जुलाई ३०, शनिबार । यो वर्षको गर्मी बिदा हुनु अघिको अन्तिम दिन थियो। भोलिदेखि छुट्टी भन्ने लागेपछि थाके पनि काम गर्दा आउने जाँगर अर्कै हुन्छ। हो त्यसै भयो यो ज्यानलाई पनि । काम सकेर कोठामा आउँदा थुप्रै साथीहरूको ‘आउटिङ’ पोष्टहरू देखिन सुरु भइसकेको थियो । हाम्रै ग्रुपमा सुष्मा, दिपा, पराजित दाजु, उत्तम लुङा लगायतका साथीहरूको बिदा शनिबारबाटै भइसकेको थियो । पराजित दाजु, उत्तम लुङा र दिपा कोरियाको राजधानी सौलबाट बेंसी झर्दै हुनुन्थ्यो । औपचारिक रुपमा कुनै कार्यक्रम नभए पनि इतर अभियान अन्तर्गतको “काव्यिक यात्रा” भनेर स्वघोषणाअन्तर्गत हामी भेला हुने कुरा थियो ।
शनिबार साँझ नै निस्किउँ नलागेको हैन। तर लगेज प्याकिङ गर्नु थियो । कामको लुगाहरू सेथाकीमा (Washing machine ) मा लगाउनु थियो । सब काम सकेर भोलिपल्ट (आइतबार) बिहान करिब १० बजे किम्हे जाने बस चढेँ ।
सिमसिम पानी परिरहेको थियो । यो पल्टको गर्मी बिदालाई मौसमले पनि खाससाथ दिन्न कि भन्ने नलागेको हैन तथापि मौसमले रोकिनेवाला थिएनौँ । किम्हे पुगेर बैंकमा केही समस्याहरू सुल्झाउनु थियो । अनि नेपाली फिल्म ‘कबड्डी ४’ हेर्नुथियो । दिन धुम्म नै थियो, मानौँ हाम्रो खुसी मन परिरहेको थिएन मौसमलाई। हामी सबै साथीहरु लामो समयपछि भेट हुँदैछौँ, यो देखेर ठुस्किएको हुन सक्छ। मान्छेको कल्पना न हो।
हुन पनि कोरोना महामारी सुरु भएपछि फुक्काफाल भएर हिँड्न पाइएन लामो समयसम्म । करिब दुई वर्षको अवधिमा कोरियाको छुसक, सलनाल वा ३/४ दिनको छुट्टी मिल्ने गर्मी बिदाहरु कोठाभित्रै गुम्सिएर बितेका हुन्। यतिखेर कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएपछि जनजीवन फेरि पुरानो लयमा फर्कन खोजिरहेको यो समय हामी निक्कै उन्मुक्त खुसीका साथ यो गर्मी बिदा मनाउने योजना बनाएका हौँ।
किम्हेमा बैँकको काम छिट्छिटो सकाएर बस्नका लागि कोठाको खोजी गर्न थालेँ। उता त्यतिन्जेलमा सुष्मा रानाहँमा आउँदै थिइन् भने यता दोस्रो सिफ्टको लागि कबड्डी ४ हेर्नुथियो, जुन दिनको ३ बजेबाट सुरु हुनेवाला थियो। इतर अभियानको डम्बर सुब्बा लुङाहरू किम्हेतिरै हुनुहुन्थ्यो तर भेट हुन सकिरहेको थिएन । कोरोनाको प्रभाव न्यून हुँदै गएपछि उहाँहरू व्यस्त हुनुन्थ्यो । कियाचु (किरात याक्थुम चुम्लुङ) को आयोजनामा सोही आइतबार साँझ डान्स पार्टी पनि हुँदै थियो । ३/४ वटा होटेलमा रुम नपाएपछि हरेस खाँदै भए पनि कोसिस जारी राखेँ। निक्कै परसम्म लगेज गुडाउँदै खोजेपछि Boston Hotel मा कोठा पाएँ। अलि चर्कै फि तिरेर भए पनि कोठा बुक गरेँ । अगाडिका होटेलहरूमा कोठा नपाएको हैन, साँझ ७ बजे उताबाट मात्रै दिने कुरा गर्थ्यो । कोठा खोज्दाको ठिक समय १२:३०-१:०० बजेको थियो । यो बिचको समयमा होटेलवालाले अरु पैसा कमाउन सक्थ्यो सायद त्यसैले नदिएको हुन सक्छ ।
