एक्कसि मनमा लाग्यो – साँच्चै जीवन त अक्करमा फलेको फर्सीजस्तै रहेछ । मेरो मनमा “जीवन के हो ?” भन्ने प्रश्नले सधैँ जसो गिजोलिरहन्छ । अहिले मात्र हैन । पहिलेदेखि नै यस्तै हो । खासगरी विहानीपख बिउँझेपछि जीवनप्रति मनमा अनेकानेक प्रश्नहरू तरङ्गित भइरहेका हुन्छन् । म जीवनलाई चाहिनेभन्दा बढी गहिरिएर सोच्ने गर्छु । हरेक कोणबाट जीवनलाई बुझ्ने प्रयत्न गर्छु । देखेको छु । जीवनलाई धेरैले अप्ठ्याराे र असहज दुवै दृष्टिकोणले हेरेका छन् । मैले भने जीवनलाई सहज दृष्टिकोणले मात्र हेरिनँ कि सहज बनाउने प्रयत्न पनि गरिरहेँ ।
जीवन एउटै हो, केवल भोगाइ फरक भएकै कारण जीवनलाई हेर्ने दृष्टिकोण फरक भएको हो भन्ने मेरो बुझाइ हो । मैले धेरैको जीवनलाई पढ्ने कोसिस गरेको छु । महान् दार्शनिक शुकरातको जीवनी सुन्दा आश्चर्य चकित भएको छु । कार्लमाक्सको जीवनी पढ्दा अचम्म लाग्छ । विदेशीका के कुरा आफ्नै देशको कुरा गर्दा भीमसेन थापाको जीवनी सुन्दा आकास खसेर थिचे जस्तो हुन्छ । भैरव अर्यालको जीवनी सुन्दा आँखाबाट आँसु खस्छन् । देवकोटाको जीवनी सुन्दा साह्रै मन दुख्छ । कृष्णप्रसाद पराजुलीको जीवनी सुनेर मन कुँडिएको छ । कृष्ण धरावासीको जीवनी कोट्याउँदा मनभित्र कतै एक कुनामा घाउ दुख्छ । यस्ता धेरै जीवनहरू छन् जसमा कत्तिले त्यतिकै जीवन गुमाए । कत्तिले जिउनकै लागि जीवनभरि संघर्ष गरे । त्यति गर्दा पनि जीवन, जीवन जस्तो भएन ।
मैले यहाँ दार्शनिक,लेखक,कलाकारको मात्र हैन सम्पूर्ण मानव जीवनलाई उल्लेख गर्न खोजेको हुँ । जीवन आखिर एकै हो । केवल भोगाइ फरक हो । कसैको जीवनले के भोग्यो । कसैको जीवनले के भोग्यो । कसैले भनेका छन्, “जीवनलाई सरल र जटिल बनाउने आफ्नै हातमा छ ।” केही हदसम्म यसो भए पनि जीवनलाई असहज बनाउन कसले पो चाहला र सबैले जीवनलाई सरल र सहज नै बनाउन खोज्छन् । यो मानव जीवनको स्वभाव पनि हो । यति गर्दागर्दै पनि कत्तिको जीवन सहज बन्दैन ।
कसैले भन्छन्, “समयले कहाँको मानिसलाई कहाँ पुर्याउँदो रहेछ ।”
कसैले भन्छन्, “कर्मले मानिसलाई के बनाउँछ ।”
कसैले भन्छन् “आ–आफ्नो भाग्य हो ।”
भाग्यमा विश्वास गर्नेहरूले भन्छन्, “आफ्नो भाग्यमा जे छ त्यही हुन्छ । आफ्नो भाग्यमा जति छ त्यति पाइन्छ । भाग्यमा नभएको खोजेर पाइँदैन । भाग्यमा छैन भने जति गरे पनि हुँदैन । भाग्यमा छ भने आफैँ आउँछ घुम्दैफिर्दै पनि ।”
कोही भन्छन्, “भाग्य भनेको खोज्नुपर्छ । नखोजी भाग्य पनि भेटिँदैन ।”
भगवानमा विश्वास गर्नेहरू भन्छन् “भगवान् भरोसा हाे, भगवानले जे दिन्छन् जति दिन्छन् हात थाप्ने हो । भगवानले हेरी छाड्दैनन् ।”
कर्ममा विश्वास गर्नेहरू भन्छन्, “कर्म कस्तो छ त्यस्तै हुनेछ । कर्ममै रहेनछ भने जति बल गरे पनि के हुने हैन ।”
लाग्छ यी सब मन बुझाउने खुट्किलाहरू हुन् । एउटै मानव जीवनलाई फरक देख्ने भोगाइप्रतिका दृष्किोणहरू मात्र हुन् । जीवन एउटै हो केवल भोगाइ मात्र फरक हो ।
