…. म नहुनु पर्ने भएँ । म के भएँ ? छामिरहन्छु आफैंलाई । भेटाउदिन आफूभित्रै आफूलाई.. म सोध्छु उनीलाई ढुक्कैले….

उनी निर्धक्क भनिदिन्छिन् – तिमी प्रेममा छौ ।

म लजाउँछु । यो उमेरमा प्रेम ! नो वे…

म अस्वीकार गरिदिन्छु प्रेममा रहेको कुरा । सबै सबै इग्नोर गरिदिन्छु उनले फलाकेका शब्दहरू । म प्रेममा छैन । जीवनको अन्तिम प्रेमानुभूतिसँगै जीवन काट्ने जिद्धी लिएर बेहोसीमा बाँचिरहेको यायावर हुँ म । बडो सानन्दार तरिकाले भन्न सक्छु – जीवनमा प्रेम केवल एकपटक हुन्छ; पटकपटक हुने प्रेम होइन, वासना हो ।

जो मैले नामी नामी पुस्तकहरुबाट विश्वप्रसिद्ध ड्रामाहरुबाट सर्लक्कै खाली मगजमा भरेको छु।

तर,असामान्य छटपटी,असामान्य दैनिकी, कतै केही पाएजस्तो,फेरि कतै मुगाएजस्तो,हृदयसँगै लिन भएर धड्केजस्तो, फेरि कतै छुट्टिएर हराएजस्तो, कस्तो कस्तो… डरले थरथराएका ओठहरु जसले प्रत्यक्ष नाम लिन मान्दैन बस नदेखिने मुटुले बारबार कसैको नाम पुकारे जस्तो.. यस्तै अमूर्त अनुभूतिह? अन्तस्करणमा भने चलि नै रहेछ।

म यस्सै अन्तरमुखी स्वभावको मान्छे हुँ। धेरै संगत गर्नु मेरो स्वभावमा छैन । हुलमुलमा हुलिनु ठमेलभित्र कतै आफैंलाई हराएर निस्सासिएको आभास हुन्छ । हुल भन्ने बितिक्कै एक खाल्को एलर्जीजस्तो लाग्छ । आफू घुल्मिल हुन सक्दिन र मलाई एक्लै छोडेर सबै पर जाओ भन्न सक्दिनँ,न कन्याउन मिल्ने,न चिलाई सहन सक्ने..अस्वभाविक स्वभावले भरिएको मान्छे म ।

यस्सै अन्तरकुन्तरमा एउटा धमिलो आकृतिले झक्झक्याइरहन्छ।म जानपहिचान गर्न चाहदिन फेरि पनि…।

चुटुक्क परेको अनुहारको मोहडामा मसिना आँखा जो झट्टै हेर्दा फर्सिका बियाँजस्ता खँदिला र रसिला थपक्क बसेर सपना कुँदी रहेको जस्तो । फर्सीकै लहराजस्ता कुर्लुङ कुर्लुङ परेको कपाल सुस्तरी स्पर्श गर्दा लाग्छ आकाशको कालो बादलभन्दा केही नरम छ भने यही केश हो । चुरेको पहाडजस्तो चिटिक्क परेको नाक जो झट्टै आदिवादी फ्लेभरमा छ।

धरती कल्पना

आहा ! कस्तो राम्रो …एकान्तमा बसेको त्यो जून पनि उनलाई देखेपछि नतमस्तक हुन्छ होला सायद । मादकताले भरिएको हेराइ, सम्मोहनले भरिएको लवज, मोहित बनाउने हाउभाउ… उफ्फ ।

स्तब्ध हुन्छु । अचेत हुन्छु । शून्य-शुन्य हुन्छु । जब आफैंलाई उनको बयानमा कवि भएको पाउँछु ।
संसारका सबै शरीरको बनौट लग्भग एउटै हुने गर्दछ । महिला पुरुष । त्यो बाहेक केही हुनु भनेको, कहिले शरीरको बनौटमा भावना नमिल्ने हुन्छ भने, कहिलेकाहीँ भावना शुद्ध भए पनि शरीरले साथ नदिनु । सम्झी ल्याउँदा चकित हुन्छ । ईश्वरीय लिला अपरम्पार…तर त्यो सबैभन्दा पर कतै उच्च पहाडको टुप्पोमा ल्यामपोस्टजस्ती उनी, जसले जूनको रुप मात्र होइन गुण पनि चोरेर क-कस्लाई लोभ्याइरहेछिन् थाहा छैन, मलाई भने सुस्त सुस्त सोच्न बाध्य गराइरहेकी छिन् । सुस्त सुस्त बहकाइरहेकी छिन् । बोलाइरहेकी छिन् । तड्पाइरहेकी छिन् …तर म प्रेम भने गर्दिन । प्रस्ट छ ।

