भिमानबाट ठ्याक्कै पारिपट्टि म जन्मिएको गाउँ छ । मेरा लागि यात्राका क्रममा केहीबेर समय बिताउने, थकाइ मार्ने वा अर्को यात्रामा निस्कनका लागि प्रतीक्षा गरिने प्रतीक्षालय मात्र थिएन गौरनटोल । जति समय मैले गौरनटोलमा बिताएँ खुब आनन्द र सन्तुष्टिका साथ बिताएँ । त्यसैले त आज पनि स्मृतिमा ताजै छ । त्यो गाउँठाउँ,खोलानाला जङ्गल , हाट बजार जम्मै तस्बिर बनेर नाचिरहन्छ मानसपटलमा ।
कमलाको खोंचमा एक टुक्रा जमिन वर्षौंदेखि लम्पसार परेर , शिखरको डाँडालाई बेसीबाट मुसुमुसु हाँस्दै हेरिरहेको छ । उसको हाँसोमा हाँसो मिलाउन कमलाको पानीले पनि साथ दिन्छ । पारिबाट चुरेको जङ्गलले पनि रिस र डाह गर्दैन । शिखर र बेसीको सदियौंदेखिको प्रेमालाप देखेर गौरनटोल हाँसेको छ, बाँचेको छ । उत्तरपट्टिबाट मटेरी खोल्सोले गौरनटोललाई सुसेली काढ्दै जोड्ले बोलाउँछ । गौरनटोललाई सम्मान गर्दै गएर कमलासँग हातेमालो गर्छ । खोला र खोल्साको बिच्चमा हाम्रो गौरनटोल शान्त र स्थिर छ ।
आजसम्म पनि त्यो भूगोलमा खासै परिवर्तन आएको छैन । तर त्यो भूमिमा मेरो भूमिका विलुप भएको छ । त्यसैत्यसै मख्ख पर्छु जब विकासका पूर्वाधारले मेरो गौरनटोलमा छोएर समृद्ध बनाएको छ । अझ प्रविधिले सुनमा सुगन्ध थपेरे चिटिक्क पारिदिन्छ ।
वर्षौं भयो मैले त्यो भूगोललाई छोडेर हिँडेको । तर पनि आँखामा त्यही भूगोल नाच्छ । आज पनि त्यही भूगोललाई स्वर्ग ठान्छु, आफनो मान्छु । जीवनले चालीस वसन्त पार गरेर असङ्ख्य अनुभूति बटुलिसक्दा पनि खोइ किन हो स्मृतिको पोयोमा हुरूरू गौरनटोल नै अगाडि आउँछ। तर म अब पराइ भइसकेँ रे । मेरो गोत्र सरेर अर्कै गोत्र भइसकेको छ रे । आज म बसेको भूगोल त्यो भूगोलभन्दा कोसौं पर छ । अब म पाहुना मात्र हुन सक्छु रे, यस्तै संस्कारमा हुर्किएँ । मेरो भावना र संवेदनाको कुनै मूल्य छैन । अब त म मेरै आँगनमा पनि लगातार गएँ भने प्रश्न उठ्न सक्छ । त्यहाँको माटो सुमसुम्याएँ भने शङ्का उब्जिन सक्छ । भन्नेले भन्नेछन् मेरो भावना नबुझिकन । जमिनको भाउ बढेर मेरो पाउ परेको रे । सुन्नेहरू पनि झसङ्ग भएर हठात् हुनसक्छन । अरुले जे जे सोचे पनि मेरो मन र मस्तिष्क त्यहाँबाट सर्न मान्दैन । म मेरो माटोलाई माया गर्छु । म जमिनको सौदागर होइन । जीवनको अठार वसन्त बिताएको त्यो ठाउँ अझ बालापन हाँसेको त्यो गाउँ म कसरी बिर्सौं ।
बालापनका घटनाहरू शब्द बनेर मेरो मगजमा उदण्ड मच्चाउन थाल्छन् । अरूको लाख आमाको काख भनेझैँ । सुविधा सम्पन्न भूगोलमा यो शरीर भए तापनि मस्तिष्कमा गौरनटोल नाच्छ । त्यो बालापन हुर्किएर प्रौढ भइसक्दा पनि सदासर्वदा बाँचिरहन्छ, हाँसिरहन्छ।
