साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

स्मृतिमा बा : चोर पहिल्याउने सीप

उहाँले केही महिलासँग कुराकानी गर्नु भयो । तीमध्ये एक जना महिलालाई भित्र जान भनेर पसलमै रहेकी अर्को महिलामार्फत् जिउ खोतल्न लगाउँदा उसकै शरीरबाट त्यो लुङ्गीको कपडा निस्कियो ।

Chovar Blues Mobile Size

भौतिक रुपमा देह त्याग गरिसकेपछि मानिसको अस्तित्व कहिलेसम्म रहन्छ भन्ने कुरामा अलमलमा पर्ने गर्छु । कुनै विधा वा क्षेत्रमा किर्तिमानी कायम गरेका केही राष्ट्रिय व्यक्तित्वहरुबाहेक अरुको चर्चा त पक्कै लामो समयसम्म रहदैन । तर एउटा सन्तानको लागि जन्मदिने बा र आमा वा आफूले भेटेका हजुरबा हजुरआमाको त उसको जीवनकालसम्म त पक्कै नै जीवन्त हुन्छ । नत्र म आफु वयस्क भएपछि बित्नु भएका हजुरबा र पाँच वर्षअघि बित्नुभएको बाको स्मरण हरेक क्षण हुने गर्दछ मलाई । अचम्मको कुरा त उहाँहरु जीवित रहँदा बरु भेटघाट हुँदा बोलचाल हुने हो । अझ आफ्ना अनुकूल व्यवहार नहुँदा कतिबेला त खुनासियो होला । उहाँको बारेमा सोच्ने र मनन गर्ने त खासै मेसो नै मिल्थेन । जब उहाँहरु भौतिक रुपमा विलिन हुनु भयो तब हरेक मोडमा बाहरुको याद आइहाल्दो रहेछ । हरेक दिन बाटोमा भेटिने बाका समकक्षीहरुको अनुहारमा बा भेटिने रहेछ । अझ पक्षघातका कारण लौरो टेकेर हिँडिरहेका बाका उमेरका असक्त देख्दा झन् दिमागभरि बा छाउनु हुने रहेछ । बा हुन्जेल कहिले पनि बुढौलीको सोच नआएको मनमा बाले छाडेर गएपछि एक्कासी बुढो भएको आभाष हुने रैछ । हरेक चाडवाडमा बाको भूमिकामा आफैं उभिनु पर्दा मात्र साँच्चिकै बाको अनूभूति गर्न सकिँदो रहेछ । यसपटकको कुशे औंसीमा बालाई स्मृतिमा राख्दा उहाँको संज्ञानमा आधारित अनुसन्धान र तहकिकात एवम् चातुर्यताका घटनाहरु सेयर गर्न मन लाग्यो ।

राजनविक्रम थापा

मलाई आमाले यस्तै प्रसङ्गको एउटा किस्सा सुनाउनु भएको थियो । संयुक्त परिवारमा आमाहरुलाई निकै सकस थियो । बाको ठूलो पसल भए नि आमाहरु पसलमा प्रवेश गर्नु हुन्न्थ्यो । खेतीकिसानीमै व्यस्त हुनुपर्ने बेला । नगद पैसाको मुख देख्ने संभावना कतै थिएन रे । आमालाई सानैदेखि चुरोट खाने लत । एकदिन आमाले घरमा पालेको लोकल कुखुराको केही अण्डा संकलन गरेर उहाँको मिल्ने साथी (एक समकक्षी दलित महिला) लाई बाकै पसलमा बेचेर चुरोट किन्न अह्राउनु भएछ । बाले त्यो अण्डा ओल्टाइपल्टाइ हेरेर यो अण्डा त हाम्रै घरको कुखराको हो ? तिमीले कहाँबाट ल्यायौ ? भनेर सोधिदिनु भएछ । बिचरी आमाकी साथी अण्डा पसलमै छोडेर कुलेलाम ठोकिछन् । पछि आमाको के हविगत भयो आमालाई नै थाहा छ । उहाँले त्यो महिलाको आर्थिक हैसियत सबै बुझेर अनि आमासँग उनको घनिष्टता र चुरोट खाने बानीलाई अनुमान गरेर ठट्टा कै लागि भन्नु भएको थियो होला । बुबाको निकै कडा छवीका कारण ती महिलाको आत्मविश्वास गुमेर त्यो घटना भएको रहेछ ।