तर हातमा झुण्डिएर गुड्किरहेको लगेजलाई जसरी भए पनि रुममै विश्राम गराउनु थियो, यसर्थ रुम खोज्नु नै थियो । एकछिनमा सुष्मा पनि लगेज गुड्काउँदै आइपुगिन् । लगेज रुममा राख्यौँ र लाग्यौँ कबड्डी ४ फिल्म हेर्ने हलतिर । गत जेष्ठ १३ (May 27) मा नेपाल भरिका फिल्म हलहरूमा लागेको कबड्डी ४ ले एकै दिनमा लगानी उठायो लगायतका समाचारहरू आइरहन्थ्यो । आदरणीय कवि, लेखक दाजु उपेन्द्र सुब्बा र रामबाबु गुरुङको सह-लेखन र रामबाबु गुरुङको निर्देशन रहेको उक्त फिल्ममा सुष्मा गुरुङ लगायतको निर्माण रहेको रहेछ भने उक्त फिल्मका मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल लगायतले खेलेका छन् । त्यसो त कबड्डी फिल्म सिरिजबद्व चलिरहेको फिल्म हो, र चौथो सिरिजअर्थात अन्तिम हो भनिएको यो फिल्मले चर्को वाहवाही र राम्रो व्यापार गरिरहेकै बेला काठमाडौंको सिभिल मलमा नायिका मिरुना मगरमाथि ‘ब्याडटच’ गरेको आरोपमा लामाको पोसाकमा रहेको फुर्पा लामालाई पक्राउ गरिएको थियो । यस बिचमा थुप्रै राम्रा/नराम्रा कार्यहरू भए त्यो सबैलाई सर्वविदितै छ । उक्त फिल्म कोरियामा ल्याउने, नल्याउने समर्थन, विरोधको बाबजुद पनि तमुधि, द.कोरियाले ल्याएको थियो, र हामी उक्त फिल्म हेर्न हौसिएका थियौँ । जनही २५,००० वनको दरले ५०,००० वनको नोट दिँदै सुष्माले दुईटा टिकट लिइन् । हलभित्र छिर्यौँ, फिल्म हलकै डेकुरेसन तर सानोहल, पर्दा ठुलै देखिए पनि देखिने फिल्म चाहिँ बिचमा थोरै भागमा मात्रै रहेछ ।
विदेशको ठाउँमा यसरी नेपाली फिल्म हेर्न पाउनु पनि भाग्य हो । फिल्म हेर्न थाल्यौँ, टिकटकतिर फाट्टफुट्ट क्लिपहरू देखिइरहेको हुनाले खास रोचक लागेन । मानौँ फिल्म दोहोराएर हेर्दैछु । फिल्म सकियो, समय खास ख्याल गरिनँ । मध्यान्तर समयमा पनि चलाइएको हुनाले अलि छिटै सकियो सायद, यसो हुनुमा आयोजकले समयलाई मध्यनजर गरेको पनि हुन सक्छ । हलबाट निकै तलसम्म हिँडेर झर्यौँ र बस चढ्यौँ । फिल्मको टेस्टबारे सुष्माले पनि सेम महसुस बताइन् जस्तो मलाई लागिरहेको थियो । बस चढ्नु बित्तिकै विष्णु सन्यासजीको कल आयो, बिस्तारै एकछिन् बोलेँ ।उहाँ झर्ने कुरा थियो समुन्द्री सहरतिर तर झर्नु भएनछ । गाडीमा बोल्न नमिल्ने हुनाले थोरै बोलेर कल काटेँ ।यतिञ्जेल भोकले रन्किएका थियौँ, किम्हे बजारको नमस्ते नेपाली रेष्टुरेन्ट छिर्यौँ र बफ म:म: खायौँ चट्पटे पनि । भोक मेटियो ।
उता सौलबाट पराजित पोमु, उत्तम खजुम र दिपा मेवाहाङ् आउँदैहुनुन्थ्यो । दिपाको लागि चट्पटे प्याक गर्यौँ र रुमतिर लाग्यौँ । कोठा पुगेपछि गर्मी महसुस भएकोले एसि खोलेर फ्रेस भयौँ । थाके पनि सुत्न मनाही थियो किनभने अरु साथीहरुसँग भेट हुनै बाँकी थियो। उता डान्स पार्टीको निम्तो पनि आइरहेकै थियो । दिपाले भने बारबार “गार्हो भाछ, म पार्टीमा जान्न ल” भनिरहेकी थिइन् । करिब ९ बजेतिर पराजित दाजु र