२०७८ सालको भदौरे झरी घरबाट निस्कने बेला अलिक मत्थर भएको थियो । रमेश महतको फोनले म निस्किहालेँ । तर कुशादेवी नपुग्दै सिमसिमे पानी त झमझममा परिणत पो भो त । बर्सादी पनि नाम मात्रको मेरो । पनौती नगरपालिका पुगेँ । आफ्नो कोठामा पसेर बर्सादी र भिजेका कपडा फुकालेँ । रमेश सरलाई नगर आउन भनेँ । एकजोर कपडा बोकेकै थिएँ,फेरेँ कपडा । उनी आएपछि तत्कालै हामी निस्कियौँ । पनौतीदेखि बनेपासम्मको सकसपूर्ण यात्रा भनिसाध्य छैन । सडक पीच हुने तयारीमा वर्षातले अवरोध पारेपछि हिल्लाम्मे सडकको सास्ती यात्रुलाई हुने नै भयो । प्रकृतिसँग मान्छेले कहाँ सक्छ र ! मैले पनौतीबाट हिँडेको संकेत फोनबाट दिएको थिएँ नमराज दाजुलाई । उनी पनि हाम्रो पर्खाइमा बनेपामा छन् ।
मेरो हालत चिसोले चौपट थियो । एउटा पानी छेक्ने जाकेट जरुरत थियो , हेरियो, किनियो । खाजा खाएर सिमसिमे पानीमा मोटरसाइकलको यात्रामा पूर्वतिर लाग्यौँ हामी तीन भाइ । हामी सर्लाहीतिर लाग्दै थियौँ । धुलिखेलबाट काभ्रे भन्ज्याँङ हुँदै पात्लेखेत अनि भकुण्डेबेशी पुग्यौँ । सिमसिमे पानी पनि हामीसँगै यात्रा गर्दै थियो । भकुण्डेबाट अलिक पर पुग्छौँ । हाम्रो आगमनको आभाष पाएर होला भकुण्डेबाट अघि बढेपछि पानी पनि मत्थर हुन थाल्छ । मैले परडाँडासम्म आँखा तन्काएर हेरे मौसम केही उज्यालिएर मन्द मुस्कुराहटको साथमा स्वागत गर्न हाम्रो सम्मुख आउँदै थियो । हाम्रो पानीले भिजेको शरीर र मनमा तातो मल्हम लाउन लालयित घाम देखेर मन पनि घामसँगै मुस्कुरायो ।

हामी स्याउले पुग्छौँ त्यहाँ सडकमा प्रहरीको भ्यान देखियो । माथिबाट कालो ढुङ्गाको पहिरो आएको रहेछ । एउटा मोटरसाइकल दुर्घटना भएको देखियो । उक्त मोटरसाइकलको अगाडिको चक्का नै थिएन । सायद ढुङ्गाको प्रहारले रोशी खोलामा पुगेको हुनुपर्छ । कटुन्जेमा जनकपुरबाट काठमाडौँ आउँदै गरेको ज८प ७४९० नम्बरको मोटरसाइकलमाथि पहराको ढुङ्गा खसेर महोत्तरी रामगोपालपूरका अन्दाजी २८ बर्षका सरोजकुमार शाहको मृत्यू भएको र पछाडि सवार धनुषाका करिब ३० वर्षका सुमित कुमार शाह घाइते भएको कुरा प्रहरीले हामीलाई बताए । हामी जाँदा भर्खर मृतको शव र घाइतेलाई घट्नास्थलबाट लगिसकिएको थियो । हामीले मृतकप्रति श्रद्धान्जलीका शब्द प्रकट गर्दै घाइतेको शीघ्र लाभको कामना सहित उद्धारमा संलग्न प्रहरीहरुप्रति धन्यवाद ज्ञापन गरेर अघि बढ्यौ ।

