…. हजुर, म कुरा गर्दैछु मेरी आमा –लक्ष्मीदेवी राईको । उहाँको जन्म सागफारा पोखरी पाँचथर (हाल इलाम) मा विक्रम संवत् २००२ माघ ४ गते भएको थियो । उहाँका बुबा डम्बरसिंह राई त्यो बेला ‘थरी’ पद सम्हालेर बस्नुभएको गाउँका मुखिया हुनुहुन्थ्यो ।

आफूलाई जन्म दिने आमाको नाम भने थाहा छैन मेरी आमालाई किनभने उहाँ मेरी आमा आठ वर्षकी हुँदा नै दिवगंत हुनुभएको रहेछ । जुन समयमा बाँचेकाहरुलाई त नामबाट नभएर ‘जेठी, माइली, कान्छी’ भनेर बोलाइन्थ्यो, दिवगंत हुनुभएकी मेरी हजुरआमाको नाम सम्भवत: कसैले उच्चारण गरेनन् होला । यसरी मेरी आमाले आफ्नी आमाको नामसमेत थाहा पाउनुभएन । तर अनुहारको नक्सा भने अझै याद रहेछ । आमाले भन्नुभएको, “कान्छामामा दिलीप कुमारलाई केटी मान्छेको गरगहना र लुगा लगाइदियो भने सर्लक्कै हजुरआमा जस्तो देखिनुहुन्छ रे ।” अनि मैले सम्झिएँ, मामा त फेरि ठ्याक्कै मेरी आमाजस्तै हुनुहुन्छ । आमालाई आफू चाहिँ किन हजुरआमा जस्तो नलागेको होला ?

आमाका तीनवटी आमाबाट नौ दाजुभाइ र पाँच दिदीबहिनी जन्मिएका हुन् तर हजुरबुबाले तीनैवटी आमाहरु एउटै घरका दिदीबहिनी र भदैनी बिहे गर्नुभएकाले, जेठीतर्फ र कान्छीतर्फको भन्ने जस्तो कहिल्यै अनुभव भएन हाम्री आमालाई । ठूलो परिवार भएका कारण कामका लागि असाध्य दु:ख भयो । राति सुत्नुअघि पाँच पाथी मकै जाँतोमा पिसेर मात्र सुत्न पाइन्थ्यो । आमाभन्दा माथिका दिदीहरुको बिहे भइसकेको थियो भने बहिनीहरु कोही सानै थिए र कोही जन्मिएकै थिएनन् । भाउजूहरु पनि हुनुहुन्थ्यो तर कहिलेकाहीँ आमालाई सघाए पनि धेरैजसो उहाँहरुले गर्नुपर्ने अरू नै काम भ्याइ–नभ्याई हुन्थ्यो । त्यो बेला छोराहरुलाई जाँतो पिस्ने काममा लगाइँदैनथ्यो । त्यसैले प्राय: सधैं आमा एक्लैले मात्र पाँच पाथी मकै पिस्नुपरेको हुन्थ्यो । यसरी जाँतो पिस्ने काम मेरी आमाले छ–सात वर्षकै उमेरदेखि सुरु गर्नुभएको रहेछ । आमा सानो भएकाले जाँतो घुमाउन समात्ने काठे हतासोले चिउँडोमा लागेर जहिले पनि उहाँको चिउँडोमा खोस्रिएको घाउको दाग हुन्थ्यो ।

ठूलो परिवार भएकाले बच्चाहरु पनि धेरै नै थिए त्यो घरमा । त्यसले गर्दा लगाउने लुगाहरुको पनि त्यस्तै दु:ख थियो । हजुरबुबाले कुनै कपडाको थान नै किनेर ल्याउनुहुन्थ्यो । त्यसबाट सबैलाई नापेर काट्दै एक–एक वटा फरिया दिइन्थ्यो । मेरी आमालाई चाहिँ सानी भएकोले जम्मा दुई मिटरको मात्र कपडालाई ठीक बीचमा चिरेर अनि दुई छेउ गाँसेर सानो साइजको फरिया दिइन्थ्यो । यसरी नयाँ लुगा पाइने दिन भनेको दसैं मात्र हुन्थ्यो । मेरी आमा नयाँ फरिया पाएको दिन निदाउन नसकेर राति उठेर पटक–पटक त्यो नयाँ लुगा छुने र आफ्नो शरीरमा नाप्ने गर्नुहुन्थ्यो ! बालसुलभ चाहना भनेको त्यस्तै त हुँदो हो !