बालकजी पनि आइपुग्नुभयो । उहाँहरूको लागि पनि रुम लियौँ । यतिबेला रुमहरू टन्नै पाइन्थ्यो । र नमस्तेमा फेरि खाना खान भनेर गयौँ । एकैछिनमा दिपा र उत्तम लुङा पनि आइपुग्नुभयो, र खाना खाने क्रम सुरु भयो । सुष्मा र म पानी मात्रै खायौँ किनकि अघि खाएको म:म: ले टन्नै थियौँ । बाँकी सबैले खाना खानुभयो, तर खानासँगै आएको दही चाहिँ सुष्मा र मैले नै खाइदियौँ । दिपाले खाना जस्ताको तस्तै छोडिन् ।गारो भाछ भनेर रुम आयौँ । दिपाको स्वास्थ्य अलि गडबड थियो त्यही पनि हामीलाई साथ दिइरहेकी थिइन्। कोठामा एकछिन रेष्ट गरेर डान्स पार्टीतिर गयौँ । कियाचुको आयोजनामा रहेको उक्तडान्स पार्टी भव्य भइरहेको थियो । हुन त हामी जान पनि अलि ढिला गयौँ । भित्र छिर्दा मान्छे चिनिनसक्नु थियो र पनि सञ्जीव राई, डम्बर सुब्बा सरहरू आएर स्वागत गर्नुभयो । म्युजिकको ढुक्ढुकले खास आवाज आइरहेको थिएन । एकछिन बस्यौँ, चिसो पियौँ र एकैछिन नाच्यौँ पनि अनि निस्केर रुमतिर आयौँ । हाम्रो पछिपछि उत्तम लुङा र बालकजी पनि आउनुभएछ । पराजित दाजु र सेसेफुङ सेर्मा सर पछि कतिबेलाआउनुभयो, थाहा भएन ।
भोलिपल्ट सोमबार बिहान करिब १० बजे पराजित दाजुको कल आएर ब्युँझायो । साँझ दिपा अलि छिटै सुतेकोले ब्युँझिसकेकी थिइन् । सुष्मा र म मस्त निन्द्रामै थियौँ । ” लु छिटो उठ गजेदो जानुपर्छ, अलि टाढै छ । गएर क्याम्पिङको लागि सामग्रीहरू तयारी गर्नुपर्छ”। पराजित पोमु दक्षिण कोरियाको साहित्यिक बृत्तमा छुट्टै पहिचान बनाउनुभएको लेखकसँगै हामी उहाँलाई अभिभावक पनि मान्छौँ । त्यस्तै सेसेफुङ सेर्मा जो विगत लामो समय अघिदेखि गजेदोको डेउ कम्पनीमा कार्यरत हुनुहुन्छ । विशेष गरी यस पालीको गजेदो टुर उहाँको नेतृत्वमा हुँदैथियो । पराजित दाजुको कल काटिएपछि चाहेर पनि सुत्न पाइएन र छिट्छिटो तयारी गरेर निस्कियौँ ।
अघिल्लो दिनदेखि मौसम खराब थियो । खाना खाएर बुवन यक (ट्रेन स्टेसन)तिर मोडियौँ। झ्यार्र एकलट पानी पर्यो ।पसलको छाप्रीमा ओत लागेर ब्यागबाट छाँता झिक्यो फेरि पानी रह्यो । मौसम पनि यति रिस उठ्ने थियो कि, मिल्नेभए सिर्कुनाले स्वाम् कि स्वाम् पार्नुजस्तो । फुस्फुसे पानीमा भिज्दै नै सासाङसम्मको लागि ट्रेन चढ्यौँ ।सासाङ पुगे लगत्तै बसको टिकट पाइयो र बस चढेर गजेदोको गोह्यङ भन्ने ठाउँतिर हुइकियौँ । गोह्यङ भन्ने सहर गजेदोको मुख्य सहर रहेछ । डम्बर लुङाबाट थाहा भयो । र गजेदोमा विभिन्न घुम्ने ठाउँहरू रहेछ ।टर्मिनलको बाहिरपट्टि ती ठाउँहरूको आकर्षक तस्बिर राखेर नाम लेखिएको थियो । कुन ठाउँ जाने तत्अनुसार टेक्सी चढ्नुपर्ने रहेछ । गजेदोको बोटानिकल गार्डेन Oido जाने रहरहरू भए पनि आजको साँझ फुजुरा समुन्द्रको किनारमा क्याम्पिङ गर्नु थियो । तर अझैसम्म पनि मौसमले निहुँ खोजिरहेकै थियो । उत्तम लुङा, सुष्मा, दिपा र म टेक्सीमा फुजुरा समुन्द्र लाग्यौँ । सेसेफुङ सेर्मा सर, पराजित पोमु दाजु र डम्बर लुङा क्याम्पिङको लागि सामग्री बन्दोबस्ततिर अन्तै लाग्नुभयो । करिब २५ मिनेटपछि फुजुरा समुन्द्रको किनारा छेउ रोकियो टेक्सी । समुन्द्र सक्दो छाल हान्दै उर्लिँदै थियो । किनारामा छाँताहरू गाडिएकै भए पनि हावाले सकस दिइरहेको थियो ।
