“लोकसनमा हुनुहुन्छ हजुर ?”

“हजुर भाइ ।”

“पाँच मिनेटमा आइपुग्छु , तयारीमा बस्नु होला ।”

छोटो फोन संवाद पठाओसँग । केही महिनादेखि गहिरो सामीप्यता बढेको छ पठाओ बिच । अनि सरल र सुलभ लाग्न थालेको छ यो सेवा । घरघरमा पुर्याउने आउने । ठाँउ खोज्न सोध्न झन्झटमुक्त हुन पाइने । यसले एउटा ठुलै समस्या सरलीकरण गरिदिएकोछ, निजी साधन नहुनेका लागि । तब त खुसी छन् सेवाग्राहीहरू र झन् खुसी छ पठाओ सेवा ।

गएको शुक्रबार ‘बिरामीको रिपोर्ट तयार छ लिन आउनुहोला’ भन्ने फोन आएको थियो सौर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाटबाट । शुक्रबार हाफ–डे । शनिबार साप्ताहिक बिदा (नेपालको हकमा) । आइतबार मात्र जाँगर चलाएँ त्यति हतार नभएकोले ।

घर ललितपुर १४ सातदोबाटो (रिङरोड)बाहिर नखिपोट । केही टाढा छ मध्य काठमाडौँ आउन जान । काम त्यतैतिर पर्छ नचाहेर पनि । कहिले काहीँ दिनमा दुई पल्टसम्म ओहरदोहर गर्नै पर्ने बाध्यता । फेरि न निजी यातायातको साधन छ न भनेको बेला यातायातको सुविधा । फेरि सधको छोटो नेपाल बसाइ । अलिक लामो भयो यो पटक । यस्तो बसाइमा यातायातको साधन जुटाइहाल्न गाह्रो । जुटाए पनि फर्कँदा के गर्ने ? यसै थन्क्याएर राख्नु पनि निरर्थक । बरु पठाओ जिन्दावाद ।

दाजु गुरूङ

मोबाइल फोन कोट्ट्याउँछु, समय हेर्नका लागि । जसले स्वात्तै घटाइ दिएको छ घडीको उपयोगीता । केवल नाडीको तौलमात्र बढाएजस्तो । बरू हाते फोनमा धेरै ज्ञानगुनका कुराहरू खोज्न सकिन्छ आवश्यकता अनुसार । एउटा संसार नै अटाएको छ हरहिसाबले । कति सरल र उपयोगी साधन बनाइदिएको हरे विज्ञान र प्रविधिले । र एउटा आवश्यकता बनेर जोडिएकोछ छोड्नै नसकिने गरी । अनि हरपल अति उपयोगितावादीताको सिकार भइरहेछ मानव जिन्दगी ।

प्रायः पठाओको बाइक बोलाउने गरेको छु बाहिर जान परेमा । उस्तै लाग्छ, काठमाडौँको बाटा र मोटरबाइकहरु । नचलाउनेले वस्ता गर्छ बाटो र बाइक नचढ्नेले । बाइक बाटा र व्यवस्था ठ्याक्कै मिलेको । चलुनजेल चलायो नचले थन्क्यो के मतलव । फेरि साह्रै सजिलो मोटरबाइक सेवा, जता लान जान सकिने बाटो र सरकारजस्तै । जस्तोसुकै रोड गल्लीगल्लीमा छिर्न सकिने । अर्को कुरो बराबरका छन् यहाँका गल्ली र मुख्य बाटाहरू । त्यो पनि आधा खर्लप्प खाइदिएको हुन्छ अव्यास्थित पार्किङले । अचम्म लाग्छ न जनतालाई मतलव छ न जनप्रतिनीधिलाई । सरकारको के कुरा गर्नु र सास्ति भोग्ने खप्ने आदत क्षमता बृद्धि भइसकेको छ मान्छेमा वंशाणुगत जिन सरेझैं । के उपमा दिनु र मान्छेलाई, कायर कि सहनशील ?

