साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संस्मरण : एक लौहपुरुषको सम्झना

म विदेश आएको करिब एक वर्षपछि बुबालाई हृदयघात भयो । डाक्टरले समेत आस मारिसकेको अवस्थामा उहाँ सकुशल घर फर्किनुभयो । यद्यपि उच्च रक्तचापका कारण उहाँ एउटा आँखा देख्न छाड्नुभयो ।

Chovar Blues Mobile Size

जसरी आमाको काखमा बस्दा एउटा बालक सबैभन्दा सुरक्षित महसुस गर्छ, उसैगरी एउटा बाबुको छत्रछायाँमा बस्दा छोराछोरी आफुलाई सबैभन्दा बलियो महसुस गर्दछन् । जन्मेर च्याँ च्याँ गर्दैको मलाई आमाको काखमा पहिलोपल्ट स्तनपन गर्दै गर्दा सायद पहिलो सुखानुभूति प्राप्त यो होला अनि मेरी आमालाई चरम सन्तोषको । भर्खरै पेन्सन निस्केर आउनु भएका मेरा पिताजीलाई रिटायर्ड जीवनको सबैभन्दा सुन्दर उपहार बनेर उहाँको काखमा पुगेँ होला म ।

मलाई पहिलो पल्ट सुम्सुम्याउँदा मेरा बुबाको अनुहार हेर्न लायक उज्यालो थियो होला । कालो वर्णका उहाँको मुहार त्यसबखत उज्यालोले धपक्कै बलेको हुँदो हो । काखमा लिएर मात्र मन अघाएन होला, मलाई गालामा निधारमा पेटमा, सुसुमा कहाँकहाँ चुम्नु भयो होला अनि खुसीले छाती भरिएर आयो होला । वासुदेवले कृष्णलाई बोकेर यमुना नदी पार गरेझैँ पिताजीलाई पनि आफ्नो नन्हा बच्चालाई लिएर एकपल्ट गाउँ फन्को मारुँ मारुँ भएको हुँदो हो ।

२४ वर्षे भारतीय सेनाको जागिर निवृत्त हुने बेलातिर उहाँ सवार सेनाको गाडी ठूलो दुर्घटनामा परेको थियो । दुर्घटना भएपछि उहाँको खुट्टा साप्रामा दुई ठाउँबाट भाँचिएको थियो । त्यो दुखदायी घटनाले बुबालाई ६ महिनासम्म अस्पतालको बिस्तरामा सुतायो । निको भएपछिका केही वर्ष उहाँ सैनिक अस्पतालमै सेवारत रहनु भयो र सन् १९८०/८१ ताका रिटायर्ड हुनुभयो । दुई ठाउँबाट भाँचिएको खुट्टा त ठिक भयो तर त्यसपछिको बाँकी जीवन उहाँ लौरी टेकेर हिँड्ने हुनुभयो । सैनिक अस्पतालमा कार्यरत रहँदा उहाँले औषधि उपचारबारे धेरै कुरा सिक्नु भयो । पछि नेपालमा आएर औषधि बिक्रेताको रुपमा आजिबन आफुलाई समर्पित गर्नुभयो । उहाँ औषधि बिक्रेता कम, डाक्टर बढी हुनुभयो । त्यसैले मानिसहरु उहाँलाई डाक्टर बुबा भनी बोलाउँथे । डाक्टर बुबा अर्थात डाक्टर भिमबहादुर क्षेत्री । डाक्टर उपाधि गाउँलेहरुले प्रेमले दिएको उपाधि थियो, त्यही उपनामले अहिले पनि म डाक्टरको छोरा भनेर गाउँमा चिनिन्छु ।

अजित उत्सव

बुबालाई मैले कहिले देखेँ, मलाई याद छैन, याद होस् पनि कसरी एउटा दुधे बालक हुँदाको समयको कुरा ! तर यो पक्का छ कि जुन दिन बुबालाई पहिलोपल्ट देखेँ त्यही दिन म मज्जाले बुबाको काखमा बसेँ हुँला, अलिकती रुवाई, अलिकती मुस्कानका साथ बुबासँग मौन संवाद गरेँ हुँला । बुबाको पतलुनमा पिसाब गरे हुँला, घिन नमानी बुबाले त्यसलाई स्वीकार गर्नुभयो होला । आमासँग रोइरहेको बालकलाई बुबाले काँधमा राखेर लहै बाबू लहै भनेर भुल्याउनु भयो होला, या दुई खुट्टामाथि राखेर झुला खेलाउनु भयो होला । सबैभन्दा बढी त बुबाको छातीमा बसेर बुबाको छातीको रौँ उखेलेँ हुँला, बुबाको चश्मा पटक पटक खोसेर टोकेँ हुँला या कतिपल्ट हाम्रो बुडो घरको आँगनतिर मिल्काइदिएँ हुँला । बुबाले झर्को नमानी चश्मा टिपेर मेरै आँखामा लगाइदिनु भयो होला ।

sagarmani mobile size

मैले सम्झँदा म करिब तीन चार वर्षको हुँदो हुँ कि, घुर्मैलो याद आउँछ । म बुबाको काखमा सुतेको हुन्थेँ बुबाको अर्कोतर्फ भाइ सुतेको हुन्थ्यो भने आमा हामी सुत्ने ठूलो मझेरी कोठाको अर्को पाखोमा सुत्नुहुन्थ्यो । आमा सुत्ने ठाउँ र हामी सुत्ने ठाउँलाई एउटा ढुङा माटोको गारोले छुट्ट्याएको थियो ।