मित्रताको वर्षौपछि यो खालको सामीप्यता कता-कता काउकुति लाग्ने खाल्को जो लाग्नुको रहस्य जान्दिनँ । न त जान्नै चाहन्छु । कुनै समय परिस्थितिलाई केलाएर नबस्ने बानी एक प्रकारले ठिकै लाग्छ र कैलेकाहीँ यही बानीले खाल्टोमा जाँकी दिन्छ । जाँकिएको खाल्टोबाट ठसठस कन्दै निक्लिनुको विकल्प नहुँदो रहेछ । म कतै कुनै अदृश्य तर गहिरो खाडलमा खसी रहेको त छैन ?

नोभेम्बर ७ उसको जन्मदिन याद गरेर होइन, अटो सेभ भएर बसेको एउटा डेट । फोनको फङ्सनमा रिमाइन्डर सेट त छैन तर ब्रेनको घण्टी टङ टङ बज्छ । आज उनको जन्मदिन…र आजभन्दा पहिला मन र मस्तिष्क, फूल र बासना जसरी मिलेको कहिले थाहा छैन । आज खुब मिलिरहेछ्न् तर किन मलाई जान्नु छैन ?

घडीले रातको १२:०० बजायो ।

आँखा घरिघरि स्कृन माथिको टाइममा हामफाली रहेछ।

जो उसको काम थिएन।

१२:०१ मिनेट भयो, सूर्यलाइटमा लम्किन्छ हात ।

सूर्यालाइट नामको मात्र रहेछ भन्ने भान भयो,जब लाइटर बिना उसको अस्तित्व देखिन।

म पनि कतै सूर्य ?

अँह…।

लाइटर ग्यासबिना चिसो भएर टेबलमा उत्तानो छ । टिपेर पार्न खोज्छु, पर्दैन । पुनः पार्न खोज्छु पर्दैन…।

सूर्यालाइट अन्धकारमा पछारिन्छ ।

दिमाग झट्टै कुद्छ ।

आमाको मन्दिरमा । जहाँ आमाको ईश्वरलाई चाहिने प्रत्येक चिजहरु स्ट्याण्डबाइ छन् । जुन कुराहरु कुनै दिन भोकमा पनि उपलब्ध थिएन । सम्झेर मुसुक्क हाँस्छु र सम्झन्छु कवि उपेन्द्र सुब्बाको कविता “विश्वास” बिरालोको चालमा आइपुग्छ लाइटर भगवानको घरबाट, अन्धकार भरिएको कोठा एकाएक उज्यालो हुन्छ ।

र धुवाँको मुस्लो झ्याल बाहिर पङ्ख फिजाउँदै उड्न थाल्छ । सायद सबै धुँवा जम्मा भएरै बादल भएको हो, अबको केही क्षणमा झरी दर्किन्छ । यो पक्का हो।

बालापन हाबी हुन्छ ।

घडीको सुइरो लम्किँदै अघि सर्छ । मन भने ठसमस केही गर्दैन । कस्तो अकडो मन ?

छि!

नोभेम्बर ७,काम जहिले मेरो प्राथमिकतामा पर्छ।जहाँ कुनै कुराको कम्परमाइज हुनै सक्दैन । काठमाडौंको यो भिडमा कार्यभारलाई जिम्मेवारी पूर्वक पूरा गर्दै सुस्तरी चिप्लिँदै ढल्न थाल्छ, साँझ । खस्नै आँटेको छ जून….बतासले फिजाउनै आँटेको छ सितल पङ्खहरु…।