पाँच मिनट अगावै सम्पर्कमा आए पठाओ सेवाको भाइ ।

यो तेस्रो पटक हो सौर्य डाइग्नोस्टिक सेन्टर धाएको । पहिलो पटक ६ मार्चमा अर्थात् एक हप्ता अगाडि। ठाउँ ठेगाना थाहा पाउन र समय लिन पनि जरुरी हुन्छ,पहिलो कुरो । भने जस्तो कहाँ हुन्छ र यो व्यस्त सहरमा सेवा र सुविधा पाउन । बारम्बार धाउनु पर्छ । कुद्नु पर्छ । एक पल्ट त के सयौँ चोटी । सास्तिमाथि सास्ति भोग्नु पर्छ बिरामीले। सधैँ भिडभाड यहाका सार्वजानिक ठाँउहरु । दुई दिनपछि अर्थात ८ मार्च दिनको १३ बजे समय मिल्यो, छोटो पर्खाइमा । र पठाओ सेवा नै प्रयोग गरेको थिएँ पहिलो दिन पनि । काठमाडौँको लाजिम्पाट स्थित मेन रोडसँगै रहेछ डाइग्नोस्टिक सेन्टर। अस्पताल सेवा सन्चालन पाँच तले बिल्डिङको भुइँतलामा । बिल्डिङको माथिल्लो भागमा ठुलो अक्षरमा लेखिएको छ–‘नेसनल लाइफ इन्सुरेन्स कम्पनी प्रा.लि लाजिम्पाट।’ सायद, भवनको अर्को परिचय ।

लामो फेहरिस्त तयार छ यसरी विभिन्न उपचार केन्द्रहरू धाइरहनुपर्ने बाध्यताहरुका । रोगी छिन् मेरी जीवनसाथी, विगत नौ महिनादेखि व्याकवोन पीडाबाट । धेरै आत्तिए सुरुसुरुमा । नआत्तिनु पनि कसरी ? पछाडिको कम्मर नेर जोडिएको हाड बिचमा एउटा ठूलो ट्युमर रहेको बताए चिकित्सकहरूले । हिँड्डुल गर्न नसक्ने । डोर्याएर सुताउनु उठाउनु हिँडाउनु पर्ने । के के भोग्नु परेन र ? सपनाजस्तो लाग्छ त्यो बेला सम्प्रेषण भएका गरिएका जानकारी सुनिरहँदा । उनी यता म उता । एउटा बाध्यताको विसाल र लामो भूगोलको दूरीमा ।कसरी बिते ? कसरी बिताइए ? ऐठन हुन्छ ती क्षणहरु सम्झदा । तर बिस्तारै रोगलाई जित्दै गइन एउटा दृढ आत्मविश्वास र समयमा पाएको राम्रो उपचार सेवाले । अब धेरै जितिसकिन सबैको माया सहयोग सद्भाव बटुलेर ।

सुरुको दुई महिना वि यन वि हस्पिटल । त्यसपछिको सात महिना मेडिसिटी अस्पताल भैसेपाटी । अझै सकिएको छैन आउने धाउने क्रम । दोस्रो घरजस्तो भइरहेछ अस्पताल । अनि बेडरुमजस्तो भएको छ मेडिसिटीको अन्कोलोजी डिपार्टमेन्ट । प्रायः सबै चिकित्सिक र परिचारिकाहरू परिचित छन् एउटा परिवारका सदस्यहरू जसरी । ६ पटक किमोथेरापी प्रयोग गरिए यो बिचमा। व्लड टेष्ट, युरिन स्टुल टेष्ट, खकार डकार आकारदेखि एक्स–रे सिटी स्क्यान एमआरआइ ,वायस्पी भएभरका सबै परीक्षणहरु । खाने पिउने र सलाइन चढाउने कार्म त कति कति । अझै जारी छ । लाग्छ, केवल औषधिले मात्र बाँचिरहेछिन् एउटा प्रायोगिक जीव भएर ।

साँचै यान्त्रिक बनेको उनको दिनचर्या । उठ्नु, बस्नु, हिँड्नु खानु पिउनु केवल चिकित्सकहरुका आदेशमा अर्थात रिमोटकन्ट्रोलमा चलिरहेछ यन्त्रमानव । हरेक पटक हस्पिटल जाँदा फर्कने बेला चिकित्सकले भन्ने गर्छ ,‘अब यति दिनपछि आउने । दैनिक बिहान बेलुका यी यी औषधिहरू खान नबिर्सने। यी यी औषधिहरू लगाउन नछोड्ने र अफ्ठ्यारो लागे भए तु आउने ।’ कति कठोर अनुशासन । केवल चिकित्सकको आदेशमा मात्र चलिरहेछ भरोसाको जिन्दगी ।

