केही बर्ष कलेजमा पढाए पनि र कहिलेकाहीँ घर वा डेरामा आउने विद्यार्थीलाई सिकाइदिने गरेको भए पनि मैले कहिल्यै पनि विद्यार्थीसँग कुनै शुल्क लिएर पढाइनँ वा भनौँ ट्युसन पढाउनु पर्ने अवस्था आइपरेन । पेशा वा सेवाको क्षेत्र बैंकिङ परेकाले र आफ्नो विषय–क्षेत्र पनि ट्युसन–मैत्री नभएकाले ट्युसनको आवश्यकता र बाध्यता केही परेन । दश–पाँचको जागिरबाट बचेको समय पारिवारिक–व्यावहारिक काम र लेखपढमा बितिरहेको हुन्थ्यो । तर परिस्थिति, वाध्यता वा संयोग के भनौं, एकपटक मलाई छोटो समयका लागि ट्युसन पढाउनुपर्ने अवस्था आइपर्यो, त्यो पनि नेपालीलाई नभएर विदेशीलाई ।

डा.कृष्णराज अधिकारी

भएछ के भने, गाउँको एउटा होटलमा बसिरहेकी स्टिफिनी स्प्राई नाम गरेकी अमेरिकी महिला नेपाली साहित्य पढाउने राम्रो शिक्षकको खोजिमा रहिछ । होटल मालिकले मलाई चिनेको हुँदा उसले मेरो नाम लिँदै घर देखाइदिन एउटा कर्मचारीलाई सँगै पठाइदिएछन् । बेलुकीपख घाम अस्ताउनै लाग्दा एउटी भर्खरकी देखिने विदेशी महिला मीठो नेपाली भाषामा मेरो नाम लिएर घर खोज्दै आइपुगी । घरको गेटबाहिर उभिइरहेको मैसँग मेरो नाम लिएर सोधेपछि म आश्चर्यमा परेँ । उसको पछि एकजना नेपाली केटो पनि आएकाले उसैले मेरो नाम र घर बताइदिएको हुन सक्ने त ठानेँ तर एउटी विदेशी केटी यसरी नामै किटेर घरमा आउनुको कारण अनुमान लगाउन सकिनँ । ऊसँग आउने नेपाली केटो घर देखाएर गइसकेको थियो ।

उसले हाँस्दै नमस्कार गरी र आफू आउनुको कारण साह्रै सरल र मीठो नेपाली भाषामा व्यक्त गरी । मैले उसलाई घरमा लगेँ र कुर्सीमा बस्न भनेँ ।

उसले अति नम्र भएर सौहार्दपूर्वक भनी—”धन्यवाद ! मैले तपाईंकाे समय लिएँ, मलाई माफ गर्नुहोला ।”

मैले भनेँ— “केही छैन, मसँग समय छ, फुर्सदिलो छु ।” समय लिएकामा उसले अप्ठेरो जस्तो मानेकी थिई । उसले केही ढिला तर स्पष्ट र मीठो नेपाली भाषामा आफ्नो कुरा राखी । ऊ छ बर्ष भएछ नेपाल आउने गरेको । कहिले लामै समय र कहिले एक–दुई महिना गरी ऊ करिव चार बर्षजति नेपाल बसिसकेकी रहिछ । नेपालका गुरुङ जातिको संस्कृतिका बारे थेसिस लेखेकी उसले नेपालका बारे धेरै डकुमेन्ट्री पनि बनाएकी रहिछ । गुरुङ जातिको घना बस्ती भएका कास्कीका सिक्लेस र घान्द्रुक अनि स्याङ्जाको सिरुवारी र तनहुँको कुमाल बस्तीमा समेत बसिसकेकी ऊ काठमाडौं बस्दा डा. तारानाथ शर्मासँग केही समय संस्कृत र नेपाली पनि सिकेकी रहिछ । यसैले उसले बोल्न मात्र होइन, नेपाली लेख्न पनि सिकिसकेकी थिई । उसको अमेरिकी नाम स्टिफिनी भएपनि नेपाली नाम भने शशि राखेकी थिई ।