तर एक प्रकारको बेचैनी जो योभन्दा पहिले कहिले पनि अनुभूति भएको थिएन ।

बेचैनीको कारण न जून थियो न घाम थियो । न घर थियो न परिवार थियो । न काम थियो न काम बाट पाएको स्ट्रेस थियो । न साथी थियो न दोस्ती थियो… न भोक थियो न प्यास थियो ।बस थियो त अघोरी पारामा शरीर सिथिल गर्ने बेचैनी जसले मन मस्तिष्क सबै सबै कदै गरेर स्वविवेकलाई ह्याण्ड्स अप गराइरहेको थियो।

म केलाउन खोज्छु बारबार यो मनको उल्झनको गाँठो त्यो गाँठो खुल्न मान्दैन । कारण म कसैमाथि यसरी आश्रित भएर बाँच्ने प्राणी कदापि होइन । म स्वयंमा सबल र सक्षम मान्छे कसैको लागि यसरी तड्पिनु मेरो इगोलाई स्वयम्ले हर्ट गर्नु हो। यो साँझको मिठो बतास जसरी एक तमासले बहिरहेछ एउटा बासना जो मैले कहिले चाहेर फोक्सो भरि-भरि भरिन…. अहिले भने अटो भरिँदैछ,यो के हुँदैछ ?

मनको बादल मडारिएको प्रत्यक्ष अनुभव थ्यो तर मनको बबण्डर रोक्न झरी आकाशबाट वर्षन्छ । अहँ थाहा थिएन।सायद आँखाका मोतिहरु यही झरीसँग मिल्न चाहन्थ्यो कि ? बादलले सिम्सिम आँखा खोल्छे, यति बेला आर्यघाटमा छु ।

पशुपति आर्यघाट मेरो अथाह प्रिय ठाउँ जहाँ म खुसी भएर रम्न सक्छु दुखलाई बाग्मतिमा बगाउन सक्छु । जीवनको यथार्थलाई छामेर आफ्नो घरातल बिर्सन सक्दिन…सायद यी यावत् कुराहरुले सकारात्मक उर्जा पाएरै पशुपति प्राङ्गण मेरो एक्लोपनको पहिलो साथी हो ।

आँखै अगाडि लास जलिरहेछ । मैले फालेको धुँवा र लासको धुवाँ मास्तिरै लम्किदै गएर निक्कै माथि बिलिन हुन्छ । सोच्छु धरतीको छुवाछुत, उचनीच,वर्गीय विभेद त्यो धुँवाहरुमा हुन्छ कि हुँदैन होला ? समाजको कथित उपल्लो जातको धुँवा र अछुत मानिनेको ओठबाट फुस्किएको धुँवामाथि पुगेर कस्तो संवाद गर्दा होलान् ?

यो दिनको बेचैनीले साँझ सुखद कहाँ हुन दिन्थ्यो र ? म किन निस्सासिएको छु ? म कसरी प्वाँखजस्तै हलुङ्गो हुन्छु ? म कसरी फूलजस्तै फक्रिन्छु ? म कसरी सामान्य हुन्छु ? कतै कुनै बाटो देख्दिनँ…।

यति बेला पारिजातको शिरीषको फूलको एउटा हरफ याद आउँछ ।

“प्रिय सकम्बरी अब शरीरभरि खोपेर हिँड्न मन छ जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो, मानिस यस्सै पनि दुखी छ उस्सै पनि दुखी छ । सधैंको रित्तो हात रित्तो मन….।”

हैट् कस्तो निरासा ?

जीवन निरासा होइन, उत्सव हो । पलपल मरेर भए पनि अर्को पल हाँस्नु जीवन हो । यो फिलोसफी अलिक ज्यादा नै भयो कि ?खुस्की जान्छ मुस्कान आफ्नै ओठबाट…।

यो सिमसिमे झरी,म अनि उनको याद…।
बिर्सिदिएँ र याद आयो स्व.पेमला लामा…

काठमाडौं रिङरोडमा चक्रपथ जसलाई नारायणगोपाल चोक पनि भनिन्छ । त्यो चोकमा स्वर सम्राट स्व.नारायण गोपाल गुरुवाचार्यको सालिक छ । झरी परेको दिन त्यही बाटो भएर उहाँको श्रीमती स्व.पेमला लामा हिड्नुहुँदा लाग्थ्यो अरे,”अहो कस्तो जाडो भयो होला उहाँलाई,छाता लगेर ओढाइदिन पाए ? त्यसरी नै घाम लागेको बेला हिँड्दा अहो कस्तो पोल्यो होला घामले छाता लगेर ओढाइदिन पाए ?