पौडी खेल्नको लागि प्रयोग गरिने ट्युवहरू किनारमै थन्किरहेको । फाट्टफुट्ट मानिसहरू तिनै रमिता हेरेर टहलिरहेका । साँझसम्मलाई एउटा छाता किन्यौँ । एउटा खाट तर ठुलै पुछपाछ गरेर झोलाहरू बिसायौँ । केही फोटो/भिडियोहरू खिच्यौँ थुप्रै कविता कृतिहरू लगेजबाट झिकेर समुन्द्रसँग साक्षात् गरायौँ । सुष्मा र दिपा कविता वाच्न थाल्यो । उत्तम लुङा र म पालैपालो छालहरूको फोटो लिनथाल्यौँ । एकछिनपछि टोलीहरू आइपुग्नुभयो जोहरू अघि छुट्नुभाको थियो । समुन्द्रबाट माथि उक्लिँदा, पराजित दाइ खर्बुजा काटिरहनुभएको, दिपा चट्पटे घोलिराको, सेसे सर सुकुटी खोलिरनुभाको, डम्बर लुङा बियर फोर्नु हुँदै, सुष्मा वाइनको बिर्को खोल्दै । हातमा मोबाइल बोकेर पुगेकी मलाई मोबाइल राखेर खानपिनमा सहभागी हुनुपर्ने आदेश सबैबाट आयो, उसै ज्ञानी भएर सुरु गरेँ । महङ्गो वाइन उसो त मन पर्दैन मलाई, जिब्रोले टेस्ट लिँदैन । कोरियामा पाइने सस्तो फोदोजु ( अङगुरको रस ) मनपर्छ, गुलियो हुन्छ । लामो समय राखेको अङ्गुरको रस नै हो ।
तीबाहेकका महङ्गो वाइनहरू निल्न मुस्किल पर्छ । तै पनि खायौँ, खसीको भुटन, चिउरा, सुकुटी, चट्पटे मिठो । खाँदै भए अलिलि कविताका कुरा, कोरियामा रहेका संघसंस्थाका समीक्षाहरू । अब साँझ परिसकेको थियो, समुन्द्रका छालहरू ठुलै आवाजमा उर्लिन थालेको थियो । सुष्मा र दिपा फोटो खिच्न दौडियो । सेसेफुङ सर र पराजित दाजुलाई फोटो खिच्न जानु न भनेको मान्नु भएन अनि म आफै कुदेँ । उहाँहरू खाएको सामानहरू थन्काउन थाल्नुभयो । टेक्सी आइसकेको रहेछ, समुन्द्रबाट हतार हतार पाइन्टभरि, खुट्टाभरि बालुवा बोकेरै दौडियौँ ।
अब पुग्नुथियो जाम्सिपो किनार ।
फुजुरामा स्विमिङ खेल्न नपाएको रहर यता होटलमा खेल्नु थियो तर समय धेरै भइसकेकोले बन्द भइसकेछ ।सामान्य रुम लियौँ र झोला राख्यौँ अनि उता समुन्द्रको बालुवा पखाल्यौँ, कपडा फेर्यौँ र फेरि हिँड्यौ साँझ सुस्ताउन । वरिपरि जङ्गलले छेकेको र तल टपक्क बसेको बटुकोजस्तै जाम्सिपो सहर। समुन्द्रको भागहरू छिरेर छप्लङ छप्लङ गरिबस्ने सामुन्द्रिक कुइनेटोहरू आकर्षक लाग्यो । अघि माथि जङ्गल भनिएको ठाउँतिर झिलिमिलि बत्ती बालिदिएर अँध्यारोलाई धकेलिदिएको । बाँस झ्याङतिर इलेक्ट्रोनिक बत्तीहरू जडान गरिदिएर झिलिमिली तिहार बोलाइदिएको । आहा, हामी हौँसिदै, रमाउँदै हिँडिरह्यौँ । छेउमै रहेको जून र घामको सुन्दर स्ट्याचु । उज्यालो घामलाई परिक्रमा गर्दै पोजपोजको फोटो खिच्दाखिच्दै झ्याप्प बत्ती निभ्यो, १० बजेछ । “यो बत्तीहरु १० बजेसम्म मात्रै बल्छ” सेसेफुङ सरले जानकारी गराउनुभयो । अनि सबै जना ओह्रालो लाग्यौँ । खाना खानु पनि थियो, अझै घुम्नु पनि थियो । मैले अघिदेखि मौसमसँग गुनासो गरिरहेकी छु, र अझसम्म पनि पानी झ्यार्र पर्छ, फेरि रोकिन्छ । फेरि पर्छ, रोकिन्छ। समुन्द्रको किनारमा हिँडिरहँदा यस्तो पटक-पटक भयो ।