मान्छेको इच्छा, आकांक्षा पनि अनेक हुन्छन् । कति पूरा हुन्छ । कति मरिमेट्दा पनि पूरा हुँदैन । मेरो यस्तै इच्छा थियो वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्ने । उहाँलाई भेट्ने र कला, साहित्यको कुरा गर्ने । अनि सँगै फोटो खिच्ने । तर, भेट्ने कसरी ? कसले मलाई त्यहाँसम्म पुर्याइने दिने ? काठमाडौँ गएको बेला सधैं मेरो मानसपटकमा कुराहरु खेल्दथे ।
तीन वर्षअघिको कुरा हो । सुरेश राउत दाइलाई संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट्ने वातावरण बनाइदिन आग्रह गरेको । कहिले मेरो समय नमिल्ने, कहिले उहाँको । यो क्रम चलेको चल्यै रह्यो । यसपटक दुई दिने सोसियल मिडिया ह्याण्डलिङ सम्बन्धी कार्यक्रमको लागि दोलखाबाट काठमाडौं गएको थिएँ । कार्यक्रम बिहान १० बजेदेखि भएकाले बिहानको समय सदुपयोग गर्ने योजना बन्यो । बिहान लगभग ८ बजेतिर बसन्तराज कार्की दाइलाई फोन गरेँ । दाइ संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट्न जानुपर्ने, तपाईंले समय मिलाउनुस् न भनेँ । उहाँले म फोन गरिहाल्छु भन्नुभयो । म सुन्धाराबाट अघि बढ्दै थिएँ । फोन फिर्ता आइहाल्यो । लु पुल्चोकमा भेटौँ भनेर । हस् त भनेँ तर मनमा अनेकौँ कुराहरु खेल्न थाल्यो । म कसरी प्रस्तुत हुने भनेर । म के गर्ने भनेर सोच्दासोच्दै पुल्चोक पुगेँ । ४५ मिनेट जत्ति बसन्त दाइलाई कुरेँ । बसन्त दाइ आउनुभएपछि बखुमबहालस्थित संस्कृतिविद् सत्यमोहन जोशीको घरतर्फ लाग्यौँ ।
उहाँको घरतिर जाने बाटोघाटो सबै सम्पदामय लाग्यो । बिस्तारै हेर्दै हेर्दै जान पाएको भए धेरै कुराहरु देख्न पाइन्थ्यो होला । तर हतार भएकाले हतार हतार अघि बढ्यौँ । घरमा पुगियो । बसन्त दाइले मसिनो स्वरमा ‘बा खै त’ भन्नुभयो । आमाले भित्र हुनुहुन्छ । उतापटि बस्दै गर्नुस् । म बोलाई दिन्छु भन्नुभयो । लोकसाहित्य परिषद्, सत्यमोहन जोशी लोकसाहित्य सङ्ग्रहालय अघि कुर्सीमा कुरिरह्यौँ । यहाँ आउने दुईवटा बाटा रहेछन् । नजिकैबाट छिर्नुहुन्छ होला भन्ने प्रतीक्षामा थियौँ दुवैजना । गेटको ढोका गढ्याङ गढ्याङ गर्न थाल्यो । म ढोका खोल्न निस्केँ । दायाँ हातमा एउटा लठ्ठी टेक्दै, हसिला मुहारमा वहाँ अघि बढेको देखेँ । १०३ वर्ष पुगेको मान्छे यसरी खुरुखुरु हिँड्न सक्लान् भन्ने कुरा कल्पनासमेत गरेको थिइन् । मैले ढोका खोल्दै नमस्कार टक्राएँ । टाउको हल्लाउदै यताउता हेर्नुभयो । पक्कै उहाँलाई खोजेको मान्छे हेरेको होला भन्ने लाग्यो । मैले बसन्त दाइ उता हुनुहुन्छ भनेँ ।
बसन्त दाइले बेलीबिस्तार लगाउनुभयो कुराको । मेरो परिचय दिनुभयो दाइ आफैंले । म रेडियोकर्मी हो भन्ने जानकारी उहाँलाई दिनुभयो । अनि दाइहरुबीच कुराकानी चल्नथाल्यो । एकैछिन त बसन्त दाइसँग पनि झोकिनुभयो । मैले जेष्ठनागरिक भत्ता नपाउने ? मलाई अस्ति एकजनाले राज्यको सेवा सुविधा खाइरहेको मान्छेले दोहोरो भत्ता पाउँदैन भन्नुभयो । पेन्सन खाने कि जेष्ठनागरिक भत्ता लिने भनेर रोज्न लगाए । मैले रिसले जेष्ठनागरिक भत्ता नखाने भनेँ । जेष्ठनागरिक भत्ता त मेरो अधिकार हो । उनीहरुले दिने होइन, राज्यले मजस्ता नागरिकलाई सम्मानस्वरुप दिने हो । मैले पाउने होइन, मेरो उमेरले पाउने हो । यी कुरा सम्बन्धित ठाउँमा पुर्याइदिन आग्रह गर्नुभयो । आफूले सुरुमा ८२ रुपैयाँ पेन्सन लिएको अनुभव पनि सुनाउनु भयो ।
