साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आलु छोडाउने समाजमा हुर्केको केटाको कथा

केटो नटालीयाको मन चोर्ने मुस्कान सम्झिरहन्छ । उसले आफ्नो जवानी पनि नटालियाकै लागि भनेर साँचेर राखेको थियो । तर युक्रेनबाट भाग्ने क्रममा, धेरै जनासँग बास बस्ने क्रममा अनियन्त्रित भएर ऊ आफैँ आलु छोडाइएझैँ छोडाइएको रहेछ ।

Chovar Blues Mobile Size

झण्डै महिना दिनअगाडि, रातको १०:३० बजेको कुरा हो । एउटा २२ वर्षे लक्का जवान केटो न्यूयोर्कस्थित सबवेमा यताउता गरिरहेको थियो । उसको हातमा कागजको टुक्रामा कसैको टेलिफोन नम्बर छ तर सम्पर्क गर्न आफ्नै फोन भने छैन । अङ्ग्रेजी भाषाको अभावमा यो मध्य रातमा कसैलाई बुझाउन पनि सकिरहेको छैन ।

ट्रेनमा चढ्ने र उत्रने यात्रुहरुसँग सम्पर्क गरेर ठेगाना मागिदिन याचना गरिरहेको छ । तर यति ठुलो सहरमा त्यति सानो कुरा सुनिदिने मान्छे पाउनै मुस्किल हुन्छ । सायद ठूलो सहरका मानिसहरु ठूला एजेण्डा बोकेर दौडिरहेका होलान् , एक सेकेण्ड रोकिएर कसैले पनि सुन्ने जमर्को गरिरहेका छैनन् भन्ठान्छ । वास्तमा ऊ घरजाने ठेगाना भुलेर अर्कै ठाउॅमा पुगेको हो। पछाडि ब्याग प्याक बोकेको केटोको मैलो कपडामा रङ्गका टाटैटाटा लागेको देख्दा कन्स्ट्रक्सन क्षेत्रमा काम गर्ने भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

ऊ पश्चिमीयुक्रेनबाट गत महिना अमेरिका छिरेको हो । ऊ कसरी यो सहरमा आइपुग्यो भन्ने कुराको कथा निक्कै लामो छ। उसले सहयोगको याचना गर्दा आँखामा आँसु छचल्किरहेका थिए । मलाई लाग्यो दुःखमा नपरी कोही पनि रुन्न । सहयोग गर्न खोजेँ तर भाषाको समस्या पर्यो । आँखाको भाषा त म सजिलै बुझ्थेँ निश्चल र निर्दोष आँखा हेर्दा केटोलाई च्याप्न मन लाग्यो । तर बोलीचालीले भने निक्कै समस्या पार्यो । भाग्यले बल्ल तल्ल एकजना रसियन भाषीलाई फेला पारेँ । नम्बरमा फोन गरेपछि केटोको ठेगाना पत्ता लाग्यो । ब्रुकलिनमा रहेछ । केटोले डाउनटाउन ब्रुकलिनतर्फ लाग्नुपर्ने अपटाउन क्वीन्सको ट्रेन समातेर पाँचघण्टा अलपत्र परेको रहेछ । भोकै तिर्खै सबवे वरपर चाहर्दा निक्कै लखतरान यो केटो यो सहरको चालामाला देखेर निक्कै बिरक्तिएको रहेछ ।

तारा भट्टराई (अमेरिका)

हुन पनि यो केटो उसको जीवनमा कुनै अभाव, प्रभाव , आवश्यकता वा बाध्यताले यो सहरमा वा यो देशमा आइपुगेको भने होइन । न त कुनै ऋणको भारी तिर्न नसकेर वा कसैको नुनको गुन नै तिर्न आएको हो । न हातभारी शैक्षिक प्रमाणपत्रहरू बोकेर रोजगारीको लागि नै यहाँ आएको हो । न त उसले जीवनमा अमेरिका भन्ने देशको नाम नै सुनेको थियो । न त उसले युक्रेनको गाउँभन्दा अरु कुनै ठाउॅको सपना नै देखेको थियो । शिक्षाको नाममा सामान्य लेखपढ गर्न र हिसाब किताब राख्न मात्रै सक्छ यो केटो ।

sagarmani mobile size

यो केटाको कथा एकदमै अनौठो रहेछ । ऊ पश्चिमी युक्रेनको एउटा सानो गाउँमा जन्मेको रहेछ। युक्रेनमा सन् २००२ देखि सरोगेसी (कोख भाडामा दिने) कानुनी रुपमा मान्यता पाउने बितिक्कै नै एकजना महिलालेआफ्नो कोख भाडामा दिएकी रहिछिन् । निश्चित शुल्क लिएर गर्भवती हुन राजी भएकी ती युक्रेनी महिलासँग बच्चाको जन्म भइसकेपछि बच्चाप्रतिको उनको दायित्व समाप्त हुने सर्त रहेछ । तर खै के कारणले हो त्यो सरोगेसी सम्झौता गर्ने जोडी बच्चा लिन आएन छ । त्यो जोडी नआइसकेपछि बच्चा हुर्काउने र रेखदेख गर्ने जिम्मा पाठेघर भाडामा दिने आमाले नै गर्नु परेछ । सायद एक्सिडेण्टबाट त्यो जोडीको मृत्यु भएको हल्ला पनि त्यो केटोले सानो हुँदा कता कता सुनेको थियो रे ।

