जिन्दगीसँग जति जति तिता घटनाहरूका सँगालो हुन्छन्, त्यति नै जीवन जिउनुको आनन्द बेग्लै । तिक्तताबिनाको जिन्दगी त खासमा जिन्दगी नै हैन । यो त जिउँदो लासहरूको मूल्यहीन पहाड न हो । कि…?

बाल्यकालदेखि नै मलाई पुस्तक पढ्नुमा जति आनन्द अरू कुनै कार्यमा आउँदैनथ्यो । सानैदेखि पढन्दास थिएँ । कसैले च्यातेर फोहोरमा मिल्काएको कागजको टुक्रा पनि टिपेर पढ्थेँ । यो पढ्ने लत आजसम्म जीवितै छ ।

मिलन कार्की

हामी सबैलाई अनुभव भएकै कुरा हो । आफ्नो साथी सफल भयो भने तिक्तता महसुस हुन्छ हामीलाई। हामी साथीसँगीको सफलता हेर्न सक्दैनौँ । यो कुनै अनौठो कुरा भने पटक्कै हैन । यो त हाम्रो खान्दानी परम्परा हो । अरू चिज सहजै मासिएलान् । तर परम्परा मास्न त्यति सजिलो छैन । परम्परा हाम्रो आदत हो । हामीलाई कोही व्यक्ति या समाजले नबिगारेर हरदिन आदतले बिगार्ने हो । हामी आदतको दास हौँ ।

मलाई कक्षामा प्रथम हुँदा त्यति आनन्द कहिल्यै आएन । जति आनन्द मलाई नयाँ पुस्तक पढ्दा र नयाँ कक्षामा प्रवेश गर्न पाउँदा हुन्थ्यो । र मेरो अर्को सोख, टाढाटाढासम्म पैदल हिँड्न मन लाग्नु । पुस्तक र पैदल मेरो लागि एकै सिक्काका दुई पाटा हुन् । बाल्यकालदेखि आजसम्म मलाई यो स्वभावले डोर्याइरहेको छ ।

मेरो पढाइ र सफलता केही साथीहरूलाई सायद अपच भएको थियो होला ? खासमा यी बाल्यकालका घटना हुन् । बाल्यकालमा नै ससाना बाल मष्तिष्कमा एक अर्काप्रति डाह र ईर्ष्याको बीज कसरी रोपिन्छन् ? किन एक अर्काको विरुद्धमा जस्तोसुकै घृणित काम गर्न पनि पछि पर्दैनन् ? यी वाइयात ज्ञानको स्रोत चाहिँ आखिर हो के ? परिवार समाज या शिक्षा या अन्य केही ! शिक्षाभन्दा बरू घटनाले चाहिँ बालमष्तिष्कमा गहिरो र प्रभावकारी छाप छोड्छ । शिक्षा त सेकेन्डरी कुरा न हो ।

स्कुले जीवनमा एउटा ठीकठीकै मिल्ने साथी थियो । म पढाइमा निकै ट्यालेन्ट थिएँ। ऊ चाहिँ पढाइमा कमजोर थियो । कक्षामा सबैभन्दा धेरै कुटाइ पनि उसैले खान्थ्यो । कुटाइको दुखाइबाट बच्नको लागि आफ्नो आङमा तीन-चार ओटा लुगा लगाएर आउँथ्यो । तर खेलकुदमा भने निकै चाख लिन्थ्यो ।

ऊ र म त्यति मिल्ने साथी थिएनौँ । मेरो मिल्ने साथीसँग भने एकपटक नराम्रोसँग झगडा पर्यो । झगडा मात्र नभएर कक्षा चारमा पढ्दा उसको र मेरो फाइट नै पर्यो । उसलाई मैले मरण हुने गरी कुटेको थिएँ । उसलाई जसरी आजसम्म मैले अरू कसैलाई कुटेको छैन । तर निकै वर्षपछि ऊसँग फेरि सम्बन्ध सुधारिँदै आयो ।

पछि उसले भनेको थियो, “खासमा त्यो दिन म झगडा गर्ने मनस्थितिमा भने थिइनँ । केही केटाहरूले उक्साएको हुनाले म तिमीसँग फाइट खेलेको हुँ । तिनीहरूले भनेका थिए, ‘मिलनसँग पहिला तँ फाइट खेल्, अनि पछि पालैपालो हामी खेल्छौँ ।’ तर उनीहरू फाइट नखेलेर हेरेर मात्र बसे ।”

तर त्यो ठीकठीकै मिल्ने साथी भने पटक्कै झगडा गर्ने स्वभावको थिएन । ऊसँग मेरो बाक्लो त के सामान्य संगत पनि थिएन । तर पनि एउटा घटना, जसले त्यो बेला मलाई केही समय अचम्ममा भने पार्न छोडेको थिएन । जाबो राम्रो संगत नै नभएको साथीले आखिर के कारणले भगवानसामु भाकल राख्न बाध्य भयो होला ? न हाम्रो दुस्मनी, न त प्रतिस्पर्धा । मसँग मात्र हैन सबैसँग उसको सामान्य मित्रता थियो । कक्षामा मात्र हैन, स्कुलभरि नै उसको कोही दुस्मन थिएनन् । ऊ सबैसँग फिट हुन्थ्यो । तर उट्पट्याङको चाहिँ राजा नै थियो ।

