हिजो पेट गडबडायो । लुँडो बाजीमा मम खाएँ तर त्यो शायद अलि पचेन । त्यसपछि जुन सास्ती भयो वा त्यसले जुन फार्ट सिर्जना भयो, त्यसले लगभग फार्सको स्थिति सिर्जना गर्यो ।

‘द ओल्ड म्यान एन्ड द सी’ भन्ने उपन्यास हुनसक्छ भने ‘द ओल्ड म्यान एन्ड द फोर्स फार्ट’ भन्ने किन हुन सक्दैन भन्ने म जवान हुँदै गर्दा सोच्थेँ किनभने हाम्रो गाउँमा एक जना बूढा बा हुनुहुन्थ्यो । हामी केटाकेटीहरू ‘पदुवा बूढो’ भन्दै उहाँछेउ रमाउँदै जान्थ्यौँ र उहाँले हाम्रो बोलीमा लोली मिसाउँदै पादिदिनु हुन्थ्यो । एकचोटि होइन, दुईचोटि होइन, हाम्रो माग हुञ्जेल पादिदिनु हुन्थ्यो । यो अनौठो खुबीका साथ मेरो दिमागमा उहाँ सधैँ अङ्कित भइरहनु भयो ।

पहिले पहिलेका राजा महाराजाहरू यस्ता खुबी भएकालाई दरबारमा बेतनसहित पालेर राख्थे । विचरा, ती बूढा बा, उहाँको बेजोड प्रतिभाका बाबजुद प्रतिभाको पहिचान र लोकप्रियता नपाई/ निचिनिई बित्नुभो । उहाँको प्रतिभा नचिनिएकामा मलाई सधैँ विस्मात लागिरह्यो र उहाँको सम्मानमा मैले धेरै समय पादका प्रकार खोज्नमा बिताएको छु । जसले फरक किसिमले पाद्छ, उसलाई उसको खुबीप्रति मैले स्याब्बासी दिने गरेको छु । त्यसपछि हौसिएर केहीले आफ्नो पादको प्रकारबारे पनि बताउने गरेका छन् ।

त्यसो त पादशोधक म मात्र एक्लो होइन, यसमाथि धेरै खोज भएका छन् । मेरो खोजअघि नै पनि यसमाथि भएका शोध र तिनका प्रकारमाथि चर्चा भइसकेको रहेछ । त्यसलाई मैले मेरो कम्प्युटरमा कपी गरेर राखेको थिएँ ।

केही वर्षअघिसम्म मेरा घर-परिवार-आफन्तीहरू मैले खोजेको फार्ट उपलब्धि सुनाउन बराम लगाउँथेँ । (जसजसले त्यो फार्ट-व्याख्या सुनेका छौ- यहाँ हाजिरी जनाओ है !)

यसबारेमा म धेरै पहिले केही लेख्न चाहन्थेँ तर लोकलाज जस्ता केही कुराले अडिएँ । शायद उमेरजन्य समस्याबाट म मुक्त हुँदैछु, त्यसैले पादमाथि पादटिप्पणीजस्तो केही लेख्न आँट गरेँ ।

त, पाद विशेषज्ञहरूका अनुसार संसारमा छ प्रकारका पदाई हुन्छन् । प्रथम प्रकारको पादलाई औसत पदाई भनिन्छ । यो चाहिँ जहाँसुकै पनि सुन्न सकिन्छ । यो पदाईलाई कसैले खासै मतलब पनि गर्दैन । प्रायः दुईचार जना भेट भएका बेला एकादुईले यो कला प्रस्तुत गरिरहेकै हुन्छन् ।

अर्को प्रकारको पादलाई नर्वस पाद भनिन्छ, जसमा अनौठो अवस्थामा नराम्ररी फुस्कन्छ र त्यसलाई ढाकछोप गर्नुपर्ने बाध्यता पनि पर्दैन । मान्छेले बुझिहाल्छन्, यो फुस्केको पाद हो, ध्यान नदिँदा पनि हुन्छ । यो अलि अप्ठेरोमा परेछ भनेर मान्छेले बुझिहाल्छन् । आवाजमा भने यो अलि चर्को हुनाले मात्र मान्छेले सुनेका हुन्छन् ।