निर्मला राई (अमेरिका)

बुबा ‘थरी’ हुनाले विभिन्न कुनाबाट गाउँभरका मानिसहरुको आवतजावत भइरहने हुन्थ्यो । साथै, टाढा गाउँका विद्यार्थी आउँदा पनि पढ्नका लागि घरमा बस्न दिने चलन थियो । समाजमा धेरै शिक्षित मानिसहरु नभए पनि हजुरबुबा भारतको लाहुरे भएर पनि होला, त्यो समयमा पनि उहाँहरुको घरमा शिक्षाको निकै कदर हुन्थ्यो । त्यसैले उहाँले आफूजस्तै शिक्षाप्रेमी र इष्टमित्रहरु मिलेर दार्जीलिङबाट शिक्षकहरु ल्याएर रबी भन्ने ठाउँमा ‘श्री दुर्गा माध्यमिक विद्यालय’ नामको स्कुल खोल्नुभएको थियो । उहाँले आफ्ना छोराछोरीहरुलाई सकेसम्म स्कुल पठाउनुभएको थियो । अरु धेरै घरका बालबालिकाहरु काममा मात्र जोतिएका हुन्थे ।

त्यसरी धेरै आउजाउ हुने मानिस र विद्यार्थीहरूसमेतका लागि खानाको व्यवस्था गर्नुपर्ने हुनाले खाना धेरै बनाउनुपर्ने थियो । तर मेरी आमालाई खाना पकाउने काममा उहाँकी सानीआमाले कहिल्यै लगाउनु भएन । मेरी आमा खाली घाँस–दाउरा, ढिकी–जाँतो र गाईबस्तु मात्र गर्दै १२ वर्षकी हुनुभयो । उहाँलाई खाना पकाउन एकैपटक बिहेपछि मात्र मेरो बुबाले सिकाउनुभएको थियो ।

उहाँ १२ वर्ष पुग्दा काहिँला दाजु जीतबहादुर लाहुरबाट छुट्टीमा घर आउनुभयो र उहाँले नै आमालाई स्कुलमा पढ्न जानुपर्छ भनेर कर गर्नुभएको थियो । आमालाई पढ्न जानुभन्दा काम गर्नु नै राम्रो लाग्थ्यो, त्यति बेलासम्म । त्यसकारण उहाँले “जान्न म पढ्न–सड्न’ भन्नुभएछ । पहिले त मामाले स्नेहपूर्वक सम्झाउनु भएछ, नमानेपछि मामाले सिस्नुले पोल्दै लगेर बुबाहरुले खोल्नुभएको स्कुलमा भर्ना गरिदिनु भएछ । सुरुमा स्कुलमा साह्रै लाज भएछ आमालाई किनभने उहाँले कुनै अनौपचारिक शिक्षा लिनुभएको थिएन । त्यसैले गुरुहरुले उहाँलाई कक्षा एकमा नै राखिदिनु भएछ, जहाँ आमाभन्दा साना उमेरका विद्यार्थी मात्र थिए ।