न त आफ्नो डिम्ब न त कुनै आफ्नो प्रेमीको शुक्रकिट आफ्नो योनीद्वारबाट पाठेघरमा परेको होस् । अर्कैको डिम्ब र शुक्राणु पाठेघरमा भाडामा दिएर प्रत्यारोपण गरिएपछि जन्मिएको बच्चा कतिदिन पाल्थिन् होला ती एक्ली आमाले ? सायद माया पलायो कि पलाएन उनीमा भन्ने कुरा पनि उनैलाई थाहा होला । उनलाई जन्माउने आमा हरेक वर्षजस्तै व्यापारकै लागि अर्कैको गर्भवती भएरहदिरहिछिन् । र बच्चा जन्मेपछि जिम्मा लगाउने काम गर्दिरहिछिन् । उनी तिनै आमासँगै बसेर हुर्के । तर आमाले अन्तिमपटक भने आफ्नै अण्डको प्रयोग गरेर गर्भ बोकेका कारण ती शुक्रकिट रोपिदिने वाला बाबु आएर उनकी आमालाई पनि युरोपको अर्कै कुनामा सधैँका लागि लगेर गएछन् । उनलाई अलिकति पैसा सहित एकजना आफन्त कहाँ छोडिदिएको रहेछ । सानो छँदा गाई भेडा चराउने र एक समय स्कुल पनि जाने गर्दा रहेछन् । पछि त्यो परिवार पनि अन्तै बसाई सरेर जान लागेपछि उनलाई गाउँको एकजनाले आफ्नै रेष्टुरेण्टमा खान बस्न र काम पनि दिएछन् ।

केटोले रेष्टुरेण्टमा काम पायो । काम कठिन थिएन । बिहानै उठ्ने ठुलो भाँडामा आलु उसिन्ने । आलु सेलाएपछि बोक्रा छोडाएर रोटी ( potato pie) बनाउने काम गर्थ्यो । त कहिले काँचै आलु ताछेर कोरेसोमा कोरेर रोटी बनाउँथ्यो । उसले १४ वर्षको उमेरदेखि रसिया- युक्रेन युद्ध सुरु नहुन्जेलसम्म हरेक दिन त्यही आलुको रोटी बनाउने काम गर्थ्यो । आलुका हरेक परिकार बनाउन ऊ सिपालु थियो । कोभिड ताका टुसा हालेको आलु उसले छोडाएन । कतै टिभीमा देखेको कोरोना पनि ठ्याक्कै टुसा उम्रेको आलुजस्तै लाग्थ्यो उसलाई । बिहानको नास्तादेखि दिउँसोको पारिवारिक लन्च डिनर पनि आलुकै बन्थ्यो । आलुको सुप , आलुकै फ्रेन्च फ्राई , पोलेको आलु अनि आलुको प्यान केक त युक्रेनमा बहुतै प्रख्यात छ र युक्रेन आलु उत्पादन गर्ने प्रमुख देश पनि हो ।

केटो रेष्टुरेण्टको मालिकको घरमा नै बस्ने गर्थ्यो । मालिककै गाडी लिएर हिँड्थ्यो । उसलाई मन लागेको खान लाउन कसैको केही बन्देज थिएन । केटोकै कारण रेष्टुरेण्टमा बिक्री पनि ह्वात्तै बढेको थियो । टाढा टाढाबाट पनि मानिसहरु आलुको पर्रिकार खान आउँथे ।

