
कुरो केही वर्ष अगाडिको हो, मेरी एउटी सहकर्मीले आफ्नो जन्मदिनको पार्टीमा आउनका लागि निम्ता गरिन् । अर्को दिन छुट्टी भएकाले मैले हुन्छ भनिदिएँ । हुन्छ भन्नासाथ उनले म्यानह्याटनको एउटा कल्बको ठेगाना मेरो हातमा थमाइदिइन् । र, समय राती साढे नौ बजे पछिको तोकिदिइन् । मैले हुन्छ त भनेँ तर मलाई क्लबमा जाँदा कस्तो गेटअपमा जानुपर्छ भन्ने ज्ञान थिएन । लुगाको जोहो पनि थिएन । अनि निमन्त्रणाको लिस्टमा परेका अरु सहकर्मीहरुलाई पार्टीमा के लुगा लगाउने भन्ने बारेमा जिज्ञासा राखेँ । सबैले सुन्दर देखिने ड्रेस खरिद गरिसकेका रहेछन् । मोबाइलमा रहेको लुगाको फोटोहरु देखाएँ । उनीहरुको सकेसम्म सबैको नजर आफूमाथि नै परोस् भन्ने चाहना देखिन्थ्यो।
केही जोर जिन्स पाइन्ट र टिसर्टहरु त मेरा पनि थिए तर क्लबमा जाँदा के लगाउने भनेर म आफैँ रणभुल्लामा परेँ । हतपत बाथरूममा गएर गुगल सर्च गरेँ, र मैले मोटामोटी आइडिया लिई सकेपछि काम सकिना साथ लुगा किन्न मेसीको स्टोरतिर हान्निएँ । सन् १८५८ मा स्थापना भई अमेरिकाभर ७ सय ४० वटा चेन स्टोर रहेको मेसी भन्ने स्टोरमा घण्टौँसम्म घुमेर Calvin Klein, Michael Kors, Estee Lauder र Levis लगायतका सबै ब्राण्ड हेरेर फिटिंग रुममा ट्राई गरिसक्दा म निस्सासिन थालेँ । तर आफूलाई मन परेको र जिउमा फिट भएर सुहाएको हो कि जस्तो लागेको लुगा धेरै नै महङ्गो पर्ने, मेरो आफ्नो बजेटले भ्याउने लुगा कुनैको रङ्ग मन नपर्ने त कुनै साइजै नमिल्ने भयो ।
फेसन मेरा लागि कहिल्यै रहरको विषय बनेन, यो टेन्सन हो । जे भए पनि छानेका केही जोर लुगामध्येबाट एउटा किनेँ । यतिले भएन, त्यो ड्रेसलाई सुहाउँदो जुत्ता, ब्याग, लिपिस्टिक र नेलपोलिस्, नेक्लेस र अत्तरसमेत किन्दा करिब ५०० डलर जति खर्च भयो ।

तारा भट्टराई (अमेरिका)
हतार हतार घर गएर लुगाको पोको सोफामा फालेँ । ऐनामा अनुहार हेर्दा हप्ताभरिको कामले थकित र गलित अनि थ्रेडिङ्ग नगरेको आँखीभौँ र तिलचामल भएको कपाल, फुस्रा र रुखा हातखुट्टा देखेपछि म आफैँलाई डरलाग्दो अवस्थामा पाएँ । र, ब्युटीपार्लर जाने निधो गरेँ ।
‘Hairy, Scary’ भन्ने अमेरिकामा नै आएर सुनेको शब्दले मलाई झस्कायो।
अमेरिकामा आएटी, ब्यूटी र हेल्थ इन्डस्ट्रिजमा अप्रवासीहरुको राम्रो पकड छ । विशेष गरेर ब्युटी इन्डस्ट्रिज ६३ प्रतिशत आप्रवासीहरुले नै चलाएका छन्। अमेरिकन महिला उपभोक्ताहरु यो क्षेत्रमा नयाँ ब्राण्ड र उत्पादनको चक्करमा चुर्लुम्म डुबिसक्दा पनि थाहा पाउन मुस्किल छ। यहाँ ८० प्रतिशत चाइनिज कस्मेटिक्स बेचिन्छन् । बल्लतल्ल सस्तो ठाउँ, अनलाइनमा फेला पारेर समय लिएपछि थ्रेडिङ्ग, वाक्सिङ्ग , फेसियल, कपालमा कलर, मेनिक्युर र पेडिक्योर गरेको २०० डलर तिरेर घर आउँदा रातिको साढे आठ भइसकेको थियो।
