आजकल जताततै घृणाको महाभारत छ । घृणाकै महात्म्य छ । घृणाकै बजार छ । घृणाकै भाउ छ, बिक्री छ । मोल छ । गरिमा छ ।
अर्थात घृणाको कारखाना चलेको छ । नाफामा छ । र त घृणा उमार्नेहरु ‘महान्’ छन् । अग्रगामी छन् । वैज्ञानिक छन् । तिनको घृणा उमार्ने कारखानामा निकै चहलपहल छ । ती कारखान संसद् भवनमा छन् । संसद सचिवालयमा छन् । दलका कार्यालयहरुमा छन् । तिनका भातृसंस्थाहरुका ढोकाभित्र छिर्छन् । ती सञ्चार माध्यमहरुमा सजिएका हुन्छन् । र ती सगौरव प्रस्तुत हुन्छन् ।

यिनका गालीहरुको महाभारत बिकिरहेको यो समयबाट मैले खुट्टा झिक्दै इमिली डिकिन्सनको कवि ‘आइ ह्याड नो टाइम् टु हेट विकज’ (किनभने मलाई घृणा गर्ने फुर्सद थिएन) मनभरि आयो । डिकिन्सनको त्यो कविता यस्तो छः

मलाई घृणा गर्ने फुर्सद थिएन
किन कि म मरेपछि चिहानले मलाई
ढिम्किनै दिँदैन घृणा पाल्न
अनि जीवन बोझ भएको पनि होइन
जुन शत्रुतामा निम्टिन्थ्यो ।

मसँग प्रेम गर्ने फुर्सद थिएन
तर उसबेलादेखि
कुनै उद्योग त हुनै पर्ने
प्रेमको खातिर
अलिकति प्रयत्न गर्ने—
र भाग्यमानी बन्दै सोचेँ
मेरो निम्ति ठूलो हृदय देखाइदेऊ ।

बाँस्कोटा धनञ्जय

समयको अभाव छ किनभने जीवन छोटो छ । कति छन् कति जीवनमा थाती रहेका कामहरु ! म यसबेला कवि रोवर्ट फ्रष्टलाई सम्झिरहेको छु । बटुवाले सम्झेको सम्झन्छु अहिले, ‘मेरा धेरै वाचाहरु पूरा गर्नु छ । मैले मर्नु अघि माइलौं यात्रा गर्नु छ । मैले यसरी रंगीलामा अहिल्यै भुलेर आफ्नो गन्तव्य बिर्सिनु हुँदैन । मैले यसरी अल्मलिनु हुँदैन ।’ त्यसपछि त्यो बटुवा सुन्दर समय र परिवेश त्यागेर बाटो लाग्छ ।

उसलाई जीवनमा समयको महत्त्वबोध भयो ।

उसलाई आफ्नु गन्तव्य बाहेक अरु केही पनि मूल्यवान् लागेन ।

इमिली डिकिन्सनलाई पनि यस्तै भयो । समय पुगेन अर्कालाई घृणा गर्ने ।

हामी यस्तो समयको रङ्गमा लतपतिएका छौं नि, यसमा सधैँ फुर्सदै फुर्सद । तिनलाई गाली गर्न पनि फुर्सद । तिनको परिवारलाई खुइल्याउन पनि फुर्सद । तिनको खानदानी, तिनका दैनन्दिनीहरु, तिनका उठबसहरु, तिनका हर गतिविधिहरुको खान तलासी गर्न फुर्सदै फुर्सद । नेताका घर धाउन फुर्सद । तिनकै वरिपरि घुमेर ‘गणेश राजनीति’ गर्न पनि फुर्सद । दिनैपिच्छेका आन्दोलन र जुलुसमा टायर बाल्न जान पनि फुर्सद । फलैंचामा बसेर ‘विश्वको सबैकुरा जानेको’ अभिनय गरेर बिहानै बेलुकै गफ हान्न पनि फुर्सद ।

कविचाहिँ सबै पागल !

