लेख्नै पर्दा हरेक क्षेत्र, हरेक ठाउँ, हरेक तहतप्का, हरेक विषयकै लेख्नलाई विषयवस्तु निस्कन्छन् । हरेक कुराले नै मनमा खुल्दुली मच्चाइदिन्छ तर पनि हर कुराबारे लेखेर साध्य हुन्न र लेख्न पनि सकिन्न । उसै त,आजकाल लामा लामा लेख,रचनाहरुका पाठक पाउँन मुश्किल पर्छ । समय पक्षीझैं उडिरहेछन् । मानिसहरु सबै हतारमा देखिन्छन् । कसलाई फुर्सद ? लेख रचना पढी रहन वा यो समय सबै अन्य सामग्रीमै रमिरहेका हुन्छन् ।
त्यसैले कसैले आफ्ना भावना या भोगाइहरु हुन् वा कुनै ज्ञानवर्धक खुराक वा जानकारीमुलक लेख रचनाहरु समय खर्चेर लेख्नु पनि समय बर्बाद गर्नुजस्तै भएको छ तथापि लेख्ने मनलाई केले पो रोक्ला र ? लाखौं मध्ये बौद्धिक चारजनाले मात्र पढिदिएर मनन गरिदिए पनि धन्य मान्नु पर्दछ ।
हो,आज म पनि निक्कै समयपछि यही अपेक्षा लिएर आफूले आफ्नो देश,गाउँ,परिवेशमा आएर देखेका र भोगेका केही मनका उथल्पुथल बिसाउँने अभीष्ट राख्दैछु । हुन त विषय सानो नै हो तर पनि समाजमा परिवर्तनको नाममा बढ्दो आधुनिकता अनि विकृति र विसंगतिप्रतिको असन्तुष्टिपन हो जो मेरा निम्ति मात्र पनि हुनसक्छ वा मैले मात्र यस्तो असन्तुष्टि पोख्ने साहस गरेँ ।
अब म आफ्नो विषयवस्तु प्रसङ्गको द्वार खोल्न चाहन्छु । कुरा भर्खरकै हो । म र मेरो श्रीमान पूर्वकै प्रसिद्ध खोला माईमा बाइकको पूजा गर्न भनी गयौँ । हामी बालककालदेखि नै माईखोलामा पिकनिक खान, पूजाआजा गर्न, विभिन्न विवाह, कार्यमा सामेल हुने वा कसैको मृत्यु भएमा मलामीको रुपमा सद्गद गर्ने जाने चलन थियो ।
भनौँ माई खोला पूर्वकै प्रसिद्ध वा चर्चित खोला हो जहाँ मानिसको अन्त्येष्टिदेखि जीवनका सुरुवातका विवाह बन्धनका कार्यहरु र धार्मिक नियम,परम्पराको नियम,परम्पराका हरेक कार्यहरु सम्पन्न गरिन्छ।
माईखोलामा उहिल्यैदेखि बनभोज खाएर मनोरञ्जन गर्ने, घुम्न जानेहरुको पनि घुइँचो लाग्ने गर्दथ्यो । यो खोला रमाइलो मनाउनदेखि लिएर धार्मिक परम्परा अनुसारका कार्यहरु सम्पन्न गरी आ-आफ्नो मनोकांक्षा पुरा होस् भनी भाकल गर्ने एउटा पवित्र स्थल पनि हो । हामीले होस् सम्हालेदेखि माईखोलामा पूजाआजा गर्दै आएका पनि छौँ र पूर्वको माईखोलालाई नचिन्ने र यहाँ नजाने मान्छेहरु सायदै होलान् । माई खोलाको प्रमुख आकर्षणमाथि दोमुखाको ड्याम पनि हो र पहिलादेखि नै थियो । अहिले लामो झोलुङ्गे पुलले यसको आकर्षण झनै बढाएको रहेछ ।
हामी पनि पूजा गर्न भनेर माथि दोमुखा नै बाइकमा हाँकियौँ । मनभरि श्रद्धा, भक्ति, कौतुहलता,रमाइलो कल्पनाको साथ जाँदैथ्यौँ तर जति खोला नजिक, नजिक पुग्न लागियो बाटाको दुई साइडमै रक्सी, सेकुवा, म म, चाउमिन लेखिएका होटेलहरु मात्र देखिँदै गए । होटेल, रेष्टुरेण्ट्का नामहरु पनि खाली केटीहरुको अङ्ग्रेजी नामबाट मात्र खोलिएका । ठुल्ठुला बोर्डहरुमा पनि रक्सी र बियरका तस्बिरका विज्ञापनहरु मात्र । मेरो त मन नै नमिठोपनले घेरिए झैं भयो । जुन कल्पनामा माईखोला अर्थात दोमुखा सजिएको थियो, अँह ठिक त्यसको विपरित त्यहाँको दृश्य देख्दा मन निरस बन्यो र मैले श्रीमानलाई भनेँ, “हेर्नु त !