आज म स्वच्छन्द भएर त्यहाँ विचरण गरेको देख्दा शंकास्पद आँखाले मलाई घेर्छ । म त्यो माटोमा मेरो बालापन भेट्छु । मैले बिताएका स्वर्णिम पलहरु देख्छु । मेरी आमाको पोटिलो गाला देख्छु, हँसिलो मुहार देख्छु । मेरी आमा सधैँ जवान भएर कुदिरहेको, हिँडिरहेको, बोलिरहेको झल्लझली देख्छु । मेरा आँखाबाट त हेर, एकचोटि मेरो गौरनटोललाई । तब देख्नेछौ वास्तविक दृश्य । अनि भिज्नेछन् तिम्रा पनि आँखा । अनि बुझ्नेछौ मेरो भावना ।
एकान्तमा सम्झनाका तरेलीहरु शब्द बनेर दिमागमा आउँछन् अनि औँला हुँदै कलमको माध्यमबाट कागजमा पोखिन्छन् । जमिनको मूल्य लगाउनेलाई के थाहा ? माटोको सुगन्ध कस्तो हुन्छ ? पैसाको लागि इमान बेच्नेलाई के थाहा इतिहास अमूल्य हुन्छ भनेर । संकुचित विचार र दोषी चस्मा लगाएका आँखासँग हुन त के अपेक्षा गर्नु भो ! दोष पनि दिन्नँ । त्यो इतिहास मेरो मस्तिष्कमा अमिट छाप बनेर बसेको छ । बिस्तारै मेरो स्मृतिको पोयो खोल्दै जानेछु ।
माथि चोटाको छेउमा काठको बिरेन्ची (बेन्च) वर्षौंदेखि गजधम्म बसेको थियो । बिरेन्चीको सोझै पूर्व फर्किएको कोठाको झ्यालबाट दक्षिणतिर हेर्दा हरिया खेतका फाँटहरूले मलाई उर्जा दिन्थे । मौसमअनुसार धान,मकै र गहुँका बालाहरू मस्त झुलेर नाचेको देख्दा मेरो प्रशन्नता अझ बढ्थ्यो । आँखाले सानो कुलो, बेलबेटी कुलो छिचोल्दै पर-परसम्म नियाल्दा उराठलाग्दा कमलाका बगर छर्लङ्ग देखिन्थे। खोला पारी चुरेको जङ्गलले बाँकी भूगोललाई अदृश्य बनाएर मेरो दृष्टि साँघुरो पार्थ्यो । अनि कानैमा एकोहोरो सुसाएको खोलाले मेरो पहिचान स्पष्ट गर्थ्यो र खोलाबाट आउने संगीतले हरेक बिहान मलाई आल्हादित पार्थ्यो ।
पूर्वपट्टिको क्षितिजबाट रातो भकुण्डोजस्तो सूर्य फुत्त निस्किन्थ्यो । सूर्यका किरणहरू झ्यालको चेपबाट सुटुक्क भित्र पसेर मलाई सुम्सुम्याउँथे । अनि जीउ तन्काउँदै बाहिर आएर सूर्यको तेजसँगै तेजिलो हुन्थेँ ।
पानी परेर धुम्म परेको दिन म पनि धुम्मिन्थेँ। मेरो उत्साहलाई जीवन्त राख्नको लागि सूर्यको लाली अपरिहार्य नै थियो । मौसम धुम्मिएको दिन कोठाबाट बाहिर आउनै मन लाग्दैन थियो । आलस्यका साथ,जबर्जस्त आउनु पर्थ्यो । बुझेको थिइन प्रकाश र जीवनको रहस्य । तर पनि म रमाउँथेँ उज्यालोसँग । म फुल्थेँ सूर्यमुखी फूल रविका किरणसँग फुलेझैँ । म हाँस्थेँ फेवातालमा माछापुच्छ्रे हाँसेझैँ।