दशैंको बेला पसलमा निकै भिडभाड हुन्थ्यो । खास गरी गोरखाको निकै दुर्गम क्षेत्रबाट ठूलो समूहमा लेकालीहरु आउँथे । ती मध्ये कतिको ध्यान सामान लुटपुट्याउने, चोर्ने, पैसा नतिरी भाग्ने भैरहन्थ्यो । हामीलाई त सबै ग्राहकको अनुहारसमेत सबै उस्तै लाग्थ्यो । तर बुबाले कुनै सामान हराएको खै कसरी मेसो पाउनु हुन्थ्यो । अचम्म लाग्छ ! एकपटक एउटा ढोकामा झुण्डाएर राखेको लुङ्गी हराएछ । उहाँले हल्लाखल्ला गर्नुभो । कसैले लुकाएको छ भने तुरुन्त निकालेर दिन उर्दी गर्नुभयो । तर कतैबाट त्यो दिने अवस्था देखिएन । उहाँले केही महिलासँग कुराकानी गर्नु भयो । तीमध्ये एकजना महिलालाई भित्र जान भनेर पसलमै रहेकी अर्को महिलामार्फत् जिउ खोतल्न लगाउँदा उसकै शरीरबाट त्यो लुङ्गीको कपडा निस्कियो । म सानै भए पनि कसरी पत्ता लगाउनु भयो होला भनेर जिल्ल खान्थे । सुरुमा सबैभन्दा बढी प्रतिरोध गर्ने महिला तिनै थिइन् । जसले ग्राहकलाई चोर लगाउने ? कसले लान्छ सामान नसोधी ? भनेर कुर्लिरहेकी थिइन् । सायद बुवाले उनको मनोविज्ञान, मुखाकृति र कपडा लुकाउँदाको असहजपन देखेर पत्ता लगाउनु भयो होला ।

अर्को यस्तै घटनामा एकदिन बर्खाकै समयमा छाता देखाउने क्रममा दुईवटा फोल्डिङ्ग छाता गायब भएछ । कुन रङ्गकोसम्म नि बुवालाई कण्ठ । खोजी भयो कतै पाइएन । यसरी सामान हराउँदा जो पसलमा बसेका छौँ हामी उसको त दुर्दशा नै हुन्थ्यो । अझ आमाहरुको त सात्तो जान्थ्यो । जसमाथि सधैं र सबै रिस पोखिन्थ्यो । उग्र रुप लिएर करिब शान्त हुने बेलातिर बाको दिमागमा कहाँबाट बिजुली झुल्क्यो थाहा छैन । चामल बोरामा थापेर बोरा कसिएका बोरातिर बाका आँखा पुगे । सातआठ बोरा लहरै पर्खालमा राखिएको थिए । जो नाम्लो लाएर उठाउन ठिक्क पर्दै थिए । बाले सबैलाई एकछिन रोक्नु भयो । सबैका अनुहार हेर्नु भयो । ठट्यौली पाराले छाता त यतै छ जस्तो लाग्छ मले (गुरुङ्ग भाषा) । छातामा छर्केको गन्ध त यतै आको छ त । यस्तै केही भन्नु भयो । एकजना पसलमै भाको कामदारलाई चामलको बोरा चेक गर्न लाउनु भाथ्यो । एउटा बोराबाट दुबै छाता भेटियो । हाम्रो लागि त जादु हेरेजस्तै त भयो । तर उहाँले चामलको बोरा बाँध्ने बेला एकजनालाई सकस परेको अनुमानका आधारमा त्यो पत्ता लगाएको कुरा भन्नुहुन्थ्यो ।