खोकी मिश्रित पाद अर्को प्रकारको पाद हो । महिलाहरूको उपस्थितिमा अलि लजालु व्यक्तिले आकस्मिक अवस्थामा पाद्नु परे खोकी मिसाएर यसको श्रवण गराउँछ ताकि खोक्दा खुस्केको हो भन्ने अरूले बुझिदिऊन् । विज्ञहरूका अनुसार, कहिलेकाहीँ खोकी छोटो र पाद लामो हुनसक्छ । यस्तो बेलामा जे छोप्न खोजेको उदाङ्गिन सक्छ ।

चिस्यानयुक्त पाद अर्को खाले पाद हो । कहिलेकाहीँ पेड गडबडाएका बेला हल्का हुन खोज्दा चिस्यान पनि सँगै निस्कन सक्छ । र, यो निस्कियो भने अनिवार्य रूपमा बाथरूम छिर्नुपर्छ ।

सांगीतिक पदाई पनि अर्को किसिमको पदाई हो । यसमा लयात्मकता हुन्छ । जति लय थप्यो, त्यो उति रोचक र सुनिरहूँजस्तो लाग्ने हुन्छ । यसले वातावरणमा रमाइलो थप्ने काम गर्छ ।

र, अन्तिममा मालिक पदाई अर्थात चर्को आवाजको ! यो शुरूमा व्यक्त गरिएको औसत पादजस्तै आवाजको हुन्छ तर अलि बल लगाइएको र आवाज पनि कडै निस्कने पाद हो । यो पादको विशेषता के हुन्छ भने मान्छेका बारेमा थाहा छैन भने वरपरकाहरू तर्सन सक्छन् । खासगरी कसैले ज्यादै बोर गरिरहेको छ भने मालिक पादले वातावरणमा रमाइलो थप्छ । मैले माथि एक जना बूढा बाको जुन प्रसङ्ग लेखेको थिएँ, यही मालिक पदाईको मालिक हुनुहुन्थ्यो ।

त, इतिहासमा पादबारे खोज्नुभयो भने बेलायतको एउटा दरबारियाका बारेमा निकै रोचक प्रसङ्ग पढ्न पाइन्छ । उसको नाउँ थियो, रोलान्ड द फार्टर । उसलाई पाद्नका लागि पैसा दिइन्थ्यो । उसको पदाईको टाइमिङ यति चुस्त थियो कि जसले जुन बेला अह्राए पनि पाद निकाल्न सक्थ्यो । उसले आफ्नो जीविका यसैका माध्यमबाट चलाएको थियो ।

१२ औँ शताब्दीको बेलायती दरबारमा राजा हेनरी द्वितीयको जागिरमा यस्ता १२ जना सांगीतिक पादकहरू थिए तर तीमध्ये रोलान्डको विशेषता नै बेग्लै ! भनिन्छ, राजा हेनरीले १२ जनालाई लाइनै राखेर पाद्न आदेश दिन्थे र तीमध्ये जसले उत्कृष्ट पादछ उसलाई तत्काल पुरस्कार दिन्थे रे !

रोलान्डको ख्याति कतिसम्म थियो भने उसलाई सडकदेखि खातेपिते घरसम्म निम्त्याइन्थ्यो र पादेबापत पैसा दिइन्थ्यो । कहिलेकाहीँ त कोही कोही यति खुसी हुन्थे कि नगद मात्रले नपुगेर जिन्सीसमेत दिई पठाउँथे ।

एकपटक रोलान्डले राजा हेनरी खुसी भएका बेला गतिलो घर नभएको गुनासो गरेका हुनाले आफ्नै घर उपहारमा दिएका थिए । त्यो घर पूर्वी लन्डनको सफोकस्थित हेमिङस्टोनमा थियो । यो पदुवा बूढोका बारेमा कसरी थाहा भयो भन्ने तपाईंलाई नि लाग्ला, खासमा १३ औँ शताब्दीताका टिप्पणी गरिएको एउटा पुस्तक ‘द बुक अफ फिस’मा रोलान्ड पदुवाबारे उल्लेख छ । त्यहीँबाट यसबारे खुलासा भएको हो ।

कहिलेकाहीँ रोलान्ड द फार्टिस्ट (किनभने फार्ट आर्टिस्टलाई फार्टिस्ट भनेर सम्मान गरिनुपर्छ) को त्यो कला अहिले विभिन्न शैली र शिल्पमा सामाजिक सञ्जालमा प्रस्तुत भएको देख्न सकिन्छ । तिनबाट प्राप्त हुने मनोरञ्जनको के कुरा ! ती मनोरञ्जनमध्ये एउटा यो मेरो पनि हो ।

अथः पाद महात्म्य समाप्तम् !