होहल्लाबाट कोसौँ टाढा एकान्त , चकमन्न र शान्त गाउँ । शान्तिलाई चिर्दै पर-परबाट मिलको ( पिसान,कुटानको ) आवाज टुक- टुक टुक गरेर एकोहोरो आइरहन्थ्यो । त्यो आवाजलाई ध्यान दिएर सुन्दा ऎनि ! भनेर एकनासले कसैले बोलाएझैँ लाग्थ्यो । जसले सुन्यो त्यो आवाज उसको सोचअनुसार सुनिन्थ्यो । मिलले हाम्रो नाम बोलायो भनेर हामी भुरा खुसी हुन्थ्यौँ। पाङ्ग्रे कुकुर पनि हाँस्थ्यो हामीलाई देखेर । जस्तो परिस्थितिमा पनि खुसी हुने अचम्मको बानी थियो । सायद बाल्यकालमा आत्मज्ञान स्खलित भइसकेको थिएन । हाँस्नलाई केही चाहिँदैन थियो । सदा प्रफुल्ल, सधैँ मस्तिमा हुन्थ्यौँ । वर्तमानमा बाँचेका थियौँ ।
स्कुल जानुभन्दा अगाडि त्यही बिरेन्चीमा किताब कापी ठिक्क पारेर राख्थेँ ,लुगा राख्थेँ । ब्याग खाजा र पानी बोक्ने चलन नै थिएन । भोक र प्यास खप्न सक्ने तागत थियो । स्कुलबाट आएपछि पनि त्यहीँ लुगा फेर्थें, खाजा खान्थेँ, पढ्थेँ, लेख्थेँ र आराम गर्थें ।
कहिलेकाहीँ बिरेन्चीमा बसेर बलेसीमा झरेको पानी हेरिरहन्थेँ । आकाशमा ठूलो समुन्द्र छ । समुन्द्रका जीवहरू झगडा गर्दा पानी हल्लिएर पृथ्वीमा झरेको हो भन्ने विज्ञान पालेको थिएँ । अनि कुद्दै तल गएर बलेँसीको पानीमा माछा खोज्थेँ । अचम्मको सोचाइ थियो, खोइ कसले भरिदिएको थियो कुन्नी मगजमा । आकाशको समुन्द्रबाट माछाहरू उछिट्टिएर मेरै आँगनमा आउँछन् भनेर । माछा नभेटेपछि कागजको डुङ्गा बनाएर खेल्थेँ ।
छानाबाट झरेको पानीको आवाजमा संगीत सुन्थेँ । सुनसान गाउँमा त्यो संगीत पनि निकै मिठो लाग्थ्यो । परेवाहरु माकुर – माकुर गर्दै पानीमा जिउ भिजाउँदै पखेटा फट्फट्याएको हेरेर दङ्ग पर्थें । कहिले त्यहीँ बसेर पोलेको मकै र ताजा मोही घुटुघुटु पिउँथेँ । परेवाहरुसँग संवाद गर्दै हाँस्थेँ , बोल्थेँ ।
आकाशमा भिज्दै उडेका चराहरूलाई देखेर घरको महत्त्व बुझ्थेँ । हाम्रो घरभन्दा अनि पर ठूलो सिमलको रुख थियो, निकै अग्लो । रुखको माथि-माथि चराहरूले अचम्मको गुँड बनाएका हुन्थेँ । कुनै इन्जिनियरले बनाएको उत्कृष्ट रचनाझैँ लाग्थ्यो, ती गुँडहरू । सोच्थेँ यी चराहरू मान्छेसँग पो कुरा गर्न पो जान्दैनन् त ! तर हामीलाई सिप सिकाउँन कन्जुस्याइँ कहिल्यै गर्दैनन् । अचम्मको धोक्रोजस्तो तुर्लुङ्ग झुन्डिएको गुँड हुन्थ्यो । कसरी र कहाँ बसेर बनाए होलान् चराले त्यस्तो कलात्मक गुँड , म छ्क्क पर्थें । अरुलाई सुनाउँदा हाँस्थे । भिज्दै उडेका चराहरू सिमलको रुखमा पुगेर फुत्त गुँडमा पस्थे अनि मलाई आनन्द लाग्थ्यो ।
त्यही बिरेन्चीमा बसेर सबै मौसमहरुको आनन्द उठाउँथेँ । आमासँग रेडियो नेपाल सुन्थेँ । रेडियो नेपालमा बाल कार्यक्रम , घटना र विचार । दाहाल यज्ञनिधिको साहित्य समचार । बोली निकै मीठो लाग्थ्यो दाहाल यज्ञनिधिको । नबुझे पनि कविता वाचन गरेको सुन्दा खुसी हुन्थेँ । कथा चनाखो भएर सुन्थेँ आज पनि त्यो मीठो आवाज मेरो कानमा गुन्जिन्छ ।
