बोधीज्ञानले धपक्क बलेका आत्माहरुप्रति हृदयमा एक सम्मोहन छ । त्यसमा पनि सिद्धार्थ गौतमबुद्ध नेपाली माटोका एक अनमोल सुगन्ध हुन् । आज यिनको जन्मले छब्बीस वर्ष नाघिसक्ता पनि यिनले छाडेको सुगन्ध एकरत्ति घटेको छैन । बरु हरेक नवयुगको आगमनमा यिनको महत्ता अरु बढेर गइरहेको छ । बुद्धको सार्थकता र आवश्यकता अरु खट्केर गैरहेको छ ।
ई.पु. ५६३ मा नेपालको लुम्बिनीमा जन्मिएर ई.पू. ४८३ मा भारतको कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका गौतम बुद्धको जीवन जताबाट जुन पाटोबाट हेरे पनि सुन्दर छ । मानव जातिलाई शान्ति र ऐश्वर्यको बाटो दिग्दिगन्त देखाइरहेका छन् । सत्यको साक्षात्कार गर्ने विरलाकोटी महामानवभित्र बुद्ध पर्दछन् ।
मनको भित्री कुनामा बुद्धको जन्मस्थल लुम्बिनी, बोधिसत्व घटित भएको स्थान बोधगया, यिनले आफ्नो ज्ञानको प्रथम प्रवचन गरेको स्थान सारनाथ र निर्वाण पाप्त गरेको स्थान कुशीनगर जीवनमा एक न एकचोटि पुग्ने उत्कण्ठा जीवितै थियो । लुम्बिनी र सारनाथ त यस अघि नै पुगिसकेको थिएँ । बाँकी थियो, बोधगया र कुशीनगर पुग्न ।
एकदिन बिहानै लाहानबाट जीवन मेहमानले खबर गर्नु भयो – “लौ हामी त यही फागुन १४ गते कुशीनगरको यात्रामा जाँदैछौँ । त्यसमा तपाई पनि सामेल हुन भए गाडीमा एउटा सिट खाली छ । मलाई कस्तो खुँदो पर्यो भने त्यसैदिनबाट पाँचदिनको लागि स्कूल बिदा हुँदै थियो । यो बिदामा के गर्ने होला ? भनेर योजना बनाइरहेको बखतमा यात्राको अवसर मिल्यो । मैले ढिला नगरी जीवन मेहमानलाई भनिदिएँ –“त्यो सिट मेरै लागि सुरक्षित राखिदिनु होला । म पर्सि बिहान ७ बजे आइपुग्नेछु ।”
∞∞∞
२०७० सालको फागुन १४ गतेका दिन बिहान ३ बजे नै जागरणमा आएँ । पाँच बजेसम्ममा आफ्नो नित्यकर्म सकेर झोलाझ्याम्टा मिलाएँ । साढे पाँचतिर लाहान प्रस्थान गरेँ । त्यो गाडी कदमाहाबाट पूर्वतिर लाग्ने भएकोले कदमाहामै उत्रेँ र अर्को गाडीबाट लाहान पुगेँ । रिक्सा समातेर ओशो माधुर्य ध्यान केन्द लाहान पुगेँ । यात्रामा सहभागी हुने सबै मित्रहरुको आगमन सुरु भैसकेको थियो । चियानास्ता गरेर साढे आठ बजे दुईओटा स्कारपियोमा कुशीनगर प्रस्थान गर्यौँ ।
खुटौनाबाट बोर्डर क्रस गरेर विहारका विभिन्न भूभाग छिचोल्दै हाम्रो यात्रा अघि बढ्यो । सुरुमा केही घण्टा दक्षिण त्यसपछि सिधै पश्चिमतिरको रुट समात्यो हाम्रो गाडीले । फोरलाइनको बाटो यात्रा सजिलै थियो । गोपालगञ्ज पुगेपछि विहार प्रान्तको सीमा सकियो । त्यसपछि हामी उत्तर प्रदेशमा छिर्यौँ । विशालकाय खेतीका फाँटाहरु नियाल्दै हामी अघि बढिरह्यौँ। गहुँ र दालको सुरम्य हरियालीले मनलाई विमाहित मात्र होइन, अति पुलकित बनाइरहेको थियो ।
