श्रावण ५ गते आमा ७९ वर्षमा प्रवेश गर्नु भयो । आमाका नातिनातिनी पुस्तासमेत भेला भएर उहाँको जन्मोत्सव मनायौँ । हामी सबै आमाकै वरिपरि भएका बेला बुहारीले नौलो कुरो सुनाइन्, “अब केही वर्षपछि आमाको चौरासी हुन्छ । चौरासी पुगेपछि जो पनि भगवान् बराबर हुन्छ ।”

सायद सबैका बुबाआमाको स्थान त्यही हुन्छ । तर हामीलाई हाम्री आमा विशेष लाग्छ । जन्मोत्सव मनाएको भोलिपल्टदेखि घरनजिकैको  ‘जीवन विज्ञान’को प्रात: सत्संगमा जान थाल्नुभयो । आमाको विशेषता नै यही हो । उहाँ आफ्नो दिनचर्यालाई चुस्तदुरुस्त राख्नुहुन्छ । आमा प्रायः मोरङ जिल्लाको उर्लावारीमा बस्नुहुन्छ । काठमाडौँ आएका बेला पनि नयाँ ठाउँमा जाने वा नयाँ काम गर्ने पहल गर्नुहुन्छ । कोटेश्वरमा जीवन विज्ञानको प्रात: साधना हुन्छ भन्ने कुरा उहाँले आफैँ पत्ता लगाउनु भयो । साधनाकक्षभित्र प्रवेश गर्ने ढोका खोल्न अलि असजिलो छ भन्ने पनि बुझ्नुभयो । अघिल्लै दिन दिउँसो गएर बिहान कसरी ढोका खोलेर प्रवेश गर्ने भनेर जानकारी लिनुभएछ । साधनामा जानुअघि नुहाएर जानुहुन्छ । सम्भवतः यस्तो अनुशासन धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा हुन्छ ।

आमाको कोखबाट ५ जना सन्तानले जन्म लिए । मभन्दा माथि मेरी दिदी हुनुहुन्थ्यो रे । उहाँ केही दिनमात्र बाँच्नु भएछ । मभन्दा पछि पनि एक सन्तान खेर गयो । यसैले मेरो र मेरो बहिनीको उमेरमा ८ वर्षको फरक छ । तर बहिनी र भाइको उमेरमा भने २ वर्षको मात्र ।

जन्मोत्सव मनाएको दिनको पर्सिपल्ट शनिबार थियो । म पनि ५ बजेदेखि आरम्भ हुने योगसाधनाको कक्षा लिन जाने तयारीमा थिएँ । आमा जीवन विज्ञानको सत्रमा जाने तयारी गर्दै हुन्थ्यो । रातिदेखि परेको पानी रोकिएको थिएन । हाम्रो घरको सिकुवामा जुत्ता राख्ने सानो दराज छ । त्यसको छेउछाउमा छाता राख्ने गरिन्छ । मैले त्यहाँ एउटा मात्र छाता देखेँ । मभित्र र बाहिर गर्दै अर्को छाता खोज्न थालेँ । आमाले मैले अर्को छाता भेट्न सकिन भन्ने बुझ्नुभएछ । अरुका आमाले पनि त्यसै गर्दा हुन । आफ्ना छोराछोरीको मनको भाका बुझ्ने ।

“ल हिँडून् अब जाउँ । म ढोका बन्द गर्छु ।”

यसो भनेर मैले आमातिर हेरेँ । उहाँ सोफामा बस्नुभएको थियो ।

“छाता एउटा मात्र छ त ।”

आमाको आशय मैले बुझेँ ।

“पानी परिरहेको छ । त्यो छाता तँलाईँ चाहिन्छ । म त नगए पनि हुन्छ ।”

डा. नवराज खतिवडा

सम्भवतः आमा र उनका छोराछोरीबीचको सम्बन्ध अरूको भन्दा फरक हुनु भनेको यही हो । भारतका एक हास्यकवि ॐव्यासले ‘माँ’ शीर्षकमा एक कविता सुनाएका छन् । त्यसको एक अंश यस्तो छ –

“हामी भान्समा पिर्कामा बसेर खाना खाइरहेका हुन्थ्यौँ । आमाले हामीलाई खाना पस्केर दिनुहुन्थ्यो । त्यसबेला यदि कसैले दायाँबायाँ हेर्यो भने उहाँले उसको सङ्केत बुझ्नु हुन्थ्यो र नुनको बट्टा सारिदिनु हुन्थ्यो । छोराछोरीको मौनभाषा पनि बुझ्न सक्ने क्षमताको धनी व्यक्तित्व भनेकै आमा हुन् ।”

