हिन्दु धर्मका अनुयायीहरू शिवलिङ्गप्रति ठुलो आस्था राख्छन् । शिवप्रति भक्तिभाव राखी श्रद्धा र उपासनामा समर्पित भएर सोहीअनुसार नीति, नियम र आचरणको पालन गर्नु शैवधर्म हो ।

नेपालमा प्रारम्भिककालदेखि शैवधर्मको क्रमिक रूपमा विकास हुँदै आजको अवस्थामा आइपुगेको हो । यस धर्मप्रति मानिसहरूमा ठुलो आस्था र भक्ति रहिआएको हुँदा विभिन्न कालखण्डमा प्रतिष्ठा भएका शिवलिङ्ग र शिवमन्दिरहरूमध्ये काठमाडौं बानेश्वरको महादेव पनि एउटा हो । ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणबाट आफ्नै महत्व रहेको बानेश्वर महादेवको देवस्थल बानेश्वर बस्तीको धार्मिक तथा सांस्कृतिक केन्द्रविन्दु रहिआएको छ ।

मानव सभ्यताको विकाससँगै शिवको उपासना स्तुति गर्ने परम्परा विकास हुँदैआएको देखिन्छ । मानव सभ्यताका विभिन्न अवशेषहरूमध्ये सिन्धुघाटी सभ्यता एउटा हो । त्यस ठाउँमा गरिएको उत्खननaf6 पत्थरका ससाना स्त्रीमूर्ति तथा पुरुषलिङ्गका प्रतीकहरू पाइएका छन् ।

सिन्धुघाटी उत्खननबाट प्राप्त माटोको सीलमा लिङ्ग प्रदर्शन गरिएका योगीको मूर्तिलाई पुरातत्त्वविद्हरूले शिवको प्रारम्भिक रूप मानेका छन् र सो योगीको वरिपरि बाघ, हात्ती, गैँडा, भैँसी आदि जनावरहरू देखिन्छन् । वैदिकग्रन्थ ऋग्वेदमा शिवको स्पष्ट रूपले उल्लेख गरिएको पाइँदैन । यद्यपि त्यहाँ रूद्र देवतालाई मानव र पशुको आपद हरण गरी सुख प्रदान गर्ने जटाधारी भनिएको छ (ऋग्वेद संहिता, २०६३ सूक्त ११४।१) । त्यसकारण रूद्रलाई शिवको वैदिक कालीन नाम मानिन्छ । श्वेताश्वतर उपनिषद्मा वर्णन गरिएको रूद्रका अनेक नामहरूमध्ये शिव एउटा हो ।

शैवधर्ममा शिवलाई ‘निष्कल’ नामले लिङ्ग प्रतिमा र ‘सकल’ नामले मानवीय रूपलाई बुझाउँछ । हिन्दुहरू शिवलिङ्गलाई निराकार रूपमा र मानवीय प्रतिमालाई साकार रूपमा पूजा गर्छन् (पोद्दार, २०५१, पृ.१९) ।

वास्तवमा शिव भनेको ब्रह्मरूप भएको हुँदा उनलाई ‘निष्कल’ भनिन्छ ।

वैदिककालमा लिङ्ग उपासनालाई ‘शिश्नदेवाः’ भनिन्थ्यो ।

आफ्नी पत्नीहरू महादेवको सेवा कार्यमा लागेको देखेपछि ऋषिद्वय भार्गव र अंगिरस क्रुद्ध भई लिङ्ग पतन होस भनी श्राप दिएपछि, पतन भएको लिङ्गले तुरुन्तै विशाल रूप धारण गरी आकाश-पातालसम्म पुगी पृथ्वी डगमगाएको अद्भूत घटनाबाट ब्रह्मा र विष्णु दुबैको ध्यान आकर्षित भयो । विष्णु भगवान त्यस लिङ्गको फेद पत्ता लगाउन तुरुन्तै आफ्नो वाहन गरुड चढी पातालतिर प्रस्थान गरेको हुँदा ब्रह्मा पनि पद्ययान चढेर लिङ्गको टुप्पो भेटाउन आकाशतिर लागे पनि दुबै जना फेद टुप्पो पत्ता लगाउन असमर्थ भएको प्रसङ्ग लिङ्ग पुराणमा उल्लेख छ ।