घरमा लैना भैंसी हुन्थे, हल गोरु हुन्थे, बाख्रा हुन्थे र कुखुरा पनि पालिएका हुन्थे । आँगनमा भैंसीलाई कुँडो पाकेको हुन्थ्यो, कुँडो र घाँस खुवाएपछि दूध दुहुनुहुन्थ्यो बुबा । म अक्सर बुबाको पछि लागेर भैंसी दुहेको हेर्न जान्थेँ । बुबाले बाल्टीबाटै दूध निकालेर मलाई पिलाउनुहुन्थ्यो । दूध पाकेपछि म र भाइलाई मिस्टिन भरी मन तातो दूध हाल्दिनुहुन्थ्यो आमाले । अनि त्यसमा बुबाले हर्लिक्स हाल्दिनुहुन्थ्यो । म भने हर्लिक्स र बोर्न भिटाको पाउडर हत्केलामा राखेर चाट्नमा मज्जा मान्थेँ । हर्लिक्स र बोर्नभिटा सहितको दूध पिएपछि चिया पाक्थ्यो, दूध हालेको बाक्लो चियामा बासी भात हालेर खानुको मज्जा अहिले पनि दिमागमा ताजा भएर आउँछन् ।

म हुर्किँदै गएँ, भाइ पछि बैनी जन्मिन् । हामी अब तलको कोठा छोडेर कौसीमा सुत्थ्यौँ । घर ठूलो थियो, म जन्मिनुअघि घरको तल्लो तला (जहाँ हामी पहिला सुत्थ्यौँ अनि अर्को पाखामा भान्सा थियो) मा घोडाको तबेला थियो रे । घोडा पाल्न छोडेपछि धेरै वर्षपछी हामी स्थायी रुपमा त्यो घरमा बस्न थालेका थियौँ र तबेला भएको फराकिलो कोठालाई सुत्न र किचन दुबै काममा प्रयोग गरियो । कोठा ठूलो भएकाले अर्को पाखामा बाख्रा कुखुरा पालिन्थ्यो । पछि हामी बर्दलीमा सुतिन्थ्यो भने दाइहरु पाली हालिएका कोठाहरुमा सुत्नुहुन्थ्यो । गर्मीको याममा म बच्चै हुँदादेखि नै हामी बार्दलीमा सुत्ने गर्थ्यौं भन्नुहुन्थ्यो आमा । चौडा बार्दलीमा एक रात बुबा आमासँग कुनामा सुतेको मलाई उहाँहरुकै सामुन्ने कुनै अदृश्य शक्तिले बार्दलीबाट आँगनमा फालिदिएछ । काखे बालक दस फिट माथिबाट आँगनमा बजारिएपछि रक्ताम्य भएर आँखा देखिएका थिएनन् रे, सायद गाला निधार परेला सुन्निएको हुँदो हो । सायद त्यसपछि भुइँतलामा बसाइ सरेको होला हाम्रो बिस्तरा । मैले याद गर्दा भुइँतलामा सुत्थ्यौँ पछि बैनी जन्मेपछि पुनः बार्दलीमा सर्‍यौँ ।

बिहान खाना खाएर निस्केका बुबा साँझ बुबा घर आउँदा अक्सर फलफूल या माछा मासु लिई आउनुहुन्थ्यो । दिनभर गाउँको तल्लो भेगमा रहेको हाम्रो अर्को घरमा मेडिकल चलाएर बस्नुहुन्थ्यो बुबा । साँझमा प्राय: बुबाको हातमा माछा मासुको झोला हुन्थ्यो । ज्याग्दी खोलामा अक्सर माछा मारेर बेच्ने मछुवारहरु दिनहुँ माछा मार्थे, बुबा माछाको सौखीन, माछा किनेर ल्याउनुहुन्थ्यो । माछा खाँदा काँडा नअड्कियोस् भनेर आमा बुबा गुराँस गुराँस भन्नू हुन्थ्यो हामी पनि गुराँस गुराँस भन्दै माछा बडो सावधानीपूर्वक खान्थ्यौँ । कतै खसी बाख्रा काटेको दिनमा हाम्रोमा मासु छुट्थेन । बुबाले राम्रा राम्रा मासुका चोक्टा हामीलाई खुवाउनुहुन्थ्यो । हड्डी तिमीहरुले सक्दैनौ भन्नुहुन्थ्यो आफूले खानुहुन्थ्यो । सिजनको समयमा गुलिया आँप र दूध भात मुछेर खानु उहाँको शोख थियो ।

