दार्जिलिङ पहाडको एउटा उच्च शैक्षिक संस्थानका रूपमा कालिम्पोङ कलेजको पनि ख्याति छ । सन् १९६२ मा स्थापना भएको कालिम्पोङ कलेजले विभिन्न चोला फेर्यो, ठाउँ फेर्यो, रूप फेर्यो। अहिलेको ठाउँसम्म आइपुग्नका निम्ति आफ्नो दुई दुई ठाउँ गुँड लगाएको थियो । स्थापनादेखि लिएर यसलाई हुर्काउनका निम्ति धेरै सङ्घर्ष गर्नुपरेको थियो । कालेबुङेका शिक्षाप्रेमी जनताको चाहना विस्तारै विस्तारै पूरा भएको हो । सही क्रममा सन् १९९२ देखि नै पेदोङका जनताले माग गर्दै आएको कलेज पनि सन् २०१४ मा सरकारी अधिनियम बनिएर सन् २०१५ मा वास्तविक रूपमा अस्तित्वमा आएको हो।
कालिम्पोङ कलेजमा कला, विज्ञान र वाणिज्य गरी तीनवटा सङ्काय छन्। यी तीनैवटा सङ्काय आफ्नो विद्या प्रदान गर्न सक्षम छन्। अझ कालिम्पोङ कलेजको वाणिज्य विभाग प्रसिद्ध थियो। एस एन सिंहले वाणिज्य विभागलाई धेरै माथि उठाउने काम गरेका थिए। यस्तै अरू प्राध्यापकहरूको पनि योगदान गरेको पाइन्छ। यस कलेजका प्राचार्यहरू पनि निकै विद्वान रहिआएका छन्। त्यसमध्ये डा. अरविन्द बासु निकै अनुशासनप्रिय थिए। हामी कलेज पढ्दा डा जि एस योञ्जन प्राचार्य हुनुहुन्थ्यो। त्यसै गरी कालिम्पोङ कलेजमा नेपाली विभागमा हरिभक्त न्यौपाने, महानन्द पौड्याल, कुमार छेत्री, अमृत खालिङ, देवकुमार प्रधान आदिले सेवा गरिसकेका छन् ।
मैले नेपाली अनर्स लिएको थिएँ। अनर्सको क्लास राम्रोसँग हुन्थ्यो । नेपाली अनर्सका निम्ति कुनै निश्चित क्लासरुम त राखिएका थिए। प्रायः जसो दुई र चार नम्बर कोटामा हुन्थ्यो । कुमार सरले बुझाउँदै लेखाउँदै एकदमै राम्रोसँग पठाउनु हुन्थ्यो। उनी निकै कडा हुनुहुन्थ्यो। विद्यार्थीलाई निकै सोध्नुहुन्थ्यो, मेहनतले बुझाउनु हुन्थ्यो। उहाँको पठाउने कला उत्कृष्ट थियो। अनर्सबाहेक ऐच्छिक नेपाली लिनेहरूलाई नेपाली विषयमा खेलाँची गरे सोधेर कायल पार्नुहुन्थ्यो। वहाँले एकचोटि बुझाएपछि छर्लङ्गै पारिदिनुहुन्थ्यो।
सायद लाग्छ, जिल्लाभरिका कलेजका सबैभन्दा राम्रो नेपाली पढाउने प्राध्यापक-प्राध्यापिकाहरूमध्ये कुमार सर पनि एक हुनुहुन्थ्यो। उहाँको पढाउने कला हामी शिक्षकहरूले अपनाउनुपर्ने देखिन्छ। अमृत खालिङ सरले पनि राम्रो पढाउनुहुन्थ्यो तर उहाँ भने अन्य काममा बढी व्यस्त हुनाले कोही कोही बेला क्लास बिराउनुहुन्थ्यो। यद्यपि अधिकतर हामी अनर्सकालाई त पढाउनुभयो। वहाँले मधुर स्वरमा निकै गम्भीर तवरले बुझाएको बिर्सन सकिन्न। प्रा. सुधा गुरूङ भने अत्यन्त कडा, छुच्ची लाग्ने तर हामी अनर्सकालाई भने माया गर्नुहुन्थ्यो। उहाँले खुबै मिठोसँग लेखाउँदै-बुझाउँदै गर्नुहुन्थ्यो ।