प्रारम्भिक कालमा मानिसहरू आफ्नो पार्थिव जीवनको आधारभूत तत्व प्रजनन प्रक्रियाबाट निकै प्रभावित भए । तिनीहरूले प्रजनन कार्यमा एउटा रहस्यमयी शक्ति विद्यमान रहेको अनुभूति गर्न थालेको हुँदा समाजमा लिङ्ग र योनिले कुनै न कुनै रूपमा प्रतिष्ठा पाउन थालियो । मानिसहरूले पनि लिङ्गलाई विशेष महत्त्व दिई सृष्टिकर्ताको रूपमा ठुलो श्रद्धा तथा आस्था राखी स्तुति, पूजा र अर्चना गर्ने परम्परा विकास गरेबाट समाजमा प्रजनन कार्यले क्रमशः धार्मिक मान्यता पाउन थालियो ।

उपनिषद्कालमा शिवलाई आध्यात्मिक पुरुष र प्रकृतिलाई शक्तिको रूपमा कल्पना गरिएको छ । शिवशक्तिको आपसी सम्बन्धबाट जगतको सृष्टि भएको मान्यता पैचलित भएबाट प्रकृति र पुरुषको समागमको सङ्केतलाई शास्त्रकारहरूले विभिन्न घटनाहरू उल्लेख गरी त्यसैसित जोड्ने गरेको देखिन्छ । नीतिशास्त्रहरूले पनि यसतर्फ प्रोत्साहित गर्दै आएको पाइन्छ । स्कन्दपुराणअनुसार जुन मनुष्यले शिवमन्दिर निर्माण गर्दछ, त्यसको अस्तित्व यस धरतीमा रहुन्जेल उसले स्वर्ग भोग गर्न पाउने बताइएको छ (पोद्दार तथा गोश्वामी : २०५१, पृ. १६) ।

त्यसकारण शैवधर्मका अनुयायीहरू शिवलिङ्ग प्रतिस्थापन गर्न र त्यसको निमित्त मन्दिर बनाउन उत्प्रेरित हुँदै आएकाले देश विदेशमा असङ्ख्य शिवलिङ्ग र शिवमन्दिरहरू स्थापित भएका छन् । नेपालमा शैवधर्मको विकास अति प्राचीन कालदेखि हुँदै आएको छ । यहाँका असङ्ख्य शिवलिङ्ग र शिवमन्दिरहरूमध्ये आराध्यदेव पशुपतिनाथ लिङ्गको उद्भव उपत्यकामा आवादी विकास गर्ने जाति महिषपालहरूको पालामा भएको हो भन्ने मानिएको छ ।

नेपालको इतिहास प्रागैतिहासिककालदेखि प्रारम्भ भएको बुझिन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँबाट प्राकमानवले प्रयोग गरेका पाषाण औजारहरू प्राप्त भएका छन् (बनर्जी र शर्मा : २०२६, पृष्ठ ५३-५४) । यद्यपि समूहगत र व्यवस्थित बसोबास भने नीप जातिका गोपालवंशी ग्वालाहरूले बसाएका हुन् । तत्कालीन समयमा उत्पत्ति भएको यो देवस्थल सम्पूर्ण हिन्दु सम्प्रदायको आस्थाकेन्द्र बन्दै आएको छ । भक्तजनहरू पशुपतिको दर्शनबाट पुण्य लाभ हुनेका विश्वास गर्छन् ।

काठमाडौं उपत्यकाभित्र असङ्ख्य शिवालयहरू छन् । लिच्छविकालमा धेरै शिवलिङ्ग स्थापना भएको तत्कालीन अभिलेखहरूबाट थाहा पाउन सकिन्छ । तत्कालीन शासक वर्गका विभिन्न सदस्यहरूले पनि ठाउँ ठाउँमा शिवलिङ्ग स्थापना गरेको पाइन्छ ।

