विश्व भुटानी साहित्यिक संगठनले आयोजना गरेको बृहत् ‘अन्तर्राष्ट्रिय सांस्कृतिक अनुष्ठान– ५’, मा सहभागी हुने सुअवसर जुरेको थियो । अमेरिकाको पेन्सनभ्यालिया राज्यको, ह्यारिसबर्ग सहरमा आयोजना गरिँदै थियो, त्यो कार्यक्रम ।
कार्यक्रमका लागि भनेर कम्पनीमा बिदाको लागि अनुरोध गरेँ । धेरै कर गर्नु नपरेकाले होला कम्पनीले बिदा दिएपछि मन चङ्गा भयो, दङ्ग भयो । कहिलेकाहीँ बिदा मिलाउन निकै सास्ती हुन्छ पनि तर यसपालि त्यस्तो भएन मलाई । सविना (श्रीमती) ले पनि बिदा मिलाइन् । हामी दम्पत्ति त्यो विशाल सांस्कृतिक अनुष्ठान–५ मा भाग लिन सँगै जाने भयौँ ।
मनमा कौतुहलता थियो अनि उत्साह पनि । अन्तर्राष्ट्रिय कार्यक्रम, त्यसमा भाग लिन जान लागेको हामी दम्पत्तिको पहिलो थियो । अझ कार्यक्रमका प्रमुख अतिथिका रूपमा आउँदै थिए, सिक्किमका भूतपूर्व मुख्यमन्त्री डा. पवन चामलिङ । बहुमुखी प्रतिभाका धनी चामलिङलाई भेट्न पाउनु नै मेरो लागि ठूलो कुरो थियो । त्यसले मनमा उत्साह थपिदिएको थियो ।
आयोजकले बनाएको पोस्टरलाई एकपटक फेरि नियालेँ । पोस्टरमा विशिष्ट व्यक्तित्व बोकेका अतिथिका अनुहारहरू थिए । विभिन्न राष्ट्रबाट सहभागिता जनाउँदै हुनुहुन्थ्यो, उहाँहरू । सबै साहित्यका हस्तीसँगै प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति पनि त्यही मञ्चमा हुँदै थियो । नेपाली आधुनिक कविताका हस्ती नवराज पराजुली जो नेपालीका मन–मनमा बस्न सफल हुनुहुन्छ, उहाँ पनि अतिथि हुनुहुन्थ्यो । जोसँग वषौँदेखि बोल्दै आएको थिएँ तर समीप भेट भएको थिएन । आवाजको दुनियाका अर्का हस्ती अच्युत घिमिरे हुनुहुन्थ्यो । उहाँलाई पनि यतै अमेरिकामा पहिलो पटक भेटेको थिएँ । त्यसै गरी एक जना मित्र समुन्द्र घिमिरे जो फिल्म मेकिङ पढ्दै हुनुहुन्छ अमेरिकामा । उहाँसँग पनि पहिलो भेटघाट हुँदै थियो । चिनजान पुरानै थियो । त्यसैले पनि यो यात्रा मेरो लागि खास थियो । ‘अन्तर्राष्ट्रिय सांस्कृतिक अनुष्ठान–५’ले हाम्रो दोस्रो भेट गराउँदै थियो । मलाई अनुभूति हुँदै थियो कि कार्यक्रम साहित्यिक कुम्भ मेला हुनेछ र अकोतर्फ प्राज्ञिक बहसको केन्द्र ।
ह्यारिसबर्ग पुग्नुपर्ने मितिअगावै सपना आउन थालिसकेका छन् । भोलि, पर्सि भन्दाभन्दै ह्यारिसबर्ग टेक्ने दिन पनि आयो । ठाउँ नै यस्तै हो कि अमेरिकाकै बानी पर्यो भनूँ हरेक काममा हतार गर्न मन लाग्ने । अझ समय अपुगजस्तो लाग्ने । त्यसैले होला यसपटकको यात्रा पनि अलिक हतारकै भयो भन्नुपर्छ ।