कसैले यही जीवनलाई फूल देख्छ । कसैले यही जीवनलाई काँडा देख्छ । कसैले मूल्यवान् त कसैले मूल्यहीन । जे होस् जीवन त जीवन हो । यो एक पटकका लागि हो, पटकपटकका लागि होइन । हरेक जीवन सृष्टिको एउटा प्रकृया हो । दुःखसुख त जीवनको यात्रामा आउने कुरा हुन् । साँच्चै भन्ने हो भने हामीलाई के दुःख भयो र ठाउँ अनुसारको लुवाइखुवाइ,हुर्काइबढाइ,पढाइ सारा दुःख सहेर भए पनि बुबाआमाले हामीलाई कुनै कुराको अभाव खड्किन दिनु भएन । छोराछोरी जन्माएपछि बुबाआमाले गर्नुपर्ने कर्तव्य ठाउँ र समयअनुसार केही पनि बाँकी नराखी गर्नुभयो । हामीले बुबाआमासँग गुनासो गर्नुपर्ने कुनै ठाउँ राख्नु भएको छैन ।
सायद मानिसलाई धेरै हदसम्म अभावले पनि गहिरिएर सोच्न बाध्य बनाउँदो रहेछ । म आफ्नो जीवनसँग मात्र होइन । अरूको जीवनलाई देखेर पनि धेरै घोरिने गर्छु । जीवनलाई रहस्यमय दृष्टिकोणले हेर्नेहरूसँग म सहमत छैन । जीवन त्यस्तो कुनै रहस्यमय छ जस्तो मलाई लाग्दैन । जीवनमा जन्मेपछि मृत्यु अवस्यम्भावी छ । बाँकी जीवन जिउने क्रमको यात्रामा आइपर्ने विविध उतारचढाव मात्र हुन् । ती सब क्षणिक छन् । जीवन तिनकै बिचमा चर्खा जस्तै घुमिरहन्छ । हामी त्यसकै वरिपरि घुमिरहन्छौँ ।
मलाई सम्झना छ । हामी साना हुँदा सायद केही दिनका लागि भनेर बुबा मधेस झर्नु भएको थियो । उस बेलैदेखि हाम्रो मधेसमा धेरथोर खेती थियो । हिउँदको समय आमा बेलुका रातीसम्म बाबियाको हतेउरी बाटेर मझेरीमा गुन्द्रीमाथि बस्नु हुन्थ्यो । बिहानका राती पनि आमा राती नै उठेर त्यसरी नै हतेउरी बाटेर बस्नु हुन्थ्यो । हतेउरीको तान लाएर आमा हतासोले हिउँदभरि गुन्द्री बुन्नुहुन्थ्यो । परालका गुन्द्री । ओछ्याएर सुत्ने गुन्द्री । सायद निद्रा पुग्दैनथ्यो होला । आमा हतेउरी बाट्दाबाट्दै उँग्नुहुन्थ्यो । उहाँको निहुरिएको टाउकाले घुँडा छुन खोज्थ्यो । हामी त्यो देखेर हाँस्थ्यौँ । हामी उँहालाई “उँहाको पनि हाम्रो पनि निद्रा हट्ने खालका गफ गर्नुन,कथा भन्नु न” भनेर अनरोध गर्थ्यौँ ।
उहाँले एक दिन के प्रसङ्गमा हो कुन्नि मृत्युको कुरा झिकेर एक दिन हामी सबै मरिन्छ भन्नुभयो । हामी केटाकेटी सधैँ बाँचिन्छ ठान्ने । सधैँ आमाबुबासँगै रहन पाइन्छ । आमाकै काखमा खेल्न पाइन्छ ठान्ने । आमा भन्दा ठूलो यो संसारमा कोही छैन भन्थ्यौँ । त्यस्तै लाग्थ्यो । यो सुनेर मैले तत्काल सोधेँ, ” के भएर मरिन्छ आमा हामी सबै ?” आमाले छोटोमा उत्तर दिनुभयो, “काल आएर ।” हामीले काललाई धेरथोर बुझेका रहेछौँ । हामीसँगै हुनुभएका हाम्रा हजुरबा हजुरआमालाई त्यही कालले हामीबाट चुटाएर लगेको थियो । हामीले पनि ढिलोचाँडो त्यसकै शिकार हुनुपर्ने रहेछ । यही वास्तविकतामा पुग्यौँ हामी ।
आमाले फेरि थप्नुभयो, “ढिलोचाँडो मात्र हो । हामी सबै जाने ठाउँ त त्यही हो ।” मझेरीको आँटमाथि कुपी बलिरहेको थियो । हाम्रो अनुहार निचोरेको कागती जस्तो भएको थियो । आँखाभरि आँसु थिए । यो देखेर आमाले हामीलाई सान्त्वना दिँदै फेरि थप्नुभयो, “अहिले त कहाँ हो त । कहिले मरिन्छ कहिले नि । पछि बुढो भएर पो मरिने हो त । बाबैआमै जस्तै बुढाबुढी भएपछि” भन्नुभयो । आमा हजूरबा हजूरआमालाई बाजेबजै भन्नुहुन्थ्यो । हामी बाबैआमै भन्थ्यौँ । हामीले ठान्यौँ । हामीले सोचे जस्तो हामी सधैँ यस धरतीमा रहिरहने रहेनछौँ । एक दिन हामीले पनि बाबैआमै जस्तै मरेर जानुपर्ने रहेछ । हाम्रा बुबाआमाले पनि हजुरबा हजुरआमाले जस्तै हामीलाई छोडेर जानुहुने रहेछ ।