त्यतिबेला स्थापना गरिएका शिवलिङ्गहरूमा शिवलाई सृष्टिकर्ता तथा दुःख निवारणकर्ता भनी महिमा गाएको पाइन्छ ।
अंशुवर्मा भगवान शिवका अनन्य भक्त थिए । यिनले साँगामा स्थापना गरेको अभिलेखमा “जट्टाधारी महादेव मानवलाई कल्याण गर्ने” भनी शिवको महिमा गाइएको छ (वज्राचार्य : २०५३, पृ. ३३६-३३७) । नेपालमा शैवधर्मभन्दा अगाडि वैष्णव धर्मले महत्त्व पाएको थियो । आफू स्वयंले पशुपतिनाथको पाउको अनुग्रह पाएका भनी ‘भगवत्पशुपतिभट्टारकपादानुगृहितो’ उपाधि धारण गरेका थिए (वज्राचार्य : २०५३, पृ. २९०, ३०१, ३०९) ।

तत्कालीन शासकहरू जिष्णुगुप्त, विष्णुगुप्त, नरेन्द्रदेव, शिवदेव द्वितीय र जयदेव द्वितीयले पनि अंशुवर्माकै नीति अनुसरण गरी पशुपति सम्बन्धी सो उपाधि ग्रहण गरेकाले तत्कालीन समाज र भावीपिँढीलाई शैवधर्ममा आस्था जगाउन ठुलो योगदान पुर्‍याएको छ । तत्कालीन शासक र जनसाधारण वर्गमा भगवान शिवप्रति महान् आस्थारहेको हुँदा शिवालय स्थापना गर्ने कार्यमा लागेका थिए ।

त्यतिबेला प्रतिष्ठा गरिएका भक्तपुर दरबार स्क्वायरको पशुपति मन्दिर (यक्षेश्वर मन्दिर), भक्तपुरकै डोलेश्वार र सुवणर्श्वर महादेव मन्दिर, ललितपुरको कुम्भेश्वर मन्दिर, ठिमीको महादेव मन्दिर, रानीपोखरीको शिवलिङ्ग र शिवमन्दिरहरू स्थापना गरिएको थियो । भक्तजनहरू आफ्नो सेवा सधैँ शिवभक्तिमा समर्पित गर्न चाहन्छन् । शैवधर्मप्रति समर्पित भक्तजनहरूको विगतका क्रियाकलापहरूले यही कुरालाई इङ्गित गर्दछ । यसै क्रममा आधुनिककालमा पनि धेरै शिवालयहरू प्रतिष्ठा भएका छन् ।

शिवको उत्पत्ति निर्गुण परमात्माबाट भएको विश्वास गरिन्छ । शिवभक्तिबाट दुःख नाश भई पुण्यप्राप्ति हुने र भवसागर रूपी यस संसारबाट मुक्ति प्राप्त गर्ने कुरा शिवपुराणमा वर्णन गरिएको छ (पोद्दार : २०५१, पृ. २१) ।

नेपालका विभिन्न स्थानहरूमा असङ्ख्य शिवलिङ्गहरू स्थापना भएकामध्ये आराध्यदेव पशुपतिनाथ विराजमान भएको देउपाटनको दक्षिणी भेगमा अवस्थित बानेश्वर महादेव एउटा हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक आदि दृष्टिकोणबाट आफ्नै महत्त्व रहेको शिखर शैलीमा निर्मित यस महादेव मन्दिरको नजिकै पूवैतिर करिब ४० मिटरको दूरीमा वाणगङ्गा नाम गरेको ढुङ्गेधारा छ । शिवलाई स्थापना गर्दा नदी वा पवित्र तीर्थको आसपासमा स्थापना गर्नु पर्ने धार्मिक मान्यता रहिआएको छ । शिवपुराणको शास्त्रीय कथनबाट बानेश्वर महादेव र वाणगङ्गाबिच निकटसम्बन्ध रहेको ज्ञात हुन्छ । प्रभातकालमा जलाशयमा स्नान र मन्दिरमा देवदेवीको पूजा उपासना तथा दर्शन नगरी नागरिकहरूको दैनिक नित्यकर्म नै सुरु हुँदैनथ्यो । त्यसकारण काठमाडौं उपत्यकाको प्रत्येक बस्तीभित्र ठाउँ ठाउँमा ढुङ्गेधारा, इनार, कुवालगायत देवदेवीका मन्दिरहरू स्थापना गरिएका हुन्छन् ।