बिर्सिसकिनजस्तो लाग्छ सबै इच्छा र चाहनाहरु। कठिन बनेको छ दैनिकी यातनागृह जसरी । बन्देज जारी छन् खाने लाउने हिँड्ने तौर तरिकामा । र यन्त्र मानवजस्तै बनेकिछिन् पुनर्जीवनको खोजीमा । यो कति ठूलो जिजीविषा । जिजीविषाले दोहोर्याइरहेछ जिन्दगीलाई। सायदै यही होला जीवनको अभिष्टता । मान्छे यसैको खोजीमा भौतारिरहेछन् कताकता । ठूला ठूला सङ्घर्ष गरिरहेछन् दिनरात एक गरेर। नहुँदो हो त गतिहीन बन्नेछ मान्छे । र त हरेक दिन हरेक पल उनको अनुहारका देखिरहेछु खोजिरहेछु एउटा पूर्ण आत्मविश्वास सहितको मूर्त जिजीविषा ।

कति पीडादायक पलहरु । उनी हाँस्दा पनि मिठो पिडानुभूति । रुदा झन् पीडानुभुति । यसै यसै थकाइदिन्छ समयले अतिरिक्त बोझ थोपरेर । लाग्छ, बाँड्न पाए पनि हुन्थ्यो तर बाँड्न नसकिने नमिल्ले । आआफ्नै पोल्टामा परेका सुखदुखका हाँसो र रोदनहरू । सात्मसात् गर्नुपर्ने बाध्यता । यस्तै बाध्यताको चक्रमा घुमिरहेछन् मानवीय जीवन र चाहनाहरू। अनि निर्वाह गर्नु पर्ने एउटा नियमित आकस्मिताको पात्र बनेर ।

बिरामी सङ्ग्राहालय जस्ता हस्पिटलका बेडहरु । समय समय मुख्य चिकित्सकको निरीक्षण । उनका साथमा सधैँ रहने गर्दछन् एक हुल सहायक चिकित्सक र परिचारिकाहरू । पहिला बेडसँग राखिएको एउटा निलो मोटो फाइलमा पुग्छ तिनीहरूका नजरहरु । लामो समयदेखि अस्पताल आउने र जाने क्रम जारी रहेकोले डाक्टरी रिपोर्टहरूका चाङले दिनहुँ मोटाउँदै गइरहेछ निलो फाइल । कुनै बेला यस्तै ढड्डा देखेको थिए सरकारी कार्यालयको मुद्दा फाँटमा । प्रत्येक पेसीमा थपिने प्रमाण र उजुरीका विवेदनहरुझैँ दिनहुँ थपिँदै जान्छन् नयाँनयाँ रिर्पोटका पान्नाहरू । त्यही हेरेर बोल्छन् डाक्टर अर्थात चिकित्सक टोलीहरू । यता डाक्टरी रिपोर्टहरू सँगै अस्पताल र औषधिका बिलहरु छिनछिनमा बड्ने गर्छ मेरो सामान्य गोजीले नथेग्ने गरी ।

“नमस्ते दिदी, हजुरलाई कस्तो छ ?”

निरीक्षणमा आउने मुख्य चिकित्सकको सधैको पहिलो प्रश्न । फिस्स हाँस्छिन् मेरी जीवनसँगिनी आशाको एउटा उज्यालो जिजीविषा बोकेर । “ठिकै छु !” एउटा बनीबनाउ उत्तर बोल्छिन् पुलुक्क मलाई हेरेर । सायद एउटा भरोसा बोलिरहिछिन् मलाई साक्षी राखेर । त्यतै हुन्छ मेरो नजर पनि । र हेरिरहन्छु नबोलिएका नसोधिएका प्रश्न र उत्तरहरूले चिकित्सक टोलीलाई । किनकि मसँग पनि सधैँ सोधिने एउटा बनीबनाउ अर्थात रेडिमेट प्रश्न छ— “‘उनलाई ठीक हुन्छ नि डाक्टर साहेब ।”

सायद हेराइको आसय बुझेर होला बनिबनाउ उत्तर बोल्छन् डाक्टर साहेबहरू—“ चिन्ताको वात छैन, राम्रो हुँदैछ दिदीलाई ।”

तराई मूलका चिकित्सकहरुको बाहुल्य छ यो हुलमा । तर कति मोठो छ चिकित्सकहरूले बिरामी र कुरुवालाई बाँड्ने आश्वासन । यस्तै आश्वासन सुनेर बिस्तारै चैनको श्वास लिने गर्दछन् मजस्ता यहाँ उपस्थित मनुवाहरू ।
विश्वास पनि कसरी नगर्नु ? त्योभन्दा माथि केही छैन मनलाई बाँध्ने अर्थात् समाउने साधन । यसैलाई समाएर हिँड्नुपर्दो रहेछ परिस्थितिको सामना गर्न । र समातिरहेछु भुन्डिरहेछु त्यहीँ विश्वासको हाँगामा, मनको डोरीले बाँधिएर ।