गोपालगञ्ज कटेपछिको रोड निर्माणाधिन चरणमा रहेछ । दोहोरो मालगाडीको ट्राफिक जाम र धुलोको कारणले दिग्दार लाग्दो अवस्थामा पुर्यायो । एकातिर अशोक खड्का एकोहोरो बोलिरहेका छन् । अर्कोतिर खराब रोडको कारणले मन बेचैन बनिरहेको थियो । पिपराकोटी पूर्वी चम्पारनमा साढे दुई बजेतिर पुगियो । त्यहाँको होटलमा खाना खायौँ ।
खानापछि विलम्ब नगरी पुनः हामी यात्रामा हेलियौँ । नौ घण्टाको निरन्तर यात्रापछि सातबजे कुशीनगर पुगियो । त्यहाँका मित्रहरुले रोयल रेस्टुरामा आवास तथा भोजनको व्यवस्था गरेका रहेछन् । हामी दिनभरिको यात्राले थाकेर चुरचुर भएका थियौँ । बाथरुममा रिफ्रेस भएर खाना खायौँ र चाँडै नै रात्री विश्राममा ढल्यौँ ।
भोलिपल्ट फागुन १५ गते कुशीनगरका प्रमुख दर्शनीय ठाउँहरु घुम्न जाने योजना थियो । साढे तीन बजे नै जागेँ । आफ्नो नित्यकर्मपछि नास्ता गरियो । हामी जुन होटलमा बसेका थियौँ । त्यो अलिक असुविधापूर्ण थियो । अन्य रुमका साथीहरुलाई पनि असहज भएछ । फलस्वरुप बिहानै आफ्नो झोलीतुम्बा च्यापेर अर्को सुविधासम्पन्न होटलमा सर्यौँँ ।
सर्वप्रथम बुद्धको महापरिनिर्वाण मन्दिरमा जाने योजना थियो । बुद्धले ८० वर्षको उमेरमा यसै थलोमा निर्वाण प्राप्त गरेका थिए, अर्थात् नश्वर शरीर छोडेर अनन्तमा ब्रह्मलीन भएका थिए । बुद्धले शरीर छोडेको ठाउँ भएकैले संसारभरिका अनगिन्ती बौद्ध तीर्थयात्रीहरु यस थलोमा आउन झुम्मिँदा रहेछन् । कोरिया, जापान, बर्मा, चीन, श्रीलंका र थाइल्याण्डका तीर्थयात्रीको बाहुल्यता जहीँतहीँ देख्न पाइन्थ्यो । परिनिर्वाण मन्दिरमा एउटा हात सिरान लाएर कोल्टे परेर लमतन्न सुतिरहेको बुद्ध मूर्ती जीवन्त आभा फिँजाएर मुस्कुराइरहेको थियो ।
त्यस मन्दिरभित्र बुद्ध सम्मुख बसेर केहीबेर ध्यानस्थ हुने कोसिस गरियो । हुन पनि बुद्धबाट सिक्ने कुरा भनेकै ध्यान र ज्ञानको कुरा न हो । उनले ध्यानबाटै मान्छेको मनका विषयवासना गिराएर मान्छेलाई निर्विचार शान्तिमा पुग्ने बाटो देखाए । परिनिर्वाणस्थलको चारैतिर छरिएका प्राचीन भग्नावशेषहरुको घुमिघुमी अवलोकन गरियो । यो ठाउँमा कुनै समय कति वैभवयुक्त भौतिक संरचनाको विकास भएको रहेछ भन्ने कुरा ती भग्नावशेषहरुले बताइरहेका थिए ।
त्यसपछि रामाभार स्तूप पुगियो । यो कुशीनगरको एक महत्त्वपूर्ण ठाउँ हो । यो त्यस युगका मल्ल राजाले बनाएको इतिहास छ । बुद्धको देहलाई अन्तिम दाहसंस्कार गरेपछि त्यही भष्म र अस्थिमाथि पुराना इँटाहरु जोडेर यो स्तूपा उभ्याइएको रहेछ । करिब ५० फिट अग्लो यस स्तूपालाई पनि परिक्रमा गरियो ।
सन् १८७६ मा एक अंग्रेज पुरातत्त्वविद् अलेकजेण्डर कनिङ ह्याम्सले यस थलोको उत्खनन् गरेका रहेछन् । कुशीनगरको नामकरण हेर्दा कुशको नामबाट यस थलोको नाम रहेको किम्बदन्ती छ ।