नयाँ किनेको पार्टी ड्रेस, स्याण्डिल, लिपिस्टिक लगाएर चिटिक्क परेर अनि बडी क्रसब्याग भिरेर म हस्याङ्गफस्याङ्ग गर्दै बाहिर निस्कँदा साढे नौ भइसकेको थियो । न्युयोर्कमा राती ट्रेन स्टेसनमा डरमर्दो हुने र मेरो ‘सेन्स अफ डिरेक्सन’ एकदम कमजोर भएकाले गन्तव्यमा समयमा पुग्न नसकुँला भनेर लिफ्ट मगाएर जाने निधो गरेँ । लिफ्टले ३७ डलर र ६ डलर टिप्ससमेत गरी ४३ डलर तिरेपछि गन्तव्यमा पुर्याइदियो। पार्टीमा पुग्दा रातको दश बजिसकेको थियो । पाहुनाहरु कोही आइसकेका थिए र कोही आउँदै थिए । म भोक, तिर्खा र थकानले लखतरान भइसकेकी थिएँ।
पार्टीमा पुग्नासाथ खाना अर्डर गर्न वेटरले मेनु हातमा थमाइदियो । दङ्ग पर्दै आफूलाई मन पर्ने खाना अर्डर गरेँ । करिब २० मिनेटमा खाना आइपुग्यो । बिहान १० बजे एउटा बर्गरमात्रै टोक्नसम्म भ्याएकी म पार्टीमा आफ्नै ईच्छाबमोजिमको खाना खान पाएकोमा दङ्ग परेँ । सबैले आफूलाई मन लागेको खाना अर्डर गरे । रङ्गीचङ्ची लाइट, म्युजिक, फेसनदार लुगा र गरगहनामा सजिएका सहकर्मीहरु अनि पर्फ़्युमको मगमग बासनाले माहोल निक्कै रमाइलो थियो ।
मेरा सहकर्मीहरु प्रायःजसो सिङ्गल मदर थिए । बच्चाको बाबु को हो भन्ने कुरामा उनीहरु जहिल्यै कन्फ्युज नै भैराख्छन् । सम्भवतः भन्ने शब्द छुटाउँदैनन् । यहाँ आएपछि मैले भावुकता र प्रेममा दिगोपनका लागि हिन्दी फिल्म नै हेर्नुपर्छ । सबैले आफ्ना बच्चाहरुलाई बेविसिटिंगमा पैसा तिरेर जिम्मा लगाएर आएका थिए । अमेरिकामा प्राय:जसो बोलाएको ठाउँमा बच्चा लिएर जाँदैनन् । किनभने बच्चाले रोएर वा केही सामान चलाइदिएर वा केही डिमाण्ड गरेर अरुको ध्यान तानिदेला भन्ने डर हुँदो रहेछ। चाहे परिवारकै सदस्य किन नहोस्, आफ्नो कारणले अरुलाई असर पर्ला कि भन्ने कुरामा बढो सजगता उनीहरुको हुन्छ ।
निक्कै राम्रो माहोलमा आफ्नै इच्छाअनुसार रोजेर डिनर खाइयो । मेरा सहकर्मीहरु पनि पार्टीमा अफिसमा जस्तो निर्दयी र गोलपास गरेझैँ गरेर म्याच फिक्सिङ गर्ने खालका नभई ज्यादै नरम, मिजासिला र निक्कै सुन्दर देखिन्थे।
हुन पनि अफिसमा आठ घण्टाको ड्युटी अवधिमा धेरैपटक सहकर्मीहरुसँग जम्काभेट हुन्छ । काममा व्यस्त भएजस्तो देखाउने र अफिसलाई निक्कै ठूलै लाभ हुने काम गरिरहेको जस्तो अभिनय सबैले गर्छन् । सहकर्मीलाई न सहयोग माग्न सकिन्छ वा कसैले सहयोग नै गर्न तयार हुन्छन् ।
सामान्यरुपमा हाई हेल्लो त भइरहन्छ । हाकिमसँगका दर्जनौँ असन्तुष्टिहरु सबैसँग हुन्छन् । तर सहकर्मीहरु साथी वा विश्वासका पात्र कहिल्यै नबन्ने भएकाले केही कुरा पनि सुनाउन मिल्दैन । सहकर्मीसँग कुरा गर्दा कन्ट्रोभर्सियल नहुने विषयजस्तै मौसम वा खाना कसरी पकाएको, के के मसला हालेको र कति मिठो थियो वा फिल्म हेरेको भए त्यो कथाको विषयमा केन्द्रित रहेर कुरा गर्न मिल्छ । सबैभन्दा बढी पेट्स वा कुकुर बिरालोको वर्णन र भूतपूर्वप्रेमी भए उसैलाई गरेको गाली वा प्रशंसा सुनेर नै समय जान्छ। राजनीति वा धर्मको कुरा पनि गर्नु हुन्न ।