कति कठोर बन्छ समय पनि उनीमाथि किमोथेरापी चलिरहेको बेला। जसको प्रभाव हरेक ठाउँमा देखिन थालेकोछ, विशेषत कपालमा । टाउको नाङ्गो हुदै गइरहेछ लामो कपालले साथ दिन छाडेपछि । कालो दाग बसेको छ हात गोडका नङहरूमा । एउटा फरक खालको नेलपोलिस लगाए जस्तै । अनि सधैँको डाक्टरी चिन्ता— ‘तौल घटाउन पर्यो भन्ने ।’ कहाँ भन्ने बित्तिक्कै हुन्छ र सबै कुरो। प्रयास नभएको होइन तौल घटाउन। यसै बिरामी । खानेकुरामा अरुचि। मुख्य खुराक नै औषधि औषधि औषधि । खोइ के खाएर खुवार मोटाएको ? अचम्म लाग्छ उनको ज्यान देखेर । बिरामी हुन अगाडि असमान्य रुपमा तौल वडेर सय किलो माथि हुनु । त्यही तौलमा अस्पतालमा भर्ना हुनु । केही कम पनि कायम छ ८५÷८६ केजी, नियमित तौल लिइरहँदा ।

महङ्गो रहेछ किमोथेरापी । ठुलो भार नै हो सामान्य आयआर्जन हुनेका लागि । तर बाध्यतामा जे जसरी भए पनि जुटाउनै पर्दोरहेछ जिन्दगी रोज्न र खोज्नका लागि। तब आवश्यकता र बाध्यतामा अस्पताल धाउँछन् मानिसहरू । जब अस्पतालको बेड नजिक बसेर मानव जीवन अनुभूत गर्छु तब लाग्ने गर्छ, स्वर्गको एउटा कुना हो यो । जहाँ पवित्र मनका भगवान् आउँछन् असक्तलाई शक्त जीवन दान दिन । र पुनर्जीवन दिने ढोका हो अस्पताल । तर जब मानिसका लामा लामा ताती हातभरि पैसाको बिटो बोकेर पालो कुर्न बाध्य हुन्छन्, तब लाग्छ यो एउटा कञ्जुस बनियाको कोठी हो, जो जीवनदानको नाउँमा ठुलो धनराशि असुली रहेछ, निर्ममतापूर्वक सेवाको डण्डी चलाएर ।

तर राम्रो लाग्छ मेडिसिटी हस्पिटलको सेवा र सुविधा । भन्नै पर्छ, स्तरीयता बारे । र तुलना योग्य छ बाह्य मुलुकका हस्पिटलसँग । त्यस्तै तारिफ लायक फुर्तिला सजिला चिकित्सक र परिचारिकाहरू । अन्य सरकारी अस्पतालका डाक्टरदेखि कर्मचारीहरूलाइ खुसी बनाएर, हप्काइ दप्काइ सहेर, भाइ बन्धु देखाएर भनसुनमा गरिने र लिने सुविधाभन्दा सयौँ गुना राम्रो । सम्मानित मानिस र पेसाले सेवा दिने स्थानजस्तो । नम्र र मिठो बोल्छन् अस्पतालका मान्छेहरू । सेवक हुँ भन्ने व्यवहार दर्शाउछन् बिमारीहरूलाई सेवा गरेर बोलेर । यसरी पनि धेरै खुसी र सुखी पाएँ सम्पर्कमा भेटिएका र देखिएका बिरामीहरू । घरीघरी मनमा खेलिरहन्छन् पहिले पहिले सरकारी अस्पतालमा भोगेका भोगाइहरू । घण्टौं लाइनमा उभिनुपर्छ अनि एक्कासि क्रम मिचिदिन्छन् पहुँचवालाले । क्रम हराउँछ । हराएको क्रममा झुण्डिरहन बाध्य हुनुपर्छ एउटा निरीह दुई खुट्टे प्राणी भएर ।
सम्झना सँधै खेलिरहन्छन् हिजोका दिनहरु । एन्कोलोजी डिर्पाटमेन्टमा तीन जना नियमित डाक्टरहरू थिए, डा.पंकज वर्मन, डा. सविना महर्जन र डा. विजयकुमार साह । र डिपार्टमेन्ट प्रमुख थिए डा.पंकज वर्मन । विशेषज्ञको हिसाबले उनको सुझाव लिएर मात्र रिपोर्ट दिने गर्दथे अन्य डाक्टरहरूले। यो टिमको निगरानीमा छैटौँ पटकको किमोथेरापी पश्चात् फिजियोथेरापीको आवश्यकता औँल्याए डा. पंकज वर्मनले। र भक्तपुर क्यान्सर सेन्टरमा रिफर गरिदिए मेडिसिटीमा यो सुविधा नभएको बाध्यता देखाउँदै । कुरो २१ डिसेम्बर २०२१ अर्थात तिन महिना अगाडिको ।