दाउन्नेको पुल तरेपछि फेरि सिमसिमे पानी सुरु भो । अघि हाम्रो स्वागतार्थ उभिएको घाम लुक्यो किन हो कुन्नी ! हामी अघि बढ्दै मंगलटार हुँदै कालढुंगा पुग्यौँ । सडकको पीच पुरै भत्किएर हिलोमा परिणत भएको रहेछ । मैले घडी हेरेँ,मध्यान्हको बाह्र बजेको थियो । भ्याकुरेखोला रातभर र विहानभरको पानीले होला उर्लेर आएको रहेछ । हामीलाई बाइक तार्न गाह्रो पर्ला जस्तो लाग्यो । म र रमेश सर एउटा बाइकमा थियौँ । नवराज दाइ एक्लै अर्को बाइकमा । हाम्रा बाइकमा ब्रेक लागे । हेर्यौँ । कोही कोहीले आँट गर्दा रहेछन् बाइक तार्न । नसक्नेहरुका लागि त्यहाँ पैसा लिएर तारिदिने मान्छे पनि बसेका रहेछन् । प्रति बाइक रु.२०० रे । रमेश सरले आफैं लाने हिम्मत गरे,पार पनि गरे सजिलै । म चाहिँ कुनै गाडीमा लिफ्ट माग्नपर्ला भनेर बसेँ । यस्तैमा एउटा टाटाको डिआई हुइकिएर आयो र रोकियो । मैले पारि जान सहयोग गर्न भनेँ तर उसले मानेन । अचम्म लाग्यो हाम्रो समाजको मानवीय संवेदना कति छिटो मरेको । को२च ३३०७ का टाटाको डिआई र त्यसका चालक र एक भलादमीको व्यवहारले दुःखित भएँ म । अरु केही आएन बाइक बाहेक । रमेश सरले अर्को बाइकलाई पनि तारे र हामी पनि जुत्ता हातमा लिएर हात समात्दै बल्ल पार भयौँ ।

यात्रा गन्तब्यतर्फ लम्केको छ । गजुली दह कुशेश्वर नपुगेसम्म माथि डाँडातिरबाट झरेका र झर्दै गरेका बडेमान ढुङ्गाहरुसँग छलिएर अघि बढ्छौँ । गजुली दहनेरको सडकमा पुरै राताम्यैहिलो बाबै ! पीच कतै नदेखिने । बाइकको चक्का आधाभन्दा बेसी डुम्ने । डोजरले त्यो रातो हिलो पन्छाउँदै थियो । विश्वविजेताजस्तो पो भइयो यति पार गर्दा । स्थानीय बजार नियाल्ने मौका मिल्यो । हरियो तथा अचार खान मिल्ने पाकेका काँक्रो, स्कुस, करेला, फर्सीको मुन्टा, न्यूरो नासपाती, खुर्सानी, हरियो स्थानीय सुन्तला आदि बिक्रीको लागि राखेको रास देखियो । हामीले नजिकैको एउटा होटलमा खाना अर्डर गर्छौँ र खाना तयारी पछि खान्छौँ ।

गन्तब्य टाढै छ । अगाडि बढ्न थाल्छौँ । खाल्डे पुग्दा अपरान्हको साँढे दुई बजेछ । आहा ! बदलीपछिको आकाश कति सफेद देखिएको । सौम्य देखिँदैछन् डाँडाकाँडाहरु पनि । कतैकतै हुस्सुले डाँडाहरुलाई सफेद कपासको सिरक ओढाइरहे जस्तो देखिन्छ । मन्थली जाने सडक नदेखिँदै लोकमार्गको ट्रयाक छुट्यो । सुस्ताएको थियो खुर्कोट पनि थकित भएझैं सुनसान । मान्छेहरुको आगमनको ब्यग्रतापूर्वक प्रतीक्षारत पनि लाग्थ्यो खुर्कोट । सायद कोरोना भाइरस र वर्षातको समय भएर पनि होला यहाँको चहलपहल घटेको ।

उत्तरको घुर्मी जाने बाटो नलागी हामी पुल तरेर दक्षिण लाग्छौँ । सिन्धुली उक्लँदै छौँ । आहा ! ङ्याउरी मुसाले बाटो काट्दै थियो तर बिचमा पुगेर फेरि फर्कियो जताबाट आएको हो उतै । सायद हामीलाई शुभयात्रा भनेको होला । सिन्धुलीगढी पुग्न १५ किमी बाँकी छ अझै । सडकमा सवारी आवागमन पातलो भएकोले सजिलो छ । फेरि अहिले त मौसम पनि सफा छ हाम्रो यात्रामा सहयोगी । हाम्रो यात्राको दुःख बुझेछ क्यार ! नरम घाम पनि लागेको छ । दुईवटा बाइक सँगसँगै छ । हामी बिस्तारै हिँडेका छौँ । गफिन पनि पाएका छौँ । यो सडकको डिजाइनर को होला ? जापानिज हाज्मा कम्पनीले निर्माण गरेको सडकमा जापानीज नै होलान् प्राविधिक पनि । तिनको डिजाइनको कदर गर्न शब्दै छैन् । सडकको पर्खालमाथि एक हुल एकनासे बाख्रा चराइरहेका बा भेटिए । अनि पर सडक किनाराका झारहरु उखेल्दै गरेका सडक विभागको क्याप र जाकेट भिरेका दुई जना देखिए । मन पनि उन्मुक्त भएको छ अहिले । हाम्रो बाइकको गति अलि बढेको छ ।

