उमेरले नेटो, कुइनेटो र अनेकौं घुम्ती पार गरेका बुढाबुढीको अकथाभित्रको एउटा कुथुङ्ग्री प्रस्तुत गर्दैछु । यो अकथा अमेरिकाको न्यू जर्सी राज्यमा बस्ने बुढाबुढीसँग मेल खान गएको छ र यसको जिम्मा पनि उसैले लिएको छ, जसले यो अकथा लेख्यो ।

हात गोडा चलाउने गरेमा शरीरको रक्त सञ्चालनमा सहज हुन्छ भन्ने बुझाइ रहेको हुनाले भ्याएसम्म र समय अनुकूल भएसम्म प्राय: बिहान पार्कतिर हिँड्न गइन्छ । घरबाट १०/१५ मिनट पर गाडी लिएर गयो अनि पार्कतिर हल्लियो गर्नु नियमित हुने गर्छ । घर गृहस्थीका तमाम जिम्मेवारी नलिनु परेपछि समय कटाउनै पनि जाडो महिना बाहेक बिहान बेलुका पार्क जाने गरिन्छ ।

यसरी नै हल्लिने निरन्तरतामा एउटा बिहान त घरबाट अलिकति टाढाको पार्कमा पुगियो । सधैँ जसो हिँड्ने गरेको बाटोभन्दा फरक आज चाहिँ जङ्गलको बीचको बाटोमा केहीबेर हिँडेर फर्कने विचार गरेर हिँड्दै जाँदा कसो कसो बाटो बिराइएछ । जति हिड्यो उति बाटो तन्कियो । बल्ल बल्ल अडिँदै जसोतसो हिँड्ने बुढा मान्छे आत्तिन लाग्नु भयो । बेकारमा जङ्गलभित्र हिँड्ने रहर गरियो भनेर पछुतो पनि भयो । हुन त आकस्मिक सेवा नौसय एघार (९११) बोलाउन पनि सकिन्थ्यो होला तर उपाय अर्को खोजिएन जसो तसो गाडी पार्क गरिराखेको ठाउँसम्म बल्ल बल्ल पुगियो । गलित थकित भएर पनि प्रकृतिको मनमोहक दृश्यमा मन भुल्याउन पाएर प्रसन्न भएर घर फर्किइयो ।

बर्खामा यहाँका सबै पार्कहरु अति सुन्दर हुन्छन् । केही प्राकृतिक र केही मानव निर्मित सुन्दरता हुने गर्छ यस्ता पार्कमा । प्रसस्त रुखहरु , घाँस काटेर चिटिक्क पारेका चउरहरु , छेउमा बग्दै गरेका खोला अनि चराचुरुंगी मात्र होइन हाँसका बथानहरुको खेलबाड पनि उत्तिकै मनमोहक हुने गर्छ । हरिण हेर्न कि त चिडियाखाना पुग्नु पर्ने कि त सौराहातिरै आक्कलझुक्कल हेर्न पाइने ठाउँका हामीलाई यताका पार्कमा हरिणका परिवारहरुले पनि स्वागत गरिरहन्छन् । कछुवाहरु र यस्तै अरु पनि जीवहरु पनि यतै उतै भेटिनु सामान्य नै हुन्छ ।

सम्झना काफ्ले (अमेरिका)

यहाँको पार्कहरुका बाटोहरुमा साइकल यात्रीको लागि छुट्टै लाइन र पैदल यात्रीको लागि छुट्टै लाइन हुने गर्छन् । विश्रामका लागि सजिला बेन्चहरु पनि जहीँतहीँ राखिएका हुन्छन् । प्रायः सबै पार्कहरुमा नियमित सरसफाइ गरिएका शौचालय पनि हुने गर्छन् । पारिवारिक पिकनिक स्थलहरुको पनि बन्दोबस्त हुने गर्छ ।

सरदरमा आफुलाई बिहानै पार्कतिर घुम्नु एउटा रसिलो आनन्दमा पुग्नु हुने गर्छ ।

यात्रा भनिन्छ जिन्दगीलाई । यात्रा मनको पनि हुन्छ र शरीरको पनि । मनको यात्रा सजिलो हुँदो हो ।शरीरको यात्रा कसैलाई सहज कसैलाई असहज हुने गर्छ र त्यो कुरा मान्छेको समय, स्थान ,परिवेश अनि शारीरिक अवस्थाअनुसार हुने कुरा होला । यात्रा ,सास चलुन्जेलको हुने रहेछ । सास अड्याउने हाड, मासु, रगत बोसो आदि इत्यादि सहितको एक थान दिमाग पनि रहेको एउटा आकार हुन्छ । यो आकार समय क्रममा थोत्रो जर्जर अनि नाना थरी रोगको भाँडो पनि बन्न सक्छ ।

सबैको ज्यान त्यति बिघ्न थोत्रो न होला तर आफ्नो सबालमा फरक भइदिएको छ । मुटुको रगत पम्प गर्ने भल्बले काम नगरेपछि प्लास्टिकको भल्ब हाल्दा समेत सास चलाउन गाह्रो भइदियो र फेरि पेसमेकर भन्ने टाँसेको ज्यान एकातिर छ, अर्कातिर उमेरले पाको अनि सबै खाले रोगले जकडिएका मेरा बुबाको ज्वाँइ !