त्यो दिन दिनभरि टेक्सी दौडाइयो हतार भएकोले । भक्त्तपुर जान अगाडि डा. सुवास पण्डितलाई भेट्न भनियो जो सिभिल हस्पिटल बानेश्वरमा कार्यरत रहेछन् । बिहानको सिप्ट भएकोले एक बजे अगावै भेट्नुपर्ने । समयले ११.३० हानिसकेको थियो मेडिसिटी अस्पताल छोडिदा । सम्पर्क नम्बरमा फोन गरेँ आउने खबर छोड्न । बाहिर बाक्लो झरी परिरहेको थियो बिहानैदेखि । हतार फेरि झरी परिरहेको बेला भाउ खोज्ने नै भयो ट्याक्सीले । १२.३० बजे पुगियो सिटी हस्पिटल । निक्कै भिडभाड देखिन्छ परिसरमा । सरकारी हस्पिटल न परे । बाहिर ढोकामा टाँगिएका थिए कर्मचारी आन्दोलन र मागहरूका ब्यानरहरु । कस्तो सूचना प्रवाह स्वागतका लागि कि प्रतिकारका लागि ? कटक्क दुख्छ मन, यस्तो पवित्र संस्था पनि कहिले अछुतो रहन सकेन मौलाइरहेको फोहोरी राजनीतिक दुर्गन्धबाट । अस्पताल जीवन पाउने दिने स्वर्ग एक कुना हो, जहाँ देवात्माको बास हुन्छ न कि दुःख पाएकालाई अझै दुःख दिने सैतानहरू । फेरि कोभिडको महामारी । बिरामी सँगै लिएर हिँडिरहेछु डा.पण्डितलाई भेट्न । नयाँ ठाउँ केही समय लागिहाल्यो उनको सेवा कक्ष पुग्न । अघि नै खवरदारी गरेका थिए–‘१ बजे अगाडि नै आउनु त्यसपछि मेरो ड्युटी सकिनेछ ।’ पानीमा रुझ्दै पुगियो बिरामीलाई डोर्याउँदै । फेरि अर्को आदेश थपियो, बिरामीको नाम दर्ता कार्ड ल्याउने । काउण्टर अगाडिको लामो भिडमा उभिएर बनाइ छाडेँ बिरामी दर्ता कार्ड। स्थिति बुझेर होला केही ढिलो भए पनि पर्खिदिए डाक्टरसाहेबले । पहिलो रिर्पोट हेरेर तीन बजे भक्तपुर क्यान्सर सेन्टरमा आउने सल्लाह दिए, फेरि भेट्ने सर्तमा । भक्तपुर जाने समय नभैसकेकोले पुन घर आइयो । ट्याक्सी गुडाउँदै । अबको पर्खाइ तीन बजे भक्तपुर पुग्ने ।

फेरि ट्याक्सी बन्दबस्त गरियो आउनजानका लागि। केही टाढा रहेछ पुष्पविनायक भक्तपुरको ला रोडमा अवस्थित क्यान्सर सेन्टर । जापानीज सहयोगबाट निर्मित र सञ्चालित भए पनि निजीअस्पतालको संरचना । नयाँनयाँ भएर होला बनिने क्रममा छन् कतिपय बाह्य संरचनाहरू । सफा र आकर्षक भित्री वातावरण अनि पातलो सेवाग्राहीको सङ्ख्या । काउण्टरमा सम्पर्क राखेपछि थाहा भयो फेरि ढाँड भाच्ने थेरापी शुल्क । एउटा राहत कुरो, जम्मा शुल्क मध्ये एकलाख पचास हजार सरकार र पालिकाले तिरिदिने रे सम्बन्धित पालिकाको सिफरिसमा । थप जानकारी, फिजियोथेरापीको समयावधि चार हप्ता । आवस्यक परे बढाउन सकिने । र समय हप्ताको पाँच दिन आइतबारदेखि विहिबारसम्म ।

