
बाँयाबाट क्रमश: निर्मल, चिन्तन, टोपेन्द्र र समीर ।
बिहान दस बजे चोकमा भेट्ने भनेर टोपेन्द्रलाई अघिल्लै दिन भनेको थिएँ । त्यसैले उनले ९:४५ मा माइक्रोबस चढेर मलाई कल गरे । म ओछ्यानमै थिएँ । तैपनि म बाटामा छु भनेर ढुक्क पारेँ । यता आफू चाहिँ ? आउँदैछु भनेर ढुक्क पारेपछि ओछ्यानमै सुतिरहन पाइन्छ र ? आखिर अर्कालाई ढुक्क पार्नु भनेको आफूले छटपटी बोक्नु न रहेछ ।
कुरो ७९ माघ २ गतेको ।
फोन राखेर तत्काल उठेँ । हातमुख धोएर तयार होऊन्जेल फेरि फोन आयो । “अँ टोपेन्द्र, म दुई मिनेटमा चोकमा पुगिहाल्छु ।” उनको कुरै नसुनी फोन राखेँ र हतारहतार कपडा लगाएँ । जुत्ता लाउन्जेल ढिलो होला भनेर चप्पलमै दौडेँ । दौडेर सडकसम्म पुगेको के थिएँ, झ्याप्प याद आयो- ऐना त हेर्नै भुलेछु । उफ् ! संसारमा ऐनाको आविस्कार भएदेखि नै होला मान्छेले आफैँलाई कुरूप देख्न थालेको । फेरि पनि आफ्नै कुरूपता देखाउने ऐना यति प्यारो छ कि…. नकुरा गरौँ । अँ, म ऐना हेर्नकै लागि बाटामा पुगेको मान्छे फर्केर आएँ र ऐनामा सरसर्ती हेरेँ । कपाल गुजुमुजु परेको । कमिजको कलर नमिलेको । दारी काट्नुपर्ने भैसकेको आदि, इत्यादी !
फेरि फोन बजिहाल्यो । उठाएँ र भनेँ- अब एक मिनेटमा फ्याट्टै चोकमा हो ।
“छिटो आऊ न हो । कति समय लगाएको ?”
“ल ल, एक मिनेटमा पुगिहालेँ ।”
छिनछिनमा फोन आइरह्यो ।
अब त दिक्क हुँदै टोपेन्द्र बोले, “छिटो आउँछौ कि म घर फर्किऊँ ?”
“आउँछु आउँछु । एक मिनेटमात्र लाग्छ अब ।”
“एक मिनेट भन्न थालेको आधा घन्टा भैसक्यो । कस्तो खोयाजस्तो मान्छे यार !” उनले दिक्दारी पोखे ।
‘खोयाजस्तो मान्छे’ भनेको सुनेपछि हाँसो थाम्नै सकिनँ र जोडले हाँसिदिएँ । हाँसेको सुनेर सडक किनारमा उभिएको मान्छे “ओइ” भनेर बोले । “किन हाँसेको एक्लै ?”
“हाँसेको होइन दाइ, म रोएको हुँ ।” भनेँ ।
“हँ?”
बिचरा दाइ सोचमा डुबिहाले । आखिर म हाँस्दा पनि रोएजस्तै देखिन्छ । हाँसेको आवाज नआउनु हो भने को छुट्याउँदो हो म रोएको हुँ कि हाँसेको हुँ !