मलाई याद छ म प्राय: बुबाको काँधमा बस्थेँ अनि आकास छुने जिद गर्थें । बुबाको काँधबाटै हात उचालेर घर अगाडिका अम्बाका रुख, मेवाका पात टिप्थेँ, बार्दलीमा चढ्न खोज्थेँ । एकपल्ट बुबाले काँधमै राखेर मलाई तल बजार घुमाउन निस्केको बेला उहाँका दुश्मनहरुले उहाँलाई घेरर पिट्न खोजेछन् । म काँधमा भएकैले उहाँलाई सकस भएछ, छोरोलाई भुइँमा राखेर लडौँ भने बच्चालाई किचेर मार्देलान् भन्ने डर भएपछि उहाँ हतारिँदै भाग्दै घर आइपुग्नु भएछ । म काँधमा नभएको भए ती मान्छेहरुले धुलो चाट्ने पक्का थियो किनकि भर्खर रिटायर्ड भएको भारतीय सेनाको पूर्व हवल्दार मेरो बुबा ६ फिट अग्लो मोटोघाटो र लडाईको कौशलतामा पूर्ण हुनुहुन्थ्यो, धेरैपछि उहाँका समकालीन दौँतरीले उहाँको वीरताको कथा सुनाउँदा मलाई मेरो बुबा जंगबहादुर, बलभद्र कुँवर र अमर सिंह थापाजस्तै लडाकु र बहादुर हो भन्ने लाग्थ्यो । बुबा जस्तै वीर बन्ने चाहनामा स्कुले जीवनमा एकाध महिना कराँते पनि सिकेँ । तर बुबा मलाई बहादुर भएको देख्न चाहे पनि लडाकु भई हिँडेको मन पराउनु हुन्थेन । बुबा सोझो, इमान्दार तर कडा मिजासको हक्की मानिस हुनुहुन्थ्यो ।

हुन पनि पर्बत जिल्लामा जन्मे हुर्केर पछि पेन्सन आउने क्रममा आसामी उठाउने क्रममा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा बसोबास गर्न बुबाले चुनौतीको सगरमाथा बार बार पार गर्नु परेको थियो । त्यो ठाउँका प्रधानपज्ञञ्च, जिल्ला पञ्चायतका सदस्य, गाउँका हुनेखाने र फटाहाहरुले पर्बतबाट आएको सोझो र एक्लो लाहुरेलाई खेद्न के के गरेनन् ? त्यसको साक्षी अहिले जीवित रहेका त्यो बेलाका बुडापाकाहरु छँदैछन् । बुबालाई पिटेर धम्क्याएर त्यो ठाउँबाट लखेट्न सके उहाँले आर्जेको, जोडेको सय/डेढसय मुरी धानखेत बारीखेत र तबेला सहितको ठूलो घर आफ्नो बनाउन पाइने लोभमा त्यहाँका फटाहा र साहु एकमत भएर लागेका थिए । आमाको एक्लो छोरो मेरो पिताजी पर्बतबाट स्याङ्जा जाँदा पनि एक्लै नै जानुभएको थियो । त्यहाँ उहाँका मामाका छोरीहरु बिहा गरेर गएका भए पनि ती दिदी बहिनीले उहाँलाई सहयोग गर्न सक्ने या कवच बनेर मैदानमा उत्रने क्षमता राख्थेनन् अझ केही आफन्त पर्नेहरु त फटाहाका मतियार बनेर सम्पत्ती हत्त्याउन लागेका थिए ।

ज्याग्दिखोलाबाट कस्सेर हिँडे सिद्धार्थ राजमार्गको वालिङ् नगरपालिका पुगिन्छ, त्यो बेला वालिङ पञ्चायत हुँदो हो । त्यहाँबाट बस चढेर एक घन्टामा स्याङ्जा जिल्ला सदरमुकाम पुगिन्थ्यो । त्यो बेला बुबालाई हराउन र त्यहाँबाट भगाउन मानिसहरुले बुबालाई दुख दिन थालेपछि कसैलाई दिनदहाडै पिटेर रगत वाक्ने बनाउनु भयो, कसैलाई पाता कसेर दिनभर भुइँतलामा राख्नुभयो, कसैलाई राम्रो पैसा दिएर हली राख्नुभयो । त्यो बेलाका राजा भनिने ठकुरी पञ्च प्रधानपन्चका विरुद्ध जिल्ला अदालतमा मुद्दा हालेर जित्नु पनि भयो । यो कुरा पछि आमा बुबा दाजु र छिमेकीहरुबाट सुनेको हुँ म, ती घटना हुँदा म सानै थिएँ । बुबाले सेनामा हुँदा जति सास्ती र बहादुरीले पेन्सन निस्केर आउनु भयो त्यो भन्दा बढी जीवनको वास्तविक जंग त गाउँ आएपछि लड्नुभयो । दुश्मनहरुले मुखै भनेका थिए रे, तँलाई मारेर ज्याग्दी खोलामा बगाइदियौँ भने पनि तेरो लास देखेको हुँ भन्ने मान्छे यहाँ कोही हुने छैनन्” तर बुबाले एक्लै बहादुरीका साथ लड्नुभयो । आर्जेको केही हिसा सम्पत्ती खर्चिनु भयो तर बुबासँग मुद्दा मामिला गर्दा कोही गरिब बने कोही सुकुम्बासी नै बनेर विस्थापित हुनु पर्‍यो । त्यही ठाउँमा बुबा सम्मानित जीवन बिताउन सफल हुनुभयो ।

