गतहप्ता मध्यदिनमा एकजना शुभचिन्तकले फोनमा कुरै कुरामा भन्नुभयो, ‘तपाईँको लेखहरु धेरै पढियो , तर तपाईं आफ्नै बारेमा चाहिँ केही अन्दाज लगाउन नै सकिएन । कहिलेकाहीँ आफ्नै बारेमा पनि लेख्ने गर्नु न । साहित्य पढ्ने बहानामा तपाईंलाई पनि यसो पढौँ न ।’

फोन राखेर अगाडि हेर्दा आफ्नो लामो छायाँ देखेँ । यसरी लुखुर लुखुर काममा जाँदा आउँदा कुराहरु खेल्थे । कुराको सुरमा म आफ्नै छायासँग डराएँ । अनि फेरि ती शुभचिन्तकको कुरा सुनेर सोचमग्न भएँ । अब आफ्नै बारेमा चाहिँ के लेख्ने त ? म सोचमै परिरहेँ ।साहित्यमा कसैको जीवनको कथा वा अर्थ खोज्न थालियो भने त्यो बिडम्बना हो । जसरी म एउटा भूमध्यरेखाको पल्लो सानो गाउँबाट बसाइ सरेर एउटा संसारको सबैभन्दा ठूलो र शक्तिशाली सहरको बिचमा बस्छु र त्यो सहरले झिलिमिलि र घनाबस्ती बीच आफ्ना हजारौँ कथाहरु भित्रभित्रै लुकाएको हुन्छ । अनि सहरमा धेरै कुरा महसुस गरिन्छ तर साहित्यमा उतार्न सकिन्न । जति उतारिएका वा लेखिएका कथा साहित्य छन् ती इमान्दार ढङ्गले प्रस्तुत भएका छन् कि छैनन् त ? सहरजस्तै मानिस पनि कहिलेकाहीँ जिम्मेवारीले थिचेर उठ्नै नसक्ने पीडामा भएको बेलामा अर्कै कुरा मनमा उब्जन्छ। जीवनमा प्राथमिकताहरु परिवर्तन भइराख्छन् । कुन चाहिँलाई मानिसले सही मान्ने त ?

यस्तै यस्तै सोचाइमा डुब्दै म अफिस पुगेँ । अफिसबाहिर मानिसहरु नेपालमा आफ्ना बालाई पैसा पठाउन भनेर लामो लाइन लागिरहेका थिए । कारण बुझ्दा नेपालमा बाबुको मुख हेर्ने दिन नजिकिँदै रहेछ । दिन रातश्रम र पसिना बेचेर ल्याएको दुई चार पैसा नेपाल पठाउँछन् र घरपरिवार / देशलाई भरथेग गरिरहेको हुन्छ त्यो असली खाट्टी नेपाली हो भन्ने मेरो ठम्याइ पनि हो ।

तारा भट्टराई (अमेरिका)

विश्वमानचित्रमा नेपालको नक्सा सानो छ । त्यहीँ सानो नेपालका नेपालीहरु न्यूयोर्कको ज्याक्सनहाईटमा भेटिने हुनाले न्यूयोर्क पनि सानो नेपालजस्तै लाग्छ। नेपालमा मनाइने हरेक चाडपर्वहरु ठूलै पर्वको रुपमा यहाँ पनि मनाइन्छ । यो बेलामा मैले पनि आफ्ना ९३ वर्षका “बा”लाई सम्झेँ । धेरै सोचपछि मैले यसपटक मेरा ९४ वर्षका बाको बारेमा लेख्ने विचार गरेँ ।

फेरि मनमा लाग्यो मेरा बा कविता लेख्ने ,राजनीति गर्ने वा कुनै ख्याति प्राप्त व्यक्ति पनि हुनुहुन्न र उहाँको नाम पनि छैन। के लेख्ने त ? के बयान गर्ने ? फेरि सोचेँ । मेरा बाको अहिलेसम्म बाँचेको जिन्दगी पनि त कथा नै हो नि किन नलेख्ने ?

वास्तवमा साहित्यमा सधैं अरुलाई नै पात्र बनाइन्छ। अरुका कथालाई तानावाना बुनेरै लेख टुङ्गिन्छ। तर आज म आफैं र मेरा बालाई पात्र बनाएर लेखिरहेकी छु । किनकि आज बाबुको मुख हेर्ने दिन । अरुका कुरा मात्रै होइन आफ्नै कुरा नढाँटिकन लेख्नु पनि त पत्रकारिताको मौलिकता हो नि ।