सान्फ्रान्सिक्कोबाट पहिलो ट्रान्जिट यरिजोनाको थियो । ले–ओभर जम्मा २७ मिनेटको थियो । त्यो समय ले–ओभर भनेको थोरै हो । जहाज पाउने मौका कमै हुन्छ । आठ बजेर तीन मिनेटमा यरिजोनाको एयरपोर्टमा जहाज ल्यान्ड भयो । आठ बजेर तीस मिनेटमा अर्को उडान थियो, फिलिडोफिया, पेन्सलभ्यानियाको लागि । बोर्डिङमा अर्को उडानको लागि कुन जोन अनि गेटमा जाने लेखेकै छैन । जहाजबाट बाहिर निस्कँदै आठ सत्र भइसकेको थियो । समय धेरै खर्चनुभन्दा नजिकै हेल्पडेस्कमा पुगेँ । जहाजको गेट र जोन हेल्प डेस्ककी महिलाले औँलाको इसारा गर्दै गेट नम्बर ‘ए अठार’ देखाइदिइन् । हामी तीनै जना कुद्यौँ । अब जम्मा समय चानचुन सात मिनेट थियो । मनमा समयको हिसाब र मलाई लागेको पिसाब दुवैले मस्तै अत्ताइरहेको थियो । बिचरा ! छोरालाई पनि हात समाएर कुदाएँ । आठःपच्चीसमा गेटमा पुग्यौँ । बोर्डिङ स्क्यान गरेर जहाजभित्र छिर्यौ । जहाज पहिले नै स्टार्ट मोसनमा रहेछ । म हत्तपत्त ट्वाइलेटभित्र छिरेँ । आहा ! स्वर्गानुभूति, समयको हिसाब र अत्ताएको पिसाब दुवैबाट छुटकारा मिल्यो ।
म गएर बस्नु र उडान लिनु झन्डै सँगैजस्तो भयो । जहाजमा यो पटक मस्त निदाएँ । बादलका थुप्रा गन्ने र छोटा भिडियो बनाउने मौकै मिलेन ।
निदाउनुको कारण राति नसुतेरै एयरपोर्ट आएको थिएँ । बिहान ६ बजेको फ्लाइट थियो । सबिना कामबाट राति ११ बजे फर्किइन् । खाना खाएर लगेज मिलाउँदैमा १२ बज्यो । भाइ, लेखराजले कपडामा स्त्री गरिदियो । गफ गर्दागर्दै घडीले साढे एक बजायो । अब सुत्नु भनेको निद्रा बिगार्नु र शरीरमा आलस्यपन थप्नु शिवाय अरु केही थिएन । एक घण्टापछि एयरपोर्ट जानु थियो । त्यत्तिकै बसेर समय काट्न पनि गाह्रो । त्यसैले चाउमिन खाने सल्लाह भयो । सुष्माले चाउमिन बनाइन् । छोरा (दीक्षान्त) लाई पनि उठायौँ । गफ गर्दै चाउमिन खाँदै गर्दा साढे दुई बजेछ । छिमेकी खड्का दाइलाई तयार हुन भनेर फोन गरेँ । खड्का दाइले हामीलाई एयरपोर्ट पुर्याउने कुरा थियो ।
जहाज नियमित समयभन्दा १० मिनेट पहिले नै ल्यान्ड गर्यो । जहाजको ढोकै खुलेन । झन्डै ४० मिनेटपछि बल्ल ढोका खुल्यो । जहाजबाट ओर्लँदै चार पैंतिस बजेको थियो । लगेज बुझेर बाहिर निस्कँदासम्म पाँच बज्यो । आयोजकको अनुसार हामीलाई कोही लिन आउने कुरा थियो तर जो हामीलाई लिन आउने हो उहाँको आफ्न्त बिरामी भएर अस्पताल जानुपर्ने भएछ । हामीलाई बसको टिकटको व्यवस्थापन गरिदिँदैछौ भनेर फोन आयो ।
उहाँहरूले हाम्रो डिटेल माग्नुभयो । हामी सबैको पासपोर्ट फोटो खिचेर म्यासेज गरिदिएँ आयोजक प्रतिनिधिलाई । एकछिनमा टिकट पनि ई–मेल गरिदिनुभयो । बस भनेको टिकट रेलको आयो । पाँच पैतिसमा रेल छुट्ने समय थियो । रेल स्टेशन जान हामी ओर्लिएको ठाउँबाट अठार मिनेट देखायो जिपिएसले । पाँच मिनेट त्यसै खेर गइसकेको थियो । कुनै पनि हालतमा रेल पाउने सम्भावना रहेन । कथमकथाचित टेक्निकल समस्या भएर ढिलो भए रेल भेट्ने झिनो आशा थियो मनमा । सबिनाले उवर बोलाइन् । उवर आएको ठाउँ र हामी कुरेको ठाँउ ठ्याक्कै उल्टो परेछ । उवर ड्राइभरले कल गरे । हामी ड्राइभर भएको ठाउँ पुग्दा ५:२१ बजिसकेको थियो, अब २४ मिनेट मात्र बाँकी । त्यसैमाथि ट्राफिक जाम, उफ ! अब रेलले रेल्याउने भो भन्ने चिन्ता, मनमा । रेल स्टेसन पुग्दा पाँच ४२ बज्यो । दौडेर स्टेसन पुग्यौँ । ह्यारिसबर्ग जाने रेलले हामीलाई छोडेर हिँडिसकेछ । अर्को रेल आउने समय ६:४२ । बाबु र सबिनाले भोक लागेको भन्दै थिए । अब एक घण्टा खाने र रेल स्टेसन घुम्ने योजना बनायौँ । खाँदै घुम्दै गर्दा एकघण्टा बितेको पत्तै भएन । यो पटकको एकघन्टा ‘यूँ’ चुट्कीमा बितेझैँ लाग्यो ।