केटोलाई पनि न त जीवनमा प्लस टु सक्ने चटारो भयो न त अनेक रंगी बिरंगी सपनाहरूले भरिएका आँखा नचाउँदै सहर दौड्ने चाहना नै भयो । सिर्फ बोरामा भएको आलुलाई विभिन्न स्वाद दिएर पस्कनु मात्रै उसको काम थियो । बरु एक वर्षदेखि रेष्टुरेण्टमा केटोले पकाएको ( potato pie) खान आउने नटालीयासँग भने गहिरोसँग मन बसेको रहेछ । हुन त टिनएजमा अरु थुप्रै केटीहरुले जिस्क्याए पनि उसलाई नटाली नै मन परेको रहेछ । मालिककै छोरीले पनि कैयौं पटक प्रेम प्रस्ताब गरिसकेकी रहिछे । तर केटो भने छुट्टीमा नटालीसँग घुम्न जाने गर्दो रहेछ । सँगै खाने , घुम्ने डुल्ने गरे पनि कोभिडका कारण एक अर्काले शरीर नै सुम्पका भने रहेनछन् । प्रेमलाई खेलौना सम्झेर शारीरिक सम्पर्क गरेर छाड्नुहुन्न भन्ने कुरा सानैदेखि आफ्नैआमाबाट केटोले बुझेको रहेछ । आफूले पाएको तलब सबै जम्मा गरेर राखेकोले केटोले नटालीयासँग मिलेर एउटा रेष्टुरेण्ट खोल्ने अनि दुईचारवटा भेडा पालेर जीविकोपार्जन गर्ने सानो सपना भने नटालियासँग सेयर गरेको रहेछ । नटालियाले पनि जीवनभर आलुको रोटी खान पाउने शर्त राखेर केटोसँगै जीवन बिताउन राजी भैसकेकी थिई । नटालीयाको परिवारले पनि केटोलाई त्यो सहरकै नामुद (potato pie) बनाउने भनेर चिनिसकेका थिए । केटोले विभिन्न स्वाद र साइजका आलुका रोटी बनाउँथ्यो । उसले त्यहीँ आलुभित्रै आफ्नो विगत, वर्तमान र भविष्य पनि रोजिसकेको थियो । तर अकस्मात् युद्ध सुरु भएपछि नटालियासँग पनि सम्बन्ध विच्छेद भएछ ।

गाउँका सबै भाग्ने क्रमसँगै केटो पनि महिला र केटा केटीको एउटा ग्रुपमा पसेछ र रोमानियाँको बोर्डर हुँदै कता कताबाट अमेरिका आइपुगेछ । कसरी आइपुग्यो भन्न चाहेन । बढा कठिनले भन्यो। एकजना पाँच महिनाको गर्भवती महिला धनी रसियन अमेरिकनकै लागि कोख भाँडामा दिएकी रहिछिन् । अहिले ब्रुकलिनमा एकबेडरुमको भाडाको अपार्टमेण्टमा त्यो दम्पतिले नै सम्पूर्ण खर्च बेहोरी रहेको रहेछ । केटोलाई पनि घरमा रङ्ग लगाउने काम खोजिदिएको रहेछ र बिहान बेलुका ती महिलाको रेखदेख गर्ने र दिउँसो रसियनहरुको कन्स्ट्रक्सन क्षेत्रमा काम गर्दारहेछन् । केटो ती महिलाले बच्चा पाएर जिम्मा लगाएपछि के गर्ने होला र कहाँ जाने होला भन्ने सोचमा छ।

एक त केटोलाई घरमा रङ्ग लगाउने काम पटक्कै मन परेको छैन । अरु कुराभन्दा पनि बढी नटालीयाको यादले सताएको छ । नटालिया जिउँदै छ कि मारिसकी कि भन्ने पीर छ । चिनेजानेका सबैसँग सम्पर्क विहीन छ केटो। मिसाएल उसकै गाउँमा लेण्डेड थियो। रसियन आर्मीहरुले कमाण्ड गरिरहेका थिए । सयौं नागरिकहरु मारिइसकेका थिए । स्कुल, अस्पताल र घरहरु ध्वस्त हुँदै थिए। बचपनका थुप्रै साथीहरु, आफूले चराउने गरेका पशुवस्तु सबै नष्ट भएख होलान् भन्छ केटो । महिला , गर्भवती र बच्चाहरुले देश छोडे पनि १६ देखि ६५ वर्षसम्मका नागरिकले भने देश छोड्न नपाउने थियो । तर भाग्दै जाँदा बडो दु:खले अमेरिका आइपुगेको हो केटो ।

केटो नटालीयाको मन चोर्ने मुस्कान सम्झिरहन्छ । उसले आफ्नो जवानी पनि नटालियाकै लागि भनेर साँचेर राखेको थियो । तर युक्रेनबाट भाग्ने क्रममा, धेरै जनासँग बास बस्ने क्रममा अनियन्त्रित भएर ऊ आफैँ आलु छोडाइएझैँ छोडाइएको रहेछ । आलु छोडाएर बनाएको रोटी बेचेर बचाएको दुई चार पैसा पनि कता पुग्यो होला भन्ने चिन्ता पनि उत्तिकै छ ।

उसलाई लाग्छ बरु आलुझैं माटो मुनि लुक्न सकेको भए यस्तो निर्मम र निर्जन सहरमा आउनुपर्ने थिएन होला । तर सानै उमेरमा आलुझैं सबैसँग मिल्न सक्ने क्षमताको भने विकास गरिसकेको छ केटोले । एकदिन जब युद्धविराम हुन्छ र शान्ति कायम हुन्छ अनि फेरि युक्रेनमा फर्केर आलुको रोटी बनाउने कामलाई निरन्तरता दिने लक्ष्य छ केटोको ।

लेखक परिचय

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया
Loading...