीको अर्थ-राजनीति दीर्घकालीन रणनीति बन्नेछ । मानिसको कागजी नश्ल सुधारेर रेमिन्ट्यान्स ल्याउने खतरनाक उपक्रमको पनि अन्त्य हुनेछ ।

रहल-पहल 

भैँसीको महिमा यतिमा मात्र सीमित छैन । प्राय ऐतिहासिक कालखण्डदेखि भैँसीले सांस्कृतिक रूपमा महिषासुरको पगरी त पाएकै छ । भारतका झारखण्ड, मध्य प्रदेशका धेरै गाउँका नाम भैँसासुर छ । उत्तर प्रदेशको बनारस र मध्य प्रदेशको कास्बा गाउँमा भैँसासुर नामको मन्दिर नै छ ।

भैँसी दूध, मासु, छाला, हड्डी उत्पादनको साधन मात्र हैन । कृषि श्रम र मल उत्पादनमा पनि त्यत्तिकै महत्त्व छ । भैँसीका बहु आयामिक उपयोगिता छ । भैँसीको उपयोगिता यो सानो लेखमा कैरन गरेर साध्य छैन । यसकालागि भैँसी पुराण नै आवश्यक हुन्छ ।

नेपाली गीत सङ्गीतमा भैँसीको अनेक महत्त्व खुलाइएको छ । डेजी बराइली, ‘भैँसी लड्यो है माया भीरबाट हेर’ बोलको कालजयी गीत गाएर प्रख्यात भएकी हुन । ‘गर्नु गर्‍यौ बलराम भैँसी पालेर’ बोलको गीतले नेपाली साहित्यको व्यङ्ग्य विधामा योगदान दिएको छ । यस्तै ‘राँगो पालेर’ बोलको व्यङ्ग्य गीतले बिउ राँगोको महत्त्व गाउँमा उजिल्याएको छ ।

यति मात्र हैन खास गरी भैँसीको जीवन रेखाका कथानकले मानव मात्रका अनेक ज्ञान चक्षु, प्रज्ञा चक्षु र दिव्य चक्षु खोल्छ । भैँसीसँग सम्बन्धित अनेक भनाइ र लिखतले मानवलाई सार्थक जीवनतिर डोहोर्‍याउँछ । भैँसीको अगाडि बिन बजाउनु, अक्कल बढी की भैँसी, जसको हातमा लाठी उसैको भैँसी, कालो अक्षर भैँसी बराबर, भैँसीलाई सिङको भारी हुँदैन आदि इत्यादि भनाइबाट मानव जीवनले ठूलो शिक्षा प्राप्त गरेका छन् ।

नेपालीलाई त्यो पनि नक्कली भुटानी शरणार्थी बनाउने उपक्रम यसै पनि खेदजनक र जनघाती त छँदै छ । यस मानेमा भुटानी र भैँसीको तुलना गर्नु हुन्न । भुटानीलाई भुटानी र नेपालीलाई नेपाली नै हुन दिऊँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर सात समुद्र कटाउने भाष्यकारको तेजोवध होस् । यस्ता आफ्नो मात्र दुनो सोझ्याउने कुभाष्यकारहरू बाहिरी दुनियाँमा मुखै देखाउनै नहुने गरी थलिएका त छँदै छन् ।

तीनलाई भैँसी कै बारेमा लेखिएको यो हिन्दी काव्य पङ्क्तिले पनि जिस्क्याइरहेको छ ।

आप की सुरत मेरे दिल मे ऐसे बस गई है
जैसे किसी छोटे दरबाजे मे भैंस फस गई है ।