सिन्धुलीको बाराहा पुग्यौँ हामी । आकाश मुसुक्क मुस्कुराएको छ हामीलाई देखेर । ठाउँ ठाउँमा अम्बाका पोकाहरु झुण्याएर बसेका छन् यात्रुहरुलाई बेच्न । अहो ! सल्लाको रुख सहितको ठूलै पहिरो गएको रहेछ सडक छेउमा । नेपालमा वर्षातको बेला पहाडी भूधरातलमा पहिरो जाने नै भयो । सडक वरिपरि काँस फुलेर सेताम्य हुँदा कति राम्रो देखिँदो रहेछ । मैले मोबाइलमा कैद गरेँ । काँसले पनि सौन्दर्यको आभा छरेजस्तो देखिएको छ । खनियाखर्क उक्लँदै गर्दा आमन्त्रित कृषि फर्म देखियो । काँसमाथि एकहल गोरु चरिरहेका छन् । गोलन्जोर गाउँपालिका,५ खनियाखर्कमा पुगेर हाम्रो यात्राले छोटो विश्राम लियो । खनियाखर्क एउटा स्थानीय व्यापारिक केन्द्र तरकारी,फलफूल,दाल पाइने रहेछ । रमेश सरले बाइकमा लागेको गुजुली दहको रातो माटो पखाल्न बाइक धुने ठाउँमा छोडे । बजार यसो घुम्यौँ हामी । दुईवटा काँक्रो किनेर अलिकति नुन खोर्सानी पिध्न लगायौँ । अनि फेरि अगाडि बढ्यौँ ।

आछुछुछु ! कति चिसो के । करिब ५ सय मिटरअघि आइपुग्दा त चिसो सिरेटो !चिसोको उताल तरङ्गमा पनि रमाएको छ मन । सिन्धुलीगढीको प्रवेशद्वार छोडेर हामी तलतिर झर्छौँ । सेल्फी डाँडा । सेल्फी खिच्ने एक हुल ठिटाठिटीहरुको भीड । एक छेउमा बसेर नुन खुर्सानी दलेर अघि किनेको काक्रो खायौँ ।सेल्फी डाँडाको अपमान होला भनेर हामी तीन भाइले केही फोटोका स्न्यापहरु पनि हान्यौँ ।

पिपलभन्ज्याँङ्ख,दाहिने घ्याङलेख गाउँपालिका हायुटार जाने बाटो भनेर लेखिएको छ । तर हामी मूल सडकबाटै अघि बढ्छौँ । चियावारी कटेर ढुंग्रेवास पुग्दा साँझको साँढे पाँच बजिसकेको थियो । अब अलिक छिटो जानुपर्छ भन्ने हाम्रो निष्कर्ष निस्केसँगै रमेश महतले बाइकको स्पीड अलिक बढाए साथै नवराज दाइले पनि । शान्त र सौम्य लाग्दैछ साँझपखको समय । मेरो मन पनि चङ्खासरी उडिरहेछ । एक्कासी फोनको घण्टीले मेरो निर्वाध रुपमा विचरण गरिरहेको मन भाँडियो । फोन थियो अपरिचित ब्यक्तिबाट । एक पटक हैन, चार पटक आएपछि मैले रेस्पोन्स गर्नै पर्ने भो । उठाँए फोन –‘ सर नमस्ते । यो रडहरु कहाँ झार्ने होला ?’ अपरिचित र असान्दर्भिक फोन । मैले भने ‘ए साथी ! कसलाई गर्नुभा‘को यो फोन ? नम्बर निश्चित गरेर फोन गर्नुहोला।’ उताबाट मेरो नम्बर नै भनेर फेरि फोन आयो । मैले आफू हार्डवयर ब्यापारी नभएको कुरा गरेँ । बल्ल उताबाट कल आएन ।चरनबाट बाख्रा र पाडाहरु धपाउँदै घर फर्कदै गरेका आमाहरु भेटिए । हाम्रो यात्रा भिमानतर्फ बढ्दैछ । सडकको दुवैतिर घना जंगल । सुनसान प्रायः सडक । भत्किएर जीर्ण बन्दैछ गरिबको जिन्दगीजस्तो सडक, आफैं मलिन मुहार लाएर बसेको ।ठुस्किएको छ मानिसहरुसँग । उसमा उत्साह र उमङ्ग त रत्तिभर छैन । जो आवोस् चुपचाप बसिदिन्छ ऊ । उता कमला खोला आफ्नै तालमा एकनास प्रवाहले बगिरहेकी छन् । जस्तोसुकै पीडाका गुन्जनहरुमा तन्द्र्याङ्ख तुन्द्रुङको भाव प्रवाह गरेर विवशतासाथ एकनास बगिरहेछ ।