घडीले ६:४२ बजायो । भनेकै समयमा रेल पनि आयो । हामी रेलभित्र छिर्यौँ । दुई घण्टा लाग्दोरहेछ ह्यारिसबर्गसम्मको रेलयात्रा । हामी तीनैजना रेलयात्रामा भसुक्क निदाएछौँ । आँखा समयमै खुलेछ, फेरि । आँखा खुलेको २० मिनेटमै ह्यारिसबर्ग पुग्यौँ । रेलबाट ओर्लिएपछि खेम अधिकारी सरलाई फोन गरेँ । आयोजकमध्ये मैले चिनेका व्यक्ति भनेको उहाँ नै हो । उहाँले रेल स्टेसनको ठेगाना माग्नुभयो । १० मिनेट जति कुर्न अनुरोध गर्नुभयो । कार्यक्रमको लागि नाटकको तयारी गर्दै हुनुहुँदो रहेछ ।
हामी मज्जाले कुर्यौँ । रेल स्टेसनमा हामी मात्र हुँदासम्म कुर्यौँ । यो पटकको यात्रा ‘स्टार्टिङ प्वाइन्ट’बाटै बोहनी खराब भएको थियो । जहाँ पनि ढिलै भयौँ । जे होस् खेम सर आउनुभयो । सरले हामीलाई लक्ष्मी गौतम म्याडमको घर लिएर जाने भन्नुभयो । सबिना र म्याडमको पहिलै पनि कुरा भइसकेको रहेछ । त्यो विषयमा मलाई थाहै थिएन । खेम सरसँगै एकजना अर्का सर पनि आउनुभएको थियो । उहाँसँग गाडीभित्रै परिचय भयो । ईश्वर ढकाल, उहाँ पनि आयोजक कमिटीकै सदस्य हुनुहुँदोरहेछ । मान्छे फरासिलो हुनुहुँदो रहेछ । हामीलाई धेरै समय कुर्न परेकोमा आफुहरूलाई दुःख लागेको कुरा गर्नुभयो । यात्रा हो, कहिलेकाहीँ यस्तो हुन्छ भनेर सहज रूपमा लिन अनुरोध गरेँ, उहाँहरूलाई । झन्डै आधा घन्टाको यात्रापछि हामीलाई लक्ष्मी म्याडमको घरमा पुर्याउनुभयो, खेम सरले । लक्ष्मी म्याडमले हामी सबैजनाका लागि खाना तयार पार्नुभएको रहेछ । लामो यात्रा, यात्राको थकानले भोक पनि धेरै लागेको थियो । म्याडमले परिकार पनि धेरै बनाउनुभएको रहेछ । दर खान गएझैँ, टक्रक्कै पुगियो….हा ! हा !! ।
खाना स्वादिलो भएर हो कि सायद, अलि बढी नै खाइएछ । मुखको स्वाद नमर्दै पेट उकुसमुकुस भएपछि बल्ल चाल पाइयो, खाना बढी भयो भनेर । रातिको ११ बज्दै थियो । खेम सर र ईश्वर सरले मलाई आयोजक बसेको ठाउँतिर लिएर जानुभयो । सबिना र बाबु लक्ष्मी म्याडमकोमा बसे । सबैजना भोलिको कार्यक्रमको लागि व्यस्त थिए । हामी एकछिन त्यहाँ बस्यौँ । आयोजक साथीहरू पाहुनाहरूलाई खुवाउने र सुताउने व्यवस्थापन गर्दै हुनुहुन्थ्यो । खेम सरले मलाई, ईश्वर सर र अभिषेक सरलाई लिएर आफ्नो ससुराली घर पुर्याउनुभयो । रात मध्यरात हुँदै थियो भने निद्राले लठ्याउँदै थियो । खेम सरले म्याडमलाई उठाउनुभयो । खेम सरले ओछ्यान मिलाउनु भयो । यात्राले गलेको शरीर, त्यसैमाथि मध्यरातको निद्राले होला ओछ्यानले मलाई लोभ्याउँदै थियो । कतिखेर निदाएँ पत्तै भएन ।