बचपनमा सबैको आफ्ना बासँग एक किसिमको सुमधुर आत्मीयता जोडिएको हुन्छ । मेरा बा म जन्मनुभन्दा अगाडि नै स्वर्गवासी हुनुभएकोले मैले यस्तो सम्बन्धको अनुभव गर्न पाइन । तर मलाई यस विषयमा कुनै गुनासो पनि छैन । आफ्ना बा नभए पनि मामा घरका बा नै मेरा बा हुन् । आखिर सम्बन्ध भनेको त मनसँग जोडिएको अपनत्वबोधक विषय न हो । चाहे रगतको होस् , मित्रताको वा प्रेमको होस् । यी सबै मनले मान्ने कुराहरु मात्रै हुन् । समाजले बनाएका परिभाषाहरुको कुरा गर्दा जन्मदिने बा/आमाले नै सन्तानको पालनपोषणको जिम्मेवारी लिनुपर्छ भन्ने छ भने कानुनले अर्कै परिभाषा गरेको छ । तर मेरो पालन पोषण र शिक्षादिक्षाको जिम्मेवारी मामाघरका हजुरबा अर्थात् बाले नै लिनुभयो र म उहाँकै औँला समाएर हुर्के बढेँ । त्यसैले म उहाँलाई नै ‘बा’ भनेर सम्बोधन गर्छु । तर सबैभन्दा दुःखको कुरा चाहिँ जब पहिचान र परिचयको कुरा आउँछ अनि मेरा बाको नाम छायाँमा पर्छ ।

मेरो जीवनमा पनि धेरैपटक बाको परिचय खोज्ने समाजको चक्रव्यूहमा फस्दा फस्दा थाकेका कैयौं अनुभवहरु मसँग छन् । मैले कति राम्रा ठानेका प्रसङ्गहरु ब को परिचयसँगै पूर्णविराम लगेका छन् । कहिल्यै सुरुवात नहुने गरी । विशेष गरेर बिहेको प्रसङ्ग चल्दा सबै चाँजोपाँजो मिलिराखेको बेलामा मेरा बा छैनन् मामा घरका बा नै बा हुन् भन्ने कुरा खुलेपछि कथा अर्कै रुपमा मोडिन पुग्थ्यो । मेरो कोमल मन पनि अनेक प्रश्नैप्रश्नहरुकामाझ भक्कानिएर रुन्थ्यो । प्रश्नको तीरले मुटुमा बिझ्थ्यो मलाई । अनि त्यो बेला भित्रभित्रै रुन्थेँ म।

मलाई लाग्छ , यी नाता गोता सम्बन्धहरु भनेका समाजले परिभाषा गरेका हुन् । माय र घृणा पनि गुण र दोषका आधारमा गरिने कुरा मात्रै हुन्। सुख र खुसी पनि कल्पना गर्ने कुरा मात्रै हुन् । मलाई अरुका बाआमा देखेर कहिल्यै डाहा पनि लागेन र रिस पनि उठेन र दु:खी महसुस पनि भइन । मेरो आफ्नै बुबा भैदिएको भए चाहिँ मेरो ज़िन्दगीमा यो कुरा चाहिँ फरक पर्थ्यो होला भन्ने पनि कहिल्यै लागेन ।

अरु बाबु नहुनेहरु जीवनभर बाबु नभएको कुरालाई लिएर बिलौना गरिरहेका हुन्छन् र ममा किन यस्तो सोच नआएको होला भनेर सोच विचार पनि गर्छु । तर मलाई लाग्छ मानिसको शारीरिक, मानसिक, संवेगात्मक विकास हुने क्रममा जो अगाडि छ उसैसँग गहिरो नाता हुन्छ ।

विभिन्न देशका वैज्ञानिकहरूले गरेको रिसर्चअनुसार पनि बच्चाको ५ वर्षभित्र नै ९० प्रतिशत मानव चरित्रको निर्माण, अवधारणाहरूको विकास र बौद्धिक विकास पनि भैसक्छ भन्ने छ। मेरो यो महत्त्वपुर्ण बच्पनको उमेरमा बाको साथ थियो । तर अरु बाबु हुनेहरुको जिन्दगीमा के हुन्छ मलाई थाहा पनि छैन ।

मेरा बाले अरुहरुलाई जस्तै गरी मलाई पनि गरेको माया, पिटेको पिटाइ ,घोकाएका गीताका श्लोकहरु, सिकाएका कुराहरु मात्र मेरो सम्झनामा छन् । बाको डरले हातमा चप्पल बोकेर गुरुरु कुद्थेँ म । बाको खल्तीबाट एक सुक्का चोरेर सित्तली मिठ्ठाई किनेर खाएको जस्तो मज्जा त अहिले हजारौँ डलर खर्चेर पनि मैले पाउन सकिरहेकी छैन ।