बेलुकीको साढेसात बजे मात्र सकियो फिजियोथेरापी ।भोलिपल्ट पनि आउन भनियो पहिलो दिन भएकोले ।

टाढा भएकोले खर्चिलो आवतजावत भाडा । हरेक दिन पच्चिस सय रुपियाँ ट्याक्सी भाडा मात्र । चार हप्ताको थेरापी पाँच हप्ताको बनाइयो चिकित्सकको सल्लाह बमोजिम। यो बिचमा राम दाजुले नयाँ गाडी खरिद गर्नुभएकोले ठूलो राहत पुग्यो हस्पिटल आवतजावतमा । मेडिसिटीपछि क्यान्सर सेन्टरले पनि मज्जाले ढाड सेक्यो, पहिले सेकिसकेको माथि ।र गजबको च्यानल हुँदोरहेछ डाक्टर साहेबहरूको। यताको सेवाग्राही उता ,उताको यता । एउटा चक्रमा घुमिरहने सेवाग्राही र सेवाआग्रही । भित्र पुगेपछि त्यही सञ्जालको वरिपरि मात्र घुमिरहने । तर सेवासुविधा ठीक छ, चित्त बुझ्दो ।

पाँच हप्ता लामो फिजियोथेरापीपछि एक महिना पर्खन लगाइयो थेरापीको परिणाम र असर निहाल्नका लागि । त्यसपछि सौर्य डाइग्नोस्टिक सेन्टरमा सिफरिस गरियो, पूरा शरीर परीक्षण गर्नका लागि । यहाँ पनि डा. पंकज वर्मनको नाम बेच्नुपर्यो डाइग्नोसिस रिर्पोट छिटो गर्न गराउनका लागि ।

फिजियोथेरापीपछि प्रोविजलन डाइग्नोसिसका लागि दोस्रो पटक आठ मार्चमा पुगियो सौर्य डाइग्नोस्टिक सेन्टर । सबै सेवाहरु एकै ठाँउ उपलब्ध छ भनिए पनि ब्लड टेष्स्टको लागि रोड पारीको इयन मेडिकल सेन्टरमा जानुपर्यो टेक्निसियनको अभाव देखाएपछि । हेर्दा नजिक लाग्ने ठिक रोड पारिपट्टि । तर रोडक्रस गर्न साह्रै गाह्रो व्यस्त समयमा । बिरामी वृद्धा केटाकेटीहरूमा लागि त यु लड्न परे जस्तो । चालकलाई गाडी चलाउन पाए पुग्ने । जेब्रा क्रसको नो मतलब । ज्यान जोगाउन गाह्रो बाटो काट्ने र फुटपाँथमा हिँड्नेहरुका लागि । ट्राफिक रुल अप्रिल फुल ? कसले पालना गर्ने गराउने ? थाहा छैन बनाउनेले जानुन् नेपालको कानुन ।

कति महङ्गो परीक्षण शुल्क । जिब्रो टोक्नु पार्ने । सत्तरीहजार रे । अनुरोध गर्दा पैसठ्ठी हजारमा बल्लतल्ल, हरे शिव शिव !

आज त्यहीँ जानुछ अघिल्लो परीक्षणको रिर्पोट लिन । पठाओ बोलाएको छु सरल सहायताको लागि ।धेरै पटक हिँडिसकेको छु काठमाण्डौ छिरेदेखि । जहाँ जहिले बोलायो त्यही आइपुग्छौ, टुप्लुक्कै । धन्य पठाओ सेवा ।
दुव्लो पातलो देखिन्छ स्कुटी चलाउने चालक। हेलमेटले र मास्कले अनुहार छोपिएको भए पनि युवा शरीर । जे होला भन्दै चढियो पठाओ लाजिम्पाट जान ।

पठाओ बोलाउन पाउन सजिलो छ तर बारम्बार यात्रा गर्न साह्रै गाह्रो । काठमाडौँका रोडहरू एम्बुस थापेर बसेझैँ लाग्छ यात्रा गरिरहँदा । साँगुरो सडकका दुवै किनारमा जताभावी बाक्लो पार्किङ गरिएका हुन्छन् सबै खाले गाडीहरू । बाइकको के कुरा गर्नु जता पुग्यो त्यतै पार्किङ । बाटो निजी पार्किङ एरिया । त्यही साँगुरो चेपबाट साइकल दोडिन्छ, ठेलागाडीहरू चल्छन्, फुटपाथ नपाएका मानिसहरु हिँड्न्छन् तब पो चल्तीको बाटो । ब्यस्त सहर । यस्तै बाटा र सहरमा सवारी साधन गुड्छन् गडाउँछन् चालकसाथीहरु ज्यानको बाजी थापेर ।