धार्मिक स्थल अरे,रक्सी र मासुको पसल बाहेक केही छैन । झुप्रा,झुप्रा पसलमा पनि अङ्ग्रेजी नामबाट सु शोभित छ लौ ! यहाँ धार्मिक स्थल ठानेर भक्तिभावको साथ आउनु हुने बृद्धबृद्धाहरुको मन कस्तो होला नि ? को आउला र ? यस्तो ठाउँमा पूजा गर्न ? के पो भएछ यो ठाउँ त !” भनेर । अनि वहाँले भन्नु भयो, “त्यही त धार्मिक स्थलको गति यस्तो छ । ” भनेर निरस मन बोकेर हामी पूजा गर्न गन्तव्य स्थानतिर गयौँ ।
खोलाको पानी पनि बाढी आएर होला मैलो, धमिलो थियो । दुई चारवटा ढुङ्गाहरु भेला गरेर पूजा गर्ने ठाउँ बनायौँ अलिक थोरै पानी बगेको ठाउँमा । बाइक धोइधाइ गरेर पूजाआजाको सामग्री निकालेर वहाँले पूजा गर्न थाल्नु भो । म भने एकछिन उभिएर वारीपारी नियाँल्न थालेँ । बिहानको यस्तै नौ बजेको थियो तर त्यहाँ कोही मान्छेहरु थिएनन् । न कोही भक्तजन, न कोही केटाकेटी । म अतितमा डुबेँ ।आजभन्दा तीन वर्षअघि पूजा गर्न जाँदा पनि खोलाको किनारभरि भुराभुरीहरु चढाएको पैसा र प्रसाद टिप्नलाई हारालुछ गर्दै आउँथे । खेदिन्जेलसम्म हुन्थ्यो । त्यहाँ चढाएका प्रसाद र पैसा टिप्नेको ओइरो लाग्थ्यो । परेवाहरु चढाउन पाइन्नथ्यो अघि आएर टिप्टाप पार्दथे तर अहिले त सब सुनसान थियो । मानौँ ” माईखोला एक्लिएको पीडा बोकेर पानी होइन आँसु बनेर बगिरहेछ ।”
मैले त त्यो समय ती चकचके केट्केटीलाई खुब सम्झेँ । उनीहरुलाई गुमाएको महसुस गरेँ र लाग्यो कहिलेकहीँ त कसैको बदमासीको क्षण पनि कति मिठो हुँदो रहेछ जस्तो लाग्यो । लग्भग एक, डेढ घण्टा त्यहाँ बसेर पूजा गरियो तस्बिरहरु खिचियो । अँह त्यहाँ कोही देखिएनन् । ज्यादै सुनसान लाग्यो । केही क्षणमा एउटा जालहारी खैनी माड्दै माड्दै छेवैबाटो ओह्रालोतिर लाग्यो । उसलाई देख्दा लागेको थियो त्यो मान्छे उसरी नै पैसा र फलफूल टिप्न आएको हो कि ? तर अँह ऊ त मत्लबै नराखी गयो । सोचेँ अब माईखोलामा श्रद्धा र भक्तिभाव राख्ने मात्र होइन प्रसाद ग्रहण गर्नेहरुको पनि अभाव रहेछ।
खोला धमिलोपन बोकेर एकनासले बगिरहेको थियो । त्यसमा चराचुरुङ्गीको चिर्बिर आवाजले भने मनलाई केही तरंगित बनाइरह्यो । त्यो शून्यपनमा चराचुरुङ्गीको मिठो आवाजले त्यो निरसतालाई हटाउन केही मद्दत गरी रहेको थियो ।
पूजा गरी सकियो । सम्झना स्वरूप केही तस्वीरहरु खिच्यौं तर पनि मनमा खिन्नता खट्किइरह्यो । अलिक पर लामो झोलुङ्गे पुलमा केही मानिसहरु फोटो खिच्नमा तल्लिन देखिन्थे तर अँह त्यहाँ भक्तालु, प्रसाद र पैसा टिप्ने आशामा कुद्ने केटाकेटीहरु कोही थिएनन् । बस् त्यो धार्मिक खोला माई जहाँ भक्तालुहरुको घुइँचो लाग्थ्यो त्यहाँ मानिसहरुको उपस्थिति अति शून्य थियो । लाग्थ्यो माईखोला अब रित्तिएर केवल ढुङ्गा र फोहोर बोकेर धमिलो पीडा बगिरहेछ ।