मलाई भैपरिआएको परिवेश भने ॐव्यासले भनेभन्दा माथि थियो । आमाले वस्तुस्थितिको खरो मुल्याङ्कन मात्र गर्नु भएन, छोराका लागि आफ्नो कार्यसूचिको महत्त्वपूर्ण अनुष्ठानको नै तिलान्जली दिने धारणा बनाउनु भयो । तर मेरो प्राविधिक दिमागले भने अर्कै कुरा सोचेको थियो ।

आमाको सत्संग कक्ष नजिकै भएकाले एउटै छातामा म उहाँलाई पुर्‍याउँछु । अनि मात्र म मेरो योगसाधना कक्षतिर जान्छु । तर सम्भवतः हामी दुवैको सोचलाई किनारा लगाउने काम विधाताले गरेका थिए । छोराको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर मातृवत्सलका सहस्र धारा बगाइरहेकी मेरी आमालाई मैले भनेँ- “मैले अर्को छाता भेटेँ । जुत्ता राख्ने दराजभित्र रहेछ ।”

आमा मुस्कुराउनु भयो ।

मेरा पिताजी परिवारको साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँले चार दाजुभाइ र दुई दिदीबहिनीमा सबैभन्दा धेरै पढ्ने अवसर पाउनु भयो । आमाले भने पाँच कक्षासम्मको औपचारिक अध्ययन गर्ने मौका पाउनुभएछ । पिताजी केही समय शिक्षण पेशामा आबद्ध हुनुभएकाले मलाई अक्षर चिनाउने काम आमाकै जिम्मा लागेछ । त्यसबेला हामी संयुक्त परिवारमा पाँचथर जिल्लाको स्याब्रुम्वा गाउँ विकास समितिको सुम्मासे भन्ने गाउँमा बस्दथ्यौँ । दक्षिण पश्चिम दिशामा बग्ने तमोर नदीको देब्रे जलाधारमा हाम्रो गाउँ थियो । आँगनबाट तेह्र थुमको म्याङ्लुङ् बजार, आठराई र संक्राती बजार देखिन्थ्यो । शीर अलि माथि गर्दा कुम्भकर्ण र कन्चनजङ्घा देखिन्थे ।

मैले रानीगाउँ प्राथमिक विद्यालयमा शिशु र एक कक्षा पढेँ । ठूलोबुबाका छोराहरूका साथमा विद्यालय जान्थेँ । म ६ वर्षको हुन्जेल मेरा कोही भाइबहिनी आमाका कोखमा आएनन् । यसैले ६ वर्षसम्म आमाको स्तनपान गर्न पाउने भाग्यमानी बालकको दर्जा पाएँ । मलाई हरेक दिन विद्यालय जानुपूर्व आमाको दूधको सर्कोको आनन्द लिनुपर्ने बानी लागेछ । एकदिन एक असामान्य प्रशंग सिर्जना भएछ जुन अहिलेसम्म पनि धुमिल स्मृति बनेर मष्तिष्कमा अडेको छ । आमा मिर्मरेमा नै कुनै कामले घरबाट टाढा जानुभएछ । म विद्यालय जाने समयसम्म पनि उहाँ घर फर्कनु भएनछ ।

दाइहरुको साथमा विद्यालय जान म निस्किएछु । हाम्रो विद्यालय पुग्न लगभग १ घण्टाको उकालो र तेर्सो बाटो हिँड्नु पर्दथ्यो । त्यो दिन आकाश बादलले ढाकेको थियो । मलाई बादल र वर्षाको भय थियो । बीचबाटोमा पुगेपछि मैले विद्यालय नजाने कुरा दाइहरूलाई सुनाएँ । उहाँहरूले कर गर्नु भयो । मैले मान्दै मानिनँ ।

मसँग दुईवटा ठोस कारण थिए- आमाको बुबु नखाएको र मौसम बदली । म घर फर्किएँ । आमा केहीबेरमा आउनु भयो । राणा शासनकालकी मुखियाकी कान्छी छोरी । पाँच कक्षासम्म पढेर शिक्षाको महत्त्व बुझेकी । उहाँको माया नि:शर्त बग्ने खोला थिएन । उहाँको श:शर्त मातृवात्सल्यका अघि मेरा कारणहरू निरिह बने । मलाई ढिकीमा डोरीले बाँधियो । आजभोलि कहिलेकहीँ अतित सम्झदै आमा भन्नुहुन्छ – ढिकीमा बाँधे पनि तँ रोइनस् ।