स्कुल नगए दाजुको पिटाइ खानुपर्ने डरले उहाँ स्कुल जान चाहिँ छाड्नुभएन, बरु कसरी आफ्नो उमेर मिल्ने विद्यार्थी भएको कक्षामा जाने भनेर पढाइमा सक्दो परिश्रम गर्न थाल्नुभएछ । आमालाई स्कुल गए पनि फर्किएर आएपछि सधैँ गरिरहेको घाँस–दाउराको कामले भने छाडेन । आमाले घाँस काट्न जाँदा पनि पुस्तक काखीमुनि च्यापेर गुरुहरूले कण्ठ पार्नु भनेका पाठहरू कण्ठ गर्दै र दोहोर्याउँदै घाँस काट्नुहुन्थ्यो । यसरी आमाले पढाइमा प्रगति गर्दै जानुभयो । यसरी एक त घरको कामबाट दिनभर छलिने, अर्को, पढाइमा पनि रस बस्दै गएछ । नजानिँदो तरिकाले आमालाई स्कुल राम्रो लाग्न थाल्यो ।

आमा सुरुदेखि नै अलि विद्रोही खालकी, रिसाहा प्रवृत्तिकी र पक्षपात नसहने खालकी हुनुहुन्छ । उहाँ करिब ११–१२ वर्षकी हुनुहुँदो हो, एकदिन सानीआमाले काठको सन्दुकमा मिश्री, नरीवल र घ्यु लुकाएर राख्ने गरेको र आफ्ना बहिनीहरू आउँदा उनीहरूलाई मात्र खान दिने गरेको थाहा पाउनु भएछ । अनि त के चाहियो र ? बञ्चरोले झ्वाम–झ्वाम सन्दुक फोडेर आफू सरहका दाजुभाइलाई बाँडेर आफूले पनि मस्त खानुभएछ । त्यो थाहा पाएर सानीआमा कराउँदै हुनुहुन्थ्यो तर आमाले “खाएँ त खाएँ, मेरै बाउको खाएँ । म चाहिँ गोरु जस्तो काम गर्ने, अनि मीठो चाहिँ तिम्रा दिदीबहिनीले मात्र खान हुने ? हाम्ले खान नहुने ?” भन्नुभएछ । यो प्रसङ्ग मलाई सुनाउँदै गर्दा मैले आमालाई सोधेँ, “त्यस्तो गर्ने आँट कसरी आयो तपार्इंमा ?” आमाले भन्नुभयो, “हैन, के को आँट चाहियो बेस्सरी खानु मन लागेपछि ?” म फिस्स हाँसेँ मात्र ।

उमेरमा आमा असाध्यै राम्री हुनुहुन्थ्यो । कालो लामो कपाल घुँडासम्म, राता गाला, टम्म मिलेको ज्यान थियो । त्यसैले स्कुलका धेरै केटाहरू उहाँलाई मन पराउँथे तर आमालाई यस्ता कुरामा दिलचस्पी थिएन । एकपटक बाहिर चउरमा सरले पढाउन सबै विद्यार्थी लगेको बेला एउटा केटाले आमाको ढाडमा चिमोटेछ । वास्तवमा त्यो बेला केटाहरूले आफूलाई मन परेकी केटीलाई मन पराएको भनेर दिइने संकेत थियो । तर मेरी आमाले जुरुक्क उठेर “सर ! फलानोले मेरो ढाडमा चिमोट्यो” भन्नुभएछ । केटो डर र लाजले थर्थर भएछ । अर्को चाहिँ कुनै ‘रोमियो’ले त्यो समयमा चलेको गीत “सिलिली साइकलमा जान पाऊँ, भाग्य भए राधिका लान पाऊँ” लाई प्यारोडी गरेर “सिलिली साइकलमा जान पाऊँ, भाग्य भए लक्ष्मी लान पाऊँ” भनेर जिस्क्याएछ । आमाले “तेरीमा साले ! मलाई लाने तँ ?” भन्दै उसलाई नराम्ररी पिट्नुभएछ !