एकैछिनको कुराकानीपछि उसले मसँग नेपाली साहित्यको ट्युसन पढाइदिन समय मागी । मैले पाँच बजेसम्म आफ्नो कार्यालय भएकाले साढे पाँच बजेबाट मात्र पढाउन सक्ने बताएँ ।  एउटी विदेशी महिलालाई नेपाली साहित्यका बारेमा पढाउन पाउनु म जस्तो साहित्यप्रेमीका लागि नयाँ अनुभव र खुसीको कुरा थियो । ऊ एक महिना जति पोखरा बस्ने भएकाले त्यसको सदुपयोग गर्दै नेपाली साहित्य पढ्न खोजेकी रहिछ । मैले एक महिनासम्म दिनको एकघण्टा पढाइदिने भएँ । उसले ट्युसनको शुल्क सोधी । मैले एउटी विदेशी महिलालाई नेपाली माषा–साहित्य पढाउन पाउनुमा खुसी व्यक्त गर्दै आफूले कहिल्यै ट्युसन पढाएर पैसा लिने नगरेको हुँदा यसलाई आफूले सानो सहयोग मात्र सम्झेको भनी पैसा नलिने कुरा गरें ।

तर उसले जिद्दी गर्दै भनी—”म विद्यार्थी हुँ । धेरै पैसा त दिन सक्दिनँ तर थोरै भएपनि तपाईंले लिनै पर्छ । भन्नोस्, कति पैसा लिनुहुन्छ ?”

मैले दोहोर्याउँदै भनें—”म तपाईंसँग पैसा लिएर पढाउनमा भन्दा पैसा नलिई पढाउनमा बढी खुसी हुनेछ । पैसा लिनलाई यो मेरो पेशा होइन । लामै समय पढाउनुपर्यो भने सोचौँला, तर एक–दुई महिना पढाएको पैसा लिन मलाई कर नगर्नोस् । तपाईंलाई पैसा नतिरी पढेकामा जति अप्ठेरो लाग्छ, त्योभन्दा बढी अप्ठेरो मलाई पैसा लिएर पढाएकामा लाग्छ ।”

तर ऊ मानिन । दुवैले आ–आफ्नै अडान राख्यौँ । ऊ विद्यार्थी हुन आएकी थिई, तर सित्तैमा पढाइदिन्छु भन्दा पनि मानिरहेकी थिइन । पैसा नलिने हो भने आफू सित्तैमा पढ्न नआउने कुरा गर्न थाली । मैले एकैछिन सोचें । उसको अडानमा पैसाको कुनै दम्भ थिएन । कसैको श्रम र समयको सित्तैमा उपयोग गर्नुहुँदैन भन्ने कुरा पुँजीवादी देश अमेरिकाको नागरिक भएर पनि उसले बुझेकी छ । तर, थुप्रै समय अनाहकमा फाल्ने, समयको पर्वाह नगर्ने, अर्काको श्रम–पसिनामा रमाउनुमा गौरव गर्ने र प्रतिष्ठित बन्ने परम्परा र प्रवृत्ति भएको देशको नागरिक मलाई भने श्रम र समयको त्यति महत्व थिएन । तर, अर्कालाई सानो सहयोग गर्नसक्दा आनन्दित हुने उदारवादी व्यक्तिगत स्वभावले पनि मलाई ऊसँग पाँच–सात हजार लिनुमाभन्दा सित्तैमा पढाउनुले बढ्ता आनन्द दिन्थ्यो ।

थोरै भएपनि लिनुपर्छ, त्यसै पढाउनु हुँदैन भन्ने उसको भनाइमा कुनै आर्थिक दम्भ र पुँजीवादी गन्ध थिएन बरु श्रमको सम्मान गर्ने मानवीय पक्ष नै झल्कन्थ्यो । फेरि सोचेँ—ऊ कुनै सहयोग गर्नुपर्ने अवस्थाकी महिला पनि होइन । विद्यार्थी नै भए पनि सम्पन्न मुलुककी सम्भवतः सम्पन्न अवस्थाकी महिला हो । बिना सम्पन्नता यति टाढाको मुलुकमा यति लामो समय घुमफिर गर्नसक्ने स्थिति हुँदैनथ्यो ।