देवकुमार प्रधान सरले भने छिटाे-छिटो नोट्स लेखाउनुहुन्थ्यो । उहाँले नोट्स लेखाउने गरेको पनि राम्रो भयो। छिटो छिटो लेखाएर हाम्रो हातले छिटो लेख्ने बानी गराउनु भएको हो । नत्र छिलो लेखाइले पछिसम्म समस्या पार्न सक्ने थियो। उहाँले किताब भने खोजी-खोजी ल्याइदिनुहुन्थ्यो । तीन वर्षसम्म उहाँहरूको छत्र-छायामा हाम्रो अनर्ससहितको स्नातकीय कलेजियन जीवन बिताउन पायौँ ।
कालिम्पोङ कलेज नेपाली अनर्स पढेका केही प्राध्यापकहरूमा डा. राजेन्द्र भण्डारी, डा. परसुराम पौड्याल, प्रा. गङ्गाप्रसाद भट्टराई, प्रा.डा. पुष्प शर्मा, डा. गीता निरौला, प्रा. निमा निची शेर्पा, लक्ष्मण शेर्पा, प्रा. मेघनाथ छेत्री, यस पंक्तिका लेखक आदि हुन् । हालका प्राचार्य डा. राजेन्द्र प्रसाद ढकाल, सिक्किम विश्वविद्यालयका पूर्व उपकुलपति डा टि. बी सुब्बा, प्रधानमन्त्री कार्यालय, नयाँ दिल्लीका श्री गोपालप्रसाद पौड्याल आदि पनि कालिम्पोङ कलेजका उपज हुनुहुन्छ ।
कालिम्पोङ क्षेत्रबाहेक सिक्किम, डुवर्स, असमतिरबाट पनि कालिम्पोङ कलेज पढ्न आउँथे । यीबाहेक अन्य धेरै धेरै व्यक्तित्वहरू कालिम्पोङ कलेज पढेर समाजमा उच्च स्थान हासिल गरेका छन् । भर्खरै पनि सिक्किमका पूर्वसचिव श्री के एन शर्माले पनि आफूले यस कलेज पढेका र त्यतिबेला कलेजको ठाउँ स्थानान्तरण गर्का निम्ति धेरै सङ्घर्ष गर्नुपरेको प्रसङ्ग भन्नुभएको थियो ।
त्यतिबेला कलेज एक महिनाजति पछि अनर्सको भर्नाका निम्ति सूचना निकाल्थ्यो। अनि जो जो अनर्सका निम्ति उत्साही र इच्छुक छन्, उनीहरूलाई अनर्स प्रवेश परीक्षा लिने गरिन्थ्यो। यसो हुँदा इच्छुक र योग्यले मात्र कुनै पनि विषयमा अनर्स लिँदा उसको रूचि र योग्यता बढेर गएको हुन्थ्यो। अहिले त्यस्तो छैन। अहिले त अनलाइन भर्ना फारम भर्ने हुँदा जो पाए त्यही अनर्स लिने हुँदा स्तर घटेको पाइन्छ ।
नेपाली अनर्सकै कुरा गर्दा पनि इच्छुक अनिच्छुक सबैले लिन पाएकाले नेपालीको स्तर घटेको जस्तो लागेको छ । उस बेला दुई वर्ष पढेर दुई अन्य ऐच्छिक विषयसहित पार्ट वान र तेस्रो वर्ष पढेर अनर्स विषयमा मात्र पार्ट टु गरी कलेज सकिन्थ्यो । पास कोर्स पढ्ने त दुई वर्षमा एकैचोटि बीए फाइनल दिएर कलेज सकिन्थ्यो । प्रथम वर्षबाट दोस्रो वर्ष पुग्न कलेजमा इन्टर्नल एक्जाम सम्पन्न हुन्थ्यो र सबैलाई पास गराउने चलन थियो । हाम्रो पार्ट वान अनर्सको र दुई वर्षे ऐच्छिक नेपालीको सिलेबस एउटै थियो ।
हामी पढ्दा पनि कलेजको वार्षिक पत्रिका रिड्स प्रकाशित हुन्थ्यो । त्यसले पनि विद्यार्थीमा लेख्ने रुचि जगाउँथ्यो । मेरो एउटा लेख पढेर कलेज सञ्चालन समितिका तत्कालीन अध्यक्ष एम.एम गुरूङले मलाई सराहना र स्याबासीको सन्देश पठाउनु भएको थियो । यस्तै पत्रिकाबाट नै साहित्यको सिर्जना र समालोचना लेख्ने उत्सविन्दु बनेको हुन्छ । कालिम्पोङ कलेजको रिड्समा प्रकाशित नेपाली सामग्रीको अध्ययन सङ्कलन गरे मात्र पनि धेरै महत्त्वपूर्ण र मूल्यवान् पुस्तक निस्कन सक्छ ।