एकदिन, दिउँसो बुबाले मान्छे कुट्नु भयो, साँझ परेपछि सय डेढ सय मानिस राँको बालेर हातहतियार सहित हाम्रो घर घेराउ गर्न आइपुगे । आमाले घरको ढोका बन्द गरेर मलाइ बुबाको हातमा थमाइदिनु भयो र रुँदै बुबासँग बिन्ती गर्न थाल्नु भयो : ” बिन्ती बुडा, अहिले बाहिर ननिस्किनुस् यिनीहरुले यो काखको बच्चा टुहुरो बनाइदिन्छन् ।” बुबाले नाङ्गो खुकुरी नचाउँदै बार्दलीबाट भिड जम्मा भएको आँगनमा हामफाल्नु भयो, भिड एकाएक हरायो, मान्छेहरु ज्यान जोगाउन भागे । अक्सर बुबा वालिङदेखि गाउँसम्मको तीनघन्टाको बाटो तिनै गुण्डाको डरले रातीमा मात्र ओहोरदोहोर गर्नुहुन्थ्यो मुद्दामामिलाको समय । गुण्डाहरुले बाटो कुरी बस्थे, बुबा हातमा नाङो खुकुरी लिएर राती हिँडेर घर आइपुग्नु हुन्थ्यो ।

घर घेर्न आएको त्यस घटनापछि बुबाले जिल्ला अदालतमा गाउँतिरका केही मानिसहरु विरुद्ध ज्यान मार्ने उधोगमा किटानी जाहेरी दिनु भयो । गाउँले फटाहाहरु एकजुट भएको त्यो अवस्थामा तत्कालीन युवा नेता शिव गिरी (काँग्रेसका नेता) ले जिल्लामा सर्जमिन बक्ने बेलामा हो उहाँको घरमा राती हल्ला गर्दै काट्छु मार्छु भन्दै मानिसहरु पुगेको देखे सुनेको हुँ भनेर बुबाको पक्षमा बोलिदिए, बुबाले मुद्दा जित्नुभयो । त्यसपछि पञ्चहरु ठेगान लागे । बुबा गाउँमा स्थापित हुनुभयो । त्यसपछि बुबाले जीवनमा कहिल्यै पछि फर्केर हेर्नुपरेन । त्यही गुनले गर्दा बुबाले आजीवन नेपाली काँग्रेस र शिव गिरिलाई भोट दिइरहनु भयो । बुबा र शिव गिरि उमेरले बाउ छोरा जस्तो भए पनि साथीसरह हुनुहुन्थ्यो । पोहोर बुबा स्वर्गे हुँदा स्याङ्जाको चापाकोटका मेयर रहेका उनै गिरी पोखरामा किरियामा बसेका हामीलाई सान्त्वना दिन पुग्नुभएको थियो ।

बुबाको स्वर्गेबासले त्यस भेगले एउटा हक्की, निडर, समाजसेवी र बाघजस्तो छवि बनाएको लौह पुरुष गुमायौँ, हामीले बुबा मात्र गुमाएनौँ हामी बस्ने घरको धुरीखाँबो गुमाएका छौँ, जसको अनुपस्थितिमा हामीले जीवनभर एउटा अभावको महसुस गरिरहनुपर्नेछ ।

मलाई याद छ, म अब स्कुल जाने उमेरको भएको थिएँ, घर पछाडि उनै शिव गिरिले आफ्नी छोरीको नाममा भर्खरै खोलेको सिर्जना इङ्लिस बोर्डिङ् स्कुल थियो, करिब पन्ध्र मिनेटको दुरीमा सरकारी विद्यालय राममन्दिर प्राथमिक विद्यालय थियो । एक साँझ मलाई दाइ र बुबाले कुन विद्यालय पढ्छस् भनेर सोध्नुभयो, म बच्चालाई के थाहा कहाँ पढ्ने ? तैपनि घर पछाडिको चहलपहलले मेरो बालसुलभ मनलाई आकर्षित गरेको थियो, पढाइ के हो थाहा थिएन, खेल्न पाइन्छ भन्ने नै थियो । म त्यही बोर्डिङ्मा भर्ना भएँ । घरमा आमाले क ख ग घ भन्दै धुलोमाटोमा लेख्न सिकाउनु भयो, पैसा चिन्न सिकाउनु भयो । स्कुलमा ए बि सि डी सिकेँ । दार्जिलिङतिरका दुई जना शिक्षकहरु थिए, उनीहरु हाम्रै घर बस्थे । त्यही बोर्डिङ्मा दाइले पढाउन थाल्नु भयो, बोर्डिङ्को आर्थिक स्रोतको कमी भएपछि एकाध वर्षमा त्यो बन्द भयो ।