दुइ घण्टाको बसाइमा देशविदेशमा घुम्न जाँदा, कार्यक्रममा जाँदाको अनुभव र देशकै राज्यव्यवस्थाको बारेमा छलफल भयो । घडी हेरेको ११ बज्न थाल्यो । मैले उताको कार्यक्रम क्यान्सिल गरेँ । यतैको कुरा महत्त्वपूर्ण र छुट्टै संसारमा पुगेको महसुस गरेँ । संस्कृतिविद् सत्यमोहन जोशीकै पहलमा र उहाँले नै राज्यको नाममा दिएको जग्गामा सत्यमोहन जोशी लोकसाहित्य सङ्ग्रहालय निर्माण भएको रहेछ । परिषद् सन् १९८४ मा स्थापना भएको थियो । यस सङ्ग्रहालयमा उहाँले सङ्ग्रहित गर्नुभएका टिकट, मुद्रा, पुस्तकहरु र कार्यक्रम हल छन् । अहिले चित्रकारहरुले सत्यमोहन जोशीको अन्तिम इच्छा भन्दै भवनको तेस्रो तलामा चक्रसंवर’ को पौभाः चित्र कोर्न थालेका छन् । यस भित्ते चित्रले लोकसाहित्य परिषद्मा नेपाली मौलिक कथा पनि सङ्कलन होस् भनेर बनाउन लागेको हो । चक्रसंवर बौद्ध धर्म मान्नेहरुले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो । यसमा बज्रबाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई चक्रसंवर भनिन्छ । साथै यो कला बौद्धहरुको तान्त्रिक अभ्यास मात्र नभई जीवन बाँच्ने दर्शन पनि हो । यो खुसी र आनन्दको चक्रको रुपमा पनि लिइन्छ । यहाँ बनाएका मुख्य चित्रका दायाँबायाँ अरु स–साना आकारका १२ वटा भगवान् छन् । ती भगवानहरु कोही योगिनी, कोही परिवार र कोही दिगपाल छन् ।
यहाँ बनाउन थालेको चित्र ४३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमा सत्यमोहन जोशी आफैंले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यस चित्रको सतोरी सेन्टर फर द आर्टस नामक गैससंले अभिलेखीकरण पनि गरिरहेको छ । साथै यस चित्रको बारेमा पुस्तक र डकुमेन्ट्री निर्माण गरी जानकारी सामग्री तयार गर्ने लक्ष्य छ । बौद्ध धर्मको मुख्य दर्शन शून्यता हो । बौद्ध धर्मसँगै जोडिएको चित्र भएकाले शून्यतातर्फ अभिमुख भएको चित्रकारहरु बताउनुहुन्छ । यस सङ्ग्रहालयमा राखिएका हरेक वस्तुमा इतिहास छ । हरेक शब्दहरुले इतिहास बोकेको छ । वस्तुहरु मूल्यवान् छन् । नेपालको इतिहास जोडिएको छ । नेपालको धर्म, संस्कृतिसँग जोडिएको ठाने । यसैभित्र भुल्न मन लाग्यो । यही हराउन मन लाग्यो ।
सङ्ग्रहालयको अवलोकनपछि पुनः संस्कृतिविद्सँग भलाकुसारी चल्यो । मैले आफ्नो कवितासङ्ग्रह ‘चौसट्ठी वर्ग मिटर’ दिएँ । साथै भीमेश्वर नगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकहरु पनि उहाँलाई दिएँ । अक्षरहरु ठम्याउन नसके तापनि छाम्नुभयो । यताउता पल्टाउनुभयो । ‘चश्म लगाएर हेर्छु’ भनेर छेउमा राख्नुभयो । विदा मागेँ । उहाँले हिड्ने बेला मलाई आशिष दिनुभयो, ‘जीवनमा सफल हुनु र रेडियोमा राम्रो गर्नु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।