एकछिन सोचेर भनें—”ठीकै छ, म यति दिनुहोस् भन्दिन, तपाईंलाई जति दिन मन लाग्छ दिनुहोला ।”

यति भन्दा पनि ऊ मानिन  र भनी— “मलाई अप्ठेरो हुन्छ, तपाईंले भनिदिए मलाई सजिलो हुन्छ ।”

यति चाहिन्छ भनेर मोलमोलाइ गर्न ठिक नलागेपछि दोहोर्याएँ—”सम्झनुहोस्, तपाईंले जति दिनुहुन्छ त्यति नै मेरो माग हो । अब त भयो ?”

ऊ त्यति खुसी त भइन तर “हुन्छ” भनेर हाँस्दै उठी ।

ऊ साढे पाँच बज्न तीन–चार मिनेट बाँकी छँदा आउँथी र त्यतिबेलासम्म म प्रायः आइसकेको हुन्थेँ। दुई–चार मिनेट अघि पढ्न बस्दा पनि ऊ कुनै ठूलो गल्ती गरेझैं हतपत माफी माग्दै भन्थी—”कृष्णजी, माफ गर्नोस् !” अनि घडी हेर्दै भन्थी—”म आज चार मिनेट अघि आएँ । तपाईंको चार मिनेट समय बढी लिएँ । मलाई चार मिनेट अघि छोड्नुहोला ।”

कार्यालय जाने समय बाहेक अन्यत्र एकाध घण्टाको वास्ता नगर्ने र कतिपय कार्यक्रममा एक घण्टा ढिलो पुग्दासमेत ‘नेपाली समय’ भन्दै कार्यक्रम सुरु नहुने अवस्था भोग्दै आएको मेरा लागि दुई–चार मिनेट त कुनै समय जस्तै लाग्दैनथ्यो, यसैले मैले भनें—”म त्यति व्यस्त छैन, त्यसैले पाँच–दश मिनेट ढिलो–चाँडोले मलाई केही फरक पर्दैन ।”

पहिलो दिन मैले उसलाई नेपाली साहित्यको प्रारम्भ, वर्तमान अवस्था, प्रमुख साहित्यकार, लेखन विधा र प्रमुख प्रवृत्ति बारे छोटो जानकारी गराएँ । आफूले थाहा पाएको बाहेक नयाँ र महत्वपूर्ण लाग्ने कुरा ऊ टिपिहाल्थी ।

दोस्रो दिनदेखि ऊ लेखनाथ पौड्यालमा केन्द्रित हुन थाली । ऊ पौड्यालको ‘ऋतु विचार’ र ‘नेपाली–अङ्ग्रेजी शब्दकोश’ का साथै कपी र पेन्सिल लिएर आउँथी । ‘शब्दकोश यहीँ छ, बोक्न पर्दैन’ भनेपछि उसले शब्दकोशचाहिँ ल्याउन छोडी । ऊ साहित्यका रस र अलङ्कारमा डुब्न खोज्थी । खै किन र कसको सिफारिसमा हो उसले ‘ऋतु विचार’ सकेर मात्रै अरु किताब पढ्ने सोच बनाएकी रहिछ । ऊ त्यस किताबका पंक्ति–पंक्ति मात्र होइन, शब्द–शब्दको व्याख्या खोज्थी । त्यो शब्द नराखेर अर्को शब्द राखेको भए के हुन्थ्यो ? उपमा र रूपक अलङ्कारमा के फरक ? अनि किन यी दुई अलङ्कारको यति धेरै प्रयोग गरिएको ? यो कसरी मिल्यो ? उसका प्रश्नहरु यस्तै–यस्तै हुने गर्थे । नेपाली भाषाको सीमित ज्ञानले गर्दा कहिलेकाहीँ उसलाई एउटा सानो कुरा अर्थ्याउन खोज्दा पनि आधाधण्टा जान्थ्यो । फेरि ऊ आफूलाई लागेको कुरा स्पष्ट नभएसम्म अगाडि बढ्नै दिँदैनथी । कतिपय नेपाली र संस्कृत शब्द अर्थ्याउन मलाई पनि सकसै पर्थ्याे र घरि नेपाली र घरि अङ्ग्रेजी शब्दको प्रयोग गर्दथें । शब्दमा चित्त नबुझ्दा ऊ शब्दकोश पल्टाइहाल्थी ।