धेरै घटना स्मरणमा छन् । उहाँका अघि कुनै कुरा लुकाउन वा ठग्न सबैका लागि निकै कठिन हुन्थ्यो । उहाँ विश्वास पनि सबैलाई गर्नुहुन्थ्यो । हाम्रो घरमा पसलको काममा सहयोग गर्ने जोकाहीलाई पैसा राख्ने बाकससम्म पुगेर पैसा राख्न र झिक्ने स्वतन्त्रता थियो । मलाई लाग्छ वुबाको आँखा अघि कसैले पैसा लुकाउने हिम्मत गर्ने थिएन । एकपटक बुबाले निकै विश्वास गरेको मानिसबाट सामन चोरको रंगेहात पकड्नु भयो । पछि त्यो मान्छेलाई निकै आत्मग्लानि भयो । एक जना दार्जलिङ्ग हो वा कतैतिरका निकै रमाइलाा मङ्गोलिएन फेसका दाइ उनको फुर्सदमा पसलमा आइरहन्थे । पसल र बुबाको अरु काममा पनि एच्छिक सघाउने गर्थे । सायद खासाको सामान पनि ल्याउँथे कि बिर्सेँ । एक दिन पसलमा ग्राहक नभएको बेला हामी धेरै जना गफिएर बसिरहेका थियौँ । त्यो दाइ मीठा मीठा गफ गरी रमाइलो गरिरहेका थिए । सायद पानी परेकोले फाट्टफु्ट्ट मात्र ग्राहक आउथेँ । साँझ परेपछि तिनी बिदावारी भएर निस्कन खोजे । ढोकाबाट निस्केर अलि पर पुगेपछि बुवाले कराएर बोलाउनु भयो ,’आई दावा पख त ।’

ऊ सहजै फर्केर आयो । बुबाले उसको पेटतिर हेरेर त्यो भित्रको सामान निकाल भन्नु भयो । कालो निलो हुँदै ज्याकेटभित्रबाट एक बट्टा एब्रिडे बेटरी जुन निकै गरुङ्गो नि हुन्छ त्यो निकालेर भुइँमा राख्यो । हामी त जिल्ल खायौँ । उसले हाम्रो पसलको सामान चोर्न सक्छ भन्ने हामी कल्पनासम्म गर्न सक्थेनौँ । किन की ती दाइले हामीलाई निकै माया गर्थे, आमाहरुको पनि निकै प्रिय थिए, हामीलाई चकलेट ल्याइदिने, गुच्चा समेत किनेर दिन गर्थे । परिवारको कडा अनुशासनको बिच हामी बच्चाहरु उसको मायामा रमाएका थियौँ । बुवाले उसलाई कुटनु भएन जस्तो लाग्छ । अलि ठूलो स्वरमा हर्कानु भयो । पहिले पहिले पनि कति चोरिस् भनेर कराउनु भयो । उसले निकै आत्मग्लानि साथ माफी माग्यो । आमाहरुको पनि निकै सहानुभूति देखियो । बरु केही समस्या भए मागेको भए हुन्थ्यो नि बावु भन्नु भयो । खै अरु घटनामा त चोर पक्रिँदा रमाइलोजस्तो लाग्थ्यो । तर त्यो दिनको चोरप्रति भने मलाई निकै दया लागेर आयो ।

बाले कति किताब पढ्नु भयो मलाई थाहा छैन । तर मलाई थाहा छ बा सिङ्गो पुस्ताकालय हुनुहुन्थ्यो । उहाँको गुण, क्षमता, वाकशक्ति, चार्तुयता, उत्साहा, सधैं मालिक बन्ने सपना, कहिलै निरास नहुने बानी, जीवनप्रतिको आफ्नै मूल्य र मान्यता, जिम्मेवारीपन, केही सरारत याने हर्कत, निरवलजस्तै बाहिरबाट निकै कडा तर भित्रबाट निकै स्वादिष्ट र उपयोगी बाका केही अंश आफूमा नसरेको भए म हालको अवस्थामा हुने थिइन जस्तो मलाई सधैं लाग्छ । अझै पनि कुनै घटनाले विचलित बनाउन लाग्यो भने बालाई दिमागमा राख्नु बित्तिकै निकै बल र साहास जुटेको महसुस गर्दछु ।

प्रतिक्रिया
Loading...