सरहरूले कुरा गर्दै गरेको गुनगुन आवाजले मलाई व्यूँझायो । उहाँहरूले कार्यक्रम बारे छलफल गर्दै हुनुहुन्थ्यो सायद । घडी हेरेको बिहानको ९:०३ बजेको रहेछ । कार्यक्रम सुरु हुने समय बिहानको १० तोकिएको थियो सायद । त्यसैले म्याडमले तयार बनाउनुभएको नास्ता खाएर कार्यक्रम स्थलतर्फ लाग्यौँ, सबैजना । ‘पूर्व कोही पश्चिम घर आँगन तर एउटै हो, छरिएर बसे के भो संसार त एउटै हो’, स्वागत गीत कार्यक्रममा बज्दै थियो । भावुक बनायो एकछिन् त्यो गीतले अनि खुसी पनि । त्यो गीतले देश सम्झायो, आफ्नो माटो सम्झायो । ती साना नानीहरूको देशको भाषा, संस्कृति झल्कने प्रस्तुतिले त झन देशप्रेमले मन भक्कानियो पनि । ती नानीहरू जो कलिलै उमेरमा नेपाल छोडेर अमेरिका आएका थिए, कति यतै जन्मिएका पनि । तर विश्व भुटानी साहित्यिक संगठनमार्फत् सञ्चालित ‘विश्व शिक्षा कार्यक्रम अन्तर्गत भाइबहिनीहरूले नेपाली भाषा र कला सिकेका छन् । साना भाइबहिनीहरूले नाटक समेत देखाए । नेपाली जहाँ जसरी बसे पनि आफ्नो देशप्रति माया, भाषा, संस्कृतिप्रति आफ्नोपन सधैँ समान रहन्छ भन्ने भाव झल्काउँथ्यो प्रस्तुत नाटकले ।
‘संसारको जुनसुकै कुनामा बसे पनि भाषाले अर्थ राख्छ । हामी हाम्रो भाषा बोल्छौँ । आफ्नो कला र संस्कृतिलाई जोगाउन लागेका छौँ । यो नै महान् कुरा हो ।’त्यसैले विश्वको जुन कुनामा बसे पनि नेपाली भाषा बोल्ने नेपाली हुन्छ र उनीहरुको मन सधैं नेपाली नै रहन्छ,´प्रमुख अतिथि पवन चामलिङ भन्नुभयो । उहाँको सालिनता र भद्रपनले मलाई तान्यो । उहाँ बोल्दा सुनिरहुँ हुन्थ्यो । धेरै प्रेरणा दिने खालको कुराहरु गर्नु भयो । सिक्किम कसरी विश्वले चिन्ने सिक्किम बन्यो ? हरियाली सिक्किम भनेर चिनाउँदै थुप्रैपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका कुरा गर्नु भयो । मान्छे असल नियत राखेर काम गर्यो भने सबै कुरा सम्भव रहेको कुरा राख्नु भयो। मैले तुरुन्तै हाम्रा नेता पनि नसम्झिएको होइन । चामलिङजस्ता नेता देश र जनताका लागि काम गर्छन् । हाम्रा नेता आफ्ना घर र ससुरालीको लागि काम गर्छन् भनेर चित्त बुझाए । त्यो भन्दा अरु केही थिएन चित्त बुझाउने उपाय मसँग । अतिथिहरू सबै जना प्रेरणाका स्रोत हुनुहुन्थ्यो । तीमध्ये एकजना, डाक्टर विष्णुमाया परियार, जो नेपाली महिला commissioner AAPI(Asian American Pacific Islander) Commission of NJ Governer and Advisor of Mayor of Jersy city of women को रूपमा काम गर्दै आउनुभएको छ । उहाँको जीवनी अहिले अमेरिकाको मासाचुटेस राज्यको सरकारी विद्यालयको पाठ्यक्रममा कक्षा ७ मा समावेश गरिएको छ । हरेक उचाई पुग्न पहिले बेस क्याम्प सुरु गर्नै पर्छ । त्यो त्यति सजिलो पनि हुँदैन र असम्भव पनि हुँदैन । आफ्नो अनुभव सुनाउनुभयो ।