अचम्मको संयोग लाग्छ मलाई, मेरा बुबाआमा दुबैको नाम लक्ष्मी हो तर केटा भएकोले बुबा लक्ष्मीबहादुर राई, आमा लक्ष्मीदेवी राई । बुबा उसबेला मलायाको लाहुरे । हालको मलेसियालाई नै उहिले मलाया भनिन्थ्यो । लाहुरबाट दोस्रोपटक छुट्टीमा आउँदा उहाँ ‘फेमिली लैजाने पर्मिसन’ लिएर आउनुभएको थियो । त्यो बेला उहाँका काका बुद्धिमान राई आफ्नो गाउँमा निकै कहलिएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले पनि मेरी आमा अर्थात् ‘थरीकी छोरी’ लाई माग्न जाने ल्याकत राख्नुहुन्थ्यो, आफ्नो मलायाको लाहुरे भतिजका लागि । यता आमालाई पढाइमा खुब मन बसिसकेको थियो । पढाइमा राम्रो गरेपछि गुरुहरूले कक्षा बढाएर आमाकै उमेरका विद्यार्थीसँग पढ्न पाउने बनाइदिनु भएको थियो । यतिबेला आमा कक्षा छमा पढ्दै हुनुहुन्थ्यो र उमेरले १६ वर्षकी ।

एक साँझको बेला घरमा आमाले नचिनेका मानिसहरू थुन्चेमा सेलरोटी र दहीको ठेकी बोकेर आएका थिए । आफूलाई माग्न आएको थाहा पाएपछि आमा रीसले चूर हुनुभएछ किनभने उहाँलाई त धेरै पढ्ने मन थियो । फेरि, उहाँलाई विवाह, केटाहरूसँग हाँसखेल, प्रेम गर्ने जस्ता कुराहरू पटक्कै मन पर्दैन थियो । कुनै केटाले मन परेर ठट्टा गरे पनि पिटिदिने, लछारपछार नै गरीदिने खालको हुनुहुन्थ्यो उहाँ । शारीरिक रूपले उहाँ अत्यन्त बलियो हुनाले कुनै केटाले लाप्पा खेल्दा पनि जित्न नसक्ने हुनुहुन्थ्यो । “म साह्रै मूर्ख थिएँ” भन्नुहुन्छ आमा आफूलाई अहिले ।

यसरी आफ्नो धेरै पढ्ने रहर बिगार्न आउने मेरो बुबातिरकी कुटुनीलाई मेरी आमाले सके जति सत्तोसराप गर्नुभएछ । हामी पूर्वतिरको राई समुदायमा केटीले स्वीकार गरेर बैना (रुमालमा पोको पारेर पैसा, गहना र फूल दिने चलन) नथापेसम्म मगनी पक्का हुँदैन । आमाले बुबाको तर्फबाट आएका सामान केही छुनुसम्म भएनछ । यसरी उहाँले आफ्नो विवाहका लागि मन्जुरी दिनुभएन तर पनि माग्न आउनेले कोसेली त्यहीँ छाडेर जानुभएछ । कोसेलीको थुन्चेभित्र सुनको एउटा मोटो तिलहरी पनि रहेछ । उहाँकी सानीआमाले “हेर त काइँली, सुन पनि रैछ,” भनेर लोभ्याउन खोज्नुभएछ । आमाले त्यो कोसेली त थुत्त सानीआमाको हातबाट खोसेर फुत्त बारीतिर फालिदिनु भएछ । “त्यतिबेला सबै मिलेर कति खोज्दा पनि भेटिएन त्यो तिलहरी । धेरै समयपछि पो घर अगाडिको निभाराको घाँस काट्न लाग्दा रुखमा पोते जति झरिसकेको मोटो तिलहरी फेला परेको” आमाले थाहा पाउनुभएको थियो रे ।

यसरी आमाको विवाह टरेन बरु झन् मेरो बुबाका उनै काकाले अझ कडाइका साथ अत्तो थाप्नुभएछ, “बढेकी चेली यसरी साधुघरको, लाहुरे केटा आउँदा पनि नदिनेहरू ! या त मेरो भतिजामा खोट देखाऊ, होइन भने आफ्नी छोरीलाई बिहे गर्न राजी गर,” भन्दै निहुँ झिक्न थाल्नुभएछ । यता आमाले चाहिँ कसैलाई पनि त्यो कोसेली छुन दिनुभएन छ । “जसले त्यो कोसेली छुन्छ वा खान्छ, त्यसैले बिहे गरेर त्यो लाहुरेसँग जान्छ” भन्दै अड्डी लिएर बस्नुभएछ । तर आमाको यो जिद्दी धेरै दिन टिकेन । अन्तत: आमाको विवाह हुने नै भयो । मेरो बुबा पहिलो चोटि आमा माग्न आउनु हुँदा दुब्लो, धेरै पातलो भएर कुप्रिएको र कपाल पनि सेतै फुलेको बुढोमान्छे जस्तो देखिनुहुन्थ्यो । तर आमा चाहिँ गाउँभरीकै राम्री हुनुहन्थ्यो ।