म आजभोलि पनि हत्तपत्त रुँदिनँ । यसैले मेरो आलोचना हुन्छ- यसको हृदय चट्टानको छ । अरू रोएका बेला पनि मन थाम्न सक्छ ।

पछि हजुरबाले मेरो बन्धन खोलिदिनु भएछ । मेरा सिद्धिकर्ण हजुरबा अति नै निडर र उच्चस्तरीय नेतृत्व कौशल भएको व्यक्ति हुनुहुन्थ्यो । नातिहरू सबैलाई, त्यसमा पनि किन हो मलाई औधी माया गर्ने ।

हजुरबा पुस्ताको र नाति पुस्ताबिच प्रगाढ सम्बन्ध हुने विषय सर्वमान्य हो । सम्भवतः परिवारमा सबैभन्दा कम वादविवाद हुने पनि त्यही नातिनातिना र हजुरबा-हजुरआमाबlचमा होला । यस विषयको चर्चा गर्दा म अर्को एक रोचक दृष्टान्त सम्झन्छु ।

लगभग एक दशकअघिको कुरा हो । रोटरी क्लबको जिल्ला सम्मेलन त्रिपुरेश्वरको आर्मी अफिसर्स क्लबमा भएको थियो । विभिन्न विषयमा प्रवचन भएका थिए । दिउँसोको अन्तिम सत्रमा पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको पालो थियो । उहाँको बोल्ने विषय थियो – पारिवारिक मूल्य र मान्यता ।

माथेमाले खालिल जिब्रानको “तिम्रा छोराछोरी” आशयको शीर्षक भएको कविताको एक अंश सुनाए ।

“तिमी एक धनुजस्तै हौ जसबाट जीवन्त काणहरुका रुपमा छोराछोरी अनन्त यात्रामा निस्कन्छन् ।”

लगभग ६०० को संख्यामा उपस्थित भएका श्रोता मन्त्रमुग्ध भएका थिए । माथेमाको प्रवचन सकिएपछि एक श्रोताले जिब्रानकै कवितासँग जोडेर प्रश्न गरे । प्रश्नको उत्तर दिन मन्चमा आशिन भारतबाट आएका एक अतिथि रोटरियनले मोर्चा कसे । उनले प्रश्नको उत्तरलाई आफ्नो परिवारको कथासँग जोडे ।

उनका घरमा तीन पुस्ताको बसोबास रहेछ । एकदिन उनका वयोवृद्ध पिताले भनेछन्- मलाई एउटा नयाँ कार चाहियो ।

जीवनको उत्तरार्धमा पुगेका आफ्ना पिताश्रीको यस्तो माग सुनेर उनी आश्चर्यचकित भएछन् । जवाफमा पिताश्रीले भनेछन् – म त्यो कार मेरा नातिलाई उपहार दिन चाहन्छु । बिचरो स्कूटरमा घण्टौँ लगाएर कार्यालय आईजाई गर्छ । यसले म सधैँ तनावमा हुन्छु ।

हजुरबा र नातिको यस्तो प्रेम देखेर एकदिन उनले आफ्ना छोरालाई रात्रिभोजनका अवसरमा हलुका स्नायु पारेर सोधेछन् ।

“बाबु, तिम्रो र हजुरबाको यस्तो गहिरो मायाप्रेम हुनाको कारण के हो ?”

आफ्ना छोराले दिएको जवाफ भने ती रोटरी अध्येताले हिन्दीमा नै भने – “मेरा ‌और दादाजीकी ईसिलिए पट्ता है कि हमलोगका दुश्मन एक ही है ।”

जीवन संघर्षमा होमिएको बीचको पुस्ता, बार्धक्यले भिजेको पुरानो पुस्ता र संसारी मायामा भिज्न बाँकी नयाँ पुस्ताको द्वन्दलाई एउटै वाक्यले स्पष्ट पारेको यति शसक्त उदाहरण अरू नहोला ।

हाम्री आमा उहाँका समकक्षीहरुको तुलनामा वर्णक्रमको उपल्लो आधाको पनि शिरमा पर्नुहुन्छ भन्ने हामीलाई लाग्छ । उहाँका आदर्श, अनुशासन र मान्यताहरू कहिलेकहीँ हाम्रा जीवनमा कोशेढुङ्गा बनेर उदाउँछन् ।