तिनताक हामी सिधा-साधा विद्यार्थी थियौँ । हामीले छक्का-पञ्जा बुझेकै थिएनाैँ । कतिपय साथीहरू कलेजको स्टुडेन्ट युनियनमा लागेका थिए । दोस्रो वर्षमा हुँदा भने तत्कालीन चल्ती विद्यार्थी संगठन मन नपरेर आफ्ना साथीहरूसँग लागी अर्को विद्यार्थी संगठनमा केही दिन खटेका थियौँ । मेरा साथीहरू सुधीर घले, नारायण छेत्रीहरू कलेजको युनियनमा संलग्न थिए ।
हाम्रो अध्ययनकालमा एकपल्ट कलेजको एन एस एसको एकसय जना जतिको टोली चौध माइलको रविलाल दाहाल जुनियर हाइस्कूलको खेल मैदान बनाउन गएका थियौँ । त्यो १९९२ सालको मई महिनाको तीन दिने क्याम्पमा साह्रै रमाइलो भएको थियो। त्यस क्याम्पमा हामी कला र विज्ञानका छात्र-छात्रा गएका थियौ। साथमा प्राचार्य डा. जी एस योञ्जन, प्रा. कुमार छेत्री, प्रा. सुधा गुरूङ, प्रा. अमृत खालिङ र प्रा. सुवोध कुमार जस (बाङला विभाग), श्री बलभद्र शर्मा सम्मिलित हुनुहुन्थ्यो । प्रायः तीन दिन जसो दिनभरि स्कूलको ग्राउण्ड बनाउन बेल्चा-फरूवा र कराइमा भरेको माटो पास गर्ने काम गरेका थियौँ । दिनभरि काम गर्दा शरीर थाकेको हुन्थ्यो ।
त्यस क्याम्पको समयमा बेलुकी सम्पन्न मनोरञ्जनात्मक कार्यक्रममा साथी अर्जुन खवासले गीत गाएर र नाथनियल लेप्चाले जोक भनेर हामीलाई साह्रै हँसाएका थिए । कालिम्पोङ कलेजबाट बिदा लिई उत्तर बंगाल विश्वविद्यालय पुगेका प्रा. डा. सुबोध कुमार जसले पनि उक्त क्याम्पको सम्झना गर्छन् । त्यतिबेला डा. जी एस योञ्जनको नेतृत्वमा वृक्षरोपन कार्यक्रम पनि सम्पन्न भएको थियो। अहिले ती बिरूवाहरू बढेर रूख भएको हुनुपर्छ ।
त्यस क्याम्पमा गएका मेरा एक प्रिय साथी सन्तोष बस्नेतले केही दिनपछि आत्महत्या गरेछन् । उनी छैटौं कक्षादेखिका मेरा साह्रै मिल्ने साथी थिए । त्यही क्याम्प नै उनीसित भएको अन्तिम भेट रहेछ । त्यसै गरी अर्को एकपल्ट हामी मिल्ने ग्रुपका बीसजना जति साथीहरू मिलेर डेलो डाँडा घुम्न गएका थियौँ। डेलो हिडेर गई घुम्यौँ , फोटो खिच्यौँ र वरिपरि गोलबद्ध भई बोकेर लगेका खाजा बाँडेर खायौँ ।
मेरा ब्याचका कलेजियन साथीहरू अब त धेरै बिर्सिसकियो । हुन पनि पढ्ने विद्यार्थीहरू बगुन्द्रै हुन्थे । हाम्रो ब्याचमा कलातर्फ मात्र अढाई-तीनसय जनाजति थियौँ होला । पेदोङ, डुवर्सतिरबाट पनि साथीहरू पढ्न आएका थिए । कति जनासित त नबोली, नामै थाहा नभई र सामान्य परिचय नभई कलेज सकियो । केही तिब्बती साथीहरू अरूसित घुलमिल नगरी आफ्नै समुदायबिच मात्र हुन्थे ।