बिरेन्चीमै बसेर कहिले भुटेको मकै चपाउँदै एकोहोरो शिखरको डाँडातिर हेर्थें । शिखरको डाँडामाथि माधव शमशेरको दरबार थियो । दरबार कस्तो होला ? त्यहाँ के होला ? बारम्बार सोच्थेँ अनि आफ्नै दिमागमा कल्पना गर्दागर्दै । बिरेन्चीमै भुसुक्कै निदाउँथेँ ।
मट्टीतेलले उज्यालो किन्नु पर्ने समय थियो । अझ भारतले नाकाबन्दी गर्दा मट्टीतेलको हाहाकार नै भएको थियो । गाउँलेहरू भरसक सबेरै खानपिन गरेर उज्यालैमा बिस्तरामा पुगिसक्थे । निस्पट्ट अँध्यारो रात हुन्थ्यो, मलाई अँध्यारोमा निकै डर लाग्थ्यो ।
खोलातिरबाट स्यालहरू कोकोहोलो गर्दै कराउँथे । गाउँमा कुकुरहरू स्यालहरू सँगसँगै कानै खाने गरी भुक्थे । एकोहोरो लाटोकोसेरोहरू पनि चित्त नबुझेर कुलुलुल्ल कुलुलुल्ल गर्दै कराउँथे । लाटोकोसेरोलाई जिस्क्याउँदै मयुँरहरू डाँडै थर्काउने गरी कराउँथे ।
कहिले मयुँर र लाटोकोसेरोको दोहोरी चल्थ्यो भने कहिले स्याल र कुकुरहरूको दोहोरी । सबै शान्त हुँदा झ्याँउकिरी कराउँथ्यो । कहिले बिरालो र मुसाको घम्साघम्सी चल्थ्यो । हुँदाहुँदै कानैमा आएर बिरालो म्याउँ- म्याउँ गर्थ्यो । कहिले त मुसा मारेर मुखमा झुन्ड्याउँदै ल्याउँथ्यो । बेलाबेला गाईबस्तुहरू पनि कराउँथे । रात छिप्पिदै गएपछि ठुल्दिदीको घरको भैँसीले खाँबोमा एकनासले सिङ्ग ठोकिरहन्थ्यो ट्वाङ्ग ट्वाङ्ग । त्यो आवाजले मेरो निद्रा सधैं बिथोलिदिन्थ्यो । थाहै नपाई म पनि ओछ्यानमा सुतिसुती ठुल्दिदीको भैंसीले जस्तै गोडाहरू एकापसमा ठोक्न थालेछु। ती आवाजहरूदेखि निकै डर लाग्थ्यो । अनि थर्थर काँप्दै आमानेर लुसुक्क टाँसिन पुग्थेँ ।
बिरेन्चीभन्दा उत्तर गौरनबाजे र झुँगेलीबाजेको घर थियो । गौरनबाजेको नामबाट हाम्रो गाउँको नाम गौरनटोल भएको रे । गौरनबाजेको सम्झना त्यति छैन । झुँगेलीबाजेलाई आज पनि दाँत माझ्दा सम्झन्छु । मेरा यी मिलेका दाँत झुँगेली बाजेले फुकालिदिएका हुन् । हाम्रो गाउँमा प्रायः सबै केटाकेटीको दाँत फुकाल्ले काम बाजेले गर्थे।
झुँगेलीबाजे मलाई सधैँ माया गरेर , ए घोले , भन्दै बोलाउँथे । मलाई थाहा छैन बाजेले मलाई जाँड मात्तिने गरी खान दिएको कथा । माझी गाँउमा हुर्किएको बच्चो जाँड र सेजोसँग ठुलै हुँदा पनि चिरपरिचित नै थिएँ । तर बुझ्ने भएपछि खाएको याद छैन । बाजेलाई तोते बोलीमा भन्थेँ रे “बाजे घोले थाने ” अनि मेरो नाम घोले राखेका रे ।
गाउँभरिका गाईबस्तु चराउने जिम्मा झुँगेली बाजेको थियो । बगरतिर सबैका गाईबस्तु चराउन लैजान्थे बाजेले । मेरो स्कुल जाने बेला र बाजेको बगर जाने बेला सँगसँगै हुन्थ्यो । बाजेलाई गाईबस्तु हेरिदिए बापत सबैले धान दिन्थे, त्यो पनि मंसिरमा। गाईबस्तु कहिले कोरङ्ग खोला त कहिले चँदा खोलातिर लैजान्थे । कोरङ्गबाट आउँदा सिमलको रुखमा बनाएको गुँडजस्तै धोक्रोमा अँगेरी र थाकल ल्याइदिन्थे ।अँगेरी खाएर जिब्रो कालो पार्दै देवीको नक्कल गर्दै हामी केटाकेटीहरू डगरतिर दगुर्दा झर्को मान्दै ठुल्लो स्वरमा कराउँथे, ” ल्या त लाठी ” । हामी चितुवा दगुरेझैँ बेपत्ता हुन्थ्यौँ ।