फेरि फोन आयो । “चिन्तन, मैले भन्देको छु है । धेरै ल्याङ गर्यो भने म घर गइहाल्छु ।”
“नो नो, म पुगिसकेँ ।”
एक मिनेटपछि चोकमा पुगेँ । टोपेन्द्रले परबाट घुरेर हेरेको देखेर फेरि हाँसो आइहाल्यो । मेरो गुइँठे हाँसो देख्नासाथ टोपेन्द्र पनि हाँसिहाले । मान्छे रिसले मुर्मुरिएको बेला हाँसो उठाउनुको मजा मलाई थाहा छ । सानोमा तप्तेलाई यस्तै हाँसो उठाउँदा ढुङ्गामुढाले खेदेर डाँडापारि पुर्याउँथ्यो । ऊ फर्केर फेरि आफ्नो काममा लागेको हुन्थ्यो, म पछिपछि आएर फेरि हँसाउन सुरु गरिहाल्थेँ । फेरि उठेर खेद्थ्यो । हँसाउनु पनि सताउनुको एउटा तरिका हो भन्ने त्यतिबेलैदेखि बुझेको हुँ ।
खैर ! टोपेद्र र म । कुर्दाकुर्दै बस नआएपछि हामी रिक्सा चढ्यौँ । कोहलपुरमा निर्मल र समीर हामीलाई कुरिरहेका थिए । नेपालगन्ज जाने योजना मैले रद्द गरेर कोहलपुरमै रुमल्लिने निर्णय गरिसकेको छु भन्ने कुरो टोपेन्द्रलाई थाहा थिएन । अब चाहिँ मैले सो कुरा सुटुक्क भनेँ ।
उनी सर्प्राइज्ड भएर एक मिनेट मेरो अनुहारमा हेरेपछि भने “भो यार, म घर फर्किन्छु ।”
“होइन होइन । गफ लाएको । नेपालगन्ज नै हो जाने ।”
उनी शान्त भए । तर उनले थाहा पाइसकेका थिए कि म नेपालगन्ज भनेर उनीहरूलाई आज पनि कोहलपुरमै डुलाउँछु भन्ने कुरा । तर ल्याङ्ल्याङ् गर्नुको कुनै औचित्य नदेखेपछि उनी चुप लागे ।
यत्तिकैमा निर्मल सरको कल आयो । कल रिसिभ गरेर भनेँ, “सर गोलपार्कतिर कुर्दै गर्नोस्, हामी आइहाल्यौँ ।”
तीन चार मिनेटपछि टुलुक्क गोलपार्कमा पुग्यौँ । निर्मल सरसहित हामी अब तीनजना भयौँ । एकछिनमा समीर सर पनि आउनुभो । चारजना भयौँ । त्यसको केहीबेरमा ज्ञानेन्द्र सर । पाँचजना । ज्ञानेन्द्र सर धेरैबेर बस्नुभएन । फेरि चारैजना ।
•••
सिङ्गल हुनु भनेको जीवनको सबैभन्दा सुन्दर एकान्त बाँच्नु हो भन्ने बुझेका हामी अहिलेसम्म सिङ्गल नै छौँ । अहिलेसम्म भनेर नि के फुर्ती लगाउनु र ! भक्खर 23 पुगियो । मान्छे 32 सम्म सिङ्गल नै डुलिरहेका छन् ।
जेहोस्, हामी चारैजना सिङ्गलहरू एउटा क्याफेमा पस्यौँ । छतमा गएर बस्ने सोचले भर्याङ् चढ्यौं । क्रमैसँग टोपेन्द्र, निर्मल, समीर, अन्त्यमा म । एक ठाउँबाट जान खोज्यो माथि बन्द, अर्कोबाट जान खोज्यो माथि बन्द । धेरै संघर्षपछि बल्ल पुगियो छतमा । वाउ ! खुशीले नाक त एक किलोमिटर लामो भएको पत्तो भएन ।
निर्मल सरले सरसर्ती मेन्यु हेरेर भन्नुभो, “एस्प्रेसो भनेको के रैछ ! यही लिऊँ न त आज ।”
हामी सहमत भयौँ । तर टोपेन्द्रले आफ्नो लागि अर्कै आइटम अर्डर गरे । अरूले भन्दा फरक रोज्ने टोपेन्द्रको आदिम विशेषता जो थियो ।
वेटरले तीनवटा एस्प्रेसो र एउटा अमेरिकानो ल्याए । सुरुमा समीरले कप उठाएर एक सट लिनुभो । कफीको पहिलो सटमै उहाँ स्थिर भैहाल्नुभो । अनुहारको एक्सप्रेसन हेर्दा लाग्थ्यो, उहाँ एकछिनपछि उठेर ‘हस् त नमस्ते’ भनेर घरतिर लाग्नुहुन्छ ।
समीरजी उठ्नुहुन्छ कि भनेर केहीबेरसम्म त बाटो हेर्यौँ । तर उहाँ नउठेपछि हामी ढुक्क भयौँ कि कफी ठिक छ । यसपछि निर्मल सरले कफी उठाएर एक सट लिनुभो । उहाँ चाहिँ बेस्सरी हाँस्नुभो ।
अब मलाई शंका भयो । सोधिहालेँ, “कस्तो छ र ?”