एक घण्टाको समय भनेपनि म पाँच–दश मिनेट बढी लिनुलाई सामान्य ठान्दथेँ । तर केही मिनेट मात्र बढी भए पनि ऊ आफैँले गल्ती गरेझैँ माफी माग्दै भन्थी—”ओ ! पाँच मिनेट बढी भएछ । तपाईंको पाँच मिनेट समय बढी लिएँ । मलाई माफ गर्नोस् !”

ऊ पढ्न आउने कुरा बिर्सेर एकदिन अफिसबाट सोझै घर नआई बाटोमा भुल्न पुगेँ । घरमा आउँदा पाँच–सात मिनेट ढिलो भइसकेको थियो । हत्तपत्त जुत्ता फुकालेर उसलाई पढाउने कोठामा पुगेँ ।

मैले माफी माग्न नपाउँदै उसैले हतपत नमस्कार गर्दै भनी—”माफ गर्नोस्, ढिला भयो ! सात मिनेट ढिला भयो, तपाईंलाई दुःख भयो । म त फर्किन लागेको थिएँ ।”

मैले माफी माग्नु पर्नेमा किन उसले माफी माग्छे ? यति बढी नम्रता र हार्दिकता आवश्यक थियो र ? कतै मलाई लज्जित पार्न मेरो तर्फबाट माफी मागेकी त हैन ? मलाई लज्जित पारी । यस्तो अनौपचारिक र सामान्य तवरले एकछिन पढाउँदा त मिनेट–मिनेटको ख्याल गर्छन् भने अरु औपचारिक कामहरुमा समयको कति ख्याल गर्दा हुन् ! अरु देशले त्यसै भौतिक प्रगति र संबृद्धि हासिल गरेका होइनन् । ढिलो आए वापद मैले दश–पन्ध्र मिनेट बढी पढाउने सोच बनाएँ ।

तर साढे छ हुने बित्तिकै उसले घडी देखाउँदै भनी— “तपाईंको समय पूरा भयो ।”

मैले सात मिनेट ढिलो सुरु गरेकाले सात मिनेट बढी पढाउने कुरा गर्दा “साढे छसम्म तपाईंले मलाई पढाउने हो” भन्दै फेरि माफी मागी ।

घरि–घरि त मलाई पनि दिक्क लागेर आउँथ्यो अनावश्यक कुरामा पनि माफी मागिरहेको देख्दा ।

पढाइसकेपछि श्रीमतीले कहिलेकाहीँ चिया, खाजा वा फलफूल लिएर आउँथिन् । तर, त्यो खान पनि उसले उस्तै अप्ठेरो मान्दथी ।

ऊ भन्दथी—”माफ गर्नोस्, मैले अघि खाएर आएको ।” निकै कर गरेपछि मुस्किलले एकदुई टुक्रा फलफूल वा चियासम्म लिन पुग्थी र भन्थी—”मेरा लागि दुःख भयो, माफ गर्नुहोला ।”

सुरुमा त उसले चियाको पैसा दिन खोज्थी तर मैले अलिकति गम्भीर भएर “पाहुनालाई सत्कार गर्ने हाम्रो संस्कार हो, हामी व्यापारी होइनौं ।” भनेपछि बल्ल “ओ ! राम्रो” भन्दै चुप लाग्थी ।

व्यक्तिवादी समाज र पुँजीवादी राज्यव्यवस्थामा जन्मे–हुर्केकी उसमा त्यस प्रकारको व्यक्तिवादी प्रवृत्ति रहनु स्वाभाविक थियो । सित्तैमा कसैको केही नखाने, कसैको श्रम र समय सित्तैमा उपयोग नगर्ने, गल्तीको महसुस हुनासाथ माफी मागिहाल्ने, मिठो र नरम बोलेर अरुलाई प्रभाव पार्ने उसका स्वभाव र चरित्र भने वास्तवमै अनुकरणीय थिए ।