संक्रान्तीमा बिहान उठेर नुहाईधुहाई गरेर धुपधुँवार गर्नु ।

एकादशीमा तुलसी खोजेर रोप्नु ।

स्टीलको थालमा नखानु, काँसको थालमा खानु ।

गाँस हाल्नुभन्दा अघि देवीदेवतालाई सम्झनु ।

उहाँलाई तिथिमिति कन्ठ हुन्छन् । आफ्ना छोराछोरी र बुहारीज्वाइँका जन्मदिनमा बिहानै सबैभन्दा पहिला उहाँकै फोनका घन्टी बज्दछ । सकेसम्म अरूलाई थिचोमिचो नहोस्, आफ्ना कारणले कोही पनि अन्यायका पात्र नबनून् भन्ने सिद्धान्तकी पुजारी हुनुहुन्छ आमा ।

केही वर्षअघिको अर्को प्रशंग पनि ताजा भएर आयो । मेरा आदरणीय मित्र सूर्यमान शाक्य र म एक विद्यार्थीसहित बङ्गालादेशको खुल्ना सहरमा सम्मेलनमा सहभागी हुन गएका थियौँ । फर्कदाँ म तिनै विद्यार्थीका साथमा ढाका हुँदै फर्किएँ ।

ढाका विमानस्थलमा एकाएक नौलो भैपरी परिस्थिति आइलाग्यो । हामी अध्यागमनको काम सकेर प्रतिक्षालयमा समय कटाउने ध्याउन्नमा थियौँ । म बसेको सिटको देब्रेतिरको सिटमा एउटा बेवारिसे वालेट भेटियो । वालेटको बायाँतिर लहरै सिट खालि थिए । मैले वालेट खोलेर हेरेँ । कोरियन युआन र डलरका नोट । हिसाब गर्दा लगभग चार लाख नेपाली रुपैयाँ । अन्य केही महत्त्वपूर्ण कागजात र कार्ड । कोरियन नागरिकको रहेछ । थाई एयरलाइन्सको माइलेज कार्डमा नाम रहेछ ।

मेरा शिष्यका सामुन्नेमा विकसित भएको यो घटनाक्रमले दुईवटा परिदृष्य ल्यायो । पहिलो, त्यो भेटिएको नासोलाई कसरी तह लगाउने ?  दोस्रो,  भेटिएको सम्पत्ति फिर्ता दिने कि नदिने ?

सम्भवतः दोस्रो प्रश्नको साथमा शिष्यले गुरुको पनि परीक्षा लिने कठोर घडी क्षितिजमा उदाएको थियो । यदि त्यो सम्पत्ति मैले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनँ भने मेरा विद्यार्थीको नजरमा म सधैँका लागि शिर निहुरिने पात्रको रूपमा चिनिन्थे ।

मैले जसरी पनि त्यो नासो तिनै व्यक्तिलाई दिने वा काठमाडौँको कोरियन दूतावासमा बुझाउने निर्णय गरेँ । थाई एयरलाइन्सको ढाका-बैङ्कक उडान काठमाडौँको भन्दा १ घण्टाअघि थियो । म र मेरो गुरु-परीक्षाका साक्षी तिनै विद्यार्थी बैङ्कक जाने जहाज बोर्डिङ् हुने गेटमा गएर बस्यौँ । कोरियन जस्ता देखिने हरेक यात्रुलाई वालेट-धनीको नाम लिएर सोध्न थाल्यौँ ।

केहीबेरको कसरतपछि सम्बन्धित व्यक्ति भेटिए । हुलिया पहिचान भएपछि वालेट उनलाई हस्तान्तरण गरी राहतको सास फेर्‍यौँ ।

घरमा आएर मैले ढाका विमानस्थलमा भैपरी आएको परिस्थितिका बारेमा परिवारजनको सामूहिक भेटमा बताएँ । मैले सबैका अघि प्रश्न राखेँ – “मैले त्यो चार लाख रुपियाँ र वालेटलाई के गरेको भए उचित हुन्थ्यो ?”

सबैका आ-आफ्ना विचार आए । आमाको उत्तर वर्णक्रमको सिरानमा थियो ।

“तैँले जे गरिस् ठीक गरिस् । अरूको धनले पिर्छ ।“

“अरूको धनले पिर्छ ।” यो तीन शब्दको छोटो वाक्य मेरो जीवनको आदर्श भएर अहिलेसम्म बाँचिरहेको छ । म यसको असामयिक अवसान नहोस् भन्ने कामना गर्दछु ।