हामीआफ्नो कर्म सकेर खाजा खान भनेर नदी किनारबाट माथि उक्लियौँ । बाइकको गति सुस्त गरेर त्यहाँ वरिपरि चिया, खाजा खाने ठाउँ खोज्यौँ । कतै चिया पुरी, सब्जी पाउने दोकान भेटिएन । अँ…खाजा घर भन्ने साइनबोर्ड त देखिन्छ तर खाजाको नाममा रक्सी र मासु बाहेक केही भेटिएन । हामी त्यहाँबाट निरास बनेर खाजा खाने ठाउँ होटेल /रेष्टुरेण्ट खोज्दै तल हाई वेसम्म नै पुग्यौँ । बाटोको वारीपारी हेर्दै बाइकको गति सुस्त गर्दै हिँड्यौँ । बल्ल एउटा सानो चिया,पुरी,तरकारी पाइने दोकान भेटियो । त्यही पनि ग्राहकलाई वास्ता गरे पो ? बोल्न पनि पैसा लाग्ला जस्तो गर्छन् दोकाने बाबै ।आमै चाहिँ बाहिर नै छाप्रोमुनि गजधम्म बसेर परौटा पोल्दै थिईन् । हामीलाई आशा लाग्यो अब चाहिँ ताजा मिठो रोटी,सब्जी खान पाइने भइयो भनेर ।
हामीले अर्डर गर्यौं परौटा र तरकारी । पुरै समय लाग्यो त्यो खाजा ल्याउन । बल्ल बल्ल बाबैले ल्याइदिए । एउटा मैलो मैलो प्लेटमा ३ वटा परौटाजस्तै तर ? सब्जी परौटा पनि दुईवटा अलिक ठुलो साह्रै सुख्खा र भित्र चाहिँ सानो नपाकेको सेतो ठुलाले बेह्रेर ल्याइदिएछन् । चना एउटा सानो उस्तै मैलो कचौरामा ल्याएर ट्यास्स राखी दिए । जे जस्तो भए पनि खानै पर्यो । चनाको तरकारी पनि धमिलो पानीमा कतै कतै मसिना ढुङ्गा डुबेजस्तो न स्वाद न केही।
खाने दुईजना छौँ । एउटा कचौरामा एउटै चम्मच र चना छ । फेरि अर्को प्लेट चना माग्यौँ । उस्तै कचौरामा फ्यात्त!आजकल के समय आएछ कुन्नि ? पानी दिने चलन त हराएछ । उहिल्यै उहिल्यै बाटोमा हिँड्ने बटुवालाई पनि पानी माग्न आए भने धर्म नै हुन्छ भनेर एक एक आम्खोरा पानी खुवाएर तृप्त बनाएर पठाउने चलन थियो । आजकल त पैसा तिरेर चिया, खाजा खान बस्दा पनि पानी दिने चलन हराएछ । आधुनिकताले महङ्गी त भित्र्यायो नै तर रिति,रिवाज,संस्कार नै मासिएछ । सबैतिर मानवता मासिएछ झैं लाग्यो।
हामी अक्सर यात्रा गर्दा पानी, चिया आफैं बोकेर हिँड्ने गर्छौं । त्यो दिन पनि मैले चाहिँ बिना चिनीको दुधचिया बनाएर बोकेकी थिएँ । मैले थर्मसको चिया सारेर खाएँ । वहाँले चाहिँ बिना चिनीको ब्ल्याक टि (कालो चिया )माग्नु मात्र के भएको थियो ती बाबै सहित अन्य भद्र भलाद्मीहरु गलल हाँसे । उसै त त्यहाँको रुखो व्यवहार र खानाको स्वादले कन्पारो तातिएको बेला हामी दुवै जनाले एकैचोटी सोध्यौं, “किन हाँस्नु भो ?” भनेर । ती बाबै चुप लागेर उता फर्किए । हामी पछाडि बसेका एक भद्र, शिक्षित देखिने एक जोडी पो हाँसेको सम्झिँदा मलाई झनक्क रिस उठ्यो । सोंचेँ ती बाबै त्यस्तै थिए हाँसे रे ल ! ती भद्र जोडी किन हाँस्नु पर्यो ? मैले फरक्कपछि फर्केर प्रश्न गरेँ , “तँपाईँहरु किन हाँस्नु भो ” भनेर ।
“कालो चिया बिना चिनीको” वाक्यसँग नै त्यसरी व्यंग्यात्मक ढंगले गलल हाँस्नु पर्ने ? कि “Black tea without sugar” भन्नु पर्थ्यो कि ? त्यसो भनौं भने ती चिया पसले बाबै त अङ्ग्रेजी बुझ्ने हैसियतका थिएनन् । आजकल नेपालमा कफीको लतमा प्रायः मान्छेहरु लागेका रहेछन् । उहिले उहिले त कफीको नामोनिसान सुन्न पाइन्नथ्यो । न हामीले नै खायौँ न कसैलाई खुवायौँ । आजकल त गाउँ घरमा पनि “कफी खाउँ ?” भनेर सोध्ने चलन रहेछ । हामी त जङ्गली नै परेछौं । न कफीको अफर कसैलाई गरियो । न आफैंले किनेर खाइयो अम्रिकामा पनि । कालो चिया जिन्दावाद !