===

अब लागौँ घटनातर्फ ।

कक्षा पाँचमा पढ्दाको कुरा हो । त्यस्तै साउन या भदौ के महिना थियो । पहिलो पिरियड सक्किएपछि दोस्रो पिरियड सुरु भयो । त्यो दिन दोस्रो पिरियड खाली थियो । दोस्रो पिरियड पढाउने शिक्षक स्कुल आएका थिएनन् । त्यही दोस्रो पिरियडमा एक केटा र केटीको झगडा सुरु भयो । झगडा हात हालाहाल र कुटाकुटकै स्थितिमा पुगेको थियो । एकैछिनमा कक्षामा होहल्लाको चर्को आवाज घन्किन थाल्यो । हल्ला चर्किएको केही क्षणमै कक्षामा हेडमास्टरको प्रवेश भयो ।

‘तिमीहरू नपढेर बेकारमा के को हल्लाखल्ला र झगडा गरेर बसेको ?’ ती केटा र केटीलाई अगाडि ब्ल्याक बोर्डनेर उभ्याउँदै शिक्षकले उनीहरूमाथि केरकार सुरु गर्नुभयो ।

केटा – ‘यसले मलाई … को छोरा भनी सर ।’

केटी – ‘यसले पनि मलाई के के भन्यो ।’

केटा – ‘मैले केही भनेको छैन । यसले त्यसै निहुँ खोजेकी हो सर ।’

‘चुपलाग…! तैँले मिलन फेल भयो भने म रातो भाले चढाउँछु भनेको हैनस् ।’ अचानक केटीले प्रसङ्ग अन्तै मोडी । उनीहरूको झगडा परेको अर्कै विषयमा, तर प्रसङ्ग निस्कियो अर्कै ।

‘कहाँ ? जे पायो त्यही भन्छेस् ?’ ऊ झस्कियो ।

केटी – ‘हैन भनेर कसम खा त ! जिरेश्वरी मन्दिरमा त्यसो भनेको हैन भन त !’

त्यो आवाज हावामा फैलनेबित्तिकै सबैको नजर त्यो केटामाथि पर्न गयो । कक्षाले अचानक मौनधारणा गर्यो ।

‘यसले त्यसै भनेकी हो सर, मैले त्यसो भनेकै छैन ।’ उसले फेरि दोहोर्यायो ।

‘मेरै आँखाअगाडि तैँले त्यसो भनेर भाकल गरेको हैनस् । तँ धेरै जिद नगर न !’

मलाई भने साथीले भगवानसामु त्यस्तो भाकल गरेको कुराले मन दुख्नुको साटो मनमनै हाँसो उठिरहेको थियो । मेरो ध्यान उनीहरूकै भनाभनमा केन्द्रित थियो । उनीहरू आआफ्नै शैलीमा बाझाबाझ गरिरहेका थिए । अरु बेला एक अर्काको समर्थन गर्ने साथीहरू त्यो बेला चुइक्कै केही बोलेका थिएनन् ।

शिक्षक – ‘तैँले किन त्यसो भनेको केटा ? यस्तो नाथे भाकल पनि कसैले गर्छ ।’

‘मैले त्यसो भनेकै छैन सर, यसले त्यसै…’ ऊ अलि डराउँदै बोलेको थियो ।

केटी – ‘यसले त्यसो भनेकै हो सर । बाटोदेखि नै यसले मिलन फेल भयो भने भगवानलाई रातो भाले चढाउने कुरा गरेको थियो ।’

त्यसपछि केटाको बोली बन्द । उसले थप अरू केही शब्द बोलेन ।

त्यो दिन शिक्षकले पनि उनीहरूलाई खासै कुनै सजाय दिएनन् ।

शिक्षक कक्षाबाट बाहिरिएपछि केटाले तुरुन्तै धम्की दिन भ्याइहाल्यो, ‘तेरो पख् ! भरे स्कुल छुट्टी मात्रै होस् न !’

‘भोलि तँ स्कुल नआए त हो नि । म फेरि सरलाई गएर भन्दिऊँ ?’

यत्तिकैमा दोस्रो पिरियड सकिएको जनाउ घण्टी बज्छ ।

त्यस दिनपछि पनि उसको र मेरो सम्बन्ध सामान्य साथीमा नै सीमित रह्यो । मैले पनि तैँले किन त्यसो भनेर भाकल गरिस् ? मैले तेरो के बिगार गरेको थिएँ र भनेर सोधिनँ पनि । उसले पनि मेरो कुनै खोजिनीति गरेन । बेअर्थ र बेतुकको त्यो घटना त्यसै सेलाएर गयो । तर मैले बुझ्न नसकेको कुरो, आखिर उसले भगवानसामु भाकल राख्नुको कारण चाहिँ के थियो होला ?

हामीमा त्यस्तो दुस्मनी त केही थिएन । यो कस्तो आश्चर्य !

हिजोआज पनि कहिलेकाहीँ म सोच्छु, त्यो साथीलाई भेटेर सोधौँ , ‘ए साथी अनि तैँले भगवानलाई भाले चढाइस् त ? कि भगवानले भाले लिन मानेनन् !’