केही घनिष्ठ र सम्झिएका साथीहरूमध्ये कृष्ण गिरी, हेमन्त गुरूङ, कुमार थापा, गीता छेत्री, मीरा छेत्री, सावित्री छेत्री कृष्टिना धमाला, रेनरिप रोङ्गोङ, सुशील प्रधान, बीरबल सुब्बा, एकराज राई, सरूणा लामा, ब्रजलाल लिम्बु (आसामका), गोपाल सापकोटा, राजेन थापा, बिनु छेत्री, सावित्री छेत्री, अल्बिना लामा, फिरोज कुरेशी, जरीन नाज, रेणुका सुब्बा, मङ्गला राई, हेम सुब्बा, अर्जुन खवास, उपेन्द्र प्रधान, राजु छेत्री, हेम छेत्री, तेजकुमारी, श्रीमती मुन्ना प्रधान(राई), रमेश तिरूवा, विजय सुन्दास, विप्लव दाहाल, पद्मा शाक्य, मालती राई, राजेश विश्वकर्म, सुनिता छेत्री, बनिता राई, किरण प्रधान, सरिता पौड्याल, पूनम छेत्री, थुप्देन भुटिया, सोफिया लेप्चा, सन्ध्या पाण्डे, सुधीर घले, इन्द्रवीर राई, फुपछिरिङ भुटिया, सन्तोष बस्नेत, पुरण सिटोङ आले, हिमालचन्द्र राई, राजेश राई, याङकी भुटिया, रिनामित लेप्चा, बसन्त कानु, यसबिन्द्र प्रधान र मेरा अनर्सका प्यारा साथीहरू चन्दा, एरिना, रिता प्रमुख थिए।
यी साथीहरूमध्ये थुप्देन भुटिया एक सफल गायक बने, कृष्ण गिरी व्यवसायी बनेको छ, कुमार थापा जनता कलेजको कर्मचारी, सुधीर घले सिङ्गापुरमा, बीरबल सुब्बा दुबईमा छन्, सोफिया लेप्चा डब्लू बी सी एस अफिसर बनेकी छन्, बनिता राई नर्स बनेकी छन्। बिजय सुन्दास नेता भएको छ, भने देवराज ठकुरी डुवर्सको कुनै एउटा चियाकमानमा मेनेजर भएको छ। रिनामित लेप्चा लोले हाइ स्कूलमा स्थायी शिक्षिका बनेकी छन्। हेम सुब्बा सरकारी कर्मचारी भए, राजेश राई फुड एण्ड सप्लाईका कर्मचारी, एकराज राई ई एफ आर जवान भएका छन् ।
यी एउटै ब्याचका साथीहरूमा सुशील प्रधान र रेनरिप रोङ्गोङले जोडी बनी कलेज पढ्दा-पढ्दै र पछिबाट कुमार थापा र अल्बिना लामाले बिहा गरेका छन् । उता विज्ञान विषय पढ्ने हाम्रा ब्याचका साथीहरूमा रविन तामाङ, विकाश कालिकोटे, विकाश छेत्री, तपन शर्मा, बिकेन्द्र सुब्बा, नाथनियल लेप्चा, साइमन पिटर याँग, ओथनियल प्रधान, राजु नयपाल, दिपेन्द्र शर्मा आदिको नाम याद आउँछन् । यी साथीहरूमध्ये कतिजनासित अझै पनि मित्रता य़थावत् छ। कति बितेर गइसके। सन्तोष बस्नेत, पुरण सिटोङ आले, रिञ्जिङ भुटिया, सारा लेप्चा अहिले यस संसारमा छैनन्।
त्यस्तै गरी हामीलाई पढाउने गुरुहरूमा प्रा. देवकुमार प्रधान, प्रा. अमृत खालिङ, प्रा. सि के सुब्बा बितेर गइसकेका छन् । सम्झने क्रममा मेरा प्रिय दाजु ज्ञानेश्वर शर्मा सम्झन्छु, जसले मलाई कलेजसम्बन्धि दिशा-निर्देश दिन्थे, माया गरी एक वर्ष जसो सधैं कलेज लान्थे । जो कलेजमा मभन्दा एक वर्ष सिनियर थिए । उनकै किताब र नोट्सबाट मैले दुई ऐच्छिक विषय इतिहास र राजनितीशास्त्र पढेको थिएँ । आजभन्दा तीन वर्षअघि उनी कुबेतमा दुर्घटनामा परी देहावसान भएका हुन् । उनी मेरा दाजु मात्र नभई एक असल मित्रजस्ता थिए । अहिले कलेजका दिनहरू सम्झँदा उनी पनि मेरो मानसपटलमा स्वतः आइहाल्छन् ।