मलाई झनक्क ती भद्र र शिक्षित देखिने जोडीसँग पो रिस उठ्यो । मैले प्रश्न तेर्स्याउँदा निन्याउरो मुख लाएर “कालो चिया त्यही पनि चिनी बिनाको भनेर हाँसेको नि !” अरे ।
अनि दिएँ मुखभरिको जवाफ, “अहिलेसम्म कालो /फिक्का/रातो बिना चियाको नाम सुन्नु भएको थिएन ? हेर्दा त बौद्धिक देखिनु हुन्छ त ! तँपाईँलाई थाहा छ ? आजकल संसारभरि सुगरको रोगले कति मान्छेहरु ग्रसित छन् ? चिनी स्वास्थ्यको लागि कति हानीकारक छ ? भनेर गुगल सर्च गरेर हेर्नु होस् । प्राविधिक ज्ञान त होला नि यहाँ जतिको मानिसमा ।” भनेपछि “छ” अरे । फेरि मैले थपेँ । “दार्जीलिङ, कालेम्पोङ,सिक्किमतिर उहिल्यैदेखि बिना चिनीको बिना दुधको चिया खाने चलन चलिआएको थियो । अझै छ ।” त्यति भनेपछि ती बौद्धिक व्यक्ति जुरुक्क उठेर लुरुक्क पर्दै गए । ती खस्रा मिजासका चिया पसले बा पनि अलिक नरम बनेर बोल्न थाले ।
हाम्रो अगाडि बसेर तीनजना आमा, छोराछोरीले चना, चिउरा माँगेर खाँदै थिए । खै ! के भएर हो ? छोरा, छोरीले त जुठा मात्र लाएछन् । खानै मानेनन् ।उनीहरुकी आमा गनगन गर्दैथिइन् , “मिठो भएको भए पो खाओस् ? त्यसै नभाको पैसा मात्र खेर गयो भन्दै “पैसा तिरेर फेरि ” हामीले नखाको तँपाईँहरुकै खसी, बाख्राले खान्छन् ” भन्दै छोराछोरी समातेर बाटो लागिन् । हुन पनि मैले अगाडि नै भने नि चनाको हालत धमिलो पानीमा केही मसिना ढुंगाहरु डुबेका जस्तै देखिन्थे ।
यसरी निक्कै समयपछिको माईको यात्रामा पूजा, आराधना गर्ने मनको भक्तिभाव नै तुहेर गयो । साह्रै खल्लो लाग्यो । माईको पुरानो त्यो रमाइलोपन रौनकता सेलाएर कहाँ बिलिन भएछ ? माईप्रतिको श्रद्धा र सम्मान त रक्सी, मासु र भट्टी पसलमा परिभाषित भएछ । पूजाआजा गरेपश्चात् शुद्ध शाकाहारी भोजन गर्ने ठाउँहरुको अभावमा सच्चा श्रद्धालु भक्तजन र भाकल, पूजाआजा गर्न आउनेहरुको आगमन शून्य भएछ । सायद पिकनिकको मौसमको बेलामा मात्र त्यहाँ भरिभराउ हुने होला । जहाँ नाँचगान, तमासा, युगल जोडीहरुको प्रेमिल दृश्यले झकिझकाऊ हुने होला ।
तर त्योभन्दा पनि आश्चर्यको विषय के थियो भने हाम्रो देशको पूर्वी भागमा अर्थात् जुन धार्मिक स्थलहरुमा गनिन्थे अब त्यस्ता चिया पाउँने ठाउँ चमेना गृह नै नपाइने भो त ! खाजा घरको साईनबोर्डमुनि सिर्फ मादक पर्दाथ र मृत जनावारको हड्डी मात्र लुछ्न पाइने भो त ? यस्तै प्रश्नहरु मनभरि खेलिरह्यो त्यो दिनभरि नै ।
समयले कोल्टे फेर्यो, ठिकै छ । परिवर्तन आए, त्यो पनि ठिकै छ । तर माइखोलाको त्यो बद्लिँदो रूपले भने धेरैबेरसम्म सोच्न बाध्य गरायो । अहिले पनि त्यो दिनको भोगाइ र ती दृश्यहरूले मन गह्रौँ बनेर निरस बन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।