अफिसको ढोकाबाहिर निस्केपछि सहकर्मीहरु भेट हुँदैनन्, र ढोकाबाहिर भेटिएका सहकर्मीहरुको आफ्नै व्यक्तिगत जीवन हुन्छ । उभिएर कता जान लागेको वा किन भनेर सोध्न पनि मिल्दैन । मैले एकपटक एकजना सहकर्मीलाई थाहा नपाएर कहाँ जान लागेकी मात्रै भनेकी थिएँ, उसले “म कहाँ जाँदैछु भनेर सोध्ने तिमी मेरी आमा हौ र ?” भनेकी थिई । त्यसैले सहकर्मी सहकर्मी नै हुन्, र उनीहरुको बढुवा भएमा कसैलाई हर्ष पनि लाग्दैन । जागिरबाट हटाइएको भए विस्मात पनि कसैलाई लाग्दैन । यहाँ सहकर्मीले सन्तमहात्माजस्तो अर्तिउपदेश पनि दिँदैनन् । आ-आफ्नो काम सक्यो घर गयो।
त्यो पार्टीमा पनि मेरा सहकर्मीहरु कसैले आफ्ना दर्जनौँ ब्रेकअप भएको कुरा सुनाए, कसैले घरमा पालेको कुकुरको बयान गरे, कसैले ढाडे बिरालीको कहिल्यै नसकिने कथाहरु सुनाएँ । करिब १२ बजेपछि बत्ती मधुरो हुँदै गयो र हलमा एक्कासि धुवाँ गोलो परेर उड्न थाल्यो । कसैले कसैलाई नचिन्ने भयो । एकपछि अर्का गर्दै मेरा सहकर्मीहरु रक्सीको नसासँगै डान्समा चुर्लुम्मै डुब्न थाले । बढीमा दुई गिलाससम्म वाइन खाएर छिट्टै घर फर्कन्छु, र थकाइ मार्छु भनेकी म पनि त्यहीँ माहोलमा रमाउन थाले छु।
यस्तैमा बिहानको चार बजेछ । वेटरले खानाको बिल ल्याएर सबैका हात हातमा थमाइदियो । म त जसले निम्ता गरेको हो उसैले तिर्ने होला भन्ने ठानेकी थिएँ तर होइन रहेछ । मनोरञ्जन सँगै गरे पनि आफ्नो बिल आफैँले तिर्नुपर्दो रहेछ भन्ने कुरा मैले त्यही दिन थाहा पाएँ । मेरो खल्तीमा रहेको नगदले नभ्याउने गरी चार सय डलरको बिल आयो । धन्न मसँग क्रेडिट कार्ड थियो । बल्लतल्ल बिल तिरेँ । मेनेजरले क्लब बन्द गर्नलाई पटकपटक सूचना दिँदा पनि मेरा सहकर्मीहरु बाहिर निस्कने अत्तोपत्तो थिएन।
उनीहरु मस्त नाची नै रहेका थिए । पाँच बजे भने एक एक गर्दै बाथरूममा छिरेर अफिसको ड्रेस लगाएर डाइरेक्ट काममा जाने तरखर गर्न थाले । किनभने उनीहरु ६ बजे काममा जसरी पनि पुग्नै पर्छ । सबैले ब्यागमा अफिसको ड्रेस बोकेका रहेछन् ।
मेरो बैंक अफ अमेरिकाले दिएको नयाँ क्रेडिट कार्डमा रहेको जम्मा १२०० डलर सहकर्मीको जन्मदिनको पार्टीमा खर्च भइसकेको थियो । मसँग अब घोट्नलाई कुनै क्रेडिटै बाँकी थिएन । तर उनलाई जन्मदिनमा दिनुपर्ने उपहारचाहिँ किन्नै छुटेछ । ‘अर्को दिन दिन्छु है’ भनेर म ट्रेनमा चढेर घर आएँ । मेरा लागि जीवनकै सबैभन्दा महँगो पार्टी थियो त्यो । मलाई क्रेडिट चुक्ता गर्न झण्डै ३ महिना लाग्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