यो सुनेर सानी बहिनी रातभरि रोएकी थिई । आमाले कत्ति फकाएर सुताउन खोज्नुभयो तर ऊ मानिन । “तपाईँ मर्नुभयो भने हामी के गर्ने ?” उसको प्रश्नले हामी सबैलाई चिन्तित बनायो । कत्ति फकाइफुल्याइ गर्दा पनि उसले नमानेपछि उसलाई अल्मल्याउन आमाले कुरा अन्तै लानुभयो । पछि बुझ्यौँ । जीवन मृत्यु पनि त हो नि । सायद बैनीले पनि बुझी । आजभोलि पनि म कहिलेकाहीँ उसलाई जिस्काउँदै भन्ने गर्छु, “सानामा आमाले एक दिन हामी सबै मरिन्छ भन्दा तँ रातभरि रुन्थिस् ।” ऊ हाँसेर जित्छे ।
जीवनका कैयौँ वसन्तहरू पार गरिसकियो । जीवनको उत्तरार्धमा आइपुग्दा पनि मलाई म आफू एक पटक पनि हृदय खोलेर हाँसेको थाहा छैन । त्यसो त आँखाका आँसु रित्तिउन्जेल रुनु पनि परेको छैन । कुनै बेला मलाई यस्तो लाग्थ्यो,संसारमा कुनै मानिस दुःखी छ भने त्यो म नै हो । तर मलाई बाहिरबाट हेर्दा कसैले त्यस्तो देखेन । मैले यो कुरा अहिलेसम्म कसैलाई भनेको थिइनँ । अहिले भन्दैछु । तिनकै लागि भन्दैछु ।
जो जीवनभरि आँसुले मन धोएर बाँचेका छन् । मलाई जीवनमा कुनै कुरा पाउँदा त्यति धेरै खुसी पनि लाग्दैन र नपाउँदा वा गुमाउँदा त्यति धेरै दुःख पनि लाग्दैन । म आफू रोएर भए पनि अरूलाई खुसी राख्न चाहने मान्छे हुँ । सायद यही भएर होला मैले जीवनलाई जीवनजस्तै गरेर बुझ्न नसकेको । कहिले त यस्तो पनि लाग्छ । जीवनलाई जसरी बुझे पनि हुने रहेछ । आखिर जीवन भनेको बुझाइ त रहेछ नि । कहिलेकाहीँ बुबाले भनेको कुरा सम्झन्छु । बुबा पहिलेदेखि भन्नुहुन्थ्यो, “जीवनमा जस्तोसुकै आपत आइलागे पनि हरेस खानु हुँदैन केटा । त्यसको समाधान आफैँले गर्नुपर्छ ।”
असी वर्ष नाघेका बुबामा अहिले पनि पहिलेको जस्तै जोश र जाँगर देख्दा मलाई अचम्म लाग्छ । सोच्छु – साँच्चै जीवन त यस्तो सक्रिय पो हुनुपर्छ त । आमा बित्नु भएपछि बुबा अलि खच्किनु भयो । निक्कै चिन्ता लिनुभयो । एक्लो महसुस भयो होला । हामी एक गोठ सन्तान भए पनि जीवनको उर्जाशील यात्राभरि साथ दिने मान्छेले सदाका लागि छोडेर जाँदा निश्चय नै संसार अँध्यारो भयाे ।
आमा रहेसम्म पनि मैले कहिल्यै आमाबुबाको कुनै दिन झगडा त के सामान्य भनाभन भएकोसम्म देखिनँ । लोभ लागेर आउँछ । जीवन त त्यस्तो पो हुनुपर्छ । जीवनलाई त्यस्तै बनाउन कत्ति प्रयास गर्छु तर सक्दिनँ । सम्झन्छु सानामा हजुरआमाले भनेका कुरा । हजुरआमा भन्नुहुन्थ्यो,”पछि तिमेरका पालामा पानी पनि फुकेर खाने समिया आउँछ नानी । आफूदेखि बाहेक कोही आफ्नो हुँदैन ।” आजका मानिसको जीवन शैली,क्रियाकलाप र व्यवहार हेर्दा हजुरआमाले भनेको कुरा यथार्थझैँ प्रतीत हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।