उहाँ हरेक नेपालीको प्रेरणा हो । अमेरिकामा त्यो स्थानमा पुग्ने सायद पहिलो नेपाली महिला हुनुहुन्छ, उहाँ । प्रा.डा. गोविन्दराज भट्टराई, उपन्यासकार, निबन्धकार, साहित्यिक आलोचक र भाषा अनुवादकले पनि भुटानी नेपालीहरूको इतिहासको कुरा गर्नुभयो । ‘हामी भुटानमा अटाएनौँ । हामी भारतमा अटाएनौँ । नेपाली भएर नेपालमा अटाएनौँ । अमेरिकामा अटायौँ । जहाँ नेपाली झण्डा र भुटानको झण्डा बोकेर नाच्न पायौँ । यो कुरा अन्यत्र सम्भव नभएको भन्नुभयो ।’ प्रा.डा. कविता लामा,Head of Nepali,Dean,School of language and literature,Sikkim university,India.। ´देश दुखेको पीडा । देशले स्वीकार नगर्दाको पीडा । आफ्नै देशमा आफैंले पाएको पीडा कस्तो हुन्छ, त्यो कुरा नेपाली भुटानीहरूको कथा आफूले राम्रोसँग बुझेको´,लामाले बताउनु भयो ।` उहाँले यति भन्दै गर्दा मेरा आँखा मलिन बने । मैले यति नजिकबाट पहिलो पटक सुन्दै थिएँ, नेपाली भुटानीहरूको कथा । यो त कहिल्यै नसुक्ने घाउ रहेछ तर भुटानी नेपालीहरूले आफ्नो जन्मेको देशप्रतिको माया, आफ्नो माटोप्रति स्नेह देशले कहिल्यै बुझेन र अहिलेसम्म बुझेको छैन । अलि धेरै नै बहकिएछु। कार्यक्रम साहित्यिक थियो । कृष्ण धराबासी, प्राडा अञ्जना बस्ती भट्टराई, विद्या सुब्बा, नवराज पराजुली र दीपा राईजस्ता अग्रज साहित्यकारको उपस्थितिले कार्यक्रमलाई पृथक् झनक दिइएको थियो । गायक जगदिश हमाल र किरण गजमेरले बिचबिच्मा दिएको साङ्गितिक खुराकले झनै ऊर्जा थप्ने काम गर्यो सहभागीलाई । कार्यक्रममा मलाई धेरै छोएको अर्को व्यक्तित्व हुनुहुन्थ्यो, विजय हिताङ । विजय हिताङ, पूर्व ब्रिटिस गोर्खा सैनिक, हाल इङ्लैण्डको वातावरण विभाग (Environment Agency) मा वातावरण अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ । पर्यावरण साहित्य: आजको आवश्यकता र महत्त्वको विषयमा अहिले हिताङ अभियानकै रूपमा लाग्नुभएको छ । म उहाँको त्यो अभियानमा ऐक्यबद्धता जनाइहालेँ । हिताङ सरसँग लामो भलाकुसारी पनि भयो । यो विषय धेरै गम्भीर छ ।
सफा पर्यावरणबिना मान्छेको जीवन कल्पना गर्न गाह्रो छ । अहिले हरेक साहित्यको विषय खासमा मानव जीवनमा, माया प्रीति र देश–परदेशको सेरोफेरोमा केन्द्रित देखिन्छन् । अबको साहित्यको विषय भनेको पर्यावरण अनुकूल पनि हुनुपर्यो भन्ने हिताङ सरको आशय हो । हामी भानुजयन्तीसँगै भालुजयन्ती, मोतीजयन्तीसँगै माटोजयन्ती र पृथ्वीनारायण जयन्तीसँगै पृथ्वीजयन्तीमा पनि कलम चलाउन सिक्यौँ भने हाम्रो साहित्य पर्यावरणमैत्री हुनेछ र हाम्रो स्वस्थ जीवन हुनेछ । । अतिथिहरु धेरै, कार्यक्रम धेरै तर समय थोरै भएर केही तोकिएकै सेसन भएनन् कार्यक्रममा । तर आयोजक टिमले कार्यक्रम भव्य गरेको हो । देश विदेशबाट अतिथिहरु बोलाएर व्यवस्थापन गर्नु चानचुने कुरा थिएन । त्यो पनि परदेशमा । यो यात्रा यत्ति, जय माटो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।