स्नानीयवासीहरू दैनिक रूपमा पूजा उपासना तथा दर्शनको निमित्त र महादेवप्रति आफ्नो भक्तिभावलाई जीवन्तता प्रदान गर्न यहाँ आउने गर्छन् । शिवमन्दिर रहेको ठाउँमा साक्षात भगवानको वास हुने मान्यता छ । भगवान शिवको महिमाबारे पुराणमा वर्णन गरिएको तथ्यबाट पनि यस कुराको पुष्टि हुन्छ । उनीप्रति राम्रो भक्तिभाव राखी पूजा गर्नु पर्दछ । पूजा गर्दा दरिद्रता, रोग, दुःख तथा शत्रुजनित पीडाबाट मुक्त हुनुका साथै सम्पूर्ण मनोआकांक्षा पूरा भई सबै किसिमका सुख प्राप्त हुने हुँदा भक्तजनहरू शिवभक्तिमा लिप्त हुन्छन् । बानेश्वर बस्तीको नाम र बानेश्वर महादेवबीच पनि अन्तरसम्बन्ध रहेको बुझिन्छ ।

बानेश्वरको वाणगङ्गा नाम दिइएको ढुङ्गेधारा र त्यसैको समीपमा पश्चिमतिर प्रतिष्ठपित महादेव भारतको प्रसिद्ध सोमेश्वर तीर्थको प्रतिरुप हुन् (धौबन्जार : २०६८९, पृ. ५०) । सोमेश्वर क्षेत्र हिन्दुहरूको एउटा महान् तीर्थस्थल हो । त्यहाँको विशाल नदीलाई पौराणिककालमा रावणले वाण प्रहार गरी जलप्रवाह गरेको विश्वास गरिन्छ । त्यसैले सो जलप्रवाह क्षेत्र र त्यसबाट बग्ने नदीलाई वाणगङ्गा भनिन्छ । वाणगङ्गा र सोमेश्वर नामबाट त्यस ठाउँलाई वाणेश्वर भनिन्छ । जुन मनुष्यले त्यस सोमेश्वरको पवित्र वाणगङ्गा तीर्थस्थलमा स्नान गरी शिवलिङ्गको समेत दर्शन गर्दछ उसले पवित्र तीर्थ गङ्गामा स्नान गरे सरह पुण्य प्राप्त हुने कुरा वराह पुराणमा उल्लेख गरिएको छ (कल्याण : पूणांङ्क, वर्ष ५१, संख्या १, पृ. २६५) ।

काठमाण्डौंस्थित वत्र्तमान बानेश्वर बस्तीलाई त्यतिबेला प्रख्यात र पवित्र बनाउन भारतस्थित वाणगङ्गाको प्रतीक जलप्रवाह स्थल ढुङ्गेधारा र सोमेश्वरको प्रतीक शिवलिङ्ग स्थापना गरी बस्ती विशेषको नामसमेत बानेश्वर राखी उल्लेखित शिवलिङ्गलाई बानेश्वर महादेव नामकरण गरी पवित्र बनाएको थाहा हुन्छ (धौबन्जार : २०६८, पृ. ५०) । बानेश्वर बस्तीको प्राचीनता खोतल्ने क्रममा प्राचीन र मध्यकालका अभिलेख, हस्तलिखितग्रन्थ तथा अन्य ऐतिहासिक स्रोतहरूमा यस बस्तीको नाम कतै उल्लेख भएको पाइँदैन ।