यो हरफहरु सुनेको दिनबाट प्रेमको परिभाषा नै परिवर्तन भएको आभास भयो र लाग्न थाल्यो, “प्रेम प्राप्तिमा मर्ने र वियोगमा बाँच्ने अनुभूति हो।”

रात छिप्पिदो छ,जूनले चिहाउँदैछ धरतीलाई चाहने हो भने सक्थेँ, उनीलाई एक कल गरेर उनको खुसीमा आफू सामेल हुन तर ..

अँह!

आमाको कल आयो । बाबू कता छस् ?

अफिसको मिटिङ छ,अझै १:३०-२:०० घण्टा लाग्छ । खाना खाएर सुत्नुस्, मलाई ढिला हुन्छ । अरु केही नबोली फोन राख्छु।

आमाले के सोच्नु भयो त्यो मैले सोचिनँ ।

उनले के सोचिन म त्यो सोच्दैछु।

सोचै सोचको साङ्लो हो क्यार सम्बन्ध भनेको पनि ।

सिम्सिमे झरीलाई पत्याउदिन,रेनकोट आफ्नै ब्यागमा मस्त छ । उज्यालो छ उनको झकिझकाउ घर आँगन । उनकै घरको बाटो भएर पुग्छु शङ्खमूल पार्क मास्तिर..रहेको सानो चौतारी । जुन चौतारीलाई चारैतिरबाट गोलाकारमा बस्न मिल्ने गरी ठाउँ बनाइएको छ । मनको संवेगलाई सम्हाल्ने स्थिति कम हुँदै जान्छ । चिसो भएर ओसिँदै गएको सूर्यालाई लाइ ताप दिए पछि तंगृन्छ,ओठमा च्यापिन्छ र पागल मनलाई साथ दिन थाल्छ।

जून खसेर हाँसी रहेकी बाग्मतिको भेल संगै निक्कै पर पुगेको मन एक्कासी झस्किन्छ।झरीले आफ्नो रौद्र रुप देखाउने पक्कापक्की भैसकेको छ।त्यतिकैमा चखेवाको जोडि जस्तो प्रेमिल जोडि मेरै छेउमा आएर ओत लाग्छन।रात अँध्यारो होईन बिल्कुलै अन्धकार छ।मन चिसिदै गएको यो समय,रात भने छिप्पिदै गएको छ। छिप्पिदो रातमा न आउनु पर्ने उनी यादको कट्घरामा उभिएर बेलगाम प्रश्नमाथि प्रश्न तेर्स्याउन अभ्यस्त छिन् …म भने उनको सम्मोहन गराउने लवजमा होइन थर्थराएको ओठमा अड्किरहेँ । सायद म पुरुष हुनुको पहिलो आकर्षण त्यही कतै थियो….।

औंलाको चेपमा च्यापिरहेको सूर्य अन्तिम बिदाइ माग्दै गर्दा म झस्किन्छु र बट्टाको अन्तिम खिल्लीलाई पुनः सल्काएर उडाउन थाल्छु । खाली बट्टालाई बडो जतनको साथ फिजाएर डुङ्गा बनाउँछु र सुस्तरीमाथिबाट खसाइदिन्छु । खड्गप्रसाद ओलीको पानी जाहाज सम्झेर । कास यो जाहाजमा उनी जल बिहार गर्थिन् भने कस्ती देखिन्थिन् होली ? भिजेका कपाल,गाजलु चिम्सा आँखा,सानो नाकमा टल्की रहेको फुली, चिसो बतासले हानेर कापिरहेका ओँठ, उडाउँदै गरेको उनको पछ्यौरी….उफ्फ ! तान्न खोज्छु सर्को आउँदैन धुँदा,आधाउधी भने बेसुरे झरीले निभाइसकेछ । यस्तो लाग्छ उनले ओठबाट थुतेर फालिदिएकी हुन् र भन्दैछिन्, स्वास्थ्यको लागि हानिकारक छ । किन पिउँछौ ?

तिम्रो हेराइको असर कम गर्न पिउने गरेको छु, हराएको आफैंलाई छाम्न पिउने गर्छु ।

माफ गर !

तिमीलाई अफ्ठ्यारो त पारिन् ?