बुढा मान्छेलाई सातै दिन चौबिसै घन्टा एकजना सहयोगीले हेर्नै पर्छ । सबै कुरा एकातिर बुढा मान्छेको सेवा आफुतिर छँदैछ वहाँलाई उठेर आफ्ना सबै जसो नित्य कर्म गर्न नसकिएको हुनाले सधैँ अर्काले सहयोग गर्नुपर्छ । उठाइदियो भने अलिअलि हिँड्नु पनि हुन्छ। स्नायु सम्बन्धित जटिल रोगले सताएको पनि धेरै वर्ष भइसकेको छ । डक्टर अनि औषधिको चक्रव्यूहमा चलेको छ जीवन । यस्तै चलिहेको छ आजसम्म ।

अमेरिकामा आमा बाबु अथवा जो कोही पनि अशक्त भएमा सुविधायुक्त नर्सिंग होमतिर राख्ने विकल्प हुन्छ । परिवारबाट टाढा नर्सिंग होम धेरैलाई र खासगरी संयुक्त परिवारको चलनमा बानी परेका हामीलाई भने अन्तिम विकल्प हो भन्ने सोचाइ रहेको हुन्छ । हाम्रो परम्परा र हाम्रो संस्कृतिमा त परिवारबाट टाढा रहने कुरा निकै परको सोचाइ हुन्छ नै । यद्यपि यस्ता नर्सिंग होमहरु सुव्यवस्थित र सुविधायुक्त नै हुने गर्छन् ।

मान्छेको जीवन पद्धति देश परिवेश र परिस्थितिअनुसार चलाउनु पर्ने हुनाले परको देश अमेरिकामा आफ्नो ठाउँमा जसरी सबै कुरा चलाउन पनि सजिलो हुँदैन ।

अमेरिका अमेरिका नै हो । व्यक्तिवादी सोच प्रायः सबैमा हुन्छ । यता हरेक मान्छे आफ्नो लागि आफैँ उत्तरदायी हुनुपर्छ । हाम्रो ठाउँमा कि त पुर्खौली सम्पत्तिको आड हुन्छ कि त अरु नै अनेक उपायले पैसा बनाएर परिवारको लागि र आफ्नो लागि सुबिधा जुटाइने गरिन्छ । हाम्रो सोचाइभन्दा धेरै फरक छ यहाँको चलन ।

कहिलेकाहीँ आफ्नै चलन राम्रो लाग्छ कहिलेकाहीँ देशका शासक प्रशासकहरुका अति अदूरदर्शी सोच र गैर -जिम्मेवार बानी बेहोराले लथालिंग सामाजिक /आर्थिक /राजनैतिक अव्यवस्थाले जर्जर देश सम्झिएर मन विरक्त हुन्छ । यसको प्रभावले अचेल परिवारहरु विखन्डनमा परेर अनेकौँ समस्या पनि देखिन थालेको छ ।
गाउँघरमा भने अझै पनि संयुक्त परिवारको चलन बाँचेकै देखिन्छ । यस्ता ठाउँमा बुढाबुढी र केटाकेटीको रेखदेख परिवारकै जिम्मेवारी हुने गर्छ ,तर पनि आधुनिकताको उपहार स्वरुप खास गरी बृद्धअवस्थाका व्यक्तित्वहरुलाई जीवन असहज भएका कैयन् उदाहरण देख्न सुन्न थालिएको छ ।

अरु विकसित देशहरुजस्तै अमेरिकामा पनि पुर्खौली सम्पत्तिको आड हुने होइन ( पुर्खौली सम्पतिमा सन्तानको हक मानिँदैन ) यता घूस खाने जागिर पनि हुँदैन । घरको किस्ता गाडीको किस्ता , बिमाको किस्ता ,अरु पनि के के किस्ता र महिनैपच्छे तिर्नै पर्नै सबै खाले बिलहरु..। तिर्नु परेपछि कमाउनु पर्छ सबै कुरा छोडेर गर्न सक्ने जतिले काम गर्नै पर्छ।

हामी बुढाबुढीलाई सुसंस्कृत सन्तानले सम्मानपूर्वक रेख देख गरिआएकै छन् तर पनि आफूलाई भने हात गोडा चलुन्जेल आफ्ना सानातिना काम आफैँले गर्न मन लाग्छ ।

लगभग अशक्त भैसक्नु भएका बुढा मान्छेको आफैँले सेवा अहिलेसम्म आफैँले गर्न सक्दा सन्तोष रहे पनि विभिन्न जटिलता बढेर झन् झन् समस्या थपिदै गएको अवस्थाले अब के गर्ने हो भनेर मन अधैर्य हुन्छ ।

जीवनका सबै खाले परिवर्तनलाई सकारात्मक रुपमा स्वागत गर्न सकेकै हुनाले सकेसम्म मौसम खराब नहुँदा बाहेक बुढाबुढी दुवैजना नजिकै पार्कतिर सधैँ जसो हिँड्न गइन्छ ।यसरी हिँड्दा मन प्रफुल्ल पनि हुन्छ बेकारका टिभी कार्यक्रममा अलमलिनु पर्दैन । बिदाका दिनहरुमा र सकेसम्म साँझ बिहान त छोराछोरी ज्वाँइ नातिनातिनाले हेरचाहा पुर्याएकै हुन्छन् । आजको गन्थन कुथुङ्ग्री यत्ति …।

कथा अकथा अथवा गनगनको अर्को भाग कुनै दिन समय म लेखिनेछ ,आजलाई बस् …।