हामीलाई यति धेरै काम गर्न समय छ, कविलाई नाथे घृणा गर्न फुर्सद कसरी मिल्दैन ? यही कारण होला, आजकलका बुज्रुकहरु कविलाई ‘पागल’ भन्दा रहेछन् । देवकोटालाई पनि त्यसै भने र त ‘पागल’ शीर्षकको कवितै लेखे ।

जीवन मूल्यमान छ र घृणाले भरिनु दुर्भाग्य हो । तर हामीलाई त्यही दुर्भाग्यको बाटो मज्जा लाग्छ । त्यही सुन्दर लाग्छ । त्यही महान् लाग्छ । त्यही नाफाको लाग्छ ।

‘पेन्सन भए छ । अब राजनीतितिर लागिन्छ कि क्याहो ?’ मेरा एकजना साथीलाई प्रश्न गरेको, रिसाए पो ! ‘म अरुलाई घृणा नगर्ने मान्छे कसरी राजनीतिमा आउने सम्भावना देख्नु भयो ? यस्तो स्वभाव भएको मान्छे आजको राजनीतिमा टिक्छ र ?’

जय होस् । अरु के भन्नु र !

चिहानघारी बोलिरहेको छ — घृणा होइन, प्रेम गर । बाँचुञ्जेल खुङ्खार दुस्मन भएर आजीवन एक अर्कालाई घृणा गरेर बाँचेकाहरु पनि चिहानघारीमा सँगै हुन्छन् । त्यही हो तिनको देश । त्यही हो तिनको स्थायी द्वार । त्यही हो तिनको स्थायी भान्साघर । त्यही तिनको स्थायी ठेगाना । यो धरतीमा आउनु र बस्नु त अस्थायी हो । यो संसारमा जीउनु अस्थायी हो । यहाँ जोडेका घर र सम्पत्ति पनि परदेशमा जोडेको सम्पत्ति हो । यो पृथ्वीलोक त हाम्रो परदेश हो । घुम्दै फिर्दै यहाँ आउँछौँ, यहाँ आएर पनि घुम्छौँ, फिर्छौँ। ठाँउ हेर्छौ। मुख फेर्छौं । मान्छेहरु भेट्छौँ । कसैलाई चाट्छौँ , कसैलाई जीवनभर धारेहात लाउँछौँ । अनि अन्त्यमा आफ्नै देश फर्किन्छौँ । यो परदेशबाट बिदा हुन्छौँ । र बाँकी समय युग युगसम्म, लाखौं करोडौं वर्षसम्म त्यहीँ बस्छौँ । मरेर यो परदेशमा असी नब्बे वर्ष बाँचे भाग्य, बाँकी करोडौं वर्ष हामी कहाँ बस्छौँ ? त्यति लामो समय बस्ने ठाउँ आफ्नो देश हो कि यो सय वर्ष पनि बस्न नपाउने ठाउँ देश हो ?

केही समय मात्र बस्न पाउने ठाउँ परदेश हो । भिसा लिएर मात्रै बस्न पाइने ।

कसैको भिसा छिटो सकिन्छ, ती यहाँबाट छिटै बिदावारी भएर आफ्नो देश जान्छन् । कसैको भिसा ढिलो सकिन्छ, ती लामो समय बाँचेर अनि बिदा भएर आफ्नो देश जान्छन् ।

तर हामी परदेशलाई ‘देश’ भनिरहेका छौँ ।

अनि देशलाई परदेश भनिरहेछौँ ।

कति मूर्ख !

अनि यो पृथ्वीलोकलाई देश मान्नेहरु मनभरि पाप र घृणा पालेर हिँड्छन् । तिनैसँग हिँड्छन् । तिनैसँग सुत्छन् । तिनैसँग भातको गाँस निल्छन् । तिनैसँग अन्तिम समयसम्म भए पनि स्वास फेर्छन् । तिनैको गुणगान गर्छन् । तिनैलाई महान् देख्छन् ।

त्यही घृणा प्यारो छ । सबैलाई प्यारो लाग्दो रहेछ ।

जीवन किन घृणाको खेल खतम गर्न चाहँदैन ? किनभने घृणामा फाइदा छ । पैसा छ । राजनीतिक लाभ छ । पदोन्नति छ । ठेक्कापट्टा छ । ‘माथिसम्मको’ पहुँच छ । सरकार र मन्त्रीहरु दाहिना छन् । नेता परमेश्वर दाहिना छन् । भोट छ । शक्ति छ ।

तिनको प्रेमको कारखाना यही हो; घृणाको व्यापार गर्नु ।

त्यही भएर प्रेम दुर्लभ भयो । यो कपटपूर्ण समयको काँडे तारबेरा चिरेर अघि बढ्ने प्रेम निम्छरो भयो । स्वार्थी भयो ।