जिउको लुगा भिज्दै सुक्दै, सुक्दै भिज्दै भइरह्यो, हामी बेपर्वाह हिँडिरह्यौँ ।
अब साँझ निकै गढिसकेको थियो, धुमिल बत्तीहरूले उज्यालो दिन सकिरहेको थिएन, सेसेफुङ सरलाई पछ्याइरह्यौँ । उहाँले यस्तो ठाउँमा लानुभयो, हावाले उडाएर झण्डै आकाशमै पुर्यायो । बग्न नपाएर समुन्द्र सिमेन्टको वालमा ठोक्किँदै फर्किँदै, फेरि ठोक्किँदै फर्किदै गर्दाको कत्लङ कत्लङ आवाज मिठो सुनिन्थ्यो । समुन्द्रको रङ देख्नलाई उज्यालो थिएन, बहावको गति सुन्दै बतासको स्पर्श लिइरह्यौँ । बार नाघी गई ढुङ्गामा पराजित दाजु कविता फुर्यो भन्दै मोबाइलमा घोत्लिन थाल्नुभयो । डम्बर सुब्बा लुङाले चोटिलो २/४ शेर गजल वाचन गर्नुभयो । सुष्माले भोलि बिहान आई उक्त ठाउँमा कविता वाच्ने रहर गरिन् । दिपा पछाडिपट्टि गएर फोनमा बोल्दै थिइन् । उत्तम लुङा भिडियो खिचिरहनुभयो । सेसेफुङ सर हामीहरूको रहरको रमिता हेरिरहनुभयो ।
निक्कै बेरको यो माहोलपछि किनारै किनार फर्कियौँ । हामी समुन्द्रको किनारमा थियौँ तापनि बालुवा थिएन खुट्टामा यतिबेला । समुन्द्रलाई पनि डेकुरेट गरेको हुन्छ सायद मैले राम्ररी नबुझेको पनि हुन सक्छु । यतिबेला लहामी हिँडिरहेको किनारमा माछा मार्ने जहाजहरू लहरै थिएँ, यो माछा मार्ने ठाउँ हो, अनुमान गलत नहुन सक्छ । मान्छेहरू स्विमिङ गर्ने किनारा चाहिँ बालुवामय हुन्छ । जहाज अगाडिपट्टि बार लगाइएको छ, लाग्छ यो बार नाघेर जान मनाहि छ । हिँड्दाहिँड्दै फेरि एकझमट पानी दर्कियो । भएको छाँता पनि रुममै छ, हातले ओत लाग्दै हिँड्यौँ, काँचो माछा गन्हाइरहेको थियो, लाग्यो यो माछा बजार हो । अझ अर्को किनारासम्म पुग्नु थियो तर अब खाना खाएर मात्रै जाउँ भनेर खानाको लागि सिक्दाङ (रेष्टुरेन्ट) छिर्यौँ । दिपा र सुष्मा रुम गयो, भिजेको कपडा फेर्नलाई । बाँकी हामी चिसो कपडा शरीरमै सुकाएर यतै बस्यौँ । साङग्यपसाल ( पोलेर खाइने मासु ) कोरियाको निकै फेमस र धेरै खाइने खानामा पर्छ । पोलेको मासु हरियो सागमा लसुन लगायत बेरेर खानु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिन्छ । मिठो त यसै भइहाल्छ । साङग्यबसाल मगायौँ यो सिक्दाङ २४ घण्टे रहेछ । सेसेफुङ सर उहाँहरूको आइरहने थलो पनि रहेछ । “रातभरि काम गरेर बिहान ३/४ बजेतिर पनि आएर खान्छौँ” उहाँले भन्नुभयो । हामी झरररर पाकिरहेको मासुलाई मन लाग्दी खान थाल्यौँ । सुष्मा र दिपा अझसम्म आइपुगेका थिएन । डम्बर लुङाले बियरको बोत्तल तोड्दै खाली गिलासहरू भर्न थाल्नुभयो । मेरो भागमा आइपुग्यो एउटा भरिलो गिलास ईन्कार गर्न मन लागेन खम्बे (चियर्स) हानेर घुटुक्क पारेँ ।