समग्रमा बा नै मेरो जीवनको पहिलो गुरु हुनुहुन्थ्यो, उहाँबाट मैले असंख्य कुराहरू सिकेँ । उहाँ अठार पुराण , रामायण, महाभारत र नीतिशास्त्रका कुरा गरेर नैतिकताको पाठ बुझाउन खोज्नुहुन्थ्यो । बाले यी सबै गर्दागर्दै पनि समाजले मलाई बा नभएकी भन्थ्यो र मप्रति फरक सोच्थ्यो । किन यस्तो भएको हो? मलाई कहिल्यै थाहा भएन र मैले प्रश्न पनि गरिनँ।

म अहिले अमेरिकामा भएकाले मलाई निक्कै सजिलो छ। यहाँ बा भएकी नभएकी वा कुनै पनि व्यक्तिगत विषयमा कसैले पनि चासो राख्दैनन् । बरु कहिलेकाहीँ म आफैं नै मेरा बाको प्रसङ्ग निकालेर दक्षिण एशियामा पर्ने देश नेपालको पुर्वी जिल्लाको एउटा सानो गाउँमा बस्नुहुन्छ र आफ्नै बारीमा उमारेको अर्ग्यानिक उत्पादन गरेर खानुहुन्छ भनेर ढुक्कसँग बयान गर्छु । यसरी बाको बयान गर्दा म तीन-पाँच मिनेट रोकिन्न पनि । म बाका बारेमा कुरा गर्दा अरुले आफ्नो कुरा सुनेको वा ध्यान दिएको छ कि छैन भन्ने communication को आधारभूत नियमलाई पनि ख्याल राख्दिनँ । मलाई मेरा बाको बारेमा बयान गर्न पाएको दिन निक्कै आनन्द आउँछ ।

मेरा बा हरेकदिन मुस्कुराउनु हुन्छ र उहाँलाई मुस्कुराउन उत्प्रेरित गर्ने चिजहरु धेरै छन् । उहाँ प्रायः कपड़ासियोले आफैं टालेरै लगाउन रुचाउनुहुन्छ। गएको दशैंमा बालाई भेट्न जाँदा मेरा पनि लुगा उद्रिए । त्यो देखेर बाले हतार हतार सियो धागोले सिलाइदिनुभयो। उहाँलाई बहुराष्ट्रिय कम्पनीको ब्राण्डको पनि चिन्ता छैन । कहिलेकाहीँ छोराछोरीले नयाँ कोट किनिदिँदा पनि पुरानो कोटलाई नै बढ़ी प्रेम दर्शाउनु हुन्छ र ओल्टाइपल्टाइ हेर्नुहुन्छ । कोट लगाएका पुराना दिन सम्झेर मख्ख पर्नुहुन्छ । उहाँलाई छोराछोरी बोर्डिङ्ग स्कूल पढाउने, सहर वा विदेश पठाउने कहिल्यै चिन्ता भएन, बरु उहाँको चाहना सबै छोराहरुले संस्कृत पढून् र पण्डित बनून् र आफ्नै खेतीपाती गरुन् भन्ने थियो र अहिले आफ्ना नाति नातिनाहरुलाई पनि संस्कृत नै पढ भन्नुहुन्छ । संस्कृत पढ्नेले ग्रन्थहरु बुझेको हुन्छ र विद्वान् हुन्छ तर अचेल हरेक क्षेत्रमा अङ्ग्रेजी भाषाको प्रयोग गरेर अङ्ग्रेजीले नै संसार खाइसकेको उहाँको तर्क छ। अनि छोरीले स्कुल पढ्नु पर्दैन र राम्रो घर धन्दा गर्न , दुना टपरी गाँस्न , गुन्द्री पीरा बन्न र हिसाबमा सामान्य गुणन र भाग गर्न सिके पुग्छ भन्नुहुन्थ्यो । शहरबजारमा महल ठड्याउने पनि कहिल्यै चासो लिनु भएन । बरु बा सबै छोराछोरी बिहान सबेरै उठून् र उहाँजस्तै अगेनामा बसेर आफ्नोबाहेक अरू सिङ्गै गँउॅका मानिसहरुको पनि चिन्ता गरुन् भन्ने ठान्नुहुन्छ ।