यसरी अति नै नमिल्दो जोडी भए पनि दुबै ‘साधु’ राई र त्यो ठाउँमा नाम चलेको परिवार भएको हुनाले सबैले यो जोडीलाई राम्रो जोडीको रूपमा लिए । जब विवाह नजिकिँदै आयो, मेरी आमा भाग्नुहोला भनेर मामाहरूले उहाँलाई आफ्नो पहरेदारीमा राख्नुभयो । त्यसो भए पनि विवाहको दिनसम्मै आमाको विद्रोह जारी रह्यो । उहाँले बेहुलीका लुगा र गहना लगाउनै मान्नुभएन । कसैले बेहुलीका लुगा र गहना लगाउन कर गरेमा उसैलाई “तैँ लगा, तैँ जा” भनी दिनुहुन्थ्यो ।

यसरी विवाहको साइत बित्न लागेपछि साहिँला मामा सन्तकुमार बान्तवा राईलाई धेरै रीस उठेछ । उहाँले घोडा कुट्ने चाबुक लिएर “तँ लुगा लाउँछेस् कि यो चाबुकले पिटौँ ?” भन्नुभएछ । त्यसपछि बल्ल आमा रुँदै–रुँदै लुगा र गहना लगाएर जग्गेमा बस्नुभएको थियो । जग्गेको आगो नबलेर धुवै–धुवाँ थियो, त्यसको पीरोले आमाका आँखा पोल्यो र आँसु पुछ्दै अलि परतिर हेर्नुभएको त जन्ती आएको एकजना मान्छेको नाक ‘सुगाको जस्तै’ देख्नुभएछ । अनि त उहाँ खितिति हाँस्नुभएछ, त्यति नै बेला जग्गेको चरु–आगो हुरुरु बल्न थालेछ ! त्यो देखेर विवाह मण्डपमा बसेका गुरुहरू पनि “लौ बेहुली खुसी भएर जग्गेको आगो नि बल्यो” भन्दै हाँसेछन् ।

तर विवाह सकिएर अन्माउने बेलामा आमा भावुक हुँदै डाँको छोडेर रुनुभयो । यो देखेर बेहुला मेरो बुबालाई असाध्य नराम्रो लाग्यो र उहाँले आफ्नो काकालाई “बेहुली साह्रै रोइन्, अहिले हामी यिनलाई नलगीकनै जाऊँ होला” भन्नुभएछ । काकाले रिसाउँदै भन्नुभएछ, “अनि आफ्नो घर छोडेर जाने बेहुली हाँस्दै–हाँस्दै तेरो पछि आउँछ ? चुप लाग् । बल्ल तेरो ग्रहले बेहुलीको ग्रह थिच्दैछ ।” आमा डाँको छोड्दै रोएर र बुबा व्यर्थै अर्काको छोरी रुवाइयो भनेर मन खल्लो बनाउँदै विसं. २०२० भदौ ६ गते उहाँहरूको विवाह सम्पन्न भएको थियो । त्यो बेला मेरी आमालाई बुबाले तिनै काकाको घरमा भित्र्याउने व्यवस्था मिलाउनुभएको रहेछ किनभने बुबाको घर सानो थियो । त्यही काकाको घरमा दुई दिन बिताएर बुबाले आमालाई माइत पुर्याइदिनुभयो ।

(यही २०७९ भदौ २७ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विमोचन हुन लागेको कृति छोरीले जन्माएका आमाहरुबाट साभार एक अंश)