हाम्रो गिलास आधा हुँदा दिपा, सुष्मा आइपुगे । उनीहरूको कोक खाने मनसाय अनुरुप कोक आइपुग्यो टेबलमा । एकछिन त चुप बसेँ, ठिकै हो नखानेलाई कर गर्नुहुँदैन । तर फेरि सोचेँ, दिनभरि थाकेको शरीर, पानीले भिजेको, दपेटेको शरीर औषधिको रुपमा थोरै खाँदा के हुन्छ ? र अर्को आफू खाँदै गर्दाको अहमता पनि मिसाएर कर गरेँ भनौँ न अलिलि नाना हुनुको घुर्की लगाएँ। उसै उनीहरू राजी भएँ, सोजु अलिलि मात्रै भए नि खानको लागि। आखिरी उनीहरूको आत्मीय नाना थिएँ म । एकलट हाँसेर गिलासहरु ठोक्कायौँ “खम्बे……” करिब २ घण्टासम्म बिताएर लाग्यौँ फेरि अर्को किनारतिर।अब भने रात छिप्पिएर मध्यरात भइसकेको थियो । अघिसम्म थुप्रै मानिसहरू देखिने किनारमा हामी बाहेक कोही थिएन । बिना छाल चुपचाप जमिरहेको समुन्द्र ऊ पारीपट्टिको बत्तीलाई छाँतीमा बालिरहेको र रश्मीहरू आफू वरिपरि छरिरहेको दृश्य देख्न सकिन्थ्यो । समुन्द्र बाहिर बार लगाइदिएको र बार बाहिर सिमेन्टको सिँढी र अलिमाथि ग्राउण्ड र ग्राउन्ड बाहिर सहर । सुन्दर शालिन सहर दृश्यावलोकन गर्दै त्यही सिँढीमा बस्यौँ । बारमा विभिन्न व्यक्तित्वहरूको भनाइसहित तस्बिर राखेर टाँगिएको थियो । “यो पनि कुनै कविहरूको कविता होला नि ?” सुष्माले गहिरिँदै जिज्ञासा राखिन् र पोष्टरमा ध्यान दिएर पढ्न थालिन् । नेपालमा पोष्टर कविता भनेर जुन चलन छ ठिक त्यसकै झल्को दिने पोष्टरहरू पर परसम्म हेरिरह्यौँ ।यतिबेला सुष्मा रानाहँमा र सेसेफुङ सर को ‘कवितामा मिथक’ टपिकमा राम्रो छलफल भइरहेको थियो । मलाई खुराक मिलिरहेको थियो । त्यस लेकताबाट ल्याउनुभयो थाहा भएन तर हातमा फेरि वियरको कप आइपुग्दा झसङ्गै भएँ, “खाने, पिउने क्रम सिक्दाङमै सकिएको होला भनेको त अझै पो छ को?” सबैजना हाँस्नुभयो । “अब यो लास्ट हो, भोलिदेखि नपिउने” सेसेफुङ सरले भन्नुभयो। फेरि हाँस्यौँ गलललललल।
त्यहाँ हामीलाई अवरोध कसैको थिएन । स्वतन्त्र थियौँ हाँस्न, बोल्न र हल्ला गर्नलाई ।
भोलिपल्ट ब्युँझिन मुस्किल पर्यो । ११ बजिसकेछ। धन्न सुष्मा ब्युँझेछ र उठायो हामीलाई । त्यसो त कोरियामा ठिक १२ बजे रुमबाट निस्किसक्नुपर्छ। आफ्नै टाउको भारी बनेर थिचिराखेको । जाँगर पुरै माइनसमा। मुखै नधोई कफी बनाएर खाएँ टाउको फ्रेस होला कि भनेर बीसको उन्नाइस भएन । दिपालाई पनि कफी दिएँ र बाथरुम छिरेँ । चिसो पानीले नुहाँउँदा पनि खास फ्रेस भएन । सुत्नलाई समय थिएन आज त रुम फर्किनुपर्छ ।दाइहरू झन् सुतिजानु भएछ । हिजो हामी तीनजना फर्किँदा उहाँहरू किनारमै हुनुन्थ्यो । ढिलो सुत्नुभयो सायद।