हिँड्न पर्ने बाध्यता र आवश्यकता । न चाहिएको बेला सार्वजानिक गाडी पाइन्छ र नसोचेका ठाँउमा पुग्छ नै । खोज्नै पर्छ आवश्यतामा विकल्प निजी सवारी साधन नहुनेले । यसरी बाध्यता र आवश्यकतामा पठाओ दौडिरहेछ एम्बुस थापिएका बाटाहरुमा । अलिकति तलमाथि भएमा जिन्दगी झिरिप काँचको ग्लासजस्तै । केही भइहाले मः मः भन्ने । बस दौडाइएको छ बाँकी राम भरोसामा ।

यसरी पठाओमा यात्रा गरिरहँदा प्रायस सामान्य कुराकानी गरिन्छ नै चालकहरूसँग । कति उनीहरुबाट कति मबाट । एउटा सिलसिला पनि हो परिचयको । सत्य बताउलान् नबताउलान् दैव जानून् । धेरैले विद्यार्थी भएको यो पेसा सजिलो भएको खुलसा गरेका छन् अतिरिक्त समयको उपयोग गर्ने हिसाबले । राम्रो लाग्छ काम रोजिँदा । काम गर्दा के को लाज ? काम नगर्ने भुस तिघ्रालाई पो लाज लाग्नु पर्ने ।

पठाओ चलाउनेहरु समान समस्या बताउँछन् बाटो र ट्राफिकको । बाटो ठूलो भएर के गर्नु बाटोभरि जाथाभावी पार्किङ गरिदिएपछि । ट्राफिक भएर के गर्नु नियम पालना नगरिएपछि । जसले जे गर्दा पनि हुने सकिन्छ भने । जहाँ मन लाग्यो त्यही बिसाउने हग्ने मुत्ने थुक्ने । न अरुलाई अप्ठ्यारो हुन्छ भन्ने बुझ्छन् न सामान्य सामाजिक संस्कारको पालना गर्छन् गणतन्त्रले विकाश गरेका सामाजिक प्राणीले । कसैले सोधे ठूलो स्वरले थर्काउँछ । लाग्छ, जसको लाठी उसैको भैंसी । न नागरिक चासो छ न सरकारी वास्ता । पीडित र मार सर्वसाधारण, न बोल्न सक्छ न बोलेको सुन्छ । विचरा गाई प्राणीहरु ।

हुन त यो देशमा सार्वजनिक सम्पत्ति कब्जा गर्न मिल्छ भने गाडीवालाले रोड कब्जा गर्न किन नमिल्ने ? केवल शक्तिको भाषामा प्रस्ट बुझ्ने गर्छौँ हामी न कि शिष्टता र संस्कारको । बस, हेर्यो मनमनै मन कुड्यायो अरू के गर्न सकिन्छ र यो गणतन्त्रमा । तर पनि कसरी कसरी रहेछ पद्धति दैव जानून् । जय पशुपति नाथ रक्षा गर । रक्षा गर मेरो पठाओ यात्रालाई । मनमनै लड्डु चढाउने घुस खुवाउने गर्छु हरेक यठाओ यात्रामा पशुपतिलाई ।

पुग्ने बेला दाहिनेपट्टि पर्छ सौर्य डाइग्नोष्टिक सेन्टर । घुमाएर स्कुटी पार्किङ गरेपछि पर्खन अनुरोध गर्छु फेरि फर्कँदा अर्को खोज्न नपरो भनेर । सहमत हुन्छन् चालक भाइ ।

खासै भिडभाड थिएन काउण्टरमा । पाँच मिनेट पनि लागेन रिर्पोट कलेक्सन गर्न । तुरन्तै फर्किए साविक ठाँउमा । हेलमेट लगाएरै पर्खिरहेका थिए स्कुटी चलाउने भाइ । तीन बजिसकेको छ यति बेला । कफिको चहाना । अघिल्लो पटक आउँदा छेउको ‘दालभात क्पाफेमा’राम दाजु सीता र मैले सँगै बसेर कफी पिएका थियौँ थकाइ मार्ने बहानामा । राम्रो लागेको थियो कफी र सेवा । तान्यो बोलायो पुरानो स्वादले । दालभात क्याफे ठिक सामुन्ने उभिएका थियौ हामी । अनुरोध गरेँ, माने पठाओ चलाउने भाइ ।