उसलाई पढाउन थालेको एकमहिना पनि पूरा भएको थिएन । एकदिन अफिसमा मिटिङ पर्यो—कार्यालय समयपछि । उसलाई सम्झेँ र जानकारी गराउन खोजेँ तर मसँग उसको फोन नम्बर थिएन । घरमा फोन गरेर जानकारी त गराएँ तर घर आइसकेकी उसलाई त्यस्तो जानकारीको खासै अर्थ थिएन, जसै फर्किनु पर्थ्याे । उसले के सोची होली । अवश्य पनि मप्रति नकारात्मक धारणा बनाइहोली भन्ने लाग्यो । चार–पाँच मिनेटको बाटो हिँडेर आई  लगत्तै फर्किनुपर्दा उसलाई अवश्य राम्रो लागेन होला । भोलि ऊ आएपछि माफी माग्नु बाहेक अर्को उपाय थिएन ।

भोलिपल्ट अफिसबाट निकै सचेततापूर्वक छिटै आइपुगी उसको बाटो हेर्न थालेँ । साढे पाँच भइसक्यो तर ऊ आइन । मनमा कता–कता ग्लानि–बोध भयो । मप्रति विश्वास नगरेर आउनै छाडेकी पो हो कि भन्ने पनि लाग्यो । आखिर मैले त्यस्तो ठुलै गल्ती गरेको पनि थिइनँ । अफिसमा आकस्मिक काम परेर ढिला भएको मात्र हो । यही आधारमा आउन छोडेकी हो भने ठिकै छ भन्ने पनि लाग्यो । हिजो ढिलो आएकै कारणले आज पनि नआएकी हो वा अरु कुनै कारण पर्यो होला ? पन्ध्र मिनेटसम्म नआएपछि टहलिँदै ऊ बस्ने होटलतिर लागेँ । ऊ बस्ने कोठा हेरेँ, त्यहाँ ताला लगाइएको थियो । होटल मालिकसँग सोध्दा थाहा भयो ऊ लमजुङ, घलेगाउँतिर गएकी रहिछ । “हप्ता–दश दिनपछि आउँछु कृष्णजीलाई भनिदिनुहोला” भनेकी रहिछ । वास्तविकता थाहा भएपछि मन शान्त भयो ।

करिब पन्ध्र दिनपछि होटलवालाले एउटा चिठीको खाम ल्याएर दियो । हेरेँ—मेरो नाम लेखिएको थियो । खाम खोलेर हेरेँ—भित्र पट्याएको सानो कागज र केही नोट राखिएको थियो । पट्याएको कागज खोलेर हेरेँ ।

निकै सुन्दर र सफा अक्षरमा लेखिएको थियो—”कृष्णजी, नमस्ते । म लमजुङ, घलेगाउँ गएको थिएँ । तपाईंसँग भेट हुन सकेन । भोलि काठमाडौं जान्छु र उतैबाट अमेरिका जान्छु । तपाईंसँग पढ्न पाउँदा खुसी थिएँ । फेरि नेपाल फर्केपछि तपाईंसँग पढ्न आउनेछु ।’

अन्तिममा आफ्नो नाम लेखेर सही गरिएको थियो । पैसाको कुनै उल्लेखै नगरी हजारका चारवटा नोट चिठीसँगै खामभित्र राखिएको थियो । त्यसपछि ऊ नेपाल फर्की वा फर्किन केही थाहा भएन । सोधखोज गर्ने आवश्यकता पनि देखिनँ । पढाएको एक महिना चार–पाँच दिन बाँकी थियो । यति थोरै समयमा उसले मबाट के कति नै सिकी होली र ! तर उसबाट भने मैले धेरै महत्त्वपूर्ण कुरा सिकें—समयको महत्व, श्रमको मूल्य अनि विनम्र हुन र गल्तीमा माफी माग्ने कुरा ।