राणाकालीन लेनदेन तथा जग्गा खरीद बिक्री सम्बन्धी धेरै कागज पत्रहरूमा बानेश्वर बस्तीको नाम उल्लेख भएका छन् । हालसम्म प्राप्त स्रोतहरूमध्ये सबभन्दा पुरानो राजा गीर्वाणयुद्ध विक्रम शाहले वि. सं. १८५९मा गरिदिएको सुनविर्ताको लालमोहरमा स्पष्ट रूपले “बानेश्वर ब्राह्मण टोल” भनी उल्लेख गरिएको छ (भक्तपुर नगरपालिका वडा नं. ८ साकोथानिवासी श्रीज्ञानकर वज्राचार्यको सङ्ग्रहमा रहेको सुनविर्तासम्बन्धी लालमोहरबाट) ।

बानेश्वर महादेवमन्दिर पनि आधुनिककालमा मात्र प्रतिष्ठा गरिएको देखिन्छ । हुन त यस महादेवको स्थापना प्राचीनकालमा ‘वाण’ नाम गरेको ऋषिले गरेको कुरा नेपाल महात्म्यमा उल्लेख गरिएको छ । तर नेपालमहात्म्यमा उल्लेखित सो भनाइलाई पुष्टि गर्ने कुनै ऐतिहासिक स्रोत देखिँदैन । यथार्थमा सोही मन्दिरको प्राङ्गणमा रहेको अभिलेखमा बानेश्वर महादेवको स्थापना तत्कालीन सरकारी अधिकारी डिट्ठा लक्ष्मीनारायणले वि. सं. १८५०मा गरेको स्पष्ट रूपमा उत्कीर्ण छ ।

सो अभिलेखको अध्ययनबाट बानेश्वर महादेवको स्थापना वि. सं. १८५०मा भएको भन्ने कुरा स्पष्ट हुन्छ । सो मन्दिर दुई वर्षमा निर्माण-सम्पन्न भएको थियो । मन्दिर प्रतिष्ठा गर्ने लक्ष्मी नारायणका छोरा कालीदासले सात रोपनी जग्गा गुठी राखिदिएका थिए । त्यसकारण सो अभिलेखले विशेष महत्त्व राख्दछ । सो परिसरभित्र अन्य देवदेवीका प्रतिमाहरू पनि रहेका छन् । अभिलेखमा वर्णन गरिएका सम्पदाहरूका साथै बानेश्वर महादेव मन्दिरको चार कुनामा अरू चार शिवलिङ्गहरू— ईसानकोणमा सर्वोषधिश्वर, नैऋत्यकोणमा प्राणेश्वर, वायव्यकोणमा ऋषिमुक्तेश्वर र आग्नेयकोणमा भैरवाष्येश्वर थिए (रेग्मी : २०५०, पृ. १९०-१९१) ।

बानेश्वर महादेव मन्दिरमा जलसायन नारायणको अर्को प्रतिमा पनि छ । हिन्दुधर्मका अनुयायीहरूलाई धर्मप्रति जागरुक बनाई आफ्नो पुण्य वृद्धि गर्न समय समयमा विभिन्न भक्तजनहरूले उल्लेखित प्रतिमाहरू राख्न लगाएको ज्ञात हुन्छ । उल्लेखित अभिलेख, मन्दिर स्थापना गर्ने व्यक्तिको शालिक, पाटीलगायत चार कुनामा रहेका शिवलिङ्गहरू सबै लोप भइसकेका छन् । बानेश्वर महादेवकै करिब १० फिट पश्चिमतिर शिवलिङ्गसहितको अर्को मन्दिरलाई भने उल्लेखित चार शिवलिङ्गहरूमध्ये एक रहेको अनुमान गर्न सकिन्छ । शैव धर्मका अनुयायीहरू आफ्नो सनातन धर्म र भगवानप्रति अगाध आस्था र विश्वास राख्दछन् । अथर्ववेदमा दिइएको परिभाषाअनुसार भगवानमा आस्थावान रही आफ्नो नित्यकार्य गर्नु नै मानिसको धर्म भन्ने बुझाउँछ ।