पछि बुबा लगायत गाउँलेको पैसा र परिश्रमले सरकारी प्रा.वि क्रमशः निमावि र मावि भयो, अहिले प्लस टु सञ्चालित छ ।

खुट्टा खोण्च्याएर भए पनि बुबा दूरदूर गाउँमा बिरामीको उपचार गर्न जानुहुन्थ्यो, त्यो बेला त्यो भेगमै अरु मेडिकल या चिकित्सक थिएनन्, धेरैपछि ढालबहादुर खाँण आइपुगे गाउँमै अर्को मेडिकल खोल्न । सफल भए पनि ।

कतिपय सुत्केरी बोकाएरै हाम्रो मेडिकलमा ल्याउँथे, बुबाले सलाइन, इन्जेक्सन र औषधि दिनुहुन्थ्यो । कतिपय ढिलो गरी ल्याएका विमारीको ज्यान जान्थ्यो । खासगरी त्यो बेला झाडपखालाको महामारी थियो । पिँडी र आँगनभरि झाडापखालाका बिमारी सुताइएका हुन्थे । ज्याग्दी चापाकोट सिँचाई नहर परियोजनाका मजदुर रोल्पालीहरु झाडापखालाबाट बढी प्रभावित थिए । घरमा ठाउँ नभएपछ केही बिमारीहरु ठाँटीमा राखेर पनि उपचार गर्नुहुन्थ्यो बुबा । करिव बीस वर्षे सेवामा बुबाले हजारौंको ज्यान बचाउनु भयो, कहिले गाउँमा गएर उपचार गरेर दुई तीन दिनमा घर फर्किनुहुन्थ्यो, बिमारी निको भएपछि गाउँलेले झोलाभरि तरकारी दिई पठाउँथे । बुबा फर्कँदा झोलामा सागसब्जी बोकेर मानिसहरु बुबालाई छोड्न घरसम्मै आउँथे । यसरी बुबाले ८४ बर्षसम्म सम्मानित जीवन बाँचेर बैकुण्ठ प्रस्थान गर्नु भयो ।

बुबा जति सोझो, इमान्दार हुनुहुन्थ्यो उति हक्की पनि । मनमा लागेको कुरा भन्न कहिल्यै हिच्किचाउनु भएन । राजनीति, समाचार, गीत संगीत सुन्न उहाँलाई औधी मन पर्थ्यो । टिभिमा बजेका लोकगीत र दोहोरी गीत सुन्दै खाना खानुहुन्थ्यो भने शारीरिक अवस्थाले साथ दिँदासम्म साथीभाइको जमघटमा सालैजो भाका गाउँदै नाचेको मेरा आँखाले सयौं पटक देखेका हुन् । भजन किर्तन र श्लोकहरु बुबालाई कण्ठै थियो । बडादसैंमा बुबाले मुखाग्र चण्डी पाठ गर्नुहुन्थ्यो भने श्रीस्वस्थानी आरती र देवी आरती बुबालाई कण्ठै थिए । उहाँ देवी भक्त हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो- हामी क्षेत्री वंशले शक्तिस्वरुपा देवीको पूजा गर्नु भक्ति गर्नुपर्छ । उहाँलाई देवीको शक्तिप्रती पूरा विश्वास थियो ।।

बुबाले मलाई तँ भनेर सम्बोधन गरेको याद छैन, उहाँले छोरी र बुहारी दुबैलाई छोरी तिमी भनेरै सम्बोधन गर्नुभयो । खानामा शौखिन बुबालाई माछा मासु दूध घिउ मन पर्थ्यो । खाएर लगाएर बचेको मात्र कमाइ हो, खानमा कहिल्यै दुख नगर्नु- बुबा भन्नुहुन्थ्यो ।