कोरोना कहरले हाम्रो देश आक्रान्त भएको परिवेश छ । हाम्रो देश मात्र कहाँ हुनु विश्वमै महामारी जस्तै फैलिएको छ । रेडियो,टिभी मात्र हो र विभिन्न अखवारका पानाहरु समेत भरिएका छन् स्वास्थ्यका आधारभूत मापदण्डको परिपालना गरौँ । माक्सको उचित प्रयोग,सेनिटाइजर,सावुन पानीले हात राम्ररी धुने जस्ता कुराहरु फुकिरहेका छन् । तर यहाँ त अहँ कसैले माक्स समेत प्रयोग गरेको पाइएन बाबै । भिमानमा छौँ हामी । समथर ठाउँको सुविधा पहाडको भन्दा वेग्लै नि ! आहा ! स्कुटीमा घाँस बोकेका तीन जना महिला पो देखियो । सडक क्षतविक्षत छ सायद वर्षाको पानीले होला ।
दिन पनि बुढो भएर ढल्नै लागेको छ । साँझको पाँच बजे हामी लालबन्दीको होटेल नमस्ते पुग्छौँ । रमेश सर यता आउँदा बस्नैपर्ने परिस्थिति आएमा यही होटलमा बस्ने गरेका रहेछन् । उनले पहिल्यै होटल बुक गरेका थिए । सरासर नाम दर्ता गरेर कोठामा गएर हिलाम्यै कपडा फेर्छौ । अनि एकछिन हातगोडा धोएर विश्राम लिन्छौँ ।

लालबन्दी । गोलभेंडाको सहर । २०७१ सालमा नगरपालिका बनेको रहेछ । करिब ६४ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको यो नगरको मुख्य बजार केन्द्र नै लालबन्दी रहेछ । पूर्वपश्चिम राजमार्गको कारण लालबन्दी बजार बिस्तार घना रुपमा भएको छ । जानकारी दिए होटलका प्रोपाइटर बैकुण्ठ सापकोटाले । उनी त्यहाँका होटल ब्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेछन् । सन्ध्याकालीन समयमा हामी उनीसँग गफियौँ । साँच्चै फरासिला रहेछन् उनी । अकस्मात बत्ती गएर अन्धकारको हालीमुहाली भयो । तर छिट्टै उज्यालियो, ब्याकअपको व्यवस्था रहेछ । हामी खाना खाएर लाग्यौ कोठातिर । हामी तीन भाइ एउटै कोठामा बसेका छौँ । केहीबेर आ–आफ्नो जीवनका साङ्गोपाङ्गो भोगाइका श्रृङ्खलाहरु एक अर्कालाई पस्कन्छौँ । थाकेको हुँदा छिट्टै निदायौँ ।भोलीपल्ट विहान छ बजे उठेर नित्यकर्म सकेसँगै होटेलबाट बाहिरिन्छौँ । गाडामा राखेको चिया पिउँछौँ । होटलमा बिल तिरेर त्यहाँबाट करिब ३ कि.मी.पर नवलपुरतर्फको बाटो नाप्छौँ हामी ।

नवलपुर,लालबन्दी वडा नं.२जुटपानी । पद्य भुवनेश्वरी नमूना बृद्धाश्रम । बासु कोइराला उमेर आठ दशक पार भइसके । तर उनमा अझै उत्साह घटेको छैन । उनी असाहाय बा आमाहरु,स्वस्थमनस्थितिका बृद्धबृद्धा लगायत सत्चालिस जनाका संरक्षक बनेका छन् । उनमा समाजको लागि १२ वर्षको उमेरदेखि नै केही गरौँ भन्ने भावना थियो रे । उतिवेला २०११–१२ सालतिर अखिल नेपाल पुस्तकालय संघका केन्द्रिय अध्यक्ष बनेका कोइराला त्यतिवेलै काभ्रे जिल्लाका अध्यक्ष भएका रहेछन् । उतिवेला काभ्रे जिल्लाको विभिन्न स्थानहरुमा विद्यालयहरु स्थापनामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका रहेछन् । ‘