सुष्माले कल गर्दा कसैले उठाउनु भएन । र ढोका नक गर्न गइन्। दाइहरूलाई उठाएर आइन् सुष्मा । १२ बज्न बाँकी हुँदै रुमबाट निस्कियौँ हामी, र खाल्बीथाङ ( गोरुको हेकुलाको सुप ) पाइने सिक्दाङ् (रेस्टुरेन्ट) गयौँ। खाल्विथाङ् सारै मिठो र तागत दिने सुप भनेर कोरियामा भन्छन् । तर सबै नेपालीहरूले खाँदैनन् । हो, त्यही सुप खायौँ । अलिलि तागत लगायौँ । टेक्सी चढ्यौँ अब हामी गोह्यङ आउँदैथियौँ। त्यहाँ ऐतिहाँसिक युद्वपार्क घुम्नु थियो । समय छोटो थियो, हामी त्यो ऐतिहासिक पार्कभित्र छिर्यौँ । गेटैमा उत्तर कोरिया र दक्षिण कोरियाको युद्धताकाका सम्मिलित राष्ट्रहरूको झण्डा फर्फराइरहेको थियो । र युद्धपार्कलाई इङ्गित गर्ने गरी भित्तामा दोहोरो आक्रमणको स्ट्याचु राखिएकोथियो । त्यतिबेला दक्षिण कोरियाले उत्तर कोरियाली सैनिकलाई बन्दी गराएको अर्थात् जेल बनाइएको ठाउँ रहे । यो कुरा सेसेफुङ सेर्मा सरले बताइरहनुभयो । युद्धका डरलाग्दा मेसिनगनहरू जस्ताको त्यस्तै प्रदर्शनमा राखिएको । त्यतिबेला प्रयोग गरेका हतियारहरू, बन्दुक, जीप, हवाइजहाज र गोरुगाडाहरू समेत प्रदर्शित यो गार्डेन घुमिरहँदा छुट्टै प्रकारको भाव उद्वेलित भइरहेको थियो जुन शब्दमा वर्णन गर्न सकिन्न ।
बिस्तारै घुमेर युद्धका अनुहारहरू स्पष्ट नियाल्नु थियो तर समय थिएन हामीसँग त्यसैले हतार हतार घुमिसक्यौँ । त्यस अलावा मनोरञ्जनका लागि मनोरेल, जिपलाइन पनि रहेछ । दिपाको उत्कट रहरमा साथ दिँदै सुष्मा, डम्बर लुङा र म पनि जीपलाइन चढ्ने भयौँ । बाटो छोटो तर जिकज्याक बढी राखेकोले खतरा थियो । सुरुमा दिपा, लगत्तै सुष्मालाई पठाइसकेपछि डम्बर लुङालाई निकैबेर होल्डमा राख्यो । तल ल्यान्ड गर्ने ठाउँबाट आइपुगेको संकेतपछि माथिबाट पठाउने रहेछ । डम्बर लुङालाई किन धेरैबेर होल्ड गरायो भनेको त सुष्मा सरर नझरेर अड्किएर बसेछ तल । र स्वयंसेवकले खुट्टाबाट नातेर ल्याण्ड गराएछ। यो कुरा दिपाले खिचेको भिडियो हेरेर थाहा भयो ।हाँसेर मुर्छा परेको पनि अविष्मरणीय नै छ । जीपलाइनको रोचक कहानी गर्दै सडकतिर झर्दै थियौँ । सुष्मा अड्किएको सन्दर्भमा बोल्दै उत्तम लुङा जोक गर्न थाल्नुभो, “पछाडिबाट लात्तीले भ्वाक्क हान्नुपर्ने अनि एकैचोटि सुष्मा मिस उ पर….” हामी फेरि गललल हाँस्यौँ । समय घर्किसकेको थियो। हतार हतार टर्मिनल आयौँ र सासाङको टिकट काटेर बस चढिहाल्यौँ । यतिञ्जेल हामीलाई गार्डको रुपमा घुमाउनुहुने आदरणीय कवि/समालोचक सेसेफुङ सेर्मा सर छुट्दैहुनुन्थ्यो । उहाँलाई जति दिए नि कम हुने धन्यवाद बाहेक अरु कुनै शब्दै थिएन, उहाँलाई त्यही धन्यवाद छोडिराखेर छुट्टियौँ ।
थाकेर ज्यान पुरै शिथिल भइसकेको थियो । बसको यात्राभरि दिपा निदायो म पनि सुतेँ । अनिँदोले निकै कमजोर बनाउँदो रहेछ मान्छेलाई महसुस भयो । सासाङ झर्यौँ दिपा र उत्तम लुङाको फर्किने टिकट ५ बजेको थियो । त्यसैले हतार हतार टेक्सी चढेर बिदा गर्यौँ । यता सुष्मा, डम्बर लुङा र अन्य साथीहरू पनि मासानतिर जानुभयो। पराजित दाजु बुसान स्टेसनतिर हुइकिनुभो र म किम्हेतिर प्रस्थान गरेँ ।