म सानो छँदा घरमा लैनो भैंसी र हलगोरु गोठमा हुन्थे । काम गर्मे दाइहरु, दुई भाउजुहरु हुनुहुन्थ्यो । खेतहरु जोत्न हली राखेको म सानो छँदा अलि अलि सम्झन्छु। पछि दाइहरु कमाउन परदेश लागेपछि गोरु पाल्न छोडियो भने वारि खेत जोत्ने बाली लगाउने, भित्र्याउन एक जना मानिसलाई जिम्मा दिइन्थ्यो उनैले सबै चाँजोपाँजो मिलाउँथे । म, भाइ र बहिनीलाई कहिल्यै हिलोमा पस्न दिनुभएन, कहिल्यैरुख चढ्न परेन अनि घरमुनिको खोलामा पसेर माछा मार्ने पनि मिलेन । कटहर, आँप, सुन्तला फल्ने सिजनमा बुबाले डोकोभरि आँप सुन्तला, केरा किनेर घरमा राखिदिनुहुन्थ्यो हामीले जति मर्जी खान्थ्यौँ कति छिटो सकेको भनेर प्रश्न भएन । कलेज पढ्दाको समयमा छुट्टीमा घर आएको छोरालाई दिने पैसा नभएपछि हातको औँठी बेचेर मलाई खर्च दिएको याद छ ।

बुबाको वीरताको कथा गाउँमा मात्र होइन पल्टनसम्म फैलिएको थियो । उहाँले भारत चाइनाको लडाईंमा भारतीय फौजका रुपमा चिन बिरुद्ध लड्नुभएको थियो । दलाइलामा तिब्बतबाट निर्वाचित हुँदा बुबा भारत चीन बोर्डरमा हप्तौं लामो लडाईंमा सरिक हुनुभयो । त्यो बेला बुबा जवान र हृष्टपुष्ट हुनुहुन्थ्यो । लडाईंका क्रममा फौजीहरुको रासनपानी सकिएपछि कैयौं दिन उनीहरु पानी र जंगली कन्दमुल मात्रै खाएर लड्नु परेको स्मरण बुबा गर्वका साथ सुनाउनुहुन्थ्यो । यसरी भोकभोकै लडेर फर्केपछि ऐनामा हेर्दा आफ्नो मोटो गाला खुम्चेर चाउरी परेको जस्तो देखेपछि विरक्तिएका बुबाले त्यसपछि कहिल्यै जीवनमा ऐना हेर्नुभएन । मैले जानेदेखि र बुबा ८४ वर्षको हुन्जेल पनि कहिल्यै ऐना हेर्नुभएन र ऐना नहेरिकनै आफ्नो दारी काट्नुहुन्थ्यो । हातले गाला मुसारेर दारी सहि काटिए नकाटिएको एकिन गर्नुहुन्थ्यो बुबा ।

एउटा रमाइलो र आङ नै सिरिङ हुने किस्सा छ बुबाको जीवनको । भारतीय सेनामा बीस बाइस वर्ष सेवा गरेपछिको कुरा हो । एकदिन उहाँको आफ्नो बटालिएन कमाण्डरसँग निकै चर्को विवाद परेछ । घमण्डी र तानशाह प्रवृत्तिको कमाण्डरबाट सबै सैनिक जवानहरु पीडित थिए तर कसैले बोल्न सक्ने अवस्था थिएन । यो अन्याय बुबाले देखि सक्नुभएन । फलस्वरुप विरोध गर्नुभयो । उहाँको विरोध सुनुवाइ भएन । सुनुवाइ नभएपछि रिसाएर बुबाले बटालिएन कमान्डर र उच्च अधिकारीले बोलाएको बैठकमा सर्टको टाँकहरु नलगाई उपस्थित हुनुभयो । बुबालाई लागेको थियो कि उच्च अधिकारीले यस्तो अनुशासनहीन काम किन गरेको भनेर सोध्नेछन् अनि आफूले त्यही अवसरमा बटालियन कमाण्डरको कर्तुत बताउन पाउने छु । तर भयो उल्टो ! बटालियन कमाण्डरले बुबाको बिरुद्ध कारबाही गर्ने उपयुक्त मौका पायो र उहाँलाई कोर्ट मार्सल गर्न सिफारिस लेखेर सैनिक हेड क्वार्टरमा फाईल पठायो भने बुबालाई सोही दिन निलम्बित गर्‍यो । केही दिनमै कोर्ट मार्सलको पेपर बुबाको हातमा थमाइदियो ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएर रिटायर्ड हुनेबेला कोर्ट मर्सल भएर रित्तो हात घर फर्कनु परेपछि बुबालाई असह्य पीडा भयो । अब उहाँलाई कि आफूमाथिको सजाय फिर्ता गराउनु थियो कि आत्महत्या गर्नु थियो । जीवनभर काम गरेर बिना पेन्सन बिना पैसा रित्तो हात घर फर्कनुभन्दा मर्छु भन्ने अठोट उहाँले गर्नुभयो । तैपनि हिम्मत हार्नुभएन । उहाँले उपयुक्त मौकाको तलासमा महिना गुजार्नुभयो ।