आजको आवश्यकता भनेको प्रेमको आह्वान हो । घृणाको समूल नष्ट हो ।

प्रेमको आफ्नै नियम हुन्छ । आफैँलाई सन्तुष्टि दिनको लागि प्रेमको ताँदो उठाइएको हुन्छ । प्रेम मनोरञ्जन होइन, लामो दूरी यात्राको प्रयत्न हो । घृणा गर्न जति सजिलो हुन्छ, प्रेम त्यति नै गाहृो हुन्छ । किनभने यसमा कुनै आग्रह हुँदैन, पूर्वाग्रह पनि हुँदैन । कुनै कारण हुँदैन । उद्देश्य हुँदैन । तर हामी देखिरहेका छौँ, जताततै घृणाका जुलुस छन् । दलका नेताहरु हेर्नुस्, तिनको बोलीमा कुनै सभ्यता छैन । कुनै प्रेम र संस्कार छैन । कोही छैन अर्कालाई प्रेम गर्ने ।

त्यही भएर थोरैभए पनि प्रेमको आभाष होस् यो दुनियाँमा ।

थोरैको महत्त्व । सानुको महत्त्व होस् यो दुनियाँमा । थोरै भए पनि प्रेम होस् यो दुनियाँमा ।

अन्तिम आशा यही हो । एउटाले अर्कोलाई घृणा नगरोस् ।

चिहानघारीका रूखको कथा कसले लेखिदिने ? ती रूखले मात्रै देखेका छन् तीन भकारी घृणा बोक्नेहरू यो परदेश छाडेर आफ्नो देश चिहानघारीमा गए पनि तिनको घृणा समाप्त भएको । अब कुनै द्वेष छैनन् । ईष्या छैनन् । दुस्मन छैनन् । ती सबै समान छन् । सबै मित्र छन् । सबै एकै देशका समान नागरिक भएका छन् । त्यहाँ कुनै भेदभाव छैन । तानातान छैन । कुनै प्रतिस्पर्धा छैन । कुनै कुरा कमाउन नि छैन, कुनै गुमाउनु नि छैन । बल प्रयोग गरेर केही ‘नचाहिँदो’ प्राप्त गर्नु नि छैन ।

जीवनभर तिनले समाजवाद भनेर भुके । मान्छे मारे । दुनियाँ रुवाए । तर यो परदेशमा त तिनको के समाजवाद आउँथ्यो, उता चिहानघारीको आफ्नो स्थायी देशमा भने सच्चा समाजवाद आउँछ । ती समान छन् । तिनको हैसियत समान छन् । न त तिनले कसैलाई रुवाउन सक्छन्, न त कसैका आँसु झार्न नै सक्छन् । न त कसैको लुट्न र कसैलाई ठग्न नै सक्छन् । बाँचुञ्जेल परदेशमा रहुञ्जेल पहिचान भनेर हिँडे तर पाएनन् । तर आफ्नो देशमा पुगेपछि, अर्थात चिहानमा पुगेपछि, ती समान छन् । तिनको पहिचान समान छ । ती कसैका दुस्मन होइनन् । ती सबै मित्र । बराबर ।

यो कुरा ती चिहानघारीका रुखलाई मात्रै थाहा छ । कि त त्यहाँका माटो र ढुङ्गालाई थाहा छ ।

अनि ती रुखमा बसेर कराउने कोइलीको गीतलाई पनि घृणा गर्नु ?

तिनका सपना छैनन् होला ?

तिनका फेदमा पुरिएका बाकसका मान्छे अझै पनि घृणा गरिरहन्छन् ?

ती मरेर गाडिएका, अथवा खोलामा लगेर डढाइएका मान्छेका खरानीहरुको घृणाको के अर्थ छ ?

आजका नेतृत्वमा रहनेहरुको यो घृणाको फस्टाइरहेको कारखानाले युवापीँढीलाई निरास बनाएर विदेशिन बाध्य पारिरहेको छ । अनि बाहिरका मान्छेलाई नागरिकता बाँडेर देशको परिभाषा पूरा गर्दैछ — देश भनेको भूगोल मात्रै होइन, जनसंख्या पनि हो ।

क्या बात !