गाईगोरु ल्याएर घर फर्केपछि बाजे पिँढीमा बसेर माछा मार्ने जाल बुन्थे । जालको तल गट्टा राखेको हुन्थ्यो । ती गट्टा एक आपसमा ठोकिँदा मिठो संगीत बज्थ्यो । बाजेले बुन्दै गरेको जालको गट्टा चलाउँदा दिक्किएर ” यो काठीलाई अहिले , कान काटिदिन्छु भन्दै चोयाको टुक्रो लिएर कान काटेझैँ गर्थे । म चिच्याउँदै भाग्थेँ । बाजे खाली हात एकछिन बस्दैनन् थिए । बाँसको चोया र कप्टेराबाट ढडिया,खोङ्गा बुन्थे । दाम्लो ,नाम्लो पनि बाजेकै हातबाट उत्कृष्ट बन्थे । गाईगोरुलाई लगाउने मुखौरो पनि बाजेले नै बनाउँथे । गोरुहरू पनि मख्ख पर्दै बाजेले बनाएको मुखौरो भिरेर खेत जोत्थे ।
बाजे झारफुक्क पनि गर्थे । मलाई पनि आमाले केही हुँदा कति चोटी फुक्न जा भन्नुहुन्थ्यो । म पनि जान्थेँ । म एकोहोरो बाजेलाई हेरिरहन्थेँ खोइ के के भन्थे कुन्नि अन्तिममा चाहिँ “बाच्चाले झार्यो फू फू फू ” गरेर खरानीको टिको निधारमा लगाइदिँदै “भरे घाम डुब्बे बेलामा फेरि आउनु एकचोटि” भन्थे । अचम्मको शक्ति थियो धेरैचोटि यसरी समस्याको समाधान पनि भएको थियो ।
झुँगेलीबज्जैलाई हामीले देखेनौँ । तर बाजे जाँड खाएर मातेपछि बेलाबेला श्रीमती सम्झेर गाउँ नै थर्कने गरी रुन्थे । श्रीमतीको बिछोडको पीडा रुँदै हामी भुरालाई सुनाउँथे । हामी भुरालाई के थाहा पत्नीको वियोगमा रोएको मनको व्यथा । बज्जैको निकै प्रशंसा गर्थे । बाजे भन्थे, ” रनेकी आमा निकै राम्री थिइन् ।” अहिलेका आईमाईहरू रनेकी आमाजस्तो कहाँ पाउनु । भावुक भएका बाजे रुँदैरुदै छोराबुहारीलाई पनि घुर्की देखाउँथे । घर छोडेर हिँड्छु भन्दै सामान पोको पार्थे । गोजीमा नागरिकता हालिहाल्थे । बाजे रोएको मलाई सार्है नरमाइलो लाग्थ्यो । बिरेन्चीमा बसेर म हेरिरहन्थेँ कति चोटी बाजेसँगै म पनि रोएको छु ।
आमालाई भन्थेँ, “आमा ! झुँगेलीबाजेलाई रोक्नु न घर छोडेर जान लागे । कति रोएका छ्न्,बिचरा ।”
“भोलि बिहान जाँडले छोडेपछि सबै ठिक हुन्छ, पिर नगर ,सुत ।” आमा मलाई सम्झाउनु हुन्थ्यो ।
बिहान सबै फेरि उस्तै हुन्थ्यो । आमाले भनेझैँ म पनि स्कुल जान्थे बाजे गाईबस्तु लिएर बगरतिर वर्षौंसम्म झुँगेलीबाजेको दैनिकी यसरी नै बित्यो ।
एकदिन त्यही बगरमा कहिल्यै नफर्किने गरी सदाका लागि झुँगेलीबाजे निदाए । आज पनि म कमलाको बगरमा बाजेलाई गाई चराइरहेको देख्छु र झसङ्ग हुन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।