एकछिन अघिसम्म एक भई यात्रामा सरिक हामी अब छुट्टिएर यत्रतत्र हुँदै आ-आफ्नो गन्तव्यतिर जाँदै थियौँ । भेटिनुको उत्साह छुटिनुमा हुँदैन थाहा छ । तथापि छुटिनु नै छ फेरि। यो छुटाइले फेरि अर्को भेटको दिशा तय गरिदिनेछ। रात साँझमा कोठा आइपुगेँ । म भए मात्रै उज्यालो हुने मेरो कोठा सन्नाटामा गजधुम्म रहेछ । आफूलाई पनि केही गर्न सक्ने जाँगर नभएकोले ओछ्यानमा यत्तिकै ढलेँ । शरीरले विश्राम पायो, निदाएँ । बिहान उठ्दा चिरिक्क टाउको रन्किएको महसुस भयो । लाग्यो, अझै निन्द्रा पुगेको छैन र फेरि दिनमै सुतिदिएँ तर अब भने निदाउन सक्न छोडेँ । टाउको यति जोडले दुख्न थाल्यो कि, मानौँ टाउकोभित्र एउटा डल्लो ढुङ्गा छ र त्यो ढुङगा टाउकोलाई ग्राउण्ड बनाएर फुटबल खेलिरहेछ । उठेर बस्ने स्थिति थिएन, सिरानीमै लडाउँदा पनि सहन सकिन । आँखाको दाना बाहिर निस्केला जस्तो हेर्नै सकिन । भोलिदेखि काममा जानु छ, आफ्नो हालत यस्तो छ । उता दिपा, डम्बर लुङा, पराजित दाजु उहाँहरू पनि सिकिस्त भन्ने खबरले मन त्यसै आत्तियो । रातभरि नानाथरि सोचेर ब्युँझिरहेँ । बिहानीको ४ बजेतिर सुष्माले कल गरिन् । टाउको नदुखेको जाँगर चाहिँ नभएको तर निदाउन नसकेको उनले बताइन् । मैले मेरो अवस्था सेयर गरेँ । यतिबेला कोरोनाको पाँचौँ भेरियन्टले कोरियामा हर्कत गरिरहेको छ । अलिलि बिरामी हुनु बितिक्कै मन त्यहीँ पुग्दो रहेछ ।
बिहान भयो, काममा आउन नसक्ने कुरा साहुलाई बताएँ र मेडिकल गएँ । आजै फेरि चेकप क्लोज रहेछ र कोरोना किट र औषधिहरू लिएर रुम आएँ । हल्लिने टाउको कम होला कि भनेर मेडिसिन खाएँ, एकछिन निदाएँ र किट लिएर बसेँ । रिजल्ट नेगेटिभ देखायो । पत्याइनँ, राम्ररी गरिँन कि आफैंलाई शंका गरेँ । किट अर्को पनि भएकोले फेरि गर्छु सोचेँ । र फेरि सुतेँ करिब ३ घण्टापछि ब्युँझिँदा टाउको हल्का भएको थियो, शरीर चङ्गा थियो । आशा जाग्यो आफ्नै जीवनसँग । तर जाँगर थिएन, केही खाउँ पनि थिएन । जबर्जस्ती खाना बनाएर खाएँ र निदाएँ । आज बिहान अलि ढिलोसम्म सुतेछु, सपनाले ब्युँझायो । सपनामा बाघ र सिँहले खेदाएर खोलामा हाम्फालेको थिएँ। डराउँदै ब्युँझेँ, दिपाले भिडियो कल गरिन्। नुहाएर बसेकी उनी फ्रेस देखिन्थिन्, अलि ठिक भएको बताइन्। उनलाई देखेर तङग्रिने कोसिस गरेँ । उठेर रुम सफा, नुहाइधुवाइ गरेर ओछ्यानमा पल्टिएँ। निन्द्रा लागेन। अनि लेख्न बसेँ, गर्मी बिदाले दिएको मस्ती र सास्ती ।
जीवनको अन्तिम लहराहरूमा झुण्डिँदै भए पनि बाँच्नुपर्ने कठिन अवस्थाहरू नै सायद जीवित हुनुको परिचय रहेछ । समयको छाललाई रोक्न सकिन्न, बरू त्यो छालसँग लय मिलाएर बाँच्नुपर्ने रहेछ, जसरी किनारा समुद्रको छालसँग निस्फिक्री खेलिरहन्छ छालले बनाउने तरङ्गसँगै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।