“अरे गज्जब यार ।” निर्मल सर बोल्नुभो । तर समीर अझै स्थिर नै हुनुहुन्थ्यो । एउटै कफीले एउटालाई गम्भीर एउटालाई चन्चल कसरी बनायो ? खै म नि एक सट लिई हेरौँ । सिरिप्प ।
ओ माइ गड ! व्हाट अ सर्प्राइज् ! अब त म पनि स्थिर भएँ । कफीमा तितोपन यति थियो कि एकछिन त आँखै देखिनँ । उता टोपेन्द्र मुसुमुसु हाँस्दै अमेरिकानो लिँदै थिए ।
कफीको पहिलो सटमै अतालिएर निर्मल सर चिनी माग्न जानुभो । केही चिनी लिएर आउनुभो । तीनैजनाले आ-आफ्नो कफीमा चिनी हालेर पुन: लियौँ ।
हैट ।
चिनी हालेपछि कफीको तितोपना पहिलेभन्दा अझै बढेको पायौँ । अली बढी चिनी हाल्यौँ । झन् तितोपना बढ्यो । फेरि चिनी थप्यौँ, अझ तितो भयो । जतिधेरै चिनी हाल्यो, उतिधेरै तितो । हामी चरण चरणमा सर्प्राइज्ड हुँदै गयौँ । अब चाहिँ चिनीमै शंका लाग्यो । एक चम्चा हातमा लिएर चाखेँ । चिनी गुलियै थियो ।
उसो त कफीको तितोपना घटबढ केही भएको थिएन होला । बरु अब त चिनी हालेका छौँ, पक्कै गुलियो हुन्छ भन्ने अपेक्षाले बढी तितो लागेको हो सायद । अथवा एस्प्रेसो र चिनी पूर्वजन्मदेखिका दुश्मन थिए क्यारे । जति सँगै राख्यो उति तितो एक्सप्रेसन दिने ।
नयाँ आइटमको स्वाद लिने चाहनामा धोका खाएको यो दोस्रोपटक थियो । अँ, तपाईंलाई हतार छैन भने म पहिलोपटकको किस्सा पनि सुनाउँछु ।
म:म कहिल्यै खाएको थिइनँ । साथीले म:म खान जाऊँ भन्यो, गएँ । टेबुलमा म:म आइसकेपछि साथीलाई सोधेँ, “यो कतै भैंसीको त हैन नि ?”
“कहाँ भैँसीको हुनु ! बफ म:म हो नि । प्योर बफ ।”
बफ भनेको भैँसीकै म:म हो भन्ने मलाई थाहा थिएन । साथीले भैँसीको कहाँ हुनु भनेपछि म ढुक्क भैहालेँ । भैँसीको मासु त्यतिबेलासम्म खाएको थिइनँ । म:म खाँदै गर्दा साथीले सोध्यो, “भैँसीको जस्तो लाग्यो र ?”
“अहँ, लागेन । गज्जब लाग्यो ।” मैले भनेँ ।
साथी मुसुमुसु हाँस्यो ।
यसरी थुप्रै दिन त्यही म:म सेन्टरमा बफ म:म खाइसकेपछि एक दिन वेटरलाई सोधेँ, “यहाँ भैँसीको म:म पाउँछ कि नाइँ ?”
“यो भैँसीकै त हो ।” वेटरले जवाफ दियो ।
“बफ म:म होइन र यो ?” मैले प्रश्न गरेँ । छेउमा बसेर साथी हाँसिरहेको थियो ।
“अनि बफ भनेको भैँसीको होइन त ?” वेटर बोल्यो ।
ओ माइ गड ! म त सर्प्राइज्ड । आखिर जिन्दगी भन्नू पनि सर्प्राइज नै सर्प्राइजहरूको गठजोड नै त रहेछ । भैँसीको मासु नखाने मान्छेलाई बफ म:म साह्रै मीठो लाग्ने पो भैसकेछ । बुझेँ, साँच्चै पूर्वाग्रह नराखिकन हेर्ने हो भने संसारका सबै चिज सुन्दर छन् ।
साथीलाई धेरैधेरै प्रेम !
अँ, म चाहिँ जति चिनी हाल्यो उति तिक्खर हुने कफीको तितोपन सम्झिँदैछु । कफी आधा पनि सकेनौँ । अब अर्को आइटम अर्डर गर्ने सोचेर मेन्यु पल्टायौँ । फेरि आइटम रोज्ने जिम्मा निर्मल सरकै हातमा । “झोल म:म” उहाँ बोल्नुभो ।
समीर र म सहमत भयौँ । टोपेन्द्रले फेरि पनि अर्कै रोजे, फ्राइ म:म । मैले चाहिँ झोल म:म भनेको अर्कै ठानेको थिएँ । आयो अर्कै । झोलैझोल । झोलमा तैरिरहेका केही डल्ला म:म । म फेरि पनि सर्प्राइज्ड । तर सुखद कुरो, त्यो झोल म:म भनाउँदो तितो चाहिँ थिएन ।
विस्तारै घाम मलीन हुँदै गयो । हामी निस्कियौँ । कफीको तितोले त्यो दिनको सम्झना प्रगाढ बनाएर गयो । आज पनि तितो भन्नेबित्तिकै स्मृतिपटलमा त्यही दिनको सम्झना साकार भएर आउँछ ।
प्रिय टोपेन्द्र, निर्मल अनि समीर ! धेरै धेरै प्रेम र सम्झना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