उहाँलाई लाग्यो आफ्नो कुरा हेड क्वार्टरसम्म पुर्‍याउन पाए मैले न्याय पाउँछु । तर पुर्‍याउने कसरी ? कोर्ट मार्सल भएको पूर्व सैनिक कुनै पनि बहानामा सैनिक हेडक्वार्टरसम्म पुग्न सक्ने सम्भावना शून्य बराबर थियो । अझ कारबाहीमा परेको सिपाहीलाई उच्च अधिकारीले भेट्ने भन्ने कल्पना बाहिरको कुरा थियो । तैपनि बुबाको मनमा एउटा आशाको उज्यालोले छिद्रबाट चियाइरहेको थियो ।

उहाँले सैनिक हेडक्वार्टरका गार्ड र सिपाही अनि क्यान्टिनवालासँग सुमधुर सम्बन्ध गाँस्नु भयो । कसैलाई पनि आफू कोर्टमार्सलमा परेको बताउनु भएन । त्यसैले सैनिक क्यान्टैनमा आउजाउ गर्न र सैनिक अधिकारीहरु आउने जाने समयको सुचना प्राप्त गर्न उहाँ सफल हुनुभयो । त्यसपछि कैयौं पल्ट उहाँ आफ्ना जनरल आउने समयको प्रतीक्षा गरी बस्नुभयो तर भेट हुन सकेन ।

अचानक एकदिन सैनिक जनरल हेडक्वार्टरबाट सैनिक बाहनमा कतै जाँदैछन् भन्ने सुनेपछि बुबाले बाटोमा लुकी बस्नुभयो । जब साइरन बजाउँदै स्कर्टिङ् गाडीहरुको लस्करका साथ सैनिक बृगेडियरको गाडीको काफिला सडकमा आयो बुबा एक्कासी सडकमा हाम फाल्नु भयो । सामान्यत: यस्तो भिआइपी सवारीमा यस्तो घटनामा गाडी रोकिन्न, सामुन्नेमा कोही आउने सम्भावना पनि रहन्न किनकि बाटोमा पहिल्यै सुरक्षन चेक जाँच हुन्छ, त्यसपछि पनि कोही आए गाडीले कुल्चेर जान्छन्, त्यसको सुनुवाई या खबर कतै हुन्न । तर बुबाको भाग्यले साथ दियो । सैनिक जनरलको गाडी रोकियो । सुरक्षाकर्मीले बुबालाई गिरफ्तार गरे, सैनिक जनरलले यसरी बाटो अवरोध गर्ने केटोलाई आफूसमक्ष ल्याउन आदेश दिए । सैनिक जनरल समक्ष पुगेपछि बुबाले आफूमाथि गरिएको कारबाहीको बेलिबिस्तार लगाउनु भयो । उहाँले आफ्नो बटालियन कमान्डरको कर्तुतका बेली बिस्तार लगाउँदै त्यसको विरोध गर्दा आफूलाई अमानवीय कारबाही गरिएको सुनाउनु भयो । सैनिक जनरलले बुबामाथिको कारबाहीको अनुसन्धान गरायो, बुबा निर्दोष साबित हुनुभयो । बुबालाई कारबाही गर्ने बटालियन कमाण्डर कारर्बाही स्वरूप सरुवा भयो । सैनिक हेड क्वार्टरमै बाँकी समय बिताएर रिटायर्ड हुनेबेलातिर बुबा दुर्घटनामा पर्नुभयो । यो किस्सा सुनाउँदा जहिले पनि बुबाको आँखामा आँसु छचल्किन्थ्यो ।

रिटायर्ड जीवनपछि कुनै समस्या आए सिधै यो पत्र लिएर मेरो घर/अफिसमा आउनु भनेर सैनिक जनरलले बुबालाई पत्र दिएको थियो । साथै बहादुर सैनिक भनेर सम्मानपत्र समेत दिएको थियो । यसरी खुसी हुँदै सेवा निवृत्त भएर स्वदेश फर्कने क्रममा रेल यात्रामा डाँकाहरुले बुबासँग भएको नगद र ती महत्त्वपुर्ण कागज चोरेर लगिदिए । त्यसपछि पेन्सन मिलाउन बुबाले थप संघर्ष गर्नु पर्‍यो ।

बुबाले खेतबारीमा काम गरेको कहिल्यै देखिनँ तर काम गरिखानेहरुलाई असाध्यै माया गर्नुहुन्थ्यो । काम लगाइसकेपछि साँझमा पैसा दिएरै पठाउनु हुन्थ्यो । दुखी गरिबलाई पछि काम गरेर हिसाब मिलाउलास् भन्दै सकेको ऋण सापटी दिनु हुन्थ्यो । बुबाले काममा बोलाएपछि अरुको काम छोडेर पनि मान्छे हाम्रोमा आउँथे । बुबाले कसैलाई विभेद गर्नुभएन, घरको ढोका सबै तप्का र सबै जातिका लागि समान रुपमा खुल्ला थियो ।