आफूमा अन्तर्निहित धार्मिक आस्थालाई जीवित राखी त्यसलाई प्रकट गर्ने मुख्य थलो मन्दिर हो । भगवान शिव केवल पौराणिक देवता मात्र होइनन्, पंचदेवमा सबभन्दा ठुला अनादि सिद्ध परमेश्वर पनि हुन् । कल्याणस्वरूप, कल्याणप्रदाता, सर्वसिद्धिदायक र सर्वश्रेष्ठकर भगवान शिवको मन्दिर बानेश्वर बस्तीको मध्यभागमा अवस्थित छ ।

यस मन्दिरका दाताले मन्दिर प्रतिष्ठा गर्दा नै यसको नित्यपूजा, सदावर्त वर्षवन्धन, होमलगायत उल्लेखित अवसरहरूमा बाजा बजाउनका लागि समेत आर्थिक व्यवभार वहन गर्न राखि दिएको गुठी र गुठीजग्गा हाल बाँकी रहेको देखिँदैन ।

दैनिक पूजापाठको अलावा शिवरात्री, तीज आदि विभिन्न पर्वहरूमा यहाँ मेला लाग्दछ ।

ऐतिहासिक स्रोतको अध्ययनबाट यस सम्पदा करिब दुई सय पैँतीस वर्ष पुरानो देखिन्छ ।

समाज कसरी अगाडि बढेको छ र कुन कुन परिस्थितिबाट गुज्रेर अहिलेको अवस्थामा आइपुगेको छ भन्ने कुरा इतिहासको अध्ययनबाट मात्र थाहा पाउन सकिन्छ । तत्कालीन समयका अभिलेख, हस्तलिखित ग्रन्थ, वंशावली, पुरातात्विक वस्तु आदिको अभावले गर्दा यथार्थ कुरा जनसमक्ष ल्याउन गाह्रो भई इतिहास नै अधुरो भइदिन्छ । बानेश्वर महादेव स्थानबाट इतिहासको महत्त्वपूर्ण स्रोतको रूपमा रहेका धेरै सम्पदाहरू लोप भइसकेका छन् ।

सन्दर्भग्रन्थसूची

ऋग्वेद संहिता (२०६३) काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।

जालान, मोतीलाल ( ) कल्याण : संक्षिप्त बराह पुराण, पूर्णाङ्क, वर्ष ५१, सङ्ख्या १, “सोमेश्वरलिङ्ग, मुक्तिक्षेत्र (मुक्तिनाथ) और त्रिवेणी आदिक महात्म्य”, गोरखपुर : गीताप्रेस ।

धौबन्जार, गोपाल (२०६८) काठमाडौं उपत्यकाका बस्तीहरू, काठमाडौं : कल्पना श्रेष्ठ ।

पोद्दार, हनुमान प्रसाद सं. (२०५१) संक्षिप्त शिवपुराण, गोरखपुर : गीताप्रेस ।

पोद्दार, हनुमान प्रसाद तथा गोश्वामी, चिम्मन लाल सं. (२०५१) संक्षिप्त स्कन्दपुराण, गोरखपुर : गीताप्रेस ।

बनर्जी, एन. आर. र शर्मा, जनकलाल (२०२६) प्राचीन नेपाल, सङ्ख्या ९, काठमाडौं : पुरातत्त्व विभाग ।

वज्राचार्य, धनवज्र (२०५३) लिच्छविकालका अभिलेख, काठमाडौं : नेपाल र एशियाली अनुसन्धान केन्द्र ।

रेग्मी, जगदीशचन् द्र (२०५०, द्वितीय संस्करण), शाहकालीन कला र वास्तुकला, काठमाडौं : साझा प्रकाशन ।

हिमवत्खण्ड (२०१३) वाराणसी : गोरक्षटिल्लानाशी योग प्रचारिणी ।