कुश त्रेतायुगीन राजा रामका छोरा थिए । कुशले राज्य गरेको थलो भएकोले यसको सुरुमा नाम कुशवती रह्यो अरे । पछि त्यही नाम परिमार्जित भएर कुशीनगर रहेको अनुमान छ ।
रामाभार स्तूपाबाट त्यस थलोका एक बृद्ध बौद्ध भिक्षुलाई भेट्न गयौँ । उनले बुद्धको सन्देश लिएर संसारका धेरै मुलुक पुगेका रहेछन् । अति बृद्ध अवस्थाका यी भिक्षुबाट धेरै ज्ञानका अनुभूतिहरु सुन्यौँ । त्यहाँबाट विडला हाउस आएर फलफूल खायौँ ।
कुशीनगरमा अर्ध गोलाकार आकृतिमा निर्मित जापानी बौद्ध मन्दिर ज्यादै भव्य थियो । यसैगरी बृद्धकालीन सरसामाग्रीको संग्रालय अर्को अवलोकन योग्य ठाउँ थियो । थाइल्याण्डले थाइ शैलीमा भव्य बुद्ध मन्दिर बनाएको रहेछ । जसभित्र अष्टधातुको आकर्षक बुद्ध मूर्ती छ । हुन त जापानीज मन्दिरमा पनि अष्टधातुको बुद्ध मूर्ती छ । थाइमन्दिरमा बगैँचा पनि आकर्षक र भव्य छ ।
चिनियाँहरूले पनि भव्य बुद्ध मन्दिर बनाएका रहेछन् । उनीहरूले मन्दिरभित्र चिनियाँ स्वरूपकै छुट्टै बुद्ध मूर्ति स्थापना गरिएको छ । साथै त्यस मन्दिरमा भित्ताभरि बुद्धका जातक कथासित सम्बन्धित अनेकन चित्र अङ्कित छन् । चित्र हेरेर एक न एक सन्देश लिन सकिन्छ ।
घुम्दाघुम्दै एकबजे सिद्धार्थ रेस्टुरेन्ट छिरेर खाना खायौँ । यात्रामा घर छोडेदेखि घरतिर फोनफान भएको थिएन । घरमा फोन गरेर सन्चो बिसन्चोको खबर बुझेँ । आज गाईघाटमा शिक्षक युनियनको चुनाव थियो । रेणुले आफू भोट हाल्न गएको कुरा सुनाइन् । घरतिर पिताजीको अवस्था ठीकै रहेछ । यस कुराले मनमा सन्तोष भयो ।
घुम्दाघुम्दै ओम खड्काजी र अशोक खड्काजी कसैलाई पनि यहाँ जान्छौँ ? नभनी बेपत्ता भइदिएँ । केही समय उनीहरुलाई खोज्नु पर्यो । बेलुकीसम्ममा कुशीनगरका प्रमुख दर्शनीय स्थलहरु घुमिसकियो । त्यसपछि एकदिन पुरै समय विडला हाउसको मेडिटेसन क्याम्पमा सहभागी भएर ध्यानमा बसियो । फागुन १८ गते बिहानदेखि नै महापरिनिर्माण मन्दिरमा मेडिटेसन कार्यक्रम थियो । जापानीज, कोरियाली, बर्मेली र थाई ध्यानीहरुसितै ध्यानमा रहियो । त्यहाँ दुई सिटिङ ध्यानमा बसेपछि नास्ता खाएर गोरखपुर भ्रमणको लागि प्रस्थान गरियो ।
हामीलाई गोरखपुर लैजाने अफ्तव नाम गरेका मुस्लिम ड्राइभर थियो । कुशीनगरबाट ५२ किलोमिटर सिधा पश्चिम लागेपछि गोरखपुर सहर आयो । गोरखपुरका विभिन्न ठाउँहरु घुमियो । त्यहाँको चर्चित मन्दिर गोरखनाथ मन्दिर रहेछ । सन्त गोरखनाथको नामबाट गोरखपुरको नामकरण रहेको कुरा उल्लेख छ । गोरख एक सिद्धयोगी थिए । उनकै नामबाट गोरखाको नामकरण भएको छ । यो मन्दिर बाह्रौँ शदीमा निर्माण भएको पुरानो मन्दिर रहेछ । अठार किलोमिटर लम्बाइमा फैलिएको रामगढ तलाउ यहाँको दर्शनीय ठाउँ रहेछ । गोरखपुरको गीता प्रेस सबभन्दा पुरानो र भव्य प्रेस मानिन्छ । यसले सन् १९२३ देखि नै सनातन धर्मका पुस्तकहरु छापेर संसारभरि फिँजाएको छ ।