मेरा बाको जति नाम छ उहाँको त्यो नै काफी छ । बा आफ्नो खेती पाती गर्ने र बचेको समय जप,पुजा–आजा, भागवत पाठ र पण्डित्याइमा लगाउनुहुन्छ । पैसा हातमा भएको बेलामा तीर्थ ब्रत र दान दक्षिणा वा एउटा सानो पुजा लगाउनुहुन्छ। बाको अलिकति पाखो बारी, गैरीखेत , अलैंची बारी , गोठमा गाई , बाख्रा , भैंसी र पुरानो खरले छाएको घर इत्यादि छन्। अहिले ९३ वर्षको उमेर हुनुभयो र काम गर्न सक्नुहुन्न । बाको जीवनमा कुनै ऋणको ब्याज स्याज पनि छैन । म सानी हुँदा ती गैरी खेतका गह्राहरु बाले आफ्नै हातले नै बनाउनुभएको हो । सयौंपटक बर्खे भेलले बगायो तर बाले बनाउन छोड्नु भएन । धेरैपटक बारीका मकैमा कालिपोके लागेर अनिकाल लाग्दा पनि बाले कहिल्यै हार खानु भएन । बाले कहिल्यै पनि सुख खोज्दैआफ्नो थात थलो छोडेर डोकाभरि सपना बोकेर आफ्ना भान्टाग्भुन्टुग छोराछोरी अगाडि पछाडि लगाउँदै बसाइ सर्ने झन्झट पनि लिनुभएन।

बा बिहानै उठेर दाउरा जोडेर अगेनामा आगो बल्नुहुन्छ । घरमा ग्याँस चुल्हो भए पनि आगोमा पकाएजस्तो मिठो हुँदैन भन्नुहुन्छ । राइस कुकर प्रेसर कुकर मन पराउनुहुन्न र कसौडीमा आफ्नै हातले भात पकाएर खानुहुन्छ। विकासे चिजहरुको भर पनि हुँदैन र, त्यसैले मलाई चाहिँदैन भन्नुहुन्छ।

मेरा बाले तराईका फाँटहरु पनि देख्नुभएको छ र सहर बजारका महल पनि देख्नुभएको छ । भारतका थुप्रै तीर्थस्थल जाँदा बाटोमा पर्ने दृश्यहरु फोटोखिचे जसरी उहाँको दिमागमा छन् । प्रसङ्ग आउनासाथ उहाँ बिस्तारमा बयान गर्न थाल्नुहुन्छ ।

बालाई पिज्जा, पास्ता , बर्गर र मःमको पनि कहिल्यै चिन्ता भएन । लसुन, प्याज र गोलभेडा नहालेको साकाहारी खाना पूरी, पूवा, उसिनेका आलु, पिँडालु वा सख्खरखण्ड एकछाक मात्र भए हुन्छ । औषधिका ट्याब्लेटहरूभन्दा उहाँ घरायसी औषधिमूलो नै राम्रो मान्नुहुन्छ।

उहाँ आफैँले कपासले छापेर बनाएको सिरक ओडेर राडीमा सुत्नुहुन्छ र दुईमिनेटमै गहिरो निन्द्रामा निदाउनुहुन्छ । म अहिले संसारको सबैभन्दा ठूलो भनिएको न्यूयोर्क सहरको बीचमा लाखौं डलर खर्चेर किनेकोअपार्टमेण्टमा मलाई चाहिने जति सबै सुविधा लिएर बस्छु। तर दुर्भाग्य हातमा रहेको एप्पलको आइफोनमा डाउनलोड गरेको Credit Karma भन्ने एप्समा कहिलेकाहीँ आँखा परिहाल्यो भने मैले तिर्नु पर्ने ऋणको भारी देखेर रातभर निन्द्रा लाग्दैन । न मैले बालाई कहिल्यै निन्द्रा नपरेको कुरा खुलस्त भन्न सकेँ, नकेही वर्षअगाडि मेरो सम्बन्धमा परेको दुर्घटनाबारे मझेरीमा अगाडि बसेर निर्धक्कसँग रुँदै पछेउरीले आँसु पुछ्दै बालाई सुनाउन सकेँ, न त भर्खरै झाँगिदै गरेको मेरो नयाँ प्रेम प्रसङ्गका बारेमा नै खुसी हुँदै सुनाउने आँट गर्न सकेकी छु । म जतिपल्ट टुटे बालाई नभनिकन एक्लै टुटेँ , एक्लै रोएँ , ढोका लगाएर मुटु थिचेर निर्धक्कसँग रोएँ र हल्का भएँ । अनि आँसु पुछेर आफैं सम्हालिएँ । तर बालाई भन्ने आँट कहिल्यै गरिन ।

म चालीस कटिसक्दा मेरा बा नै मेरो जीवनका सबैभन्दा महान् व्यक्ति हुनुहुन्छ । मेरो जीवनको आदर्शव्यक्ति, मेरो प्रेरणाको स्रोत, मेरो प्राण र मेरो मुटुको ढुकढुकी नै “बा” हुनुहुन्छ। आज बाबुको मुख हेर्ने दिन मेरा बालाई सुस्वास्थ्य र दीर्घायुको कामना । तर बाको जस्तै गरी मेरो मन, बुद्धि, चित्त, र आत्माको स्तर पनि स्वस्थ, शान्त, अनुशासित र संयमित बनाउन सकुँ भन्ने मेरो चाहना छ ।