६ छोरा र २ छोरीका पिता बुबा भिमबहादुर पौडेल क्षेत्रीले कहिल्यै कसैसँग हात फैलाउनु भएन । न त कहिल्यै कसैसँग केही गुनासो नै गर्नु भयो । ६ छोरा मध्ये कसैको पनि धुमधामले पन्चेबाजा बजएर बिहा गर्दिन नपाएकोमा भने उहाँले यदाकदा दुखेसो पोख्नुहुन्थ्यो ।

म विदेश आएको करिब एक वर्षपछि बुबालाई हृदयघात भयो । डाक्टरले समेत आस मारिसकेको अवस्थामा उहाँ सकुशल घर फर्किनुभयो । यद्यपि उच्च रक्तचापका कारण उहाँ एउटा आँखा देख्न छाड्नुभयो । उमेर हदका कारण आँखाको उपचार गर्न सम्भव भएन । त्यसपछिका दिनमा औषधिको अत्यधिक मात्रा सेवन र बुढ्यौली उमेरले हिँडडुलमा समस्या आएको थियो तथापि घरवरपर, पसलतिर आउजाउ गर्नुहुन्थ्यो । विगत पाँच छ वर्षदेखि उहाँ अर्को आँखा पनि कम देख्न थाल्नुभएको थियो यद्यपि कान प्रस्ट सुन्ने र बोली प्रस्ट थियो, खानपानमा अत्यन्तै सजग हुनुभएको थियो । कोरोनाको समयमा बुबासँगै करिब डेढ महिनासँगै बसेँ गाउँमा । उहाँले मलाई अहिले पनि काखको बच्चालाई जस्तै माया गर्ने, छोराको छेउमा बसेर छोराको कपाल मुसारी बस्न मन गर्ने गर्नुभएको थियो । विदेश फर्किने बेला आँखाभरि आँसु गरी निधारमा रातो टीका लगाएर बिदाइ गर्नुभएको बुबासँग त्यसपछि भेट हुन पाएन । एक साँझ अत्यधिक टाउको दुख्यो भनेर औषधि सेवन गरेर सुतेका बुबा बिहान नाजुक अवस्थामा बिस्तरामा हुनुहुन्थ्यो । हतार हतार पोखराको मणिपालमा लगी आईसियु र पछि भेन्टिलेटरमा राखी उपचार गराए पनि अन्तत: बुबाले हार्नुभयो र संसारबाट बिदा भएर जानुभयो । बुबाको अन्तिम अवस्था थाहा पाएपछि युएईमा रहेका तीन दाजुभाइ एउटै जहाजमा स्वदेश फर्क्यौं, बुबालाई काँधमा राखेर, गोडा चुमेर अन्तिम यात्रामा समावेश भएर ब्रह्मलीन गराएर फर्क्यौं ।

हरेक वर्ष साउन २९ गते आयो कि बुबाको मनमा डर उत्पन्न हुन्थ्यो । साउन २९ गते बुबाको जन्मदिन थियो । राणा शासनको समयमा वि.सं. १९९४ सालको साउन २९ गते जन्मेका बुबा साउन २९ गतेकै दिन भारतीय फौजमा भर्ती हुनुभएको थियो । ६० जना नेपाली भर्तीको लाइनमा उभिएका मध्ये जम्मा दुई जना पास भएका थिए रे, त्यसमा एक मेरो बुबा पनि हुनुहुन्थ्यो । साउन २९ गते नै उहाँ फौजी जीवनबाट सेवा निवृत्त हुनुभएको थियो । जीवनको तीन संयोग जन्मदिनमै परेकाले कतै सोही दिन आफ्नो जीवनको अन्तिम दिन हुने त होइन भनेर उहाँ सदैब त्रस्त जस्तै हुनुहुन्थ्यो । यद्यपि साउनको महिनालाई जिते पनि असोज ७ को कालो रात उहाँ चिर निद्रामा निदाउनु भयो ।

मैले विगतको दशकदेखि खासै मन्दिर धाउन छोडेको थिएँ । भगवानप्रति आस्था भए पनि मलाई आफ्नो जन्मदाता बुबाआमाभन्दा ठुला अरु ईश्वर छैनन् जस्तो लाग्थ्यो । यो कुरा मैले बुबालाई एकाधपटक सुनाउँदा उहाँका आँखा टिलपिलाएका थिए । भगवान सम्झनु परे मैले पहिला बुबा आमा अनि मात्र तेत्तीसकोटी देवी देवतालाई सम्झन्छु । अब भने बुबा पनि भगवान् बस्ने ठाउँमा देव स्वरुप भएर विराजमान हुनुभएको छ । सबै देवीदेवता र पुज्य बुबालाई म सदैव एउटै स्थानमा राखेर पूजा गर्नेछु ।

धरतीमा फेरि फेरि जन्मने सौभाग्य मिल्यो भमे मलाई यही पिता र माताको छोरा भएरै जन्मने अवसर प्राप्त होस् – हार्दिक श्रद्धासुमन बुबा ।

प्रतिक्रिया
Loading...