झस्किन्छु मनको आवाज मुखमा आउनुअघि सन्नाटाले डेरा जमाउँछ । छेवैमा रहेका प्रेमिल जोडीलाई ठाउँ दिनुपर्छ जस्तो लागेर हुइकिन्छु बक्षेताको बर्बरतालाई छातीमा थाप्दै….।

पहिलो माया असफलताको कारण अब कुनै प्रेममा नपर्ने स्वघोषित ब्रह्मचारी आफ्नै हविगत देखेर चकित छ । न भन्नू मिलेको छ कसैलाई,न सुनाउनु सकेको छ आफ्नै मनलाई निर्धक्क,उकुसमुकुसको यो जोवन तानेर पुर्याउनु छ कहाँ र कहिलेसम्म ? सोचको लहरामा फल्दै जान्छन् अझ धेरै ऐजेरुहरु…।

झरीले चस्मा धमिलो भयो र खोलेर सर्टमा झुण्ड्याउछु । हेल्मेटको भाइजर झार्छु,अहँ ! हुँदैन। यसो सोच्छु हेल्मेटमा भाइजर बनाउन मिल्ने भए मजस्तो झरी लबरलाई कति सहज हुन्थ्यो होला झरीमा कुदिहिँड्नु ।

रातको ११:३० हुनै लागेको देख्छु अब त घर पुग्नै पर्छ नत्र आमा पिर गर्नु हुन्छ । बाइक ७५-८०को स्पिडमा छ । सडक सुनसान छ । यस्तो लाग्छ यो सडक मेरै लागि खाली गरिएको होस् ताकि मैले यही झरीमा आफूभित्र गुम्सिएर रहेका सबै सबै भावनाका अवशेषहरु पखाल्न सकुँ….।

अहो !

कस्तो लाइट ?

आँखा खोल्नै नमिल्ने..

कतै ठुल्लो आवाज आउँछ…

आँखा खोल्छु।मधुरो आकृति छ…ठम्याउन खोज्छु सक्दिन । सुस्तरी निरास उनीलाई देख्छु । जसलाई मनले देखेर छामे पनि आँखाले देख्न डराउँछ । सुक्सुकाउँदै गरेकी आमालाई देख्छु । आत्तिन्छु । म कहाँ छु ?

उनी मलाई चुप गराउँदै-तिम्रो एक्सिडेन्ट भएर बिहोस थियौ रे । गस्तिका प्रहरी टोलीले भेटेर हस्पिटल भर्ना गरिदिएछन् । तिम्रो बाइक हान्ने टिफर प्रहरी नियन्त्रणमा छ । तिम्रो दाहिने खुट्टा फ्याक्चर छ । अरु सामान्य चोट र देब्रे हातमा टाँका छ । तिम्रो ट्याटु बिग्रिएजस्तो छ।

दुखी रहने ट्याटु यसै पनि कभर गर्न पर्ने थियो, ठिकै छ ।तिमीलाई थ्याङ्क्यु सो मच फर केयरिङ मि एण्ड माइ मम ।

उनी सुस्तरी केही बर्बराउँछिन्।

हजुर सुनिन,के भनेकी ? सोध्छु।

केही गुनासो छ तिमीसँग,भन्न सक्छु ? अलिक अफ्ठ्यारो मान्दै ।

स्योर…।

नोभेम्बर ७ मा तिम्रो फोन कल र तिम्रो विस कुर्दा कुर्दै, आज तिमीलाई हस्पिटलमा कुरेको तीन दिन भयो मत्लब नोभेम्बर १० भयो ।अझै चुप छौँ ?

त्यो दिनको पीडाबोध गराउन चाहन्थेँ । यदि तिमी ठिक हुन्थ्यौ भने । टेक रेस्ट । अब घर जान्छु ।

प्लिज नरिसाउन…।

सरी प्लिज ।

नसम्झेको त होइन । कामको चाप र व्यस्तताले हो । यस्सै पनि जन्मदिन मलाई खास लाग्दैन । त्यही भएर पनि हो…प्लिज ।

बडो शान्त मुद्रामा कुनै पनि समय र सम्बन्धको समय छँदै कदर गर्न सिक । यही कुराले भोलि नपिरोलोस् ।

उनी ढोकातिर लम्किन्छिन् ।

म स्तब्ध शिर निहुराउँछु ।

आमा द्वौलाई केही भन्न खोज्नु हुँदै….।