साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म फेल भएको एउटा विज्ञापन

मैले जीवनमा कहिल्यै नबुझेको विषय नै सौन्दर्य शास्त्र हो । कुनै दिन पनि लागेन - मान्छेको ध्यान तान्न सुन्दर र सुडोल जिउडाल, ख्याप्प भित्र पसेकाे पेट अनि माथि उचालिएको वक्षस्थल हुनुपर्छ ।

Chovar Blues Mobile Size

हालसालैको कुरा हो, एकाबिहानै फेसबुक खोलेर केही फोटाहरूमा लाइक मार्ने  र दुई चार जोडीलाई ‘ह्याप्पी एनिभर्सरी’अनि दुई चार जनालाई ‘ह्याप्पी बर्थ डे’ लेखिसकेपछि मेरो आँखा क्रेगलिष्ट भन्ने वेवसाइटको एउटा विज्ञापनमा पर्यो । विज्ञापनमा “हप्तामा चार दिन, बिहान चार घण्टाको लागि कफी पिउन, वाकिङमा जाने र सँगसँगै जिम गर्ने, सकारात्मक सोचविचार भएको, शिक्षित साउथ एसियन महिला चाहियो ।” भनेर लेखिएको रहेछ । घरबाटै लाने, ल्याइदिने र जिम सिकाइदिने अनि जिमको पनि तीन महिनासम्म पैसा तिरिदिने तर कफीको पैसा आफैँ तिर्नुपर्ने  कुरा पनि विज्ञापनमा उल्लेख गरिएको थियो ।

मेराे पनि जागिर नगरिराखेको अनि ‘तौल बढी भयो, घटाउ’ भनेर नचिनेका मान्छेहरूले समेत नि:शूल्क परामर्श गरिरहेको अवस्था थियो । केही दिनअगाडि मात्रै पनि  सामान्य चिनजान भएकी एउटी नेपाली केटीबाट ‘तिमी कस्ति मोटी ? छ्या !’ भन्ने शब्द सुन्दा म झस्किएकी थिएँ । मेरो अयोग्यता भनौँ वा उनले जीवनमा अरूप्रति बनाएका अनेकन मापदण्डहरू सबै म सॅग थिएनन् हाेला । म स्लीम, गोरी, असल, मिजासिली वा के के हुनुपर्ने थियो, त्यो ममा थिएन । कुरा यत्तिमै टुङ्गिएन । अर्को एउटा ठाउँमा गफैगफमा एक जनाले मनको तुष पोख्दै भनेका थिए, “तपाईँ ज्यादै असल मान्छे । अरू त सबै ठीकै हो तर अलिकति गोरी भैदिएको भए सुनमा सुगन्ध हुने थियो ।”

जीवनमा यस्ता खाल्का मानिसहरूले अरूलाई हेप्ने र होच्याउने अनेक शब्दहरूसॅग म निक्कै परिचित छु। न्यूयोर्कमा त केही मानिसहरू यस्ता पनि छन्, चिन्नु न जान्नु सोझै ‘तँ’ भनेर बोलाउँछन् । वास्तवमा मलाई ‘मसँग एउटा मुटु छ र त्यो धड्किन्छ । त्यसैले म जिवित छु । त्योबाहेक मसँग केही पनि छैन ।’ जस्तो लाग्थ्यो।

तारा भट्टराई (अमेरिका)

मैले जीवनमा कहिल्यै नबुझेको विषय नै सौन्दर्य शास्त्र हो । कुनै दिन पनि लागेन – मान्छेको ध्यान तान्न सुन्दर र सुडोल जिउडाल, ख्याप्प भित्र पसेकाे पेट अनि माथि उचालिएको वक्षस्थल हुनुपर्छ ।

sagarmani mobile size

त्यो क्रेगलिस्टको विज्ञापन देखेपछि मलाई पनि कता कता त्यसै सुन्दरी बन्ने सोच पलाएर आयो । सोचेँ, ‘म यो विज्ञापनका लागि परफेक्ट फिट हुन्छु। बिहानै कफी पिउन कम्पनी पनि हुने, जिम पनि सिकाइदिने भनेको छ । म साउथ एसियन, र मेरो सोच पनि सकारात्मक नै त छ नि !’ मैले विज्ञापन गर्ने सम्बन्धित व्यक्तिलाई म्यासेज पठाएँ । उताबाट म्यासेजको जवाफ तुरुन्त आयो । ‘अन्तर्वार्ताका लागि तेरो समय मिला अनि म फेसटाइम गर्छु’ भन्यो । ‘हुन्छ वा हुन्न भने भैगो नि, यो जागिर खाने विज्ञापन हो र ? केको अन्तप्वार्ता गर्ने रहेछ ?’ भनेर म छक्क परेँ ।

मैले त्यसै हप्ताको शुक्रबार १० बजे समय दिएँ । तोकिएको समयमा फेसटाइममा कल आयो । उसले पहिला आफ्नो परिचय दियो । नाम अलेक्जेण्डर रहेछ । मैले पनि हतपत आफ्नो परिचय दिइहालेँ । उसले मलाई भन्यो,  “यु आर सो ब्यूटीफूल एण्ड स्माइलिङ फेस ।” मेरो हर्षको सिमा रहेन । धन्यवाद भने र मैले पनि  “यू आर भेरी हेण्सम” भनि दिएँ ।