‘बाबु म २००८ सालतिर इलाहवाद र बनारसमा अध्ययन गर्दा नेपाली छात्रसंघमा आबद्ध थिएँ । त्यतिबेला नै मैले नेपाली काँग्रेसको क्रियाशील सदस्य पाएको थिएँ ।’ उनले आफ्नो राजनीतिक पृष्ठभूमि समेत मसँग राख्न भ्याए ।वि.सं.२०१८–२०२५सम्म केन्द्रीय कारागारमा बसे । वि.सं.२०३३ देखि २०३६ सालसम्म गरी करिब १० बर्षभन्दा बढी जेल जीवन समेत खेपेका थिए रे उनले । ‘मैले देखिने काम केही गर्नुपर्छ भन्ने लागेर २०५५ सालमा यो आश्रम स्थापना गरेको हुँ । नेपाली काँग्रेस निकट किसान संघको केन्द्रिय अध्यक्ष पनि वि.सं.२०५६ मा भएको थिएँ ।’ उनी अझै गफिए । उनको मुहार पढ्छु म जीवनको उत्तरार्धतिर लागेको शरीर,रंगविहिन सादा सेतो कन्चन,निष्कलंकित भाव भएका सादगी व्यक्ति । पुराना राजनीतिज्ञ, समाजसेवीको उच्च छवी बनाएका कोइरालाको अहिले आफ्नो नाउँमा केही छैन रे सम्पत्ति । उनी शालिनताको बर्को ओढेर सन्तुष्टको जीन्दगी बाँचिरहेकोमा गर्व गर्छन् । उनले कैयन उजाड मनका असहायहरुलाई सहारा दिएका छन् । कैयन् असक्तहरुलाई आश्रय दिएका छन् । धेरै बृद्धबृद्धाहरुको दाहसंस्कार गरेका छन् । पाएका छन् त तिनीहरुको आर्शीवाद ! उनलाई साथ दिएकी छिन् छोरी भवानी कोइरालाले । बृद्धाश्रम १ बिघा क्षेत्रफलमा फैलिएको छ । दुधको निम्ति गाईहरु पालिएको छ ।

हामी कुराकानी गर्दै गर्दा विहानको खाना खाने बेला भएको संकेत पाइयो । एउटै मेसमा बसेर खाना खाँदा रहेछन् सबैजना । बासु कोइराला,उनकी श्रीमती र छोरी भवानी पनि त्यही मेसमा बृद्धबृद्धाहरुसँगै बसेर सोही भान्सामा पाकेको खाना खाँदा रहेछन् । खानामा पनि विभेद छैन । म उनीहरुको यस्तो व्यवहारबाट प्रभावित भएँ । बासु बा प्रेसर र सुगरका विरामी रहेछन् । उनी खाना खान बसे । मलाई भवानीले आश्रम घुमाइन् । प्रतीक्षालय,देवी बिन्ध्यावासिनी,शिव मन्दिर पनि आश्रमभित्र रहेछन् । सानो पुस्तकालय सहितको व्यवस्था गरिएको रहेछ । ज्येष्ठ नागरिक मैत्री भवन चारतले बन्ने क्रममा भुइँतलाको काम सुरु भएको रहेछ । यहाँ साइबाबा र कृष्ण मन्दिरको स्थापना पनि भएको रहेछ । ‘हाम्रो आश्रममा बित्नु भएका बा आमाहरुको दाह संस्कार हामी आफैं गर्छौँ । यहाँ बस्दा स्वर्गे हुनुहुनेहरुको हामी जुठो बार्छौँ । वर्षमा एक पटक श्राद्ध पनि गर्छौ ।’ भवानीले बताइन् ।
‘दैनिक रासनपानी कसरी पुर्याउनुहुन्छ त ?’ मैले जिज्ञासा राखेँ ।

कतिपय असल मनका महानुभावले आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको जन्मोत्सवको अवसरमा भोजन गराउने,कसैले आफ्ना पितृको पुण्य तिथिमा त कसैले के को अवसरमा भोजनको व्यवस्थापन गर्ने गरेका रहेछन् । मैले मनमनै ती असल मनका धनीहरुलाई सलाम गरेँ । यस्तैमा सानो नानी सहित एकजोडी महानुभाव आश्रम परिसरमा प्रवेश गरे । ती सानो नानीको जन्मदिन रहेछ । त्यहाँ भएका साना नानीबाबुहरुलाई एक एक जोर कपडा र स्कुले ब्याग लिएर ती सज्जन जोडी आएका रहेछन् ।