समयको सीमित पावन्दीको कारण वीरबहादुर सिंह नक्षत्र भवन हेर्न पाइएन । यहाँबाट आधुनिक यन्त्रको सहायताले ब्रम्हाण्डको अवलोकन गर्न सकिन्छ । यसै गरी रेल म्युजियम, गोलघर मार्केट, वाटर पार्क र गीता बाटिका पनि पुग्न सकिएन ।
कुशमी वनको घना स्वरुपलाई हृदयभरि कैद गरेँ । यति सुन्दर र आकर्षक छ यो वन । यसलाई सिँगै गोरखपुरको फोक्सो मानिन्छ । सिँगो गोरखपुरवासीलाई यसले अक्सिजन दिन्छ ।
अरु साथीहरुले लुगा, कपडा, जुत्ता, झोला अनेक चिजवीजहरु किने । मैले ‘गोरख महागीता’ नामको पुस्तक किनेँ । पाँच बजे हामी कुशीनगर फिर्ता भयौँ । गोरखपुरको डा. तारा क्षत्री जो नेपाली मूलका मानिस रहेछन् । उहाँसित चिनजान कुराकानी भयो । आजै तीनदिने मेडिटेसन क्याम्पको समापन पनि भयो । कोठा होटल विनायक आइयो ।
हामीले सबैले केही अक्युपन्चरमा मेडिकल सामग्री र औषधिहरु किन्यौँ । मैले पनि फुटम्याट किनेँ । सबैले एउटा एउटा अक्युप्रेसरका सामग्री किन्यौँ । यस क्रममा एकजना हाम्रै मित्रले बिक्रेताहरुको आँखा छलेर एउटा फुटम्याट लुकाउन खोजे । मैले उहाँलाई सादर अनुरोध गरेँ, हेर्नुस् यो पराइ देशमा यस्तो काम हामीबाट गर्नुहुन्न । लाने हो भने पैसा तिरेर लानुहोस् । नत्र फिर्ता गरिदिनुस् । आखिर यिनीहरुले सामान निकालेको कुरा ढिलोचाँडो थाहा पाइहाल्छन् । हामी नेपाली समूहकै बेइज्जत हुन्छ ।
मेरो अनुरोधपछि जुन ठाउँबाट सामान निकालेको हो, त्यसै ठाउँमा त्यो सामग्री राखिदिन बाध्य भए । तर मप्रति उनी धेरै क्रोधित बने । यसले मेरो बेइज्जत गर्ने जस्तो भाव राखे । मसित यिनी रिसाउनु बेकार थियो । अरु साथीहरुले उनलाई सम्झाइबुझाइ गरेपछि मत्थर भए ।
भोलिपल्ट त्यही रुटबाट नेपाल फर्कियौँ जुन रुटबाट गएका थियौँ । बाटोभरि ती साथी मसित बोलेनन् । मैले पनि बोलाउने कष्ट गरिन । कुशीनगर यात्राको तितो अनुभूति यही मात्र छ मसति । नत्र सबै अनुभूतिहरु सुखद रहे । मृदुल रहे । बिहान कुशीनगरबाट हुँइकिएको हाम्रो गाडी बेलुका ठ्याक्कै आफ्नो घर आइपुग्यो । मलाई लाग्यो, मेरो घर उदयपुर गाईघाटबाट काठमाण्डौँ र कुशीनगर बराबरकै दूरीमा रहेछन् क्यार ।
काठमाण्डौँबाट पनि बिहान गाडी चढ्दा बेलुकीपख घर आइपुगिन्छ । कुशीनगरबाट पनि बेलैमा घर आइपुगियो ।
विश्वको एक अनमोल बौद्ध तीर्थस्थलको यात्राले मनमा एक शान्ति र आनन्दको भाव उठिरह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।