दुई कप मिल्क कफी अडर गर्छु अघिल्लो स्वादको पर्खाइमा । तब बल्ल हेलमेट खोलेर बसे चालक भाइ । गिरी थर बताउने भाइको धनकुटातिर रे पहाड घर । अघि बाटामा बताएका थिए थोरै परिचय र पेशा । ठमेलको कुनै एक बारतिर गाउने बजाउने गर्छन् रे रात्रीकालमा । कुनै वेलाको ठमेल सम्झेँ उसको हुलिया देखेर । लामो कपाल देखेर । नाक कानमा मुन्द्राहरु । औँलाहरुमा सेता औँठीहरु । जिन्सको पहिरन अनि छाती हातका खुला भागमा कपडाले छोप्न नसकेका टेटुहरू ।

अडरबमोजिम दुई कप कफी आयो केही समयको पर्खाइमा । अहिले त्यति बोल्न मन गरेका छैनन् मुण्टो निहुर्याएर बसेका भाइले । तातो तातो कफी आएपछि मैले नै बोलाएँ–“ सुरु गरौँ भाइ ।” एउटा हातले कफी उचाल्नै सकेन गिरी भाइले। खोइ नर्वस त नहुनुपर्ने ? त्यस्तो केही भएको छैन नअगाडि नअहिले । बल्ल बल्ल दुई हातले कप उचाले कफी छल्काउँदै । केही छल्काहरू पोखिए उनको लुगा माथि । बडो मुस्किलले पिए सास्ति खपेर। विरलै देखेको थिएँ यसरी कफी पिएको । कता कता डराएँ अहिले उनको कथा सम्झेर ।

“भाइ कति भयो यो काम गरेको ?”

“‘तीन दिन ।”

झण्डै मेरो हातबाट कप टुटेको । दुविधामा परेँ फेरिसँग फर्कने कि अर्को पठाओ खोज्ने। नलैजाऊँ अहिलेसम्म पर्खाएको छु र अघिको भाडा एक सय बयानब्बे रुपियाँ दिएको छैन, एक मुष्ट दिने विचारले । लैजाउ असामान्य हुलिया। हातसँगै शरीर पनि कामिरहेजस्तो । छिनमा बेस्वादिलो लाग्छ कफीको स्वाद । उसलाई यसरी नदेखेको नचिनेको भए राम्रो । देखे चिने डराउन थाले कता कता । सोचाइमा परेँ पठाओ चलाउन कसरी अनुमति दिन्छन् कम्पनी सञ्चालकहरुले । यस्तो छ चालकको गति हेर्दा पनि असामान्य लाग्ने । यस्तो सेवाले कसरी सुरक्षित होलान् र सेवाग्राहीहरु ? हुन त राम्रा पनि होलान् तर जथाभावी सञ्चालन नगरेको भए राम्रो । सुन्दैछु यसप्रकारका सेवा अरु बिस्तार हुँदैछन् रे अन्य नामहरुबाट । के गर्ने सरकार गम्भीर छैन यस्ता नागरिक सुरक्षाको मामलामा । ठुलै घट्ना नभई खुल्दैनन् चेतनाका आँखाहरु ।

उसैलाई लिएर फर्कने निर्णय गरेँ एउटा सर्तमा । भने –“भाइ बिस्तारै चलाउनुहोस् है ल, स्पिडमा डर लाग्छ मलाई ।”

माने मेरो सुझाब खोइ के बुझेर कुन्नि ?

अलिक बढी समय लगाए घर आइपुगेँ । बाटोभरि केही सोधिनँ, बोलिनँ पनि । चार सय पचास दिएँ आउन जाने दोहोरो भाडा, उनको रेटभन्दा केही बढी नै । पैसा समाएर खुसी हुँदै बोले – “आजको डोज पुग्यो ।”

यसो फर्केर हेर्छु, कति नबोली बाटो लागे । मानाैँ कुनै सम्बन्ध थिएन अहिलेसम्म ।

पठाओ चढ्न छोड्न सकिएको छैन अहिले पनि । तर सोध्न छाडेको छु चालकको सेवा वा अनुभवहरू । सोधे भनेँ, फेरि उसले पनि तीन दिनमात्र भनिदिए न छोडेर हिँड्नु न ओर्लिएर अर्को बोलाउनु । परेन फसाद ।