मलाई बासु कोइरालाको जिन्दगी सम्झेर सकारात्मक डाह लाग्यो । जिन्दगीका उर्वर पलहरु राजनीति र शिक्षासेवातिर र जीवनको उत्तरार्धको जिन्दगी झनै ठूलो पुण्य कार्यमा लगानी गर्ने मान्छेहरु यो दुनियाँमा विरलै भेटिन्छन् । पाका पुस्ता र आफ्नो पुस्तासँगको आजको बसाइले धेरै कुरा सिक्ने मौका मिल्यो । थाहा छैन मलाई सार्थक जीवनको मूल्य केलाई लिन्छन् मान्छेहरु ?तर आज यो कोइराला परिवारले व्यतित गरेको जीवन त अनुकरणीय छ है । म बासु कोइराला र तिनकी छोरी भवानीको कुराकानी र दैनिकी देखेर तीन छक्क परेँ । आजको स्वार्थी दुनियाँमा यस्ता आत्मीय मन मुस्किलले मिल्छ मसँग गएका साथीहरुले के ठाने कुन्नी थाहा भएन । दुःखमा परेकाहरुलाई आफ्नोपनको सिरानी लाउने हातहरु आजको समयमा कहाँ जहाँतँही मिल्छ र ! यो त स्वार्थ मौलाउने याम हो । निष्कृष्ट कुरुप दृश्यहरु धेरै हेर्न पाइने बेला हो । तर यहाँ त त्यसको विपरित आफ्नोपन,दयाभाव र दुनियाँमा विरलै भेटिने आत्मीय दृश्य परिदृश्यहरु देखेर मन पुलकित बनेको छ मेरो ।

मैले मेरो पहिलो पुस्तक कृति ‘यात्राका इन्द्रेणी रङ’ भवानीजीलाई उपहार स्वरुप दिएँ । यस्तैमा एक मधेसी मुलका बृद्ध जो मोटा देखिन्थे,पाखुरा र खुट्टाहरु पनि उस्तै सुन्निएका उनी मैथिली भाषामा के के भनेर एक्लै कराउँदै हामीतिर आउँदैथिए । सायद दुई बुढाहरु आपसमा विवाद गरेछन् । ‘यहाँबस्नेहरु कोइ कस्ता छन् कोइ कस्ता बाबु । एकापसमा रिसाउँछन्,विवाद गर्छन् । रुन्छन् तर पनि मसँग तिनलाई सम्हाल्ने सामर्थ्य छ र त सम्हाल्छु बाबु । यहाँ पहाडीमूलका पनि छन् । मधेसी मुलका पनि । गर्छिन् पुकार भन्छिन् आमा सन्तान थरी थरीका ।’ बासु कोइराला सर्सर्ती बोल्छन् । मैले त्यहाँ बसेका बाहरुसँग पनि कुराकानी गरेँ । एकजना बाले मलाई देउताले सपनामा होम हाल्नु भन्नु भाको छ भनेर रातभरि होम हाल्दा झण्डै आगलागी समेत भएको थियो रे । तर ती बृद्ध बालाई सामान्य वचन समेत लगाएनन् रे बासुले । त्यहाँ दुई सालदेखि बस्दै आएका तराई मूलका बाले जानकारी दिए ।

म बासु कोइराला अनि उनकी धर्मपत्नीको मुहार पढ्छु किञ्चित निराशा छैन उनीहरुमा । र उनले भने –‘जुन कुरा मनसित गाँसिन थाल्यो त्यतै लाग्छ मान्छेको मन बाबु । तर अब जीवनको उत्तरार्धतर्फ चढियो, चिनी रोग र उच्च रक्तचापले गाँजेको छ । अलि कमजोर भएको छु । ’

अलिबेर बस्न मन नलागेको कहाँ हो र ! समय निष्ठुर भएपछि के गर्नु । हामीलाई फर्कनै पर्ने थियो । मनभरि त्यहाँका दृश्यहरु कैद गरेर ती सरल तर महान् मान्छेहरुसँग गह्रुगो मनका साथ दश औँला जोडेर हामी बाहिरियौँ ।