कलेजमा वार्षिक रूपमा तर्कसभा प्रतियोगिता, वार्षिक खेलकुद आदि हुनगर्थे । वर्षमा एकपटक विद्यार्थी युनियनको चुनाव हुने गर्थ्यो । त्यतिबेला गोराविमोको मात्र दबदबा थियो । यद्यपि केही साहसी विद्यार्थीहरू एआएस एफ, जिडिएसएफ जस्ता विद्यार्थी सङ्गठनहरूले पनि चुनाव प्रतिदज्द्वन्ता गर्दथे। हाम्रो समयमा हामी केही साथीहरू मदन तामाङको दल जिडिएफको विद्यार्थी इकाईको तर्फबाट चुनावमा सहयोग गरेका थियौँ । त्यसमध्ये रतन रूम्बाले सहसिचवको रूपमा जितेकी थिइन् भने बाँकी जम्मै गोराविमोले बाजी मारेको थियो ।
एकपटक कलेज मास्तिरको पार्कमा जिडिएसएफको सभा भइरहेको बेला गोराविमोका एक हुल केटाहरू आएर धमास धम्की दिएर सभा र चाण्डबिण्ड बनाएका थिए । त्यो गर्नुको एउटै उद्देश्य युनियनमा आएका केही रकम गोजीमा हाल्नु मात्र हो जस्तो लाग्थ्यो । कलेजमा विद्यार्थी संगठनका लागि चल्तीमा रहेको दलका बाहेक अरू विद्यार्थी संगठन गर्न चाहे केही दादाहरूद्वारा धम्क्याइन्थ्यो र डरसरीको माहौल बनाउँथे । त्यतिबेला गान्तोकमा सम्पन्न डेन्ज-93 भने विविध प्रतियोगितात्मक उत्सवमा हाम्रो कलेजबाट अंग्रेजी रक गीत गाउने र युनियनका केटाहरू मात्र भाग लिन गान्तोक गएका थिए । गोर्खाल्याण्ड आन्दोलन भर्खर सकिएको थियो तर त्यसको तुष सकिएको थिएन । परीक्षामा नकल गर्ने चलन पूरापूरी हटेको थिएन र घरमा नपढ्नेहरू नकल गर्ने प्रयास गर्थे ।
जे होस्, कालिम्पोङ कलेजमा बिताएका दिनहरू अविष्मरणीय छन्। समयको धपेडीले पनि ती सुनौला दिनहरू मेटाउन सक्दैन। ती दिनहरूमा आफ्ना पारिवारिक झैं-झमेला र सङ्घर्ष थिएन । हामी उन्मुक्त भई कलेजमा शैक्षिक कार्य सम्पन्न गर्थ्यौं । बुद्धिभन्दा रहर बेसी, कर्तव्यभन्दा कल्पना बेसी, ज्ञानभन्दा भावना बेसी थियो । ती कति मिठा र रमाइला दिन थिए ।
अहिले समयको छालमा हेलिएर हामी कता-कता पुग्यौँ । सम्झन्छु मेरा प्रिय साथीहरू, मेरा आदरणीय गुरूहरू। मेरो मगजमा स्मृतिहरू सल्बलाउँछन्। अब त ती दिन फर्केर आउदैन तर ती रमाइला दिनहरू सम्झँदा स्वाद पनि, विस्वाद पनि, कता कता खुसी, कता कता नोस्टाल्जियाले अँठ्याउँछ । यो संस्मरण लेख्दा पनि एक प्रकारले भावुक भई त्यही विगतको कलेजियन जीवनको सुनौलो संसारमा मानसिक विचरण गर्न पुगेँछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।