म प्राय: कसैको चित्त दुखाउन्न र मन नलागेको कुरामा पनि अर्काको चित्त नदुखोस भनेर ‘reciprocate’ भैदिन्छु । यो मेरो पुरानै बानी हो । त्यसपछि उसले मेरो तौल, उचाई, खानपान र सुत्नेउठ्ने समयको बारेमा सोध्यो । मैले सकेसम्म जवाफ दिने प्रयत्न गर्दै गएँ । उसले अन्तिममा ‘तौल घटाउन तीन महिनाको लक्ष्य के हो ? तँ प्रष्ट हुनुपर्छ । म एक हप्तासम्म तँलाई समय दिन्छु, र फेरि यसै समयमा कल गर्छु’ भन्यो। मैले हवस् भन्दै मुन्टो हल्लाएँ ।

मैले उसकाे अन्तर्वार्तामा फेल भएको महसुस गरेँ । अलेक्जेण्डरसँगै जिमहलमा जाने र सबैलाई म जिम गर्छु भनेर कत्रो तुजुक देखाउने सुर गरेकी  थिएँ। जिमपछि मेरो सुन्दरता नै अर्कै हुनेछ र जसका कारण मसँग नयाँ नयाँ साथीभाइहरू घुलमिल हुन आउलान् अनि  यहाँको बजारमा परेला र लामा नङ्ग्रा किनेर जोड्न पाइहालिन्छ । हाईहिल लगाएर कम्मर लच्काउँदै गरेका, चिरिच्याट्ट परेका भिडियो बनाएर टिकटकमा हाल्ने अनि फेसबुकमा फोटो पोस्ट गर्ने, र साथिभाइहरूलाई पनि धमास दिने भन्ने सुरमा थिएँ । फेरि जिम गर्दा मासंपेसीमा भएको पीडालाई चाहिं के गर्ने होला ? भनेर मनमनै असाध्यै डर पनि लागिरहेको थियो ।

यस्तै कल्पनामा डुबेर एक हप्ता समय बितेछ । अर्को हप्ता तोकिएकै समयमा अलेक्जेण्डरले फेसटाइम गर्यो । म यसपटक चाहिँ जसरी पनि अन्तर्वार्ता पास गरेर अलेक्जेण्डरसँग जिमखाना जाने सुरमा थिएँ ।

उसले मलाई सोध्यो, ‘अघिल्लो हप्ता मसँग कुरा गरेपछि कतिपटक  तौल नापिस् ? खानामा रहेको क्यालोरी कति थियो ? भन्सामा फाइबरयुक्त खाना किनेर ल्याइस् ? शारीरिक गतिविधि कति गरिस् ? कति माइल हिँडिस् ? डाइट प्लान के के हो ?’  उसले ममाथि दुई दर्जन प्रश्न एकैपटक वर्षायो ।  मैले कुनै पनि प्रश्नको जवाफ दिनै सकिनँ । अन्त्यमा उसले भन्याे, “आई एम सरी बेबी । तिमीलाई मेरो कम्पनीको लागि छान्न  सक्दिनँ ।” र,  बाई बाई, टेक केयर भनेर कल राख्यो ।

यो विज्ञापनमा फेल भइसकेपछि मेरा सबै सपना तुहिए । यस्तो जाबो कुरामा म फेल भएँ भनेर मलाई निक्कै आत्मग्लानी पनि भयो।  तर साथसाथै अलेक्जेण्डरले मेरा आँखा भने पूरै खोलिदियो। एक त मैले शरीरको तौल घटाउनेजस्तो लक्ष्य लिइसकेपछि यसै विषमा अध्ययन र अनुसन्धान गर्नुपर्थ्यो । मैले त्यो नै गरेको रहेन छु । लक्ष्य प्राप्ति गर्न तीव्र इच्छाशक्ति अर्थात् ‘प्यासन’ भने हुनैपर्ने रहेछ । अर्को, अविकसित मुलुकबाट अत्यन्तै विकसित मुलुकमा बसाइँ सरेर आउँदा यहाँको संस्कार सिक्नका लागि आफ्नो सोचाइ, बानी र बेहोरामा पनि परिवर्तन हुन  आवश्यक रहेछ। अमेरिका बाहिर हेर्दा विकासनिर्माणमा जति भव्य देखिन्छ, मानिसहरुको सोचाइ पनि त्यति नै भव्य हुँदो रहेछ ।

घुमफिर गर्न, खानपिन गर्न, बोलीचाली बुझ्न तथा रहनसहनमा भिज्न पनि एउटा सामान्य मानिसको लागि कठिनको कुरा हो । देखासिकी गर्नु र प्रतिस्पर्धा गर्नु दुई फरक कुरा रहेछन् । रचनात्मक काम गर्ने शैलीको विकास आफैँमा गरेको भए मेरो नजर सायद अलेक्जेक्जेण्डरले क्रेगलिस्टमा छापेको विज्ञापनमा जाँदैन थियो होला । हुन त मेरो तौल घटाउने लक्ष्यलाई कसैसँग सहकार्यमा बदल्दा छिटो प्रगति होला भन्ने सोचले प्रेरित गर्नु पनि गलत हैन नि ! चित्त यसरी बुझाएँ ।

लेखक परिचय

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया
Loading...